विकासन्युज

सिभिल लघुवित्तमा काम गर्ने अवसर, यी ७ पदका लागि माग्यो कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । सिभिल लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले एक सुचना जारी गर्दै विभिन्न विभागमा कर्मचारी, सूचना प्रविधि वित्त आन्तरिक लेखा परीक्षण, अनुगमन अधिकृत, अनुगमन अधिकृत कलस्टर प्रमुख/शाखा कार्यालय प्रमुख, शाखा कार्यालय प्रमुख फिल्ड सहायक कनिष्ठ सहायक केही संख्यामा कर्मचारीको माग गरेको छ । त्यसैगरी संस्थाले कार्यालय सहायकका लागि एक जना माग गरेको हो । उक्त पदका लागि संस्थाले सामान्य लेखपढदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले फागुन १७ गतेभित्र संस्थाको वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन् ।

मुगुमा कारागार भवन निर्माण नहुँदा कैदीबन्दी राख्न समस्या

मुगु । मुगुमा कारागार भवन निर्माण नहुँदा यहाँका कैदीबन्दी अरु जिल्लामा लगेर राख्नुपर्ने बाध्यता छ । सदरमुकाम गमगढीस्थित थापाल चौरमा कारागार भवन नौ वर्षअघि निर्माण सुरु गरिएको भए पनि अझै पूरा हुन सकेको छैन । विसं २०७१ मा तीन करोड ५० लाख रुपैयाँमा भवन निर्माणको काम थालिएको हो । भवन निर्माणको जिम्मा आरसी कन्स्ट्रक्सन धनगढीले लिएको हो । भवन निर्माणको झन्डै ९० प्रतिशत काम पूरा भए पनि घेरबार, सुरक्षा पोष्टलगायत काम नहुँदा अझैसम्म पनि ठेकेदार कम्पनीले हस्तान्तरण गरेको छैन । असी पुरुष र २० महिला अट्ने क्षमताको उक्त कारागार भवन बने कैदीबन्दीलाई अरु जिल्ला लैजाने अवस्थाको अन्त्य हुने छ । पूरानो कारागार भवन प्रयोगविहीन भएपछि दुई वर्षअघि त्यसलाई कोरोना सङ्क्रमित राख्न प्रयोग गरिएको थियो । कारागार नै निर्माण नभएपछि कैदीबन्दीलाई मुगुबाट जुम्ला, बर्दिया, सुर्खेत, कालीकोट, बाँके र दाङ लैजानुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुद्दाको फैसला नहुँदासम्म कैदीबन्दीलाई प्रहरीको हिरासतमा राख्ने गरिए पनि फैसलापछि अरु जिल्लामा पठाउनुपर्ने बाध्यता छ । कैदीबन्दीलाई जिल्ला बाहिर चलानी गर्नुपर्दा सुरक्षाकर्मीलाई पनि उत्तिकै सास्ती हुने गरेको छ । कैदीबन्दी अरु जिल्ला लगेर राख्दा आफन्तलाई भेट्न समस्या हुने गरेको छ । छायानाथ रारा नगरपालिकाका ७१ वर्षीय सिंहबहादुर मल्लले छोरो जुम्ला कारगारमा रहेकाले नौ वर्षदेखि भेट्न नपाएको बताउँछन् । कैदीबन्दी अन्य जिल्ला पुर्याउँदा कम्तीमा ५० हजार रुपैयाँसम्म खर्च हुने गरेको प्रहरीले जनाएको छ । मुगुबाट बर्सेनि झण्डै २० कैदीबन्दीलाई जिल्ला बाहिर पठाउनुपर्छ । आव २०७६/७७ मा २१, आव २०७७/७८ मा १२ र आव २०७८/७९ मा १९ कैदीबन्दीलाई जिल्लाबाहिर पठाइएको थियो । रासस

किन पड्किन्छ ग्यास ? यसरी रहनुस् सुरक्षित

काठमाडौं । बुधबार राति ग्यास पड्केर सासंद समेत रहेका काँग्रेसका नेता चन्द्रकान्त भण्डारी र उनकी आमा घाइते भए । घाइते भण्डारीलाई थप उपचारका लागि भारत लिने तयारी भइसकेको छ भने उनकी आमाको उपचारका क्रममा मृत्यु भइसकेको छ । हुन त यस्ता घटना विभिन्न समयमा हुने गरेका छन् । तर, देशकै प्रतिनिधिसभाका सांसद नै ग्यास पड्केर घाइते भएपछि देशव्यापी रुपमा एक किसिमको त्रास सिर्जना भएको छ । नेपाल आयल निगमका अनुसार देशभर करिब ५० लाखले खाना पकाउने एलपी ग्यासको प्रयोग गर्छन् । ग्यास प्रयोग गर्ने उपभोक्ताको दैनिक केही न केही कमजोरी तथा गल्तिले ग्यास पड्किने सम्भावना हुन्छ । हालसम्म ग्यास पड्किएर ज्यान गुमाउनेको यकिन संख्या भने आधिकारीक निकायसँग छैन । किन पड्किन्छ ग्यास ? एलपीजी ग्यासको सिलिण्डर पड्किनुको मुख्य कारण ग्यास लिक भएको जानकारहरु बताउँछन् । यससँगै ग्यासमा गुणस्तर प्रमाणित नभएका चुल्हो, रेगुलेटर, रबर पाइप जस्ता उपकरणका कारण पनि ग्यास पड्किने सम्भावना हुन्छ । यस्तै, लामो समयसम्म सिलिण्डर बिना प्रयोग गर्ने र सिलिण्डर जथाभावीरुपमा प्रयोग गर्दा सिलिण्डर पड्किन सक्छ । ग्यासको सिलिण्डर भएको ठाउँमा एलपी ग्यासको तीखो गन्ध आयो भने ग्यास लिक भएको बुझ्नुपर्छ । कसरी बच्ने ?  –सिलिण्डरलाई गुडाउनु हुँदैन । –भार पर्नेगरी सिलिण्डरमाथि कुनै सामान नराख्नुहोस् । –एउटै भान्सामा दुई वटा सिलिण्डर सकेसम्म नराख्नुहोस् । –सिलिण्डरलाई कहिल्यै पनि ढलाएर वा कोल्टो पारेर नराख्नुहोस् । –सिलिण्डर भन्दा कम्तीमा ६ इन्च माथि ग्यास चुलो राख्नुहोस्। । कहिलै पनि चुलोभन्दा सिलिण्डर माथि राख्नु हुँदैन । –सिलिन्डरबाट ग्यास लिक भएको थाहा पाउनासाथ रेगुलेटर बन्द गर्नुहोस् ।

सिभिल बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने

काठमाडौं । सिभिल बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा बैंकको सेयर कारोबार फागुन १४ गतेदेखि चैत २ गतेसम्म बन्द हुने भएको हो । सिभिल बैंक हिमालयन बैंकसँग मर्ज भई फागुन १२ गतेदेखि एकीकृत कारोबार गर्दै छ । उक्त कारोबार पश्चात बैंकको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लागि बैंकको सेयर कारोबार रोक्का हुन लागेको हो ।

मासिँदै गए सिन्धुलीमा बहुमूल्य जडीबुटी

कमलामाई । स्थानीयस्तरमा भएका बहुमूल्य जडीबुटी मासिँदै गएका छन् । संरक्षण र प्रवद्र्धनमा स्थानीय तह तथा सरोकारवाला निकायले ध्यान नदिँदा जडीबुटी मासिँदै गएका हुन् । वनजङ्गल तथा गाउँघरमा उपलब्ध जडीबुटी सही ढङ्गले सङ्कलन र प्रशोधनको अभावमा उपयोगविहीन बनेका छन् । जडीबुटी सङ्कलन र प्रशोधनका लागि सीप तथा प्रविधिको अभावका साथै स्थानीयमा ज्ञान र चेतनाको पनि कमी भएको कमलामाई नगरपालिका–५ सिलामेकी भीमकुमारी थापामगर बताउँछिन् । सिन्धुलीमाडीमा ३० वर्षदेखि जडीबुटी बेच्दै आएकी उनी भन्छिन्, ‘बहुमूल्य जडीबुटी गाई, भैँसीलाई घाँस र स्याउलाको रुपमा प्रयोग भइरहेका छन् । महाभारत क्षेत्रमा सिस्नो, चिराइतो, पाखनभवेद, भुर्केस, हर्रो, बर्रोलगायत जडीबुटी त्यसै खेर गइरहेका छन् ।’ जिल्लामा भएका जडीबुटी सङ्कलन र प्रशोधन नहुँदा महँगो मूल्यमा बाहिरीबाट किनेर बिक्री गर्नुपरेको थापामगर बताउँछन् । स्थानीय जडीबुटीको महत्व बुझाउन नसक्दा र यससम्बन्धी स्थानीयमा ज्ञानको अभाव हुँदा जडीबुटी संरक्षणविहीन अवस्थामा छन् । महाभारत तथा चुरे क्षेत्रमा प्रशस्त मात्रामा पाइने जडीबुटी जथाभावी सङ्कलन गर्दा बीउ नै मासिँदै गएको छ । जथाभावी जडीबुटी सङ्कलन गरी सदरमुुकाम सिन्धुलीमाढीसम्म ल्याई दुई/चार सय आम्दानी लिए पनि व्यवस्थितरुपमा सङ्कलन भने हुन सकेको छैन । ‘स्थानीय तह र सम्बन्धित निकायले जडीबुटी सङ्कलन, प्रशोधन र संरक्षणमा ध्यान दिनसके आयस्तर बढाउन टेवा पुग्ने थियो’, उनले भने । सिन्धुली प्राकृतिक जडीबुटी र वनस्पतिले धनी छ । उत्तरी महाभारत शृङ्खला, चुरे, भित्री मधेस तथा बेँसी र खोच क्षेत्रमा भौगोलिक तथा वातावरणअनुसार फरक–फरक प्रजातिका जडीबुटी पाइन्छन् । यसको अव्यवस्थित सङ्कलन र चोरी तस्करी हुने गरेको छ । डिभिजन वन कार्यालयका अनुसार जिल्लामा एक सय तीसभन्दा बढी प्रजातिका बहुमल्य जडीबुटी पाइन्छन् । साल, खयर, बर्रो, जामुन, कर्मा, चाप, तेजपातजस्ता महत्वपूर्ण रुख प्रजाति र चिराइतो, जिवन्ती, पाखनवेद, अमला, हर्रो, टिमुर, सिकाकाइ, कुरिलो, लोक्ता तीतेपातीजस्ता जडीबुटी महाभारत शृङ्खलाका २५ बढी ठाउँमा पाइन्छन् । यसको निकासी तथा प्रशोधनमा राज्य र निजी क्षेत्रले चासो नदिँदा बर्सेनि मूल्यवान् जडीबुटी खेर जाने गरेको छ । स्थानीय तहसँग जडीबुटी संरक्षण र व्यवस्थापनसम्बन्धी कुनै योजना तथा कार्यक्रम छैन । औषधिजन्य चिराइतो, सिनकौली, लोठसल्लाजस्ता विभिन्न प्रजातिका जडीबुटी तथा वनस्पति गोलञ्जोरमा प्रशस्त मात्रामा पाइने भए पनि यसको उचित सङ्कलन र व्यवस्थापन अझैसम्म हुन नसकेको गाउँपालिका अध्यक्ष शङ्करराज बराल स्वीकार्छन् । जिल्ला समन्वय समिति, सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले जडीबुटीसम्बन्धी चेतना स्थानीयवासीसम्म पुर्‍याउन नसकिएको बताए । ज्ञानको अभावमा आफ्नो घर, आँगनमा भएका औषधिजन्य जडीबुटी खेर जाने गरेको उनको भनाइ छ । रासस

अखिलको निर्वाचन विद्युतीय मेसिनबाट हुने

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को निर्वाचनकाे भाेटिङ विद्युतीय मेसिनबाट हुने भएको छ । फागुन २ गतेबाट शुरु भएको महाधिवेशनमा सहमति नजुटेपछि आज मतदान हुन लागेको हो । यस पटकको अखिलको निर्वाचन विद्युतीय मेसिनको प्रयोग गरेर हुने बताइएको छ । बिहान ८ बजेबाट मतदान शुरु गर्ने भनिए पनि सबै सदस्यहरु नआइसकेकाले अझै केही समय लाग्ने बताइएको छ । अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन् ।

नेपाल टेलिकमको नेटवर्कमा समस्या, नियामकले बनायो छानबिन समिति

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा पटक/पटक समस्या देखिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले छानबिन समिति गठन गरेको छ । नियामक निकायको रुपमा रहेको प्राधिकरणले टेलिकमको नेटवर्कमा पछिल्लो समय धेरै समस्या देखिएको भन्दै विजयकुमार रोयको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । प्राधिकरणले मंगलबार अनुगमन विभागका निर्देशक रहेका रोयको संयोजकत्वमा समिति गठन गरेको हो । सरकारी स्वामित्वको लगानीमा सञ्चालीत नेपाल टेलिकमको नेटवर्कमा निरन्तर समस्या आएपछि किन र कसरी समस्या आउँछ, एक पटक समस्या आउँदा कति नोक्सान भयो लगायतका विषयमा उक्त समितिले छानबीन गर्नेछ । संयोजक रोय उक्त समितिले सोमबारसम्म प्रतिवेदन सार्वजनिक गर्ने बताए । यसअघि आएको समस्याका बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छानवीन गरेको थियो । बुधबार दिउँसो १ बजेदेखि टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो । दिउँसो टेलिकमको कुनैपनि नेटवर्कमा फोन गर्दा फोन नै नलागी काटिने, म्यासेजिङ र डेटामा समेत समस्या देखिएको थियो ।

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ३ हजार रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख ३ हजार १ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।