नेपाल एपीएफ स्कुलको सेमिफाईनल यात्रा सुनिश्चित
काठमाडौं । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गत पहिलो क्वाटर फाईनल खेलमा आयोजक नेपाल एपीएफ स्कुलले सैनिक आवासीय महाविद्यालयलाई १-० गोलले पराजित गरी आफ्नो सेमिफाईनलको यात्रा सुनिश्चित गरेको छ । आज भएको खेलमा नेपाल एपीएफ स्कुलको तर्फबाट डम्बर वि.क.ले १ गोल गरेका थिए । त्यसैगरी आज सम्पन्न दोस्रो क्वाटर फाईनल खेलमा लिटल एन्जल्स स्कुल, लतितपुरले ब्लुम नेपाल स्कुललाई ३-२ को गोल अन्तरले पराजित गर्यो । लिटल एन्जल्स स्कुलको तर्फबाट आयुष माझी, सुमन वि.क. र प्रज्जवल गुरुङ्गले १-१ गोल गरेका थिए भने ब्लुम नेपाल स्कुलको तर्फबाट राजकुमार रावलले २ गोल गरेका थिए । भाेली ९ गते हुने क्वाटर फाईनल चरणका खेलहरुमा ल्याब्रेटोरी माध्यमिक विद्यालय विरुद्ब राराहिल मेमोरियल स्कुल, कीर्तिपुर र नेपाल पुलिस स्कुल, साँगा विरुद्ब ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातिर्थ खेल्ने अायाेजकले जनाएकाे छ ।
बन्दै नबनेको सडक बनाएको भन्दै भ्रष्टाचार गर्ने कर्मचारीविरुद्ध मुद्धा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेख गुराँस गाउँपालिकाका इञ्जिनीयरलगायतका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बनाउँदै नबनाएको सडक बनाएको भन्दै गलत प्रतिवेदन बनाएर भ्रष्टाचार गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार स्थानीय निगालपानी रेग बगौरा सडक निर्माण योजनाको सम्झौतामा रहेको निर्धारित शर्त र मापदण्डविपरीत नक्कली नापी किताब बनाएको, उपभोक्ता समितिसम्बन्धी बिल, कार्यसम्पन्न प्रतिवेदनसमेत तयार पारी मापदण्डअनुसार सडक निर्माण भएको भनी गलत प्रतिवेदन बनाएको पाइएपछि मुद्दा दायर गरिएको हो । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/७७ को सो परियोजनामा यसरी अनियमितता गर्नेमा तत्कालीन इञ्जिनीयर सरोजकुमार दाहाल र तत्कालीन सवइञ्जिनीयर नवीनकुमार विसीको संलग्नता रहेको आयोगको ठहर छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारवाहीको माग गरिएको छ ।
एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृति तथा सम्मान
काठमाडौं । एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७९ प्रदान गरेको छ। कार्यक्रम अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको एनसेलले जनाएको छ। छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको मुख्य कार्यलय एनसेल आइकन, लैनचौरमा आयोजित एक विषेश कार्यक्रममाझ विद्यार्थीका अभिभावक, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरु, एनसेलका व्यवस्थापनका सदस्यहरुको उपस्थितीमा प्रदान गरिएको थियो । २०७९ का लागि १८ वटा शीर्षक अन्तर्गत पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याइ यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको बताइएको छ । पुल्चोक क्याम्पसका क्याम्पस चीफ एसोसियट प्राडा. इन्द्रप्रसाद आचार्य र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए । त्यसैगरी, एनसेलका चिफ टेक्निकल एन्ड इन्टरप्राइज बिजनेस अफिसर अदिल इस्रार, स्ट्राटेजी डाइरेक्टर इफ्तखार इस्लाम, कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए । एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै इन्जिनियरिङ अध्ययन संस्थानका कार्यवाहक डीन प्रा.डा. शुशिल बज्राचार्यले भने, ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान स्थापना गरि प्रत्येक वर्ष यसरी हाम्रा विद्यार्थीलाई शैक्षिक उत्कृष्टताका लागि प्रोत्साहन गरिदिनु भएकोमा हामी धेरै आभारी छौं। यो एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम आफैमा एक उदाहरण बनिसकेको छ । एनसेल सञ्चारमा मात्र नभइ कम्पनीले विभिन्न क्षेत्रमा गर्ने सामाजिक पहलहरुका लागि पनि लोकप्रिय छ ।’ यस्तै, कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘देशको सबैभन्दा प्रतिष्ठित इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस) सँगको सहकार्यमा २०७१ सालदेखि विद्यार्थीहरुले प्राप्त गरेको नतिजाको आधारमा उनीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गर्दै युवा प्रतिभाको विकासमा योगदान पुर्याउन पाउँदा हामी खुसी छौं । एनसेलमा हामी दिगो विकास लक्ष्य अनुरूप सरकारले परिभाषित गरेका तीनवटा क्षेत्रहरूलाई उच्च प्राथमिकता दिन्छौं । शिक्षा हाम्रा लागि महत्त्वपूर्ण भएकोले हामी यस पहललाई निरन्तरता दिन तत्पर छौं ।’ २०७१ सालबाट सुरु गरिएको एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको एनसेलले जनाएको छ । कुल १८ जनामध्ये पाँचवटै संकायका छात्राहरुबाट उत्कृष्ट नतिजा ल्याएका द्धीतीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक/एक जना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्दछन् । यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहको पढाइ सकाएका प्रत्येक संकायका १/१ जना र यी पाँचै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशी एक लाख रुपैयाँ छ।
समयमा पाठ्यपुस्तक उपलब्ध गराउन समितिको निर्देशन
काठमाडौं । दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएका छन । समितिको आजको बैठकमा उनले सो निर्देशन दिएका हुन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले भने, ‘शैक्षिक क्षेत्रको सुधारमा सङ्घीयताको अनुभूति दिलाउन पुराना ऐन खारेज गरी नयाँ ऐन ल्याउन जरुरी छ । यसलाई प्राथमिकतामा राख्नुपर्छ । पटके निर्णयलाई नीतिगत व्यवस्था गर्नुपर्दछ । राज्यले सुधार गर्न चाहे दायित्व बहन गर्नुपर्दछ ।’ जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलगायत सम्बन्धित निकायका कार्यप्रणालीलाई विश्वास गर्न आवश्यक रहेको र तोकिएको समयमा कार्य गर्न नसकेको खण्डमा आवश्यक कदम चाली पाठ्यपुस्तक समयमा उपलब्ध हुने उनको भनाइ थियो । समितिका सभापति पन्तले भने, ‘सम्बन्धित निकायका पाठ्यपुस्तक उपलब्धताका सुनिश्तिताका समस्या स्पष्ट पारेमा समिति सरोकारवाला पक्षसँग सहकार्य र समन्वय गरी समाधान गर्न तयार छौँ ।’ विगतमा नभएका र गर्न नसकेका विषयलाई सुरुआत गरी पुस्तकको पुनःप्रयोग नीति अवलम्बन गर्ने विषयमा सम्बन्धित निकायले विचार गरी प्रक्रिया सुरु गर्नसक्ने उनको भनाइ थियो । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले भने, ‘विगतमा जस्तो कागजको अभाव छैन । चौबिसै घण्टा मेसिन र जनशक्ति सञ्चालनमा रहेका छन् । यो वर्ष पाठ्यपुस्तकको अभाव हुँदैन ।’ कार्यक्रममा शैक्षिक क्षेत्रमा राज्यको अनुभूति दिलाउन, सार्वजनिक खरिद ऐनको समस्या अन्त्य गर्न, विकट क्षेत्रमा विशेष प्राथमिकताका साथ पुस्तक उपलब्ध गराउन, राजनीतिक र प्रशासनिक नेतृत्वको कार्यमा सुधार, सम्बन्धित निकायको अनुगमन र मूल्याङ्कन तथा गुनासोरहित हुनेगरी पुस्तक वितरण गर्ने विषय उठान भएको थियो ।
दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभरको लागि भिसा स्वीकृत नहुने
काठमाडौं । दुबई र कतारको लागि बाइक राइडर र ट्याक्सी ड्राइभरको काममा पूर्वस्वीकृति प्रदान नगर्ने वैदेशिक रोजगार विभागले जनाएको छ । ती देशमा बाइक राइडर र ट्याक्सी ड्राइभरमा काम असुरक्षित भएकाले सो निर्णय गरिएको विभागले जनाएको छ । ‘पछिल्लो समय बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा वैदेशिक रोजगारीको लागि दुवई र कतार मुलुकमा जाने अधिकांश श्रमिकहरु समस्यामा परेको, स्वीकृत मागपत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको, सहज रुपमा रुपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय काम बिहिन भई बस्नुपरेको’ विभागले सूचनामा उल्लेख गरेको छ । त्यस्तै विभागले अधिकांश श्रमिकहरु धेरैपटक ट्राफिक कारवाहीमा परी ठूलो रकम जरिवाना बुझाउनु परेको र सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासन सम्बन्धी ज्ञान र अनुभवको कमिले गर्दा दुर्घटना समेत हुने गरेको जनाएको छ । उजुरी र गुनासोका आधारमा विभागले फागुन ८ गते सो निर्णय गरेको जनाएको छ । विभागको सूचना
पर्वत अस्पतालमा शल्यक्रिया सेवा पुनः सञ्चालन
पर्वत । पर्वत अस्पतालमा केही समयदेखि अवरुद्ध बनेको शल्यक्रिया सेवा पुनः सञ्चालन गरिएको छ । वैकल्पिक जनशक्ति नहुँदा झण्डै एक महिनादेखि शल्यक्रिया सेवा रोकिएकामा राससबाट गत बिहीबार समाचार प्रकाशन भएपछि शुक्रबारदेखि पुनः सेवा सुरु गरिएको हो । अस्पतालमा कार्यरत एमडिजिपी हेमन्त बाँस्तोला तालिममा रहेका कारण उक्त सेवा रोकिएको थियो । शुक्रबार सेवा प्रदान गरेसँगै अस्पतालले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ६५ गर्भवतीको शल्यक्रिया गरी बच्चा निकालेको अस्पताल प्रमुख रुक्मणी अधिकारीले जानकारी दिए । अस्पतालमा कार्यरत एमडिजिपी हेमन्त बाँस्तोला र दुई सुरक्षित गर्भपतनसम्बन्धी नर्स तालिममा खटिएका कारण शल्यक्रिया सेवा बन्द भएकामा चिकित्सकको उपस्थितिसँगै फागुन ५ गते साँझ विहादी गाउँपालिका–४ निवासी बबिता भट्टराईको शल्यक्रिया गरिएको थियो । यसअघि विशेषज्ञको अभावमा सामान्य प्रसूति सेवाले निरन्तरता पाए पनि शल्यक्रिया गर्नुपर्ने जटिल प्रकारका गर्भवतीलाई पोखरालगायत ठूला अस्पतालमा पठाउने गरिएको थियो । अस्पतालमा अहिले डा. हेमन्त बाँस्तोला र डा.मनिष सिंहको प्रत्यक्ष निगरानीमा जटिल प्रकृतिका गर्भवतीको शल्यक्रियामार्फत बच्चा जन्माउने कार्य भइरहेको छ । साथै हर्निया, हाइड्रोसिल, एपेन्डिक्सलगायत बिरामीले पनि शल्यक्रिया सेवा पाएका छन् । जिल्लाको एकमात्र सुविधा सम्पन्न अस्पतालमा वैकल्पिक जनशक्ति नहुँदा बेला बेलामा सेवा अवरुद्ध हुने गरेको छ । जिल्लाका सातवटै पालिकाका साथै छिमेकी बागलुङको दक्षिण क्षेत्र र पर्वतसँग सिमाना जोडिएका कास्की र स्याङजाका नागरिकले समेत यो अस्पतालबाट सेवा लिँदै आएका छन् । रासस
कलङ्की बसुन्धारा सडकमा सहायक सडक निर्माण अघि बढाइँदै
काठमाडौं । चिनियाँ पक्षले मुख्य ‘लेन’मा निर्माण सुरु नगरेपनि सरकारले चक्रपथको कलङ्की–बसुन्धारा खण्डमा सहायक ‘लेन’मा सडक निर्माण थालेको छ । ससडक बनाउन चीन सरकारसँग सम्झौता भइसकेपनि निर्माणस्थल पूरै खाली नभएकाले मुख्य ठाउमा काम थालिसकेको छैन । चीनको सहयोगमा बनाइने मुख्य आठ लेनभन्दा बाहिरपट्टिको लेनमा सडक निर्माण अघि बढाइएको हो । चिनियाँ पक्षले काम शुरु नगरेकाले सरकारले गर्नुपर्ने खण्डमा पहिले सुरु गरिएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । चक्रपथको बाहिरी लेनमा ढल हाल्ने काम भइरहेको योजनाकी प्रमुख सजना अधिकारीले बताए । मुख्य लेनको २५/२५ मिटर बाहिर सडकको दुबैतर्फ छ÷छ मिटरमा कालोपत्र गर्न सम्झौता भएको थियो । आगामी वर्ष फागुनसम्म काम सक्ने लक्ष्य छ । अहिले कलङ्कीबाट बसुन्धारासम्म बाहिरी लेन सर्भिस ट्र्याक निर्माण गर्ने गरी ठेक्का भएको छ । चक्रपथको पहिलो खण्डमा नेपाल सरकारले सबैभन्दा बाहिरी लेन कालोपत्र गर्ने गरी सम्झौता भएको थियो । पहिलो खण्डमा अझै बालकुमारीलगायत थोरै खण्डमा सडक बनिसकेको छैन । पहिलो चरणको चक्रपथ विस्तारमा चिनियाँ सरकारले सडक निर्माण सम्पन्न गरेपनि मात्रै ‘सर्भिस ट्रयाक’ सुरु भएको थियो । अहिले भने मुख्यभन्दा सहायक लेन पहिले निर्माण गर्न लागिएको हो । पहिलो चरणको विस्तारमा सरकारले तीन आकाशे पुल निर्माण गरेको थियो । त्यो अपुग भएपछि सरकारले आवश्यकताका आधारमा आकाशे पुल निर्माण गरेको थियो । चिनियाँ पक्षले सडक निर्माणको क्रममा आकाशे पुल निर्माण गरेपछि अपुग भएमा पछि सरकारले बनाउन सक्ने प्रमुख अधिकारीले बताए । सडक निर्माण सकिँदा नसकिँदै खन्ने प्रवृत्ति पुनरावृत्ति भइरहँदा योजनाले सकेसम्म समन्वय बढाएर सडक निर्माण गर्न लागेको प्रमुख अधिकारीले बताए । कलङ्की–बसुन्धारा खण्डमा अहिले योजना आफैँले ढल हालिरहेको छ भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालयले पाइप विच्छाउने काम गरिरहेका छन् । उनले भने, ‘सकेसम्म खन्न नपर्ने गरी हाल्न लागिएको छ ।’ पहिले सडकको बीचमा खानेपानी पाइप रहेकामा अहिले छेउबाट मात्रै राखिएको प्रमुख अधिकारीले बताए । कतैकतै क्रसिङमा मात्रै बीचको लेन भएर पाइप लैजाने उनले बताए । सो खण्डमा सडक निर्माणका लागि निर्माणस्थल खाली गराउन रुख काट्ने, खानेपानीको पाइप, विद्युत्को पोल हटाउन काम सकिएको छ । उनले भने, ‘पोल ग्रीन बेल्टमा पर्ने हुँदा सार्न पर्ने हुँदैन र काम अघि बढाउन सकिन्छ ।’ सामान्यतया पहिलो खण्डजस्तो हुने भने पनि अहिलेसम्म कस्तो डिजाइनमा निर्माण हुने टुङ्गो लागिसकेको छैन । साइकल लेन निर्माणलगायतका केही कुरा फरक हुनसक्ने छ । मुख्य सडक निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफल अघि बढाएको छ । उपप्रधानमन्त्री तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले हालै चिनियाँ राजदूतसँग चक्रपथ सडक चाँडो सम्पन्न गर्न आग्रह गरेका थिए । सरकारले चक्रपथको दोस्रो चरणमा कलङ्कीबाट चावहिल नजिकै धोबीखोलासम्म विस्तारका लागि अनुरोध गरेपनि हाल बसुन्धारासम्मको सडक चीन सरकारको सहयोगमा विस्तार हुने आयोजनाकी प्रमुख अधिकारीले बताए । कलङ्कीबाट बसुन्धारासम्म सडक निर्माणको लागि सम्झौता भएको थियो । उनले भने, ‘महाराजगञ्जको जग्गा उपलब्ध नहुँदा त्यसभन्दा अघि गर भन्न सकिने अवस्था भएन । त्यहाँसम्म अर्को चरणमा हुनसक्छ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले चिनियाँ पक्षले निर्माणस्थल खाली नै नभएसम्म निर्माण सुरु नगर्ने हुँदा दोस्रो खण्डमा मुख्य लेनमा विस्तार सुरु नभएको बताए । सरकारले वा अरु दातृ निकायको भए यही अवस्थामा निर्माण सुरु गर्ने भए पनि चिनियाँ पक्षले चक्रपथको पहिलो खण्डमा विस्तार हुँदा सडक खाली हुन ढिलाइ भएको देखेर अहिले पूरै खाली नभएसम्म सुरु नगरेको बताए । पहिलो खण्ड निर्माण गर्दा एउटा पोल हटाउन पनि छ महिना लागेकाले ढिलाइ भएको उनको भनाइ थियो । उनले भने, ‘चिनियाँ राजदूतलाई सबै कुरा भनेको र हाम्रो सन्दर्भमा गर्न भनेका छौँ र उताबाट पनि यसलाई लिखित पत्र माग्नुभएको छ ।’ चक्रपथको पहिलो खण्डका रुपमा सरकारले कोटेश्वर–कलङ्की खण्ड पाँच वर्ष पहिले आठ लेनमा विस्तार गरेको थियो । सो विस्तारपछि अहिले मुख्यमुख्य चोकमा बाहेक सवारी चापका समस्या छैन । दोस्रोचरणको विस्तारको तयारी सुरु भएको तीन वर्ष वित्दासमेत अझै मुख्य सडक पूरै खाली भइसकेको छैन । रासस
खुल्यो सवा घण्टापछि अन्तर्राष्ट्रिय उडान
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको हवाई उडान अहिले नियमित रुपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवाघण्टा अवरुद्ध भएको उडान सेवा अहिले नियमित सञ्चालन भइरहेको छ । ‘अध्यागमनको सर्भर डाउन हुँदा सवाघण्टा उडान सेवा प्रभावित भएको थियो । दिउँसो २ः३५ देखि नियमित उडान भइरहेको छ’, उनले भने । अन्तर्राष्ट्रिय उडानका विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको थियो । उडान अवतरण भए पनि लामो समय सम्बन्धित गन्तव्यका जहाजले उडान भर्न नसक्दा यात्रु मर्कामा परेका थिए । यसअघि पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ । रासस