एशियन हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । एशियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज फागुन २ गते अन्तिम दिन रहेको छ । कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ८४ करोड रुपैयाँको २४.७१ प्रतिशत अर्थात् ८ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ४० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात् ४२ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि, २ प्रतिशत अर्थात् १६ हजार ८ सय कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीले आयोजना प्रभावित र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर बिक्री गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले आज फागुन २ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीको आईपीओलाई केयर माइनस एनपी बीबी एस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
चितवन–२ मा पुरानै उम्मेदवार बन्ने चाहना, कसले मार्ला बाजी ?
काठमाडौं । चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएपछि यसअघि प्रतिस्पर्धामा रहेकाले पुनः उम्मेदवार हुने चाहना व्यक्त गरेका छन् । मुख्य तीन राजनीतिक दलका पुरानै उम्मेदवारले प्रतिस्पर्धा गर्ने चाहना व्यक्त गरेका हुन् । सो क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकताका विषयमा सर्वोच्च अदालतले सांसद पद नरहने गरी निर्णय गरेपछि उपनिर्वाचन हुन लागेको हो । लामिछाने ४९ हजार ३ सय मत प्राप्त गरी विजयी भएका थियो । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए । उनलाई नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनको समर्थन थियो । यसैगरी नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत प्राप्त गरेका थिए । अन्य उम्मेदवारको मत १ हजारभन्दा कम थियो । सो क्षेत्रमा ८० हजार ७५३ मत सदर भएको थियो । यसअघि निर्वाचित लामिछानेले पुनःआफ्नो उम्मेदवारी रहने बताउँदै आएका छन् । उनी निकट पत्रकार प्रकाश सिग्देलका अनुसार पार्टीका सभापति रवि लामिछाने नै यस क्षेत्रको अबको उम्मेदवार हुन् । आफू दोस्रो भएको भन्दै सांसद बनाउन निर्वाचन आयोग पुग्नुभएका श्रेष्ठले अबको उम्मेदवार पार्टीबाट आफू हुनुपर्ने बताएका छन् । ‘म यसअघिको घाइते हो, अब म उम्मेदवार भएर जित्छु,’ श्रेष्ठले भने । यसअघिको निर्वाचनमा आफ्नै पार्टीबाट सहयोग नभएको उनको गुनासो थियो । नेकपा (एमाले)का तर्फबाट उम्मेदवार भएका पोखरेलले पनि पुनः उम्मेदवार बन्ने चाहना व्यक्त गरेका छन् । ‘पार्टीमा आफ्नो चाहना व्यक्त गर्नेछु, दुई पटक सोही क्षेत्रबाट निर्वाचित भएकाले अरुलाई भन्दा आफूलाई सहज हुन्छ,’ उनले भने । श्रेष्ठ र पोखरेललाई आफ्नो पार्टी र गठबन्धनका मतदाताले मत नदिएपछि अपेक्षा गरिएअनुसार मत नपाएको भन्दै पार्टीभित्र बहस हुँदै आएको छ । सो क्षेत्रमा नेपाली कांग्रेसबाट अन्य उम्मेदवारहरूले पनि चाहना व्यक्त गरेका छन् । नेपाली कांग्रेस चितवनका पूर्वसभापति जीतनारायण श्रेष्ठ र वर्तमान सभापति राजेश्वर खनालले पनि दाबी प्रस्तुत गरेका छन् । यो क्षेत्र भरतपुर महानगरपालिकाका १० वटा वडा, इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका पूरै भाग पर्दछ । यसक्षेत्रमा १ लाख २४ हजार २१४ मतदाता रहेका थिए । पछिल्लो समय निर्वाचन कार्यालयले पुनः मतदाता नामावली सङ्कलन गरेको थियो ।
यातायात मजदुरको आन्दोलन : लोत्से मलमा तोडफोड गरेर मोबाइल चोरी
काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड भएको छ । सवारीसाधन कारबाही गरेबापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै आक्रोशित यातायात मजदुरले सोमबार साँझ काठमाडौँको नयाँ बसपार्कमा सञ्चालित लोत्से मलमा तोडफोड गरेका हुन् । सवारी जरिवानाबापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एन्ड ड्रपको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर आन्दोलन गरेका मजदुरले लोत्से मलमा तोडफोड गरेका हुन् । उक्त समूहले लोत्से मल तोडफोड गर्नाका साथै त्यहाँ सञ्चालित पसलबाट मोबाइलसमेत चोरी गरेका छन् । लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले नयाँ बसपार्कदेखि गोँगबुचोकसम्म सडकमा बसेर कमाउन लागेका बस तथा माइक्रोबस व्यवसायीले नयाँ बसपार्कभित्र छिर्नपर्यो भनेर रिसमा लोत्से मलभित्र तोडफोड गरेको बताए । उनले लोत्सेमा सोमबार भएको तोडफोड तथा लुटपाटबाट लोत्सेलाई करोडौँको क्षति भएको बताए । ‘लोत्से मलभित्र भएको क्षतिको क्षतिपूर्ति कसले दिन्छ, व्यक्तिले बनाएको संरचनामा यसरी क्षति गर्न मिल्छ ?,’ उनले भने । आन्दोलनकारी पसलभित्रै बसेर तोडफोड तथा चोरी गरेका थिए । उक्त क्षेत्रमा बाक्लो रूपमा प्रहरी परिचालन गरिएको छ । मजदुर र व्यवसायीको आन्दोलनले साँझपख उग्ररूप लिँदा प्रहरीमाथि ढुङ्गा प्रहार गर्नेदेखि प्रहरीको गाडी आगजानी गर्नेसम्मका कार्य गरिएको थियो । आन्दोलनकारीले बालाजु चोकमा रहेको अस्थायी प्रहरी बिटमा आगो लगाउनाका साथै प्रहरीको २ वटा भ्यानमा समेत आगो लगाएका थिए । आन्दोलनका क्रममा १० प्रहरी कर्मचारी घाइते भएका छन् भने आन्दोलनकारीसमेत घाइते भएको बताइएको छ ।
नेपाल–भारतका परराष्ट्र सचिवबीच सीमा विवादको विषयमा छलफल
काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्याल र उनका भारतीय समकक्षी विनयमोहन क्वात्राबीच द्विपक्षीय भेटवार्तामा महत्वपूर्ण छलफल भएको छ । भेटका क्रममा २ परराष्ट्र सचिवले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा कनेक्टिभिटी, व्यापार तथा पारवहन, विद्युत् क्षेत्रमा सहकार्य, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य क्षेत्र र जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा दुवै पक्षले रेलमार्ग, प्रसारण लाइन, पुल र आईसीपीजस्ता कनेक्टिभिटी परियोजनाहरूमा भएको प्रगतिको सन्तोषजनक समीक्षा गरेका थिए । नेपालका परराष्ट्र सचिव पौड्यालले रासायनिक मलको आपूर्ति, खाद्यान्न निर्यातको प्रतिबन्ध खुकुलो पार्ने र डायलासिस मेसिन उपलब्ध गराएकामा भारत सरकारलाई धन्यवाद दिएका थिए । दुवै पक्षले पारवहन सन्धिको नवीकरण, व्यापार सन्धिको समीक्षा र व्यापारसम्बन्धी अन्तर–सरकारी समिति (आईजीसी) चाँडै नै बोलाउने विषयमा छलफल गरेका थिए । बैठकमा विनिमय बजारका सबै उत्पादनको उपयोग गरी दीर्घकालीन आधारमा नेपालबाट भारतमा विद्युत् निर्यात गर्न दिने प्रतिबद्धता व्यक्त गरिएको थियो । दुबै पक्षबीच सीमापार प्रसारण लाइनको प्राविधिक स्तरोन्नति र प्रस्तावित ४ प्रसारण लाइन आयोजनाको प्रारम्भिक स्वीकृतिबारे पनि छलफल भएको थियो । परराष्ट्र सचिव पौड्यालले थप हवाई प्रवेश मार्गका साथै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकको सीमा उडान गर्न चाँडो सहमतिका लागि नेपाल सरकारको आग्रह दोहोर्याएका थिए । २ परराष्ट्र सचिवबीच सीमा विवादका विषयमा पनि छलफल भएको थियो । यस सम्बन्धमा उनीहरूले स्थापित द्विपक्षीय संयन्त्रमार्फत बाँकी रहेका खण्डहरूमा सीमा नाकाको काम पूरा गर्ने विषयमा विचार आदानप्रदान गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुले २ देशका विदेश सेवा प्रज्ञा प्रतिष्ठानबीचको एमओयूलाई अन्तिम रूप दिन पनि सहमति जनाएका छन् । २ छिमेकीबीचको घनिष्ठ र बहुआयामिक सम्बन्धलाई झल्काउने मित्रता र सौहार्दपूर्ण वातावरणमा उक्त भेटवार्ता भएको थियो । परराष्ट्र सचिव पौड्यालले नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव र उनको प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए । परराष्ट्र सचिव पौड्यालको निमन्त्रणामा २ दिने नेपाल भ्रमणका लागि काठमाडौँ आएका विदेश सचिव क्वात्राले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालसँग छुट्टाछुट्टै शिष्टचार भेटवार्ता गरेका थिए । साथै उनले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
आन्दोलनरत यातायात मजदुर र सरकारबीच वार्ता हुँदै, होला त समाधान ?
काठमाडौं । सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए । ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन् । आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्डलगायतका संरचनामा समेत आगो लगाइदिएका छन् । बालाजु, माछापोखरी, गोँगबु र सामाखुसी चोकमा मजदुरहरूले आज सडक अवरुद्ध गरेका थिए । आन्दोलनकारीले प्रहरीका २ वटा भ्यानमा आगजनी गर्नाका साथै माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट भत्काइदिएका छन् । आन्दोलनरत यातायात मजदुरलाई मङ्गलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुल्सी गौतमले जानकारी दिए । विभागले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै पूर्वघोषित तथा अघोषित सबै मागबारे छलफलबाट समाधान गर्न पनि आग्रह गरेको छ ।
‘स्रोत नखुलेको सम्पत्तिमा कर तिरेमा स्वतः वैधता प्राप्त नहोस्’
काठमाडौं । नेपाल सरकारले २०७९ माघ २७ गते संसद् सचिवालयमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएकामा ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले ध्यानाकर्षण भएको जनाएको छ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन २०६४’ को मूल उद्देश्य नै अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धीकरणको निवारण भएकाले ऐनको मूल मर्म र उद्देश्य प्रतिकूल हुने गरी ‘स्रोत नखुलेको सम्पत्तिमा कर तिरेमा स्वतः वैधता प्रदान गरिने अर्थात् अवैध तरीकाले आर्जित धनलाई स्वतः वैध तुल्याइने बाटो’ प्रस्तावित संशोधन विधेयकले नखोलोस् भन्नेतर्फ सजग रहन टिआई नेपालले नवनिर्वाचित सांसद र संसद्को ध्यानाकर्षण गराएको अध्यक्ष पद्मिनी प्रधानाङ्गले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय महासन्धिको पक्षराष्ट्र भएकाले अवैध तरिकाले आर्जित धनलाई कुनै पनि बहानामा वैध तुल्याउने बाटो खोल्नु महासन्धिको प्रतिकूल हुने टिआई नेपालको ठहर छ । अदालतले सम्पत्ति शुद्धीकरण मूल कसूरको सह उत्पादन भएको र मूल कसुर लुकाएर आर्जित सम्पत्ति वैध देखाउन गरिने कार्यलाई अपराधको कोटीमा राख्ने नजिर कायम गरिसकेकाले त्यसलाई बेवास्ता गर्नु कानुनी राज्यको अवधारणा प्रतिकूल हुन जाने टिआई नेपालले जनाएको छ । रासस
बूढानीलकण्ठका १४६ बालबालिकामा देखियो मुटु रोगको समस्या, डाक्टर भन्छन् : जन्मजात हो
काठमाडौं । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले बूढानीलकण्ठ नगरपालिकामा गरेको एक अध्ययनले जन्मजात मुटु रोगको बिरामी धेरै भएको देखाएको छ । बूढानीलकण्ठ नगरपालिकाका सरकारी र निजी अस्पतालका १३ हजार विद्यार्थीमा गरिएको अध्ययनले एक सय ४६ विद्यार्थीमा जन्मजात मुटु रोगसम्बन्धी समस्या देखिएको हो । अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले पाँचदेखि १५ वर्ष उमेर समूहका १३ हजार विद्यार्थीको मुटु परीक्षण गर्दा नौ जनामा मात्र बाथ मुटुरोग देखिएको बताए । बाथ तथा मुटु ज्वरो छ, छैन भन्ने अध्ययन गर्ने स्क्रीनिङ परीक्षण सुरु गरिएको थियो । पुस महिनादेखि माघको अन्तिमसम्ममा गरिएको परीक्षणमा सरकारी विद्यालयका तीन हजार आठ सय २० र निजी विद्यालयका नौ हजार एक सय ८० जना विद्यार्थी सहभागी रहेका थिए । उनका अनुसार जन्मजात मुटुसम्बन्धी समस्या देखिएको हो । ‘अस्पतालमा परीक्षण (इको) गर्दा शङ्का लागेका विद्यार्थीलाई पुनःअस्पतालमा परीक्षण गरेका थियौं, बाथ तथा मुटु रोगका समस्या भएका नौ बिरामी देखिए, एक सय ४६ लाई विभिन्न किसिमको जन्मजात मुटुको रोग देखियो,’ उनले भने । अध्ययनले आर्थिकरूपमा सबल स्थानमा बाथ मुटु रोग कम हुन सक्ने देखाएको उनको भनाइ छ । ‘लक्षण नभए पनि जन्मजात मुटुको रोगको समस्या हुन सक्ने यो अध्ययनले देखाएको छ । अर्कोतर्फ काठमाडौं उपत्यका नजिकका ठाउँमा स्वास्थ्य सेवाको पहुँच र सबल आर्थिक पक्षका कारण पनि बाथ मुटु रोग कम देखिएको भन्न सकिन्छ,’ उनले भने । केन्द्रले मुगु जिल्ला र धुनीबेसी नगरपालिकामा समेत मुटुरोगको अध्ययन गर्ने तयारी रहेको निर्देशक अधिकारीले जानकारी दिए । उनले भने, ‘देशका विकट स्थानमा मुटुसम्बन्धी समस्या कस्तो छ ? भन्ने जान्नका लागि मुगुमा अध्ययन गर्ने तयारी छ ।’ जन्मजात मुटु सचेतना सप्ताह चलिरहँदा अस्पतालले उक्त अध्ययन सार्वजनिक गरेको हो । जन्मजात मुटुरोग सचेतना फेब्रुअरी सात देखि १४ तारिखसम्म विभिन्न जनचेतनामूलक सप्ताहका रूपमा मनाइन्छ । बाल मुटुरोग विशेषज्ञ डा उर्मिला शाक्यका अनुसार एक सय जनामा एक जनालाई जन्मजात मुटुसम्बन्धी रोग हुने गर्छ । ती मध्ये एक तिहाइलाई जटिल प्रकारको समस्या हुने र उपचार नपाए मृत्युको जोखिम हुने गर्छ । उनले भने- ‘सबैभन्दा बढी बच्चाको मृत्युको कारण जन्मजात मुटुसम्बन्धी रोग हो, गर्भ अवस्थाबाटै शिशुको मुटुभित्र र बाहिरका बनावटमा कुनै पनि प्रकारको विकृतिलाई जन्मजात मुटुरोग भनिन्छ,’ उनले थपे- ‘जन्मजात मुटुसम्बन्धी रोगका ९० प्रतिशत कारण पुष्टि हुँदैन । दश प्रतिशत कारणमध्ये सबैभन्दा धेरै वंशाणुगत र वातावरणीय प्रतिक्रिया हुन सक्छ ।’ मुटुरोग विशेषज्ञ डा पुनम शर्माले भने- ‘१२ देखि २४ हप्ताको गर्भमा शिशुको मुटुसम्बन्धी समस्या परीक्षण गर्न सकिन्छ, त्यस्ता समस्या सामान्यदेखि जटिलसम्म हुनसक्छ, समयमा पहिचान हुनसके जटिल मुटुरोगको उपचार सम्भव छ ।’ डा शर्माका अनुसार जन्मजात मुटुरोग हुने बालबालिकामा ओठ र जिब्रो नीलो हुने, तौल नबढ्ने, छिटो थाक्ने, आमाको दूध राम्ररी खान नसक्ने र निमोनिया भइरहने जस्ता लक्षण देखिन सक्छ । गर्भवती महिलाले मद्यपान, धुम्रपान सेवन गर्ने र विकिरणको सम्पर्कमा आउँदा शिशुमा मुटुसम्बन्धी समस्या देखिन सक्छ । चिकित्सकको सल्लाहविना औषधिको सेवन, पोलेट भिटामिनको अभाव, नजिकको नातामा हुने विवाह, डाउन सिन्ड्रोम, रुबेला भाइरस र वंशाणुगत कारणले बालबालिकामा जन्मजात मुटुरोगसम्बन्धी विभिन्न समस्या देखिन सक्छ । रासस
दुई लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले दुई वटा लघुवित्तको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले फागुन १ गते मात्रै इन्फिनिटी लघुवित्त वित्तीय संस्था र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । जसमध्ये इन्फिनिटी लघुवित्तको २० प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ८३१.६७ रुपैयाँ कायम भएको छ । त्यस्तै, निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । समायोजनपश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ८३४.४५ रुपैयाँ कायम भएको छ । यससँगै, मंगलबारको बजारमा यी दुबै संस्थाको सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर हुने छ ।