महाशिवरात्रीमा पशुपतिको ढोका बिहान ३ बजेदेखि नै खुला हुने, पार्किङको पनि व्यवस्था
काठमाडौं । महाशिवरात्रीका लागि सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वका लागि सबै तयारी पूरा भएको जनाएको हो । आज शुक्रबार कोषका कोषाध्यक्ष नारायण सुवेदीले शिवरात्रीको लागि सबै तयारी पूरा भइसकेको बताए । उनले महाशिवरात्री भक्तजनलाई पूजा आराधनाको लागि शनिवार बिहान ३ बजेदेखि ४ वटै ढोका खुला गर्ने बताए । उनले वृद्धवृद्धाका लागि लाइनमा बस्नु नपर्ने व्यवस्था मिलाएको र एक जना आफन्तले वृद्धवृद्धालाई मन्दिरमा दर्शनका लागि लैजान पाउने व्यवस्था गरेको पनि बताए । पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मुल शिविर रहनेछ । मुल शिविरसँगै खोजखबर कक्षको व्यवस्थापन गरिनेछ । मेला क्षेत्र र दर्शनमार्गलाई लक्षित गरी सिसि क्यामेराको जडान गर्ने, दर्शनमार्गमा ब्यारिकेड जडान लगायतको कार्यमा र मन्दिरभित्र भीड व्यवस्थापनको लागि नेपाली सेनाको विशेष सहयोग हुनेछ । मन्दिर परिसरमा स्वयंसेवकका लागि नेपाल स्काउट लगायतका ४ हजार स्वयंसेवकहरु रहनेछन् । पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितिको नेपाली सेनाको मुल स्वास्थ्इ शिविर रहनेछ भने सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतका गरी करिव ५० वटा स्वास्थ्य शिविर रहेनछन् । आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन उपलब्ध हुनेछ । त्यस्तै जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शन्मार्ग १, भुवनेश्वरी नजिक शंकराचार्य मठ पछाडि १, बज्रघर दक्षिणतर्फ १, राममन्दिर नजिक वागमती पारी १ गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ । त्यस्तै चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयवागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगंगामा समेत रहनेछ । त्यस्तै कोषले प्लाष्टिक, काँच, सिसा जस्ता फुट्ने प्रकृतिको कप प्लेट र सामग्रीहरुको प्रयोगमा रोक लगाएको छ । दर्शन मार्गको रुपमा गुह्वेश्वरी-गौरीघाट, उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट-१ लाइन, मित्रपार्क-जयवागेश्वरी-इंटापाखा भएर भुवनेश्वरीस्थ्ति फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट-१ लाइन, बत्तिसपुतली-गौशाला, एयरपोर्ट-तिलगंगा भएर पिंगलास्थान-सुमार्गी भवन अघिबाट चार शिवालय-पञ्चदेवल हुँदै दक्षिण ढोकाबाठ १ प्लस १ लाइन गरी बाहिरी रुपमा तीन स्थानबाट दर्शन लाइनहरु रहनेछन् । तिलगंगा राममन्दिरतर्फ समेत आवश्यक्ता अनुसार एक लाइन हुनेछ भने नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था हुनेछ । त्यस्तै पार्किङ तथा ट्राफिक व्यवस्थापनको लागि तिलगंगा कोरिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको छ । त्यस्तै एयरपोर्ट, गौशाला, चाबहिलको रिङरोडमा यात्रुहरुको चापलाई ध्यानमा राखि सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यक्ता अनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइनेछ । सडक छेउमा फुटपाथका कुनैपनि पसल राख्न नदिने कोषले जनाएको छ । कोषले मन्दिर परिसरमा मांस, मदिरा तथा कुनैपनि प्रकारका नशालुपदार्थ निषेधित क्षेत्र भएकाले गाँजा, भाङ, जाँडरक्सी जस्ता पदार्थहरुको बिक्रीवितरण, ओसारपसार, भण्डारण एवं सेवन नगर्न आग्रह गरेको छ । कोषले यस पटकको महासवशरात्रीमा करिव २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अभिलाषा राखेको छ ।
गैर राजनीतिक व्यक्ति राष्ट्रपति हुँदैन, राजनीतिक रङ छुट्टिएको मान्छे चाहिन्छ : सचिव आचार्य
नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले राष्ट्रपतिको उम्मेदवारको विषयमा व्यक्ति किटेरै छलफल गर्नुपर्ने बताएका छन् । सचिव आचार्यले राष्ट्रपतिको पद राजनीतिक दललाई ठेक्कापट्टा दिने विषय नभएको बताएका हुन् । उनले मुख्यमन्त्री र मन्त्रीहरु दलमा भागबन्डा गरेर जसलाई ल्याउनुहुन्छ ल्याउनुस् भनेको जस्तो राष्ट्रपतिको सन्दर्भमा गर्नु नहुने बताए । जुनसुकै दलबाट राष्ट्रपतिको उम्मेदवार हुने भएपनि सम्भावित नामको बारेमा छलफल हुनुपर्ने उनको भनाई छ । उनले जो कोहीलाई राष्ट्रपति बनाउन नसकिने बताए । राष्ट्रिय सहमतिलाई जोगाएर लैजानसक्ने र राष्ट्रपति पदको गरिमा राख्नसक्ने ल्याकत भएको मान्छेलाई मात्र राष्ट्रपति बनाउन सकिने उनको भनाइ छ । प्रस्तुत छ राष्ट्रपति निर्वाचनको सम्बन्धमा नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानी : तपाईंहरुले राष्ट्रपतिको लागि राष्ट्रिय सहमतिको नारा लगाइरहनुभएको छ, खासमा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने ? कसरी अगाडी बढ्ने बारे सोचेको छ पार्टीले ? उम्मेदवारको बारेमा त कुनैपनि पार्टीले आफ्नो पोजिसन क्लियर गरेका छैनन् । र हाम्रो पनि क्लियर छैन । तर हामीले जुन राष्ट्रिय सहमति भनेका छौं यो कसैलाई उँधो पार्नको निम्ति, कसैलाई उँभो पार्नको निम्ति या कुनै निश्चित स्वार्थ लिनको निम्ति होइनकी हामीले राष्ट्रिय सहमति भनेको सबै दलको सहमतिमा राष्ट्रपति निर्वाचन गरेर जाऔँ । विगतका राष्ट्रपतिहरु दलप्रति अलि बढी बफादार भएको देखियो । दलका कार्यकर्ताको अवस्था देखियो । चाहे रामवरण यादवको कुरा गरौं । प्रधानसेनापती काण्डमा जुन तरिका अपनाउनुभयो उहाँले । सरकारको निर्णय मान्नुभएन । अहिलेको राष्ट्रपतिको सन्दर्भमा दुईवटा घटनामा उहाँले त्यस्तो अपचता अपनाउनु भयो । पार्टीबाट के निर्देशन आउँछ राष्ट्रपतिले त्यो लागू गर्ने होइन । राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति निर्वाचन गर्नुपर्छ । राष्ट्रपति निर्वाचित भइसकेपछि उसले राष्ट्रिय जिम्मेवारी पूरा गर्नुपर्छ । कुनै दल विशेषको होइन । हामीले राष्ट्रिय सहमति भनेको एमाले नभएर काँग्रेस, काँग्रेस नभएर एमाले । वा एमालेलाई तल्लो दर्जाको देखाउन खोजेको । या सहमति भाँड्न खोजेको होइन । हामीले राष्ट्रिय सहमति किन खोजेका हौँ भने कमसेकम राष्ट्रपतिमा सहमति भयो र कमसेकम प्रधानमन्त्रीको विश्वासको मतको समयमा जुन विश्वास प्रकट भएको छ सदनभित्र, त्यो एकठाउँ रहिराख्यो भने हामी यो राजनीतिक खिचातानीको अवस्थाबाट सके पाँच वर्ष नसके दुई, अढाइ वर्ष अलग हुन्छौँ । केपी ओलीले हामी सत्तारुढ गठबन्धन हौं, एमालेको उम्मेदवार हामी उठाउछौं, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ भनिरहनुभएको छ, तपाईंहरु एमालेले उठाएको उम्मेदवारलाई नै राष्ट्रिय सहमतिको उम्मेदवार बनाउन किन तयार नहुनुभएको ? एमालेकोमा राष्ट्रिय सहमति हुँदै हुन्न भन्ने त होइन । पहिले एमालेले पत्ता खोल्नुपर्यो कि को हो उहाँको राष्ट्रिय सहमतिको उम्मेदवार ? फेरि अर्को के छ भने शक्ति सन्तुलनको हिसावले पनि के देखिन्छ भने एमाले, हामी सरकारमा छौं प्रदेश र संघमै । यो बेलामा एमाले वा माओवादीको उम्मेदवारमा कति राष्ट्रिय सहमति होला ? या काँग्रेसभित्रबाट होला ? हाम्रो कुरा के हो भन्दाखेरी एमाले हुन्न भन्ने होइन । एमाले पनि हुन सक्छ । तर राष्ट्रिय सहमतिको । प्रयास कसरी भइराखेको छ ? भित्रि तहमा विभिन्न नामको अड्कलबाजी भइराखेको छ । केही स्वतन्त्र मान्छेहरु । केही पूर्व ठूलो पदमा बसेका मान्छेहरु । केही राजनीतिक दलभित्रका नेताहरुको बारेमा अघोषित चर्चा त भइराखेको छ । तर घोषित रुपले कुनैपनि दलले हाम्रो उम्मेदवार यो हो भनेर भनेको अवस्था छैन । अब त धेरै समय छैन । १०/११ गतेसम्म व्यक्तिको नाम बाहिर आइहाल्ला । तपाईंहरुको भित्रि चाहना शक्ति सन्तुलन मिलाउन पनि काँग्रेसको उम्मेदवार भए राम्रो भन्ने हो ? काँग्रेसको उम्मेदवार भए राम्रो भन्दापनि काँग्रेसलाई पनि स्वीकार्य हुने मान्छे । अझ हाम्रो कुरा त के हो भने काँग्रेसलाई पनि स्वीकार्य हुने । एमालेलाई पनि स्वीकार्य हुने । हामीलाई पनि स्वीकार्य हुने । अरु देशका जतिपनि राजनीतिक पार्टीहरु छन् । ति सबैलाई स्वीकार्य हुने । सदन भित्र र सदन बाहिर जति छन् सबैलाई स्वीकार हुने आम समाजले एउटा राम्रै मान्छे ल्याए राम्रै भुमिका खेल्ला । राष्ट्रपतिको गरिमा जोगाउँला भन्ने ठाउँमा त्यो आशा जागृत गर्ने । जस्तो राष्ट्रपतिलाई पनि मुछेर गतकालमा सडकमै संघर्ष हुने, ठूलाठूला आन्दोलन हुने । नेपाल बन्द हुने । जुन मुद्दाहरु उठेका छन् । त्यो मुद्दाभन्दा माथि राष्ट्रपतिले आफ्नो अभिभावकिय भुमिका खेल्ने तहको व्यक्तित्व आओस् । त्यसो भए राजनीतिक कि गैरराजनीतिक त ? यसमा पार्टीभित्र त छलफल भएको छैन । मेरो कुरा के छ भने रङ क्लियर भएको मान्छे चाहिन्छ । रङ नै नछुट्टिएको मान्छे ल्याउनुभयो भने अहिले हामीले राजनीतिक पार्टीका मान्छेलाई बेठिक त भन्छौँ, तर जसको रङ नै छुट्टिएको छैन त्यसले आज राजनीतिक पार्टीको मान्छेले भन्दा झन बेसी बद्मासी गर्ने, राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा साँठगाँठ गर्ने, देशलाई योभन्दा पछाडी लैजान षड्यन्त्र गर्ने, त्यसमा प्रयोग हुने पनि त सम्भावना हुने भयो नि । त्यसो हुँदा राजनीतिक रुपमा रङ छुट्टिएको । रङ कस्तो हुन्छ त्यसमा चिन्ता नगरौँ । तर कमसेकम राजनीतिक रुपले उसको अडान, सिद्धान्त, उसको राजनीति, उसको समग्र आस्था यो हो भनेर चिनिने मान्छे चाहियो । त्योभन्दा बाहिरको मान्छेको झन खतरनाक हुन्छ भन्ने कुरा छ मेरो त । मानौँ राष्ट्रपतिमा राष्ट्रिय सहमति बनेन, एमालेले पनि उम्मेदवार उठाउने भयो, काँग्रेसले पनि उम्मेदवार उठाउने भयो, माओवादी केन्द्रको समर्थन कसलाई हो ? पहिले त उहाँहरुले उम्मेदवार उठाउनुपर्यो । नामको चर्चा नै गर्नुभएको छैन । मलाई के लाग्छ भन्दाखेरी यो सबै हुँदाहुँदै पनि ठूलो कटाक्षजस्तो । एमाले र माओवादीका बीचमा राष्ट्रपतिको सन्दर्भलाई लिएर ठूलै झगडाजस्तो । दिनदिनै मिडियामा भरिभराउ । दिनमा बिसौँ जनाले यसको अर्थ लगाइराखेको । विभिन्न टेलिभिजनमा विज्ञ, विशेषज्ञ भनेर चिनिएका साथीहरुले पनि यसमा बोलिराखेको । ठूलो बहस भएको छ यसमा । तर मलाई के लाग्छ भने अन्ततः राष्ट्रिय सहमति नै हुन्छ । एमाले पनि एउटा समझदारीमा आउँछ । हामीले कुनै व्यक्ति विशेषलाई, दल विशेषलाई केन्द्रमा राखेर यो कुरा गरिराखेका छैनौँ । राष्ट्रको आजको आवश्यकता के हो भन्दाखेरी प्रधानमन्त्रीको विश्वासको मतमा जुन ९९ प्रतिशत भन्दा ठूलो मत एक ठाउँमा देखापरेको छ । यसलाई एकठाउँमै लिएर पाँच वर्ष जानुपर्छ र यसपछिका राजनीतिक मुद्दा राष्ट्रपति, प्रदेशमा सरकार कस्को ? विश्वास, अविश्वास, सरकार ढाल्ने यो सबै खिचडी हामीले विगत ३० वर्षदेखि व्यहोर्दै आएका छौँ । त्यसभन्दा माथि हामीले देशका मुद्दाहरुलाई प्रधानता दिने ठाउँमा लैजानुपर्छ र त्यसकारण राष्ट्रिय सहमतिको आवश्यकता छ । मैले के देख्छु भने राष्ट्रिय सहमतिका लागि अन्ततः काँग्रेस पनि सहमत हुन्छ । एमाले पनि सहमत हुन्छ । एमाले र काँग्रेसले एक अर्काको पोल्टामा राष्ट्रपतिको पद जान नदिने परिस्थिति बन्ने देखिन्छ, त्यसो हुँदा माओवादी केन्द्र अन्य राजनीतिक दलहरुको विकल्पमा जान तयार छ कि छैन ? विकल्पमा जान तयार नहुने कुरा त भएन । तर व्यक्तिको प्रस्ताव आउनुपर्यो । व्यक्ति को हो भन्नेकुरा आउनुपर्यो । किनभने राष्ट्रपति दललाई ठेक्कापट्टा दिने विषय होइन । तपाईको दलको राष्ट्रपति भयो तपाईले जसलाई ल्याउनुहुन्छ, जस्तोकी मन्त्रीमा हुन्छ वा मुख्यमन्त्रीमा हुन्छ । तपाईको दलको मुख्यमन्त्री हो तपाईले कसलाई ल्याउनुहुन्छ ल्याउनुस् भनेर छोडिदिने जुन कुरा हुन्छ राष्ट्रपतिमा त्यसरी छोडिदिनु हुन्न । काँग्रेस, एमालेकै हुन्छ भनेपनि, साना दलबाट हुन्छ भनेपनि, माओवादीबाट हुन्छ भनेपनि, या बाहिरबाट हुन्छ भनेपनि ति सम्भावित नामको बारेमा फेरि सबैको बीचमा छलफल हुनुपर्छ । त्यो छलफलमा यत्तिको मान्छेले राष्ट्रिय सहमति जोगाएर लान सक्ला, सबैको गरिमा जोगाएर लान सक्ला । एमालेकै राष्ट्रपति भएपनि हिजोकै घटनाहरु नदोहोरिएलान् । काँग्रेस, माओवादी वा अन्य दललाई ठेस पुग्ने गरी कुनै काम नहोला । कांँग्रेसको भएपनि, माओवादीको भएपनि त्यो सबै गरिमालाई जोगाएर लाने यत्तिको मान्छेले ल्याकत राख्छ भन्ने कुरा हुँदाखेरी राष्ट्रिय सहमती हुनेकुरा भयो । फलानो दलको राष्ट्रपति, फलानो दलको उपराष्ट्रपति भनेर बाँड्ने विषय होइन । यो विषय राष्ट्रिय गौरव, राष्ट्रिय स्वाभिमानको विषय हो । समग्र संविधानको संरक्षणको विषय हो । देशलाई अगाडी लैजानेकि पछाडी लैजाने भन्ने विषय हो । राष्ट्रपतिले सानो गल्ती गर्दा ६ महिनासम्म देशमा आन्दोलन भइरहन सक्छ । हिजो हामीले बेहोरेका छौँ । त्यसो हुँदा राष्ट्रपतिले अभिभावकिय भुमिका खेल्ने ल्याकत राख्ने मान्छे आउँदाखेरी काँग्रेसको हुन्छ एमालेको हुन्न, एमालेको हुन्छ काँग्रेसको हुन्न । माओवादीले त्यसो भनेको छैन । व्यक्तिको हाइट चाहियो । राष्ट्रिय सहमतिलाई जोगाएर लाने र आजको परिवर्तनका मुद्दाहरुलाई एक पाइला अगाडी लैजाने जिम्मेवारीका साथ आउनसक्ने र राष्ट्रले पत्याएको मान्छे हुनुपर्यो । सत्तारुढ गठबन्धन धर्मराएको हो ? धर्मराइहालेको त होइन । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको बीचमा कटाक्ष भएको, वैमनुस्यता कायम भएको कुरा होइन । छलफल, बहस गम्भिरताका साथ भएको छ । त्यो नै आशाको बिन्दु के हो भने हामी राष्ट्रिय सहमतिमा जानसक्छौँ । पछिल्लो समयमा ति सिम्टोमहरु देखिन थालेका छन् । एमाले र काँग्रेसको राष्ट्रपतिमा उम्मेदवार फरक-फरक भयो भने त्यस्तो अवस्थामा एमाले-माओवादी केन्द्रको गठबन्धन टुट्छ की टुट्दैन ? राष्ट्रपतिमा फरक-फरक उम्मेदवार भयो । कथम् कदाचित एमालेको उम्मेदवार हार्यो । अर्को कुनै एउटा राष्ट्रिय सहमति भनिएको वा बाहिरबाट ल्याइएको उम्मेदवारले जित्यो । त्यस्तो तहमा पनि माओवादी र एमालेको गठबन्धन टुट्दैन । किनभने यो गठबन्धन तोड्नपनि हुन्न । वामपन्थी जनमतलाई बलियो बनाएर देशलाई यो भन्दा चार पाइला अगाडी लैजाने हो भने देशका समस्याहरुलाई निकास दिइयो भनेदेखि बलियो वामपन्थी सरकार देशको आवश्यकता हो नि । यो कुरा एमालेका साथीहरुले पनि राम्रोसँग बुझ्नुभएको छ । हामीले पनि बुझेका छौँ । एमालेसँग बलियो जनमत छ त्यो कुरा हामीले बुझेका छौँ । राजनीतिक रुपले अलि तिखो माओवादी छ । यो कुरा पनि देशले बुझेको कुरा हो । यो दुईवटा कुरालाई मिलाएर लान सक्दाखेरी नेपाली जनताको दुःख, दर्द, पीर, मर्का, अभाव, गरिबीलाई हामी निर्मुल पारेर देशलाई सम्पन्न, समृद्धशालि देश निर्माण गर्न सकौँला । त्यसको निम्ति पनि वामपन्थीहरुका बीचमा एकता आवश्यक छ र अहिले राष्ट्रपतिमा तलमाथि हुन बित्तिकै एमालेले भनेजस्तो भएन भने या माओवादीले भनेजस्तो भएन भने पनि यो सरकार तलमाथि हुन्न । सरकार निरन्तर रुपले यही रुपमा चलिरहन्छ । राष्ट्रपतिमा कथम् कदाचित एमालेले भनेको जस्तो भएन भनेपनि या माओवादीले जस्तो भएन भनेपनि यो गठबन्धन टुट्दैन । टुट्नु हुँदैन । यसलाई अझ दिगो, फराकिलो र कसिलो बनाएर अगाडी लैजानुपर्छ ।
बगर खेतीमा रमाउँदै कैलालीका किसान, मासिक ५० हजार आम्दानी
काठमाडौं । कैलालीको धनगढी उपमहागनरपालिका–१० की प्रमिला बखरिया बगरखेतीमा व्यस्त छिन् । हिउँदे मौसममा उनको समय बगरमै बित्छ । ‘बाह्रै महिना बगरमा खेती हुँदैन, हिउँदमा मात्रै हुने गर्छ’, उनले भने, ‘यसमा समयअनुसारको सबै तरकारी लगाउने गरेका छौँ ।’ उनले बारीमा काँक्रा, लौका, फर्सी, करेला, प्याज, खरबुजा, खुर्सानीलगायतका तरकारी उत्पादन गर्दै आएकी छन् । हिउँदमा नदीको क्षेत्रफल साँघुरिने हुँदा बचेको बगरमा नै किसान तरकारी एवं विभिन्न किसिमका हिउँदे बाली लगाउने गर्छन् । कम खर्चमा राम्रो उत्पादन हुने भएकाले सदुपयोग हुन नसकेको बगरलाई बारीमा परिणत गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । धनगढी उपमहागनरपालिका–१० जुगेडाका भग्गु राना पनि तीन वर्षदेखि बगर खेती गर्दै आइरहेका छन् । उनले बारीमा काँक्रा, लौका, फर्सी, करेला, प्याज, खरबुजा, खुर्सानी, तरबुजालगायतका तरकारी उत्पादन गर्दै आएकी छिन् । ‘बगरमा हुने सबैखाले तरकारी लगाएका छौँ, कमखर्चमा राम्रो उत्पादन हुन्छ’, उनले भने । कुनै समय धान तथा गहुँ फल्ने जमिनलाई नदीले धार परिवर्तन गर्दै बगर बनाइदिएपछि त्यसैमा हिउँदे बाली लगाएर किसानले सदुपयोग गरिरहेका हुन् । धनगढीकै जुगेडाकै माया रानाले पनि सात वर्षदेखि बगर खेती गर्दै आएकी छन् । ‘मोहनाले खेत सबै बगाएपछि धान रोप्न पाएनौँ वर्षौंदेखि बाँझो रहेको बगरमा तरकारी लगाउने गरेका छौँ’, उनल भनिन्, ‘आम्दानी राम्रै भइरहेको छ ।’ नेपाल–भारत सिमाना हुँदै बग्ने मोहना नदीले हरेक वर्ष कैलालीका किसानको खेतीयोग्य जमिन कटान गर्दै बगरमा परिणत गरिदिन्छ । नदीले धार परिवर्तन गर्दै नेपालतिरको जमिन कटान गर्दै जाँदा नम्बरी जमिन पनि नदी पारीसम्म पुग्छ । बगर बनेको जमिन बाह्रै महिना प्रयोग गर्न नपाए पनि किसान यो समयमा भने बगरलाई तरकारी बाली लगाएर हरियाली बनाउँछन् । जसले उनीहरूलाई केही राहत दिन्छ । किसान बगरखेतीबाट मासिक ३० देखि ५० हजारसम्म कमाउने गरेको बताउँछन् । किसानले बगरमा फलाएको तरकारी धनगढीको हाट बजारलगायत कैलालीका विभिन्न क्षेत्रमा पुग्ने गरेको छ । बजारको कुनै समस्या नरहेको किसानको भनाइ छ । बगरमा विगतमा आफ्नो जमिन भएका मात्रै नभई अन्य किसानले पनि भाडामा लिएर पनि तरकारी उत्पादन गरिरहेका छन् । जुगेडाकै अनारकली रानाले पनि जमिन भाडामा लिएर १० वर्षदेखि तरकारी फलाउँदै आएका छन् । छोटो समयमै हुने उत्पादनमा राम्रो प्रतिफल प्राप्त हुने हुँदा पछिल्लो समय बगर खेतीमा किसानको आकर्षण बढ्दै गइरहेको छ । ‘जग्गावालालाई केही रकम र उत्पादन भएको तरकारी दिन्छौँ’, उनले भने । ‘उनीहरूले हामीलाई सहजै आफ्नो जमिन दिन्छन् ।’ बगरमा तरकारी लगाउन र हेर्नलाई समस्या हुनेहुँदा सबैले यो खेती गर्दैनन् । तर केहीले बगरमै साना टहरा बनाएर यसमा काम गरिरहेका छन् । विगतमा सीमा क्षेत्रका नदी किनारका बगरखेतीमा विशेष गरेर भारतीय किसानले तरकारी खेती गर्दै आएका थिए । अहिले नेपाली पनि बगर खेतीमा आकर्षित हुँदै जाँदा भारतीय विस्थापित हुन थालेका छन् । रासस
इन्जा फोटो पत्रकारिता पुरस्कार नरेन्द्र र सुरेशकुमार श्रेष्ठलाई
काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा)ले यस बर्ष देखि शुरु गरेको इन्जा फोटो पत्रकारिता पुरस्कार लामो समयदेखि कार्यरत २ जना फोटो पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ । फोटो पत्रकारिताको माध्यमद्धारा नेपाली समाज तथा आम नागरिकलाई सुसूचित गराउदै आएका बरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ र सुरेशकुमार श्रेष्ठ ( सुरज श्रेष्ठ)लाई प्रदान गर्ने निर्णय गरेको इन्जा ग्लोवलका अध्यक्ष गुणराज लुइटेलले जानकारी दिए । बिस २०५२ सालदेखि नेपाल समाचारपत्रबाट फोटो पत्रकारिता शुरु गर्नु भएका नरेन्द्र श्रेष्ठले कान्तिपुर पव्लिकेस, लस एन्जलस टाइम्स, न्यूर्योक टाइम्स, टाइम्स म्यागजिन,गार्डियन डेली, टेलिग्राफ युके, इन्डिपेन्डेन्ट युके, फाइनान्सियल टाइम्स, वालस्ट्रीट जर्नल,द टाइम्स लण्डन,डाइ वेल्ट,नेशनल ज्योग्राफी, वाशिंगटन पोष्ट लगायतका संचार माध्यममा काम गरी सकेका छन् । त्यसै गरी पुरस्कृत हुने अर्का फोटो पत्रकार सुरेशकुमार श्रेष्ठ( सुरज श्रेष्ठ) ले पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिदै आएका छन् । २०६२ सालबाट फोटो पत्रकारितमा संलग्न रहेका श्रेष्ठ विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेर सामाजिक क्षेत्रमा समेत आफ्नो पहिचान बनाउन भएका हुन् । ५०– ५० हजार राशीको उक्त पुरस्कार नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा) को स्थापना दिवस मार्च १ अर्थात फागुन १७ गते प्रदान गरिने भएको छ ।
कृषि विकास बैंकको सीईओ बन्न टीयू टपरदेखि विदेशी बैंकको सीईओसम्मको प्रतिस्पर्धा
काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) लागि ५ जनाको नाम सर्टलिष्ट गरिएको छ । बैंकको सीईओ छनोट समितिको बिहीबार बसेको बैठकले सीईओका लागि ५ जनाको नाम सिफारिस गरेको हो । बैंकको सीईओ पदका लागि सिभिल बैंकका पूर्व सीईओ गोविन्द गुरुङ, कृषि विकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, कृषि विकास बैंकका कायम मुकायम (कामु) नायव महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका चिफ रिस्क एण्ड कम्प्लायन्स अफिसर विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्रि कुमार गुरागाईंको नाम सर्ट लिष्ट गरिएको कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिए । उनका अनुसार योग्यता र अनुभव प्राप्त व्यक्तिलाई आवेदनका आधारमा ५ जनाको नाम छनोट गरेर सिफारिस गरिएको हो । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्य योजनाको मूल्याङ्कनको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका बोलाएको छ । प्रस्तुतीकरण र अन्तरवार्ताका लागि शनिवार बैंकको केन्द्रिय कार्यालयमा बोलाइएको छ । बैंकका अनुसार छनौट भएका उम्मेदवारहरुमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तरवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओको लागि सिफारिस गरिनेछ । कृषि विकास बैंकको सीईओ बन्नका लागि सिभिल बैंकका पूर्व सीईओसमेत रहेका गोविन्द गुरुङ अब्बल दावेदारका रुपमा उभिएका छन् । सीईओ छनोट समितिले गुरुङलाई ५ जनाको सर्ट लिष्टिङ्गमा पहिलो नम्बरमा राखेको छ । उनीसँग बैंकिङ्ग क्षेत्रमा करिव २६ वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् । उनले हिमालयन बैंकमा साढे १० वर्ष काम गरेका थिए । त्यसपछि उनी ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरे । ग्लोबल आइएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि उनी नायव महाप्रबन्धक पदमा मेगा बैंक प्रवेश गरेका थिए । उनले उक्त बैंकमा साढे २ वर्ष काम गरे । त्यसपछि उनी सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सीईओ भए । गुरुङ सोही बैंकको सीईओ समेत बने । विदेशी बैंकमा समेत काम गरेको अनुभव भएका गुरुङले ४ वर्ष ३ महिना सिभिल बैंकमा सीईओ भएर काम गरे । सिभिल बैंक छाडेर उनी विदेशी बैंकमा काम गर्न गए । म्यानमारको सिटिजन्स बैंकमा सीईओ भएर डेढ वर्ष काम गरेपछि उनी पुनः स्वेदशी बैंकमा प्रवेश गर्न खोजिरहेका हुन् । विदेशी बैंकको सीईओ बन्ने गुरुङ पहिलो नेपाली नागरिक हुन् । उनले कमजोर अवस्थामा रहेको सिभिल बैंकलाई पुराना र अब्बल भनिएका बैंकसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुर्याएका थिए । हाल कृषि विकास बैंकको कामु सीईओ रहेका प्रताप सुवेदी सीईओ बन्न दौडधुप गरिरहेका छन् । बैंकका पूर्व सीईओ अनिल कुमार उपाध्यायको कार्यकाल सकिएपछि वरियता अनुसार सुवेदी कामु सीईओ बनेका हुन् । सुवेदी बैंकको भावि सीईओ बन्नका लागि दौडधुप गरिरहेका छन् । उनी बैंककाे सीईओ बन्न प्रबल दावेदार हुन् । उनी कृषि विकास बैंकको वरिष्ठ नायव महाप्रबन्धक समेत हुन् । बद्रि कुमार गुरागाईं राष्ट्रिय सहकारी बैंकको सीईओ पदमा कार्यरत छन् । पहिलो कार्यकाल सकिएपछि उनी दोस्रो पटक सहकारी बैंकको सीईओ बनेका हुन् । उनी २०७५ पुसमा सहकारी बैंकको सीईओमा नियुक्त भएका थिए । त्यसअघि उनी नायव महाप्रवन्धक थिए । बैंकिङ्ग क्षेत्रमा २ दशक जति काम गरेका गुरागाईं चार्टर्ड एकाउण्टेट पनि हुन् । भारतबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका गुरागाईंले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनले यसअघि नेपाल बचत तथा ऋण सहकारीको प्रमुख कार्यकारी अधिकृत, अन्तर्राष्ट्रिय परिवार नियोजन संघ एसिया प्रसान्तको वरिष्ठ आर्थिक सल्लाहकार लगायतका संस्थामा काम गरेका छन् । उनी हाल सामाजिक सुरक्षा कोषको सल्लाहकार समेत हुन् । गुरागाईं सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने व्यक्तिका रुपमा समेत चिनिन्छन् । कृषि विकास बैंकका कामु नायव महाप्रवन्धक यज्ञ प्रकाश न्यौपानेले वि.सं. २०५५ सालको अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा त्रिभुवन विश्व विद्यालय टप गरेका थिए । विश्व विद्यालय टप गरेपछि उनले सोही विश्वविद्यालयमा स्नातकोत्तर तहका विद्यार्थीहरुलाई अर्थशास्त्र अध्यापन गराए । डेढ वर्ष त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेका न्यौपाने २०५६ साल मंसिर २२ गते कृषि विकास बैंकमा अर्थशास्त्रीको रुपमा प्रवेश गरेका हुन् । वित्त व्यवस्थापनमा विशेष दख्खल राख्ने उनीसँग बैंकिङ्ग क्षेत्रमा २३ वर्ष काम गरेको अनुभव छ । उनले बैंकमा शाखा प्रमुख र विभागीय प्रमुख भएर काम गरेका छन् । हाल कामु महाप्रवन्धक पदमा कार्यरत उनीसँग बैंकको सञ्चालन, सूचना प्रविधि विभागमा समेत काम गरेको अनुभव छ । कृषि विकास बैंकलाई डिजिटलाइज गरेको श्रेय उनलाई जान्छ । उनको जन्मस्थान दाङ भएपनि हाल काठमाडौंको टोखा नगरपालिका ६ मा बस्छन् । उनले ह्युमन एण्ड नेचुरल रिसोर्स म्यानेजमेन्ट विषयमा काठमाडौं विश्व विद्यालयबाट स्नातकोत्तर समेत गरेका छन् । सीईओको रेसमा रहेका विष्णु देव यादव नेपाल एसबिआई बैंकमा २६ वर्षदेखि काम गर्दै आएका छन् । उनले सोही बैंकबाट नै आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् । बैंकिङ्ग क्षेत्रमा २६ वर्षको अनुभव हासिल गरेका उनीसँग कर्पाेरेट बैंकिङ्ग, ट्रेड फाइनान्स र रिकभरीमा राम्रो अनुभव छ । पछिल्लो साढे ३ वर्ष उनले रिष्क र कम्प्लायन्सको जिम्मेवारी वहन गर्दै आएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए र एमएस्सी गरेका छन् । उनको स्थायी घर महोत्तरी गौसाला नगरपालिका ११ मा हो भने हाल ललितपुरको भैँसेपाटीमा बस्दै आएका छन् । यी ५ जनामध्ये एक जना सीईओ बन्नेछन् । बैंकको सीईओ बन्नेलाई ठूलो चुनौति पनि खेप्नु पर्नेछ । कृषि विकास बैंकको खराब कर्जादर ४.५२ प्रतिशत पुगेको छ । जुन बैंकिङ्ग क्षेत्रकै सबैभन्दा धेरै हो । भावि सीईओको पहिलो प्राथमिकता खराब कर्जा घटाउनु पर्नेछ । बैंकको खराब कर्जालाई शुन्यमा झार्नुपर्ने अबको सीईओको पहिलो प्राथमिकता हुनेछ । यस्तै, चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १२ करोड ८९ लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ । ऋणात्मक भएको बैंकलाई नाफामा ल्याउनु पर्ने अर्काे चुनौति अब बन्ने सीईओलाई हुनेछ । पछिल्लो समय बैंकको लाभांश दर पनि घट्दै गएको छ । बैंकले यसपटक हालसम्मकै न्यून लाभांश वितरण गरेको छ । जसले गर्दा सेयरधनीहरुको आकर्षणको बैंकका रुपमा उभ्याउनुपर्ने सीईओले ठूलो योगदान गर्नुपर्ने देखिन्छ । सरकारी बैंक भएका कारण कर्मचारीको क्षमता अन्य बैंकको भन्दा कमजोर रहेको केही बैंकर्सहरु बताउँछन् । भावी सीईओले कर्मचारीको क्षमता अभिवृद्धि हुने किसिमले काम गर्नु पर्नेछ । साथै ग्राहकको चाहना अनुसार बैंकले नयाँ-नयाँ प्रडक्ट डिजाइन गर्नुपर्ने सीईओका चुनौति छन् । यस्तै, नियामक निकायका नीति निर्देशन परिपालना गरेर दीगो प्रतिस्पर्धी बैंकको रुपमा उभ्याउनु पर्नेछ ।
संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
काठमाडौं । सरकारले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिएको छ । फागुन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । शुक्रवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ लाई १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा पेस गर्नेगरी फिर्ता लिएको जानकारी दिइन् । यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मण्डन देउपुर ६, बेथानचोक २, लिखु ४, रघुगंगा २, तातोपानी ४, रिद्धिकोट ३, रुरु क्षेत्र ४ र अपि हिमाल ४ गरी जम्मा ८ वटा स्थानमा औद्योगिक ग्राम स्थापना गर्न स्वीकृति दिने, बर्ड फ्लु रोगको नियन्त्रणका क्रममा आ.व. २०७९ मा प्रचलित कानून बमोजिम नष्ट गरिएको वस्तुहरूको लागि राहत प्रदान गर्ने भन्ने कुरालाई कार्यविधि बनाएर राहत प्रदान गर्ने, बिदालाई व्यवस्थित गर्न यस पटक २ वटा बिदा थपेर गत वर्षकै बिदा दिने तर आगामी वर्षका लागि भने बिदा व्यवस्थित गर्न पुनरावलोकन गरी अघि बढ्ने निर्णय भएको पनि उनले बताइन् । उनका अनुसार सरकारले २०७९ साल फागुन १५ देखि १८ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ५२ औँ सत्रमा परराष्ट्र मन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई भाग लिन जान स्वीकृत दिने, मोरङ जिल्ला साबिक लेटाङ गाविस वडा नम्बर १ को ०४१६ बिघा सार्वजनिक जग्गा ३० वर्षका लागि प्रहरी चौकी बुधवारे लेटाङलाई प्रयोग गर्न स्वीकृति दिने, तत्कालीन जिल्ला पञ्चायत सचिवालय, जिल्ला पशु सेवा शाखा कार्यालय, गोरखाका नाममा रहेको जिल्ला गोरखा साबिक सिद्धिवास गाविस वडा नम्बर ८ को ४६२२ रोपनी जग्गा चुमनुम्बी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि उपयोग गर्न स्वीकृति दिने निर्णय भएको छ । यस्तै ललितपुर जिल्ला साबिक लुभु वडा नम्बर ३ कको २/२ रोपनी सरकारी जग्गा लुभु प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणार्थ महालक्ष्मी नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिने, काठमाडौं जिल्ला साबिक थानकोट गाविस वडा नम्बर २ काके २३००० रोपनी सरकारी जग्गा चन्द्रागिरि नगरपालिकालाई १५ शैय्याको आधारभूत अस्पताल निर्माण गर्न स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ । प्रवक्ता शर्माले सरकारले नेपाल इन्जिनियरिङ परिषद् अध्यक्ष पदमा इन्जिनियर डा। पदमबहादुर साही, उपाध्यक्षमा इन्जिनियर डा. विकास अधिकारी र सदस्यमा इन्जिनियर डा. रेस्मा श्रेष्ठलाई मनोनयन गरेको बताइन् । त्यस्तै सरकारले २०७९ फागुन ११ देखि १२ सम्म स्वीट्जरल्याण्डमा हुने ५ औँ ग्लोबल मन्त्रीस्तरीय समिट अन प्यारेन सेप्टी विशेष सम्मेलनमा भाग लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई जान स्वीकृति दिने निर्णय पनि गरेको छ ।
बैंकविरुद्ध खनिए ४७ संघ, माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुविरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रवार उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु विरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् । व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदर विरुद्ध आन्दोलन गर्ने बाध्य भएको र उद्योगी व्यवसायीहरुमा रहेको सिण्डिकेटका अन्त्य र बैंकको ज्यादती बिरुद्ध सडक आन्दोलन गर्न बाध्य भएको बताएका छन् । विरोध कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीहरुले सांसद, मन्त्री बनाइदिन माग नगरेको भन्दै बैंकको आतंकलाई बन्द गर्न र व्यवसायीहरुलाई गरिखान दिन आवाज उठाइरहेको बताए । उनले देशका उद्योगी व्यवसायीहरुको माग सम्बोधन हुन सबै व्यवसायीहरु प्रेम आचार्य नै बन्नुपर्ने हो भन्दै प्रश्न गरे । त्यस्तै, नेपाल राष्ट्रिय व्यवसायी महासंघका कन्द्रिय अध्यक्ष कुमार कार्कीले नेपालीहरुले नेपालमा नै गरिखान पाउनुपर्ने बताए । उनले व्यापारीहरुले ८ प्रतिशतमा लिएको व्याज १५ प्रतिशतसम्म पुर्याउँदासमेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताए । उनले बैंकर्स र वित्तीय संस्थाहरु सामन्ती बनिरहेको बताए । सरकार यसरी मौन बस्नु नहुने बताउँदै उनले सरकारले व्यापार उद्योगमैत्री नियम कानून ल्याउन आवश्यक रहेको जनाए । पछिल्लो समय कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरुका कुनैपनि माग सम्बोधन नगरेको आरोप उनीहरुको छ । उद्योग र व्यापारमा रहेको सिण्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरुको पहुँच सहितको बैंकहरुको ज्यादतीविरुद्ध थप आन्दोलन गर्ने चेतावनी समेत कार्यक्रमम दिइएको छ ।
टाटाको ‘इभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्रको भ्रमण कार्यक्रम सम्पन्न
काठमाडौं । टाटाको ‘इभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्रहरुको भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । टाटाको मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले हालसालै आफ्नो ‘इभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्रहरुको भ्रमण कार्यक्रम सम्पन्न गरेको हो । यस कार्यक्रमको दौरानमा विभिन्न संचारकर्मीहरुलाई थापाथली स्थित टाटाको सोरूमबाट यस ब्राण्डका विद्युतीय गाडी (इभी) प्रयोग गरी नैकाप एवं बागडोल पुर्याइएको थियो । नैकापमा सिप्रदीको ‘इभी लर्निङ्ग सेन्टर’ अवस्थित छ जहाँ उनीहरुलाई विद्युतीय गाडी संचालनको आधारभूत प्रक्रिया र प्रणालीबारे जानकारी गराइएको थियो । कार्यक्रममा सहभागी पत्रकारहरुले यस सेन्टरमा विद्युतीय गाडीको ब्याट्रीले विद्युतीय संचार मार्फत कसरी कार्य गर्दछ भन्ने बारे जानकारी हासिल गरेका थिए । कुनै कारणवश ब्याट्रीमा समस्या देखा परेमा यसका निश्चित अवयवहरु जस्तै ‘मोडुल’ र ‘सेल’ परिवर्तन गरी यसको समाधान अत्यन्त कम खर्चमा सहज तवरले गर्न सकिन् । यसबारे पनि सम्बन्धित पत्रकारहरुलाई विस्तृत जानकारी प्रदान गरिएको थियो । नेपाली अटोमोबाइल बजारमा यदि इभी ब्याट्री बिग्रिएमा मर्मत गर्न अत्यन्त खचिलो र झन्झटिलो हुने भ्रम रहेकोले उक्त भ्रम चिर्न यस्तो कार्यक्रमको आयोजना गरीएको सिप्रदीले जनाएको छ । त्यसैगरी, भ्रमण कार्यक्रममा सहभागी संचारकर्मीहरुलाई ललितपुरको बागडोलमा अवस्थित टाटाको ‘सर्भिस सेन्टर’को अवलोकन गराईएको थियो । अवलोकनको क्रममा इभीको मर्मत सम्भारको लागि प्रयोग गरिने प्राविधिक पक्षहरु बारे सूचित गारिएको थियो । यसको अतिरिक्त इभीको ब्याट्रीको समस्या कसरी निरुपण गरी समाधान गरिन्छ भन्नेबारे पनि जानकारी प्रदान गरिएको थियो । केवल टाटाको मात्र नभई नेपालको समग्र विद्युतीय गाडीको बजार अभिवृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले यस भ्रमण कार्यक्रमको आयोजना गरिएको सिप्रदीको दावी रहेको छ । यस कम्पनीले केही समयदेखि टाटाका वातावरण, आराम, सुरक्षा एवं डिजाइनको दृष्टिकोणले उत्कृष्ट इभीहरू नेपाली बजारमा विक्री वितरण गरिरहेको छ । यसैगरी यसले यस्ता गाडीहरुको बजारलाई प्रभावकारी एवं दिगो रुपमा विकास गर्न आवश्यक पूर्वाधार (जस्तै चर्जिङ्ग स्टेसन) एवं जनशक्तिको विकास पनि तिब्र गतिमा गरिरहेको बताएको छ ।