विकासन्युज

साउदी अरबले साउदी महिलालाई अन्तरिक्षमा पठाउने

रियाद । साउदी अरबले सन् २०२३ मा पहिलो साउदी महिला अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजनाको घोषणा गरेको छ । महिला अन्तरिक्षयात्री राययानाह बर्नावी र साउदी पुरुष अन्तरिक्षयात्री अली अल-कर्नीलाई एक्स-२ अन्तरिक्ष मिसनको चालक दलका सदस्यमध्ये अन्तरिक्षमा पठाइनेछ । उनीहरु अन्तरिक्षमा जाने पहिलो साउदी अन्तरिक्षयात्री पनि हुनेछन् । यस कदमको उद्देश्य मानव अन्तरिक्ष उडानमा राष्ट्रिय क्षमता वृद्धि गर्नुका साथै स्वास्थ्य, स्थिरता र अन्तरिक्ष प्रविधि जस्ता क्षेत्रमा वैज्ञानिक अनुसन्धानमा योगदान पुर्याउनु हो । यो कदम साउदी मानव अन्तरिक्ष उडान कार्यक्रमको एक भागको रूपमा हो । यस कार्यक्रममा थप दुई पुरुष र महिला अन्तरिक्ष यात्रीहरूलाई सबै मिशन आवश्यकताहरूमा प्रशिक्षण दिनु पनि समावेश छ । रासस/सिन्ह्वा

कुचोबाट मनग्य आम्दानी गर्दै इलामका किसान

मंगलबारे । इलाम आठ ‘अ’ ले प्रख्यात मानिन्छ । आठमध्येको अम्रिसो गाईवस्तुलाई घाँस खुवाउने गरिन्छ । त्यसैको फूल अर्थात् कुचोबाट इलामका किसानहरूले मनग्य आम्दानी गरिरहेका छन् । अम्रिसो खेतीबाट किसानलाई दोहोरो आम्दानी हुने गरेको छ । घाँस वस्तुलाई र फूल घर आँगन सफा गर्न । उब्रिएको कुचो बेचेर आम्दानी भइरहेको छ । इलामका किसानको एक महत्त्वपूर्ण आम्दानीका रूपमा यसलाई समेत लिइएको छ । हाल कुचो एक सयदेखि एक सय २० रुपैयाँसम्म प्रतिकिलो बिक्री भइरहेको छ । पूर्वी पहाडी जिल्लामा यसको व्यावसायिक खेती हुने गरेको छ। कुचोका लागि प्रयोग हुने अम्रिसोको फूलबाट मूल्य राम्रो पाइने भएपछि किसानको आम्दानीको मुख्य स्रोत भएको हो । बहुवर्षीय, बहुउपयोगी घाँस अम्रिसोको फूल नै कुचो हो । डाँठसहितको फूल घरआँगन बढार्न प्रयोग हुन्छ । यसको डाँठ दाउराका रूपमा प्रयोग हुन्छ । यसको पात गाईवस्तुलाई घाँसमा प्रयोग हुन्छ । बहुउपयोगी अम्रिसो यहाँका किसानले व्यावसायिक खेती गर्दै आएका छन् । बहुउपयोगी भएपछि अन्न उत्पादन गर्ने बारी मासेर पनि प्रयोग हुन थालेको छ। यहाँका किसानले एक क्विन्टलदेखि २० क्विन्टलसम्म उत्पादन गर्ने गरेका छन् । लामो डाँठ भएको रातो रङमा कुचो फुल्छ। यसलाई सुकाएर प्रयोग गरिन्छ। अम्रिसो खेती एकपटक लगाएपछि १२–१५ वर्षसम्म हरियो घाँस र फूलबाट आम्दानी लिन सकिने देउमाई नगरपालिकाका डिल्ली आचार्यले बताए । उनका अनुसार यहाँका प्रायः सबै किसानले अम्रिसो लगाउने गरेका छन् । यसको खेती नेपालका पूर्वी पहाडी जिल्लाहरूमा खेती हुँदै आएको छ। इलाममा व्यावसायिक खेती हुने अम्रिसो झापाको बिर्तामोड र धुलाबारीमा जम्मा भएर भारत निर्यात हुने गरेको छ। अम्रिसो किसानले बारीको डिल र बारी नै मासेरसमेत लगाउन थालेका छन्। पछिल्लो समय दूधबाट राम्रो आम्दानी हुने भएपछि गाईभैँसीलाई घाँसका लागि अम्रिसो रोप्न थालिएको छ। रासस

सामुदायिक रेडियोलाई पछि पार्ने सरकारको नीति छैन : उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पारेका छन् । सोमबार विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले सरकारले आजसम्म पनि सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको र आगामी दिनमा पछि पार्ने नीति नलिने स्पष्ट पारे । उनले सामुदायिक रेडियोहरू पछि नपर्ने गरी आफ्ना कार्यक्रम र समाचार सम्प्रेष्ण गर्नुपर्ने बताए । मन्त्री पौडेलले सामुदायिक रेडियोको नविकरण, दर्ता र करका विषयमा रहेका समस्या समाधानका लागि प्रतिनिधिमुलक ढंगबाट मन्त्रालयमा छलफलका लागि आउन आग्रह गरे । उनले रेडियोको गति तिब्र रुपमा अघि बढ्न जरूरी रहेको बताए। उनले नेपाल शान्ति क्षेत्र हो भन्ने सन्देश रेडियोमार्फत विश्वभर पुर्‍याउन सक्नुपर्ने बताए । विगतका शान्तिप्रक्रिया र द्वन्द्वका घाउलाई मलमपट्टी लगाउँदै अघि बढ्न आवश्यक रहेको बताए।  ‘सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति लिँदैन। यसमा स्पष्ट हुनुहोला। पछि पर्ने कुरा सरकारको जिम्माको कुरा होइन । यो यहाँहरुको जिम्माको कुरा हो’, उनले भने, ‘सरकारले पछि पार्ने नीति लिँदैन र यहाँहरु पछि पर्नु पनि हुँदैन । कहिले काहीँ म्याराथनमा मान्छे पछि छुटे जस्तो लाग्छ, तर त्यो पछि छुटेको मान्छे, लास्ट डेस्टिनेशनमा पछि अगाडि पुगिसकेको हुन्छ । हन्ड्रेड मिटरको दौडमा यसो पछि हेर्दा पनि अर्कोले उछिनिसक्छ । यो यहाँहरु सय मिटरको रेसमा होइन । म्याराथनमा हुनुहुन्छ ।’ उनले अगाडि भने- नविकरण, दर्ता, करका विषयहरुमा समस्याहरु के हुन्, यहाँहरु प्रतिनिधि मुलक ढंगले आउनुहोला । सबै समस्याहरु छलफलबाट समाधान गर्न सकिन्छ।’ अर्थमन्त्री पौडेलले सामाुदायिक रेडियोको भुमिका प्रशंसनीय रहेको बताए। यस वर्ष रेडियो र शान्ति भन्ने नारासहित यस वर्ष विश्व रेडियो दिवस मनाइएको छ ।

अब फोन गर्न डाँडामा उक्लिनु पर्दैन

  तुलसीपुर । तुलसीपुर-१९ छिल्लीकोटका प्रविर पुनले फोन गर्न डाँडोमा पुग्नुपथ्र्यो । डाँडोमा पुग्दा पनि ‘नेटवर्क’ले राम्रोसँग काम गर्दैनथ्यो तर अहिले उनको मोबाइलमा  ‘फोरजी’ चल्न थाल्यो । छिल्लीकोटमै बनेको टेलिकम टावर सञ्चालनमा आएपछि उनको मोबाइलमा  फोरजी चल्न थालेको हो । ‘पहिले फोन गर्न नै डाँडोमा पुग्नुपर्थ्याे, प्रविधिको जमाना छ, नेट चलाउन पनि डाँडामै पुग्नु पथ्र्यो, डाँडोमा पुग्दा पनि राम्रोसँग नेट चल्दैनथ्यो, तर, अहिले यहीको टावर सञ्चालनमा आएपछि घरभित्रैबाट नेट चलाउन पाइएको छ’, उनले भने । त्यस्तै सोही ठाउँका पूर्ण पुन पनि घरबाटै फोन गर्न पाउँदा निकै खुसी छन् । उनले आफ्नै पहलमा टावर बनेको जनाउँदै टावर निर्माण भएपछि आफूहरुलाई निकै सहज भएको बताए । ‘मेरै पहलमा टावर निर्माण भएको हो, अहिले यो टावर सञ्चालनमा आएको छ, टावर सञ्चालनमा आएपछि अहिले घरबाटै फोन गर्न सकिएको छ’, उनले भने । छिल्लीकोट दाङको पर्यटकीय गन्तव्य पनि हो । त्यही फोनले काम नगर्दा समस्या हुने गरेको थियो । ‘एनसिएल’ले काम गर्ने गरेको भए पनि ‘एनटिसी’ले काम नगर्दा समस्या हुने गरेको थियो । अहिले उक्त टावरले ‘टुजी’ र ‘फोरजी’ सेवा प्रदान गर्दै आएको नेपाल टेलिकम तुलसीपुरका प्रमुख तिलक जिसीले बताए। टावर सञ्चालन भएसँगै तुलसीपुरको छिल्लीकोटको कुटिचौर, सक्राम, ग्वारखोला आसपास, रोल्पाको रुन्टीगढी, डुब्रिङलगायतका स्थानमा फोन सेवाको पहुँच पुगेको छ । लामो समयको प्रयासपछि आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टावरको शुभारम्भ गरेकी हुन् । विद्युत् नपुग्दा त्यहाँ लामो समयदेखि टेलिकमको टावर निर्माण भए पनि सञ्चालनमा आउन सकेको थिएन । सो अवसरमा उनले टेलिकमको टावर नपुग्ने ठाउँमा टावर पुर्‍याएर सञ्चारको पहुँचमा हरेक नागरिकलाई ल्याउने बताइन् । ‘अहिले पनि दाङको नाका क्षेत्र, विकट क्षेत्रमा अझै फोन सेवा सहज हुन सकेको छैन, ती ठाउँमा टावर पुर्‍याउने मेरो पहिलो काम हुनेछ’, मन्त्री शर्माले भनिन् । उनले ‘हाइवे’ क्षेत्रमा पनि नेटवर्कको समस्या हुँदा दुर्घटना भएको बेला उद्धारमा समस्या हुने गरेको जनाउँदै तत्काल हाइवेमा फोन सेवाको व्यवस्था मिलाउन  टेलिकम कार्यालय प्रमुखलाई निर्देशन दिइसकेको बताए । सञ्चार तथा सूचना प्रविधिमन्त्री  शर्माले केही छिट्टै दाङको सैघामा निर्माण भएको टेलिकमको टावर पनि सञ्चालनमा ल्याइने  जानकारी दिइन् । त्यहाँ टावर सञ्चालनमा आएपछि बंगलाचुलीलगायतका क्षेत्रमा सहज सञ्चारको पहुँच हुने बताइएको छ । टेलिकमले छिल्लीकोटसहितका क्षेत्रमा निःशुल्क सिम वितरण गरेको छ । नयाँ टावर निर्माण भएको स्थानमा नमस्तेको निःशुल्क सिम वितरण गरिएको हो । प्रत्येक नयाँ टावर निर्माण भएको स्थानमा ५ सय नयाँ सिम वितरण गरिने र आवश्यकताअनुसार सिम थप गर्न सकिने बताइएकाे छ ।

ओमिक्रोनको सबभेरियन्ट संक्रमण रोक्ने बाइभ्यालेन्ट खोप नेपाल आइपुग्यो

काठमाडौं । फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोप काठमाडौं आइपुगेको छ । कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको सो खोपको ३ लाख ४५ हजार डोज सोमबार बिहान काठमाडौं आएको स्वास्थ्य सेवा विभागले जनाएको छ । सोमबार ल्याइएको सो खोप टुेकुमा भण्डारण गरिने र केही दिनमा सबै प्रदेशहरुमा पठाइने विभागले जनाएको छ । कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत सरकारले बाइभ्यालेन्ट खोप माग गरेको थियो । ओमिक्रोनको सबभेरियन्टको संक्रमण रोक्नलाई बाइभ्यालेन्ट प्रभावकारी रहेको स्वास्थ्य विज्ञहरुको भनाइ छ ।

अध्ययनसँगै च्याउ खेती गरेर पढाइ खर्च जुटाउँदै विद्यार्थी

भजनी । पाल्पाकी विपना खनाल कैलालीको टीकापुरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषि विज्ञान विषयको अध्ययनरत छिन् । उनी अध्ययन सँगसँगै आफ्नो पढाइ खर्चको केही रकम आफैँ व्यवस्थापन गर्दै आएकी छन् । कलेजमा अध्ययन गर्ने केही साथीहरूको समूह बनाएर च्याउ खेती गर्दै आएकी उनीलगायतका साथीहरूले खाजा खर्चबापतको रकम जम्मा गरेर च्याउ खेती सुरु गरेका हुन् । ‘भाडाको बसाइँ, सबै किनेर खानुपर्ने घरबाट पठाएको पैसाले नपुग्ने’, विपनाले भनिन्, ‘च्याउ खेतीबाट थोरै भए पनि आम्दानी हुने गरेको छ । त्यो आम्दानीले आफ्नो खाजा खर्च व्यवस्थापन भएको छ । कलेजको अतिरिक्त क्रियाकलापलाई चाहिने रकम व्यवस्थापन हुँदै आएको छ ।’ समूहमा जोडिएका अछाममा रमेश साउँद मंगलबार र शुक्रबार कृषि हाटबजारमा व्यस्त देखिन्छिन् । उसो त उनीहरुले कृषि हाटबजारमा साथीहरूको पालो लगाएका छन् । उनीहरु उत्पादन भएको च्याउ बिक्रीका लागि हाटबजारमा पुर्‍याउछन् । उनीसँगै एकदुई जना अन्य साथीहरू पनि सँगै हुन्छन् । बजार मूल्यभन्दा १५ प्रतिशत सस्तोमा च्याउ बिक्रीको साइनबोर्डसमेत उनीहरुले स्टलको अगाडि राखेको हुन्छ । केही च्याउ बेच्न व्यस्त हुन्छन् भने केही आएका ग्राहकलाई कृषि तथा च्याउ खेतीको बारेमा बुझाउन पनि । प्रतिकेजी एक सय २० मा च्याउ बिक्री हुने गरेको उनी बताउँछिन् । ‘बजारको समस्या छैन । उत्पादन भएको च्याउ सहजै बिक्री हुन्छ । हप्तामा दुई दिन कृषि हाट बजारमा ४० देखि ५० केजी च्याउ बिक्री हुन्छ,’ रमेशले भने, ‘आम्दानी भएको रकम समूहमा जम्मा गर्छौं । कलेजको अतिरिक्त क्रियाकलापका लागि खर्च गर्छौं भने बाँकी बराबर भाग लगाउँछौँ ।’ प्रतिव्यक्ति पाँच हजार जम्मा गरेर कलेजभित्रै उनीहरुले च्याउ उत्पादन सुरु गरेका हुन । प्लास्टिकको टनेल निर्माण गरेर सामूहिक काम गर्दै आएका विद्यार्थीले आफूले पनि तरकारी किनेर खानुपरेको छैन । बाँकी रहेको जमिनमा तरकारीसमेत विद्यार्थीले फलाएका छन् । आफूहरुको क्षेत्र पनि कृषि भएकाले सिजनअनुसार आम्दानी राम्रो हुने देखेपछि सामूहिकरुपमा काम थालिएको कुवेर जैशी बताउँछन् । ‘आठ जनाको समूह बनाएर ४० हजारबाट च्याउ खेती सुरु गर्यौं । त्यसको परिणाम राम्रै भएको छ । एकातिर सिकाइ पनि भयो भने अर्कोतिर आम्दानी पनि ।’ कुवेर भन्छन, ‘उत्पादन भएको पहिलो लटको च्याउबाट हाम्रो लगानी उठेको छ । अहिलेसम्म तीन क्विन्टल च्याउ बिक्री गरेका छौँ । अझै त्यहीँ मात्रामा उत्पादन हुने आशा छ ।’ उनीहरुले च्याउ खेतीसँगै सिजनअनुसार अन्य तरकारी खेती गर्ने सोचसमेत बनाए । बिहानको समयमा कलेजमा हाजिर हुने बिद्यार्थी समूह फुर्सदको समयमा त्यहीँ बारीमा व्यस्त हुनेगरेका छन् । फुर्सदको समयको सदुपयोगले सिकाइसँगै आम्दानी हुन थालेपछि अन्य विद्यार्थी पनि समूहमा जोडिन चाहेको अर्जुन सिग्देल बताउँछन् । ‘हामीले गरेको कामबाट हाम्रो समूह मात्रै सन्तुष्ट छैन । अन्य कक्षाका विद्यार्थीलाई सिक्ने अवसरसमेत मिलेको छ’, अर्जुनले भने, ‘कृषिलाई आधुनिकता र व्यावसायिक कसरी बनाउने, कस्तो माटोमा के लगाउँदा राम्रो उत्पादन हुन्छ त्यसको परीक्षण गरेर कृषि गर्दै आएका छौँ ।’ यसभन्दा पहिले उनीहरुले फूल खेतीसमेत गरेका थिए । फूल खेतीबाट ५० हजार आम्दानी गरेको आशिष धामीले बताए । यस वर्ष फूल खेतीलाई बढाउने सोचमा विद्यार्थी समूह छ । उनले बजारमा फूलको मागलाई पूरा गर्न नसकिएको बताउँदै पाठ्यक्रमको अध्ययनभन्दा यस्तै कार्यक्रमबाट बढी सिकाइ हुने गरेको बताए । ‘फूल खेतीबाट पनि राम्रो उत्पादन गर्न सफल भएका थियौँ । त्यो फूल खेतीले पनि हामीलाई थप कृषिमा लाग्न ऊर्जा दिएको हो’, उनी भन्छन्, ‘आज राम्रो हुँदै गएको छ । अध्ययन सकिएपछि पनि कृषिमै काम गर्नुपर्ने हुँदा समूहलाई निरन्तरता दिने गरी काम गर्ने सोच पनि छ ।’ कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी टीकापुर बाहिरका छन् । सबै भाडामा कोठा लिएर बसेका छन् । घरबाट पठाएको पैसाले खर्च धान्न नसकेपछि उनीहरु कृषिमा आकर्षित हुँदै गएको बताइएको छ । रासस

आम्दानीमा कैंची लगाएर सूचना बजाउने भाँडो बन्दै नेपाल टेलिकम

काठमाडौं । तपाईं नेपाल टेलिकमको सीम प्रयोग गर्नुहुन्छ भने तपाईंले कुनै व्यक्तिलाई फोन गर्दा एउटा आवाज आउँछ । कहिले कोरोना महामारी विरुद्ध बच्ने उपाय, कहिले भ्रष्टाचार विरुद्दको सूचना, कहिले राजश्व संकलन त कहिले कुनै दिवसको सूचनासहितको आवाज बज्छ । कतिपयले त्यो आवाज ध्यान दिएर सुन्छन् त कतिले सुन्नै नपाए पनि हुन्थ्यो नि भन्ने दिक्दारी पोख्छन् । कतिपय तपाईं हामीसँग सरोकार नभएका सूचना पनि हामीले फोन गर्दा सुन्नु पर्ने बाध्यता रहन्छ । त्यसमा सुन्ने वा नसुन्ने विषयमा कुनै विकल्प हुँदैन । तर, फोन गर्नैका लागि भएपनि पर्खेर सुन्नु बाहेकको विकल्प तपाईं हामी सामू हुन्न । हो, मुलुकभर सर्वसुलभ र भरपर्दाे दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्य बोकेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) पछिल्लाे समय अनेकन सूचना प्रसारण गर्ने माध्यम बन्न थालेको छ । कम्पनीले फोन कल सेवामा सूचनाहरु प्रसारण गरेर जनतालाई सुन्नै पर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरिरहेको गुनासो सेवाग्राहीहरुबाट आएको छ । नेपाल टेलिकमले कोरोना महामारीका बेलामा न्यूनीकरण सम्बन्धी सूचनाहरु प्रसारण गरेर राज्यलाई ठूलो योगदान गरेको थियो । महामारी तथा प्रकोपबारे जनतालाई सुसूचित गर्ने उद्देश्यले सरकारका नियकाहरुले टेलिकमको भ्वाइस सेवालाई प्रयोग गरेको पाइएको छ । तर, राज्यको नै बहुमत स्वामित्व रहेकै आधारमा अन्य सरकारी निकायले पनि आफ्ना सूचनाहरुलाई प्रसारण गर्ने माध्यमका रुपमा टेलिकमलाई लिँदा यसले सेवाग्राहीलाई मर्का पुगेको छ । टेलिकममा नेपाल सरकारको ९१ प्रतिशत सेयर स्वामित्व छ । सरकारी संस्थान भएकाले टेलिकमलाई सूचना प्रसारण गर्ने माध्यमका रुपमा लिने गरेको जानकारहरु बताउँछन् । नेपालको दूरसञ्चार क्षेत्रमा मुख्य भूमिका निर्वाह गरिरहेको कम्पनीले ग्राहकबाट मात्रै नभएर अन्य सूचना तथा सर्ट म्यासेज सर्भिस (एसएमएस) पठाएर आम्दानी पनि गर्ने गरेको छ । टेलिकमले ग्राहकको इच्छा विपरित वा बाध्यात्मक परिस्थिती बनाएर उक्त सन्देशमुलक सामाग्री प्रसारण गर्ने गरेको आरोप लाग्ने गरेको छ । ग्राहकले शुल्क तिरेको सेवामा टेलिकमले सूचनाहरु प्रसारण गर्दा दिक्क लाग्ने गरेको एक सेवाग्राहीले बताए । यसरी ग्राहकलाई दिक्क लाग्ने किसिमका सन्देशहरु प्रसारणमा टेलिकम चुकेको सेवाग्राहीको गुनासो छ । यद्यपि, टेलिकमले सरकारी सन्देशमुलक सूचनाहरुलाई भने निःशुल्क प्रसारण गर्ने गरेको छ । नेपाल दूरसञ्चार कम्पनीका (नेपाल टेलिकम) सोभन अधिकारी सरकारका सन्देशमुलक वा सूचनामुलक सूचना प्रसारण गर्दा नेपाल टेलिकमलाई शुन्य फाइदा हुने गरेको बताउँछन् । जनहितमा जारी सन्देश वा सूचना प्रसारण गर्दा उल्टै आफ्नो सेवालाई कटौति गर्नु परेको उनको भनाइ छ । ‘टेलिकमको कलर रिङ्ग ब्याक टोन (सीआरबीटी) र एसएमएस अलर्टबाट मात्रै आम्दानी हुन्छ, जस्तो फोनमा गीत सुनाउन कुनै सीआरबीटी प्रयोग गरिन्छ, सीआरबीटीबाट संकलन हुने रकम कम्पनीको आम्दानीमा जोडिन्छ,’ उनले भने । सरकारी निकायले दिएका सूचनाहरु जस्तो कोरोना, डेङ्गु महामारी न्यूनीकरण लगायतका सन्देश बजाउने गरिएको छ । सरकारी निकायले रेकर्ड गरेर पठाएको सन्देश नै कम्पनीले प्रसारण गर्दछ । सन्देशमुलक, सूचनामुलक बाहेक ग्राहकहरुले सीआरबीटी प्रयोग गर्दा कम्पनीलाई ठूलो रकम आम्दानी हुने गरेको टेलिकमले बताएको छ । सरकारी सूचना प्रसारण गर्दा ठूलो लागत नलाग्ने भएकाले कम्पनीलाई धेरै घाटा नलाग्ने अधिकारीले बताए । ‘सरकारी सूचना सिस्टममा अपडेट गराउँदा धेरै लागत लाग्दैन, उहाँहरु रेकर्ड गरेर पठाउनु हुन्छ, अपडेट वा लोड गर्नलागत नलागे पनि सीआरबिटी प्रयोगकर्ताहरुबाट भइरहेको आम्दानी भने घट्छ, सरकारी सूचनाहरु बजाउँदा सीआरबिटी सेवा बन्द हुन्छ,’ उनले भने, ‘कोरोना महामारीको बेला लामो समय न्यूनीकरण सम्बन्धी सूचना बजाउनु पर्याे, त्यो बेला सीआरबीटी धुनहरु बन्द गर्दा आम्दानी घट्यो, घाटा भएको होइन तर आम्दानीमा ब्रेक लागेको हो ।’ उनले ग्राहकलाई दिक्क लाग्ने सूचनाहरुमा टेलिकम सचेत रहेको बताए । सूचना बजाउने भाँडोको रुपमा लिने भन्दा पनि राज्यको निकाय भएकाले जिम्मेवारी बहन गरेको उनको भनाइ छ । राज्यको नीति र आवश्यकता अनुसार यस्ता सन्देशहरु बजाइने गरेको उनले बताए । विकट ठाउँमा कम्पनीले लागत भन्दा सस्तो सेवा दिइरहेको प्रवक्ता अधिकारी बताउँछन् । देशभर सञ्चार सेवा सुलभ दरमा पुर्याउने कम्पनीको दायित्व रहेको उनले बताए । ‘नेपाल टेलिकमले अहिलेसम्म कुनै कम्पनी वा ब्यक्तिको विज्ञापन गर्ने गरेको छैन, एनटिसीले सन्देशमुलक सूचना मात्रै सरकारको तर्फबट बजाएको हो, विदेशमा टेलिकम कम्पनीहरुले पनि विज्ञापन गरिरहेका उदाहरण छन्, कतिपय देशमा सञ्चार सेवा प्रदायक कम्पनीले विज्ञापन प्रसारण गरेका हुन्छन्,’ उनले भने । सरकारका सूचना तथा अन्य माध्यमभन्दा सजिलो र छोटो अवधिमा धेरै भन्दा धेरै जनतामाझ पुर्याउन टेलिकमको सेवा सबैभन्दा बढी प्रभावकारी रहेको उनले बताए । तर, टेलिकमले सूचना बजाउँदा अरुको भाग खोसेको जस्तो देखिएपनि कम्पनीले आफ्नो उत्तरदायित्व मात्रै निर्वाह गरेको बताए । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राखेर सूचना सन्देश प्रसारण गर्नुपर्ने बताउँछन् । विज्ञापन बोर्डले जारी गरेको आचार संहिता अनुसार कुन-कुन सूचना कुन माध्यमबाट बजाउने भनेर स्पष्ट खुलाएको उनको भनाइ छ । दैविक प्रकोप, सामाजिक र सार्वजनिक हीतको सूचना, अत्यावश्यक सेवा वा जनधनको क्षति हुने अवस्था आयो भने जुनसुकै माध्यमबाट पनि सूचना प्रकाशन/सारण गर्ने चलन संसारभरी रहेको उनले बताए । ‘टेलिकमले उपभोक्ताको सन्तुष्टिलाई ध्यान दिनुपर्छ, ग्राहकको सन्तुष्टि नै सबैभन्दा ठूलो कुरा हो, यदि त्यस्ता सूचनाले ग्राहकलाई दिक्क लाग्ने वा मन पराएका छैनन् भने टेलिकम सजग हुनुपर्छ,’ उनले भने, ‘तपाई हामीले प्रयोग गरेको फोनको शुल्क तिरेको हुन्छ, यसमा हाम्रो अनुमति र अत्यावश्यक बेगर प्रसारण गर्नु हुँदैन, ग्राहकको सन्तुष्टिलाई बुझ्ने दायित्व कम्पनीको नै हो ।’ कम्पनीले प्रसारण गरेको सूचना वा सन्देशले ग्राहकलाई आकर्षण वा विकर्षण के गरेको छ भनेर सचेत हुनुपर्ने उनले बताए । उनका अनुसार नेपाली भाषा नबुझ्ने कुनै एक ग्राहक छ भने उसले त्यो सूचना केही बुझ्दैन भने यस्ता सन्देश आउँदा झनै दुविधा बनाउँछ । त्यसले ग्राहकलाई सही ढंगले सेवा दियो की दिएन भनेर विश्लेषण गर्ने जिम्मा कम्पनीको नै रहेको उनले बताए । कम्पनीले आफ्नो विज्ञापन पनि आफ्नै माध्यमबाट गर्न नपाइने अध्यक्ष हुमागाईंले बताए । विज्ञापनमा सूचीकरण भएका सञ्चार माध्यममा मात्रै विज्ञापनको कारोबार गर्नुपर्ने उनको भनाइ छ । टेलिकम र एनसेल सेवा प्रदायक कम्पनी भएकाले आफ्नो विज्ञापन आफ्नै माध्यमबाट गर्न नहुने उनले बताए । ‘ग्राहकले शुल्क तिरेको हुँदा विज्ञापन बजाउन पाउँदैन, विज्ञापन बजाएर यति छुट दिन्छु भनेको हुँदैन, ग्राहकको तर्फबाट पनि कम्पनीले हेर्नुपर्ने हुन्छ, यो विषयमा टेलिकमले ग्राहकमैत्री रुपमा हेर्नुपर्छ,’ उनले भने, ‘विज्ञापन गर्ने अन्य माध्यम पनि छन्, विज्ञापन गर्ने माध्यम टेलिकम्युनिकेसन क्षेत्र होइन, विज्ञापन गर्ने प्ल्याटफर्म पनि होइन ।’ सार्वजनिक हितको लागि टेलिकमले बजाएको सन्देशमा कुनै आपत्ति नजानएको बोर्ड अध्यक्ष हुमागाईंले बताए । यदि कुनै ब्राण्ड वा प्रडक्ट (आफ्नो बाहेक)को विज्ञापन गर्याे भने विज्ञापन बोर्डले कारवाही गर्ने उनको भनाइ छ ।

४ करोडमा कञ्चनपुरमा शिक्षालयको भवन निर्माण हुँदै

कञ्चनपुर । शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयका लागि भवन निर्माण अगाडि बढाइएको छ । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा चार करोड पाँच लाख रुपैयाँको लागतमा शिक्षालयको तीन तले भवन निर्माण भइरहेको छ । चण्डीदेवी निर्माण सेवाले दश महिनाभित्र भवन निर्माण पूरा गर्नका लागि सम्झौता गरी फाउण्डेसन राख्ने कार्य अगाडि बढाएको शिक्षालयका प्रमुख दिपक बिष्टले बताए । ‘असोज महिनाभित्रै निर्माणको कार्य पूरा गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेका छौँ’, उनले भने, ‘सम्झौताअनुसार निर्माणको कार्य भइरहेको छ ।’ उनका अनुसार निर्माण भइरहेको शिक्षालयको भवनमा ११ वटा कक्षा कोठा, शौचालय निर्माण हुने छन् । निर्माण भइरहेको भवन पूर्णरुपम भूकम्प प्रतिरोधी हुने उनले जानकारी दिए । शिक्षालयको आफ्नो भवन नहुदा कृष्ण वैजनाथ बहुमुखी क्याम्पसको भवनमा कक्षा र कार्यालय सञ्चालन हुँदै आएको छ । शिक्षालयको भौतिक संरचना निर्माणका लागि नौ बिघा सात कट्ठा जग्गा उपलब्ध गराइएको छ । उपलब्ध गराइएको सार्वजनिक जग्गाको स्वामित्व शिक्षालयलाई दिइएको नगरपालिकाको वडा नं ११ का वडा अध्यक्ष शेरबहादुर साउँदले बताए । शिक्षालय भवन निर्माणको कार्यसँगै विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि गत वर्ष २० लाख ३४ हजारको लागतमा वर्कसप निर्माण गरिएको थियो । वर्क सपमा निर्माणसम्बन्धीका लागि सामग्रीसँगै मेकानिकल मेसिन राखिएको छ । विसं २०७६ मा स्थापना भएको शिक्षालयमा सिभिल, मेकानिकल र अटोमोबाइलका कक्षा सञ्चालन हुँदै आएका छन् । सिभिलमा ४८, मेकानिकलमा २४ र अटोमोबाइलमा २४ गरी ९६ विद्यार्थी पठनपाठन गर्दै आएका छन् । शिक्षालय स्थापनाको पहिलो वर्ष कक्षा सञ्चालन र कार्यालय व्यवस्थापनका लागि शुक्लाफाँटा नगरपालिकाले ५० लाख रकम अनुदानस्वरुप उपलब्ध गराएको निवर्तमान नगर प्रमुख दिलबहादुर ऐरले बताए । ‘शिक्षालय स्थापना गर्दा केन्द्रबाट बजेट निकासा नभए पछि नगरपालिकाबाट अनुदान रकम उपलब्ध गराई कक्षा सञ्चालनमा ल्याएका हौँ’, उनले भने, ‘आर्थिकरुपमा कमजोर रहेका परिवारले प्राविधिक शिक्षा पढाउन बालबालिकालाई टाढाको विद्यालय पठाउन सक्ने अवस्था थिए, अहिले घर दैलोमै प्राविधिक शिक्षा पढ्न पाएका छन् ।’ गुणस्तरीय शिक्षामा जोड दिनका लागि लाग्नुपर्ने उनको भनाइ रहेको छ । रासस