विकासन्युज

हिमाली क्षेत्रको सामाजिक पक्षहरु समेटिएको पुस्तक ‘हिमाली सम्पदा’ प्रकाशन

काठमाडौं । हिमाली क्षेत्रका धार्मिक सांस्कृतिक सामाजिक रितिरिवाज चालचलन आदि पक्षलाई समेटेर तयार पारिएको महत्वपूर्ण पुस्तक सार्वजनिक भएको छ । हिमाली जिल्ला सोलुखुम्बुका युवा लेखकद्वय गिता बहादुर श्रेष्ठ र रुद्र बहादुर बस्नेतद्वारा लिखित ‘हिमाली सम्पदा’ नामक पुस्तक गतहप्ता काठमाडौंमा सार्वजनिक गरिएको हो । पुस्तक बौद्ध धर्मका विद्धान तथा गुरु लोचवा पुण्यप्रसाद पराजुलीले बिमोचन गरेका थिए । हिमाली भेग र हिमालको काखमा बसोबास गर्ने मानिसहरूको सम्पदा संस्कृति परम्परा आदिलाई नेपाली भाषामा कमै मात्रामा प्रकाशन भएको पुस्तकहरु मध्ये यो एक हो । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत धेरै अग्ला हिमालहरू भएको हाम्रो देश नेपालको लगायत हिमाली क्षेत्रमा प्रचलित परम्परा भेषभूषा र संस्कृति आदिलाई बुझ का लागि नेपाली भाषीहरुलाई यस पुस्तकले अन्य भाषाका पुस्तकहरूको विकल्प दिएको छ । नेपाली भाषामा लिखित यस पुस्तकले हिमाली क्षेत्रका सम्पदा ,संस्कृति तथा परम्परालाई बुझ्न सहज बनाउने कुरा निश्चित छ । यस पुस्तकमा हिमाली क्षेत्रमा बौद्ध धर्मको सुरुवात तथा यसको विकासका साथै तिब्बती बौद्ध धर्मभित्र भएको धार्मिक परमपरा न्यीङ्मा शाक्य, काग्यु, गेलुक परमपराका साथै जानाङ र बोन परमपराको पनि स्पस्ट ब्याख्या गरिएको छ । हिमाली क्षेत्रको सम्पदाको रुपमा रहेको गोन्पा, स्तुप, मणि, धार्चो, मणिरिङमे, मणिखोर्लो, तोर्मा आदि बिषयहरुलाई पनि समेटिएको छ । त्यस्तैगरी बौद्ध गोन्पाहरुमा राखिएको बौद्ध धर्मका भोट भाषा अनुदित पुस्तक र यस भित्र लेखीएको बिषयहरु बुद्ध वचन अनुवाद सङ्ग्रह (काङ्ग्युर) शास्त्रअनुवाद सङ्ग्रह (तेन्ग्युर) लगायत निधिसङग्रह (रिन्छेन तेर्जाे) को पनि परिचय दिइएको हुनाले हिमाली क्षेत्रको वाङ्मय बुझ्न पनि यसले सहयोग गर्ने छ । हिमाली सम्पदा नामक पुस्तक हिमाली क्षेत्रको सम्पदाहरु गोन्पा, धार्मिक ग्रन्थ, स्तुप, माणि, जातजाति, हिमाली संस्कृति, कला, चाडपर्व, धार्मिक इतिहास आदि विविध बिषयहरुलाई समेटेर लेखिएको एक उत्कृष्ट पुस्तक भएकोले लेखकद्धय गीता बहादुर श्रेष्ठ र रुद्र बस्नेतले बजारमा ल्याएका हुन् । हिमाली क्षेत्रको धार्मिक, सामाजिक र सांस्कृतिक पक्षहरुलाई जनमानसमा पुर्याउने हेतुले पुस्तक वजारमा पुर्याएको र हिमाली सम्पदा प्रेमीहरुका लागी यस पुस्तकले भरपुर जानकारी दिने र अत्यन्तै उपयोगी हुने लेखकद्धयले बताए । हिमाली क्षेत्रमा प्रचलित पात्रोअनुसार मनाइने ऋद्धि प्रतिहार्य (छोठुल), बुद्ध जयन्ती (सागादावा), धर्मचक्र प्रवर्तन (छोखोर) र देव अवतरण (लाहाबाब)को महङ्खव दर्शाउनको साथै स्थान विशेषका पर्वहरु यार्तोन, मणिरिम्दु, डुम्जी, तिजी आदिको पनि बयान गरिएको छ । त्यस्तै हमाली क्षेत्रका तीर्थहरुको बयान गर्ने क्रममा गुप्त क्षेत्र (बेयुल) हरुको चर्चा गर्नुको साथै डोल्पा, मस्ताङ र साुेलुखुम्बुका विशेषताहरु, त्यहाँका प्रसिद्ध गोन्पा तथा लामा गुरmहरुको संक्षिप्त जीवनी पनि दिइएको छ । बौद्ध धर्मका विद्धान तथा गुरु लोचवा पुण्य प्रसाद पराजुलीले बिमोचन गरेको यस पुस्तकमा उनले भुमिकामा यस पुस्तकको महत्वलाई प्रस्ट्याएका छन् । यसैगरी यस पुस्तकमा नेपाल सरकारको आधिकारिक संस्था बौद्ध दर्शन प्रवर्दन तथा गुम्वा विकाश समितिको तर्फबाट यस संस्थाका अèयक्ष श्री फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल)ले शुभकामना मन्तव्य लेख्दैे हिमाली क्षेत्रमा निहित बौद्ध धर्म, समाज, संस्कृतिको अत्यन्त नजीक रहेर लेखिएको प्रस्तुत पुस्तकले बौद्ध धर्म, दर्शनको संरक्षण, बिकास र प्रबद्धनमा टेवा पुर्याउदै धार्मिक पर्यटकमा अभिबृद्धि गरी मुलुकको अर्थतन्त्रमा सघाउ पुर्याउन सहयोग पुगोस भनि शुभेच्छा ब्यक्त गरेका छन् । यस पुस्तकलाई बिद्धान डा. रमेश ढुङ्गेल, भिक्षु आङफुरी शेर्पा, खेन्पो ङवाङ वसेर लामा ज्यूले पनि यस पुस्तक पढी आवश्यक सुझाव सल्लाह दिएको लेखकद्धयले बताए । यस्तो महत्वपूर्ण तर नेपाली जनमानसमा कमै जानकारी भएको रोचक विषयवस्तुहरु समेटिएको सम्पूर्ण नेपालीभाषी समुदायका लागी ज्ञानको भण्डारको रुपमा रहेको यो पुस्तकले पक्कै पनि पाठकहरुको मन जित्न सफल हुनेछ भन्ने लेखकको विश्वास रहेको छ । रु २७५ मूल्य रहेको पुस्तक हाल बौद्धको मुगुम किताव पसल बौद्ध, धर्म पुस्तक पसल बौद्ध, लामा पुस्तक पसल बौद्ध, टिबेट बुक हाउस ठमेल, रत्न पुस्तक भण्डारमा उपलब्ध रहेको छ । पुस्तक अध्ययन गरी आवस्यक सुझाव इमेलमा लेखि पठाउन लेखकद्वयको आग्रह रहेको छ । पुस्तकका लेखक गीता बहादुर श्रेष्ठ २०४० साल भाद्र ७ गते सोलुदुधकुण्ड नपा वाडनं ७, नाजिङ,सोलुखुम्वुमा जन्मिएर बिगत २० बर्षदेखि हिमाली क्षेत्रलाई आफ्नो कर्म थलो बनाई हिमाली कला, संस्कृति तथा रितिरिवाजसंग चिरपरिचित छन् । नेपालको पर्यटन क्षेत्रमा काम गर्ने क्रममा नेपालको अधिकाशं हिमाली क्षेत्रहरुका साथै तिब्बतमा पनि पुगेर हिमाली क्षेत्रको बिभिन्न पक्षहरुलाई नजिकवाट नियालेका छन् । हिमाली क्षेत्रको अध्ययनमा बिशेष रुचि राख्ने लेखक श्रेष्ठले हिमाली क्षेत्रको अध्ययनको क्रममा लुम्वीनी बौद्ध बिश्वबिधालयबाट बुदिजम एण्ड हिमालयन स्टडिजमा स्नातकोक्तर गरेका छन् । उनले तिब्बती भाषाको अध्ययन गर्नुका साथै बौद्ध स्तुपाको बारेमा सोधभर्ना लेखेका थिए । यसका साथै यहाँले हिमाली क्षेत्रको कला, संस्कृति रितिरिवाज आदि बिषयमा कलम चलाउँदै आएका छन् । अर्का लेखक रुद्र बहादुर बस्नेतको टाप्टिङ १० दुधकुण्ड नगरपालिका सोलुखुम्बु, हाल बुढानिलकण्ठ नगरपालिका, कपन वार्ड नं १२, काठमाण्डौं जन्मस्थान हो । बिगत ३० बर्ष देखि पर्यटन ब्यवसायमा संलग्न लेखक रुद्र बस्नेत नेपालको अधिकांश प्रमुख पर्यटकीय क्षेत्रहरुमा पथ प्रदशकको रुपमा पर्यटन क्षेत्रमा संलग्न रहेका छन् । यस क्रममा उनी तिब्बतका साथै भारतको लद्दाख, काश्मिर, झस्कार, लाहुल, स्पिति आदि ठाउहरुमा समेत पुगेका छन् । यी क्षेत्रहरुको भ्रमणले लेखकलाई हिमाली संस्कृति, परम्परा, रितिरिवाज तथा धर्मको बारेमा गहिरो अध्ययन गर्ने अवसर मिल्यो । सोही क्रममा लेखक बस्नेतले लुम्बिनी बौद्ध बिश्वबिधालयबाट बौद्ध धर्म तथा हिमाली अध्यनमा स्नाकोत्तर गरेका छन् । गुरुहरुको प्रेरणाले बौद्ध धर्ममा प्रवेश गरेका लेखक हाल वज्रयान बौद्ध परमपराको गुरुहरुको सामिप्यमा रहि बौद्ध धर्म अभ्यासरत रहेका छन् ।

बाँकेमा गुणस्तरहीन सिलिण्डर बिक्री गर्न रोक

बाँके । बाँकेमा दुई वटा बिक्री वितरण गर्ने ग्यास उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरण गर्न रोक लगाएको छ । पछिल्लोे समय ग्यास पड्किएर घटना घटेपछि सतर्कताका लागि बाँके जिल्लामा रहेका ग्यास उद्योगमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कैफियत भेटिएका सिलिण्डर बजार नपठाउन निर्देशन दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईले बताए । उनकाअनुसार जिल्लास्थित मनकामना ग्यास उद्योगमा ग्यास लिकेज टेस्टिङमेशिनलाई यथाशीघ्र प्रयोगमा ल्याउन र म्याद समाप्त भएका एक सय ६० ग्यास सिलिण्डर, लिकेज, बिग्रेका, कुच्चिएका जोखिमयुक्त ५० सिलिण्डर र तत्काल म्याद सकिन लागेका करिब ५० गरी जम्मा दुई सय १० ग्यास सिलिण्डरलाई बिक्री वितरण नगर्न निर्देशन दिइएको छ । यसैगरि भेरी ग्यास उद्योगमा रहेका म्याद सकिएका करिब ३ हजार सिलिण्डर, लिकेज भएका, कुच्चिएका र बिग्रेका करिब दुई हजार पाँच सय, म्याद सकिन लागेका दुई सय सिलिण्डर बिक्री वितरण नगर्न संयुक्त बजार अनुगमन समितिले निर्देशन दिएको छ । उपभोक्ता हित संरक्षणमा सरोकारवाला सबै सचेत हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष अधिवक्ता वसन्त गौतमले बताए । उनल भने, ‘ज्यान जानेसम्मका दुर्घटना निम्त्याउने, स्वच्छ खाद्यान्न उपलब्धता र प्रयोगको सुनिश्चिततामा सरोकारवाला जिम्मेवार र उपभोक्ता आफै जागरुक हुनुपर्छ, सचेत भइएन भने जोखिमका घटना बढन सक्छन ।’ ग्यास सिलिण्डरका विषयमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले सार्वजनिक महत्वको विषयको रिटमा सुनुवाइ गर्दै यसअघि नै सिलिण्डरको तौल, गुणस्तर जाँच गर्ने तथा मापदण्ड पूरा गर्न निर्देशनात्मक आदेश गरेको अधिवक्ता विश्वजित तिवारीले बताए ।

महाशिवरात्रीमा पशुपति दर्शन गर्नेको गुनासो ‘व्यवस्थापन राम्रो भएन’

काठमाडौं । आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ । आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ । पशुपतिनाथ मन्दिरमा यतिबेला भक्तजनको भीड रहेको । आज बिहानैबाट भक्तजनहरु पशुपतिनाथको पूजा गर्नका लागि लामवद्ध भएर बसेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । आज देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेस्वर महादेव लगायतका शिवालयमा भक्तजनको भीड रहेको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुग्नुभएका भक्तजनहरुलाई व्यवस्थापनमा कुनै कमी नराखेको जनाएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले स्वयंसेवक बाहेकलाई कडाइ गरिएका कारण दर्शनार्थीहरुको लाइन सहज रुपमा अघि बढीरहेको बताए । उनले अहिलेसम्म करिव डेढ लाख दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गरिसकेको बताए । त्यस्तै अर्की एक दर्शनार्थीले पशपतिनाथको दर्शन गर्न सहज भएको बताइन् । त्यस्तै अर्का दर्शनार्थीका अनुसार चारैतिरको बाटोको व्यवस्था भएपनि व्यवस्थापन सहज नदेखिएको बताइन् । त्यस्तै अर्का एक भक्तजनले भने अघिल्ला वर्षको तुलनामा यस वर्ष धेरै नै व्यवस्थापन गरेकाले दर्शन गर्न सहज भएको बताए । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएका थिए ।

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था : सबै ‘पारामिटर नर्मल’

काठमाडौं । ग्यास सिलिण्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ । उनको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो । नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ । डा. धनन्जयका अनुसार अहिले बिहान नेता भण्डारीको सबै पारामिटर नर्मल रहेको उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए । पहिलो शल्यक्रिया गर्दा दायाँ खुट्टामा ‘डिप इन्ज्यूरी’ रहेका कारण सोचेभन्दा धेरै समय लागेको र ‘अब्जरवेसन’ पनि कम्तीमा एक–दुई घण्टा राख्नुपर्ने नियम रहेको कारण दोस्रो सर्जरी गर्न नसकिएको जानकारी डा. मुकेशवाट प्राप्त भएको नेता कँडेलको भनाइ छ । नेता भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनोअक्साइडको मात्रा देखिएको र चिकित्सकको भनाइअनुसार हाल तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्ने बताइएको छ । बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घट्नालगत्तै उनीहरु दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो । नेता भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।

वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने

काठमाडौं । वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए । विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । ‘तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियु) शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ’, उनले भने, ‘अब जलन भएका बिरामीको उपचार गर्नेछौँ ।’ अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डा. पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए। यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल ‘वीर अस्पताल’ को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा. भूपेन्द्र बस्नेतले पाएका थिए । रासस ।

लमजुङको लिपेलेक प्रवर्द्धन गर्दै पर्यटन व्यवसायी र दोर्दी गाउँपालिका

काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाले स्थानीय पर्यटकीय गन्तव्य लिपेलेकलाई प्रवर्द्धन गर्न राउन्ड ट्रेक कार्यक्रम शुरू गरेको छ । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेश समितिसँगको सहकार्यमा गाउँपालिकाले शुक्रबारदेखि राउन्ड ट्रेक शुरू गरेको हो । नौथरशेरा, इलम पोखरी, लिपेलेक, दाम्राङ हुँदै फेरि नौथरशेरा पुग्नेगरि राउन्ड ट्रेक शुरू गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । पर्यटन व्यवसायी, गाउँपालिकाका प्रतिनिधि, पत्रकार एवम् अन्य सरकारी प्रतिनिधि सहित २५ जनाको सहभागीता रहेको सो राउन्ड ट्रेक त्यहाँको पर्यटकीय सम्भावनाबारे समेत अवलोकन तथा अध्ययन अनुसन्धान गर्नेछ । टान गण्डकी अध्यक्ष धर्मराज पन्थी नेपाल माउन्टेरियन एसोसिएसन, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्मा दोर्दी पालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष विक्षबहादुर घले लगायत अन्य पर्यटन व्यवसायी, पत्रकार लगायतको सहभागीता छ । कार्यक्रमको संयोजन टान गण्डकी प्रदेशका उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले गरेका छन् । राउन्ड ट्रेकको पहिलो दिन शुक्रबार इलम पोखरीमा क्याम्पिङ गरेका थिए । आज प्रसिद्ध पर्यटकीय गन्तव्य लिपे लेकमा क्याम्पिङ गरि भोलि दाम्राङ पुग्ने सो टिमको योजना रहेको छ । नयाँ रुटलाई एक्स्प्लोर गर्ने टान गण्डकीको उद्देश्य रहेको छ भने गाउँपालिकाले पनि आफ्नो ठाउँमा भएका पर्यटकीय कुराहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । लिपे लेक हिमालहरूको मनमोहक दृश्य अवलोकनका लागि प्रसिद्ध छ । माछापुच्छ्रे, हिमचुली हिमाल, मनास्लु, गणेश हिमालको अद्भुत दृष्यहरू लिपे लेकबाट देख्न सकिन्छ । साथै काठमाडौंको शिवपुरीसमेत यहाँबाट देख्न सकिन्छ ।

गुल्मी अस्पतालमा हाडजोर्नीको विशेषज्ञ सेवा

गुल्मी । गुल्मीबाटै हाडजोर्नीको विशेषज्ञ डाक्टरबाट बिरामीको उपचार हुन थालेपछि टाढा जानुपर्ने बाध्यता हट्दै गएको छ । हाडजोर्नी तथा नशा रोगको लागि सामान्य समस्या भए पनि पाल्पा, बुटवल र काठमाडौँ जानुपर्ने बाध्यता गुल्मीमा विशेषज्ञ डाक्टर आएपछि हटेको हो । जिल्लाको इस्मा गाउँपालिका–२ हस्तिचौरकी लक्ष्मी बुढाथोकी हाडजोर्नीको उपचारका लागि पटकपटक पाल्पा पुगेको सम्झिन्छिन् । छोराको उपचारका लागि आएकी लक्ष्मी गुल्मीबाटै उपचार भएपछि खुसी छिन् । ‘एकदमै खुसी लागको छ, हाडजोर्नी डाक्टर यही हुनुहुन्छ’, उनले भने, ‘आफ्नै जिल्ला अस्पतालबाट उपचार पाउँदा धेरै सहज भयो ।’ रेसुङ्गा नगरपालिका–१ तम्घासका महाशर्मा भण्डारीको बायाँ हातमा समस्या थियो । उनले यसअघि यस्तो समस्या हुँदा पटकपटक पाल्पा जानुपरेको सुनाए। गुल्मीमै हाडजोर्नीका विशेषज्ञ डाक्टर आएको थाहा पाएपछि भण्डारीले उपचारमा निकै राहत महसुस गरे। ‘पहिले यस्तै समस्या हुँदा अन्यत्र जान्थेँ’, उनले भने, ‘हाडजोर्नीको सबै उपचार यही हुने भएपछि सबैलाई टेवा पुग्यो ।’ अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाट उपचारका लागि आएका गोपाल पाण्डे यसअघि हाडजोर्नीको निरन्तर जाँचका लागि पाल्पा धाउनुपरेको बताउँछन् । पाल्पा र बुटवलमा हुने उपचार तम्घासबाटै हुने भएपछि आफुहरुलाई निकै सहज भएको उनले बताए। ‘अन्यत्र जाँदा धेरै खर्चिलो हुने र सहयोगीलाई गाह्रो हुन्थ्यो’, उनले भने, ‘धेरै सहज भयो, समयको पनि बचत भयो ।’ उनीहरु मात्र होइन, गुल्मी अस्पतालबाट हाल औसतमा दैनिक ६० देखि ७० जना बिरामीले हाडजोर्नीको उपचार गराउँदै आएका छन् । जसमा अधिकांश गुल्मेली र केही अर्घाखाँचीका बिरामीसमेत छन् । प्रत्येक बुधबार हाडजोर्नीका बिरामीको शल्यक्रिया हुँदै आएको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर प्रदीप शिवाकोटीले बताए। ‘नगरपालिकाले प्रोत्साहन गरेपछि जनताले सेवा पाइरहेका छन्’, उनले भने, ‘हाडजोर्नीको समस्याको लागि अब बाहिर जानु पर्दैन् ।’ थप उपकरणको आवश्यक परेको उनले बताएका छन् । गुल्मी अस्पतालमा दरबन्दी भए पनि विशेषज्ञ डाक्टर बस्न नमान्ने समस्या रहेको थियो । जसका कारण हाडजोर्नीको सेवा नहुँदा बिरामीलाई सास्ती भएपछि रेसुङ्गा नगरपालिकाले सहजीकरण गरेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए। सरकारले दिने तलब बराबर थप भत्ता दिएर विशेषज्ञ डाक्टर टिकाएपछि बिरामीलाई सहज भएको नगर प्रमुख पन्थीको भनाइ छ । ‘हाडजोर्नीको सामान्य समस्या हुँदा पनि पाल्पा जानुपर्ने समस्या थियो’, उनले भने, ‘अहिले गुल्मीवासीले आफ्नै ठाउँमा विशेषज्ञ सेवा पाउनुभएको छ ।’ उनले थप विशेषज्ञ सेवा पनि उपलब्ध गराउन सहयोग गर्ने बताएका छन् । रासस ।

युनिग्लोब कलेजमा ‘सातौं योङ साइन्टिस्ट समिट २०२३’ हुँदै

काठमाडौं । नेपाल पोलिमर इन्स्टिच्युट (एनपीआई) र युनिग्लोब स्कुल/कलेजसको संयुक्त आयोजनामा यही फेब्रुअरी १९ र २० तारिख अर्थात आइतबार र सोमबार ‘सातौं योङ साइन्टिस्ट समिट २०२३’ हुने भएको छ । कमलादीस्थित युनिग्लोब कलेजमा हुने सातौं योङ साइन्टिस्ट समिट २०२३ को कार्यतालिका सार्वजनिक भइसकेको छ । जसअनुसार आइतबार बिहान १० बजेदेखि कार्यक्रमको उद्घाटन समारोह सुरु हुनेछ । समिटमा विशेष अतिथिहरुमा इन्जिनियर गणेश शाह, इन्दुविक्रम जोशी, खिलकुमार प्रधान, राष्ट्रिय युवा परिषदका सुरेन्द्र बस्नेत, नास्टका डा।महेश अधिकारी, प्राध्यापक बिनिल अर्याल लगायत सहभागी हुनेछन् । युवाहरुलाई नयाँ खोज तथा आविष्कारका क्षेत्रमा जोडिन उत्प्रेरित गर्ने उद्देश्यले एनपीआईले हरेक वर्ष युवा वैज्ञानिक सम्मेलन आयोजना गर्दै आएको थियो । यस वर्षदेखि एनपीआई र युनिग्लोब कलेजको संयुक्त आयोजनामा सम्मेलन आयोजना गर्ने सहमति अनुसार आइतबार र सोमबार युनिग्लोब कलेजमा समिट आयोजना हुन लागेको हो । ‘सातौं योङ साइन्टिस्ट समिट २०२३’ मा उत्कृष्ट भएका प्रतियोगीले यसै वर्षको सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म मेक्सिकोको सोनोरामा आयोजना हुने एसिया–प्यासिफिक कन्फ्रेन्स अफ योङ साइन्टिस्ट–२०२३ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । सम्मेलनमा विभिन्न ५ वटा विधामा वैज्ञानिकहरुले आफ्नो प्रस्तुति दिन पाउनेछन् । इन्जिनियररिङ एन्ड रोबोटिक, लाइफ साइन्सेस, केमिकल एन्ड इन्भाइरोमेन्टल साइन्स, फिजिकल साइन्स एन्ड म्याथम्याटिक्स र कम्प्युटर साइन्समा प्रतियोगीले पोस्टर, भिडियो क्लिप र मौखिक प्रस्तुतिमार्फत आफ्नो क्षमता प्रस्तुत गर्नुपर्नेछ । सम्मेलनमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुले भाग लिन पाउने आयोजकले जनाएको छ । सोमबार साँझ साढे ४ बजे कार्यक्रमको समापन समारोह हुने कलेजले जनाएको छ ।