‘बैंकरलाई आइडीकार्ड झुण्ड्याएर बजारमा जान डर लाग्न थाल्यो, सबैले हामीलाई नै पेले’
पछिल्लो समय बैंकिङ क्षेत्रले अरब कमायो भनेर चर्चा हुन्छ । त्यसको लागि लगानी हेर्नु पर्छ । बैंकिङ क्षेत्र भोलि नोक्सानमा गयो भने निक्षेपकर्ताले पैसा राख्न आउँदैनन् । साँच्चै भन्ने हो बैंकिङ क्षेत्रका लगानीकर्ता घाटामा छन् । उनीहरुलाई प्रमोटर सेयर बेच्न पनि सकस छ । बरु त्यो सेयर बेचेर मुद्दति निक्षेपमै राख्न सक्यो भने लगानीकर्तालाई फाइदा हुन्छ होला । अहिले बैंकहरुको रिटर्न पनि एकदमै न्यून छ । अरब आफैमा ठूलो होइन । बैंकिङ क्षेत्रको अरुले भने जस्तो कमाइ छैन । कुल पुँजीमा १० प्रतिशतभन्दा बढी रिटर्न छैन । विगतको तुलना बैंकको आरओई घट्दै गइरहेको छ । कोभिडको समयमा आर्थिक गतिविधिहरु सुस्त भए । रेमिट्यान्स आइरह्यो । तरलताको समस्या भएन । त्यतिखेर लगानीको अवसर नभएर ऋणीलाई आधार दरमा ०.२५ प्रतिशत ब्याजमा कर्जा दिइएकै हो । अहिले कोभिड सकियो । निक्षेप बढेन । आर्थिक गतिविध चलायमान हुन थाले । निक्षेपको ब्याजदर बढ्दै गयो । सोही अनुसार बैंकहरुले प्रिमियम पनि बढाए । प्रिमियम भनेको सबै नाफा होइन । आधारदरमा सबै कष्ट जोडिएको हुँदैन । १.३ प्रतिशत हामीले प्रोभिजन गर्नु पर्छ । १ प्रतिशतभन्दा कम प्रिमियम भनेको हामी नोक्सानमै हो । अलिकति बढाउँदा सबैले फिर्ता गर्नु पर्यो । ग्राहकहरुले बैंकहरुले दिने ब्याजदरको रेट भन्दा कममा निक्षेप जिम्मा गरेका छन् । त्यस्तो हुँदा राम्रो निक्षेपकर्ता पनि बैंकहरुबाट पलायन हुनसक्ने अवस्था देखिएको छ । बैंकको लगानी, लागत खर्च हेर्दा व्यवसायीहरु र बाहिर आए जस्तो बैंकहरुले नाफा छैन । बैंकको न्युनतम नाफा हुनैपर्छ किनकी निक्षेपकर्ताको रकम सुरक्षा गर्न बसेका छौं । ५ प्रतिशत प्रिमियममा कर्जा दिनु भनेको पनि बैंकहरुलाई नोक्सान नै हो । अब प्रिमियम घटाइसकेपछि बढाउन पाइँदैन । बैंकिङ धेरै रेगुलेडेट क्षेत्र हो । अझै पनि हामी स्ट्रङ्ग नै छौं । खराब कर्जा डरलाग्दो किसिमले बढ्दै गइरहेको छ । कोभिडको इफेक्ट अब देखिँदैछ । संसाभर मूल्यवृद्धि कन्ट्रोल गर्ने विषय उठिरहेको छ । त्यो समस्या समाधानका लागि पहल भइरहेको छ । ब्याजदर बढाउँदा केही सीमित लगानीकर्तालाई मात्रै असर गर्छ । त्यसबाट नेपाल अछुतो हुन सक्दैन । तत्कालै सिंगल डिजिटमा ब्याजदर आउने देखिँदैन । सरकारको बजेट खर्च नै कम छ । त्यसमा पनि विकास खर्च कम भयो भने निक्षेप संकलनमा असर गर्छ । विकास खर्च नै कम गर्नु भनेको समस्या सिर्जना हुनु हो । हामीले आँकलन गरेको निक्षेप वृद्धि पनि कम हुन सक्छ । यही बेला बजारबाट उश्रृङ्खल गतिबिधि भइरहेका छन् । निक्षेप सेभिङ्गबाट मुद्दतिमा रुपान्तरण हुँदै गएको छ । त्यसले गर्दा हाम्रो कष्ट बढिरहेको छ । बैंकहरुले खासै बढी मािर्जन राखेका छैनन् । कोभिडको जस्तो कम ब्याज हुन सक्दैन । अहिले लघुवित्तमा पनि एक किसिमको समस्या आइरहेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तमा १५ प्रतिशतको सीमा तोकेको छ । पछिल्लो समय गाउँघरमा एक/दुई वटा घटनालाई लिएर विरोध भइरहेको छ । लघुवित्तहरुले वाणिज्य बैंकबाट १२ प्रतिशतमा लिएर १५ प्रतिशतमा लगानी गर्दा सस्टेन नै हुन सक्दैनन् । असनबाट साग ल्याएर टुडिखेलमा बेच्दा पनि ५० प्रतिशत नाफा हुन्छ । १० रुपैयाँको साग १५ रुपैयाँमा बेचिन्छ । लघुवित्तमा रिटर्न उच्च हुने एजम्सन हुन्छ । तर, यसरी बैंक तथा वित्तीय संस्थाहरुले बढी नाफा गरे, लुटे भन्नु गलत हो । कति लगानीमा कति नाफा गरे भनेर बुझ्नु पर्छ । वित्तीय क्षेत्रमा खराब कर्जा बढ्दै गयो भने भोलि अर्को समस्या सिर्जना हुन सक्छ । हामी दक्षिण एसियामा राम्रो खराब कर्जा (एनपिएल)मा छौं भन्छौं तर म त्यसलाई मान्दिन । एनपिएलमा नन बैंकिङ एसेट (एनबीए)लाई पनि हेर्नु पर्छ । एनबिए बिक्री नै हुँदैन । त्यो पनि जोड्ने हो हामी अहिले नै ४ प्रतिशत खराब कर्जामा छौं । एकातर्फ त्यो नगर भनेर राष्ट्र बैंकले भन्ने, मिडियाले पनि त्यस्तै लेख्ने र ऋणाीले पनि भन्ने नै भए । अब हामी जाने कहाँ ? अब फोटो निकाल्न पनि मनाही छ । हामी सबैतिरबाट च्यापिँदै गएका छौं । अहिले हाम्रा साथीहरु बजारमा टाइ लगाएर जान पनि डर लाग्न थाल्यो भनिरहनु भएको छ । यो अवस्थाको सबै मिलेर अन्त्य गर्नु पर्छ । अहिले देखिएको परिस्थितिको सामना गर्नको लागि हामी सबैले सहकार्य गरेर अगाडि बढ्नु पर्छ । (नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले बुधबार पत्रकार सम्मेलनमा राखेको विचार ।)
अलैँचीले उकासियो किसानको आर्थिक अवस्था, वार्षिक १५ लाख आम्दानी
लमजुङ । कालो सुनको रुपमा हेरिएको अलैँचीले यहाँका किसानको आर्थिक अवस्था उकासिएको छ । करिब ४५ वर्ष अघिदेखि अलैँची खेती विस्तार भएको लमजुङमा केही वर्षदेखि अलैँची खेतीले राम्रो आम्दानी दिन थालेपछि यहाँका अधिकांश किसानको आर्थिक अवस्था उकासिन थालेको हो । अलैँचीबाट उकासिएकामध्ये एक हो हिमाली जिल्ला मनाङसँग सिमना जोडिएको लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ । उनको दिनचर्या अलैँची बारीमै बित्छ । कालो सुनका रूपमा हेरिने अलैँची खेती थालेपछि भने उनी आर्थिकरूपले सम्पन्न मात्र हाेइन रोजगारी दिलाउन सक्ने हैसियतमा पनि छन् । अलैँची किसान तामाङ गाउँगाउँमा सुरु भएको अलैँची खेतीको लहरसँगै १५ वर्ष अघि परिवारसहित गाउँ फर्किए । एक रोपनी जग्गाबाट सुरु भएको अलैँची खेती यतिबेला ४० रोपनी क्षेत्रफलमा फैलिएको छ । सोही छिनखोलामा पाँच रोपनी र ताराचोक शेरामा ५० रोपनी क्षेत्रफलमा नेपालकै ठूलो अलैँची नर्सरी स्थापना भएसँगै उनले अलैँची बिरुवा पनि बेच्न थाले । उनका अनुसार अलैँची दाना र बिरुवा बिक्री गरी उनले वार्षिक १०/१५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनि भन्छन्, ‘विदेशमा वार्षिक तीन लाख जति कमाइ हुन्थ्यो तर अहिले परिवारको साथमा घरमा बसीबसी १० लाख रुपैयाँ बढीसम्म वार्षिक आम्दानी हुन्छ ।’ उनि नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङ शाखाका निर्वतमान अध्यक्ष तथा हाल गण्डकी प्रदेशको संयोजक समेत हुनुहुन्छ । उनले रोजगारीका लागि गाउँ छाड्ने र विदेशमा रहेका युवालाई गाउँ फर्किएर अलैँची खेती गर्दै जीवन परिवर्तन गर्न आग्रह गर्दै आएका छन्। त्यस्तै, सोही वडास्थित लुदीका सोमबहादुर तामाङ पनि एक सफल अलैँची किसान हुन् । उनले मलेसियामा १५ वर्ष श्रम बेच्नुभयो तर आर्थिक हैसियत उकासिएन । यतिबेला सोमबहादुरले ६० रोपनी क्षेत्रफलमा लगाएको अलैँचीबाट उनि घरमै बसेर वार्षिक चार/पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । धान, मकैभन्दा अलैँची खेतीले राम्रो आम्दानी हुने गरेको र परिवारको गुजारा चलाउन सहज भएको उनको भनाइ छ । उनका अनुसार गाउँका स्थानीय अलैँची खेतीतर्फ आकर्षित भएर लुदीका ४२ घरधुरीले बारापोखरी कृषक समूह दर्ता गरी एक हजार पाँच सय रोपनीमा समेत अलैँची खेती सुरु गरेका छन् । पहिलो पटक यस वर्ष १० क्विन्टल अलैँची दानासमेत उत्पादन भएको उनले बताए । कम मेहेनतमै राम्रो आम्दानी दिने भएकाले अलैँचीप्रति गाउँलेको ध्यान केन्द्रित हुन थालेका छन् । छिनखोलाका बलराम लामा पनि अजय र सोमबहादुर जस्तै विदेशबाट फर्किएर अलैँची खेती थाल्ने अर्का सफल कृषक हुन् । उनले पनि वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी अलैँची खेतीबाटै गर्दै आएका छन् । अलैँची खेतीले स्थानीयको आर्थिक हैसियत मात्र होइन, भाग्य नै बदलिदिएको पछि जिल्लाका किसान पछिल्लो समयमा अलैँची खेतितर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा हाल एक हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती हुँदै आए पनि एक हजार दुई सय हेक्टर क्षेत्रफलमा मात्र उत्पादन हुँदै आएको छ । जिल्लामा गत वर्ष ३५ मेट्रिक टन अलैँची दाना उत्पादन भएको थियो । गत वर्षको तुलनामा करिब ८५ प्रतिशत वृद्धि भएको अलैँची कृषकको अनुमान छ । जिल्लामा लगाइएको अलैँचीका दानाको माग उच्च रहँदै आएको छ । जिल्लामा उत्पादित अलैँचीका दाना भारत हुँदै विभिन्न देशमा पुग्ने गरेको छ । अलैँची व्यवसायमा जिल्लाका किसानको भविष्य राम्रो रहेको छ विगतमा धेरै राम्रो काम हुँदै गएको र सरकारले उचित व्यवस्था गर्नुपर्नेमा नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेश संयोजक तामाङले बताए । जिल्लाका किसानले यस वर्ष अलैँची दाना प्रतिकिलो रु छ सयदेखि सात सयसम्म बिक्री गरेका छन् । मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकामा जिल्लाको सबैभन्दा बढी अलैँची खेती हुने गरेको अलैँची किसानको भनाइ छ । रासस
मुक्तिनाथ कृषि कम्पनीद्वारा उत्कृष्ट साझेदार सम्मानित
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले व्यवसायिक साझेदारहरूको वार्षिक सम्मेलन चितवनको भरतपुरमा सम्पन्न गरेको छ । मुक्तिनाथ कृषि कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियानमार्फत समग्र कृषि मूल्य शृङखला व्यवस्थापनमा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ स्थापना भएको मुक्तिनाथ बिकास बैंकको सहयोगी कम्पनी हो । सो अवसरमा उक्त सम्मेलनको अध्यक्ष मुक्तिनाथ बिकास बैंकका एवम् मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिए । उनले भने, ‘स्थानीय क्षेत्रमा कृषि उद्यमीसँग नजिक रहेर कृषि प्रविधि तथा सेवा बिस्तारमा अहोरात्र खटिरहेका व्यवसायिक साझेदारहरूको कृषि क्षेत्रको वास्तविक समस्या पहिचान, कृषि मूल्य शृङ्खलाको उचित व्यवस्थापन र समग्र कृषि उत्पादन र उत्पादकत्व बृद्धिमा अत्यन्त महत्त्वपूर्ण भूमिका छ ।’ त्यस्तै, मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले व्यवसायिक साझेदार, कृषि कम्पनी र बैंकको त्रिपक्षीय साझेदारीद्वारा कृषि क्षेत्रलाई उद्यमको रूपमा बिकास गर्दै ग्रामिण क्षेत्रको अर्थतन्त्र उकास्न समग्र कृषि अर्थ चक्रको व्यवस्थित बिकास गर्नुपर्ने बताए । बैंक तथा वित्तीय संस्थाहरुको लगानी उत्पादनशील क्षेत्र भन्दा बाहिर भइरहेको अवस्थामा अवको लगानी क्षेत्र कृषि हुनुपर्ने कुरामा जोड दिंदै आवश्यकता अनुसार व्यवसायिक साझेदार तथा कृषि उद्यमीहरुसँग वित्तीय क्षेत्रमा प्रत्यक्ष जोडिन तयार रहेको सिइओ पोखरेलले जानकारी गराए । कम्पनीका नायव महाप्रवन्धक रामशरण तिमल्सिनाकाअनुसार कम्पनीले कृषकहरुको उत्पादन र उत्पादकत्व बृद्वि गर्न आफ्नो वस्तु तथा सेवाहरु देशैभरी पुर्याई बजारको माग अनुसार उत्पादन प्रणालीको बिकास गरि कृषि उपजहरुको खरिद सुनिश्चितताका साथ गुणस्तरीय उत्पादन आम उपभोक्तामाझ पुर्याउने उद्देश्यका साथ कार्य गरिरहेको छ । त्यस्तै, कम्पनीका कर्पोरेट ब्राण्ड एण्ड कम्युनिकेशन विभागका विभागीय प्रमुख रोशन मल्लका अनुसार कम्पनीले आफ्ना व्यवसायिक साझेदारहरुको व्यवसायिक क्षमता अभिबृद्वि, समस्याहरुको पहिचान, दुरदराजका कृषकहरु माझ सर्वसुलभ रुपमा गुणस्तरीय कृषि प्रविधि तथा सेवाहरु विस्तार गर्न भावी रणनीति समेत तयार गर्ने उद्देश्यले सो सम्मेलनको आयोजना गरिएको हो । सी. एम. टि. रिसोर्ट, भरतपुरमा संचालित उक्त सम्मेलनमा देशभरका व्यवसायिक साझेदारहरूको सक्रियतापूर्वक उपस्थिति रहेको कम्पनीका विभागीय प्रमुख मल्लले बताए । सम्मेलनमा बेस्ट च्यानल पार्टनर २०७८/७९, बेस्ट इन्टेरियर आफ द इयर २०७८/७९, योङ एग्रो इन्टरप्रिनर २०७८/७९ विधाबाट तत् विधाहरूमा उत्कृस्ट व्यवसायिक साझेदारहरू र कम्पनीको बजार प्रतिनिधि मध्य एक जनालाई यमकेसियल क्याम्प अफ द इयर २०७८/७९ विधाबाट सम्मान गरिएको थियो । यसबाट ब्यवासायिक साझेदार तथा कम्पनीको प्रतिनिधिको रूपमा खाटिएका कर्मचारीहरूलाई थप प्रेरणा तथा हौसला मिल्ने कम्पनीका बिक्री बिभाग प्रमुख गोपाल लम्सालले बताए । चितवनको भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा माघ २७ देखि २९ गतेसम्म सञ्चालित पाँचौ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनीको अवसर परेर आयोजना गरिएको सो सम्मेलनमा सहभागी व्यवसायिक साझेदारहरूलाई प्रदर्शनीको समेत भ्रमण गराइएको थियो । सो भ्रमणबाट विभिन्न कृषि यन्त्र, उपकरण तथा नवीनतम प्रविधिहरूको बारेमा जानकारी लिई स्थानीय स्तरमा कृषकहरूमाझ प्रविधि प्रसार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ । उक्त प्रदर्शनीमा मुक्तिनाथ कृषि कम्पनी प्रदर्शनीको कृषि साझेदारको रूपमा रही कम्पनीमार्फत प्रदान गर्दै आएका नवीनतम् कृषि प्रविधि, वस्तु तथा सेवाहरूको बारेमा भ्रमणकर्तालाई सुसुचित गराएको थियो ।
बझाङको सुर्मा गाउँपालिकाबाट ३५ लाखको आलु निर्यात
बझाङ। सुर्मा गाउँपालिकाबाट बर्खा याममा मात्र ३५ लाख रुपैयाँ बराबरको आलु निर्यात भएको छ । जिल्लाका पाँच वटै वडामा उत्पादन भएको आलु कैलाली, कञ्चनपुर हुँदै बाँकेको नेपालगञ्जसम्म निर्यात गरिएको हो । उक्त गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखा प्रमुख चक्रप्रसाद जोशीका अनुसार सुर्माका हरेक वडामा उत्पादन भएको बर्खे आलु ३५ रूपैयाँ प्रतिकेजीको दरमा बिक्री गर्दासमेत ३५ लाख रुपैयाँ बराबर किसानले आम्दानी गरेका छन् । ‘हामीले सुर्माबाट एक हजार क्विन्टल आलु निर्यात गरेका हौँ । त्यसैमध्ये ८८ क्विन्टल आलु बीउका लागि डडेल्धुराको कोल्डस्टोरमा राखिएको छ । बाँकी सबै बिक्री भइसक्यो, उनले भने, ‘सुर्मामा पछिल्लो तीन वर्षयता तरकारीमा स्थानीयवासी आत्मनिर्भर हुँदै आएका छन् । यसवर्ष आलु मात्रै नभइ बन्दा, गोलभेडा, काउली र मुलासमेत सुर्मावासीले बजार पु¥याएका छन् ।’ सुर्माबाट बन्दा र काउली पनि ४० क्विन्टल र गोलभेडा १५ क्विन्टल निर्यात भएको थियो । यहाँका किसानले काउली र गोलभेडामै जनही तीन लाखभन्दा बढी आम्दानी गरेको कृषि विकास शाखाको तथ्याङ्कमा उल्लेख छ । उक्त गाउँपालिकाको सबैभन्दा बढी तरकारी उत्पादन वडा नं २ घोगाडा, वडा नं ३ विछडा र वडा नं ४ सुर्मामा बढी उत्पादन हुने गरेको छ । गाउँपालिकाका अध्यक्ष खड्कबहादुर बोहराले पनि सुर्मा तरकारीमा आत्मनिर्भर हुँदै गएको र अहिले यहाँका बासिन्दाले तरकारी किनेर खानुपर्ने अवस्था नरहेको जानकारी दिए । सुर्माले मात्रै मौसमअनुसार जिल्लालाई आधाआधी पुग्ने गरी तरकारी उत्पादन गरिरहेको छ । उनका अनुसार पालिकाले व्यावसायिक कृषि गर्न चाहने किसानका लागि अनुदानमा बीउ, टनेल, ढुवानी खर्चसमेत दिने गरेको छ । अध्यक्ष बोहराले भने, ‘यो दुई/तीन वर्षको अवधिमा गाउँपालिकामा ८० भन्दा बढी टनेल वितरण गरिएको र सोहीअनुुसार आवश्यक बीउ र कृषि प्राविधिक पनि उपलब्ध गराइएकाले अब थप उत्पादन वृद्धि हुने विश्वास लिएका छौँ ।’ रासस
नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिँदै
काठमाडौं । बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिए । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लैजान लागिएको हो । हिजो राति घाइते भएका नेता डा भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण सिफारिस गरेको हो । निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।
आइएमई पेबाट क्युएफएक्स मुभी टिकटको भुक्तानी गर्दा ५० रुपैयाँको फ्ल्याट क्यासब्याक
काठमाडौं । आइएमई पेबाट क्युएफएक्स मुभी टिकटको भुक्तानी गर्दा ५० रुपैयाँको फ्ल्याट क्यासब्याक हुने भएकाे छ । आइएमई पे र क्युएफएक्स सिनेमाजबीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको हाे । यस अफर अन्तर्गत ग्राहकवर्गहरूले क्युएफएक्स सिनेमाजको वेबसाईट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा ५० रुपैयाँको फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । यो अफर अवधिभरको हरेक बुधबारको खरिदमा मात्र लागु हुनेछ । अफरका लागि निर्दिष्ट गरिएका शर्त अनुसार प्रयोगकर्ताहरुले एक दिनमा एक पल्ट मात्र यो अफर अन्तर्गतको लाभ प्राप्त गर्न सक्नेछन् । त्यस पश्चात प्रयोगकर्ताहरुले पुनः अर्को बुधवार मात्र सो अफरको फाईदा उठाउन सक्नेछन् । साथै, आगामी दिनहरुका लागि लाईभ भएको टिकटहरु पनि बुधवारका दिन खरिद गर्दा ग्राहकहरुले सो छुट पाउनेछन् । यो अफर क्युएफएक्स सिनेमाजको ११ वटा हलहरुमा लागु भएको छ । मंगलबार राजधानी काठमाडौंमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आइएमई पेका प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले सो अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने धारणा पनि व्यक्त गरे । त्यस्तै, क्युएफएक्स सिनेमाजका व्यापार विकास प्रमुख तृप्ती गिरीले आइएमई पेसँग आवद्घ भइ यो अफर मार्फत मुभी प्रेमीहरुलाई सहज हुने र अझ बढि ग्राहकहरु आकर्षित हुने विश्वास व्यक्त गरे ।
कुवेतको अल् अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा शुरु
काठमाडौं । कुवेतको अल् अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा शुरु भएकाे छ । संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै डिजिटल रेमिट्यान्स कम्पनीको रुपमा स्थापित इसेवा मनी ट्रान्सफर र कुवेतको अल् अन्सारी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले कुवेतका महाबुला, फर्वानिया, फहाहिल, सल्मिया लगायत शहरमा रहेका ९ वटा शाखाहरुबाट इसेवा मनी ट्रान्सफरको सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाका खातामा तथा पाउने व्यक्तिको इसेवा वालेटमा तुरुन्तै पैसा पठाउन सक्नेछन् । साथै, नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजार भन्दा बढि भुक्तानी केन्द्र मार्फत पनि कुवेतबाट पठाएको नगद रेमिट्यान्स नेपालमा प्राप्त गर्न सकिनेछ ।
कृषि र वनलाई जोडेर प्राङ्गारिक उत्पादन गर्दै कर्णाली सरकार
कर्णाली । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कृषि र वनलाई जोडेर प्राङ्गारिक खाद्यपदार्थ उत्पादन बढाउन सकिने बताएका छन् । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा बुधबार सुर्खेतमा आयोजित ‘कर्णालीमा प्राङ्गारिक कृषि प्रवद्र्धनका लागि सरोकारवालाको क्षमता अभिवृद्धि परियोजना, त्यसको उपलब्धि एवं भावी कार्यदिशा विषयक गोष्ठी’मा उनले एउटै नीति बनाएर जान नसक्दा विकासमा बाधा आएको उल्लेख गरे । कृषि तथा अन्य मन्त्रालयले निर्माण गर्ने काममा वनले रोक्नेभन्दा सबै एकै नीतिमा रहेर काम गर्नेगरी कानुन बनाउनुपर्नेमा मन्त्री शर्माको जोड थियो । उनले भने, ‘उहिले गरिबीको नाममा र अहिले प्राङ्गारिक प्रेदशका नाममा गैर सरकारी सङ्घ/संस्था परिचालन हुनुहुँदैन । नेताले भाषण गर्ने, कर्मचारीले कागजात मिलाउने र गैससले सफ्टवेयरमा जोड दिने चलन अन्त्य गरौंँ । टेबल कार्य होइन, फिल्ड कार्य गर्नुपर्दछ । विज्ञसहित फिल्डमै पुगेर काम गर्ने वातावरणमा जोड दिउँ ।’ संयुक्त राष्ट्रसङ्घ खाद्य तथा कृषि सङ्गठन (एफएओ)का राष्ट्रिय प्रतिनिधि केन शिमिजुले कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको प्राङ्गारिक वस्तु प्रवद्र्धनका लागि सरोकारवालाको क्षमता अभिवृद्धि परियोजना धेरै ठूलो उपलब्धि भएको बताए । ‘विश्वमा छ सय मिलियन मानिसले दूषित खाना खाने र चार लाख त्यसकै कारणबाट मरिरहेका छन्,’ उनले भने, ‘खाद्य तथा कृषि सङ्गठनले नेपालमा प्रोटिन, पोषणस्तरीय जीवन तथा स्वच्छ वातावरणका क्षेत्रमा काम गर्दैछ ।’ राष्ट्रिय प्रतिनिधि शिमिजुले प्राङ्गारिक खेतीमा जोड दिएको कर्णालीलाई खाद्य तथा कृषि सङ्गठनले आवश्यक सहयोग गर्ने जनाए । दुल्लु नगरपालिका प्रमुख भरतप्रसाद रिजालले उपदेश दिएर मात्र विकास नहुने र वृहत परियोजनाको रूपमा रहेको कर्णाली प्रदेशको प्राङ्गारिक अभियान सबैले सहयोग पु¥याउनुपर्नेमा जोड दिए। कृषि मन्त्रालयका प्रवक्ता एवं परियोजनाका सम्पर्क व्यक्ति धनबहादुर कठायत र तालिम विज्ञ मधुसुदन पौडेलले कर्णालीको जुम्ला, मुगु, दैलेख र सुर्खेतका १० प्राङ्गारिक कृषि पाठशालाको सञ्चालन प्रक्रिया, परम्परागत र जैविक कृषिबीचको तुलनात्मक काम, परियोजनाको उपलब्धि तथा सिकाइ र त्यसको भावी कार्यदिशासहितको कार्यपत्र प्रस्तुत गरे । कृषि सचिव डा लेखराज दाहालले छ लाख जनसङ्ख्या भएको सिक्किमले १९ लाख पर्यटक भित्र्याउन सक्षम भएझैँ कर्णालीले पनि कृषि पर्यटन (एग्रो–टुरिज्म)मा जोड दिनुपर्ने बताए । उक्त गोष्ठीमा किसान, विकास साझेदार निकायका प्रतिनिधि, प्राङ्गारिक कृषि खेतीका सरोकारवाला तथा पत्रकार सञ्चारकर्मीको सहभागितो थियो । रासस