विकासन्युज

मासिँदै गए सिन्धुलीमा बहुमूल्य जडीबुटी

कमलामाई । स्थानीयस्तरमा भएका बहुमूल्य जडीबुटी मासिँदै गएका छन् । संरक्षण र प्रवद्र्धनमा स्थानीय तह तथा सरोकारवाला निकायले ध्यान नदिँदा जडीबुटी मासिँदै गएका हुन् । वनजङ्गल तथा गाउँघरमा उपलब्ध जडीबुटी सही ढङ्गले सङ्कलन र प्रशोधनको अभावमा उपयोगविहीन बनेका छन् । जडीबुटी सङ्कलन र प्रशोधनका लागि सीप तथा प्रविधिको अभावका साथै स्थानीयमा ज्ञान र चेतनाको पनि कमी भएको कमलामाई नगरपालिका–५ सिलामेकी भीमकुमारी थापामगर बताउँछिन् । सिन्धुलीमाडीमा ३० वर्षदेखि जडीबुटी बेच्दै आएकी उनी भन्छिन्, ‘बहुमूल्य जडीबुटी गाई, भैँसीलाई घाँस र स्याउलाको रुपमा प्रयोग भइरहेका छन् । महाभारत क्षेत्रमा सिस्नो, चिराइतो, पाखनभवेद, भुर्केस, हर्रो, बर्रोलगायत जडीबुटी त्यसै खेर गइरहेका छन् ।’ जिल्लामा भएका जडीबुटी सङ्कलन र प्रशोधन नहुँदा महँगो मूल्यमा बाहिरीबाट किनेर बिक्री गर्नुपरेको थापामगर बताउँछन् । स्थानीय जडीबुटीको महत्व बुझाउन नसक्दा र यससम्बन्धी स्थानीयमा ज्ञानको अभाव हुँदा जडीबुटी संरक्षणविहीन अवस्थामा छन् । महाभारत तथा चुरे क्षेत्रमा प्रशस्त मात्रामा पाइने जडीबुटी जथाभावी सङ्कलन गर्दा बीउ नै मासिँदै गएको छ । जथाभावी जडीबुटी सङ्कलन गरी सदरमुुकाम सिन्धुलीमाढीसम्म ल्याई दुई/चार सय आम्दानी लिए पनि व्यवस्थितरुपमा सङ्कलन भने हुन सकेको छैन । ‘स्थानीय तह र सम्बन्धित निकायले जडीबुटी सङ्कलन, प्रशोधन र संरक्षणमा ध्यान दिनसके आयस्तर बढाउन टेवा पुग्ने थियो’, उनले भने । सिन्धुली प्राकृतिक जडीबुटी र वनस्पतिले धनी छ । उत्तरी महाभारत शृङ्खला, चुरे, भित्री मधेस तथा बेँसी र खोच क्षेत्रमा भौगोलिक तथा वातावरणअनुसार फरक–फरक प्रजातिका जडीबुटी पाइन्छन् । यसको अव्यवस्थित सङ्कलन र चोरी तस्करी हुने गरेको छ । डिभिजन वन कार्यालयका अनुसार जिल्लामा एक सय तीसभन्दा बढी प्रजातिका बहुमल्य जडीबुटी पाइन्छन् । साल, खयर, बर्रो, जामुन, कर्मा, चाप, तेजपातजस्ता महत्वपूर्ण रुख प्रजाति र चिराइतो, जिवन्ती, पाखनवेद, अमला, हर्रो, टिमुर, सिकाकाइ, कुरिलो, लोक्ता तीतेपातीजस्ता जडीबुटी महाभारत शृङ्खलाका २५ बढी ठाउँमा पाइन्छन् । यसको निकासी तथा प्रशोधनमा राज्य र निजी क्षेत्रले चासो नदिँदा बर्सेनि मूल्यवान् जडीबुटी खेर जाने गरेको छ । स्थानीय तहसँग जडीबुटी संरक्षण र व्यवस्थापनसम्बन्धी कुनै योजना तथा कार्यक्रम छैन । औषधिजन्य चिराइतो, सिनकौली, लोठसल्लाजस्ता विभिन्न प्रजातिका जडीबुटी तथा वनस्पति गोलञ्जोरमा प्रशस्त मात्रामा पाइने भए पनि यसको उचित सङ्कलन र व्यवस्थापन अझैसम्म हुन नसकेको गाउँपालिका अध्यक्ष शङ्करराज बराल स्वीकार्छन् । जिल्ला समन्वय समिति, सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले जडीबुटीसम्बन्धी चेतना स्थानीयवासीसम्म पुर्‍याउन नसकिएको बताए । ज्ञानको अभावमा आफ्नो घर, आँगनमा भएका औषधिजन्य जडीबुटी खेर जाने गरेको उनको भनाइ छ । रासस

अखिलको निर्वाचन विद्युतीय मेसिनबाट हुने

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को निर्वाचनकाे भाेटिङ विद्युतीय मेसिनबाट हुने भएको छ । फागुन २ गतेबाट शुरु भएको महाधिवेशनमा सहमति नजुटेपछि आज मतदान हुन लागेको हो । यस पटकको अखिलको निर्वाचन विद्युतीय मेसिनको प्रयोग गरेर हुने बताइएको छ । बिहान ८ बजेबाट मतदान शुरु गर्ने भनिए पनि सबै सदस्यहरु नआइसकेकाले अझै केही समय लाग्ने बताइएको छ । अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन् ।

नेपाल टेलिकमको नेटवर्कमा समस्या, नियामकले बनायो छानबिन समिति

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा पटक/पटक समस्या देखिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले छानबिन समिति गठन गरेको छ । नियामक निकायको रुपमा रहेको प्राधिकरणले टेलिकमको नेटवर्कमा पछिल्लो समय धेरै समस्या देखिएको भन्दै विजयकुमार रोयको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । प्राधिकरणले मंगलबार अनुगमन विभागका निर्देशक रहेका रोयको संयोजकत्वमा समिति गठन गरेको हो । सरकारी स्वामित्वको लगानीमा सञ्चालीत नेपाल टेलिकमको नेटवर्कमा निरन्तर समस्या आएपछि किन र कसरी समस्या आउँछ, एक पटक समस्या आउँदा कति नोक्सान भयो लगायतका विषयमा उक्त समितिले छानबीन गर्नेछ । संयोजक रोय उक्त समितिले सोमबारसम्म प्रतिवेदन सार्वजनिक गर्ने बताए । यसअघि आएको समस्याका बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छानवीन गरेको थियो । बुधबार दिउँसो १ बजेदेखि टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो । दिउँसो टेलिकमको कुनैपनि नेटवर्कमा फोन गर्दा फोन नै नलागी काटिने, म्यासेजिङ र डेटामा समेत समस्या देखिएको थियो ।

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ३ हजार रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख ३ हजार १ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

विश्वविद्यालयको संख्या थप्ने होडबाजी, गुणस्तरमा छैन चासो

काठमाडौं । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको धनगढीमा रहेको गेटा मेडिकल कलेजलाई शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य तथा विज्ञान विश्वविद्यालय बनाउने बताए । उनले गेटामा विश्वविद्यालय निर्माण गर्ने विषयमा क्याबिनेटबाट निर्णय भइसकेको पनि बताए । नेपालमा सञ्चालनमा रहेका विश्वविद्यालयहरुको शैक्षिक गुणस्तरको विषयमा विभिन्न कोणबाट प्रश्न उठ्दै आएको छ । सरकारले विश्वविद्यालयको गुणस्तरमा सुधार गर्नको लागि आवश्यक पहलकदमी अगाडि बढाउन चासो दिएको देखिँदैन । तर, संघीय र प्रादेशिक सरकारहरुले भने विश्वविद्यालयको संख्या थप्न तछाडमछाड गरिरहेका छन् । विश्वविद्यालय विशेषगरी विश्वव्यापी रुपमा नै स्वीकार्य र प्रतिस्पर्धी हुनपर्ने तर नेपालका विश्वविद्यालको अवस्था त्यस्तो नरहेको शिक्षाविद् डा।विष्णु कार्की बताउँछन् । ‘विश्वविद्यालय भनेको विश्वव्यापी रुपमा रिकग्नाइजेवल र कम्पिटेटिभ संस्था हो, विद्यार्थीहरुले विश्वविद्यालयबाट डिग्री वा सर्टिफिकेट लिइसकेपछि त्यसको विश्वव्यापी मान्यता हुनुपर्छ’, उनले भने, ‘तर नेपाली विद्यार्थी विश्वविद्यालयबाट पास भएर अर्को देशको विश्वविद्यालयमा जाँदा थप टेस्ट दिने, थप जाँच हुन्छ, नेपालको विश्वविद्यालय हो अरुले विश्वास गर्दैनन्, त्यसो हुँदा हामी एकहिसाबले खस्किइसकेका छौं ।’ नेपालबाट स्नातक वा स्नातकोत्तर तह पुरा गरेको विद्यार्थीले अर्को देशमा स्नातकोत्तर वा एमफिल गर्न जाँदा उसले तय गरेको नयाँ मापदण्ड पुरा गरेर मात्रै भर्ना हुन पाउने अवस्था रहेको कार्की बताउँछन् । आफैले पनि त्यस्तो अनुभव गरेको उनको भनाइ छ । अमेरिका र युरोपका विश्वविद्यालयहरुले नेपाली विश्वविद्यालयलाई ‘लो रेटिङ’ मा राख्ने गरेका छन् । त्यस्तै, विश्वविद्यालय देशको लागि चाहिने र विश्वमा मुलकलाई पहिचान विस्तार गर्नका लागि योगदान पुर्याउन सक्ने उच्चस्तरको जनशक्ति उत्पादन गर्नको लागि सञ्चालन गरिने डा।कार्कीको भनाइ छ । ‘विश्वविद्यालय सञ्चालन गर्दा केही विषय समेटिनुपर्छ, हाम्रो आफ्नै आवश्यकता, बजार, विशेषज्ञताको माग अथवा हाम्रो मुलुकको लागि चाहिने उच्चस्तरको जनशक्ति आधारलाई लिनुपर्छ’, उनले भने, ‘विश्वविद्यालयको जनशक्ति भनेको हामीकहाँ मात्रै उत्पादन भएर हामीकहाँ मात्रै खपत हुने भन्ने होइन्, विश्वविद्यालयबाट उत्पादन भएको जनशक्तिले मुलुकलाई चिनाउनेगरी पनि अन्य देशमा पनि योगदान गर्न सक्छन् ।’ यतिबेला विश्वविद्यालय अनुदान आयोगसँग जोडिएर ११ वटा विश्वविद्यालय सञ्चालनको अवस्थामा रहेका छन् । आर्थिक सर्वेक्षण ०७८/७९ अनुसार ती विश्वविद्यालय र मातहतका क्याम्पसमा मात्रै साढे पाँच लाख भन्दा धेरै विद्यार्थीहरुले अध्ययन गर्ने गरेका छन् । त्यस्तै, विदेशी विश्वविद्यालयबाट मान्यता लिएर सञ्चालन भएका कलेजहरुको संख्या ८६ वटा रहेको छ, त्यहाँ पनि हजारौं विद्यार्थीहरुले अध्ययन गर्ने गर्छन् । सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयले आफ्नै शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक कार्यक्रम चुस्त दुरुस्त रुपमा सञ्चालन गर्न सकेको छैन् । अन्य विश्वविद्यालयहरुमा पनि स्रोत साधन, पाठ्यक्रम, जनशक्ति लगायत थुप्रै समस्या रहेका छन् । राजर्षि जनक विश्वविविद्यालयमा २ सय जना पनि विद्यार्थी छैनन् । त्यस्तै अन्य विश्वविद्यालयहरुमा पनि विद्यार्थी संख्या न्यून रहेको अवस्था छ । नयाँ नेपाल विश्वविद्यालय पनि सञ्चालनको लागि ऐन निर्माणको प्रकृया अगाडि बढेको छ । केही प्रदेश सरकारहरुले पनि विश्वविद्यालय सञ्चालन गरिसकेका छन् भने केहीले छलफललाई अगाडि बढाएका छन् । यसरी हेर्दा संघीय विश्वविद्यालय र प्रादेशिक विश्वविद्यालयको संख्या डेढ दर्जन पुग्न लागिसकेको छ । ‘२ सय विद्यार्थी संख्यामा प्राथमिक विद्यालय पनि सञ्चालन हुन सक्दैन, तर विश्वविद्यालय खोल्दैछौं, यो के गरिरहेका छौं रु’, कार्की प्रश्न गर्छन । उनका अनुसार नेपाललाई कुन विषयमा कति जनशक्ति चाहिएको भन्ने विषयमा अनुसन्धान गर्ने र योजना बनाउने काम भएको छैन । जसले गर्दा विद्यार्थीहरुले खुरुखुरु विश्विद्यालयमा पढ्ने, पढिसकेपछि अवसर नपाउने र त्यसपछि विदेशिने अवस्थाको दुर्दशा बनेको उनको भनाइ छ । नेपालका विश्वविद्यालयहरुमा हुने प्राविधिक अध्ययन तुलनात्मक रुपमा राम्रो रहेको तर अन्य विषयगत अध्ययनको अवस्था धेरै राम्रो हुन नसकेको डा। कार्कीको भनाइ छ । ‘नेपाली विश्वविद्यालयले उत्पादन गर्ने जनशक्ति भने विश्वबजारमा कहिँ पनि तुलना हुने अवस्थामा छैन’, उनले भने, ‘हाम्रा विश्वविद्यालयले न हाम्रा स्थानीय आवश्यकतालाई सम्बोधन गर्न सके, नत हामीलाई विश्वव्यापी रुपमा प्रतिस्पर्धामा जान सक्ने बनाए ।’ मुलतः अनुसन्धान पद्दती अनुसार अध्यापन गर्नेगरी विश्वविद्यालयको सञ्चालन गर्ने अभ्यास विश्वव्यापी रुपमा अपनाउने गरेको विज्ञहरुको भनाइ छ । जसको लागि भौतिक पूर्वाधार, गुणस्तरीय जनशक्तिको व्यवस्था र सञ्चालन खर्च निकै उच्च स्तरको हुने गर्दछ । डा।कार्कीले विश्वविद्यालयको अध्ययन अध्यापन पूर्णतया अनुसन्धान पद्दतीसँग जोडिएको हुनुपर्ने, अनुसन्धान गर्ने नयाँ विषयहरुको खोज गर्ने, समस्याहरुको पहिचान गर्ने र त्यसलाई सम्बोधन गर्ने उपायहरु खोज्नेसँग जोडिएको हुनुपर्ने बताउँछन् । ‘विश्वविद्यालय भनेको समाजलाई सञ्चालन गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने संस्था हो, पिएचडी ल्याएर घरमा झुण्ड्याउने र डिग्री बाँड्ने मात्रै होइन्’, उनी भन्छन्, ‘समाजका समस्याहरुलाई चुनौतिहरुलाई सामना गर्न सक्ने क्षमता विकास गर्ने हो ।’ विदेशी विश्वविद्यालयहरुले विद्यार्थीले रोजेको विषयमा अध्ययन गर्न र पिएचडी अनुसन्धान गर्न ठूलो मात्रामा छात्रवृत्ति प्रदान गर्ने तर नेपालको सन्दर्भमा विश्वविद्यालयहरुको आम्दानी नभएको उनको भनाइ छ । नेपालमा परम्परागत प्रकृतिकै विश्वविद्यालयहरुको संख्या थप चाहिने अवस्था नरहेको बरु अहिले भएका विश्वविद्यालयलाई पनि मर्ज गराएर ५र७ वटामा झारेर गुणस्तरीय बनाउँदा राम्रो हुने डा।कार्की बताउँछन् । नेपालमा उच्च स्तरको शिक्षा अध्ययन तथा अनुसन्धान गर्नको लागि वातावरण राम्रो भएको र विदेशी विद्यार्थीलाई लक्षित गरेर विश्वविद्यालयहरुको सञ्चालन गर्न सकिने सम्भावना भने भएको उनको भनाई छ । वातावरण र जैविक विविधताले सो विषयको सम्भावनालाई औंल्याउने उनी बताउँछन् । डा।कार्कीले नयाँ सोँच सहित सञ्चालन गर्न तयार हुने हो भने नयाँ विश्वविद्यालयहरुको पनि थप सम्भावना भएको बताए । ‘शिक्षा क्षेत्र भनेको लगानी हो, तर त्यसबाट राज्यले रिटर्न लिन सकेन भने त्यो वेस्टेज हो, यदी युवाहरु पढेर खाडीमा नै जाने हो भने किन विश्वविद्यालय चाहियो ?’, उनी भन्छन्, ‘यस्ता विश्वविद्यालय छन्, जहाँ दुईरचार जना प्रशासनिक कर्मचारीहरु छन्, न त्यहाँ शिक्षाविद् छन्, न त्यहाँ स्रोत, न त्यहाँ ल्याब छ, न त्यहाँ पुस्तकालय छ रु त्यो विश्वविद्यालय भन्नु नै लाजमर्दो छ, यसरी चल्दैन ।’

३ कुलपतिले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रधानमन्त्री दाहालले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई शपथ गराएका हुन्। सो अवसरमा प्रधानमन्त्री दाहालले तीनैजनालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

यसरी सकिन्छ क्यान्सरको जोखिम न्यूनिकरण गर्न : डा. ओममुर्ति

काठमाडौं । डा. ओममुर्ति अनिलले क्यान्सरको जोखिमलाई न्यूनिकरण गर्न विभिन्न उपायहरु अपनाउन सकिने सचेतनामुलक सामग्री प्रस्तुत गरेका छन् । क्यान्सरको जोखिम न्यूनिकरण गर्ने उपायहरुका विषयमा सामाजिक सञ्जालमा उनले सचेतनामुलक सामग्री सेयर गर्दै जानकारी गराएका छन् । डा. ओममुर्तिले सेयर गरेको सचेतनामुलक सामग्रीमा क्यान्सरको जोखिमलाई न्यूनिकरण गर्नको लागि धुम्रपान नगर्न सुझाव दिइएको छ । चर्को घाममा जानुपरेमा घामको विकिरणबाट जोगिन लोसन लगाउन र स्वस्थकर खानाको मात्रै प्रयोग गर्न सुझाव दिइएको छ । घर भित्र र बाहिरको प्रदुषणलाई कम गर्ने, शारीरिक रुपमा सक्रिय रहने र मदिराजन्य पदार्थ सेवन कम गर्न डा. ओममुर्तिले सेयर गरेको सामग्रीमा उल्लेख गरिएको छ । त्यस्तै, स्तनपान गराउँदा आमालाई क्यान्सर लाग्ने खतरा न्यून हुने, बच्चालाई हेपाटाइटिस र एचपीभी विरुद्धको खोप लगाउनुपर्ने र निश्चित समयमा क्यान्सर रोगका जाँचहरु गराउँदा क्यान्सर लाग्ने जोखिमलाई न्यूनिकरण गर्न सकिने डा. ओममुर्तिले सेयर गरेको सचेतनामुलक सामग्रीमा उल्लेख गरिएको छ ।

नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव

काठमाडौं । गए राति खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता डा चन्द्रकान्त भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष आइसियुमा उपचार भइरहेको छ । नेता भण्डारीसँगै उनका आमा ८६ वर्षीया हरिकलाको पनि आइसियुमै उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिए । गए राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिण्डर पड्किएर दुवैजना घाइते भएका हुन् । अस्पतालका जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीका अनुसार नेता डा भण्डारीको अनुहार, दुवै हात र गोडामा २५–३० प्रतिशत तथा आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको छ । डा भण्डारी र आमा हरिकलाको श्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको डा नकर्मीको भनाइ छ । नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण सिफारिस गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।