विकासन्युज

लोत्से मलमा लुटपाट, ८ करोड बढीको मोबाइल चोरी

काठमाडौं । सोमबार साँझ नयाँ बसपार्कमा रहेका लोत्से मलमा लुटपाट हुँदा ८ करोड रुपैयाँ बढीको मोबाइल चोरी भएको छ । नेपाल मोबाइल व्यवसायी महासंघले सोमबार लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट हुँदा २ पसलमा रहेका ८ करोड रुपैयाँ बढीका मोबाइल चोरी भएको बताएको हो । महासंघका अध्यक्ष भरत भट्टराईले दुई वटा मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको बताए । उनले सोमबार साँझ नै प्रहरीलाई उक्त घटनाको जानकारी गराएतापनि अहिलेसम्म मोबाइल चोरीमा संलग्न कसैलाई पक्राउ नगरिएको बताए । अध्यक्ष भटराईले सुरक्षित रुपमा व्यवसाय गर्ने वातावरण नभएको भन्दै त्यसको विरोध गर्ने बताए । मोबाइल पसलमा लुटपाट र तोडफोडको घटना भएपछि देशभरका मोबाइल व्यवसायीहरु काठमाडौंमा एकीकृत भएका छन् । उनीहरुले आजै पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी पनि गराउँदैछन् । सवारीसाधन कारबाही गरेबापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै आक्रोशित यातायात मजदुरले सोमबार साँझ काठमाडौंको नयाँ बसपार्कमा सञ्चालित लोत्से मलमा तोडफोड गरेका थिए । सवारी जरिवानाबापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एन्ड ड्रपको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका मजदुरले लोत्से मलमा तोडफोड गरेका हुन् । लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लले नयाँ बसपार्कदेखि गोँगबुचोकसम्म सडकमा बसेर कमाउन लागेका बस तथा माइक्रोबस व्यवसायीले नयाँ बसपार्कभित्र छिर्नपर्यो भनेर रिसमा लोत्से मलभित्र तोडफोड गरेको बताए । उनले लोत्सेमा सोमबार भएको तोडफोड तथा लुटपाटबाट लोत्सेलाई करोडौँको क्षति भएको बताए । ‘लोत्से मलभित्र भएको क्षतिको क्षतिपूर्ति कसले दिन्छ, व्यक्तिले बनाएको संरचनामा यसरी क्षति गर्न मिल्छ ?,’ उनले भने । आन्दोलनकारी पसलभित्रै बसेर तोडफोड तथा चोरी गरेका थिए । उक्त क्षेत्रमा बाक्लो रूपमा प्रहरी परिचालन गरिएको छ ।

सुनको भाउँ घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख तीन हजार आठ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार तीन सय रुपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन एक लाख तीन हजार पाँच सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू, ७० अंक ल्याए पास

काठमाडौं । बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो । यही फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले सो बिदा परेकाले आजदेखि नयाँ मापदण्ड कार्यान्वयन ल्याएकोे हो । मन्त्रालयले मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल अङ्कभार एक सय तोकेको छ । यसमा ७० अङ्क प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । सवारी चालक अनुमति परीक्षा सञ्चालन निर्देशिका २०७७ निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठ (एट आकार) को अङ्कभार २० तोकिएको छ । दुई पटकसम्म अङ्कित रेखा छोएमा प्रत्येक पटक पाँच अङ्कको दरले १० अङ्कभार घट्नेछ तर, पनि ट्रायल भने फेल भइँदैन । यस्तै दुई पटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ । यसैगरी साँघुरो फलेकको अङ्कभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा यु–टर्नको अङ्कभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अङ्क घटाइनेछ । त्यस्तो अवस्थामा पनि अङ्कित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् । ट्राफिक सङ्केतका लागि १५ अङ्कभार तोकिएको छ । ट्राफिक सङ्केत पालना नगरेको खण्डमा १५ अङ्क घटाइनेछ । निर्देशिकामा उबडखाबडको अङ्कभार १५ तोकिएको छ । एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा पाँच अङ्कभार घटाइनेछ । एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन् । उकालोको अङ्कभार २० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनलाई १० अङ्कभार तोकिएको छ । यस्तै कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अङ्कभार एक सय तोकिएको छ । यसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ । निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठ (एट)को अङ्कभार २० तोकिएको छ । दुईपटकसम्म अङ्कित रेखा छोए प्रत्येक पटक पाँच अङ्कका दरले १० अङ्कभार घट्नेछ तर ट्रायल फेल भइँदैन । दुई पटकभन्दा बढी अङ्कित रेखा छोए, सवारीको टायर अङ¬्कित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ । निर्देशिकामा ट्राफिक सङ्केतको अङ्कभार १५ तोकिएको छ । पालना नगरे १५ अङ्क घट्ने प्रावधान राखिएको छ । त्यसैगरी यु–टर्नको अङ्कभार १० तोकिएको छ । टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अङ्कभार घटाइनेछ । अङ्कित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन् । चारपाङ्ग्रे सवारी चालकलाई उकालोका लागि अङ्कभार १५ तोकिएको छ । तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर छ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एकपटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ । ‘ग्यारेज पार्किङ’को अङ्कभार १० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनलाई १० अङ्कभार तोकिएको छ । रासस

अब मालपोतमा ‘टाइमकार्ड’, काम २ घण्टाभित्र बन्ने

फाइल फाेटाे काठमाडौं । मालपोत कार्यालयको सेवालाई सेवाग्राहीमैत्री पारदर्शी र गुनासोमुक्त बनाउन टाइमकार्ड लागू हुने भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सबैले देख्ने र बुझ्ने गरी दुई घण्टाभित्र काम सम्पन्न गर्ने जानकारीसहितको नागरिक बडापत्रको व्यवस्था मिलाउन निर्देशन दिएको बताए । मोरङलगायत मुलुकका विभिन्न भागमा रहेका मालपोत कार्यालय र नापीको अनुगमनपछि उनले सेवाग्राही र लेखापढी व्यवसायीबाट पनि मालपोतबाट प्रदान गरिने सेवालाई प्रभावकारी तुल्याउन सहयोगको अपेक्षा गरे । मालपोत, नापी, स्थानीय तह, वडा कार्यालय, लेखापढी व्यवसायीले अन्तरसम्बन्धित काममा समन्वय आवश्यक रहेको बताउँदै सचिव डा रेग्मीले भने, “लेखापढी व्यावसायीले लिने सेवा शुल्कलाई पारदर्शी बनाउनुपर्छ, लागतभन्दा बढी सेवा शुल्क लिन भएन ।” मन्त्रालयले मालपोत भूमि प्रशासनसँग जोडिएका कार्यालयमा टोकन प्रणाली, सेवाग्राही प्रतिक्षालय, पिउने पानीसहितको हेल्पडेस्क स्थापना गर्न निर्देशन दिएको छ । रासस

सार्वजनिक यातायात बन्द फिर्ता, आज गाडी चल्ने

फाइल फाेटाे काठमाडौं । काठमाडौं उपत्यकामा आह्वान गरिएको सार्वजनिक यातायात बन्दको निर्णय फिर्ता भएको छ । मंगलबार बिहान यातायात मजदुरहरु र सरकारबीच भएको छलफलले बन्दको निर्णय फिर्ता गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए । ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन् । आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्डलगायतका संरचनामा समेत आगो लगाइदिएका छन् ।

राष्ट्रिय गौरवका आयोजनाको लागत तीन गुणाले बढ्यो, यस्तो छ २४ आयोजनाको प्रगति

काठमाडौं । राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेका विभिन्न २४ वटा आयोजनाको खर्च न्यून रहेको पाइएको छ । आर्थिक वर्ष २०५५/०५६ सालदेखि हालसम्म सञ्चालित विभिन्न २४ वटा आयोजना समयमा निर्माण सम्पन्न नहुँदा लागत तीन गुणासम्म बढेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको गौरवका आयोजनाको तथ्यांक अनुसार लागत प्रारम्भीक लागतको तुलनामा तीन गुणबढी खर्चको अनुमान गरिएको छ । २०५५/५६ मा सुरु भएको मेलम्ची खानेपानी आयोजनादेखि केही सुरु हुन बाँकी आयोजनालाई समेत राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । पटक–पटक लागत अनुमान संशोधन गर्दा अधिकांश आयोजनामा लागत बढेको हो । उक्त आयोजनाको ६ खर्ब १२ अर्ब १ करोड ३० लाख रुपैयाँ प्रारम्भीक लागत रहेको थियो । समयमा निर्माण सम्पन्न नहुँदा १८ खर्ब ९५ अर्ब ५४ लाख ७९ हजार रुपैयाँ पुगेको छ । वर्षौंदेखि विभिन्न कारणले बन्न नसकेका आयोजनाहरू र केही महत्वाकांक्षी भनिएको आयोजनाको शीघ्र निर्माणका लागि गौरवका आयोजनाको घोषणा नेपाल सरकारको निर्णयअनुसार गरिएको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्यकालमा २०६८/६९ मा १७ वटा आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा समावेश गरिएको थियो । दोस्रो पटक, आव २०७०/७१ मा चारवटा, तेस्रो पटक आव २०७५/७६ मा एउटा, आव २०७६/७७ मा एक र आव २०७७/७८ को बजेट वक्तव्यमार्फत ‘महाकाली सिँचाइ आयोजनालाई गौरवको आयोजनाको रूपमा विकास गरिनेछ’ भनेसँगै हालसम्म राष्ट्रिय गौरवका आयोजनाको संख्या २४ पुगेको छ । ५ महिनामा १५ प्रतिशत खर्च अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना (गत साउनदेखि पुस मसान्तसम्म) को तथ्यांक अनुसार १५ प्रतिशत मात्रै बजेट खर्च भएको हो । मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न सघाउ पुयाउने रणनीतिक महत्वका आयोजना, वित्तीय र प्राविधिक रूपमा चुनौतीपूर्ण रहेका ठूला आयोजना र साँस्कृतिक महत्वका २४ आयोजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा निर्णय गरी कार्यान्वयनमा ल्याएको छ । ऊर्जा, सिँचाई, खानेपानी, सडक, पर्यटन, वन क्षेत्र संरक्षणसँग सम्बन्धित आयोजनालाई गौरवका आयोजनामा समावेश गरेर बजेट विनियोजन गर्दा नै सरकारले उच्च प्राथमिकतामा राख्ने गरेको छ । राष्ट्रिय गौरवका आयोजनाहरू मध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई सकेको, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गत जेठ २ गतेबाट व्यावसायिक उडान सुरु भएको र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट सम्पन्न भई आन्तरिकतर्फको उडान सञ्चालनमा आएको छ । यस्तै, पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण विधि तयार नहुँदा आयोजना सुरु हुन सकेको छैन भने बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरणको कार्य जारी छ । अन्य आयोजनाहरू निर्माणको विभिन्न चरणमा रहेका छन् । चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाका लागि सरकारले ९८ अर्ब ९७ करोड ६४ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमा चालुतर्फ ३ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ, पुँजीगततर्फ ८८ अर्ब ५३ करोड ८५ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ६ अर्ब ८६ करोड रुपैयाँ विनियोजन गरिएको थियो । उक्त रकम विनियोजन भएकोमा ६ महिनाको अबधिमा १५ अर्ब ८ लाख अर्थात १५.१६ प्रतिशत मात्र खर्च भएको छ । जसमा चालुतर्फ ८० करोड ७९ लाख रुपैयाँ, पुँजीगततर्फ १४ अर्ब ५ करोड १६ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १४ करोड १३ लाख रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । कुन आयोजनाको अवस्था के छ ? मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ६ महिनाको अवधिमा पुष्पलाल मध्यपहाडी राजमार्गको भौतिक प्रगति १८ प्रतिशत भएको छ । एक हजार ८७९ किलोमिटर (किमी) सडकमध्ये एक हजार २५९ किमी कालोपत्रे भएको छ भने १३७ पुल बनाउनुपर्नेमा ९३ वटा पुल निर्माण गरिएको छ । २०६४/०६५ सालमा सुरु भएको उक्त आयोजनाका लागि ३३ अर्ब ६६ करोड रुपैयाँ प्रारम्भिक लागत अनुमान गरिएकोमा बढेर ८४ अर्ब ३३ करोड रुपैयाँ भएको छ । हुलाकी राजमार्ग कुल एक हजार ७९२ किमीमध्ये हालसम्म ८९१ किमी कालोपत्रे सम्पन्न गरिएको छ । २१९ कुल पुलमध्ये ११५ पुल निर्माण सकिएको छ । २०६६/०६७ सालमा सुरु भएको उक्त आयोजनाका लागि ४७ अर्ब २४ करोड रुपैयाँ अनुमान गरिएकोमा हाल बढेर ६५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । यस्तै, २०६४/०६५ सालमा निर्माण सुरु गरिएको उक्तर दक्षिण लोकमार्गका लागि ४१ अर्ब रुपैयाँ अनुमान गरिएकोमा हालसम्म ६६ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ । कुल २६८ किमिमध्ये हालसम्म २६३ किमी ट्रयाक खोल्ने कार्य पुरा भएको उल्लेख छ । रेल मेट्रा रेल तथा मनोरेल विकास आयोजनाका लागि ७० अर्ब ६२ करोड रुपैयाँ अनुमान गरिएकोमा ९ खर्ब ५५ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । काठमाडौं तराई मधेस द्रुतमार्ग आयोजनाका लागि १ खर्ब १६ अर्ब रुपैयाँ अनुमान गरिएकोमा १ खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पुस मसान्तसम्म उक्त आयोजनको भौतिक प्रगति ९.११ प्रतिशत रहेको छ । लुम्बिनी विकास कोष अन्तर्गत ५ अर्ब ५५ करोड रुपैयाँ अनुमान गरिएकोमा १ खर्ब ३२ अर्ब ६० करोड रुपैयाँ खर्च हुने भएको छ । हालसम्म् बृहत्तर लुम्बिनी क्षेत्रको गुरूयोजनाको अवधारणा तयार भएको उल्लेख गरिएको उक्त योजनाको प्रगति २४ प्रतिशत रहेको छ । बबई सिँचाई आयोजनाका लागि २८ करोड ७० लाख रुपैयाँ अनुमान गरिएकोमा १ खर्ब ८९ अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान छ । उक्त आयोजना अन्तरगत पुस मसान्तसम्म हेडवर्कस् निर्माण सकिएको छ । रानी जमरा कुलरिया सिँचाई आयोजनाका लागि १२ अर्ब ३७ करोड रुपैयाँ खर्च हुने अनुमान रहेकोमा २७ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ । सो आयोजनाका लागि गेट जडानको कार्य सकिएको छ भने पावर हाउसको करिब ९५ प्रतिशत काम सकिएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब २५ करोड रुपैयाँ खर्च हुने अनुमान रहेकोमा २ खर्ब ४९ अर्ब ७० करोड रुपैयाँ खर्च भैसकेको छ । सो आयोजना अन्तरगत तालतलैया सिमसार संरक्षण तथा व्यवस्थापन ४० वटा गल्छी, पहिरो खहरे रोकथाम भएको छ भने ९.१० किमी नदी तथा खोला किनारा स्थिरिकरण ३० हजार विरूवा उत्पादन खरिद सकिएको छ । अर्थविद विश्वास गौचन योजना तथा बजेट देशको वास्तविकता तथा क्षमताको आधारमा निर्र्माण नगर्दा न्यून खर्च हुने गरेको बताउँछन् । ‘चीनले पनि हासिल गर्न नसकेको आर्थिक विकासको लक्ष्य समेतेर आवधिक विकास योजना तयार गछौँ, त्यसै अनुरुप बजेटको लक्ष्य पनि तय गछौँ, अनि कसरी खर्च गर्न सक्छाैं’, उनले भने । उनले महत्वकाक्षीय योजना राख्दा सम्पन्न हुन नसकेको समेत बताए ।

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गते हुने

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गते हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर फागुन १२ गतेदेखि एकीकृत कारोबारको गर्ने तयारी रहेको सिभिल बैंकका मर्जर समिति संयोजक तथा सञ्चालक समिति सदस्य अम्बिर बोगटीले विकासन्युजलाई बताए । हिमालयन बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर एकीकृत कारोबार हुनेछ । दुवै बैंकले एकीकृत कारोबार निम्ति सिस्टम अपग्रेड गर्नका लागि २ दिन बैंकिङ्ग कारोबार बन्द हुने उनले बताए । राष्ट्र बैंकले दुइटै बैंकलाई माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिँदै एकीकृत कारोबारका लागि फागुन १६ गतेसम्मको डेडलाइन तोकेको छ । हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुने भएको छ । सञ्चालक समिति र व्यवस्थापन समूह हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । मर्जरपश्चात् बन्ने हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई बनाउने सहमति भएको छ । साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् । मर्जर पश्चात् हिमालयन बैंकको सञ्चालक समिति नै यथावत रहनेछ । ‘हिमालयन बैंकको सञ्चालक समिति एक वर्षसम्म निरन्तर हुन्छ, अर्को साधारण सभा नहुञ्जेलसम्म त्यहि सञ्चालक समिति मान्य हुन्छ, एक वर्ष पछि चुनाव हुन्छ, त्यसपछि सिभिल र हिमालयन दुवै बैंकबाट भन्ने हुँदैन, सबै आ–आफ्नो हिसावमा सञ्चालक बन्छन्, एक वर्षका लागि हामीले त्याग गरेको हो,’ बोगटीले भने । साथै, मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सिभिल बैंक हिमालयनमा गाभिएपछि सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेलस्वेच्छिक अवकास सुविधा (भिआरएस) मा बाहिरिने छन् । यसअघि उनी हिमालयन बैंकको वरिष्ठ डीसीईओ बन्ने सहमति भएपनि भिआरएस सुविधामा बाहिरिने भएका हुन् । सीईओ पोखरेल बाहिरिए पछि सिभिल बैंकको कर्मचारीको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सचिन जंग रायमाझीको नेतृत्वमा हिमालयन बैंकमा जानेछ । हिमालयन बैंकमा उनी चौथो वरियता पाउनेछन् । पछिल्लो समय कर्मचारीहरुको पद घटुवा गरेको भन्दै विरोध जनाएका थिए । तर, कर्मचारीहरु सबै सेवा सुविधा र पद यथावत रहेको बैंकले बताएको छ । सञ्चालक बोगटीले सिभिल बैंकमा कर्मचारीको जुन पद छ हिमालयन बैंकमा पनि त्यही पद कायम हुने बताए । त्यसमा कुनै कम्प्रोमाइज नभएको उनी बताउँछन् ।

नेपाल टेलिकमका हाकिमले बुझे साढे ९ करोड तलब, सञ्चालकको भत्ता कति ?

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)का हाकिम तथा प्रबन्ध सञ्चालकलाई साढे ९ करोड रुपैयाँ पारिश्रमिक प्रदान गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ का १० औं तह र सो भन्दा माथिका पदाधिकारीहरुलाई पारिश्रमिक तथा अन्य सुविधावापत ९ करोड ६८ लाख २१ हजार ५४ रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीका अनुसार गत आर्थिक वर्ष २०७८/७९मा सञ्चालकहरुले बैठक भत्ता वापत ११ लाख २ हजार ५ सय रुपैयाँ बुझेका छन् । जसमा सबैभन्दा धेरै सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्य अम्बिका प्रसाद पौडेलले भत्ता वापत बुझेका छन् । सञ्चालक पौडेललाई कम्पनीले ४२ वटा बैठकमा उपस्थित भएवापत १ लाख ९२ हजार ५ सय रुपैयाँ भत्ता भुक्तानी गरेको हो । यस्तै, सञ्चालक समितिका अध्यक्ष डा.बैकुण्ठ अर्यालले १ लाख ८८ हजार रुपैयाँ, पूर्व अध्यक्ष हरिप्रसाद बस्यालले १२ हजार रुपैयाँ बैठक भत्ता बुझेका छन् । यस्तै, सञ्चालकहरु भुपाल बरालले ६९ हजार रुपैयाँ, रामेश्वर दंगालले १ लाख ८ हजार रुपैयाँ, उत्तर कुमार खत्रीले १ लाख ३६ हजार रुपैयाँ, डिल्लीराम शर्माले १२ हजार रुपैयाँ, फणीन्द्र गौतमले १ लाख ८५ हजार रुपैयाँ, सुनिल पौडेलले ६० हजार रुपैयाँ, प्रतिभा बैद्यले ६० हजार रुपैयाँ र डिल्लीराम अधिकारीले ८० हजार रुपैयाँ भत्ता वापत बुझेका हुन् । गत आर्थिक वर्ष २०७८/७९ मा सञ्चालक समितिको ४३ वटा बैठक बसेका थिए । गत आर्थिक वर्ष २०७८/७९ मा कम्पनीका सेयरधनीहरुले ३१ करोड ३६ लाख ५७ हजार ५० रुपैयाँ बराबरको लाभांश रकम बुझिलिन बाँकी रहेको कम्पनीका सञ्चालक समिति अध्यक्ष बैकुण्ठ अर्यालले जानकारी दिए ।