‘संघीय शिक्षा ऐन’ तत्काल संसदमा पेश गर्न सरकारलाई थापाको दवाव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘संघीय शिक्षा ऐन’ तत्काल संसदमा पेश गर्न सरकारलाई दवाव दिएका छन् । पूर्वमन्त्रीसमेत रहेका महामन्त्री थापाले चालू संसद अधिवेशनबाटै सो ऐनलाई पारित गर्ने आफूहरुको चाहना भएको पनि स्पष्ट पारे । उनले भने, ‘यो संसदको अहिलेको सेशनमै यो संघीय शिक्षा ऐन आओस् भन्ने हाम्रो चाहना छ । र,सरकारमा जो साथी हुनुहुन्छ । हामी उहाँहरुलाई त्यही कुरा भनिरहेका छौं । यो ऐनको अनुसूची बनाउने क्रममा राजनीतिक नेतृत्वले एक दिन पनि छलफल गरेको होइन ।’ शिक्षा पत्रकार समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कक्षा ११ र १२ को शिक्षामा अति राजनीतिकरण भएकाले त्यसलाई अनुगमन गर्नका लागि प्रदेशमा ‘शिक्षा लोकपाल’ को व्यवस्था हुनेगरी कानुनी व्यवस्था गर्न उपयुक्त हुने प्रस्तावसमेत राखे । उनले भने, ‘कक्षा १२ सम्मको शिक्षा स्थानीय सरकारलाई चलाउन दिने कुरा हामीले संविधानमा नै व्यवस्था गरेका छौं । तर त्यसलाई संचालन गर्ने काममा अति राजनीतिकरण हुने भयो । स्थानीय तहका प्रमुख पनि कुनै राजनीतिक पार्टीको हुने भएकाले शिक्षामा राजनीतिकरण हावी हुने भयो ।’ नेपालको संविधानले कक्षा ११ र १२ को शिक्षा पनि स्थानीय तह मातहतमा रहने व्यवस्था गरेको छ । तर यो अति राजनीतिकरणको शिकार हुने पुगेकाले यसको अनुगमनका लागि प्रदेशमा नै सो लोकपालको व्यवस्था गर्न आवश्यक रहेको महामन्त्री थापाको भनाई थियो । उनले संविधानले दिएको अधिकार तलमाथि नहुने गरी कक्षा १२ सम्मको शिक्षालाई अगाडि बढाउनका लागि पनि सो लोकपाल प्रदेशमा बनाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने तर्क समेत गरे। उनले भने, ‘प्रदेश सरकारको मातहतमा रहने गरी शिक्षा लोकपालको व्यवस्था गर्न उपयुक्त हुन्छ । यसो गर्दा संविधानले दिएको अधिकार पनि तलमाथि नहुने, आग्रहको आधारमा हुने व्यवहारलाई पनि नियन्त्रण गर्न सकिने व्यवस्था प्रदेशमा गर्न सकिन्छ कि भन्ने मेरो कुरा हो ।’
घरबासमा स्थानीय उत्पादनको प्रयोगमा जोड दिऔँ : मन्त्री किराँती
वालिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घरबास होमस्टेले स्थानीयस्तरमा उत्पादित वस्तुहरुको प्रयोगमा जोड दिनुपर्ने बताएका छन् । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमूलमा अवस्थित सिरुबारी सामुदायिक घरबास होमस्टेको रजत जयन्तीका अवसरमा आज सिरुबारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले घरबासमा सकेसम्म स्थानीयस्तरमा उत्पादन भएका परिकारहरुका साथै स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड दिन आग्रह गरे । ‘घरबास भनिए पनि कतिपय ठाउँमा बजारबाटै खरिद गरेर ल्याइएका सामग्रीहरुको प्रयोग हुन्छ’, उनले भने, ‘घरबासमा आउने पाहुनालाई जे जति सकिन्छ स्थानीय परिकारहरु र स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड दिऔँ, यसले होमस्टेको पहिचान दिन्छ ।’ स्थानीयस्तरमा उत्पादन भएको खाद्यान्नको प्रयोगले स्थानीयता पनि झल्कने र गाउँको आम्दानी गाउँमै रहने भएकाले आर्थिक विकासमा समेत महत्वपूर्ण उपलब्धि हुने उनले बताए । यो घरबासको २०५४ कात्तिक २३ गते विधिवत् स्थापना भएको थियो । क्याप्टेन रुद्रमान गुरुङले सिरुबारीलाई दक्षिण एसियाकै पहिलो सामुदायिक घरबासका रुपमा स्थापना गरेको जनाइएको छ । घरबासको रजत जयन्तीका अवसरमा गत बिहीबारदेखि विविध कार्यक्रमहरु गरिएका छन् । होमस्टेको राजधानी अर्थात् पाठशालाका रुपमा स्थापित सिरुबारीले विभिन्न पुरस्कारहरु प्राप्त गरिसकेको छ । सिरुबारीले सामुदायिकस्तरमा पर्यटन प्रवद्र्धनमा पु¥याएको योगदानलाई कदर गर्दै प्यासिफिक एसिया ट्राभल एसोसिएसन–२००१ ‘पाटा अवार्ड’ प्राप्त गरेको छ । विसं २०७४ मा उत्कृष्ट होमस्टेका रुपमा पनि पुरस्कार प्राप्त गरेको छ । देशकै एकसय नयाँ पर्यटकीय गन्तव्यमध्ये सिरुबारी सामुदायिक घरबास पनि सूचीकृत छ । ३९ घरबाट सुरु भएको घरबास हाल २० घरमा सञ्चालित छ । यहाँ एकसयको हाराहारीमा पाहुना राख्न सकिन्छ । सिरुबारी गुरुङ समुदायको बसोबास भएको पर्यटकीय गाउँ हो । यहाँ आउने पाहुनालाई गुरुङ समुदायको कला र संस्कृतिबाट न्यानो स्वागत सत्कार गर्ने गरिन्छ । विशेष गरेर यहाँ घरबासको व्यवस्थापन पक्षका बारेमा बुझ्न टाढाटाढाबाट पाहुनाहरु आउने गर्छन् । विसं २०७८ मा सिरुबारी गाउँको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन भइसकेको छ । रासस
एभरेष्ट बैंक र क्वीक फक्सबिच रोबोटिक प्रोसेस अटोमेशन सम्बन्धी सम्झौता
काठमाडौं । एभरेष्ट बैंक र क्वीक फक्सबिच रोबोटिक प्रोसेस अटोमेशन सम्बन्धी सम्झौता गरेको छ । एभरेष्ट बैंकले आफ्नो विभिन्न बैंकिंग सेवाहरु प्रदान गर्ने कायर्हहरु अटोमेशन गर्नको लागि क्वीक फक्स कन्सल्टिङसंग सम्झौता गरी रोबोटिक प्रोसेस अटोमेशनको यात्रा शूरु गरेको हाे । एभरेष्ट बैंक निरन्तर रुपमा सबल हून, प्रतिस्पर्धी रहन र आफ्नो ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ आफ्नो अटोमेशनको यात्रा शूरु गरेको हो । बैंकले प्रदान गर्ने सेवाहरुमा रहेका अधिकांश प्रक्रियाहरु दोहोरिने, प्रक्रियागत रुपमा सञ्चालन नहूने र एकै प्रकृतिका समेत हुने भएको हाे । जसलाई पुरा गर्न धेरै मानव संशाधनहरु समावेश गर्नू पर्ने र मानविय हस्तक्षेपको कारणले गर्दा कतिपय कार्यहरु समेत ढिलो र त्रूटीपुर्ण हून सक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेशनको यात्रा तय गरेको हो । स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२३ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।
आइएमई पे नेपाल क्लियरिङ हाउसको ‘नेसनल पेमेन्ट स्विच’ मा सहभागि
काठमाडौँ । आइएमई पे अब नेपाल क्लियरिङ हाउस मार्फत प्रवर्धित नेसनल पेमेन्ट स्विचमा सहभागि हुने भएको छ । विद्युतीय भुक्तानी प्रणालीलाई झनै व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ सो सम्बन्धि सम्झौता सम्पन्न भएको हो । सम्झौतापछि बैंक एवम् डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई एउटै प्ल्याटफोर्ममा राखेर पैसा ट्रान्स्फर गर्न सहज पार्दछ । ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसनले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
तरकारीको ‘हब’ बन्दै बझाङको जुजी
बझाङ । दुर्गाथली गाउँपालिका जुजीका सिद्धराज खाती अचेल हरेक दिन बारीमै देखिछन् । बारीको रेखदेख उनको नियमित जिम्मेवारी नै हो । घरको आँगनदेखि बजारसम्मै उहाँ भएको ठाउँमा तरकारीकै गफ हुन्छ । उनी तरकारी लगाउने तरिका, बीउबिजनदेखि माटो परीक्षणसम्मका कुरा आफन्तलाई सुनाइहाल्छन् । खाती तरकारी कृषक भनेर चिनिन थालेको धेरै समय भएको छैन । दुई/तीन वर्षमै तरकारी उत्पादन गर्ने भएपछि उनी फरक तरिकाले चिनिन थाले । छोटो समयमा राम्रो उत्पादन गर्न थालेपछि व्यावसायिक कृषकको पहिचान बनाउन उनी सफल भएका छन् । जुजीमा खाती मात्रै नभई गाउँका अधिकांश कृषक नै व्यावसायिक बनिरहेका छन् । मौसमअनुसार दुई बाली मात्रै उत्पादन गर्दै आएका जुजीवासी अहिले हरेक मौसममा तरकारी फलाइरहेका छन् । ‘विगतका वर्षमा मङ्सिरमा गहुँ हरियाली भइसक्थ्यो’, कृषक वीरदन रावलले भने, ‘अहिले भने हतार पनि छैन, घाटा होला भन्ने पनि छैन, मौसमअनुसार बिस्तारै तरकारीका लागि मेहेनत गर्ने हो, नतिजा राम्रै आइरहेको छ ।’ रावलका अनुसार जुजी जिउलोमा उनकाे करिब तीन रोपनी जमिनमा तीन बोरा जति नै गहुँ फल्थ्यो । ‘हामीलाई खान त त्यसले पनि पुगिहाल्थ्यो, तर अहिले तरकारी सुरु गरेपछि भने त्यो खेतमा दुई वर्षसम्मै खान पुग्छ’, रावलले भने । गएको वर्ष औलादेवी रावलको तीन रोपनी खेतमा १६ बोरा आलु फलेको थियो । ‘गहुँ लगाएको भए तीन/चार बोरा नै हुन्थ्यो’, उनले भने, ‘आलु लगाउँदा आफूलाई तरकारी खानसहित रु २० हजारभन्दा बढी बचत नै भयो।’ अहिले जुजीका कृषक तरकारीमा निकै रमाएका छन् । परम्परागत रैथाने बालीभन्दा झन्डै दसौँ गुणा तरकारीले फाइदा गर्ने भएपछि खेती बदलेको उनले बताए । ‘सुरुका वर्षमा त सबैले एकै किसिमको तरकारी रोप्यौँ, त्यसले बजार खासै पाएन’, रावलले भने, ‘दोस्रो वर्षदेखि फरक–फरक तरकारी फलाउन थालेपछि बिक्री पनि राम्रै भयो, आफूलाई तरकारी बाँडेर खान पनि सजिलो भयो ।’ तराईको जस्तै उत्पादन हुने जिउलोमा खेत भएका कुनै कृषकले पनि भोकमरी झेल्नु परेन । गहुँ र धानका लागि प्रख्यात जुजी जिउलो गत वर्ष यता भने तरकारीको ‘हब’ बन्दै गएको छ । आलु, टमाटर, गोलभेडा, प्याज, भेँडेखुर्सानी, लसुन, पिँडालु प्रशस्तै मात्रामा उत्पादन हुन थालेपछि कृषि ज्ञान केन्द्रले पनि जुजीलाई ‘नमुना तरकारी गाउँ’ भनेर नामाकरण गरेको छ । ‘सिँचाइको अभावले जुजी जिउलोमा हिउँदेबाली सोचेजस्तो उत्पादन हुँदैन, सिँचाइ नपुग्ने भएपछि आकासे पानीको भर पर्नु पर्छ, आकासे पानी, हिउँ परे त खासै समस्या हुँदैन, तर त्यो पनि नभए लगाएको बाली सुकेर जान्छ, सानो पानी जिउलोभरि छर्कन पनि पुग्दैन’, खाती भन्छन् । उनका अनुसार खोलाबाट ल्याएको पानी हिउँदमा कुलो नजिक खेत भएकालाई मात्रै सिँचाइ हुन्छ । सिँचाइका लागि अनुदानमा कृषि ज्ञान केन्द्र र पालिकाले ट्याङ्की बनाउने तयारी गरिरहेको छ । ‘तरकारीको बीउ, प्राविधिक, ढुवानी खर्च, बजार त दियौँ’, कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले भने, ‘सिँचाइको अभावले सोचेजति कृषकले उत्पादन गर्न सक्नुभएको छैन, हामीसँग सिँचाइका लागि पर्याप्त बजेट पनि हुँदैन, त्यसैमा सके जति कृषकलाई मर्का नपर्ने गरी सहयोग गरिरहेका छौँ ।’ पालिकाले पनि जुजी जिउलोको सिँचाइका लागि ठूलो ट्याङ्की बनाएर जिउलोभरलाई पानी पु¥याउन जुटेको बताएको छ । गाउँपालिकाका उपाध्यक्ष जनकबहादुर दौल्यालले भने, ‘जुजी जिउलोमा पर्याप्त पानी ल्याउन सके अन्नको भण्डार जस्तै तरकारीको हब बन्ने थियो ।’ उनका अनुसार अहिले पनि मौसमअनुसार जिउलोभर धेरैलाई पुग्ने तरकारी उत्पादन भइरहेको छ । ‘जुजीमा पानीका लागि नजिक मुहान पनि छैन’, उनले भने, ‘टाढाबाट पानी ल्याउँदा खर्च धेरै नै हुन्छ, त्यसका लागि तयारीमा पनि जुटेका छौँ ।’ सिँचाइका लागि पालिका, प्रदेश तथा संघीय सरकारलाई आग्रह गर्दै लगानीको जुटाउने तयारी भइरहेको उनले बताए । रासस
ग्लोबल आइएमई बैंकद्वारा नेपाल प्रहरी छात्रवृत्ति अक्षय कोषमा २५ लाख रुपैयाँ सहयोग
काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । ग्लोबल आइएमई बैंक र नेपाल प्रहरी कल्याण कोषबीच ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन एवम् व्यवस्थापनमा सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपश्चात उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रकमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त रकमको चेक प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई हस्तान्तरण गरेका हुन् । उक्त अवससमा बैंकको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीका जेहेन्दार तथा योग्य सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने पुण्य कामको लागि ग्लोबल आइएमई बैंकको योगदान अमुल्य रहेको र यसले प्रहरी कर्मचारीहरूको मनोबल बढाउन थप टेवा पुग्ने उल्लेख गरे । महानिरीक्षक सिंहले बैंकले यसअघि पनि नेपाल प्रहरीलाई विभिन्न कार्यक्रममा सहयोग गरी सहकार्य गर्दै आएकोमा बैैंकलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा समेत आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने कुरामा आफू विश्वस्त रेहेको समेत जानकारी गराए । बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले नेपालको व्यवस्थित संगठन नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गर्ने पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी र बैंकबीच सहयोग र सहकार्य आदानप्रदान हुने बताए । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस किसिमका आर्थिक सहयोगहरु प्रदान गरी आम नागरिक तथा समाजलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।
दुई लेनको बन्दै डुम्रे–बेँसीसहर सडक
लमजुङ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ । तनहुँको डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बन्न अझै ५० प्रतिशत बाँकी रहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर पुरुषोत्तम अधिकारीले बताए । उहाँका अनुसार यतिबेला चौडाइ पु¥याउन कटिङ गर्ने, टेवा ९पर्खाल० उठाउने काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै पाइप कल्भर्ट, स्ल्याब कल्भटको काम सम्पन्न भएको छ । कालोपत्रका लागि सडकको स्तर मिलाउने कार्य भइरहेको छ । सडकको नाली बनाउने कार्य पनि भइरहेको उक्त कार्यालयका सूचना अधिकारी अधिकारीको भनाइ छ । उनले भने, ‘कामलाई तत्काल प्रभाव पार्ने यस सडकभित्र रहेको २० बिजुलीका खम्बा र १८ टेलिफोनका खम्बा हटाउन पहल भइरहेको छ ।’ यस सडकको निर्माण कार्य लक्ष्यअनुसार भइरहेको उनको दाबी छ । आगामी वर्षायाममा काम करिब तीन महिना प्रभावित हुने र निर्धारित समयमा काम सम्पन्न नहुने भएकाले यतिबेला तीव्र रुपमा काम गर्दै निर्धारित समयमै सम्पन्न गराउने कोसिसमा रहेको सूचना अधिकारी अधिकारीले बताए । तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण हुने यो सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको छ । राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ । त्यस्तै १०/१० मिटरको लगतकट्टा भइसकेको छ भने अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बन्ने भएको छ । यसअघि तीन दशमलव ७५ मिटरको ‘क्यारिज वे’ भारवाहन सडक रहेकामा अब सात मिटरको हुने उक्त योजना कार्यालयले जनाएको छ । त्यस्तै दायाँबायाँ एक/एक मिटरको ‘सोल्जर’ तथा एक/एक मिटरको नाली निर्माण हुने भएको छ । उक्त कार्यालयका अनुसार यस सडकको सो काम विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते सम्झौता गरेको थियो । सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुने भएको छ । त्यस्तै कालोपत्र सकिएपछि पेन्टिङ गर्ने र किलोमिटर पोस्ट राखिने बताइएको छ । डुम्रे बेँसीसहर सडक ४२ किलोमिटरको दूरी रहेको छ । यस सडकको तनहुँको डुम्रेदेखि लमजुङकोे सिमाना पाउँदी बजारसम्म २४ किलोमिटरको छ । यस सडकका लागि भ्याट र पिएसबाहेक ७५ करोड ९४ लाख ९७ हजार रुपैयाँको लागत अनुमान गरिएकामा कम्पनीले ३८ करोड नौ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको उक्त कार्यालयले जनाएको छ । यस पहिलो चरणको निर्माण कार्य सम्पन्न भएलगत्तै सडकको अन्य कामसमेत अघि बढ्ने बताइएको छ । डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको यो सडक बेँसीसहरसम्मको ४२ किलोमिटरसम्म पु¥याउन करिब साढे एक दशक लागेको थियो । विसं २०४६ मा ट्र्याक खुलेसँगै विसंं २०५२ देखि एक लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको चार वर्षको अवधिमा सडकको कालोपत्र सम्पन्न भएको थियो । डुम्रे–बेँसीसहरको यस सडक हुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्ने गर्दछन् । रासस
मस्कोद्वारा अष्ट्रियाली दूतावासका चार कर्मचारी निष्कासन
मस्को । रुसले अष्ट्रियाली दूतावासका चार जना कर्मचारीलाई निष्कासन गरेको छ। रुसी विदेश मन्त्रालयले आफ्नो देशमा कार्यरत अष्ट्रियाली दूतावासका कर्मचारीलाई ‘सुरक्षा र कूटनीतिक उन्मुक्ति’बाट हटाइएको र उनीहरू रुसमा रहन अयोग्य रहेका भन्दै निष्कासन गरेको हो । मस्कोले निष्कासन गरेका ती कर्मचारीलाई यही फागुन ११ गतेभित्रमा रुस छाड्न आदेश दिएको छ । रुसी विदेश मन्त्रालयले रुसका लागि अस्ट्रियाका राजदूत वर्नर आल्मोफरलाई बिहीबार बोलाएर आफ्ना चार जना कर्मचारी भिएनाले निष्कासन गरेकामा त्यसका विरोध गर्दै त्यति नै सङ्ख्यामा अस्ट्रियाली अधिकारीलाई निष्कासन गरेको जानकारी दिएको हो । साथै मस्कोले अस्ट्रियाको अनुचित कदमबाट द्विपक्षीय सम्बन्धमा गम्भीर क्षति पुगेको जनाएको छ । गत माघ १९ गते अस्ट्रियाले रुसी दूतावासका दुई कूटनीतिज्ञ र संयुक्त राष्ट्र सङ्घका लागि भिएनास्थित स्थायी नियोगका दुई कूटनीतिज्ञलाई अस्वीकार गर्दै कूटनीतिक सुरक्षा एवम् उन्मुक्ति नदिने घोषणा गरेको थियो । कूटनीतिक सुरक्षा एवम् उन्मुक्तिबाट वञ्चित भएपछि कुनै पनि त्यस्ता कूटनीतिक कर्मचारी आतिथेय मुलुकबाट तत्काल आफ्नो देश फर्कने प्रचलन छ । रासस