सांग्रिला डेभलपमेन्ट बैंकले ९ प्रतिशत लाभांश दिने
काठमाडौं । शांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट सेयरधनिलाई बोनस र नगद लाभांश दिने भएको हो । बैंकको बिहिबार बसेको संचालक समितिको नगद तथा बोनस लाभांश दिने घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५३४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४४९ प्रतिशत नगद लाभांश गरि कुल ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको हाल चुक्ता पुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
यस्तो आयो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले समीक्षा सार्वजनिक गर्दै विभिन्न नीतिगत व्यवस्था गरेको छ । राष्ट्र बैंकले जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिने व्यवस्था गरेको छ । यस्तै, साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको रु.२ करोडसम्मको कर्जालाई उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था मिलाइने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाको कर्जाको गुणस्तरलाई थप सुदृढ बनाउन कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्थाअन्तर्गत निष्कृय वर्गमा वर्गीकृत भएको कर्जा नियमित हुनासाथ असल एवम् सूक्ष्म निगरानी वर्गमा वर्गीकृत गर्ने लगायतका व्यवस्थामा अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा पुनरावलोकन गरिने बताइएको छ । बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने कर्जा र निक्षेपबीचको औसत ब्याजदर अन्तर तथा ऋणीबाट लिने प्रिमियमसम्वन्धी व्यवस्थाकोअनुगमनलाई थप प्रभावकारी बनाइने छ । यस्तो छ पूर्णपाठ [pdf id=387363]
बैंकले लिने ऋणीको प्रिमियममा थप कडा बन्यो राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रिमियममा थप प्रभवकारी बनाउने भएको छ । शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा जारी गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो । ‘बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने कर्जा र निक्षेपबीचको औसत ब्याजदर अन्तर तथा ऋणीबाट लिने प्रिमियम सम्वन्धी व्यवस्थाको अनुगमनलाई थप प्रभावकारी बनाइने छ,’ राष्ट्र बैंकको अर्धवार्षिक सीक्षामा उल्लेख छ ।
राष्ट्रपतिबाट आज संसद्को संयुक्त बैठकलाई सम्बोधन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन् । राष्ट्रपतिबाट हुने सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको जनाएको छ । राष्ट्रपति भण्डारीले अपराह्न ३ बजे सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ । उनले गर्ने सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन् । त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची रहेको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ ।
भाखा नाघेको एक महिनाभित्र ऋण भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीको भाखा नाघेको एक महिनाभित्र ऋण भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने पाइने व्यवस्था गरेको छ । शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा जारी गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो । ‘२०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा÷ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिनेछ’ समीक्षामा उल्लेख छ ।
बजार अभावले बङ्गुरपालन व्यवसाय चौपट
उर्लाबारी । अठार वर्ष वैदेशिक रोजगारीमा रहेर पसिना बगाएका मोरङको उर्लाबारी–९ का रमेश सुन्दास मेहनत गरे देशमै आफ्नै देशमा आम्दानी गर्न सकिन्छ भन्ने उद्देश्य बोकेर करिब पाँच वर्ष अघि नेपाल फर्किए । उनले आयआर्जन हुने विभिन्न उपाय खोजी गर्ने क्रममा पारिवारिक सहमतिमा बङ्गुरपालन व्यवसाय थाले । सुरुआतमा सुन्दासले वैदेशिक रोजगारीमा आर्जन गरेको धनबाट व्यवसाय स्थापना गर्ने सोच बनाए । तर त्यो पैसाले व्यवसाय सञ्चालन गर्न मुस्किल पर्ने देखेपछि उनले बैंकबाट ऋण लिएर व्यवसायलाई विस्तार गर्ने सोच बनाए । एक करोड रुपैयाँ ऋण लिएर सुन्दासले ४० बङ्गुरपालन थाले । मासु उत्पादनभन्दा पनि पाठापाठी उत्पादन गर्ने र बिक्री गर्ने सोचका साथ कृषि पेसामा होमिएका सुन्दासले करिब तीन वर्ष राम्रै व्यापार गरे। तर व्यवसायमा लगानी गरेको ऋण चुक्ता गर्न सकेनन् । यसैबीचमा कोरोना सङ्क्रमण फैलियो । व्यापार–व्यवसाय चौपट बन्न पुग्यो । उनी कोरोना महामारी अघि उत्पादित पाठापाठी भारतको सिक्किम र भुटानसम्म निर्यात गर्दै आएका थिए । ‘कोरोनापछि बङ्गुरका पाठापाठी निकासीमा रोकलगाएपछि व्यवसाय चौपट भयो’, उनले पीडा सुनाए । सुन्दास जस्तै बङ्गुरपालन गर्दै आएका अन्य कृषक पनि मर्कामा परे । यतिबेला फार्ममा उत्पादन भएका पाठापाठीलाई पेटभरि आहारा खुवाउन पनि मुस्किल भएको उनको दुखेसो छ । ‘महिनैपिच्छे बैंकबाट साँवा–ब्याज किस्ता, भन्दै आउने टेलिफोनको घण्टीले थप पीडित बनाएको छ’, उनी भन्छन् । फार्ममा पाठापाठी उत्पादन भएर हुर्किने बेला भएपनि नेपालमा बिक्री हुने नहुने केही ठेगान छैन । निर्यात गर्न सरकारले सहज वातावरण बनाइदिनुपर्ने उनको माग छ । आहाराको दाम दिनप्रतिदिन बढ्दो छ । खुराकको अभावमा पाठापाठी मर्ने पिर रहेको सुन्दासले बताए । सुन्दास मात्र हैन सोही क्षेत्रमा बङ्गुरपालन व्यवसाय गर्दै आएका रमन बस्नेत र लोकेन्द्र बस्नेतको पीडा पनि उस्तै छ । नेपालबाट बाहिर निकासी ठप्प हुँदा लागत मूल्यनै उठाउन मुश्किल भएको रमन बताउँछन् । उनी भन्छन्, “बजारमा दानाको मूल्य दिन–प्रतिदिन आकासिने क्रम रोकिएको छैन, उत्पादन भएका पाठापाठीको मूल्य घटेको घटै छ, उत्पादन खर्च धान्न हम्मेहम्मे परेको छ, पाठापाठी छाडा छोडौँ त छिमेकीलाई असर, खोरमा थुनेर दाना दिँदा खर्च धान्न मुस्किल छ ।’ नगरपालिकाले न्यून आयस्रोत भएकाको जीविकापार्जनका लागि बङ्गुरका पाठापाठी वितरण गर्ने भए निःशुल्क दिन तयार रहेको बस्नेतले बताए। राज्यबाट कृषकको जीवनस्तर उकास्ने नाममा विभिन्न ठाउँमा धेरै प्रकारका कार्यक्रम सञ्चालन हुने गरेका छन् । कृषकका लागि भनेर विभिन्न अनुदानका कार्यक्रमसमेत सरकारले ल्याएको छ । तर सरकारीस्तरबाट यसरी ल्याइएका कार्यक्रमबारे गाउँस्तरसम्म पुगेर प्रभावकारी अनुगमन र नियमन हुन सकेको छैन । कृषकलाई दिएको सुविधामा विचौलियाको दबदबा बढेपछि वास्तविक कृषक मर्कामा पर्ने गरेका अर्का किसान लोकेन्द्रको भनाइ छ । रासस
भारतीय बजारको असर नेपालमा : धान चामलको मूल्य बढ्दा किसान खुसी तर उपभोक्ता मारमा
पोखरीया । नेपाली धानको मूल्य वृद्धि हुँदा किसानले राहत पाएको बताएका छन् । नेपालमा धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल तीन सय रुपैयाँले वृद्धि भएपछि किसानले थोरै भए पनि राहत पाएका हुन् । भारतले धान निकासीमा कोटा तोकेसँगै भारतमै मूल्यवृद्धि भएपछि नेपालमा धानको मूल्य पनि गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल तीन सय रुपैयाँसम्मले बढेको छ । धानको मूल्य बढेसँगै प्रतिकेजी ४८ रुपैयाँमा पाइने सोना मन्सुली चामलको मूल्य अहिले केजीको ५८ रुपैयाँ पुगेको छ । त्यस्तै ५० रुपैयाँ किलोमा पाइने मन्सुली चामलको मूल्य ६४ र पहिले ६८ रुपैयाँ किलोमा पाइने जिरा मसिनो चामलको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ । धानको पकेट क्षेत्र मानिने पर्सालगायत मधेस प्रदेशका किसान धानको उचित नपाउँदा मारमा पर्दै आएका थिए । तर यसपालि भने मूल्य बढ्दा केही भए पनि राहत पाएको वीरगञ्ज महानगरपालिका–३० लालपर्साका किसान सीताराम प्रसाद बताउँछन् । धानको उत्पादनमा लाग्ने खर्चभन्दा बिक्री गर्ने रकम जहिले पनि कम नै हुने गरेको भए पनि यसपालि भने थोरै भए पनि खुसी भएको उनी बताउँछन् । उनी भन्छन्, ‘म अहिले ६५ वर्षको भएँ, १६ वर्षकै उमेरदेखि धान खेती गर्दै आएको छु । मेहनत र लगनका कारण फसल पनि राम्रै हुने गरेको छ तर फसल राम्रो उब्जाउन खाद पनि समयमा नपाउने, महँगोमा पाइने, भारतबाट ल्याउँदा दुःख पाउने, आफ्नो देशमा नपाइने अवस्था छ । बिजोग छ । त्यसमा पनि फसल उब्जाइहाले बेच्न समस्या । यस्तोमा अलि कति भए पनि धानको मूल्य वृद्धि हुँदा खुसी नै छौँ हामी किसान तर यो पर्याप्त चाहिँ छैन ।’ पर्साको सबैठवा–४ का अर्का किसान किसमतिया देवी भन्छन्, ‘धान उत्पादन गर्न सिँचाइका लागि पानी किनेरै हाल्नुपर्ने, खाद पनि महँगो पर्ने, पानी नपर्दा झन धानखेतीलगायत सबै खेती नै महँगो पर्ने हुँदा धानको मूल्य वृद्धि त भएको छ । केही मात्रामा राहत भए पनि पर्याप्त भने छैन । सरकारले अझ सोच्नुपर्ने हुन्छ ।’ धानको मूल्य वृद्धि हुँदा एकातिर किसानले खुसी व्यक्त गरेका छन् भने अर्कोतर्फ चामलका उपभोक्ताले भने मारमा परेको बताएका छन् । धानमा प्रतिक्विन्टल रु तीन सयसम्म मूल्य वृद्धि हुँदा चामलमा प्रतिकिलो १५ देखि २५ रुपैयाँ सम्म मूल्य वृद्धि भएकाले आफूहरु मारमा परेको उपभोक्तले गुनासो गरेका हुन् । वीरगञ्ज महानगरपालिका–१२ मुर्लीकी सरितादेवी कुर्मी चामलको मूल्य अचानक बढेपछि भान्सा व्यवस्थापनका लागि धेरै नै समस्या भइरहेको गुनासो गर्छन् । भारतले नेपालका लागि चालु आर्थिक वर्षमा छ लाख टन मात्रै धान निकासी गर्ने कोटा निर्धारण गरेकाले भारतमै धानको मूल्य बढेपछि नेपालमा पनि धानको मूल्य बढेको हो । धानसँगै चामलको मूल्य पनि बढेपछि उपभोक्ता मारमा परेका हुन् । नेपाल चामल तेल दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष डा सुबोध गुप्ता भारतले गत वर्षदेखि धानको समर्थन मूल्य रु पाँचदेखि छ बढाएर बिक्री गर्ने गरेको र भारततर्फबाट धान चामल नेपालतर्फ आयात गर्दा त्यसमा नै भन्सार कर र ढुवानी भाडा जोडेर नेपालतर्फ बिक्री गर्नुपर्ने कारणले मूल्य वृद्धि भएको अवस्था रहेको बताउँछन् । अझ पनि नेपाल धान चामलका लागि ५० देखि ६० प्रतिशत भारततर्फ नै निर्भर रहेको उनको भनाइ छ । नेपाली बजारमा पनि भारततर्फकै धान चामलको समर्थन मूल्यले ठाउँ लिँदा यस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ । नेपाली बजारमा गत वर्ष यही सिजनमा सोना मन्सुली धानको मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय रुपैयाँ थियो भने हाल बढेर तीन हजार एक सय रुपैयाँ पुगेको छ । त्यही धानको मूल्य भारतमा तीन हजार दुई सय ५० रुपैयाँ रहेको अर्थात् नेपालको धान चामलको मूल्य पनि भारतीय बजारका आधारमा निर्धारण हुँदै आएको गुप्ताको भनाइ छ । चालु आवको साउनदेखि पुस मसान्तसम्म भारतबाट वीरगञ्ज नाका हुँदै १९ हजार आठ सय एक मेट्रिक टन अर्थात् एक अर्ब ५० करोड ५५ लाख रुपैयाँ बराबरको चामल आयात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कमा छ । वीरगञ्ज नाका हुँदै यही अवधिमा धान एक लाख ९४ हजार ८१ मेट्रिक टन अर्थात् छ अर्ब ८१ करोड रुपैयाँ बराबरको आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । रासस
बालुवाटारमा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । सरकार सञ्चालनका लागि बनेको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक केही बेरअघि सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डका’ प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि पहिलो पटक संयन्त्रको बैठक बसेको हो । संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुन् ।