विकासन्युज

नाडेप लघुवित्तको प्रस्तावित लाभांशमा राष्ट्र बैंकको अंकुश

काठमाडौं । नेपाल राष्ट्र बैंकले नाडेप लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांशमा अंकुश लगाएको छ । बैंकले लघुवित्तले प्रस्ताव गरेको १०.५२६ प्रतिशत लाभांश वितरणमा प्रतिवन्ध लगाएको हो । राष्ट्र बैंकले नाडेप लघुवित्तलाई अन्य कुनै वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशनमा नगएसम्मको लागि लाभांश वितरणमा रोक लगाएको हो । यसअघि संस्थाले डिप्रोक्स लघुवित्त वित्तीय संस्थासँग प्राप्तिसम्बन्धी सैद्धान्तिक सम्झौता गरेको थियो । तर, उक्त सहमति वदर भएसँगै राष्ट्र बैंकले लघुवित्तलाई लाभांश वितरणमा रोक लगाएको हो । लघुुवित्तले गत माघ १८ गते सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । हाल संस्थाको चुक्ता पुँजी ४८ करोड ५७ लाख रुपैयाँ छ ।

मर्स्याङ्दी गाउँपालिकाले कक्षा १० सम्मका परीक्षा सञ्चालन गर्ने

लमजुङ । जिल्लाको उत्तरी भेगमा रहेको मर्स्याङ्दी गाउँपालिकाले नर्सरीदेखि कक्षा १० सम्मका परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले परीक्षालाई एकरुपता, मर्यादित, विश्वसनीय र वस्तुनिष्ठ बनाउने उद्देश्यले आगामी चैतदेखिका परीक्षा सञ्चालन गर्ने भएको हो । केही दिनअघि सम्पन्न गाउँसभाबाट स्थानीय शिक्षा ऐनमा संशोधन गरी उक्त परीक्षा सञ्चालन गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनले भने, ‘यसका लागि आफ्नै अध्यक्षतामा पालिकास्तरीय परीक्षा समिति गठन गरी माघ २९ गते बसेको बैठकले विभिन्न निर्णय गर्दै कामलाई अगाडि बढाएको छ ।’ सो बैठकले परीक्षा समितिमार्फत गाउँपालिकाबाट नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत, स्थानीय प्रहरी प्रमुख सदस्य रहने उक्त समितिमा शिक्षा शाखाका प्रमुख सदस्य सचिव र पाँच जना विषयगत उपसमितिका संयोजक सदस्य रहने गरी नौ सदस्यीय परीक्षा समिति रहने व्यवस्था गरिएको छ । साथै विषयगत समितिका संयोजकमा तीर्थबहादुर बस्नेत सामाजिक, मुक्तिनाथ न्यौपाने अङ्ग्रेजी, ईश्वरबाबु पाण्डे नेपाली, महेन्द्र न्यौपाने विज्ञान, थमन गुरुङ गणित विषयका लागि चयन भएका छन् । गाउँपालिका अध्यक्ष गुरुङका अनुसार प्रश्नपत्र निर्माणदेखि विषयगत सुधारका निम्ति विषयगत समितिले अन्य विज्ञ शिक्षकको सहयोग लिएर काम गर्ने गरी जिम्मेवारी दिइएको छ । रासस

सडक र नालीको फोहरबाट सुन निकाल्ने काम गर्दै

देउखुरी । मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहरमा पनि सुन फलाउन सकिँदो रहेछ । सडकको धुलो र नालीको फोहर संकलन गरेर बहुमूल्य धातु सुन निकाल्नु बालुवामा पसिना बगाएर सुन फलाउने जस्तै हो । भारतको मध्यप्रदेश जवलपुर निवासी गणेश सोन्जारीले एक महिनादेखि बुटवलको मुख्य बजार अमरपथमा सडक र नालीको फोहर धुलोबाट बहुमूल्य धातु सुन निकाल्ने काम गर्दै आएका छन् । उनलाई सडकको धुलो र नालीको फोहर उठाएर त्यसबाट सुन निकाल्न निक्कै मेहनत गर्नुपर्छ । उनले यो काम गर्न थालेको झण्डै एक दशक भयो । उनले सुनचाँदी पसल अगाडि सडकको धुलो बर्ढाछन् । सडक किनाराको नालीको फोहर पनि उठाएर भाँडोमा राखेर लैजन्छन् । सडकको धुलो र नालीको फोहर नजिकैको फोहर पानी बगिरहेको घोलामा लगेर मज्जाले धुन्छन् । धोएर निस्किएको बालुवालाई राम्रोसँग प्रशोधन गरेर बहुमूल्य सुन निकाल्छन् । उनको यो दैनिकीलाई पत्नी पुष्पाञ्जलिले सघाउँदै आएकी छन् । ‘हामी यहाँ दुई/चार महिना जति यही काम गरेर बस्छौँ’, उनले भने, ‘एक सिजनमा करिब एक/डेढ तोला सङ्कलन हुन्छ । त्यसपछि फेरि आफ्नै देशमा फर्किएर यस्तै काम गर्छौं ।’ बुटवलका अमरपथ, सङ्गमपथ र राममन्दिर लाइन, बिपी चोक क्षेत्र धेरै सुनचाँदी कारोवार हुने व्यावसायिक क्षेत्र हुन् । यहाँ सयौँको सङ्ख्यामा सुनचाँदी पसल रहेका छन् । बिहान १० बजेपछि मात्र पसल खुल्छन् तर त्यसअघि नै यो फिरन्ते समुदाय हातमा कुचो, तारका ब्रस, फलामका कराही लिएर सुनचाँदी पसल अगाडि धुलो बढारेर जम्मा गर्न व्यस्त हुन्छन् । कोही भने सडक छेउको नालीको फोहर जम्मा गर्छन् । त्यही धुलो माटो कराहीमा राखेर नजिकैको फोहर पानी बग्ने घोलामा लगेर मज्जाले चालेर मसिनो कण निकालेर संकलन गर्छन् । भर्खरै बिहान सुनचाँदी पसल अगाडिको फोहर बढारेर पानीमा धोई बालुवा माटो चालेर एक मुठीजति धुलो निकालेका गणेशले भने, ‘अब यसलाई प्रशोधन गरेर सुन निकाल्छौँ, अनि पसलमा लगेर बिक्री गर्छौँ । ’ बुटवलका मुख्य बजार क्षेत्रका सुनचाँदी पसल अगाडि सडक बढारेर सुन खोज्ने काममा लागेका भारत मध्यप्रदेशका राज मुराइको काम पनि दुई महिनादेखि यस्तै चलिरहेको छ । उनीसँगै १० जनाको समूह यही कामका लागि भारतबाट बुटवलमा आएको हो । हरेक वर्ष तीन/चार महिना यसै कामका लागि उनीहरु बुटवलमा बिताउने गर्छन् । सुन पसल अगाडिको धुलो र नालीको फोहर जम्मा गरेर पानीमा धुँदा मसिनो बालुवा निकालेर प्रशोधन गर्दा सुन निस्कने उनी बताउँछन् । भारतको मध्यप्रदेशबाट आएका यिनीहरु फिरन्ते समुदाय हुन् । यिनीहरु समूह बनाएर परिवारसहितै हिँड्ने र नेपाल तथा भारतका यस्तै ठूलाठूला सहरमा महिनौँ बिताउने गर्छन् । यस अवधिमा उनले दैनिकजसो सुन चाँदी पसल बाहिर सडक नालीबाट निस्केको माटो, बालुवा सङ्कलन गरेर नजिकैको घोलामा धोएर प्रशोधनका लागि छनोट गर्दै आएका छन् । यसरी काम गर्दा दैनिकजसो एक/दुई लालसम्म सुन फेला पर्ने गरेको मुरइ बताउँछन् । ‘हामी यहाँ दुई/तीन महिना बस्छौँ । त्यसपछि आफ्नै देश फर्कछौँ’, उनले भने, ‘यहाँ बसुञ्जेल जेजति सुन निस्कन्छ, सबै यहीँका सुनचाँदी पसलमा बेचेर फर्कंने हो ।’ मध्यप्रदेश जवलपुरकै करिब ३५ वर्षीय विशुवा सोन्जारीको ५० जनाको समूह पनि बुटवलका मुख्य सडक, गल्ली र नालामा सुन खोज्न व्यस्त छ । बुटवलमा करिब एक महिनाको बसाइपछि स्वदेशमै फर्किएर यही काममै लाग्ने उनी बताउँछन् । ‘पहिले जस्तो धेरै सुन पाउँदैन’, उनले भने, ‘मान्छे पनि धेरै भए, सुन पनि महङ्गो भयो ।’ सुन पसलको अगाडि प्रायः सुनका गरगहना बनाउने कालीगढले गहना बनाउँदा सुनलाई रेट्ने र थिच्ने काम गर्दा सुनका मसिना कणहरु कपडामा टासिने र उनीहरु आवतजानत गर्ने र फोहर बढारेर बाटोमा फाल्ने गर्छन् । माटोमा ती कणहरु खस्ने भएकाले सडक नालीको माटो उठाएर पानीमा पखालेर सुन निकाल्ने गरेको सुनचाँदी व्यवसायी सङ्घ बुटवलका पूर्वअध्यक्ष एमबी विश्वकर्मा बताउँछन् । सुन कालीगढ र व्यवसायी आवतजावत बढी हुने ठाउँमा बढालेर जम्मा गरेको धुलो धोएर प्रशोधन गरी सुन निकाल्ने गरेको उनी बताउँछन् । यसरी प्रशोधन गर्दा हरेक व्यक्तिले प्रत्येक दिन दुई/तीन लाल सुन जम्मा गर्छन् । कसैकसैले त दिनमै सात/आठ लाल पनि जम्मा गर्ने गरेको उनी बताउँछन् । सुनचाँदी व्यवसायीले सुन गहना बिक्री गर्दा जर्ती काट्ने बराबरको यिनीहरुले धुलोबाट सुन निकाल्ने गरेको व्यवसायीहरुको भनाइ छ । विश्वकर्मा भन्छन्, ‘काम गर्ने क्रममा हाम्रो शरीरमा सुनका टुक्रा, मसिनो धुलो टासिने र हिँडडुल बढी हुने ठाउँमा झर्ने भएकाले उनीहरुले त्यस वरपरको धुलो बढारेर पानीमा धोएर सुन निकाल्छन्’, उनले भने, ‘मेरो घरको भित्र कालीगढले काम गर्ने कोठा बाहिर गल्ली, घर बाहिरको नालीसमेत सफा गरेर माटो संकलन गरेर लैजान्छन् र सुन निकाल्छन् ।’ उनीहरुले प्रशोधन गरेर निकालेको सुन स्थानीय बजारमा सुन व्यवसायीलाई नै बजार मूल्यमै बिक्री गर्ने गर्छन् । ‘उनीहरुले प्रशोधन गरेर निकालेको सुन गुणस्तरीय पनि हुने भएकाले बजारमा बिक्री गर्न कुनै समस्या छैन’, पूर्वअध्यक्ष विश्वकर्माले भने । भारत तथा नेपालका प्रमुख सहरमा सुन पसल भएका क्षेत्रमा यस्ता व्यक्तिलाई भेट्न सकिन्छ । सुन टल्कने र गह्रुङ्गो धातु भएकाले पानीमा सजिलै थिग्र्याउन सकिन्छ । बुटवलमा यसरी काम गर्नेहरु अधिकांश भारतको मध्यप्रदेश, आन्ध्रप्रदेश, उडिसा र राजस्थानलगायतका क्षेत्रबाट आउने गरेको पाइन्छ । बुटवल–५ अमरपथमा गण्डकी सुन चाँदी पसलका सञ्चालक तथा पूर्ववडाध्यक्ष तेजप्रसाद विकका अनुसार यही पेसा गरेर कतिपयले त बुटवलमै स्थायीरुपमा बसोबास गरेका छन् । उनले भने, ‘यो काममा दुःख पनि छ, त्यसैअनुसारको कमाइ पनि राम्रै हुन्छ ।’ बुटवल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष गोकुल विश्वकर्माका अनुसार बुटवललगायत विभिन्न तथा ठूला सहरमा सुन चाँदीलगायत बहुमूल्य धातुका गरगहना बनाउने कालीगढ पनि अधिकांश भारतबाट नै आउने गरेका छन् । पछिल्ला समय स्वदेशी कालीगढको सङ्ख्या पनि बढ्दै गएको छ । रासस

शिवम् सिमेन्टको उपहार योजना : २ जोडीलाई थाइल्याण्ड भ्रमणको अवसर

काठमाडौं । शिवम् सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ उपहार योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरिएको छ । उद्योगले सोमबार पत्रकार सम्मेलन गरी उपभोक्ता तर्फ ३० जना र बिक्रेता तर्फ ४० जना विजेताहरुको नाम सार्वजनिक गरेको छ । लक्की ड्रमार्फत घोषणा गरिएको विजेतामा उपभोक्ता तर्फ प्रथम पुरस्कार पाउनेमा विकास कोइराला र रामप्रवेश यादव रहेका छन् । दुवै जना विजेताले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेको कम्पनीले बताएको छ । दोस्रो पुरस्कार जित्नेमा दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनककुमार झा सहित ४ जोडी रहेका छन् । दोस्रो बनेका उनीहरु सबै जनाले हेलिटुरको अवसर पाउने छन् । तेस्रो हुने फेवा कन्ष्ट्रक्सन, दिपेन्द्रकुमार झा, केशवकुमार, शर्मिला केसी, नितु मानन्धर तथा थप एकजना सहित ६ जनाले आधा–आधा केजी चाँदी उपहार प्राप्त गरेका छन् भने चौथो पुरस्कार वापत ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन् । पहिलो लक्की–ड्र मार्फत उपहार जित्न सफल मेची–कोशी क्षेत्रका उपभोक्ता तथा वितरकहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । यसअघि पुस २६ गते लक्की–ड्र मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरुको घोषणा गरेको थियो । सियोर सर्ट पुरस्कार मार्फत १ लाख ५० हजार भन्दा बढीले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरिसकेको उद्योगले जनाएको छ । यो उपहार योजना मिति मंसिर १८ देखि नेपाल भरी लागू गरिएको छ । स्क्रयाच कुपन मार्फत हात खाली नजाने पक्का उपहार अन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीको लागि सम्पर्क गरि शिवम् सिमेन्टको विक्री कार्यालयहरूबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

लघुवित्तले गुमाए ३ अर्ब, ८ संस्था ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १० वटा लघुवित्तको मात्रै नाफा बढेको छ भने अन्य लघुवित्त वित्तीय संस्थाहरुको नाफामा गिरावट आएको छ । लघुवित्त वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सार्वजनिक  गरेको वित्तीय विवरण अनुसार अधिकांश लघुवित्तको खुद नाफामा भारी गिरावट आएको हो । समिक्षा अवधिमा ५७ वटा लघुवित्तले आफ्नो दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । हालसम्म वित्तीय रिपोर्ट सार्वजनिनक गरेका लघुवित्तहरुले ३ अर्ब ४६ करोड ६ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ९ करोड १ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्षको तुलनामा लघुवित्तहरुको नाफामा ४४.७५ प्रतिशत अर्थात् २ अर्ब ८० करोड ३५ लाख ६७ हजार रुपैयाँले गिरावट आएको हो । जसमा ४७ वटा लघुवित्तको नाफा घटेको छ । ८ वटा लघुवित्तले १९ करोड ७० लाख ७५ हजार रुपैयाँ नोक्सानी ब्यहोर्नु परेको छ । यस्तै, ४० लघुवित्तको नाफा गत वर्षको तुलनामा घटेको हो । पुस मसान्तसम्म विभिन्न १० वटा लघुवित्तको मात्रै नाफा बढेको छ । आरएमडिसी लघुवित्तको २२.५८ प्रतिशत, साना किसान लघुवित्तको ३३.८६ प्रतिशत, छिमेक लघुवित्तको ११.५६ प्रतिशत, स्वाबललम्बन लघुवित्तको २.१६ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ३८.३४ प्रतिशत, आरएसडिसी लघुवित्तको ६२.३३ प्रतिशत, नाडेप लघुवित्तको ९३.५६ प्रतिशत, आशा लघुवित्तको ५८ प्रतिशत, नेष्डो समृद्धि लघुवित्तको २.२४ प्रतिशत र गणपति लघुवित्तको ४.५६ प्रतिशत नाफा बढेको हो । यी बाहेक अन्य लघुवित्तको नाफा घटेको छ भने ८ वटा लघुवित्त ऋणात्मक भएका छन् । जसमा उपककार लघुवित्तको १ करोड ६१ लाख रुपैयाँ, मानुषी लघुवित्तकाृ ४४ लाख ६६ हजार रुपैयाँ, वीन नेपाल लघुवित्तको १ करोड ९ लाख ७१ हजार रुपैयाँ, ग्रामीण विकास लघुवित्तको १२ करोड ५९ लाख ९१ हजार रुपैयाँ, सामुदायिक लघुवित्तको ३१ लाख ७२ हजार रुपैयाँ, एनएमबि लघुवित्तको ८० लाख १० हजार रुपैयाँ र लक्ष्मी लघुवित्तको २ करोड ४० लाख ९ हजार रुपैयाँ ऋणात्मक रहेका छन् । समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा छिमेक लघुवित्तले आर्जन गरेको छ । छिमेक लघुवित्तले ५५ करोड ६० लाख ८२ हजार रुपैयाँ, दोस्रोमा ४३ करोड ४९ लाख ६४ हजार रुपैयाँ, तेस्रोमा जीवन विकास लघुवित्तले २६ करोड ४७ लाख ८८ हजार रुपैयाँ, चौंथोमा स्वाबलम्बन लघुवित्तले २४ करोड १ लाख ९५ हजार रुपैयाँ र पाँचौमा डिप्रोक्स लघुवित्तले २४ करोड १ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

आँधीका कारण न्युजिल्यान्डमा विद्युत्, उडान र यातायात सेवा अवरूद्ध

काठमाडौं । न्युजिल्यान्डको उत्तरी भागमा आएको उष्णकटिबन्धीय आँधीका कारण सोमबार हजारौं घरहरु विद्युतविहीन हुनुका साथै उडानहरु अवरुद्ध भएका छन् । आपतकालीन व्यवस्थापन मन्त्री किरन म्याकएनल्टीले तीव्र हावा र भारी वर्षाको ‘अत्यधिक खतरनाक’ संयोजनको कारण देशले व्यापक क्षति व्यहोर्नुपरेको छ । आँधीको अवस्था शुरूमाभन्दा कमजोर भएपनि यसले शहर तथा ग्रामिण क्षेत्रमा व्यापक रूखहरु ढालेको छ, सडकहरुमा क्षति पुर्याएकाे छ र विद्युत लाइन अवरूद्ध भएका छन् । अकल्याण्डसहित उत्तरी पाँच क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ । न्युजिल्यान्डको नर्थ आइल्याण्डमा करिब ५८ हजार मानिस विद्युत्विहीन भएका छन् । अधिकारीहरूले यो सञ्जाल पुनःस्थापित गर्न केही दिन लाग्न सक्ने बताएका छन् । म्याकएनल्टीले भने, ‘जबसम्म मौसम खराब रहन्छ, तबसम्म नेटवर्कमा काम गर्न वास्तवमा असुरक्षित छ । न्युजिल्यान्डको सबैभन्दा ठूलो सहरमा गत महिना आएको बाढीका कारण चार जनाको मृत्यु हुनुका साथै हजारौं मानिस विस्थापित बनेका थिए । उक्त क्षतिको घाउ नमेटिँदै यो अर्को प्राकृतिक विपत्ति आएको छ । नर्थल्याण्ड क्षेत्रमा १४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हावाहुरीले क्षति पुर्‍याएको थियो भने अकल्याण्ड हार्बर ब्रिजमा ११० किलोमिटर प्रतिघण्टाको वेगले आँधीले प्रवेश गरेको थियो । म्याकएनल्टीले भने, ‘सरकारले देशको इतिहासमा तेस्रो पटक राष्ट्रिय आपतकालीन अवस्था घोषणा गर्ने बताइरहेको छ । मेरो विचारमा आपतकालीन अवस्थाको घोषणा गरिहाल्नु पर्दैन । किनकि आँधीको रफ्तार कमजोर भइसकेको छ ।’ मौसमले न्युजिल्यान्डको यातायात सञ्जाललाई पनि तहसनहस पारेको छ, उडान, रेल र बस तालिकाहरू सबै नराम्ररी प्रभावित भएका छन् । एयर न्युजिल्यान्डले हालसम्म ५०९ उडान रद्द गरेको तर मङ्गलबारदेखि सामान्य उडान सुरु हुने अपेक्षा गरिएको जनाएको छ । उक्त विमान सेवालेले १० हजारभन्दा अन्तर्राष्ट्रिय सेवाग्राहीहरू प्रभावित भएको र छ हजार ५०० लाई पुनः टिकट बुक गर्नु परेको बताएको छ । रासस

नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा देवकोटा, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा रेशम प्रसाद देवकोटा निर्वाचित भएका छन् । माघ २८ गते सम्पन्न तेह्रौं वार्षिक साधारण सभा एवं पाँचौं महाधिवेशनबाट देवकोटा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनी महासंघको छैठौं कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । यससँगै उक्त महाधिवेशनले आगामी तीन वर्षको पदाधिकारी तथा कार्यसमिति सदस्यहरु निर्वाचित गरेको छ । त्यस्तै, प्रथम उपाध्यक्षमा प्रेम बहादुर जि. सि., द्धितीय उपाध्यक्ष (एसोसियट)मा कोमल पोखरेल, तृतीय उपाध्यक्षमा लेखनाथ सापकोटा, महासचिवमा गोपाल अग्रवाल र कोषाध्यक्षमा प्रकाश चन्द्र पाण्डे निर्वाचित भएका छन् । यसैगरी, बिनोद लुईटेल सचिवमा, महेन्द्र कुमार श्रेष्ठ सह-कोषाध्यक्षमा चयन भएका छन् । यता सदस्यमा शंकरप्रसाद पोख्रेल, केशव ढकाल, राजेश गौतम, शिवराज रिजाल र चन्द्रकान्त जैसी शर्मा खुलातर्फबाट निर्वाचित भएका छन् । साथै, प्रदेश सदस्यहरुमा प्रदेश नं.१ बाट चन्द्रमणि देवकोटा, मधेस प्रदेशबाट मनोज कुमार अग्रवाल, बागमती प्रदेशबाट सरोज कुमार रेग्मी, गण्डकी प्रदेशबाट राजु भण्डारी, लुम्बिनी प्रदेशबाट लोकनाथ पोखरेल, सुदुरपश्चिम प्रदेशबाट विष्णुराज भट्ट निर्वाचित भएका छन् । त्यस्तै, एसोसियट् सदस्यमा पुरुषोत्तम अधिकारी र बालकृष्ण अग्रवाल गरी दुई जना चयन भएका छन् ।

सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ : प्रधानमन्त्री

कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधरा-चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताएका छन् । साेमबार आयोजित कार्यक्रममा उनले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । ‘सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीति अनुसार निर्माण हुनेछ’, उनले भने, ‘हामी भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौँ, यो रणनीति अघि बढाउन बन्दरगाहले सहयोग पुर्‍याउने विश्वास छ ।’ उनले सुख्खा बन्दरगाहले नेपाल, भारत र चीन तीन वटै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले बन्दरगाह निर्माणलाई उच्च प्राथमिकता दिएको समेत बताए । उनले हालै यसको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम सकिएकाले समयमै निर्माण पूरा हुनेमा विश्वास व्यक्त गरे । ‘एमओयूमै भारत सरकारले तीन वर्षमा बन्दरगाह निर्माण गर्ने भनिसकेकाले मलाई निकै खुसी लागेको छ’, उनले भने, ‘यसबाट सुदूरपश्चिमका साथै मुलुकको विकासमा ठूलो योगदान पुग्नेछ।’ दोधारा-चाँदनी नगरपालिका वडा नं १, २ र ३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रको जग्गा प्रयोग गर्ने गरी नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाहको ईआईएमा सुझाव माग गरेको छ। प्रस्तावित आयोजनाले वन क्षेत्रको एक सय ८९ हेक्टर जग्गा भू-उपयोग परिवर्तन हुने भनि प्रस्ताव गरेको छ । सुख्खा बन्दरगाहमा सडक, रेल्वे प्लेटफर्म, गोदाम, पार्किङ क्षेत्र, भन्सार, तौल पुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, पशुपन्छी/खाद्य जाँच केन्द्र प्रयोगशाला, बैंक, प्रहरी केन्द तथा प्रशासनिक भवन निर्माण हुनेछन् । जसमा गोदामको क्षेत्रफल आयाततर्फ सात हजार वर्गमिटर, निर्यातका लागि दुई हजार पाँच सय वर्गमिटर, रेल्वे वेयर हाउस १७ हजार पाँच सय वर्गमिटर र १० हजार वर्गमिटर क्षेत्रफलको कन्टेनर स्ट्याकिङ यार्ड निर्माण हुनेछ । उक्त अवसरमा प्रधानमन्त्री दाहालले महाकाली नदीमा निर्माणाधिन चार लेनको पक्की पुलको समेत निरीक्षण गरेका थिए ।