बूढानीलकण्ठका १४६ बालबालिकामा देखियो मुटु रोगको समस्या, डाक्टर भन्छन् : जन्मजात हो

<p>काठमाडौं । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले बूढानीलकण्ठ नगरपालिकामा गरेको एक अध्ययनले जन्मजात मुटु रोगको बिरामी धेरै भएको देखाएको छ । बूढानीलकण्ठ नगरपालिकाका सरकारी र निजी अस्पतालका १३ हजार विद्यार्थीमा गरिएको अध्ययनले एक सय ४६ विद्यार्थीमा जन्मजात मुटु रोगसम्बन्धी समस्या देखिएको हो । अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले पाँचदेखि १५ वर्ष उमेर समूहका १३ हजार [&hellip;]</p>

काठमाडौं । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले बूढानीलकण्ठ नगरपालिकामा गरेको एक अध्ययनले जन्मजात मुटु रोगको बिरामी धेरै भएको देखाएको छ । बूढानीलकण्ठ नगरपालिकाका सरकारी र निजी अस्पतालका १३ हजार विद्यार्थीमा गरिएको अध्ययनले एक सय ४६ विद्यार्थीमा जन्मजात मुटु रोगसम्बन्धी समस्या देखिएको हो ।

अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले पाँचदेखि १५ वर्ष उमेर समूहका १३ हजार विद्यार्थीको मुटु परीक्षण गर्दा नौ जनामा मात्र बाथ मुटुरोग देखिएको बताए । बाथ तथा मुटु ज्वरो छ, छैन भन्ने अध्ययन गर्ने स्क्रीनिङ परीक्षण सुरु गरिएको थियो । पुस महिनादेखि माघको अन्तिमसम्ममा गरिएको परीक्षणमा सरकारी विद्यालयका तीन हजार आठ सय २० र निजी विद्यालयका नौ हजार एक सय ८० जना विद्यार्थी सहभागी रहेका थिए । उनका अनुसार जन्मजात मुटुसम्बन्धी समस्या देखिएको हो । ‘अस्पतालमा परीक्षण (इको) गर्दा शङ्का लागेका विद्यार्थीलाई पुनःअस्पतालमा परीक्षण गरेका थियौं, बाथ तथा मुटु रोगका समस्या भएका नौ बिरामी देखिए, एक सय ४६ लाई विभिन्न किसिमको जन्मजात मुटुको रोग देखियो,’ उनले भने ।

अध्ययनले आर्थिकरूपमा सबल स्थानमा बाथ मुटु रोग कम हुन सक्ने देखाएको उनको भनाइ छ । ‘लक्षण नभए पनि जन्मजात मुटुको रोगको समस्या हुन सक्ने यो अध्ययनले देखाएको छ । अर्कोतर्फ काठमाडौं उपत्यका नजिकका ठाउँमा स्वास्थ्य सेवाको पहुँच र सबल आर्थिक पक्षका कारण पनि बाथ मुटु रोग कम देखिएको भन्न सकिन्छ,’ उनले भने ।

केन्द्रले मुगु जिल्ला र धुनीबेसी नगरपालिकामा समेत मुटुरोगको अध्ययन गर्ने तयारी रहेको निर्देशक अधिकारीले जानकारी दिए । उनले भने, ‘देशका विकट स्थानमा मुटुसम्बन्धी समस्या कस्तो छ ? भन्ने जान्नका लागि मुगुमा अध्ययन गर्ने तयारी छ ।’

जन्मजात मुटु सचेतना सप्ताह चलिरहँदा अस्पतालले उक्त अध्ययन सार्वजनिक गरेको हो । जन्मजात मुटुरोग सचेतना फेब्रुअरी सात देखि १४ तारिखसम्म विभिन्न जनचेतनामूलक सप्ताहका रूपमा मनाइन्छ । बाल मुटुरोग विशेषज्ञ डा उर्मिला शाक्यका अनुसार एक सय जनामा एक जनालाई जन्मजात मुटुसम्बन्धी रोग हुने गर्छ । ती मध्ये एक तिहाइलाई जटिल प्रकारको समस्या हुने र उपचार नपाए मृत्युको जोखिम हुने गर्छ ।

उनले भने- ‘सबैभन्दा बढी बच्चाको मृत्युको कारण जन्मजात मुटुसम्बन्धी रोग हो, गर्भ अवस्थाबाटै शिशुको मुटुभित्र र बाहिरका बनावटमा कुनै पनि प्रकारको विकृतिलाई जन्मजात मुटुरोग भनिन्छ,’ उनले थपे- ‘जन्मजात मुटुसम्बन्धी रोगका ९० प्रतिशत कारण पुष्टि हुँदैन । दश प्रतिशत कारणमध्ये सबैभन्दा धेरै वंशाणुगत र वातावरणीय प्रतिक्रिया हुन सक्छ ।’

मुटुरोग विशेषज्ञ डा पुनम शर्माले भने- ‘१२ देखि २४ हप्ताको गर्भमा शिशुको मुटुसम्बन्धी समस्या परीक्षण गर्न सकिन्छ, त्यस्ता समस्या सामान्यदेखि जटिलसम्म हुनसक्छ, समयमा पहिचान हुनसके जटिल मुटुरोगको उपचार सम्भव छ ।’

डा शर्माका अनुसार जन्मजात मुटुरोग हुने बालबालिकामा ओठ र जिब्रो नीलो हुने, तौल नबढ्ने, छिटो थाक्ने, आमाको दूध राम्ररी खान नसक्ने र निमोनिया भइरहने जस्ता लक्षण देखिन सक्छ । गर्भवती महिलाले मद्यपान, धुम्रपान सेवन गर्ने र विकिरणको सम्पर्कमा आउँदा शिशुमा मुटुसम्बन्धी समस्या देखिन सक्छ । चिकित्सकको सल्लाहविना औषधिको सेवन, पोलेट भिटामिनको अभाव, नजिकको नातामा हुने विवाह, डाउन सिन्ड्रोम, रुबेला भाइरस र वंशाणुगत कारणले बालबालिकामा जन्मजात मुटुरोगसम्बन्धी विभिन्न समस्या देखिन सक्छ । रासस

Share News