मास्टर सेफ सन्तोषले अस्ट्रेलियामा नेपाली फुड प्रमोसन गर्ने
काठमाडौं । आगामी मे ३ देखि ७ तारिखसम्म अस्ट्रेलियाको नमस्ते रेष्टुरेण्टमा नेपाली फुड प्रमोशन कार्यक्रम हुने भएको छ । नेपालको फुड प्रवर्द्धनका लागि अस्ट्रेलियामा भएको अस्ट्रेलियन प्यासिफिक इनटरनेशनल कलेज र प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमि मैतीदेवीको संयोजकत्वमा फुड प्रमोशन कार्यक्रम हुने भएको हो । नेपाली फुडलाई विश्वभर प्रचारप्रसार गर्दै आएका मास्टर सेफ सन्तोष साहको आफ्नै मेनुमा अस्ट्रेलयनहरुलाई नेपाली खानाको स्वाद र परिकारहरु पस्किने कार्यक्रम रहेको छ । नेपाली मेनुमा २० प्रकारका खानाको परिकार र नेपाली एला पनि समावेश हुनेछ । फुड प्रमोशन कार्यक्रम टिकट मूल्य प्रतिव्यक्ति १८० देखि २ सय अस्ट्रेलियन डलर तोकिएको छ । सेफ साहले नेपाली फुडको प्रवर्द्धनको लागि अस्ट्रेलियामा कार्यक्रम गर्न लागेको बताए । उनले नेपाली फुडले पनि विश्वमा न्याय पाउनुपर्छ र पुस्तकमा मात्रै भनेर र सुनेर होइन नेपाली खानाको स्वाद विदेशी चाख्नै पाउनुपर्छ भनेर नै आफूले अस्ट्रेलियामा नेपाली खानाहरुको प्रवर्द्धन गर्न लागेको बताए । कार्यक्रममार्फत नेपाली खाना अस्ट्रेलियामा प्रचारप्रसार हुनेमा आशावादी रहेको सेफ साहले बताए ।
खाना पकाउन दाउराको सट्टा गोबरको गुइँठा प्रयोग हुने
दाङ । दाङका प्रायः गाउँमा इन्धनका लागि ‘गुइँठा’ सुकाएको देखिन्छ । प्रायः चौधरी समुदायमा बढी यसको प्रयोग हुने गरेको भए पनि अन्य समुदायको घरमा पनि यसरी घर आँगनमै गुइँठा देख्न सकिन्छ । दाउराको विकल्पमा यसरी गुइँठा प्रयोग गर्ने गरिएको तुलसीपुर–१२ कचिला निवासी मिनकुमारी चौधरीले बताइन् । ‘दाउरा लिन वन जान सकिन्न, यही गुइँठा र अलिकति दाउरा मिसाएर खाना पकाउँछौँ’, उनले भने, ‘गुइँठा सजिलो लाग्छ ।’ गाई, गोरु, भैँसी, राँगाको गोबरमा पसाल र भुस मिलाएर गुइँठा बनाउने गरिन्छ । गुइँठाले पनि दाउराकै काम गर्ने भएकाले थारु समुदायले परम्परादेखि नै यसको प्रयोग गर्ने गर्थे । पछिल्लो समय अन्य समुदायले पनि गुइँठा प्रयोग गर्ने गरेका छन् । अहिले गुइँठा बनाएर बिक्री गर्ने चलन पनि बढेको छ । एक बिटा गुइँठाको १५ सयदेखि दुई हजारसम्ममा बिक्री हुने गरेको कचिलाकै निर्मला चौधरीले बताइन् । ‘कसैले त गुइँठा बनाएर बिक्री पनि गर्नुहुन्छ’, उनले भनिन्, ‘प्रायः ले अहिले गाउँ–घरमा गुइँठा नै बाल्नुहुन्छ, त्यसैले पनि किनबेच भइरहेको छ ।’ चार वटा गुइँठाले खाना पकाउन सकिन्छ । गुइँठाको खरानी पनि खेतीपातीमा मलका लागि पनि प्रयोग हुने गर्छ । त्यसैले पनि गुइँठाको प्रयोग हुनेगर्छ । ‘खेतीपातीमा यसको खरानी पनि प्रयोग हुन्छ, गुइँठाबाट पकाएको खाना पनि मिठो हुन्छ’, तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरीले भने, ‘त्यसैले पनि यसको प्रयोग बढी हुने गरेको हो ।’ खरानी बारीमा प्रयोग गर्दा कृषिजन्य वस्तुलाई किराबाट समेत जोगाउने उनले बताए । रासस
बागलुङको निसीखोलामा थपिँदै ८ झोलुङ्गे पुल
बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९/८० मा आठ झोलुङ्गे पुल बन्दै छन् । अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुङ्गे पुल निर्माण गरिएका थिए । सङ्घीय सरकारको ८७ तथा निसीखोलाको १३ प्रतिशत लगानीमा आठ पुल निर्माण गर्न लागिएको गाउँपालिकाका इन्जिनियर समुन्द्र शाहीले जानकारी दिए । उनी भन्छन्, ‘आगामी असार मसान्तसम्म सबै पुल निर्माण सम्पन्न हुनेछन् ।’ वडा नं १ को सेलाखेतघाट र आठबारेघाट, वडा नं ७ को खनिबास–राजकुट कुँडुला जोड्ने, वडा नं ४ र ५ जोड्ने कारीखोला, वडा नं ५ को यारीखोला, वडा नं ६ मगरघाटखोला, वडा नं ३ को गतारेघाट तथा वडा नं २ र ३ जोड्ने गरी खग्रेनीघाटमा पुल निर्माण गरिँदै छ । स्थानीय प्रेमबहादुर कुँवरले पुल नहुँदा स्थानीयले समस्या भोग्नुपरेको बताए । पुल बनेपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य हुने छ । ‘स्कूल पारी छ, खोला नतरेसम्म त्यहाँ पुग्न सकिन्न, केटाकेटीलाई स्कूल पठाउनै डर छ’, उनले भने । अघिल्लो वर्ष निसीखोलाको–६ को सेबाङघाट, सरिटारघाट, चुसाङघाट र वडा नं ७ को कुतखोलाघाट, वडा नं ३ र ४ जोड्ने ढुवाँखोरघाट पुल, वडा नं १ को माराघाट तथा वडा नं २ धौलेघाटमा पुल निर्माण गरिएको थियो । दुई करोड पाँच लाख रुपैयाँको लागतमा ती पुल निर्माण गरिएका गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । यस वर्ष तीन करोड ६४ लाख रुपैयाँको लागतमा आठ पुल निर्माण भइरहेका छन् । रासस
पर्वतमा कफीका दाना बिक्री नभएपछि प्रशोधन गरिँदै
पर्वत । राम्रो मूल्य पाइने भएपछि पर्वतको एक कफी उत्पादक सहकारी संस्थाले आफैँ प्रशोधन गरी बजारमा धुलो कफी बिक्री गर्न सुरु गरेका छ । जिल्लामा उत्पादित कफीले राम्रो बजार पाउन नसकेपछि सहकारी आफैँले उत्पादन गरेर बिक्री सुरु गरेपछि किसानले समेत राम्रो मूल्य पाउन थालेका हुन् । पर्वतको अर्गानिक कफी सहकारी संस्था लिमिटेडले पर्वत कफी र धौलागिरि कफी ब्रान्डमा धुलो कफी बिक्री गर्न थालेको हो । कफीका दाना बिक्री गर्दा मूल्य पाउन नसकिने र कहिलेकाहीँ विदेशीले समेत कफीको गुणस्तर नभएको भन्दै फिर्ता पठाउँदा झन्झट हुन थालेपछि स्थानीय अर्गानिक कफीको प्रशोधन गरी धुलो बनाई बजारमा बिक्री गर्न थालेको हो । पर्वत जिल्लाको कफी देशकै उत्कृष्ट भएकाले युरोप, जापान र कोरियालगायतका देशमा निर्यात हुने गरेको थियो तर कहिलेकाहीँ गुणस्तरलगायतका बहानामा विदेशीले लिन आनाकानी गर्न थालेपछि आफैँले उत्पादन गर्न थालिएको सहकारी संस्थाका व्यवस्थापक भवानीप्रसाद शर्माले बताए । ‘जिल्लाको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउन धुलो कफी बिक्री गर्न थालिएको हो । कृषकले आफूले उत्पादन गरेको फ्रेस चेरी जिल्ला कफी सहकारी सङ्घले खरिद गर्ने र विदेश निर्यात गर्ने गरेको भए पनि विभिन्न झन्झट बेहोर्नुपर्ने भएकाले आफैँ धुलो बनाएर बेच्न सुरु गरेका हौँ’, शर्माले भने । धुलो बनाएर बेच्दा स्थानीय बजारका साथै विभिन्न मेला महोत्सवमा समेत जिल्लाको कफीको प्रचार हुने भएकाले यसरी बेच्न सुरु गरिएको शर्माले बताए । उनका अनुसार अहिले जिल्लाको कफी पोखरा काठमाडौँका तारे होटल तथा क्याफेले खरिद गर्दै आएका छन् भने पोखरा, बागलुङ र पर्वतका सौगात गृहमा समेत राम्रो बिक्री हुने गरेको जानकारी दिए। पर्वतमा बर्सेनि २० मेट्रिक टनभन्दा बढी कफी उत्पादन हुने गरेको छ । कृषकले उत्पादन गरेको कफी फ्रेस चेरी तथा ‘पार्चमेन्ट’ जिल्ला कफी सहकारीले खरिद गरेर विभिन्न निर्यात गर्ने कम्पनीलाई बिक्री गर्दै आएको छ । यसबाट जिल्लामा प्रत्येक वर्ष एक करोडभन्दा बढी भित्रिने गरेको छ । यस जिल्लाका विभिन्न ठाउँमा उत्पादन हुने कफी केही वर्ष अघिसम्म त्यत्तिकै खेर जाने गरेको थियो । अहिले जिल्लाका सबै स्थानीय तहका साथै बागलुङ र म्याग्दीमा उत्पादित कफी स्थानीय बजारका साथै विदेशी बजारमा समेत निर्यात हुन थालेसँगै कृषकले राम्रो मूल्यसमेत पाएका छन् । सहकारीका अनुसार गत वर्ष मात्रै १७ टन कफी निर्यात भएको थियो । अहिले जिल्लाका ३५ वडामा कफी खेती हुँदै आएको छ । पछिल्लो समय जिल्लाका अधिकांश ठाउँमा नयाँ कृषकले व्यावसायिक कफी खेती सुरु गरेको भए पनि पुराना कृषकले राम्रो मूल्य पाउन नसक्दा बोटमै सुकेर जाने गरेको कृषकको भनाइ छ । बजारीकरणका लागि जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय तहहरूले समन्वय नगर्दा पनि कृषक निराश बनेका हुन् । उपयुक्त भौगोलिक र हावापानीका कारण पनि पर्वतमा उत्पादित कफीले राम्रो बजार पाउनुपर्ने भए पनि स्थानीय तहमा समेत प्रचारप्रसार हुन नसक्दा बजारीकरणमा समस्या भएको शर्माको भनाइ छ । रासस
२ लघुवित्तको सेयर खरिद गर्दा ५० प्रतिशतसम्म लाभांश पाइने
काठमाडौं । बिहीबार २ लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । महिला लघुवित्त र मिथिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी दुई लघुवित्तले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ फागुन ५ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर खरिद गर्ने सेयरधनीहरुले लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन् । महिला लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद गरी कूल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले पाचौँ वार्षिक साधारण सभा फागुन २१ गते धुलिखेल, काभ्रेमा बिहान ११ बजे बोलाएको छ । यस्तै, मिथिला लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद गरी कूल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । लाभांश पारित गर्न लघुवित्तले १४ औँ बार्षिक साधारणसभा फागुन १७ गते धनुषामा बिहान ११ बजे बोलाएको छ ।
एभरेष्ट बैंकले धितोमा रहेको जग्गासहित कार बेच्दै
काठमाडौं । एभरेष्ट बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको जडिबुटि शाखा कार्यालयबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । ऋणी प्रधान ग्लास प्रालिका सञ्चालक अनिष प्रधान र नानीमैया प्रधान तथा जमानीकर्ता सुमन प्रधानले बैंकमा लिएको ऋण वापत राखिएको धितो सवारी लिलामी गरिएको छ । बैंकले सन् २०१९ मा बनेको पी ३–०१ ०२२ च ३५२१ नम्बरको महिन्द्रा बोलेरो पिकअप र सन् २०१९ मा नै बनेको बा ५ ख ८७८६ नम्बरको टाटा मोटर्सको सवारी बिक्रीमा राखिएको हो । यस्तै, बैंकले दिपायल शाखा कार्यालयबाट ऋणी कोट भैरव सुनचाँदी गहना पसलका सञ्चालक छत्र बहादुर सुनारको जग्गा बिक्री गर्ने भएको हो । बैंकले सुनारको नाममा रहेको दिपायल सिलगढी नगरपालिका ४ मा रहेको २७४.२४ वर्गमिटर क्षेत्रफलमा रहेको घरजग्गा बिक्रीमा राखेको हो ।
सिद्धार्थ बैंकको १ लाख ६० हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी शकुन्तला कुमारी थापा कार्कीको नाममा रहेको १ लाख ६० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य तोकिएको छैन । इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर र मूल्य तोकेर ७ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले पनि खरिद गर्न पाउनेछन् । यसअघि बैंकले उक्त सेयर संस्थापक सेयरधनीहरुका लागि पुस २७ गते बिक्री खुला गरेको थियो । तर, संस्थापक सेयरधनीहरुले खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताका लागि खुला गरेको हो ।
युपग्राम, अम्वेश्वरी, नयाँ तारा र गरिमामय सहकारीको एकीकृत कारोबार फागुन १० देखि
काठमाडौं । विभिन्न ४ वटा सहकारी संस्थाहरुले फागुन १० गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरेका छन् । युपग्राम, अम्वेश्वरी, नयाँ तारा र गरिमामय बचत तथा ऋण सहकारी संस्थाले फागुन १० गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । यी ४ वटा सहकारी संस्थाहरूको एकीकृत कारोबार पश्चात् गरिमामय बचत तथा ऋण सहकारी संस्थाको नामबाट संचालन हुनेछ । मर्जरपश्चात् संस्थाको प्रधान कार्यालय ललितपुरमा रहनेछ । यस्तै, सदस्य सेवा केन्द्रहरु महालक्ष्मी नगरपालिका ८ लुभु ललितपुर, काठमाडौं महानगरपालिका १४ कुलेश्वर, कलंकी र ललितपुर महानगरपालिका १९, कुमारीपाटीमा रहनेछन् । बागमती प्रदेश, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ ३ गते मर्जरका लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको थियो । पछिल्लो समय सहकारी संस्थाहरुको संख्या घटाउन धमाधम मर्ज भइरहेका छन् ।