
काठमाडौं । अर्थ मन्त्रालयले आज (आइतबार) चालू आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा गर्न लागेको छ । अर्थमन्त्री विष्णु पौडेलले आज साँझ ५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा चालू आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न लागेका हुन् ।
सरकारले चालू आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । जसमा कुल विनियोजनमध्ये चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड रुपैयाँ अर्थात् १२ दशमलव ८ प्रतिशत विनियोजन गरिएको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ अर्थात् २४ प्रतिशत बजेट छुटयाइएको छ ।
अनुमान गरिएको खर्चको स्रोत व्यहोर्न आन्तरिक राजस्वबाट १२ खर्ब ४० अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ५५ अर्ब ११ करोड रुपैयाँ, वैदेशिक ऋणबाट दुई खर्ब ४२ खर्ब २६ करोड रुपैयाँ र दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण गरी कुल चार खर्ब ९८ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइने उल्लेख गरेको थियो ।
चालु आर्थिक वर्षको सात महिना बितिसक्दा समेत लक्ष्यअनुसार खर्च र राजश्व संकलन समेत नउठेपछि बजेटको आकार घटाईने तयारी भएको छ । अर्थ मन्त्रायल स्रोतका अनुसार खर्च र राजश्व संकलन लक्ष्य अनुसार नउठेपछि २० प्रतिशतसम्म बजेटको आकार घटाईने तयारी भएको छ ।
गत आर्थिक वर्ष २०७८/०७९ मा सरकारले विनियोजित बजेटको ९४ दशमलव ७ प्रतिशत बजेट घटाएको थियो । गत आर्थिक वर्ष १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएकोमा त्यसलाई घटाएर १५ खर्ब ४६ अर्ब २८ करोड बराबरको बनाईएको थियो ।