विकासन्युज

बगर खेतीमा रमाउँदै कैलालीका किसान, मासिक ५० हजार आम्दानी

काठमाडौं । कैलालीको धनगढी उपमहागनरपालिका–१० की प्रमिला बखरिया बगरखेतीमा व्यस्त छिन् । हिउँदे मौसममा उनको समय बगरमै बित्छ । ‘बाह्रै महिना बगरमा खेती हुँदैन, हिउँदमा मात्रै हुने गर्छ’, उनले भने, ‘यसमा समयअनुसारको सबै तरकारी लगाउने गरेका छौँ ।’ उनले बारीमा काँक्रा, लौका, फर्सी, करेला, प्याज, खरबुजा, खुर्सानीलगायतका तरकारी उत्पादन गर्दै आएकी छन् । हिउँदमा नदीको क्षेत्रफल साँघुरिने हुँदा बचेको बगरमा नै किसान तरकारी एवं विभिन्न किसिमका हिउँदे बाली लगाउने गर्छन् । कम खर्चमा राम्रो उत्पादन हुने भएकाले सदुपयोग हुन नसकेको बगरलाई बारीमा परिणत गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । धनगढी उपमहागनरपालिका–१० जुगेडाका भग्गु राना पनि तीन वर्षदेखि बगर खेती गर्दै आइरहेका छन् । उनले बारीमा काँक्रा, लौका, फर्सी, करेला, प्याज, खरबुजा, खुर्सानी, तरबुजालगायतका तरकारी उत्पादन गर्दै आएकी छिन् । ‘बगरमा हुने सबैखाले तरकारी लगाएका छौँ, कमखर्चमा राम्रो उत्पादन हुन्छ’, उनले भने । कुनै समय धान तथा गहुँ फल्ने जमिनलाई नदीले धार परिवर्तन गर्दै बगर बनाइदिएपछि त्यसैमा हिउँदे बाली लगाएर किसानले सदुपयोग गरिरहेका हुन् । धनगढीकै जुगेडाकै माया रानाले पनि सात वर्षदेखि बगर खेती गर्दै आएकी छन् । ‘मोहनाले खेत सबै बगाएपछि धान रोप्न पाएनौँ वर्षौंदेखि बाँझो रहेको बगरमा तरकारी लगाउने गरेका छौँ’, उनल भनिन्, ‘आम्दानी राम्रै भइरहेको छ ।’ नेपाल–भारत सिमाना हुँदै बग्ने मोहना नदीले हरेक वर्ष कैलालीका किसानको खेतीयोग्य जमिन कटान गर्दै बगरमा परिणत गरिदिन्छ । नदीले धार परिवर्तन गर्दै नेपालतिरको जमिन कटान गर्दै जाँदा नम्बरी जमिन पनि नदी पारीसम्म पुग्छ । बगर बनेको जमिन बाह्रै महिना प्रयोग गर्न नपाए पनि किसान यो समयमा भने बगरलाई तरकारी बाली लगाएर हरियाली बनाउँछन् । जसले उनीहरूलाई केही राहत दिन्छ । किसान बगरखेतीबाट मासिक ३० देखि ५० हजारसम्म कमाउने गरेको बताउँछन् । किसानले बगरमा फलाएको तरकारी धनगढीको हाट बजारलगायत कैलालीका विभिन्न क्षेत्रमा पुग्ने गरेको छ । बजारको कुनै समस्या नरहेको किसानको भनाइ छ । बगरमा विगतमा आफ्नो जमिन भएका मात्रै नभई अन्य किसानले पनि भाडामा लिएर पनि तरकारी उत्पादन गरिरहेका छन् । जुगेडाकै अनारकली रानाले पनि जमिन भाडामा लिएर १० वर्षदेखि तरकारी फलाउँदै आएका छन् । छोटो समयमै हुने उत्पादनमा राम्रो प्रतिफल प्राप्त हुने हुँदा पछिल्लो समय बगर खेतीमा किसानको आकर्षण बढ्दै गइरहेको छ । ‘जग्गावालालाई केही रकम र उत्पादन भएको तरकारी दिन्छौँ’, उनले भने । ‘उनीहरूले हामीलाई सहजै आफ्नो जमिन दिन्छन् ।’ बगरमा तरकारी लगाउन र हेर्नलाई समस्या हुनेहुँदा सबैले यो खेती गर्दैनन् । तर केहीले बगरमै साना टहरा बनाएर यसमा काम गरिरहेका छन् । विगतमा सीमा क्षेत्रका नदी किनारका बगरखेतीमा विशेष गरेर भारतीय किसानले तरकारी खेती गर्दै आएका थिए । अहिले नेपाली पनि बगर खेतीमा आकर्षित हुँदै जाँदा भारतीय विस्थापित हुन थालेका छन् । रासस

इन्जा फोटो पत्रकारिता पुरस्कार नरेन्द्र र सुरेशकुमार श्रेष्ठलाई

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा)ले यस बर्ष देखि शुरु गरेको इन्जा फोटो पत्रकारिता पुरस्कार लामो समयदेखि कार्यरत २ जना फोटो पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ । फोटो पत्रकारिताको माध्यमद्धारा नेपाली समाज तथा आम नागरिकलाई सुसूचित गराउदै आएका बरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ र सुरेशकुमार श्रेष्ठ ( सुरज श्रेष्ठ)लाई प्रदान गर्ने निर्णय गरेको इन्जा ग्लोवलका अध्यक्ष गुणराज लुइटेलले जानकारी दिए । बिस २०५२ सालदेखि नेपाल समाचारपत्रबाट फोटो पत्रकारिता शुरु गर्नु भएका नरेन्द्र श्रेष्ठले कान्तिपुर पव्लिकेस, लस एन्जलस टाइम्स, न्यूर्योक टाइम्स, टाइम्स म्यागजिन,गार्डियन डेली, टेलिग्राफ युके, इन्डिपेन्डेन्ट युके, फाइनान्सियल टाइम्स, वालस्ट्रीट जर्नल,द टाइम्स लण्डन,डाइ वेल्ट,नेशनल ज्योग्राफी, वाशिंगटन पोष्ट लगायतका संचार माध्यममा काम गरी सकेका छन् । त्यसै गरी पुरस्कृत हुने अर्का फोटो पत्रकार सुरेशकुमार श्रेष्ठ( सुरज श्रेष्ठ) ले पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिदै आएका छन् । २०६२ सालबाट फोटो पत्रकारितमा संलग्न रहेका श्रेष्ठ विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेर सामाजिक क्षेत्रमा समेत आफ्नो पहिचान बनाउन भएका हुन् । ५०– ५० हजार राशीको उक्त पुरस्कार नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा) को स्थापना दिवस मार्च १ अर्थात फागुन १७ गते प्रदान गरिने भएको छ ।

कृषि विकास बैंकको सीईओ बन्न टीयू टपरदेखि विदेशी बैंकको सीईओसम्मको प्रतिस्पर्धा

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) लागि ५ जनाको नाम सर्टलिष्ट गरिएको छ । बैंकको सीईओ छनोट समितिको बिहीबार बसेको बैठकले सीईओका लागि ५ जनाको नाम सिफारिस गरेको हो । बैंकको सीईओ पदका लागि सिभिल बैंकका पूर्व सीईओ गोविन्द गुरुङ, कृषि विकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, कृषि विकास बैंकका कायम मुकायम (कामु) नायव महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका चिफ रिस्क एण्ड कम्प्लायन्स अफिसर विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्रि कुमार गुरागाईंको नाम सर्ट लिष्ट गरिएको कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिए । उनका अनुसार योग्यता र अनुभव प्राप्त व्यक्तिलाई आवेदनका आधारमा ५ जनाको नाम छनोट गरेर सिफारिस गरिएको हो । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्य योजनाको मूल्याङ्कनको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका बोलाएको छ । प्रस्तुतीकरण र अन्तरवार्ताका लागि शनिवार बैंकको केन्द्रिय कार्यालयमा बोलाइएको छ । बैंकका अनुसार छनौट भएका उम्मेदवारहरुमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तरवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओको लागि सिफारिस गरिनेछ । कृषि विकास बैंकको सीईओ बन्नका लागि सिभिल बैंकका पूर्व सीईओसमेत रहेका गोविन्द गुरुङ अब्बल दावेदारका रुपमा उभिएका छन् । सीईओ छनोट समितिले गुरुङलाई ५ जनाको सर्ट लिष्टिङ्गमा पहिलो नम्बरमा राखेको छ । उनीसँग बैंकिङ्ग क्षेत्रमा करिव २६ वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् । उनले हिमालयन बैंकमा साढे १० वर्ष काम गरेका थिए । त्यसपछि उनी ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरे । ग्लोबल आइएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि उनी नायव महाप्रबन्धक पदमा मेगा बैंक प्रवेश गरेका थिए । उनले उक्त बैंकमा साढे २ वर्ष काम गरे । त्यसपछि उनी सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सीईओ भए । गुरुङ सोही बैंकको सीईओ समेत बने । विदेशी बैंकमा समेत काम गरेको अनुभव भएका गुरुङले ४ वर्ष ३ महिना सिभिल बैंकमा सीईओ भएर काम गरे । सिभिल बैंक छाडेर उनी विदेशी बैंकमा काम गर्न गए । म्यानमारको सिटिजन्स बैंकमा सीईओ भएर डेढ वर्ष काम गरेपछि उनी पुनः स्वेदशी बैंकमा प्रवेश गर्न खोजिरहेका हुन् । विदेशी बैंकको सीईओ बन्ने गुरुङ पहिलो नेपाली नागरिक हुन् । उनले कमजोर अवस्थामा रहेको सिभिल बैंकलाई पुराना र अब्बल भनिएका बैंकसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुर्याएका थिए । हाल कृषि विकास बैंकको कामु सीईओ रहेका प्रताप सुवेदी सीईओ बन्न दौडधुप गरिरहेका छन् । बैंकका पूर्व सीईओ अनिल कुमार उपाध्यायको कार्यकाल सकिएपछि वरियता अनुसार सुवेदी कामु सीईओ बनेका हुन् । सुवेदी बैंकको भावि सीईओ बन्नका लागि दौडधुप गरिरहेका छन् । उनी बैंककाे सीईओ बन्न प्रबल दावेदार हुन् । उनी कृषि विकास बैंकको वरिष्ठ नायव महाप्रबन्धक समेत हुन् । बद्रि कुमार गुरागाईं राष्ट्रिय सहकारी बैंकको सीईओ पदमा कार्यरत छन् । पहिलो कार्यकाल सकिएपछि उनी दोस्रो पटक सहकारी बैंकको सीईओ बनेका हुन् । उनी २०७५ पुसमा सहकारी बैंकको सीईओमा नियुक्त भएका थिए । त्यसअघि उनी नायव महाप्रवन्धक थिए । बैंकिङ्ग क्षेत्रमा २ दशक जति काम गरेका गुरागाईं चार्टर्ड एकाउण्टेट पनि हुन् । भारतबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका गुरागाईंले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनले यसअघि नेपाल बचत तथा ऋण सहकारीको प्रमुख कार्यकारी अधिकृत, अन्तर्राष्ट्रिय परिवार नियोजन संघ एसिया प्रसान्तको वरिष्ठ आर्थिक सल्लाहकार लगायतका संस्थामा काम गरेका छन् । उनी हाल सामाजिक सुरक्षा कोषको सल्लाहकार समेत हुन् । गुरागाईं सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने व्यक्तिका रुपमा समेत चिनिन्छन् । कृषि विकास बैंकका कामु नायव महाप्रवन्धक यज्ञ प्रकाश न्यौपानेले वि.सं. २०५५ सालको अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा त्रिभुवन विश्व विद्यालय टप गरेका थिए । विश्व विद्यालय टप गरेपछि उनले सोही विश्वविद्यालयमा स्नातकोत्तर तहका विद्यार्थीहरुलाई अर्थशास्त्र अध्यापन गराए । डेढ वर्ष त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेका न्यौपाने २०५६ साल मंसिर २२ गते कृषि विकास बैंकमा अर्थशास्त्रीको रुपमा प्रवेश गरेका हुन् । वित्त व्यवस्थापनमा विशेष दख्खल राख्ने उनीसँग बैंकिङ्ग क्षेत्रमा २३ वर्ष काम गरेको अनुभव छ । उनले बैंकमा शाखा प्रमुख र विभागीय प्रमुख भएर काम गरेका छन् । हाल कामु महाप्रवन्धक पदमा कार्यरत उनीसँग बैंकको सञ्चालन, सूचना प्रविधि विभागमा समेत काम गरेको अनुभव छ । कृषि विकास बैंकलाई डिजिटलाइज गरेको श्रेय उनलाई जान्छ । उनको जन्मस्थान दाङ भएपनि हाल काठमाडौंको टोखा नगरपालिका ६ मा बस्छन् । उनले ह्युमन एण्ड नेचुरल रिसोर्स म्यानेजमेन्ट विषयमा काठमाडौं विश्व विद्यालयबाट स्नातकोत्तर समेत गरेका छन् । सीईओको रेसमा रहेका विष्णु देव यादव नेपाल एसबिआई बैंकमा २६ वर्षदेखि काम गर्दै आएका छन् । उनले सोही बैंकबाट नै आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् । बैंकिङ्ग क्षेत्रमा २६ वर्षको अनुभव हासिल गरेका उनीसँग कर्पाेरेट बैंकिङ्ग, ट्रेड फाइनान्स र रिकभरीमा राम्रो अनुभव छ । पछिल्लो साढे ३ वर्ष उनले रिष्क र कम्प्लायन्सको जिम्मेवारी वहन गर्दै आएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए र एमएस्सी गरेका छन् । उनको स्थायी घर महोत्तरी गौसाला नगरपालिका ११ मा हो भने हाल ललितपुरको भैँसेपाटीमा बस्दै आएका छन् । यी ५ जनामध्ये एक जना सीईओ बन्नेछन् । बैंकको सीईओ बन्नेलाई ठूलो चुनौति पनि खेप्नु पर्नेछ । कृषि विकास बैंकको खराब कर्जादर ४.५२ प्रतिशत पुगेको छ । जुन बैंकिङ्ग क्षेत्रकै सबैभन्दा धेरै हो । भावि सीईओको पहिलो प्राथमिकता खराब कर्जा घटाउनु पर्नेछ । बैंकको खराब कर्जालाई शुन्यमा झार्नुपर्ने अबको सीईओको पहिलो प्राथमिकता हुनेछ । यस्तै, चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १२ करोड ८९ लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ । ऋणात्मक भएको बैंकलाई नाफामा ल्याउनु पर्ने अर्काे चुनौति अब बन्ने सीईओलाई हुनेछ । पछिल्लो समय बैंकको लाभांश दर पनि घट्दै गएको छ । बैंकले यसपटक हालसम्मकै न्यून लाभांश वितरण गरेको छ । जसले गर्दा सेयरधनीहरुको आकर्षणको बैंकका रुपमा उभ्याउनुपर्ने सीईओले ठूलो योगदान गर्नुपर्ने देखिन्छ । सरकारी बैंक भएका कारण कर्मचारीको क्षमता अन्य बैंकको भन्दा कमजोर रहेको केही बैंकर्सहरु बताउँछन् । भावी सीईओले कर्मचारीको क्षमता अभिवृद्धि हुने किसिमले काम गर्नु पर्नेछ । साथै ग्राहकको चाहना अनुसार बैंकले नयाँ-नयाँ प्रडक्ट डिजाइन गर्नुपर्ने सीईओका चुनौति छन् । यस्तै, नियामक निकायका नीति निर्देशन परिपालना गरेर दीगो प्रतिस्पर्धी बैंकको रुपमा उभ्याउनु पर्नेछ ।

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिएको छ । फागुन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । शुक्रवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ लाई १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा पेस गर्नेगरी फिर्ता लिएको जानकारी दिइन् । यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मण्डन देउपुर ६, बेथानचोक २, लिखु ४, रघुगंगा २, तातोपानी ४, रिद्धिकोट ३, रुरु क्षेत्र ४ र अपि हिमाल ४ गरी जम्मा ८ वटा स्थानमा औद्योगिक ग्राम स्थापना गर्न स्वीकृति दिने, बर्ड फ्लु रोगको नियन्त्रणका क्रममा आ.व. २०७९ मा प्रचलित कानून बमोजिम नष्ट गरिएको वस्तुहरूको लागि राहत प्रदान गर्ने भन्ने कुरालाई कार्यविधि बनाएर राहत प्रदान गर्ने, बिदालाई व्यवस्थित गर्न यस पटक २ वटा बिदा थपेर गत वर्षकै बिदा दिने तर आगामी वर्षका लागि भने बिदा व्यवस्थित गर्न पुनरावलोकन गरी अघि बढ्ने निर्णय भएको पनि उनले बताइन् । उनका अनुसार सरकारले २०७९ साल फागुन १५ देखि १८ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ५२ औँ सत्रमा परराष्ट्र मन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई भाग लिन जान स्वीकृत दिने, मोरङ जिल्ला साबिक लेटाङ गाविस वडा नम्बर १ को ०४१६ बिघा सार्वजनिक जग्गा ३० वर्षका लागि प्रहरी चौकी बुधवारे लेटाङलाई प्रयोग गर्न स्वीकृति दिने, तत्कालीन जिल्ला पञ्चायत सचिवालय, जिल्ला पशु सेवा शाखा कार्यालय, गोरखाका नाममा रहेको जिल्ला गोरखा साबिक सिद्धिवास गाविस वडा नम्बर ८ को ४६२२ रोपनी जग्गा चुमनुम्बी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि उपयोग गर्न स्वीकृति दिने निर्णय भएको छ । यस्तै ललितपुर जिल्ला साबिक लुभु वडा नम्बर ३ कको २/२ रोपनी सरकारी जग्गा लुभु प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणार्थ महालक्ष्मी नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिने, काठमाडौं जिल्ला साबिक थानकोट गाविस वडा नम्बर २ काके २३००० रोपनी सरकारी जग्गा चन्द्रागिरि नगरपालिकालाई १५ शैय्याको आधारभूत अस्पताल निर्माण गर्न स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ । प्रवक्ता शर्माले सरकारले नेपाल इन्जिनियरिङ परिषद् अध्यक्ष पदमा इन्जिनियर डा। पदमबहादुर साही, उपाध्यक्षमा इन्जिनियर डा. विकास अधिकारी र सदस्यमा इन्जिनियर डा. रेस्मा श्रेष्ठलाई मनोनयन गरेको बताइन् । त्यस्तै सरकारले २०७९ फागुन ११ देखि १२ सम्म स्वीट्जरल्याण्डमा हुने ५ औँ ग्लोबल मन्त्रीस्तरीय समिट अन प्यारेन सेप्टी विशेष सम्मेलनमा भाग लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई जान स्वीकृति दिने निर्णय पनि गरेको छ ।

बैंकविरुद्ध खनिए ४७ संघ, माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुविरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रवार उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु विरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् । व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदर विरुद्ध आन्दोलन गर्ने बाध्य भएको र उद्योगी व्यवसायीहरुमा रहेको सिण्डिकेटका अन्त्य र बैंकको ज्यादती बिरुद्ध सडक आन्दोलन गर्न बाध्य भएको बताएका छन् । विरोध कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीहरुले सांसद, मन्त्री बनाइदिन माग नगरेको भन्दै बैंकको आतंकलाई बन्द गर्न र व्यवसायीहरुलाई गरिखान दिन आवाज उठाइरहेको बताए । उनले देशका उद्योगी व्यवसायीहरुको माग सम्बोधन हुन सबै व्यवसायीहरु प्रेम आचार्य नै बन्नुपर्ने हो भन्दै प्रश्न गरे । त्यस्तै, नेपाल राष्ट्रिय व्यवसायी महासंघका कन्द्रिय अध्यक्ष कुमार कार्कीले नेपालीहरुले नेपालमा नै गरिखान पाउनुपर्ने बताए । उनले व्यापारीहरुले ८ प्रतिशतमा लिएको व्याज १५ प्रतिशतसम्म पुर्याउँदासमेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताए । उनले बैंकर्स र वित्तीय संस्थाहरु सामन्ती बनिरहेको बताए । सरकार यसरी मौन बस्नु नहुने बताउँदै उनले सरकारले व्यापार उद्योगमैत्री नियम कानून ल्याउन आवश्यक रहेको जनाए । पछिल्लो समय कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरुका कुनैपनि माग सम्बोधन नगरेको आरोप उनीहरुको छ । उद्योग र व्यापारमा रहेको सिण्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरुको पहुँच सहितको बैंकहरुको ज्यादतीविरुद्ध थप आन्दोलन गर्ने चेतावनी समेत कार्यक्रमम दिइएको छ ।

टाटाको ‘इभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्रको भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौं । टाटाको ‘इभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्रहरुको भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । टाटाको मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले हालसालै आफ्नो ‘इभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्रहरुको भ्रमण कार्यक्रम सम्पन्न गरेको हो । यस कार्यक्रमको दौरानमा विभिन्न संचारकर्मीहरुलाई थापाथली स्थित टाटाको सोरूमबाट यस ब्राण्डका विद्युतीय गाडी (इभी) प्रयोग गरी नैकाप एवं बागडोल पुर्याइएको थियो । नैकापमा सिप्रदीको ‘इभी लर्निङ्ग सेन्टर’ अवस्थित छ जहाँ उनीहरुलाई विद्युतीय गाडी संचालनको आधारभूत प्रक्रिया र प्रणालीबारे जानकारी गराइएको थियो । कार्यक्रममा सहभागी पत्रकारहरुले यस सेन्टरमा विद्युतीय गाडीको ब्याट्रीले विद्युतीय संचार मार्फत कसरी कार्य गर्दछ भन्ने बारे जानकारी हासिल गरेका थिए । कुनै कारणवश ब्याट्रीमा समस्या देखा परेमा यसका निश्चित अवयवहरु जस्तै ‘मोडुल’ र ‘सेल’ परिवर्तन गरी यसको समाधान अत्यन्त कम खर्चमा सहज तवरले गर्न सकिन् । यसबारे पनि सम्बन्धित पत्रकारहरुलाई विस्तृत जानकारी प्रदान गरिएको थियो । नेपाली अटोमोबाइल बजारमा यदि इभी ब्याट्री बिग्रिएमा मर्मत गर्न अत्यन्त खचिलो र झन्झटिलो हुने भ्रम रहेकोले उक्त भ्रम चिर्न यस्तो कार्यक्रमको आयोजना गरीएको सिप्रदीले जनाएको छ । त्यसैगरी, भ्रमण कार्यक्रममा सहभागी संचारकर्मीहरुलाई ललितपुरको बागडोलमा अवस्थित टाटाको ‘सर्भिस सेन्टर’को अवलोकन गराईएको थियो । अवलोकनको क्रममा इभीको मर्मत सम्भारको लागि प्रयोग गरिने प्राविधिक पक्षहरु बारे सूचित गारिएको थियो । यसको अतिरिक्त इभीको ब्याट्रीको समस्या कसरी निरुपण गरी समाधान गरिन्छ भन्नेबारे पनि जानकारी प्रदान गरिएको थियो । केवल टाटाको मात्र नभई नेपालको समग्र विद्युतीय गाडीको बजार अभिवृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले यस भ्रमण कार्यक्रमको आयोजना गरिएको सिप्रदीको दावी रहेको छ । यस कम्पनीले केही समयदेखि टाटाका वातावरण, आराम, सुरक्षा एवं डिजाइनको दृष्टिकोणले उत्कृष्ट इभीहरू नेपाली बजारमा विक्री वितरण गरिरहेको छ । यसैगरी यसले यस्ता गाडीहरुको बजारलाई प्रभावकारी एवं दिगो रुपमा विकास गर्न आवश्यक पूर्वाधार (जस्तै चर्जिङ्ग स्टेसन) एवं जनशक्तिको विकास पनि तिब्र गतिमा गरिरहेको बताएको छ ।

कुसुम फाइनान्स क्लबले विभिन्न क्षेत्रका विज्ञहरुसँग गर्यो छलफल

काठमाडौं । काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसुम) फाइनान्स क्लबले ‘संस्थागत सुशासन संयन्त्र स्थापनामा सरोकारवालाहरूको भूमिका’ नामक प्यानल सञ्चालन गरेको छ । उक्त प्यानलमा विभिन्न क्षेत्रका विज्ञहरु रहेका थिए । मेगा क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत सुलभ श्रेष्ठ, एनआईबीएल एस क्यापिटलका कर्पोरेट एडभाइजरी प्रमुख भुवनराज पन्त र कुसुमका एसोसिएट प्रोफेसर रोशी लामिछाने उक्त प्यानलमा थिए । प्यानल छलफलको संचालन आर्थिक पत्रकार समाज नेपाल (सेजन)का प्रमुख कार्यकारी अधिकृत अश्विन पराजुलीले गरेका थिए । उक्त छलफलमा फाइनान्समा उत्सुक रहेका बीबीएमदेखि एमबीएसम्मका १०० भन्दा बढी विद्यार्थीहरुको सहभागी थियो । छलफलमा पारदर्शिता र खुलासादेखि लिएर नियामक स्यान्डबक्स सिद्धान्त, बोर्ड संरचना र स्वतन्त्र निर्देशक, सेयरधनीहरूको अधिकार र ह्वाइटलब्लोइङ संयन्त्र र नेपालको पुँजीबजार र विभिन्न सार्वजनिक कम्पनीहरूको सन्दर्भमा एजेन्सी सिद्धान्तसम्मका विभिन्न विषयहरू समेटिएको थियो । छलफलमा कम्पनीको जारीकर्ता रेटिङ र लगानी र मर्चेन्ट बैंकिङ उद्योगमा संस्थागत सुशासन अभ्यासका विषयमा पनि छलफल भएको थियो । यस्तै,उक्त सेसन सबै सहभागीहरुलाई फलदायी रहेको बताइएको छ ।

नरैनापुर गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट

कर्णाली । मुलुकभरका सात सय ५३ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा बाँके जिल्लाको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट बन्न सफल भएको छ ।  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यही फागुन ३ गते सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन नतिजाअनुसार उक्त गाउँपालिका देशकै पहिलो बन्न सफल भएको हो । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ को दफा ७ को अधीनमा रही प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकका आधारमा गरेको मूल्यांकन अंक प्रदान गरिएको थियो ।  कार्यसम्पादन मूल्यांकनमा नरैनापुरले ७८ दशमलव ५१८६ अंक प्राप्त गरेको छ । दोस्रो बनेको प्यूठानको प्यूठान नगरपालिकाले  ७७दशमलव २६१४ अंक प्राप्त गरेको छ । तेस्रो भएको म्याग्दीको मंगला गाउँपालिकाले ७७ दशमलव ०९२६ अंक प्राप्त गरेको थियो ।  कार्यसम्पादनमा नरैनापुर गाउँपालिकालाई  उत्कृष्ट भएको खबरले हर्षित बनाएको उक्त  गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । ‘दुई महिनादेखि बिरामी भएकाले मलाई यो खबर थाहा थिएन । यहाँहरूको सूचनाबाट थाहा पाएँ’, उनले भने, ‘जनप्रतिनिधि र कर्मचारीको कामप्रतिको यथेष्ट लगावले आज नरैनापुर देशकै उत्कृष्ट भएको हुन सक्छ ।’ लुम्बिनी प्रदेशको बाँकेमा पर्ने उक्त गाउँपालिका आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय हिसाबले अत्यन्तै जोखिम र सुक्खाग्रस्त मानिन्छ । मुस्लिम र हिन्दु बाहुल्यता भएको सो गाउँपालिकामा गरिबी, अशिक्षा र परम्परागत कुसंस्कार पनि विद्यमान रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए । ‘चालू आर्थिक वर्षमा त पानी नै नपरेर यस गाउँपालिकामा धान हुन सकेन,’ उनले भने, ‘जिल्लाको अन्य पालिकाहरूको हिसाबले नरैनापुर निकै अभाव र संकटग्रस्त क्षेत्र हो ।’ प्राकृतिक विपत्ति खासगरी खडेरीले यहाँको कृषि उत्पादनमा समस्या आएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताए । उक्त गाउँपालिकाका लेखपाल प्रकाश अधिकारीले काममा अहोरात्र खटेअनुसार सुखद खबर सुन्न पाइएको बताए। उनले भने, ‘गत आर्थिक वर्ष बेरुजु आउने पालिकाकामध्येमा हामी जिल्लामै राम्रो देखियौँ । पछिल्लो समयमा अस्पताल जाने सुत्केरी सङ्ख्या ह्वात्तै बढेको छ । घरमा सुत्केरी हुने सङ्ख्या कम रहेको छ ।’ विद्यालयमा विद्यार्थी भर्नादर पनि उच्चरुपले बढेको लेखापाल अधिकारी जनाए। उनका अनुसार आव ०७८-७९ मा नरैनापुर गाउँपालिकाले ९२ प्रतिशत पूँजीगत खर्च गरेको थियो । पूर्णखोप सुनिश्चित गाउँपालिका घोषित भएर त्यसको दिगो विकास कार्यक्रम सञ्चालन पनि भइरहेका छन् । राति अबेरसम्म नियमित खटेर काम गर्दा सफलता पाइँदोरहेछ भन्ने कुरा यो नतिजाले देखाएको देशमै पहिलो भएको खबरले हर्षित तुल्याएको उनले बताए। रासस