विकासन्युज

अर्थमन्त्रीको गनगन, सचिवको कर्के आँखा र सह-सचिवको चिट

काठमाडौं । आइतबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै बजेट २ खर्ब ४४ अर्ब रुपैयाँले घटाए । हरेक वर्षको बजेट समीक्षापछि त्यसको जानकारी दिन पत्रकार सम्मेलन गर्ने अभ्यास छ । त्यही अभ्यासको निरन्तरता आइतबार अर्थमन्त्रीले पनि दिए । दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठकमा चालू आर्थिक वर्षको बजेट घटाएको जानकारी गराएका पौडेलले साँझ ५ बजेका लागि पत्रकारहरुलाई अर्थमन्त्रालयको सुवर्ण हलमा बोलाए । बिहान ८ बजेर ७ मिनेटमा बजेटको अर्धवार्षिक समीक्षाका लागि भन्दै पत्रकारलाई निमन्त्रणा आयो । त्यसको ४ घण्टापछि अर्थात् दिउसो १२ बजेर ४४ मिनेटमा ५ बजेका लागि तय भएको पत्रकार सम्मेलन ६ बजेका लागि सारिएको भन्दै पुनः निमन्त्रणा पठाइयो । ६ बज्नु अगाडि नै अर्थमन्त्रालयको तेस्रो तलामा रहेको सुवर्ण हल पत्रकार सम्मेलनका लागि गएका सञ्चारकर्मीहरुले भरिभराउ थियो । ६ बज्यो । सबै सञ्चारकर्मीहरु अर्थमन्त्रीको पर्खाइमा थिए । हलमा अर्थमन्त्रालयका केही प्रतिनिधिहरु पनि थिए । सवा ६ बज्यो । अर्थमन्त्री आइपुग्ने सुरसार भएन । पत्रकारहरुले हलमा रहेका अर्थमन्त्रालयका प्रतिनिधिहरुलाई अर्थमन्त्री नआउने हुन् भनेर जिज्ञासा राख्न थाले । अब ५/१० मिनेट आइपुग्नु हुन्छ भन्ने ती प्रतिनिधिहरुको आवाज बनावटी थियो । त्यो बनावटी आवाज पटक-पटक सुनियो । पौने ७ बज्यो । हलभित्र भरिभराउ रहेका सञ्चारकर्मी हलबाट बाहिरिने क्रम बढ्दै थियो । पत्रकार सम्मेलन सकिएपछि ढिलो हुने भन्दै अर्थमन्त्रीका प्रेस संयोजक भुवन केसीले खाजाको प्रस्ताव गरे । खाजा आयो । सबैले खाजा खाए । ७ बज्यो । अहँ, अर्थमन्त्री आइपुगेनन् । पत्रकार सम्मेलन एक घण्टा ढिलो भइसकेको थियो । कतिपय पत्रकारहरुको धैर्यताको बाँध टुटिसकेको थियो । भरिभराउ रहेको सुवर्ण हल आधा भइसकेको थियो । ७ बजेपछि अर्थमन्त्रालयका केही उच्च अधिकारीहरु हलभित्र प्रवेश गरे । सहसचिव, सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतको सहभागिता हलमा भयो । त्यसको १०/१२ मिनटेपछि अर्थात् ७ बजेर २० मिनेटमा हलमा आवागमन भयो उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको । हँसिलो, हतारिँदै र हस्याङ्ग फस्याङ्ग गर्दै आएका अर्थमन्त्री पौडेलको आसन बित्तिकै बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख सहसचिव धनीराम शर्माले उनलाई बजेटको समीक्षाको विषयमा धारणा राख्न आग्रह गरे । उनले सुरुमै अर्थमन्त्रालयको सुवर्ण हलमा सम्पूर्ण पत्रकारहरुलाई स्वागत भन्दै कारणवस कार्यक्रम ढिलो हुन गएको र यो परिस्थितिको सम्पूर्ण जिम्मा आफुले लिने उद्घोष गरे । उनले त्यसपछि सरसर्ती बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा उल्लेख मुख्य विषयहरुलाई करिब ९ मिनेट समय लगाएर सकाए र पत्रकारहरुको जिज्ञासाका लागि फ्लोर खुल्ला भएको जानकारी गराए । सुरुमै कान्तिपुर टीभीका सुमन पन्तले आफ्नो जिज्ञासा राखे । उनले सोधे, ‘आर्थिक वृद्धिको लक्ष्य भेटाउन सकिँदैन भनेर बजेट घटाउनु भएको छ, अब राजश्व संकलनको लक्ष्य कति हो, महँगी नियन्त्रण कत्तिमा राख्नु हुन्छ ? पन्तको जिज्ञासा लगत्तै हाम्रो अर्थ डटकममा आवद्ध मेनुका कार्कीले प्रत्येक वर्ष बजेटको आकार घटाउने र बजेटको लक्ष्य कहिल्यै हासिल नगर्ने परिपाटी किन बन्छ ? भनेर प्रश्न गरिन् । उनले थपिन्, ‘हामी डेढ घण्टादेखि पर्खिरहेका छौं, अर्थमन्त्रीज्यू, पत्रकारको पनि समय हुन्छ भन्ने बुझिदिनु होला ।’ सोही बिचमा अन्य पत्रकारहरुले पनि आफ्नो जिज्ञासा राखे । अन्तिममा जिज्ञासा राख्दै अन्नपूर्ण पोष्टमा आवद्ध रोविन पौडेलले पनि अर्थमन्त्री ढिलो गरि आएको प्रति गुनासो गरे । उनले समय तोकेरै ब्यांग्यात्मक किसिमले भने, ‘हामीले यो कार्यक्रम अघि नै मन्त्रीज्यूलाई १ घण्टा १९ मिनेट समय दिएका रहेछौं, धनयवाद ।’ पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले ७ मिनेट पत्रकारका जिज्ञासा सुने । जिज्ञासा राख्ने पत्रकारहरुको संख्या बढी नै थियो । तर, हतार भएको आभास दिलाउँदै उनले बिचमै प्रश्नको जवाफ दिन तर्फ लागे । जवाफमा सुरुमै उनले पुनः १ घण्टा १९ मिनेटको प्रशंग निकाले । ‘संसदबाट सिधै पत्रकार सम्मेलनमा आउने मन थियो, बिचमै मन्त्रिपरिषद् बैठक भयो, फेरि अर्कै कार्यक्रममा जानु पर्यो, यो परिस्थितिवस् बनेको हो, यसमा अन्यथा नसोच्नु होला,’ उनले भने । पत्रकारले राखेका जवाफमा उनले सुरुमै राखेका बजेटको समीक्षाका विषयहरु दोहोर्याउन थाले । प्रश्नको जवाफमा कुनै तुक थिएन । तुक यस मानेमा कि प्रश्न एउटा र जवाफ अर्कै थियो । उनले जवाफ दोहोर्याएको देखेर छेउमा बसेका सह-सचिवहरुले कागजमा लेखेर अर्थमन्त्रीको हातमा थमाउन थाले । सहसचिव धनीराम शर्माले पनि त्यसमा साथ दिए । एक जना सहसचिव पछाडिबाट आएर जवाफको चिट उनको हातमा राखे । अर्थमन्त्री पौडेलले त्यो चिटलाई समात्दै ती व्यक्तिलाई करिब दुई सेकेण्डसम्म नियाले । अर्थसचिव तोयम रायाले पनि कर्के आँखाले उनलाई हेरे । पौडेलले प्राप्त चिटहरुलाई हेरे जस्तो गरेर जवाफ बनावटी दिए । केही सञ्चारकर्मीहरुले बजेट कटौतीको विषयलाई राजनीतिसँग पनि जोडेर प्रश्न गरे । त्यसको जवाफमा अर्थमन्त्री पौडेलले यो इकोनोमिक फोरम भएपनि राजनीति पनि मिसिएको जवाफ फर्काए । उनले थपे, ‘स्रोत परिचालन र खर्च व्यवस्थापनको सम्भावना मूल्यांकन गरेर ‘रिसाइज’ गरिएको हो, जे गरेका छौं, कार्यान्वयन गर्छौं, मध्यावधिमा छौं, चालू आवको अन्त्यमा प्रश्न सोध्नु होला ।’ बजेटको अर्धवार्षिक समीक्षाका लागि पत्रकार सम्मेलन गरिएको भएपनि त्यसमा बढी प्राथमिकता भने मन्त्रीको ढिलाईसुस्तीले पायो । उनले आफैले पनि बारम्बार माफी मागिरहे । तर, पत्रकारहरुले उनलाई उनको ढिलाइको जवाफ भने माग्न छोडेनन् । त्यसको एउटा हिस्सा र प्रश्न एउटा यो पनि हो । आखिर, उच्च पदस्थहरुको समयप्रतिको अटेर र ढिलासुस्ती कहिलेसम्म ?

भीमफेदी–कुलेखानी सडक आजदेखि २ महिना बन्द

मकवानपुर । मकवानपुरको भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडकखण्ड मर्मत गर्न आजदेखि दुई महिनाका त्यहाँबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयकाअनुसार हेटौँडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने हल्का सवारी साधानलाई आज बिहानैदेखि मकवानपुरको चित्लाङ हुँदै थानकोटको बाटोबाट सवारीसाधन  सञ्चालन गराइएको छ । उक्त कार्यालयका प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार काठमाडौँको बल्खुबाट हेटौँडातर्फ आउने हल्का सवारीसाधन (सुमो, जीप, कार, मोटरसाइकल र मिनी बस)लाई ललितपुरको भट्टेडाँडाबाट मकवानपुरको ठिङ्गन हुँदै कान्तिलोकपथबाट दुई महिनाका लागि यातायात सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । यसैबीच वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल एवं मन्त्रीहरु र सरोकारसँग सम्बन्धित निकाय, यातायात व्यवसायी, स्थानीय प्रशासन र प्रहरीसहितको संयुक्तरुपमा बसेको बैठकले भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडक मर्मत गर्ने निर्णय गरेकाले दुई महिनाका लागि यातायात सञ्चालनमा रोक लगाई कार्यान्वयन गर्न आजैदेखि कुलेखानी, थानकोट र भट्टेडाँडा कान्तिलोकपथमा अस्थायीरुपमा हल्का सवारीसाधन सञ्चालन गराइएकोे सहायक प्रजिअ नेत्रप्रसाद शर्माले बताए । वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट काठमाडौँतर्फ र काठमाडौँबाट हेटौँडातर्फ करिब दुई हजारभन्दा बढी हल्का सवारीसाधन दैनिक सञ्चालनमा रहेको नारायणी यातायात व्यवसायी संघका महासचिव सरोजकुमार खनालले जानकारी दिए । रासस

म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन

म्याग्दी ।  म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन भएका छन् ।  कोरोना (भाइरस)को महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, घार र राम्चेमा सञ्चालित चिज उद्योग बन्द भएका थिए । राम्चेको आरडिसी डेरी तथा चिज र पाउद्वारको सामुदायिक चिज उद्योग सञ्चालनमा आइसकेका छन् भने घारको हिमालयन चिज उत्पादन कृषि सहकारी संस्थाले यही फागुन ७ गतेदेखि उत्पादन सुरु गर्ने तयारी गरेको छ। पर्यटकको आगमन बढ्न थालेको र बजारबाट माग आउन थालेकाले बन्द भएको चिज उद्योग पुनःसञ्चालन गरिएको आरडिसी डेरी तथा चिज उद्योगका सञ्चालक यामबहादुर पुनले बताए। तीन जर्सी गाई पालेका उनले दैनिक एक किलोग्रामका दरले चिज उत्पादन गर्दै आएका छन् । घोडेपानी, तातोपानी, मुस्ताङ र पोखरालगायत पर्यटकीय स्थलका होटल तथा रेष्टुरेष्टमा चिज खपत हुने गर्छ। गाईको दूधबाट बनाइने प्रोट्रिनयुक्त चिज पर्यटकले रुचाउने परिकारमध्येमा पर्छ । चिज उपभोग गर्ने पर्यटकको आगमन ठप्प भएपछि खपत हुन नसकेर ती उद्योग बन्द गरिएको थियो । हिमालयन चिज उत्पादन सहकारी संस्थाका अध्यक्ष श्यामप्रसाद खड्काले सञ्चालक र कृषकको भेला गरेर उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरिएको बताए । ‘त्यसबेला बिक्रीका लागि तयारी भएको १५ टन चिज कुहिएर खेर फाल्नुपरेको थियो । धेरै कृषकले गाई पनि बेच्नुभयो,’ उनले भने, ‘गाई पालेका कृषकको अपेक्षा र बजारको आवश्यकताअनुसार चिज उद्योग पुनःसञ्चालन गर्ने निर्णय गरेका हौ ।’ उक्त सहकारीमा आवद्ध ३५ कृषकले दैनिक ३०० लिटर दूध चिज उद्योगलाई बिक्री गर्दै आएका थिए । उद्योग वन्द हुँदा कृषकले गाईको दूधबाट घ्यू बनाएर बेच्ने गरेका थिए । प्रतिकिलो चिज  ८०० देखि एक हजार रुपैयाँका दरले बिक्री हुने गरेको छ । विसं २०७१ मा कृषकहरुले २० लाखमा स्थापना गरेको उद्योगमा ३२ लाख रुपैयाँ लगानी पुगेको छ। उद्योग सञ्चालन भएपछि कृषकहरु उत्साहित भएका छ। चिज उद्योगमा दूध बिक्री गर्न कृषकहरुले होल्याड र जर्सी जातको गाई पालेका छन् । रासस

बीमाको रकम पाइने लोभमा बर्दियाका चौधरीले जलाए आफ्नै गाडी

काठमाडौं । बर्दियाका चालक रामु चौधरीले बीमा दावी गर्ने मनासयले आफै गाडीमा आगो लगाएका छन् । गाडी मर्मत गर्न बढी रकम लाग्ने भएपछि निज चालकले आफ्नो फोर्स गाडीमा आगो लगाएका पुष्टि भएको छ । फागुन १ गते बिहान करिब २ बजेको समयमा जिल्ला बर्दिया मधुबन नगरपालिका-०४ बसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडक खण्डमा तत्काल एकिन नम्बर खुल्न नआएको पछि खुल्न आएको लु २ ख २०८४ नम्बरको सेतो रंगको फोर्स गाडी आगलागी भएको जानकारी पाएपछि प्रहरी कार्यालय ढोढरी बर्दियाको टोली घटनास्थलमा पुगेको थियो । उक्त घटनास्थलमा पुग्दा गाडीको पुरै भाग आगलागी भई पुर्ण रुपमा जली नष्ट भएको अवस्थामा रहेको प्रहरी कार्यालयले जनाएको छ । र, घटनास्थलमा कुनै पनि व्यक्ति नरहेको सो घटनाको अनुसन्धान गर्ने क्रममा उक्त सवारी साधनको चालक जिल्ला बर्दिया मधुबन नगरपालिका-०२ गंगापटुवा बस्ने रामु चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्यो । सोधपुछको क्रममा चालक चौधरीले गत माघ २० गते उक्त फोर्स गाडी बिग्रिएकोले मर्मतको लागी ग्यारेजमा लगेका बताए । तर मर्मत गर्न बढी रकम लाग्ने भएपछि उनले गाडीमा आगो लगाई बीमा दाबी गर्ने मनसायले माघ २९ गते राती करिब ८ बजेको समयमा छुट्टै जिपद्वारा टोचन लगाई जिल्ला बर्दिया मधुबन नगरपालिका-०४ बसन्ता स्थित एकान्त जँगल एरियाको माचड भुरिगाउँ जोड्ने पक्की सड्कको पश्चिम किनारामा लगे । र, फागुन १ गते बिहान करिब २ बजेको समयमा उनले गाडीमा डिजल छर्की आगो लगाई आफ्नो घरतर्फ गएको जानकारी प्रारम्भिक अनुसान्धनबाट प्राप्त भएको प्रहरीले जनाएको छ । साथै, उक्त प्रहरीको टोलीले चालक चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

गेटा मेडिकल कलेज देशकै गौरव हो : प्रधानमन्त्री दाहाल

सुदूरपपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताएका छन् । गोदावरी नगरपालिका-५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले सो मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय हिजो नै मन्त्रिपरिषद्को बैठकले गरेको जानकारी दिए। उनले भने, ‘शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भनेर हिजो नै क्याबिनेट राखेर सैद्धान्तिक निर्णय भएको छ, अब व्यावहारिक रुपले यो मेडिकल कलेज चलाउनेतिर तीव्र गतिमा अगाडि जान्छ ।’ पहिलो पटक प्रधानमन्त्री हुँदा पनि सुदूरपश्चिममा केही काम गर्ने र सबैभन्दा धेरै सुदूरपश्चिममा नै आएर आयोजनाको अवलोकन गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने ,’यस पटक पनि प्रदेशस्तरमा विकास आयोजनाको अनुगमन गर्ने काम सुदूरपश्चिमबाटै भएको छ देशकै निम्ति गौरवको राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा बन्दैछ ।’ सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री दाहालले मेडिकल कलेज सञ्चालनका लागि कुर्नै पर्दैन भने । अवलोकनका क्रममा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । गुरुयोजना बमोजिमका कलेजका झण्डै ४२ संरचना मध्ये २८ भवन संरचना तयार भई निर्माण कम्पनीले हस्तान्तरण गरिसकेको छ । बाँकी संरचना हस्तान्तरणको चरणमा छन् । आगामी असारसम्म सबै संरचनाको निर्माण पूरा भइसक्ने जनाइएको छ । हाल खानेपानी, सडक पूर्वाधार जस्ता साना आयोजनाको काम निर्माणाधीन रहेको कार्यकारी निर्देशक पुजाराले बताए ।  कलेज निर्माणमा हालसम्मको लागत पाँच अर्ब ४५ करोड रुपैयाँ रहेको छ । विसं २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाका लागि संरचना निर्माण सुरु भएको थियो । गेटा मेडिकल कलेज छ सय शय्याको निर्माण गर्ने लक्ष्य छ । कलेज सञ्चालनसँगै स्वास्थ्य शिक्षाका उच्चस्तरको जनशक्ति उत्पादन हुने र स्वास्थ्योपचारको सेवा प्राप्त हुनेछ । 

सात महिनामा ३७ प्रतिशत बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०७९र८० को सात महिनामा सरकारी बजेट खर्च ३७ दशमलव २२ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सरकारले ६ खर्ब ६७ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबर बजेट खर्च गरेको हो । यो अवधिमा चालु खर्च वार्षिक विनियोजनको ४४ दशमलव ९२ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि चालुगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ विनियोजन भएकोमा माघ मसान्तसम्म पाँच खर्ब ३१ अर्ब ५० करोड बराबर खर्च भएको देखिएको हो । पुँजीगततर्फ चालु आर्थिक वर्षका लागि तीन खर्ब ८० अर्ब ३८ करोड ४५ रुपैयाँ लाख बराबर विनियोजन भएकोमा सात महिना अवधिमा वार्षिक विनियोजनको १७ दशमलव ४३ प्रतिशत अर्थात् ६६ अर्ब २९ करोड ८४ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको छ । त्यस्तै, वित्तीय व्यवस्थापन शीर्षकमा चालु आर्थिक वर्षका लागि दुई खर्ब ३० अर्ब रुपैयाँ बराबर बजेट छुट्याइएकोमा वार्षिक विनियोजनको ३० दशमलव ३४ प्रतिशत बराबर खर्च भएको छ । जुन ६९ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबर रहेको छ । वित्तीय व्यवस्थापनतर्फको बजेट सरकारी ऋणको साँवा र ब्याज तिर्नका लागि प्रयोग हुन्छ । यस अर्थमा चालु आवको सात महिनामा सरकारी ऋणको साँवा ब्याज भुक्तानीमा भएको खर्च भन्दा पुँजीगत खर्च कम देखिएको छ । सात महिना अवधिमा सरकारको राजस्व सङ्कलन ३८ प्रतिशत बराबर छ । चालु आवका लागि कूल १४ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँ बराबर राजस्व असुली गर्ने सरकारको लक्ष्य छ । तर माघ महिनासम्म पाँच खर्ब ५४ अर्ब २३ करोड ६१ लाख रुपैयाँ बराबर मात्रै राजस्व उठेको छ । चालु आवका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा माघ मसान्तसम्ममा लक्ष्यको आठ दशमलव ६६ प्रतिशत अर्थात् चार अर्ब ८० करोड २० लाख रुपैयाँ बराबर अनुदान आएको छ । रासस

विकास निर्माणमा सबै दलको सहकार्य जरुरी : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विकास निर्माणमा सबै दलसँग सहकार्य आवश्यक भएको बताएकी छन् । नारायणपुर उद्योग वाणिज्य सङ्घ दाङले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले विकास निर्माण कुनै दल विशेषको नहुने भन्दै त्यसका लागि स्थानीय तहसँगको सहकार्य आवश्यक रहेको बताइन् । गृह जिल्ला दाङ आएकी मन्त्री शर्माको स्वागत तथा सम्मानका लागि आज विहान कार्यक्रम आयोजना गरिएको थियो । विकास निर्माणको नेतृत्व आफूले गर्ने भन्दै त्यसका लागि आम जनतालाई सहयोग गर्न आग्रह गरिन् । लामो समयदेखि घोराही–तुलसीपुर निमार्णाधिन चारलेन सडक अलपत्र रहेको भन्दै त्यसलाई अगाडि बढाउन अर्थमन्त्रीसँग छलफल भएको जानकारी दिइन् । आठ पटकसम्म ठेकेदार परिवर्तन हुँदा पनि सडक निर्माणले गति नलिएको भन्दै उनले सरकारले बजेट सुनिश्चित गरी ठेक्का सम्झौता तोड्ने तयारी गरेको उल्लेख गरिन् । सञ्चार मन्त्रालय देशको राष्ट्रियतासँग जोडिने मन्त्रालय भएपनि आफ्नो मन्त्रालयलाई नागरिकसँग कसरी जोड्न सकिन्छ भनेर ध्यान दिएको उनको भनाइ छ । रासस

२८औँ जनयुद्ध दिवसमा पेरिस डाँडा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार नेकपा (माओवादी केन्द्र) द्वारा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित २८औँ जनयुद्ध दिवसमा सहिदको तस्वीरमा माल्यार्पण गर्दै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार नेकपा (माओवादी केन्द्र) द्वारा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित २८औँ जनयुद्ध दिवसमा सहिदको तस्वीरमा माल्यार्पण गर्दै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार नेकपा (माओवादी केन्द्र) द्वारा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित २८औँ जनयुद्ध दिवसमा सहिदको तस्वीरमा माल्यार्पण गर्दै । सोही कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोही कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोही कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेत्री पम्फा भुसाल’ द्वन्दपीडित परिवारका छोराछोरी