भूगोल इनर्जिले फागुन ८ देखि आईपीओ बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले फागुन ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँबाट आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ५ करोड ४४ लाख ५ हजार ३ सय रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री गर्नेछ । जसमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखका स्थानियहरुका लागि २ लाख ७२ हजार २६ कित्ता र आयोजन प्रभावित क्षेत्र दैलेख (नौमुले द्वारी ३ बाहेक)का स्थानिय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता सेयर छुट्याइएको छ । साथै, सर्वसाधारणहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ८ हजार ८११ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ३० हजार कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि छुट्याएको सेयरमा सो अवधिमा पूर्ण आवेदन नपरेमा चैत ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
फागुन ३ देखि छाला जुत्ता र वस्तु प्रर्दशनी मेला सञ्चालन हुने, ८० हजारले अवलोकन गर्ने
काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा आठौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुने भएको छ । काठमाण्डौको भृकुटी मण्डपमा ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ भन्ने मूल नाराका साथ फागुन ३ गतेदेखि फागुन ९ गतेसम्म उक्त मेला सञ्चालन हुने भएको हो । नेपाली साना घरेलु तथा लघु उद्योगहरुलाई वैज्ञानीक रुपले आधुनीकीकरण गर्दै भविष्यमा विदेशी बजारमा समेत प्रचार गराउँदै राष्ट्रिय अर्थतन्त्रमा परिवर्तन ल्याउने लक्ष्य रहेको संघले बताएको छ । मेलामा करीब ७० देखि ८० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । नेपाली उपभोक्तालाई नेपाली उत्पादनमा आत्मनिर्भर गराउने र नयाँ मोडलका आधुनिक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरिने बताइएको छ । मेलामा प्रतिष्ठीत ब्राण्डका गुणस्तीय उत्पादनहरुको प्रर्दशन तथा बिक्री वितरण गरिनेछन् । मेलामा बिक्री गरीने जुत्तामा ६ महिनासम्मको वारेन्टी तथा चप्पल र जुत्तामा १५ देखि २५ प्रतिशत सम्मको छुट दिइनेछ । प्रवेश निशुल्क हुने मेलाको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले गर्ने भएकी हुन् ।
चिकित्सकमाथि दुर्व्यवहार गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न आग्रह
फाइल फोटो काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई चिकित्सकमाथि हातपात र दुर्व्यवहार गर्ने तथा निर्देशन दिने सुरक्षाकर्मीलाई कारबाही गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै घाइते चिकित्सकको उपचारको व्यवस्था गर्न र उक्त घटनाको छानबिन गरी चिकित्सकमाथि हातपात र दुर्व्यवहार गर्ने तथा निर्देशन दिने सुरक्षाकर्मीमाथि कारबाही गर्न सरकारलाई आग्रह गरेका हुन् । यही माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेका थिए । आयोगले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा समयसापेक्ष परिमार्जन गरी सवारी सुरक्षालाई चुस्त बनाउन, विशिष्ट व्यक्तिको सवारीका बेला आम सर्वसाधारणलाई पर्नसक्ने प्रभावबारे गम्भीर बन्नसमेत सरकारलाई आग्रह गरेको छ । चिकित्सकमाथि हातपात भएको घटनालाई लिएर चिकित्सकहरूले अस्पतालहरूमा उपचार सेवा बन्द गर्दा हजारौँ बिरामीहरू उपचार सेवाबाट वञ्चित हुनु परेको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको जनाइएको छ । आयोगले प्रहरी अनुसन्धानका क्रममा गरिने स्वास्थ्य परीक्षण समयमै नगर्दा प्रमाण लोपसमेत हुन सक्ने र समयमै उपचार नहुँदा गम्भीर प्रकृतिका बिरामीका स्वास्थ्यसमेत जोखिममा पर्ने हुँदा स्वास्थ सेवा जस्तो अत्यावश्यक सेवा बन्द नगर्न चिकित्सकलाई आग्रह गरेको छ । रासस
सुक्खा बन्दरगाहसहित तीन योजनाको अनुगमन गर्दै प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कञ्चनपुरका प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दगाहदेखि निर्माणाधीन महाकाली करिडोरसम्मको सोमबार (भोलि) स्थलगत अनुगमन गर्ने भएका छन् । सोमबार कञ्चनपुर आउन लागेका प्रधानमन्त्री दाहालले सुक्खा बन्दरगाह, महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र महाकाली करिडोरको अनुगमन गर्ने कार्यक्रम तय भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूको यहाँ निर्माणाधीन योजनाको अनुगमनका साथै दिउँसो महेन्द्रनगरमा आयोजित महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ,’ प्रजिअ अर्यालले भने, ‘भोलि नै जनयुद्ध दिवसको अवसरमा पनि यहाँ सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।’ त्यसैगरी दिउँसो प्रधानमन्त्री दाहालले यहाँ कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन गइरहेको १४औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटनसमेत गर्ने कार्यक्रम रहेको छ । कोरोना कहरको दुई वर्षपछि यहाँ हुन लागेको पर्यटन महोत्सव उद्घाटन प्रधानमन्त्रीबाट हुने कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले जानकारी दिए । उनका अनुसार ‘कृषि, उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा यस क्षेत्रको औद्योगिक, आर्थिक क्षेत्रको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । त्यसैगरी सुदूरपश्चिमको कला, संस्कृति संरक्षणका लागि साङ्गीतिक कार्यक्रमका साथै देउडा प्रतियोगितासमेत महोत्सवमा सञ्चालन हुनेछ । महोत्सवमा स्थानीय उत्पादन, बाल उद्यान, खाद्य तथा होटलका स्टल रहनेछन् । वाणिज्य सङ्घले यहाँ विसं २०५७ देखि महोत्सव आयोजना गर्दै आएको बताउँदै मल्लले मेलालाई एक लाख सर्वसाधारणले अवलोकन गर्ने अपेक्षा गरिएको जानकारी दिए । ‘महोत्सवमा पाँच करोड रुपैयाँको आर्थिक कारोबार हुने लक्ष्य छ,’ उनले भने, ‘स्थानीय बस्तुभाउ प्रवर्द्धन, पर्यटन तथा कला संस्कृतिको संरक्षणका लागि महोत्सव आयोजना गरिएको हो ।’ रासस
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ७ जना मन्त्रीले लिए सपथ
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आइतबार प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले माघ २९ गते प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा नेपालको संविधानको धारा १७२ बमोजिम सपथ गराएका हुन् । मुख्यमन्त्रीको सिफारिसमा मन्त्री भएका आर्थिक मामिलामन्त्री जोखबहादुर महरा, खानेपानी, भैतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारु, स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसीराम शर्मा र सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले प्रदेश प्रमुखसमक्ष सपथ लिएका हुन् । मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा (६८ को उपधारा ९९) बमोजिम मौजुदा मन्त्रिपरिषद्मा शनिबार मन्त्रीहरूको नियुक्ति र कार्य विभाजन गरेका थिए । यसअघि विनाविभागीय मन्त्रीका रूपमा रहेका ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्य, आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री कृष्णा केसीको पनि शनिबार नै कार्य विभाजन गरिएको थियो । सपथ ग्रहण समारोहमा मुख्यमन्त्री गिरी, प्रदेश सभामुख तुलबहादुर घर्ती, पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, प्रमुख सचिव डा दीपक काफ्ले, प्रदेश सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो । मुख्यमन्त्री गिरीले गत पुस २८ गते विना विभागीय मन्त्री बनेका दुईसहित नौ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरी कार्यविभाजन गरेका हुन् । विस्तारित मन्त्रिपरिषद्मा सरकारको नेतृत्व गरेको नेकपा (एमाले) बाट चार, नेकपा (माओवादी केन्द्र) बाट तीन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीबाट एक-एक जना नियुक्त भएका छन् । रासस
अर्थतन्त्रमा टालटुल गर्दा थप समस्या आउन सक्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा टालटुल गर्यो भने झनै समस्या आउन सक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘नेपाली अर्थतन्त्र अझै जोखिम रहन सक्छ, राजस्वको स्रोत आयातमा निर्भर छ, पुँजीगत खर्च निराशाजनक छ, अनावश्यक खर्च कटौती गरेको छ, अर्थतन्त्रमा टालटुल गर्यो भने झनै समस्या आउन सक्छ,’ उनले भने । डिजिटल अर्थतन्त्र र नवप्रतनलाई प्राथमिकता दिइएको भएपनि प्रतिफल हासिल गर्न नसकिएको बताउँदै उनले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न निजी र सरकारी निकायको आवश्यकता रहेको बताए । त्यस्तै, उनले २०७४ को निर्वाचन पछि बनेको सरकारको पालामा आर्थिक वृद्धिदर उच्च रहेको र सो समयमा आर्थिक क्रियाकलाप धेरै भएको उनले स्मरण गरे ।
सेयर बजार बढ्नु पर्छ, कहिले काँहि घट्नु स्वभाविक हो : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सेयर बजार बढ्नु पर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सेयरबजार बढ्छ तर कहिले काँहि घट्नु स्वभाविक रहेको बताएका हुन् । त्यस्तै, उनले राष्ट्र बैंक पुँजी बजारप्रति सकारात्मक नै रहेको बताएका छन् । ‘पुँजी बजारको नियमन गर्ने छुट्टै निकाय छ, यो बजारमा राष्ट्र बैंकको नियमनको दायरामा पर्ने संस्था धेरै भएको हुँदा केही असर गरेको हुन सक्छ,’ उनले भने- ‘पुँजी बजारप्रति नकारात्मक भने छैन । ‘ विगतमा पनि विदेशी मुद्राको अभाव रहेको र आगामी दिनमा पनि विदेशी मुद्रा घट्न सक्ने उनले बताए । त्यसैले आयातमा कडाइ गरिएको उनको भनाई छ । ‘आयातमा गरेको काडाइ छोटो अवधिका लागि हो, सुधार हुने बित्तिकै खुकुलो गरिन्छ, जस्तो बैशाखमा कडाइ गरेकोमा भदौमा खुकुलो गरेको थियो,’ गर्भनर अधिकारीले भने ।
प्रिमियर इन्स्योरेन्सको सीईओ तिमिलाले दिए राजिनामा, जोशीले पाइन् कामुको जिम्मेवारी
काठमाडौं । प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्वराम तिमिलाले राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारणले सीईओ पदबाट राजिनामा दिएका हुन् । उनको राजिनामालाई माघ २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले फागुन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । सोही बैठकले कम्पनीको कायम मुकायम सीईओ पदमा कबिता जोशीलाई नियुक्त गरेको छ । यससँगै उनले अर्को व्यवस्था नभएसम्मको लागि कम्पनीको कामु सीईओको जिम्मेवारी सम्हाल्ने छिन् । उनी कम्पनीको चिफ अपरेटिङ्ग अफिसर तथा आरआई विभागको प्रमुख हुन् । साथै, अर्को व्यवस्था नभएसम्म इन्स्योरेन्सको कम्पनी सचिवमा पदम बहादुर थापालाई नियुक्त गरिएको छ ।