विकासन्युज

शिवम् सिमेन्टको उपहार योजना : २ जोडीलाई थाइल्याण्ड भ्रमणको अवसर

काठमाडौं । शिवम् सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ उपहार योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरिएको छ । उद्योगले सोमबार पत्रकार सम्मेलन गरी उपभोक्ता तर्फ ३० जना र बिक्रेता तर्फ ४० जना विजेताहरुको नाम सार्वजनिक गरेको छ । लक्की ड्रमार्फत घोषणा गरिएको विजेतामा उपभोक्ता तर्फ प्रथम पुरस्कार पाउनेमा विकास कोइराला र रामप्रवेश यादव रहेका छन् । दुवै जना विजेताले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेको कम्पनीले बताएको छ । दोस्रो पुरस्कार जित्नेमा दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनककुमार झा सहित ४ जोडी रहेका छन् । दोस्रो बनेका उनीहरु सबै जनाले हेलिटुरको अवसर पाउने छन् । तेस्रो हुने फेवा कन्ष्ट्रक्सन, दिपेन्द्रकुमार झा, केशवकुमार, शर्मिला केसी, नितु मानन्धर तथा थप एकजना सहित ६ जनाले आधा–आधा केजी चाँदी उपहार प्राप्त गरेका छन् भने चौथो पुरस्कार वापत ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन् । पहिलो लक्की–ड्र मार्फत उपहार जित्न सफल मेची–कोशी क्षेत्रका उपभोक्ता तथा वितरकहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । यसअघि पुस २६ गते लक्की–ड्र मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरुको घोषणा गरेको थियो । सियोर सर्ट पुरस्कार मार्फत १ लाख ५० हजार भन्दा बढीले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरिसकेको उद्योगले जनाएको छ । यो उपहार योजना मिति मंसिर १८ देखि नेपाल भरी लागू गरिएको छ । स्क्रयाच कुपन मार्फत हात खाली नजाने पक्का उपहार अन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीको लागि सम्पर्क गरि शिवम् सिमेन्टको विक्री कार्यालयहरूबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

लघुवित्तले गुमाए ३ अर्ब, ८ संस्था ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १० वटा लघुवित्तको मात्रै नाफा बढेको छ भने अन्य लघुवित्त वित्तीय संस्थाहरुको नाफामा गिरावट आएको छ । लघुवित्त वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सार्वजनिक  गरेको वित्तीय विवरण अनुसार अधिकांश लघुवित्तको खुद नाफामा भारी गिरावट आएको हो । समिक्षा अवधिमा ५७ वटा लघुवित्तले आफ्नो दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । हालसम्म वित्तीय रिपोर्ट सार्वजनिनक गरेका लघुवित्तहरुले ३ अर्ब ४६ करोड ६ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ९ करोड १ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्षको तुलनामा लघुवित्तहरुको नाफामा ४४.७५ प्रतिशत अर्थात् २ अर्ब ८० करोड ३५ लाख ६७ हजार रुपैयाँले गिरावट आएको हो । जसमा ४७ वटा लघुवित्तको नाफा घटेको छ । ८ वटा लघुवित्तले १९ करोड ७० लाख ७५ हजार रुपैयाँ नोक्सानी ब्यहोर्नु परेको छ । यस्तै, ४० लघुवित्तको नाफा गत वर्षको तुलनामा घटेको हो । पुस मसान्तसम्म विभिन्न १० वटा लघुवित्तको मात्रै नाफा बढेको छ । आरएमडिसी लघुवित्तको २२.५८ प्रतिशत, साना किसान लघुवित्तको ३३.८६ प्रतिशत, छिमेक लघुवित्तको ११.५६ प्रतिशत, स्वाबललम्बन लघुवित्तको २.१६ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ३८.३४ प्रतिशत, आरएसडिसी लघुवित्तको ६२.३३ प्रतिशत, नाडेप लघुवित्तको ९३.५६ प्रतिशत, आशा लघुवित्तको ५८ प्रतिशत, नेष्डो समृद्धि लघुवित्तको २.२४ प्रतिशत र गणपति लघुवित्तको ४.५६ प्रतिशत नाफा बढेको हो । यी बाहेक अन्य लघुवित्तको नाफा घटेको छ भने ८ वटा लघुवित्त ऋणात्मक भएका छन् । जसमा उपककार लघुवित्तको १ करोड ६१ लाख रुपैयाँ, मानुषी लघुवित्तकाृ ४४ लाख ६६ हजार रुपैयाँ, वीन नेपाल लघुवित्तको १ करोड ९ लाख ७१ हजार रुपैयाँ, ग्रामीण विकास लघुवित्तको १२ करोड ५९ लाख ९१ हजार रुपैयाँ, सामुदायिक लघुवित्तको ३१ लाख ७२ हजार रुपैयाँ, एनएमबि लघुवित्तको ८० लाख १० हजार रुपैयाँ र लक्ष्मी लघुवित्तको २ करोड ४० लाख ९ हजार रुपैयाँ ऋणात्मक रहेका छन् । समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा छिमेक लघुवित्तले आर्जन गरेको छ । छिमेक लघुवित्तले ५५ करोड ६० लाख ८२ हजार रुपैयाँ, दोस्रोमा ४३ करोड ४९ लाख ६४ हजार रुपैयाँ, तेस्रोमा जीवन विकास लघुवित्तले २६ करोड ४७ लाख ८८ हजार रुपैयाँ, चौंथोमा स्वाबलम्बन लघुवित्तले २४ करोड १ लाख ९५ हजार रुपैयाँ र पाँचौमा डिप्रोक्स लघुवित्तले २४ करोड १ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

आँधीका कारण न्युजिल्यान्डमा विद्युत्, उडान र यातायात सेवा अवरूद्ध

काठमाडौं । न्युजिल्यान्डको उत्तरी भागमा आएको उष्णकटिबन्धीय आँधीका कारण सोमबार हजारौं घरहरु विद्युतविहीन हुनुका साथै उडानहरु अवरुद्ध भएका छन् । आपतकालीन व्यवस्थापन मन्त्री किरन म्याकएनल्टीले तीव्र हावा र भारी वर्षाको ‘अत्यधिक खतरनाक’ संयोजनको कारण देशले व्यापक क्षति व्यहोर्नुपरेको छ । आँधीको अवस्था शुरूमाभन्दा कमजोर भएपनि यसले शहर तथा ग्रामिण क्षेत्रमा व्यापक रूखहरु ढालेको छ, सडकहरुमा क्षति पुर्याएकाे छ र विद्युत लाइन अवरूद्ध भएका छन् । अकल्याण्डसहित उत्तरी पाँच क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ । न्युजिल्यान्डको नर्थ आइल्याण्डमा करिब ५८ हजार मानिस विद्युत्विहीन भएका छन् । अधिकारीहरूले यो सञ्जाल पुनःस्थापित गर्न केही दिन लाग्न सक्ने बताएका छन् । म्याकएनल्टीले भने, ‘जबसम्म मौसम खराब रहन्छ, तबसम्म नेटवर्कमा काम गर्न वास्तवमा असुरक्षित छ । न्युजिल्यान्डको सबैभन्दा ठूलो सहरमा गत महिना आएको बाढीका कारण चार जनाको मृत्यु हुनुका साथै हजारौं मानिस विस्थापित बनेका थिए । उक्त क्षतिको घाउ नमेटिँदै यो अर्को प्राकृतिक विपत्ति आएको छ । नर्थल्याण्ड क्षेत्रमा १४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हावाहुरीले क्षति पुर्‍याएको थियो भने अकल्याण्ड हार्बर ब्रिजमा ११० किलोमिटर प्रतिघण्टाको वेगले आँधीले प्रवेश गरेको थियो । म्याकएनल्टीले भने, ‘सरकारले देशको इतिहासमा तेस्रो पटक राष्ट्रिय आपतकालीन अवस्था घोषणा गर्ने बताइरहेको छ । मेरो विचारमा आपतकालीन अवस्थाको घोषणा गरिहाल्नु पर्दैन । किनकि आँधीको रफ्तार कमजोर भइसकेको छ ।’ मौसमले न्युजिल्यान्डको यातायात सञ्जाललाई पनि तहसनहस पारेको छ, उडान, रेल र बस तालिकाहरू सबै नराम्ररी प्रभावित भएका छन् । एयर न्युजिल्यान्डले हालसम्म ५०९ उडान रद्द गरेको तर मङ्गलबारदेखि सामान्य उडान सुरु हुने अपेक्षा गरिएको जनाएको छ । उक्त विमान सेवालेले १० हजारभन्दा अन्तर्राष्ट्रिय सेवाग्राहीहरू प्रभावित भएको र छ हजार ५०० लाई पुनः टिकट बुक गर्नु परेको बताएको छ । रासस

नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा देवकोटा, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा रेशम प्रसाद देवकोटा निर्वाचित भएका छन् । माघ २८ गते सम्पन्न तेह्रौं वार्षिक साधारण सभा एवं पाँचौं महाधिवेशनबाट देवकोटा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनी महासंघको छैठौं कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । यससँगै उक्त महाधिवेशनले आगामी तीन वर्षको पदाधिकारी तथा कार्यसमिति सदस्यहरु निर्वाचित गरेको छ । त्यस्तै, प्रथम उपाध्यक्षमा प्रेम बहादुर जि. सि., द्धितीय उपाध्यक्ष (एसोसियट)मा कोमल पोखरेल, तृतीय उपाध्यक्षमा लेखनाथ सापकोटा, महासचिवमा गोपाल अग्रवाल र कोषाध्यक्षमा प्रकाश चन्द्र पाण्डे निर्वाचित भएका छन् । यसैगरी, बिनोद लुईटेल सचिवमा, महेन्द्र कुमार श्रेष्ठ सह-कोषाध्यक्षमा चयन भएका छन् । यता सदस्यमा शंकरप्रसाद पोख्रेल, केशव ढकाल, राजेश गौतम, शिवराज रिजाल र चन्द्रकान्त जैसी शर्मा खुलातर्फबाट निर्वाचित भएका छन् । साथै, प्रदेश सदस्यहरुमा प्रदेश नं.१ बाट चन्द्रमणि देवकोटा, मधेस प्रदेशबाट मनोज कुमार अग्रवाल, बागमती प्रदेशबाट सरोज कुमार रेग्मी, गण्डकी प्रदेशबाट राजु भण्डारी, लुम्बिनी प्रदेशबाट लोकनाथ पोखरेल, सुदुरपश्चिम प्रदेशबाट विष्णुराज भट्ट निर्वाचित भएका छन् । त्यस्तै, एसोसियट् सदस्यमा पुरुषोत्तम अधिकारी र बालकृष्ण अग्रवाल गरी दुई जना चयन भएका छन् ।

सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ : प्रधानमन्त्री

कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधरा-चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताएका छन् । साेमबार आयोजित कार्यक्रममा उनले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । ‘सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीति अनुसार निर्माण हुनेछ’, उनले भने, ‘हामी भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौँ, यो रणनीति अघि बढाउन बन्दरगाहले सहयोग पुर्‍याउने विश्वास छ ।’ उनले सुख्खा बन्दरगाहले नेपाल, भारत र चीन तीन वटै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले बन्दरगाह निर्माणलाई उच्च प्राथमिकता दिएको समेत बताए । उनले हालै यसको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम सकिएकाले समयमै निर्माण पूरा हुनेमा विश्वास व्यक्त गरे । ‘एमओयूमै भारत सरकारले तीन वर्षमा बन्दरगाह निर्माण गर्ने भनिसकेकाले मलाई निकै खुसी लागेको छ’, उनले भने, ‘यसबाट सुदूरपश्चिमका साथै मुलुकको विकासमा ठूलो योगदान पुग्नेछ।’ दोधारा-चाँदनी नगरपालिका वडा नं १, २ र ३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रको जग्गा प्रयोग गर्ने गरी नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाहको ईआईएमा सुझाव माग गरेको छ। प्रस्तावित आयोजनाले वन क्षेत्रको एक सय ८९ हेक्टर जग्गा भू-उपयोग परिवर्तन हुने भनि प्रस्ताव गरेको छ । सुख्खा बन्दरगाहमा सडक, रेल्वे प्लेटफर्म, गोदाम, पार्किङ क्षेत्र, भन्सार, तौल पुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, पशुपन्छी/खाद्य जाँच केन्द्र प्रयोगशाला, बैंक, प्रहरी केन्द तथा प्रशासनिक भवन निर्माण हुनेछन् । जसमा गोदामको क्षेत्रफल आयाततर्फ सात हजार वर्गमिटर, निर्यातका लागि दुई हजार पाँच सय वर्गमिटर, रेल्वे वेयर हाउस १७ हजार पाँच सय वर्गमिटर र १० हजार वर्गमिटर क्षेत्रफलको कन्टेनर स्ट्याकिङ यार्ड निर्माण हुनेछ । उक्त अवसरमा प्रधानमन्त्री दाहालले महाकाली नदीमा निर्माणाधिन चार लेनको पक्की पुलको समेत निरीक्षण गरेका थिए ।

नेपालले टर्कीका भूकम्प पीडितका लागि पठायो २२ टन राहत सामग्री

काठमाडौं । नेपाल सरकारले टर्किएका भूकम्प पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ । भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज त्यसतर्फ पठाइएको हो । यही ६ फेब्रुअरीमा टर्किएमा गएको विनाशकारी भूकम्पपछि राहत तथा पुनःस्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै राहत सामग्री पठाउने सरकारले निर्णय गरेको थियो । यसअघि ८ फेब्रुअरीमा परराष्ट्रमन्त्री डा बिमला राई पौड्यालले टर्कीएका समकक्षी मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्तामा भूकम्पबाट भएको क्षतिमा टर्कीएका जनता र सरकारप्रति गहिरो समवेदना प्रकट गर्दै ऐक्यबद्धताका लागि सक्दो सहयोग गर्न नेपाल सरकार तयार रहेको बताएका थिए । परराष्ट्र मन्त्रालयले राहत सामग्री सहयोगका लागि सम्बन्धित सरकारी निकाय, निजी क्षेत्र र मानवीय संस्था तथा ढुवानीका लगि टर्किएस एयरलाइन्सलाई धन्यवाद दिएको छ ।

सन नेपाल लाइफले मृतक प्रेम आचार्यको परिवारलाई दियो ५० लाख रुपैयाँ

काठमाडौं । प्रेम आचार्यको परिवारलाई बीमा कम्पनीले ५० लाख १२ हजार एक सय ९४ रुपैयाँ दाबी भुक्तानी गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमावापतको रकम परिवारलाई हस्तान्तरण गरेको हो । नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा भोलिपल्ट विहान मृत्यु भएको थियो । कम्पनीले दाबी भुक्तानी वापतको मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत् हस्तान्तरण गरेको कम्पनीका इलाम शाखाका प्रमुख टङ्क श्रेष्ठले बताए । आचार्यको निधनभएपछि उनको परिवारलाई देश विदेश तथा विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट सहयोग प्राप्त हुँदै आएको छ । रासस

जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा दिएकोमा विरोध प्रदर्शन

काठमाडाैं । सरकारले फागुन १ गते जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा दिएकोप्रति  विरोध प्रदर्शन गरिएको छ । सरकारले जनयुद्ध दिवस भन्दै सोमवार सार्वजनिक बिदा दिएकोप्रति द्वन्द्वपीडित समुदाय र नागरिक समाजले विरोध प्रदर्शन गरेका हुन् । काठमाडौं जिल्ला अदालत अगाडी भेला भएर दर्जनौँको संख्यामा उपस्थित नागरिक समाज, मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरु र द्वन्द्व पीडितले सरकारको निर्णयको  विरोध गरेका हुन् । उनीहरुले जनयुद्ध दिवसको नाममा दिइएको सार्वजनिक बिदा खारेज गर्नुपर्ने र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने माग राखेका छन् । त्यस्तै फाुगन १ गते नेपाल र नेपालीको लागि कालो दिनको रुपमा रहेको उल्लेख गरेका छन् । बिरोध प्रदर्शन कार्यक्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मानवअधिकारवादी सुशिल प्याकुरेलले जनयुद्ध दिवस भनि बिदा दिनु ज्यादती भएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध दिवसको बिदा दिँदापनि अन्य लोकतान्त्रिक भनिने पार्टीहरु नबोलेका भन्दै लोकतान्त्रिक पार्टीहरुको निरिहता दिवसको रुपमा मनाउनुपर्ने टिप्पणी गरे । मानवअधिकारवादी चरण प्रसाईंले वर्तमान सरकार पीडितको पक्षमा नभई पीडकको पक्षमा उभिएको बताए । उनले हत्या, हिंसा गरेको दिनलाई दिवसको रुपमा मनाउनु नाजायज भएको भन्दै आफूहरुले त्यसको घोर बिरोध गरेको बताए । त्यस्तै अर्का मानवअधिकारवादी महामुनिश्वर आचार्यले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा स्वीकार्न नसकिने बताए । उनले जनयुद्ध नभइ सशस्त्र हिंसात्मक बिद्रोह भएको बताए । द्न्द्वपीडित परिवारले आफूहरुले अझै न्याय नपाएको बताएका छन् । जनयुद्धको नाममा भएको युद्धमा अझैपनि हजारौँ बेपत्ता भएको भन्दै उनीहरुको खोजि सरकारले नगरेको बताएका छन् । विरोध प्रदर्शनका क्रममा द्वन्द्वपीडितलाई न्याय दे, बेपत्ता आन्दोलन जारी छ , अदालतको फैसला लागू गर, दण्डहिनताको अन्त्य गर, हुकुमी शासन बन्द गर, लुटिएको सम्पती फिर्ता गर, हत्यारालाई फाँसी दे लगायतका नाराबाजी समेत भएको थियो ।