काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पारेका छन् ।
सोमबार विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले सरकारले आजसम्म पनि सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको र आगामी दिनमा पछि पार्ने नीति नलिने स्पष्ट पारे ।
उनले सामुदायिक रेडियोहरू पछि नपर्ने गरी आफ्ना कार्यक्रम र समाचार सम्प्रेष्ण गर्नुपर्ने बताए । मन्त्री पौडेलले सामुदायिक रेडियोको नविकरण, दर्ता र करका विषयमा रहेका समस्या समाधानका लागि प्रतिनिधिमुलक ढंगबाट मन्त्रालयमा छलफलका लागि आउन आग्रह गरे ।
उनले रेडियोको गति तिब्र रुपमा अघि बढ्न जरूरी रहेको बताए। उनले नेपाल शान्ति क्षेत्र हो भन्ने सन्देश रेडियोमार्फत विश्वभर पुर्याउन सक्नुपर्ने बताए ।
विगतका शान्तिप्रक्रिया र द्वन्द्वका घाउलाई मलमपट्टी लगाउँदै अघि बढ्न आवश्यक रहेको बताए। ‘सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति लिँदैन। यसमा स्पष्ट हुनुहोला। पछि पर्ने कुरा सरकारको जिम्माको कुरा होइन । यो यहाँहरुको जिम्माको कुरा हो’, उनले भने, ‘सरकारले पछि पार्ने नीति लिँदैन र यहाँहरु पछि पर्नु पनि हुँदैन । कहिले काहीँ म्याराथनमा मान्छे पछि छुटे जस्तो लाग्छ, तर त्यो पछि छुटेको मान्छे, लास्ट डेस्टिनेशनमा पछि अगाडि पुगिसकेको हुन्छ । हन्ड्रेड मिटरको दौडमा यसो पछि हेर्दा पनि अर्कोले उछिनिसक्छ । यो यहाँहरु सय मिटरको रेसमा होइन । म्याराथनमा हुनुहुन्छ ।’
उनले अगाडि भने- नविकरण, दर्ता, करका विषयहरुमा समस्याहरु के हुन्, यहाँहरु प्रतिनिधि मुलक ढंगले आउनुहोला । सबै समस्याहरु छलफलबाट समाधान गर्न सकिन्छ।’
अर्थमन्त्री पौडेलले सामाुदायिक रेडियोको भुमिका प्रशंसनीय रहेको बताए। यस वर्ष रेडियो र शान्ति भन्ने नारासहित यस वर्ष विश्व रेडियो दिवस मनाइएको छ ।