विकासन्युज

मलाई गोल्छा र ढकालको साथ छ, जित्नेमा ढुक्क छु : रामचन्द्र संघाई

काठमाडौैं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले आफुले आगामी चैतमा हुने महासंघको निर्वाचनमा जित्नेमा ढुक्क रहेको बताएका छन् । उनले आफु वरिष्ठ उपाध्यक्षको उम्मेदवार रहेको र अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको पनि साथ रहेकोले जित्नेमा ढुक्क भएको बताएका हुन् । नेपालको प्रतिष्ठित व्यापारिक घराना ‘त्रिवेणी ग्रुप’का सञ्चालक सकेत रहेका उनले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् । ‘मलाई उद्योगी–व्यवसायी साथीहरूले नै निर्वाचनमा उठ्नका लागि प्रेरित गरिरहनुभएको छ, हिजो म उपाध्यक्ष निर्वाचित हुँदाको टिम पनि मसँग छ, महासङ्घका वर्तमान अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पनि मलाई सद्भाव छ, हिजो र आजको यो संयन्त्रका कारण पनि म बलियो छु भन्ने मलाई लाग्छ,’ उनले भने । यस्तै, उनले निर्वाचनका लागि आफु विभिन्न जिल्ला पुगेको बताउँदै व्यवसायीसँग तयारी पनि राम्रो भइरहको बताए । महासङ्घले तयार पारेको भिजन पेपरलाई नै कार्यान्वयन गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको उनले बताए ।

पर्यटक भित्र्याउन शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

कञ्चनपुर। कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन यहाँको भीमदत्त नगरपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो । ‘आर्थिक पर्यटन समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो । महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले निकुञ्जलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए। ‘विश्वमै दुर्लभ जीवजन्तु पाइने शुक्लाफाँटा हामीसँग छ, यसको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा विकास गर्न जरुरी छ’, उनले भने, ‘यसका लागि सबैले आ–आफ्नो तर्फबाट पर्यटन प्रवद्र्धनमा लाग्न जरुरी छ ।’ नगरप्रमुख पदम बोगटीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको बताए । ‘हाम्रो यहाँ थुप्रै पर्यटकीय गन्तव्य छन्, यसबाट हामीले पर्याप्त लाभ लिन सकेका छैनौँ’, उनले भने, ‘यो महोत्सवले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिएको छु ।’ उनले यहाँ सुक्खा बन्दरगाह, महाकाली करिडोर, मझगाउँ विमानस्थल, दैजीछेला औद्योगिक क्षेत्रलगायतका ठूला योजना सञ्चालनमा आए यहाँको पर्यटन व्यवसाय पनि फस्टाउने बताए । कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए । ‘पर्यटकीयस्थलसम्म सहज आवतजावत र अन्य सुविधा सरकारले उपलब्ध गराउनुपर्छ’, उनले भने, ‘पर्यटकीय क्षेत्रमा निजी क्षेत्रले पनि लगानी गर्ने वातावरण सिर्जना गर्नु पर्दछ ।’ उनले पर्यटक भित्र्याउन पर्यटन पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए । १० दिनसम्म सञ्चालन हुने महोत्सवमा निकुञ्ज भ्रमणसँगै पर्यटन प्रवद्र्धनसम्बन्धी छलफल, संरक्षण र पर्यटनबारे माध्यमिक तह स्तरीय वक्तृत्वकला, कृष्णसार अवलोकन तथा आन्तरिक पर्यटन प्रवद्र्धनसम्बन्धी छलफललगायत कार्यक्रम सञ्चालन हुनेछन् । रासस

अष्ट्रेलियामा स्नातक गरेका विद्यार्थीले थप २ वर्षकाे पाेस्ट-स्टडी भिसा पाउने

काठमाडाै । अष्ट्रेलियामा स्नातक तह उत्तिर्ण गरेका विद्यार्थीले २ वर्षकाे पाेस्ट-स्टडी भिसा पाउने भएका छन् । आगामी जुलाइ १ गतेदेखि स्नातक तह उत्तिर्ण गरेका अन्तर्राष्ट्रिय विद्यार्थीलाइ थप दुई वर्षको पोस्ट-अध्ययन कार्य अधिकार प्रदान गर्ने अष्ट्रेलिया सरकारले जनाएकाे छ । साथै ती अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि स्वीकार्य कार्य घण्टाको सीमा प्रति पन्ध्र दिनमा ४० घण्टाबाट ४८ घण्टामा बढाइने जनाइएकाे छ । नयाँ व्यवस्थाले अन्तर्राष्ट्रिय उच्च शिक्षा स्नातकहरूलाई उनीहरूको लागि थप दुई वर्ष दिने अष्ट्रेलियन सरकारले जनाएकाे छ । याे सुविधाकाे विस्तार क्षेत्रीय क्षेत्रमा अध्ययन गर्ने, बस्ने र काम गर्ने योग्य विद्यार्थीहरूको लागि विद्यमानमा उनीहरुले पाएकाे अतिरिक्त एक देखि दुई वर्षको काम गर्न पाउने अधिकारमा पनि थप भएकाे सरकारले अष्ट्रेलिया सरकारकाे शिक्षा विभागले जनाएकाे छ ।

गाह्रो परेको बेला ऋण लिएर अहिले तिर्दिन भन्न मिल्दैन : उपाध्यक्ष संघाई

रामचन्द्र सङ्घई नेपालको प्रतिष्ठित व्यापारिक घराना ‘त्रिवेणी ग्रुप’का सञ्चालक हुन् । नेपालमा झण्डै ४० वटा उद्योग सञ्चालन गरिरहेको त्रिवेणी ग्रुपले कम्तीमा पनि १८ हजार जनालाई रोजगारी समेत दिँदै आएको छ । गएको करिब दुई दशक यतादेखि नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यका रूपमा रहेका संघाई वर्तमान उपाध्यक्ष हुन् । उनी महासङ्घको अघिल्लो अधिवेशनमा निर्वाचित भएका थिए । हाल महासङ्घको रोजगारदाता परिषद्को सभापतिसमेत रहेका संघाईसँग नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी चैत अन्तिम साता हुने आसन्न निर्वाचन र नेपालको वर्तमान अर्थतन्त्रमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश : अर्थतन्त्रका सूचकाङ्कहरू सन्तोषजनक छैनन् । यद्यपि नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क हेर्दा सुधारको बाटोमा हो कि जस्तो देखिन्छ । यहाँको विश्लेषणमा हाम्रो अर्थतन्त्र कस्तो अवस्थामा छ ? समग्र अर्थतन्त्रको अवस्था राम्रै छ । पछिल्लो समय अर्थतन्त्रले राम्रो बाटो लागेको महसुस मैले गरेको छु । विदेशी विनिमय सञ्चिति पनि अहिले बढेको अवस्थामा छ । कुनै पनि अर्थतन्त्रमा जब शिथिलता आउँछ त्यो एकैपटक ह्वात्तै बढ्ने अवस्था हुँदैन । विस्तारै सुधार हुँदै जान्छ । हाम्रो अवस्था पनि त्यस्तै छ । विस्तारै सुध्रिँदै गएको देखिएको छ । पछिल्लो समय उद्योगी–व्यापारीलाई बैंकको चर्को ब्याजदरले समस्या भएको देखिन्छ । तर यसको पनि केही निकास निस्किएला भन्नेमा म ढुक्क छु । अर्थतन्त्र सुधारको बाटोमा कसरी जान सक्यो भन्ने लाग्छ ? नयाँ सरकार बनेपछि केही सकारात्मक ऊर्जा पलाएको देखिएको हो । जनता र उद्योगी व्यवसायीमा उत्साह थपिएको पनि देखिएको हाम्रो अनुभव छ । त्यसले पनि काम गरेको हुनसक्छ । सरकारले पनि निजी क्षेत्रसँग मिलेर काम गर्ने भनेर विश्वास दिलाएको छ । सरकारले समस्या भए ल्याउन र समाधानका लागि प्रयास गर्ने विषयमा विश्वास दिलाएको पनि छ । त्यसैकारणले पनि अर्थतन्त्रमा उत्साह थपिएको हुनसक्छ । लगानीमैत्री वातावरणको विश्वास भएपछि अर्थतन्त्र चलायमान हुन्छ । जुन स्वभाविक हो । अब यस्तो लगानीमैत्री वातावरण निर्माणका लागि सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्छ । नेपाल उद्योग वाणिज्य महासङ्घ त यस्तो वातावरण निर्माणमा लागेकै छ । पछिल्लो समय उद्योगी–व्यापारी चर्को ब्याज भयो भनेर आन्दोलनमा छन् । केही व्यापारीले त ब्याज नतिर्ने घोषणासमेत गरिसकेका छन् । यसलाई कसरी लिनुहुन्छ ? म बैंकको सञ्चालक पनि हो र उद्योगी–व्यापारी पनि हो । मलाई पनि बैंकको ब्याजका कारण समस्या छ । तर ब्याज नै तिर्दैनौँ भन्न त भएन नि । आफूलाई गाह्रो–साह्रो परेका बेलामा ऋण लिने तर अहिले आएर तिर्दिन भन्नु राम्रो होइन । यसमा केही सहजीकरणका लागि प्रयास गर्न सकिन्छ । खुला बजारको नीतिअनुसार नै ब्याजदर तलमाथि भएको हो । अब कसरी अघि बढ्ने त ? निकासका बाटाहरू अनेक हुन सक्छन् । तर तिनको समीक्षा र सहजीकरणको बाटो नै अघि बढ्नुपर्छ । उद्योगी–व्यवसायीले कर्जाको ब्याजदर एकल अङ्कमा झर्नुपर्छ भनिरहेका छन् । यसलाई यहाँले कसरी लिनुभएको छ ? खुला बजार नीतिअनुसार हामीले नै हिजोका दिनमा ब्याजको दर स्थिर हुनुहुँदैन भनेका हौँ । ब्याज कहिले घट्छ र कहिले बढ्छ । स्थिर ब्याज हुँदा १२ प्रतिशतमा लिएको कर्जाको ब्याजदर आठ प्रतिशतमा हुँदा ऋणीले त्यसको सुविधा लिन पाउँदैनन् । फेरि नेपालमा मात्रै ब्याजदर बढेको होइन अमेरिका, बेलायतलगायतका देशमा पनि अहिले ब्याजदर बढेको छ । हामी निक्षेपकर्ता पनि हौँ, त्यसबाट पनि हामीले ब्याजदर पाइरहेका छौँ । निक्षेपकर्ताले बढी ब्याज र ऋणीले कम ब्याज पाऊ भन्ने हुन्छ । बजारमा माग र आपूर्तिका हिसाबले चल्ने भएकाले ब्याजदर घटबढ हुनुलाई अस्वभाविक मान्नु हुँदैन । बैंक पनि नेपाल राष्ट्र बैंकको नियमअनुसार चल्नुपर्छ । बैंकिङ क्षेत्र आजका दिनमा सबैभन्दा पारदर्शी क्षेत्रका रूपमा लिन सकिन्छ । यसका पनि आफ्ना समस्या हुन सक्छन् तर निदान नै ननिस्किने समस्या भने होइनन् भनेर सम्बद्ध सबै पक्षले बुझ्नुपर्दछ । हाम्रो रेमिट्यान्सले धानेको अर्थतन्त्र छ । रेमिट्यान्स कम हुँदा अर्थतन्त्रमा समस्या देखिन्छ । केही समयअघि पनि यो देखियो । यस्तो अवस्थामा अर्थतन्त्रको स्वास्थ्य राम्रो बनाउनका लागि के गर्नुपर्छ भन्ने लाग्छ ? हाम्रोमा नीति अस्थिर हुने अवस्था छ । पहिलो कुरा त हामीकहाँ नीति आउन नै ढिला हुन्छ । आएपछि पनि कार्यान्वयनको काममा अझ ढिलाइ हुने अवस्था पनि छ । खासमा हामीलाई यसले पनि फरक पार्छ । अर्थतन्त्रको स्वास्थ्य दीर्घकालीन सुधारका लागि निर्यातजन्य उद्योगमा केन्द्रित हुनुको विकल्प छैन । रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, व्यापारघाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । सरकारले यसका लागि नीतिगत सहजता बनाएर लगानी गर्ने वातावरण बनाउनुपर्छ । निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले निर्यातजन्य उद्योगका लागि आठ प्रतिशतको छुटको नीति लिएको छ, जुन सकारात्मक छ । तर यसको कार्यान्वयन छिटो र प्रभावकारी हुनु जरुरी छ । आठ प्रतिशत छुट प्राप्त रकम वस्तु निर्यात गरेको वर्ष दिनपछि मात्र पाइन्छ । यो झन्झटिलो छ । यो नीति पुनरावलोकन गरेर महिना दिनभित्रै छुट प्राप्त रकम फिर्ता पाउने व्यवस्था हुनुपर्छ । नीति ल्याउँदा नै कार्यान्वयनको पक्षमा पनि विशेष जोड दिनुपर्छ । दक्ष जनशक्ति उत्पादन गर्न सक्ने हो भने विदेशबाट श्रमिक ल्याउनुपर्ने अवस्था हुँदैन । यसमा पनि केन्द्रित हुनु जरुरी छ । नेपाल उद्योग वाणिज्य महासङ्घले वर्तमान कार्यसमिति आएपछि भिजन पेपर सन् २०३० ल्याएको छ । यसमा एक सय अर्ब डलरको अर्थतन्त्र बनाउने भनेको थियो । त्यसका लागि केही नीतिगत सुधारको पनि कुरा उठान गरेको थियो । यसको कार्यान्वयन कुन अवस्थामा पुगेको छ ? अनुमोदन गरिसकेको छ । सरकारले पनि कार्यान्वयनका लागि सहयोग गर्ने भनेको छ । ‘पोलिसी रिफर्म’का लागि सरकार प्रतिबद्ध छ । अहिले सरकार नयाँ आएको छ । सरकारसँग यस विषयमा कार्यान्वयनका लागि सहकार्य जारी रहेको छ । सरकार र महासङ्घका साथै सरोकारवाला निकायबीच काम भइरहेको छ । हामी सरकार र सम्बद्ध सरोकारवालासँगको आपसी समन्वय र सहकार्यमा छौँ र मलाई लाग्छ सो भिजन पेपरका कार्यक्रमहरूको कार्यान्वयन गरी पूरा गर्नका लागि हामी पनि प्रयत्तरत छौँ । तपाइँ महासङ्घको रोजगारदाता परिषद् सभापतिका रूपमा रहेर पनि एक कार्यकाल काम गर्नुभयो । यस अवधिमा के–कस्ता काम गर्नुभयो ? रोजगारदाता परिषद्मा रहँदा मैले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउनका लागि सकारात्मक भूमिका निर्वाह गरेको छु । महासङ्घ, ट्रेड युनियन र सरकारबीच सकारात्मक भूमिका खेल्दै प्राप्त गरेको नतिजालाई मैले ठूलो उपलब्धि मानेको छु । यसबाट श्रमिकहरू पनि निकै खुसी छन् भने रोजगारदाता पनि खुसी छन् । त्यसबाहेक यसबीचमा हड्ताल र आन्दोलनलाई न्यूनीकरण गर्ने प्रयासमा पनि म सफल भएको छु । ट्रेड युनियनलाई पनि बिना कुनै कारण हडताल नगर्नका लागि सहमतिमा ल्याएको छु । अहिले रोजगारदाता, श्रमिक र सरकारका बीचमा यो विषयमा एक प्रकारको सुमधुर सम्बन्ध विकास भएर अघि बढेको महसुस मैले गरेको छु । वास्तवमा नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि पनि यो आवश्यक थियो भन्ने मलाई लाग्दछ । सोहीअनुरुप मैले नै पहल गरेर अघि बढ्यौँ र हामी सफल पनि भयौँ भन्ने लाग्दछ । रोजगारदाता परिषद्को सभापतिका रूपमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनका विभिन्न सभा–सम्मेलनमा भाग लिएर मैले निरन्तर श्रमिकका हितका विषयमा आवाज उठाएको छु । मलाई लाग्छ नेपालका व्यवसायी एवं श्रम क्षेत्रका समग्र साथीहरूले पनि यसको मूल्याङ्कन गर्नु नै भएको होला । महासङ्घको आगामी कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सोच बनाउनुभएको हो ? अहिले हामी तीन जना उपाध्यक्ष छौँ । साथीहरूको पनि यो आकाङ्क्षा होला भन्ने लाग्दछ । मेरो पनि महासङ्घको नेतृत्वमा जाने आकाङ्क्षा छ नै । एक कार्यकाल वरिष्ठ उपाध्यक्ष भएपछि स्वतः अध्यक्ष हुने व्यवस्था विधानमा भएकाले यस्तो हुनु स्वभाविक पनि हो । आगामी कार्यकालका लागि मैले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको छु । यसअघि पनि मलाई साथीहरूले नै उपाध्यक्षमा उठ्न प्रेरित गर्नुभएको हो । उहाँहरूको माग र दबाबमा नै म उठेँ र निर्वाचित पनि भएँ । मलाई त्यतिबेला उम्मेदवारीका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालजीले प्रेरित गर्नुभयो उहाँको टिमबाट नै उपाध्यक्षको उम्मेदवार बनेको हो । अघिल्लो अधिवेशनमा पनि मलाई उद्योगी–व्यवासायी साथीहरूले विश्वास गरेरै निर्वाचित गरेर पठाउनुभएको हो । यसपटक पनि मलाई साथीहरूले विश्वासका साथ तपाईँ नै वरिष्ठ उपाध्यक्ष हुनुपर्छ भनिरहनुभएको छ । यसपटक टिमलाई मैले अझ बलियो बनाएको छु । वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रूपमा यहाँका एजेण्डा के–कस्ता छन् ? पहिलो विषय त महासङ्घले तयार पारेको भिजन पेपरलाई नै कार्यान्वयन गर्ने मेरो एजेण्डा छ । यो पूर्णरूपमा कार्यान्वयन हुनसक्यो भने मुलुकको अर्थतन्त्र निकै राम्रो अवस्थामा आउनेछ । यो कार्यान्वयन भए अर्थतन्त्रका सबैखाले सूचकाङ्कहरूमा निकै राम्रो सुधार देख्न पनि सकिनेछ भन्नेमा हामी विश्वस्त छौँ । त्यसबाहेक जिल्ला, एशोसिएटलगायतका साथीहरूसँगको सम्पर्क बढाएर उहाँहरूको समस्या सुन्ने र समाधान गर्नेमा म प्रतिबद्ध हुनेछु । उहाँहरूको निराशालाई उत्साहमा परिणत गर्नेछु । अहिलेसम्म जति पनि जिल्लाका साथीहरूसँग भेट गरेको छु । उहाँहरू भेटपछि निकै खुसी हुनुभएको छ । यसले मेरो आत्मविश्वास बढेको पनि छ । साथै यसअघिका पूर्वअध्यक्षहरूले जसरी महासङ्घलाई यहाँसम्म ल्याउनुभएको छ, त्यसलाई अझ बढी सुदृढीकरण गर्दै अघि बढाउने र महासङ्घलाई अझ उचाइमा पु¥याउनेमा म लागिपर्नेछु । साथै नेपालमा लगानीमैत्री वातावरण निर्माणमा सहयोग गर्नेछु भने सरकार, निजी क्षेत्र, श्रमिक र नागरिकबीचको समन्वयका लागि समन्वयकारी भूमिका निर्वाह गर्नेछु । मुलुकको अर्थतन्त्र कमजोर भएसँगै मुलुकका उद्योगी–व्यवसायी साथीहरूका समस्या पनि निकै छन् । जस्तो कि म जिल्लातिर जाँदा होस् या यहीँ पनि साथीहरूसँगका भेटमा उहाँहरूले व्यक्त गर्ने गर्नुुहुन्छ विभिन्न समस्याहरू हाम्रो क्षेत्रमा छन् । ती समस्याको समाधानमा म पूर्णरूपमा लाग्नेछु र उद्योगी–व्यवसायी साथीहरूलाई सहयोगको भूमिका निर्वाह गर्नेछु । यहाँले निर्वाचन जित्ने आधारहरु के छन् त ? मैले माथि नै भनेँ नि मलाई उद्योगी–व्यवसायी साथीहरूले नै निर्वाचनमा उठ्नका लागि प्रेरित गरिरहनुभएको छ । हिजो म उपाध्यक्ष निर्वाचित हुँदाको टिम पनि मसँग छ । महासङ्घका वर्तमान अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पनि मलाई सद्भाव रहेको छ । हिजो र आजको यो संयन्त्रका कारण पनि म बलियो छु भन्ने मलाई लाग्दछ । यस निर्वाचनका लागि म विभिन्न जिल्ला पुगेको छु । व्यवसायी साथीहरूसँग तयारी पनि राम्रो गरिरहेको छु । एक कार्यकाल उपाध्यक्षका रूपमा काम गर्दा मैले राम्रै काम गरेँ भन्ने नै लागेको छ । हामीले हाम्रो आफ्नो समूहबाट दर्जनौँ कम्पनीमार्फत १८ हजारभन्दा बढीलाई रोजगारी दिन सकेका छौँ । सबैका समस्या पनि बुझेको छु र त्यसलाई समाधान गर्नका लागि पनि मसँग केही योजना छन् । ती योजना कार्यान्वयनका लागि म वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनु आवश्यक छ । मलाई निर्वाचनमा उठ्नका लागि साथीहरूको माग र दबाब दुवै रहेको छ । उहाँहरूले मलाई वरिष्ठ उपाध्यक्षमा उठ्न भनिरहनुभएको छ त्यसैले मैले उम्मेदवारी दिने निर्णय गरिसकेको छु । हेरौँ, मुलुकका सबै उद्योगी– व्यवसायी साथीहरूको सहयोग र सद्भावका कारण परिणाम मेरै पक्षमा आउँछ भन्नेमा म ढुक्क पनि छु । रासस

मेट लाइफको प्रिमियम आइएमई पे मार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता भएको छ । मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरण वापतको शुल्क आइएमई पेमार्फत भुक्तान गर्न सक्ने गरि सम्झौता भएको हो । सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका थिए । आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्युआर स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

किसान लघुवित्तको लाभांश प्रस्ताव

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । फागुन ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । लघुवित्तले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

दिगो सडक र सुरक्षित यातायातका लागि हेटौँडा घोषणा पत्र जारी

काठमाडौं । नेशनल रोड सेफटी काउन्सिलले दिगो सडक र सुरक्षित यातायातका लागि हेटौँडा घोषणा पत्र जारी गरेकाे छ । नेशनल रोड सेफटी काउन्सिल नेपालको आयोजनामा दिगो सडक र सुरक्षित यातायातका लागि हेटौँडा घोषणा पत्र जारी गरेकाे हाे । उक्त कार्यक्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तरर्गतको नेशनल रोड सेफटी काउन्सिल नेपालको आयोजना, नेपाल अटोमोबाइल्स एसोंसिएसन (नासा) नेपालको संयोजन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम भएको छ । १०० जना बढीक सहभागिता रहेको  कार्यक्रममा प्रदेशकै पूर्वाधार नीति, कार्यक्रम तथा सुरक्षित यातायातका लागि विभिन्न कार्यपत्रमा छलफल भएको छ । नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको भेहिकल फिटनेस सेन्टरका प्रमुख कृष्ण यादवले सडक यातायातको अवस्था र सडक सुरक्षाको लागि नेपाल सरकारले चालेको कदमको बारेमा प्रस्तुति दिए । कार्यक्रममा ११ बुँदे हेटौँडा घोषणा–पत्र अनुमोदन गर्दै १५ वटा पेशागत र व्यावसायिक संघ संस्थाका बीचमा चितवनकी रिना गुरुङको संयोजकत्वमा बागमती प्रदेश एलाइन्स पनि गठन गरिएको छ ।

विद्युतीय गाडी : निजी छ्यापछ्याप्ती, सार्वजनिक न्यून

काठमाडौं । पछिल्लो समय सरकारले विद्युतीय गाडी प्रोत्साहनमा जोड दिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांक अनुसार नेपालमा १ हजार ७४९ वटा चारपाँग्रे विद्युतीय गाडी भित्रिएको छ । गत साउनदेखि पुस मसान्तसम्म गाडी नेपाल भित्रिदा ४ अर्ब ९१ करोड ५९ लाख ६३ हजार रुपैयाँ बाहिरिएका छ । विद्युतीय सवारीमा सरकारले कर सहुलियत दिएकाले आयात क्रमिक रुपमा बढ्दै गएको छ । १७ सय ४९ वटा विद्युतीय कार आयात हुँदा राज्यले १ अर्ब ३७ करोड ४९ लाख ७३ हजार कर पाएको छ । १०० किलोवाट सम्मका विद्युतीय गाडी आयातमा सरकारले भन्सार र अन्तशुल्कमा छुट दिएको छ । सरकारले छुट दिएपछि पछिल्लो समय नेपाल भित्रिने विद्युतीय गाडीको संख्यामा बृद्धि हुन थालेको व्यवसायीहरुले बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा० ले सरकारले विद्युतीय गाडीको भन्सारमा छुट दिँदा आयात बढेको बताएको छ । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती विद्युतीय चारपाँग्रे गाडी नेपालमा भित्रने क्रम बढ्दो रहेको बताउँछन् । उनले सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहनको निजी अनुरुप नै व्यवसायीहरुले विभिन्न देशबाट विद्युतीय सवारी भित्र्याउने गरेको बताए । केही समय अघिसम्म विद्युतीय गाडी बुकिङ गरेको ६ महिनादेखि १ वर्षभित्र समेत भित्रने गरेको थियो । तर, पछिल्लो समय तरलता अभाव, बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङमा गरेको कडाईका कारण नेपाल ल्याइएका विद्युतीय गाडीहरु समेत बिक्री हुन समय लाग्ने नाडाले जनाएको छ । निजी सवारी साधन भित्रने क्रममा बढ्दो रहेतापनि सार्वजनिक सवारीमा भने विद्युतीय गाडी न्यून रुपमा मात्र सञ्चालन छन् । सरकारको लगानी रहेको साझा यातायातले हाल ३ वटा विद्युतीय गाडी सञ्चालन गर्दै आएको छ । साझाभन्दा अघि सुन्दर यातायातले विद्युतीय गाडी सञ्चालनमा ल्याएकोे थियो । सुन्दरले हाल काठमाडौं उपत्यका र बाहिरका विभिन्न गन्तव्यमा १६ वटा विद्युतीय गाडी दैनिक रुपमा सञ्चालन गर्दै आएको छ । सुन्दर र साझा बाहेक अन्य यातायात कम्पनीले विद्युतीय सवारी साधन सञ्चालनमा चासो देखाएका छैनन् । विद्युतीय गाडी खरिद मूल्य नै उच्च हुँदा तत्काल सञ्चालनको अवस्था नरहेको व्यवसायीहरुले बताउँदै आएका छन् । डिजेलका गाडीहरु ३७ लाख रुपैयाँ ९भन्सार कर तथा अन्तशुल्क० मा नेपाल ल्याउन सकिन्छ भने विद्युतीय गाडीका लागि डेढ करोडदेखि पौने २ करोड रुपैयाँसम्म लाग्ने व्यवसायीहरुले बताएका छन् । डिजेलका गाडी खरिद गर्ने मूल्य विद्युतीय गाडीले भन्सार शुल्कमै भुक्तानी गर्ने भन्दै विद्युतीय गाडी सञ्चालनमा राज्यबाट कुनै सहुलियत नभएको उनीहरुको भनाइ छ । सुन्दर यातायातका अध्यक्ष भेषवहादुर थापा विद्युतीय गाडी सञ्चालनमा सरकारले समन्वय नै नगरेको बताउँछन् । उनले निजी प्रयोजनका लागि ल्याइने विद्युतीय गाडीमा सरकारले भन्सार तथा अन्तशुल्कमा छुट दिएतापनि सार्वजनिक रुपमा सञ्चालनमा हुने गाडीमा कुनै छुट नदिएको बताए । साझाका ३७ विद्युतीय गाडी थन्किए साझाले चीनबाट खरिद गरेर ल्याएको ३७ वटा विद्युतीय गाडी सञ्चालनमा नआउँदै थन्किएको छ । पर्याप्त मात्रामा चार्जिङ स्टेशन नभएको भन्दै साझाले धुलिखेल तथा पुल्चोक कार्यालयमा गाडीहरु पार्किङ गरेर राखेको छ । साझा यातायातका सञ्चालक समिति सदस्य भुषण तुलाधार चार्जिङ स्टेशन अभावका कारण गाडीहरु पार्किङमै थन्किएको बताउँछन् । ‘हामीले सरकारसँग चार्जिक स्टेशन बनाउँनका लागि आवश्यक जग्गा उपलब्ध गराउन आग्रह गर्दै आएका छौँ, सरकारले जग्गा उपलब्ध गराएपछि गाडीहरु सञ्चालनमा ल्याउँछौँ’, उनले भने । सरकारले जग्गा उपलब्ध गराएपछि साझाले नै तत्काल २० वटा चार्जिङ स्टेशन निर्माण गरेर विद्युतीय गाडी सञ्चालनमा ल्याउने उनको भनाई छ । थप १६ वटा गाडी ल्याउँदै सुन्दर सुन्दर यातायातले काठमाडौं उपत्यकामा सञ्चालन गर्न थप १६ वटा विद्युतीय गाडी ल्याउन लागेको छ । ‘केही दिन अगाडी मात्र ६ वटा गाडीहरु आइपुगेको छ, बाँकी गाडीहरु केही समयभित्र आउँछन्,ु अध्यक्ष थापाले भने । सुन्दरले यसअघि नै सञ्चालन गरेकै मोडलको गाडीहरु ल्याएको भन्दै काठमाडौं उपत्यकाभित्रै सञ्चालनको तयारी भएको उनले बताए । ‘हाम्रो योजना १६ वटा गाडी ल्याउने हो, दोस्रो लट केही दिनमा आउछन्, बीचमा चिनियाँहरुको नयाँ वर्षका कारण गाडी ल्याउन ढिलाई भएको हो’, उनले भने ।