विकासन्युज

३३ अंकले बढ्यो सेयर बजार, सबैभन्दा बढी कमाउनेमा हाइड्रोपावर कम्पनी

काठमाडौं । बुधबार ३३.५७ अंकले सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर २०८०.३८ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज सेयर मूल्य सबैभन्दा बढी बढ्ने १० कम्पनीहरुमा ८ वटा नै हाइड्रोपावर रहेका छन् । यस्तै, सबैभन्दा बढी सेयर मूल्य गुमाउने टप १० कम्पनीहरुमा ० वटा नै लघुवित्त कम्पनीहरु रहेका छन् । यस्तै, आज ४७ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ । नेप्सेको अनुसार आज सबैभन्दा बढी कारोबारख हिमालय डिस्टिलरीकाम सेयरधनीहरुले गरेका छन् ।

खराब नियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई तत्काल कारबाही गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद थापाले खराब नियतले काम गर्ने लघुवित्तलाई राष्ट्र बैंकले सुपरीवेक्षण गरेर तत्काल कारबाही गर्न माग गरे । थापाले लघुवित्तका कारण मर्कामा परेकाहरुलाई बैंक तथा वित्तीय संस्थाहरुको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन आवश्यक रहेको बताए । उनले लघुवित्तका कारण कयौं गरिव जनता माथि उठ्न नसक्नेगरी थला परेको टिप्पणी गरे । उनले लघुवित्त संस्थाहरुले नाफाका लागि जे पनि गर्ने, तत्कालको गर्जो टार्न जहाँबाट जतिसुकैमा पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने तर सुपरीवेक्षणमा मुठ्ठी कस्ने राष्ट्र बैंकका कारण अहिले लघुवित्तमा समस्या देखिएको बताए । उनले अब एउटा ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने व्यवस्था गर्न र सुपरीवेक्षण कार्यलाई तल्लो तहसम्म लैजान समेत माग गरे । ‘अति न्यूनआय भएका गरिबलाई गरिबीको रेखाबाट माथि उठाउने उद्देश्यका साथ लघुवित्त सञ्चालनमा आएका भए पनि कयौँ लघुवित्तका कारण गरिब थला परेका छन्, अनुचित नाफा कमाउनका लागि जे पनि गर्ने लघुवित्त, तत्कालको गर्जो टार्न जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहाकहरु, सुपरीवेक्षण गर्ने राष्ट्रबैंकका कारण यो अवस्था देखिएको हो’, उनले भने । उनले राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन र सुपरिर्वेक्षण कार्य र वित्तिय साक्षरतालाई स्थानीय सरकारको साझेदारीमा तल्लो तहसम्म लैजाने काम राष्ट्र बैंकले तत्काल गर्नुपर्ने बताए ।

ललितपुरलाई हरियाली शहर बनाउन काम भइरहेको छ : चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई हरियाली शहर बनाउने योजनाअनुसार काम भइरहेको बताएका छन् । बुधबार ललितपुरमा नेपाल स्काउट वागमती प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख महर्जनले आगामी आर्थिक वर्षदेखि महानगरपालिकाको नेपाल स्काउटको शाखासँग समन्वय र सहकार्य गरी हरियाली शहर बनाउने र ललितपुर महानगरपालिकालाई सुरक्षित शहर बनाउने कुरामा लाग्ने प्रतिवद्धता जनाए । उनले महाकांल, वागमती गाउँपालिकाहरुमा पनि महानगरको सहयोगमा स्काउटका कार्यक्रमहरु पु¥याउन प्रतिवद्ध रहने बताए । उनले ललिपुर महानगरपालिकालाई हरियाली शहर बनाउनका लागि योजना र कार्यक्रम बनाइ काम पनि शुरु गरिसकेको बताए । उनले सप्तापातल पोखरीसँग जोडिएको ३२ रोपनी जग्गा नेपाली सेनासँग फिर्ता लिए त्यहाँबाट हरियाली ललितपुरको काम शुरु गरेको बताए । उनले भने, ‘अब आउँदो आर्थिक वर्षदेखि ललितपुर महानगरपालिका र ललितपुर महानगरपालिकाको नेपाल स्काउटको शाखासँग समन्वय गरेर काम गर्नेछौँ । हामीले काम गर्नको लागि बजेट कुर्नु आवश्यक छ । त्यसपछि हामी कन्जुसम, महाकांल, वागमती गाउँपालिकाहरुमा स्काउड एक्टिभिटी बढाउन तयार छौँ । सप्तापातल पोखरीसँग जोडिएको ३२ रोपनी जग्गा नेपाली सेनासँग फिर्ता लिएका छौँ, र हामीसँग भएको १५ रोपनी जग्गामा हरियाली र पानीजन्य प्रोजेक्ट शुरु गरिसकेका छौँ । २ वर्ष भित्रमा त्यहाँ हामी कमलको फूल फुलाउनेछौँ ।’ स्काउट प्रवर्तक लर्ड वेडेज पाल्वे तथा लेडी वेडेन पावेलको जन्मोत्सव एवं यु फाउण्ड थिंकिङ डेको अवसरमा नेपाल स्काउट वागती प्रदेशले सो कार्यक्रम गरेको हो ।

‘प्रधानमन्त्री, मन्त्री र सांसदहरुले काठमाडौंमा घरजग्गा किन्न नपाउने व्यवस्था बनाऔं’

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता तथा सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीहरुले काठमाडौंमा घरजग्गा किन्न नपाउने व्यवस्था बनाउनुपर्ने बताएका छन् । आज संसदमा विशेष समय लिएर बोल्ने क्रममा सांसद सुवालले सो बताएका हुन् । देशको सन्तुलित विकास गर्नको लागि कानूनको आवश्यक भएको भन्दै सांसद सुवालले भने, ‘२०७२ सालको जस्तो ठुलो भूकम्प काठमाडौँमा गएमा भाग्ने ठाउँ नभएर यहाँका लाखौँ जनताको मृत्यु हुने अवस्था छ । यसकारण प्रधानमन्त्री, मन्त्री, सांसद र सरकारका उच्च अधिकारीहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा बजार विकास गरी स्थानीय जनतासँगै घर बनाएर बस्नुपर्ने, काठमाडौँ उपत्यकामा घरजग्गा किन्न नपाउने र देशको सन्तुलित विकास गर्ने कानुन बनाउन जरुरी छ ।’ उनले काठमाडौं उपत्यका विकास प्राधिकरणको अविलम्ब खारेज गर्न आवश्यक रहेको समेत बताए । कुनै विपत्ति आएमा काठमाडौंका जनता भोकभोकै बस्नुपर्ने अवस्था आउने भन्दै उनले देशको सन्तुलित विकासको माग गरेका हुन् । ‘ललितपुरको सुनाकोठी–ठेचो र चापागाउँका पुरानो बस्ती भत्काएर सडक विस्तार गरिएकोमा जनताको विरोध छ । काठमाडौँमा घर भत्काएर सडक चौडा गरिँदैमा सडक जाम हट्ने छैन । पहिरोलगायत विपत्तिबाट सडक अवरोध भएमा काठमाडौँ उपत्यकामा खाद्यान्न आपूर्ति अवरुद्ध हुने र यहाँका जनता भोकभोकै मनुपर्ने अवस्था छ’, सांसद सुवालले बताए ।

६ महिनामा आठ खर्ब २५ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा आठ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ नाँघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले कूल १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । यसमध्ये नौ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको देखिएको हो । यो अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७७ प्रतिशत र निर्यातको हिस्सा नौ दशमलव २३ प्रतिशत छ । गत माघ मसान्तसम्म भएको वैदेशिक व्यापारबाट दुई खर्ब १२ अर्ब १२ करोड ७४ लाख रुपैयाँ बराबर भन्सार राजस्व उठेको विभागको तथ्याङ्कबाट देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समीक्षा अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारको तुलनामा यसवर्षको सोही अवधिमा गरेको व्यापार २० दशमलव ८४ प्रतिशतले घटेको छ । त्यस्तै गतवर्षको तुलनामा आयात १९ दशमलव ९० प्रतिशतले घटेको छ भने निर्यात २९ प्रतिशतले घटेको विभागले जनाएको छ । नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत हो । माघ मसान्तसम्ममा नेपालले भारतबाट पाँच खर्ब ७० अर्ब ९६ करोड ९७ लाख रुपैयाँ बराबरको सामान आयात गरेको छ । यही अवधिमा नेपालबाट भारतमा भएको निर्यात भने ६६ अर्ब २२ करोड ६५ लाख रुपैयाँ बराबर मात्रै छ । छ महिना अवधिमा चीनबाट एक खर्ब २५ अर्ब पाँच करोड २४ लाख रुपैयाँ बराबरको आयात गरेको छ भने ४२ करोड २६ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । यो अवधिमा नेपालले वैदेशिक व्यापार गरेको तेस्रो ठूलो मुलुक इन्डोनेसिया हो । इन्डोनेसियाबाट ५७ अर्ब ९ करोड ६९ लाख बराबर रुपैयाँको आयात हुँदा १० करोड ३६ लाख रुपैयाँ बराबर मात्रै निर्यात भएको छ । त्यस्तै, संयुक्त अरब इमिरेट्सबाट २० अर्ब २६ करोड २५ लाख रुपैयाँ बराबरको सामान आयात हुँदा २५ करोड ८९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । अर्जेन्टिनासँग १८ अर्ब ५६ करोड ६० रुपैयाँ बराबरको आयात र १० लाख २० हजार रुपैयाँ बराबरक निर्यात कारोबार भएको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात गरेको छ । विभागका अनुसार छ महिनामा ८४ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ बराबरको डिजेल, ३८ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ बराबरको पेट्रोल र ३३ अर्ब ३४ करोड रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ । यही अवधिमा नेपालले २६ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ बराबरको अप्रशोधित सोयाबिन तेल आयात गरेको छ । त्यसैगरी, २३ अर्ब ६६ करोड रुपैयाँ बराबरको फलाम, १८ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ बराबरका सुनजन्य वस्तु, १७ अर्ब ७६ करोड रुपैयाँ बराबरको अप्रशोधित पाम आयल र १४ अर्ब ७६ करोड ८३ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको देखिन्छ । छ महिना अवधिमा नेपालबाट सबैभन्दा धेरै पाम आयल निर्यात भएको छ । यो अवधिमा १३ अर्ब ९२ करोड ६७ लाख रुपैयाँ बराबरको पाम तेल निर्यात भएको देखिएको हो । त्यस्तै, सोयाबिन तेल आठ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । विभागका अनुसार चार अर्ब ८९ करोड ७३ रुपैयाँ बराबरको अलैँची र दुई अर्ब ५८ करोड ३४ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ । वैदेशिक व्यापार गर्ने सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सार हो । वीरगञ्ज भन्सारबाट छ महिना अवधिमा तीन अर्ब ४३ करोड ६३ लाख ४३ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ भने २३ अर्ब २८ करोड ४० लाख रुपैयाँ बराबरको निर्यात भएको छ । नेपालले यो अवधिमा गरेको कूल वैदेशिक व्यापारमा वीरगञ्जबाट मात्र ३७ दशमलव ३९ प्रतिशत आयात भएको छ भने कूल निर्यातको २४ दशमलव ९२ प्रतिशत हिस्सा रहेको छ । त्यस्तै, भैरहवा भन्सारबाट एक खर्ब ३० अर्ब ५३ करोड ९३ लाख रुपैयाँ बराबरको आयात र पाँच अर्ब ४२ करोड ७० लाख रुपैयाँ बराबर निर्यात भएको छ । विराटनगर भन्सारबाट एक अर्ब ६ करोड ९० लाख १९ हजार रुपैयाँ बराबरको आयात हुँदा २५ अर्ब ५३ करोड ८० लाख रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्याङ्कबाट देखिन्छ । रासस

बाजुरामा फेरी गयो भूकम्प

बाजुरा । बाजुरामा आज दिउँसो १ बजेर ४६ मिनेटमा भूकम्प गएको छ । गत माघ १० गते गएको भूकम्पको ठीक एक महिनापछि आज यहाँ पुनः भूकम्प गएको हो । जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर ५ दशमलव २ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतले जनाएको छ । माघ १० गते मङ्गलबार दिउँसो ५ दशमलव ९ रेक्टरको भूकम्प गएको ठीक एक महिनामा भूकम्प गएको भूकम्पमापक केन्द्र सुर्खेतको भनाइ रहेको छ । सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछामलगायतका जिल्लामासमेत भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्कापछि स्थानीयवासी त्रसित बनेका छन् । भूकम्पबाट प्रभावित भएका बाजुराका पीडितहरुको उचित व्यवस्थापन हुन नपाउँदै फेरि भूकम्प गएपछि यहाँका स्थानीय थप प्रभावित भएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन । रासस

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले टीकापुर घटनाका सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्ने प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद प्रभु साहले रौटहटमा मौलापुर नगरपालिकाले आयोजना गरेको कार्यक्रमको नेपाल विद्युत् प्राधिकरणका स्थानीय कर्मचारीले विरोध गरेको, कार्यक्रमका दिन बिजुलीको लाइन काटेको जानकारी दिँदै प्राधिकरणका कर्मचारीलाई कानुन लाग्ने कि नलाग्ने भनी प्रश्न गरे । ‘सेवाग्राहीले के कारणले लाइन काटेको हो भनेर सोध्न जाँदा गुण्डागर्दी भयो’, उनले भने, ‘विद्युत् अवरोध गर्ने, जनतालाई दुष्प्रचार गर्ने घटनाको तत्काल छानबिन गर्न माग गर्दछु ।’ सांसद दीपक गिरीले दाङमा सडक पूर्वाधार निर्माण ढिलाइ भइरहको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘तीन पटक म्याद थपेर पनि सडक अझै निर्माण सम्पन्न भएका छैनन्, यसको सरकारले जवाफ दिनुपर्छ’, उनले भने । सांसद प्रेम सुवालले पूर्वाधार विकास गर्दा स्थानीयको भावनालाई सम्बोधन गर्न आग्रह गरे । सांसद रघु पन्तले पछिल्ला समय विदेशी चलखेल बढेको भन्दै विदेशी कूटनीतिज्ञको भेटघाटलाई नियमन गर्न सरकारको ध्यानाकर्षण गराए । रासस

बागलुङको निसीखोलावासी स्वास्थ्य बीमाबाट वञ्चित

बागलुङ। बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमाबापतको रकम समयमा भुक्तानी नगर्दा सर्वसाधारण बीमा सुविधाबाट वञ्चित भएका छन् । सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन गाउँपालिकाले बीमाबापतको रकम समयमै भुक्तानी नदिँदा बीमा कार्यान्वयनमा नआएको हो । बीमाका लागि फाराम भरेर बसेका निसीखोलावासी बीमा सुविधा उपभोगबाट भने वञ्चित छन् । गाउँपालिकाले पहिलो चरणको ६४ लाख बीमा रकम भुक्तानी गर्न नसक्दा स्वास्थ्य बीमाको काम अघि बढ्नसकेको छैन । गत असारमा सम्पन्न दशौँ गाउँसभाले पालिकाका नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो । पाँच हजार चार सय घरधुरीका लागि निःशुल्क बीमा गर्न राजस्व बाडफाँडबाट दुई करोड बजेट विनियोजन गरेको थियोे । स्वास्थ्य बीमाको लागि पालिकाले पहिलो चरणमा नौ हजार एक सय ८५ जनाको विवरण सङ्कलन गरिसकेको छ । विवरण सङ्कलन भएका नागरिकले फागुन १ गतेदेखि सेवा लिनुपर्नेमा बीमाको रकम भुक्तानी नहुँदा कार्यान्वयनमा ढिलाइ भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । सङ्घ, प्रदेश र पालिकाको आन्तरिक स्रोतको राजस्व बाँडफाँटबाट बीमा गर्ने निर्णय गाउँसभाले पारित गरेको थियो । भुक्तानी भएको तीन महिनाबाट नागरिकले स्वास्थ्य बीमाको सेवा लिन पाउँछन् । प्रदेश र सङ्घबाट आउने राजस्व बाँडफाँट शीर्षकमा बजेट राखिएकोमा बजेट प्राप्त नहुँदा कार्यान्वयनमा समस्या भएको गौतमको भनाइ छ । गाउँपालिकाले असोज, कात्तिक र मङ्सिरमा रकम भुक्तानी गरेको भए फागुन १ गतेदेखि नागरिकले बीमाको सेवा लिन पाउने थिए । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले पहिलो चरणमा परिवारको विवरण आए पनि विशेष विवरण नआएको प्रतिक्रिया दिए । ‘प्रदेश र सङ्घीय सरकारबाट थोरै बजेट प्राप्त हुँदा योजनामा बाँडफाँट गर्न गाह्रो भयो, एक हप्तामा राजस्व बजेट हेरेर भुक्तानी गछौँ’ चन्दले भने । रासस