महाशिवरात्रीमा पशुपति दर्शन गर्नेको गुनासो ‘व्यवस्थापन राम्रो भएन’
काठमाडौं । आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ । आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ । पशुपतिनाथ मन्दिरमा यतिबेला भक्तजनको भीड रहेको । आज बिहानैबाट भक्तजनहरु पशुपतिनाथको पूजा गर्नका लागि लामवद्ध भएर बसेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । आज देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेस्वर महादेव लगायतका शिवालयमा भक्तजनको भीड रहेको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुग्नुभएका भक्तजनहरुलाई व्यवस्थापनमा कुनै कमी नराखेको जनाएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले स्वयंसेवक बाहेकलाई कडाइ गरिएका कारण दर्शनार्थीहरुको लाइन सहज रुपमा अघि बढीरहेको बताए । उनले अहिलेसम्म करिव डेढ लाख दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गरिसकेको बताए । त्यस्तै अर्की एक दर्शनार्थीले पशपतिनाथको दर्शन गर्न सहज भएको बताइन् । त्यस्तै अर्का दर्शनार्थीका अनुसार चारैतिरको बाटोको व्यवस्था भएपनि व्यवस्थापन सहज नदेखिएको बताइन् । त्यस्तै अर्का एक भक्तजनले भने अघिल्ला वर्षको तुलनामा यस वर्ष धेरै नै व्यवस्थापन गरेकाले दर्शन गर्न सहज भएको बताए । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएका थिए ।
कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था : सबै ‘पारामिटर नर्मल’
काठमाडौं । ग्यास सिलिण्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ । उनको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो । नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ । डा. धनन्जयका अनुसार अहिले बिहान नेता भण्डारीको सबै पारामिटर नर्मल रहेको उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए । पहिलो शल्यक्रिया गर्दा दायाँ खुट्टामा ‘डिप इन्ज्यूरी’ रहेका कारण सोचेभन्दा धेरै समय लागेको र ‘अब्जरवेसन’ पनि कम्तीमा एक–दुई घण्टा राख्नुपर्ने नियम रहेको कारण दोस्रो सर्जरी गर्न नसकिएको जानकारी डा. मुकेशवाट प्राप्त भएको नेता कँडेलको भनाइ छ । नेता भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनोअक्साइडको मात्रा देखिएको र चिकित्सकको भनाइअनुसार हाल तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्ने बताइएको छ । बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घट्नालगत्तै उनीहरु दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो । नेता भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।
वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने
काठमाडौं । वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए । विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । ‘तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियु) शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ’, उनले भने, ‘अब जलन भएका बिरामीको उपचार गर्नेछौँ ।’ अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डा. पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए। यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल ‘वीर अस्पताल’ को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा. भूपेन्द्र बस्नेतले पाएका थिए । रासस ।
लमजुङको लिपेलेक प्रवर्द्धन गर्दै पर्यटन व्यवसायी र दोर्दी गाउँपालिका
काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाले स्थानीय पर्यटकीय गन्तव्य लिपेलेकलाई प्रवर्द्धन गर्न राउन्ड ट्रेक कार्यक्रम शुरू गरेको छ । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेश समितिसँगको सहकार्यमा गाउँपालिकाले शुक्रबारदेखि राउन्ड ट्रेक शुरू गरेको हो । नौथरशेरा, इलम पोखरी, लिपेलेक, दाम्राङ हुँदै फेरि नौथरशेरा पुग्नेगरि राउन्ड ट्रेक शुरू गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । पर्यटन व्यवसायी, गाउँपालिकाका प्रतिनिधि, पत्रकार एवम् अन्य सरकारी प्रतिनिधि सहित २५ जनाको सहभागीता रहेको सो राउन्ड ट्रेक त्यहाँको पर्यटकीय सम्भावनाबारे समेत अवलोकन तथा अध्ययन अनुसन्धान गर्नेछ । टान गण्डकी अध्यक्ष धर्मराज पन्थी नेपाल माउन्टेरियन एसोसिएसन, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्मा दोर्दी पालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष विक्षबहादुर घले लगायत अन्य पर्यटन व्यवसायी, पत्रकार लगायतको सहभागीता छ । कार्यक्रमको संयोजन टान गण्डकी प्रदेशका उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले गरेका छन् । राउन्ड ट्रेकको पहिलो दिन शुक्रबार इलम पोखरीमा क्याम्पिङ गरेका थिए । आज प्रसिद्ध पर्यटकीय गन्तव्य लिपे लेकमा क्याम्पिङ गरि भोलि दाम्राङ पुग्ने सो टिमको योजना रहेको छ । नयाँ रुटलाई एक्स्प्लोर गर्ने टान गण्डकीको उद्देश्य रहेको छ भने गाउँपालिकाले पनि आफ्नो ठाउँमा भएका पर्यटकीय कुराहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । लिपे लेक हिमालहरूको मनमोहक दृश्य अवलोकनका लागि प्रसिद्ध छ । माछापुच्छ्रे, हिमचुली हिमाल, मनास्लु, गणेश हिमालको अद्भुत दृष्यहरू लिपे लेकबाट देख्न सकिन्छ । साथै काठमाडौंको शिवपुरीसमेत यहाँबाट देख्न सकिन्छ ।
गुल्मी अस्पतालमा हाडजोर्नीको विशेषज्ञ सेवा
गुल्मी । गुल्मीबाटै हाडजोर्नीको विशेषज्ञ डाक्टरबाट बिरामीको उपचार हुन थालेपछि टाढा जानुपर्ने बाध्यता हट्दै गएको छ । हाडजोर्नी तथा नशा रोगको लागि सामान्य समस्या भए पनि पाल्पा, बुटवल र काठमाडौँ जानुपर्ने बाध्यता गुल्मीमा विशेषज्ञ डाक्टर आएपछि हटेको हो । जिल्लाको इस्मा गाउँपालिका–२ हस्तिचौरकी लक्ष्मी बुढाथोकी हाडजोर्नीको उपचारका लागि पटकपटक पाल्पा पुगेको सम्झिन्छिन् । छोराको उपचारका लागि आएकी लक्ष्मी गुल्मीबाटै उपचार भएपछि खुसी छिन् । ‘एकदमै खुसी लागको छ, हाडजोर्नी डाक्टर यही हुनुहुन्छ’, उनले भने, ‘आफ्नै जिल्ला अस्पतालबाट उपचार पाउँदा धेरै सहज भयो ।’ रेसुङ्गा नगरपालिका–१ तम्घासका महाशर्मा भण्डारीको बायाँ हातमा समस्या थियो । उनले यसअघि यस्तो समस्या हुँदा पटकपटक पाल्पा जानुपरेको सुनाए। गुल्मीमै हाडजोर्नीका विशेषज्ञ डाक्टर आएको थाहा पाएपछि भण्डारीले उपचारमा निकै राहत महसुस गरे। ‘पहिले यस्तै समस्या हुँदा अन्यत्र जान्थेँ’, उनले भने, ‘हाडजोर्नीको सबै उपचार यही हुने भएपछि सबैलाई टेवा पुग्यो ।’ अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाट उपचारका लागि आएका गोपाल पाण्डे यसअघि हाडजोर्नीको निरन्तर जाँचका लागि पाल्पा धाउनुपरेको बताउँछन् । पाल्पा र बुटवलमा हुने उपचार तम्घासबाटै हुने भएपछि आफुहरुलाई निकै सहज भएको उनले बताए। ‘अन्यत्र जाँदा धेरै खर्चिलो हुने र सहयोगीलाई गाह्रो हुन्थ्यो’, उनले भने, ‘धेरै सहज भयो, समयको पनि बचत भयो ।’ उनीहरु मात्र होइन, गुल्मी अस्पतालबाट हाल औसतमा दैनिक ६० देखि ७० जना बिरामीले हाडजोर्नीको उपचार गराउँदै आएका छन् । जसमा अधिकांश गुल्मेली र केही अर्घाखाँचीका बिरामीसमेत छन् । प्रत्येक बुधबार हाडजोर्नीका बिरामीको शल्यक्रिया हुँदै आएको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर प्रदीप शिवाकोटीले बताए। ‘नगरपालिकाले प्रोत्साहन गरेपछि जनताले सेवा पाइरहेका छन्’, उनले भने, ‘हाडजोर्नीको समस्याको लागि अब बाहिर जानु पर्दैन् ।’ थप उपकरणको आवश्यक परेको उनले बताएका छन् । गुल्मी अस्पतालमा दरबन्दी भए पनि विशेषज्ञ डाक्टर बस्न नमान्ने समस्या रहेको थियो । जसका कारण हाडजोर्नीको सेवा नहुँदा बिरामीलाई सास्ती भएपछि रेसुङ्गा नगरपालिकाले सहजीकरण गरेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए। सरकारले दिने तलब बराबर थप भत्ता दिएर विशेषज्ञ डाक्टर टिकाएपछि बिरामीलाई सहज भएको नगर प्रमुख पन्थीको भनाइ छ । ‘हाडजोर्नीको सामान्य समस्या हुँदा पनि पाल्पा जानुपर्ने समस्या थियो’, उनले भने, ‘अहिले गुल्मीवासीले आफ्नै ठाउँमा विशेषज्ञ सेवा पाउनुभएको छ ।’ उनले थप विशेषज्ञ सेवा पनि उपलब्ध गराउन सहयोग गर्ने बताएका छन् । रासस ।
युनिग्लोब कलेजमा ‘सातौं योङ साइन्टिस्ट समिट २०२३’ हुँदै
काठमाडौं । नेपाल पोलिमर इन्स्टिच्युट (एनपीआई) र युनिग्लोब स्कुल/कलेजसको संयुक्त आयोजनामा यही फेब्रुअरी १९ र २० तारिख अर्थात आइतबार र सोमबार ‘सातौं योङ साइन्टिस्ट समिट २०२३’ हुने भएको छ । कमलादीस्थित युनिग्लोब कलेजमा हुने सातौं योङ साइन्टिस्ट समिट २०२३ को कार्यतालिका सार्वजनिक भइसकेको छ । जसअनुसार आइतबार बिहान १० बजेदेखि कार्यक्रमको उद्घाटन समारोह सुरु हुनेछ । समिटमा विशेष अतिथिहरुमा इन्जिनियर गणेश शाह, इन्दुविक्रम जोशी, खिलकुमार प्रधान, राष्ट्रिय युवा परिषदका सुरेन्द्र बस्नेत, नास्टका डा।महेश अधिकारी, प्राध्यापक बिनिल अर्याल लगायत सहभागी हुनेछन् । युवाहरुलाई नयाँ खोज तथा आविष्कारका क्षेत्रमा जोडिन उत्प्रेरित गर्ने उद्देश्यले एनपीआईले हरेक वर्ष युवा वैज्ञानिक सम्मेलन आयोजना गर्दै आएको थियो । यस वर्षदेखि एनपीआई र युनिग्लोब कलेजको संयुक्त आयोजनामा सम्मेलन आयोजना गर्ने सहमति अनुसार आइतबार र सोमबार युनिग्लोब कलेजमा समिट आयोजना हुन लागेको हो । ‘सातौं योङ साइन्टिस्ट समिट २०२३’ मा उत्कृष्ट भएका प्रतियोगीले यसै वर्षको सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म मेक्सिकोको सोनोरामा आयोजना हुने एसिया–प्यासिफिक कन्फ्रेन्स अफ योङ साइन्टिस्ट–२०२३ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । सम्मेलनमा विभिन्न ५ वटा विधामा वैज्ञानिकहरुले आफ्नो प्रस्तुति दिन पाउनेछन् । इन्जिनियररिङ एन्ड रोबोटिक, लाइफ साइन्सेस, केमिकल एन्ड इन्भाइरोमेन्टल साइन्स, फिजिकल साइन्स एन्ड म्याथम्याटिक्स र कम्प्युटर साइन्समा प्रतियोगीले पोस्टर, भिडियो क्लिप र मौखिक प्रस्तुतिमार्फत आफ्नो क्षमता प्रस्तुत गर्नुपर्नेछ । सम्मेलनमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुले भाग लिन पाउने आयोजकले जनाएको छ । सोमबार साँझ साढे ४ बजे कार्यक्रमको समापन समारोह हुने कलेजले जनाएको छ ।
महाशिवरात्रीमा पशुपतिको ढोका बिहान ३ बजेदेखि नै खुला हुने, पार्किङको पनि व्यवस्था
काठमाडौं । महाशिवरात्रीका लागि सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वका लागि सबै तयारी पूरा भएको जनाएको हो । आज शुक्रबार कोषका कोषाध्यक्ष नारायण सुवेदीले शिवरात्रीको लागि सबै तयारी पूरा भइसकेको बताए । उनले महाशिवरात्री भक्तजनलाई पूजा आराधनाको लागि शनिवार बिहान ३ बजेदेखि ४ वटै ढोका खुला गर्ने बताए । उनले वृद्धवृद्धाका लागि लाइनमा बस्नु नपर्ने व्यवस्था मिलाएको र एक जना आफन्तले वृद्धवृद्धालाई मन्दिरमा दर्शनका लागि लैजान पाउने व्यवस्था गरेको पनि बताए । पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मुल शिविर रहनेछ । मुल शिविरसँगै खोजखबर कक्षको व्यवस्थापन गरिनेछ । मेला क्षेत्र र दर्शनमार्गलाई लक्षित गरी सिसि क्यामेराको जडान गर्ने, दर्शनमार्गमा ब्यारिकेड जडान लगायतको कार्यमा र मन्दिरभित्र भीड व्यवस्थापनको लागि नेपाली सेनाको विशेष सहयोग हुनेछ । मन्दिर परिसरमा स्वयंसेवकका लागि नेपाल स्काउट लगायतका ४ हजार स्वयंसेवकहरु रहनेछन् । पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितिको नेपाली सेनाको मुल स्वास्थ्इ शिविर रहनेछ भने सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतका गरी करिव ५० वटा स्वास्थ्य शिविर रहेनछन् । आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन उपलब्ध हुनेछ । त्यस्तै जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शन्मार्ग १, भुवनेश्वरी नजिक शंकराचार्य मठ पछाडि १, बज्रघर दक्षिणतर्फ १, राममन्दिर नजिक वागमती पारी १ गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ । त्यस्तै चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयवागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगंगामा समेत रहनेछ । त्यस्तै कोषले प्लाष्टिक, काँच, सिसा जस्ता फुट्ने प्रकृतिको कप प्लेट र सामग्रीहरुको प्रयोगमा रोक लगाएको छ । दर्शन मार्गको रुपमा गुह्वेश्वरी-गौरीघाट, उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट-१ लाइन, मित्रपार्क-जयवागेश्वरी-इंटापाखा भएर भुवनेश्वरीस्थ्ति फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट-१ लाइन, बत्तिसपुतली-गौशाला, एयरपोर्ट-तिलगंगा भएर पिंगलास्थान-सुमार्गी भवन अघिबाट चार शिवालय-पञ्चदेवल हुँदै दक्षिण ढोकाबाठ १ प्लस १ लाइन गरी बाहिरी रुपमा तीन स्थानबाट दर्शन लाइनहरु रहनेछन् । तिलगंगा राममन्दिरतर्फ समेत आवश्यक्ता अनुसार एक लाइन हुनेछ भने नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था हुनेछ । त्यस्तै पार्किङ तथा ट्राफिक व्यवस्थापनको लागि तिलगंगा कोरिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको छ । त्यस्तै एयरपोर्ट, गौशाला, चाबहिलको रिङरोडमा यात्रुहरुको चापलाई ध्यानमा राखि सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यक्ता अनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइनेछ । सडक छेउमा फुटपाथका कुनैपनि पसल राख्न नदिने कोषले जनाएको छ । कोषले मन्दिर परिसरमा मांस, मदिरा तथा कुनैपनि प्रकारका नशालुपदार्थ निषेधित क्षेत्र भएकाले गाँजा, भाङ, जाँडरक्सी जस्ता पदार्थहरुको बिक्रीवितरण, ओसारपसार, भण्डारण एवं सेवन नगर्न आग्रह गरेको छ । कोषले यस पटकको महासवशरात्रीमा करिव २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अभिलाषा राखेको छ ।
गैर राजनीतिक व्यक्ति राष्ट्रपति हुँदैन, राजनीतिक रङ छुट्टिएको मान्छे चाहिन्छ : सचिव आचार्य
नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले राष्ट्रपतिको उम्मेदवारको विषयमा व्यक्ति किटेरै छलफल गर्नुपर्ने बताएका छन् । सचिव आचार्यले राष्ट्रपतिको पद राजनीतिक दललाई ठेक्कापट्टा दिने विषय नभएको बताएका हुन् । उनले मुख्यमन्त्री र मन्त्रीहरु दलमा भागबन्डा गरेर जसलाई ल्याउनुहुन्छ ल्याउनुस् भनेको जस्तो राष्ट्रपतिको सन्दर्भमा गर्नु नहुने बताए । जुनसुकै दलबाट राष्ट्रपतिको उम्मेदवार हुने भएपनि सम्भावित नामको बारेमा छलफल हुनुपर्ने उनको भनाई छ । उनले जो कोहीलाई राष्ट्रपति बनाउन नसकिने बताए । राष्ट्रिय सहमतिलाई जोगाएर लैजानसक्ने र राष्ट्रपति पदको गरिमा राख्नसक्ने ल्याकत भएको मान्छेलाई मात्र राष्ट्रपति बनाउन सकिने उनको भनाइ छ । प्रस्तुत छ राष्ट्रपति निर्वाचनको सम्बन्धमा नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानी : तपाईंहरुले राष्ट्रपतिको लागि राष्ट्रिय सहमतिको नारा लगाइरहनुभएको छ, खासमा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने ? कसरी अगाडी बढ्ने बारे सोचेको छ पार्टीले ? उम्मेदवारको बारेमा त कुनैपनि पार्टीले आफ्नो पोजिसन क्लियर गरेका छैनन् । र हाम्रो पनि क्लियर छैन । तर हामीले जुन राष्ट्रिय सहमति भनेका छौं यो कसैलाई उँधो पार्नको निम्ति, कसैलाई उँभो पार्नको निम्ति या कुनै निश्चित स्वार्थ लिनको निम्ति होइनकी हामीले राष्ट्रिय सहमति भनेको सबै दलको सहमतिमा राष्ट्रपति निर्वाचन गरेर जाऔँ । विगतका राष्ट्रपतिहरु दलप्रति अलि बढी बफादार भएको देखियो । दलका कार्यकर्ताको अवस्था देखियो । चाहे रामवरण यादवको कुरा गरौं । प्रधानसेनापती काण्डमा जुन तरिका अपनाउनुभयो उहाँले । सरकारको निर्णय मान्नुभएन । अहिलेको राष्ट्रपतिको सन्दर्भमा दुईवटा घटनामा उहाँले त्यस्तो अपचता अपनाउनु भयो । पार्टीबाट के निर्देशन आउँछ राष्ट्रपतिले त्यो लागू गर्ने होइन । राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति निर्वाचन गर्नुपर्छ । राष्ट्रपति निर्वाचित भइसकेपछि उसले राष्ट्रिय जिम्मेवारी पूरा गर्नुपर्छ । कुनै दल विशेषको होइन । हामीले राष्ट्रिय सहमति भनेको एमाले नभएर काँग्रेस, काँग्रेस नभएर एमाले । वा एमालेलाई तल्लो दर्जाको देखाउन खोजेको । या सहमति भाँड्न खोजेको होइन । हामीले राष्ट्रिय सहमति किन खोजेका हौँ भने कमसेकम राष्ट्रपतिमा सहमति भयो र कमसेकम प्रधानमन्त्रीको विश्वासको मतको समयमा जुन विश्वास प्रकट भएको छ सदनभित्र, त्यो एकठाउँ रहिराख्यो भने हामी यो राजनीतिक खिचातानीको अवस्थाबाट सके पाँच वर्ष नसके दुई, अढाइ वर्ष अलग हुन्छौँ । केपी ओलीले हामी सत्तारुढ गठबन्धन हौं, एमालेको उम्मेदवार हामी उठाउछौं, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ भनिरहनुभएको छ, तपाईंहरु एमालेले उठाएको उम्मेदवारलाई नै राष्ट्रिय सहमतिको उम्मेदवार बनाउन किन तयार नहुनुभएको ? एमालेकोमा राष्ट्रिय सहमति हुँदै हुन्न भन्ने त होइन । पहिले एमालेले पत्ता खोल्नुपर्यो कि को हो उहाँको राष्ट्रिय सहमतिको उम्मेदवार ? फेरि अर्को के छ भने शक्ति सन्तुलनको हिसावले पनि के देखिन्छ भने एमाले, हामी सरकारमा छौं प्रदेश र संघमै । यो बेलामा एमाले वा माओवादीको उम्मेदवारमा कति राष्ट्रिय सहमति होला ? या काँग्रेसभित्रबाट होला ? हाम्रो कुरा के हो भन्दाखेरी एमाले हुन्न भन्ने होइन । एमाले पनि हुन सक्छ । तर राष्ट्रिय सहमतिको । प्रयास कसरी भइराखेको छ ? भित्रि तहमा विभिन्न नामको अड्कलबाजी भइराखेको छ । केही स्वतन्त्र मान्छेहरु । केही पूर्व ठूलो पदमा बसेका मान्छेहरु । केही राजनीतिक दलभित्रका नेताहरुको बारेमा अघोषित चर्चा त भइराखेको छ । तर घोषित रुपले कुनैपनि दलले हाम्रो उम्मेदवार यो हो भनेर भनेको अवस्था छैन । अब त धेरै समय छैन । १०/११ गतेसम्म व्यक्तिको नाम बाहिर आइहाल्ला । तपाईंहरुको भित्रि चाहना शक्ति सन्तुलन मिलाउन पनि काँग्रेसको उम्मेदवार भए राम्रो भन्ने हो ? काँग्रेसको उम्मेदवार भए राम्रो भन्दापनि काँग्रेसलाई पनि स्वीकार्य हुने मान्छे । अझ हाम्रो कुरा त के हो भने काँग्रेसलाई पनि स्वीकार्य हुने । एमालेलाई पनि स्वीकार्य हुने । हामीलाई पनि स्वीकार्य हुने । अरु देशका जतिपनि राजनीतिक पार्टीहरु छन् । ति सबैलाई स्वीकार्य हुने । सदन भित्र र सदन बाहिर जति छन् सबैलाई स्वीकार हुने आम समाजले एउटा राम्रै मान्छे ल्याए राम्रै भुमिका खेल्ला । राष्ट्रपतिको गरिमा जोगाउँला भन्ने ठाउँमा त्यो आशा जागृत गर्ने । जस्तो राष्ट्रपतिलाई पनि मुछेर गतकालमा सडकमै संघर्ष हुने, ठूलाठूला आन्दोलन हुने । नेपाल बन्द हुने । जुन मुद्दाहरु उठेका छन् । त्यो मुद्दाभन्दा माथि राष्ट्रपतिले आफ्नो अभिभावकिय भुमिका खेल्ने तहको व्यक्तित्व आओस् । त्यसो भए राजनीतिक कि गैरराजनीतिक त ? यसमा पार्टीभित्र त छलफल भएको छैन । मेरो कुरा के छ भने रङ क्लियर भएको मान्छे चाहिन्छ । रङ नै नछुट्टिएको मान्छे ल्याउनुभयो भने अहिले हामीले राजनीतिक पार्टीका मान्छेलाई बेठिक त भन्छौँ, तर जसको रङ नै छुट्टिएको छैन त्यसले आज राजनीतिक पार्टीको मान्छेले भन्दा झन बेसी बद्मासी गर्ने, राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा साँठगाँठ गर्ने, देशलाई योभन्दा पछाडी लैजान षड्यन्त्र गर्ने, त्यसमा प्रयोग हुने पनि त सम्भावना हुने भयो नि । त्यसो हुँदा राजनीतिक रुपमा रङ छुट्टिएको । रङ कस्तो हुन्छ त्यसमा चिन्ता नगरौँ । तर कमसेकम राजनीतिक रुपले उसको अडान, सिद्धान्त, उसको राजनीति, उसको समग्र आस्था यो हो भनेर चिनिने मान्छे चाहियो । त्योभन्दा बाहिरको मान्छेको झन खतरनाक हुन्छ भन्ने कुरा छ मेरो त । मानौँ राष्ट्रपतिमा राष्ट्रिय सहमति बनेन, एमालेले पनि उम्मेदवार उठाउने भयो, काँग्रेसले पनि उम्मेदवार उठाउने भयो, माओवादी केन्द्रको समर्थन कसलाई हो ? पहिले त उहाँहरुले उम्मेदवार उठाउनुपर्यो । नामको चर्चा नै गर्नुभएको छैन । मलाई के लाग्छ भन्दाखेरी यो सबै हुँदाहुँदै पनि ठूलो कटाक्षजस्तो । एमाले र माओवादीका बीचमा राष्ट्रपतिको सन्दर्भलाई लिएर ठूलै झगडाजस्तो । दिनदिनै मिडियामा भरिभराउ । दिनमा बिसौँ जनाले यसको अर्थ लगाइराखेको । विभिन्न टेलिभिजनमा विज्ञ, विशेषज्ञ भनेर चिनिएका साथीहरुले पनि यसमा बोलिराखेको । ठूलो बहस भएको छ यसमा । तर मलाई के लाग्छ भने अन्ततः राष्ट्रिय सहमति नै हुन्छ । एमाले पनि एउटा समझदारीमा आउँछ । हामीले कुनै व्यक्ति विशेषलाई, दल विशेषलाई केन्द्रमा राखेर यो कुरा गरिराखेका छैनौँ । राष्ट्रको आजको आवश्यकता के हो भन्दाखेरी प्रधानमन्त्रीको विश्वासको मतमा जुन ९९ प्रतिशत भन्दा ठूलो मत एक ठाउँमा देखापरेको छ । यसलाई एकठाउँमै लिएर पाँच वर्ष जानुपर्छ र यसपछिका राजनीतिक मुद्दा राष्ट्रपति, प्रदेशमा सरकार कस्को ? विश्वास, अविश्वास, सरकार ढाल्ने यो सबै खिचडी हामीले विगत ३० वर्षदेखि व्यहोर्दै आएका छौँ । त्यसभन्दा माथि हामीले देशका मुद्दाहरुलाई प्रधानता दिने ठाउँमा लैजानुपर्छ र त्यसकारण राष्ट्रिय सहमतिको आवश्यकता छ । मैले के देख्छु भने राष्ट्रिय सहमतिका लागि अन्ततः काँग्रेस पनि सहमत हुन्छ । एमाले पनि सहमत हुन्छ । एमाले र काँग्रेसले एक अर्काको पोल्टामा राष्ट्रपतिको पद जान नदिने परिस्थिति बन्ने देखिन्छ, त्यसो हुँदा माओवादी केन्द्र अन्य राजनीतिक दलहरुको विकल्पमा जान तयार छ कि छैन ? विकल्पमा जान तयार नहुने कुरा त भएन । तर व्यक्तिको प्रस्ताव आउनुपर्यो । व्यक्ति को हो भन्नेकुरा आउनुपर्यो । किनभने राष्ट्रपति दललाई ठेक्कापट्टा दिने विषय होइन । तपाईको दलको राष्ट्रपति भयो तपाईले जसलाई ल्याउनुहुन्छ, जस्तोकी मन्त्रीमा हुन्छ वा मुख्यमन्त्रीमा हुन्छ । तपाईको दलको मुख्यमन्त्री हो तपाईले कसलाई ल्याउनुहुन्छ ल्याउनुस् भनेर छोडिदिने जुन कुरा हुन्छ राष्ट्रपतिमा त्यसरी छोडिदिनु हुन्न । काँग्रेस, एमालेकै हुन्छ भनेपनि, साना दलबाट हुन्छ भनेपनि, माओवादीबाट हुन्छ भनेपनि, या बाहिरबाट हुन्छ भनेपनि ति सम्भावित नामको बारेमा फेरि सबैको बीचमा छलफल हुनुपर्छ । त्यो छलफलमा यत्तिको मान्छेले राष्ट्रिय सहमति जोगाएर लान सक्ला, सबैको गरिमा जोगाएर लान सक्ला । एमालेकै राष्ट्रपति भएपनि हिजोकै घटनाहरु नदोहोरिएलान् । काँग्रेस, माओवादी वा अन्य दललाई ठेस पुग्ने गरी कुनै काम नहोला । कांँग्रेसको भएपनि, माओवादीको भएपनि त्यो सबै गरिमालाई जोगाएर लाने यत्तिको मान्छेले ल्याकत राख्छ भन्ने कुरा हुँदाखेरी राष्ट्रिय सहमती हुनेकुरा भयो । फलानो दलको राष्ट्रपति, फलानो दलको उपराष्ट्रपति भनेर बाँड्ने विषय होइन । यो विषय राष्ट्रिय गौरव, राष्ट्रिय स्वाभिमानको विषय हो । समग्र संविधानको संरक्षणको विषय हो । देशलाई अगाडी लैजानेकि पछाडी लैजाने भन्ने विषय हो । राष्ट्रपतिले सानो गल्ती गर्दा ६ महिनासम्म देशमा आन्दोलन भइरहन सक्छ । हिजो हामीले बेहोरेका छौँ । त्यसो हुँदा राष्ट्रपतिले अभिभावकिय भुमिका खेल्ने ल्याकत राख्ने मान्छे आउँदाखेरी काँग्रेसको हुन्छ एमालेको हुन्न, एमालेको हुन्छ काँग्रेसको हुन्न । माओवादीले त्यसो भनेको छैन । व्यक्तिको हाइट चाहियो । राष्ट्रिय सहमतिलाई जोगाएर लाने र आजको परिवर्तनका मुद्दाहरुलाई एक पाइला अगाडी लैजाने जिम्मेवारीका साथ आउनसक्ने र राष्ट्रले पत्याएको मान्छे हुनुपर्यो । सत्तारुढ गठबन्धन धर्मराएको हो ? धर्मराइहालेको त होइन । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको बीचमा कटाक्ष भएको, वैमनुस्यता कायम भएको कुरा होइन । छलफल, बहस गम्भिरताका साथ भएको छ । त्यो नै आशाको बिन्दु के हो भने हामी राष्ट्रिय सहमतिमा जानसक्छौँ । पछिल्लो समयमा ति सिम्टोमहरु देखिन थालेका छन् । एमाले र काँग्रेसको राष्ट्रपतिमा उम्मेदवार फरक-फरक भयो भने त्यस्तो अवस्थामा एमाले-माओवादी केन्द्रको गठबन्धन टुट्छ की टुट्दैन ? राष्ट्रपतिमा फरक-फरक उम्मेदवार भयो । कथम् कदाचित एमालेको उम्मेदवार हार्यो । अर्को कुनै एउटा राष्ट्रिय सहमति भनिएको वा बाहिरबाट ल्याइएको उम्मेदवारले जित्यो । त्यस्तो तहमा पनि माओवादी र एमालेको गठबन्धन टुट्दैन । किनभने यो गठबन्धन तोड्नपनि हुन्न । वामपन्थी जनमतलाई बलियो बनाएर देशलाई यो भन्दा चार पाइला अगाडी लैजाने हो भने देशका समस्याहरुलाई निकास दिइयो भनेदेखि बलियो वामपन्थी सरकार देशको आवश्यकता हो नि । यो कुरा एमालेका साथीहरुले पनि राम्रोसँग बुझ्नुभएको छ । हामीले पनि बुझेका छौँ । एमालेसँग बलियो जनमत छ त्यो कुरा हामीले बुझेका छौँ । राजनीतिक रुपले अलि तिखो माओवादी छ । यो कुरा पनि देशले बुझेको कुरा हो । यो दुईवटा कुरालाई मिलाएर लान सक्दाखेरी नेपाली जनताको दुःख, दर्द, पीर, मर्का, अभाव, गरिबीलाई हामी निर्मुल पारेर देशलाई सम्पन्न, समृद्धशालि देश निर्माण गर्न सकौँला । त्यसको निम्ति पनि वामपन्थीहरुका बीचमा एकता आवश्यक छ र अहिले राष्ट्रपतिमा तलमाथि हुन बित्तिकै एमालेले भनेजस्तो भएन भने या माओवादीले भनेजस्तो भएन भने पनि यो सरकार तलमाथि हुन्न । सरकार निरन्तर रुपले यही रुपमा चलिरहन्छ । राष्ट्रपतिमा कथम् कदाचित एमालेले भनेको जस्तो भएन भनेपनि या माओवादीले जस्तो भएन भनेपनि यो गठबन्धन टुट्दैन । टुट्नु हुँदैन । यसलाई अझ दिगो, फराकिलो र कसिलो बनाएर अगाडी लैजानुपर्छ ।