कालीगण्डकी करिडोर : मालढुङ्गा–कोरला सडक अन्तिम चरणमा
काठमाडौं । राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको मालढुङ्गा–कोरला खण्डको काम जारी रहेको छ । हालसम्म लक्षित कार्यक्रममध्ये कतिपय सकिएको र निर्माणाधीन ठेक्कामा पनि प्रगति अपेक्षाअनुसार पाइएको हो । मालढुङ्गाबाट बेनी हुँदै कोरला खण्डमा मालढुङ्गाबाट २०२ किलोमिटरममध्ये एक सय किमीमा कालोपत्रको ठेक्का भएको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरोला सडक योजनाले जनाएको छ । आव २०७३/७४ जेठमा ७० किमी सडक कालोपत्रका लागि ठेक्का भएकामा ३० किमी कालोपत्र भइसकेको छ । गत आवमा २६ किमी सडक कालोपत्र गर्ने गरी ठेक्का भएको योजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिए । उनले भने, ‘अघिल्लो वर्ष ठेक्का लगाएको दुई ठेक्कामा पनि काम भइरहेको छ ।’ मालढुङ्गा–कोरला सडकमा जोमसोम –कोरलासम्मको सडकमा कालोपत्र नगरेर ग्राभेल गर्ने सडक विभागको योजना रहेको छ । यसमा थोरै बाहेक अधिकांस काम सकिएको प्रमुख उनले बताए । स्थामनीयवासी बाहेक बाहिरबाट आउने अधिकांश पर्यटकको गन्तव्य मुक्तिनाथ रहेकामा त्यहाँको सडकमा ३० किमी कालोपत्र भइसकेको योजनाले जनाएको छ । मुक्तिनाथभन्दा माथिल्लो खण्डमा ५० प्रतिशत खण्ड जोमसोम–कोरला खण्ड रहेको छ । उनले भने, ‘जोमसोम कोरलामा अहिलेसम्मको लक्ष्यका आधारमा ९५ प्रतिशत प्रगति रहेको छ ।’ मुक्तिनाथसम्मको खण्डमा हेर्दा म्याग्दी खण्डमा अहिलेसम्म झण्डै छ किमी मात्रै कालोपत्र सकिएको छ । मुस्ताङ खण्डमा कालोपत्र गर्ने लक्ष्य लिइएको खण्डमा काम भइसकेको उनले जानकारी दिए । जोमसोम–कोरला खण्डमा अहिलेको लक्ष्य ग्राभेल मात्रै भएकाले सम्पन्न भइसकेको र आगामी दिनमा कालोपत्रको योजना बनाएमा नयाँ ठेक्काबाट गरिने प्रमुख प्रजापतिले बताए । माथिल्लो खण्डमा पानी नपर्ने हुँदा ग्राभेलले नै काम गरिरहेको उनको भनाइ छ । म्याग्दी खण्डमा यो असारसम्ममा प्रगति हुने देखिएको प्रमुख प्रजापतिले बताए । यसअघि संरचनाका काम भइरहेकाले प्रगति कम देखिएको भए पनि अब कालोपत्रको काम गर्दा प्रगित देखिने उनले बताए । योजनाले ठाउँठाउँमा पानी पर्ने र माथिबाट खोलाजस्तै बग्ने ठाउँमा ढलानको काम सुरु गरेको छ । सडक कालोपत्र गर्ने भनिएको खण्डमा कालोपत्रका लागि सबै खण्ड ठेक्कामा गइसकेको योजनाले जनाएको छ । एक सय किमी कालोपत्र र एक सय दुई किमीको ग्राभेल गर्ने योजनाअनुसार अहिलेसम्म लक्ष्यअनुसार काम गर्न ठेक्का सम्झौता भइसकेको उनले बताए । उनले भने, ‘ग्राभेल गर्ने खण्डमा एउटा खण्डमा थोरै काम मात्रै बाँकी छ ।’ पहिलेभन्दा थप भएका काम भने ठेक्कामार्फत अघि बढाउँदै जाने प्रमुख प्रजापतिले जानकारी दिए । भीरकाटेमा सुरुङ निर्माणका लागि अध्ययन भइरहेकामा त्यो सकिएपछि ठेक्का लगाइने योजना रहेको छ । म्याग्दी खण्डमा पहिलेको अध्ययनमा नदेखिएका ठूलाठूला पहिरो विकास भएकाले त्यहाँ पनि थप काम गर्नुपर्ने आवश्यक देखिएको छ । विसं २०७७ असोजमा काभ्रेमा ठूलो बाढी आएको थियो भने रुप्से र त्यसभन्दा माथिल्लो भागमा सडक नै नहरने गरी पहिरोसहितको बाढी आएको थियो । उनले भने, ‘ठाउँठाउँमा पहिरो भएकाले त्यसको अध्ययन भइरहेको छ ।’ हाल सडकको पाँच ठेक्का र पुलका आठ ठेक्का सञ्चालनमा रहेको योजनाले जनाएको छ । आव २०७३/७४ को तीन वटा ठेक्का सञ्चालनमा रहेका छन् । नयाँ दुई ठेक्कामा पनि काम अघि बढिरहेको छ । आठ पुलको ठेक्का सञ्चालनमा रहेकामा सबैको प्रगति ६० प्रतिशत माथि रहेको योजनाले जनाएको छ । रासस
गौतमबुद्ध विमानस्थलबाट पुनःनियमित अन्तर्राष्ट्रिय उडान सुरु
काठमाडौं । देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट आजदेखि पुनःनियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एअरवेजले गएको पुस ६ गतेदेखि खराब मौसमका कारण भन्दै उडान स्थगित गरेको थियो । कुवेतबाट आज बिहान ६६ जना यात्रु लिएर ७ बजेर १५ मिनेटमा अवतरण गरेको जजिरा एअरको विमानले आजै बिहान त्यहाँबाट ८ बजेर १५ मिनेटमा ९९ यात्रु लिएर उडेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार अब आकाश खुल्न थालेकाले भैरहवा उडान सहज भएको र जजिराले अब हप्तामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार नियमित उडान गर्नेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा सञ्चालन गरिएको भैरहवाको गौतमबुद्ध विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता रहेको क्यानले जनाइएको छ । रासस
तामाकोसी–काठमाडौं प्रसारण लाइन असारभित्रमा सक्न समयसीमा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तामाकोसी–काठमाडौं २२०र४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारहरुलाई समयसीमा दिएको छ । आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र बाह्रबिसेमा २२०/१३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । साथै, लप्सीफेदीमा ४००/२२०/१३२/११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको छ । तामाकोसी तथा सुनकोसी नदी र ती नदीहरुका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानसहितको उच्चस्तरीय टोलीले आयोजना अन्तर्गत बाह्रबिसे सबस्टेसनको बुधबार अनुगमन भ्रमण गरी महत्वपूर्ण प्रसारण लाइन र सबस्टेसनको निर्माण असारभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ । निर्माणमा देखिएको अवरोध हटाउन आफ्नोतर्फबाट पनि सहजीकरण तथा समन्वय गर्ने प्रतिबद्धता जनाउँदै टोलीले नयाँ खिम्ती–बाह्रबिसे, बाह्रबिसे–काठमाडौं र बाह्रबिसे सबस्टेसनको निर्माण असारभित्र सम्पन्न गर्न निर्देशन दिएको हो । टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माण जिम्मा पाएका ठेकेदारहरु, आयोजना व्यवस्थापनसँग निर्माणमा हालसम्म भइरहेको प्रगति, सम्पन्न हुने तालिका, व्यहोरिरहेका समस्या तथा समाधानका उपायहरुलगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको थियो । रुख कटान आदेश, जग्गा प्राप्ति, प्रसारण लाइनको मार्गधिकारमा स्थानीय बासिन्दाको अवरोधलगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ । बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमको काम सन्तोषजक नदेखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको विद्युत् बाह्रबिसे सबस्टेसनमा जोडिने छ । मध्यभोटेकोसीको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । कार्यकारी निर्देशक घिसिङले असारभित्रमा सबस्टेसनको निर्माण नभएर मध्यभोटेकासीको विद्युत् जोड्न नसकिने अवस्था आएमा त्यसको क्षतिपूर्ति भराइने ठेकेदारलाई चेतावनी दिए । ‘मध्यभोटेकोसीले सबस्टेसनसम्मको प्रसारण लाइनका टावर निर्माण गरिसकेको छ, सबस्टेसन निर्माण सम्पन्न भएन भने विद्युत् कसरी प्रवाह गर्ने ? यस्तो महत्वपूर्ण सबस्टेसन निर्माणमा ढिलाइ गर्ने रु’, घिसिङले ठेकेदारलाई निर्देशन दिँदै भने । ‘यदी सबस्टेसन निर्माण सम्पन्न नभएर मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आएमा १०२ मेगावाट विद्युत् बिक्रीबाट दैनिक रुपमा प्राप्त गर्ने आम्दानी असुलउपर गरिने छ ।’ प्राधिकरणले मध्यभोटेसीको विद्युत प्राहका लागि अस्थायी वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि बाह्रबिसे सबस्टेसन निर्माण अनिवार्य छ । मध्यभोटेकोसीको विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिने छ । २२० केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई बाह्रबिसे सबस्टेसनमार्फत १३२ केभीमा झारिने छ । त्यसपछि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले निर्माण गरेको १३२ केभि प्रसारण लाइनमार्फत लामोसाँघु सबस्टेसनमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ । माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले अहिले बाह्रबिसे बजारबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर प्रसारण लाइन निर्माण गर्न सर्वेक्षण सम्पन्न गरेको छ । आयोजनाले यो लाइन निर्माण गर्न बढीमा ४ महिना लाग्ने बताएको छ । यो लाइन बनेपछि अहिले लामासाँघु सबस्टेसनमा जोडिएको आयोजना बाह्रबिसे सबस्टेसनका जोडिने छ । कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सबस्टेसन र नयाँ खिम्ती–बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भएपछि मध्यभोटेकासीको विद्युत् खिम्तीतर्फ प्रवाह गर्न सकिने बताउनुभयो । बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी,५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहने छन् । घिसिङले बाह्रबिसे बजारबाट सबस्टेसनसम्म जाने करिब साढे चार किलोमिटर सडकको मर्मत तत्काल गरी वर्षा सुरु हुनुभन्दा अघिनै निर्माणस्थलमा उपकरणहरु तथा निर्माण सामाग्री ढुवानीको व्यवस्था गर्न निर्देशन दिए । प्रसारण लाइन अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्डमा पर्ने ११८ वटा टावरमध्ये ९० वटा टावरको जग हालिएको छ । ७१ वटा टावर खडा गरिएको छ । १७.५ किलोमिटर तार तानिएको छ । यो लाइन बनाउन पनि बाह्रबिस सबस्टेसनको ठेकेदारले नै पाएको थियो । तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो । प्राधिकरणले चिनियाँ कम्पनीसँग ठेक्का तोडी ठेक्का रकमको १० प्रतिशत अर्थात १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको थियो । यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ बैक जमानत पनि जफत गरिएको थियो । त्यसपछि प्राधिकरणले गरेको नयाँ टेण्डर गरी ठेकेदार छनोट गरेको थियो । बाह्रबिसे–लप्सेफेदी खण्डमा पर्ने १२२ टावरमध्ये १११ वटाको जग हालिएको छ भने ४ वटा टावरको जग हाल्ने काम जारी रहेको छ । १०३ वटा खडा गरिएको छ । स्थानीयको अवरोधका कारण लप्सीफेदीमा ४ वटा टावर निर्माण सुरु हुन सकेको छैन । १२.५ किलोमिटर तार तानिएको छ । वन क्षेत्रको जग्गा प्रयोग, रुख कटानी, स्थानीयको अवरोधलगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ ।
उद्योग बेचेर सेयरमा लगानी, १ अर्बको पोर्टफोलियो ४० करोडमा झर्यो
काठमाडौं । विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको उचाई कति होला ? सबैले सहजै उत्तर दिन्छन्, ८ हजार ८४८.८६ मिटर । सगरमाथाको उचाई पत्ता लाग्यो । समुन्द्रको गहिराइसम्म मान्छेहरु पुगिसके । तर, सेयर बजारको उचाई र गहिराई पत्ता लगाउन सकिएन । सेयर बजारको चुचुरोको उचाई कति हो भनेर प्रश्न गर्याे भने ठ्याक्कै जवाफ कसैले दिन सक्दैनन् । सेयर बजारको बढाई असीमित छ । लगानीको सीमा असीमित छ । सेयर बजारको बढाई र घटाई पनि यत्ति नै हो है भन्न सकिँदैन । यही सोचलाई आत्मसाथ गर्दै दोस्रो बजारमा अघि बढिरहेका छन्, लगानीकर्ता अम्बिर बोगटी । उनी जहिले पनि सेयर बजारको चुचुरोमा पुग्ने प्रयास गरिरहन्छन् । तर अहिलेसम्म चुचुरो नै पत्ता लगाउन सकेका छैनन् । सेयर बजारकाे टुप्पोमा पुग्न खोज्दा खोज्दै उनी फेद पुगेको थाहै पाउँदैनन् । सेयर बजारको चुचुरो र फेद बोगटीले कति पटक भेटिसके तर अझै उनले ठ्याक्कै यही नै हो भनेर पत्ता लगाउन सकिरहेका छैनन् । सेयर बजारको १८ सय अंकको बुल होस् वा ३२ सय अंकको बुल । सेयर बजारको यो दुवै चुचुरोमा पुगेका छन् लगानीकर्ता बोगटी । अझै त्यो भन्दा माथिको चुचुरोमा पुग्छु भन्ने सोच बनाउँदै गर्दा उनी फेदमा पुगेको थाहै पाउँदैनन् । बोगटीले सेयर बजारका थुप्रै बुल र वियरिसको अनुभव लिइसके । उनले बुलभन्दा वियसिरस बजारबाट बढी अनुभव हासिल गरिसके । यस्ता थुप्रै बुल र वियरिसबाट सेयर बजारको अनुभवमा खारिएका छन् उनी । अहँ ! तर, अझै थाहा पाउँदैनन् सेयर बजारको चुचुरो र फेद । पेशाले पोल्ट्री एण्ड ह्याचरी व्यवसायी हुन् बोगटी । बुवाले वि.सं. २०४३ सालदेखि पोल्ट्री व्यवसाय गर्दै आएका थिए । वि.सं. २०६० को दशकदेखि बुवाले गर्दै आएको व्यवसायलाई अम्बिरले सम्हाले । बालाजु औधोगीक क्षेत्रमा उनको अमृत फिड इण्ड्रष्टी सञ्चालन भइरहेको छ । उनले आफ्नो व्यवसायलाई चितवनमा समेत विस्तार गरे । वि.सं. २०६० को दशकमा नेपालमा बैंक सञ्चालन गर्ने लहर सुरु भयो । पूर्व बैंकर जयन्द्र श्रेष्ठ उनका बुवाका साथी थिए । बैंकर श्रेष्ठले उनका बुवालाई बैंकमा लगानी गर्न सुझाव दिएपछि बोगटी सिभिल बैंकका संस्थापक बने । बैंकको सञ्चालक बने । उनी सञ्चालक बनेपछि बैंकिङ्ग क्षेत्रको अध्ययन गर्न थाले । अध्ययन गर्दै जाँदा उनमा बैंकिङ्ग क्षेत्रको रस बढ्न थाल्यो । पछि साविकको सिभिल बैंकका अध्यक्ष समेत बने । वि.सं. २०६५ साल माघ महिनामा उनी कम्प्युटरमा सेयर बजार हेर्दै थिए । नबिल बैंकको सेयर मूल्य ४२ सय रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६ हजार रुपैयाँ थियो । साउनमा नबिल बैंकको सेयर मूल्य ६ हजार ५ सय र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ९ हजार रुपैयाँ पुग्यो । ६ महिना मै सेयर मूल्य बढेपछि उनी अचम्ममा परे । आफूले दुःख गरेर सञ्चालन गरिरहेको पोल्ट्री व्यवसाय भन्दा सेयर बजारमा लगानी गर्याे भने ६ महिनामै नाफा दोब्बर हुने देखेपछि सेयर बजारमा लगानी गर्ने मनसाय बनाए । उनी तत्कालीन समयमा फिड एण्ड ह्याचरी व्यवसायी संघ र दाना उद्योग संघको केन्द्रिय सदस्य समेत थिए । उनले आफ्नो पैतृक व्यवसायलाई बिट मारेर सेयर बजारमा लगानी गर्ने सोच बनाएपछि चितवनमा सञ्चालित ह्याचरी बेचे । उनका साथी मित्रलाल श्रेष्ठ १० नम्बर ब्रोकरका सञ्चालक थिए । लगानीकर्ता बोगटीको व्यवसायको आम्दानी देखेर उनका साथी श्रेष्ठले पोल्ट्री व्यवसायमा लगानी गरे । उनी सेयर बजारमा दोब्बर हुने देखेर पुँजी बजारमा प्रवेश गरे । श्रेष्ठले ५० लाख पोल्ट्रिमा लगानी गरे भने बोगटीले २० लाख रुपैयाँ सेयरमा लगानी गरे । संयोग भन्नै पर्छ । दुवै जना नयाँ क्षेत्रमा प्रवेश गर्दा श्रेष्ठले पोल्ट्रीमा ५० लाख लगानी डुबाए भने बोगटीको लगानी ७ लाखमा झर्याे । बजार झरेर २९२ अंकमा पुग्यो । बजारमा कम्पनीको सेयर आज किन्यो भोलि सस्तो, भोलि किन्यो पर्सी सस्तो हुन थाल्यो । १८ सय रुपैयाँमा किनेको स्ट्याण्डर्ड चार्टर्ड बैंक र १९ सय रुपैयाँमा किनेको बैंक अफ काठमाण्डूको सेयर मूल्य घटेर ८/९ सयमा झर्याे । ६ महिनामा डेढी हुन्छ भनेर लगानी गरेका बोगटीको पोर्टफोलियो ५० प्रतिशतले गिरावट आयो । उनले बजारमा लगानी गर्नु ठिक रहेनछ भनेर कागजपत्र सबै थुपारेर आनन्दले बसे । बजार फेरि उकालो लाग्न थाल्यो । २०७२ सालमा नेप्से सूचक १८८१ अंकमा पुग्यो । उनको पोर्टफोलियो उचाईमा पुग्यो । २० करोड लगानी दोब्बर भएर ४० करोड पुग्यो । ‘सेयर बजार बढेपछि पुनः लगानी थप्न मन लाग्यो, मैले मेरो जग्गा बेचें, बैंकबाट ऋण लिन पनि सिकें, झण्डै ३५ करोड रुपैयाँ ऋण लिएं, ठूलो लगानीकर्ता बन्छु र नाम कमाउँछु भन्ने सोच बनाएँ तर, बजार पुनः घटेर १०६८ अंकमा झर्याे,’ उनले गुमाउँदाका पलहरु सम्झेर भने । त्यसपछि उनलाई छटपटी हुन थाल्यो । २९२ अंक हुँदा नखेपेको पीडा उनले यसपटक खेप्नु पर्याे । किनभने उनले जग्गा बेचेका थिए । बैंकबाट ऋण लिएर लगानी गरेका थिए । ‘नेप्से सूचक १०६८ अंकमा झरेपछि बैंकले पनि पेल्न थाले, मार्जिन कल गर्न थाले, म ऋणमा कहिल्यै काम नगरेको मान्छे, पैसा नपुगेपछि छटपटी हुन थाल्यो, पुस्ताहरु पहिलादेखि काठमाडौंमा बस्दै आएको हुँदा काठमाडौंमा पैतृक जग्गा धेरै थियो, आफ्नो भागमा रहेको जग्गा बेचेर ऋण सेटल गरें,’ उनले विकासन्युजसँग भने । त्यसपछि पुनः बजार बढ्दै गएपछि ३२ सय अंक पुग्यो । यसपटक उनले पोर्टफोलियो व्यवस्थापनमा जुटे । ‘३२ सय अंक पुग्दा ३० करोड रुपैयाँ बराबरको सेयर बेचेँ, मेरो आफ्ना अप्ठ्यारा सबै समाधान गरेँ, मेरो व्यवसायले ब्याज तिर्न धानिरहेको भएपनि पछि धान्नै सकेन, कर्जा धेरै बढ्यो, १/२ करोडसम्मको ब्याज घर भाडा, जग्गा भाडा र पोल्ट्रीबाट आएको रकमले तिर्थे,’ उनले सुनाए । तर, कोरोना महामारी पछि भने उनी संकटमा परे । अधिकांश सहकारी संस्थाहरु डुबे । सहकारी संस्थाहरुले अन्दाधुन्दा पैसा लगेर घरजग्गा र सेयर बजारमा लगानी गरे । उत्पादन क्षेत्रमा लगानी गर्नु पर्ने रकमलाई गलत ठाउँमा प्रयोग गरे । उनीहरुले गलत प्रयोग गरेका कारण अहिलेको अफ्ठ्यारो आएको उनी बताउँछन् । उनलाई पोल्ट्री व्यवसायमा लागेको ३८ वर्ष भयो । तर, अहिलेको जस्तो अफ्ठ्यारो कहिल्यै नपरेको उनले सुनाए । यसपटक उनले समयमा ब्याज तिर्न सकेनन् । उनी मात्रै होइनन् धेरैले समयमा ब्याज तिर्न सकेका छैनन् । ब्याज तिर्ने पैसा नभएपछि केही व्यक्तिहरुले आन्दोलन गर्नु परेको उनी बताउँछन् । पहिला बैंकले पेल्दाखेरी सरण लिने ठाउँ सहकारी संस्था थियो, व्यक्तिगत साथीभाईहरुसँग सापटी मागेर समस्या समाधान गरिन्थ्याे, अहिले साथीभाईहरुले पनि पत्याउन छोडी सके,’ उनले आफ्नो गुनासो गर्दै भने, ‘अहिले कसैले कसैलाई पत्याउँदैनन्, म पनि अरुलाई पत्याउन नसक्ने अवस्था पुगेको छु, सेयर बजारमा सबै जना पीडित नै छन् ।’ पछिल्लो समय सेयर बजारमा जलविद्युत कम्पनीको बाहुल्यता बढेको उनको भनाइ छ । ठूला लगानीकर्ताहरुले सेयर बजारमा कर्नरिङ गर्ने गरेको उनको अनुभव छ । ‘सेयर बजारमा हाइड्रोवालाहरुको बाहुल्यता बढेको छ, दई/तीन वर्ष अघिसम्म हाइड्रो कम्पनीका अफिस भेटिँदैनथे, उनीहरुका अफिस झोलामा हुन्थे, ५०, ५५, १०० रुपैयाँमा पाइने कम्पनीको सेयर मूल्य ४/५ सय भन्दा माथि छ,’ उनले भने, ‘बैंकिङ्ग क्षेत्रका सेयर किन्दा १०/१५ प्रतिशत प्रतिफलको ग्यारेन्टी भएपनि २ सय रुपैयाँभन्दा कममा कारोबार भइरहेको छ ।’ उनका अनुसार ४/५ जना मिलेर सेयर खरिद गर्छन् । त्यही सेयर मूल्य बढाएर एकले अर्काेलाई बिक्री गर्छन् । मूल्य बढेपछि सोझा जनतालाई बेचेर आफू बाहिरिन्छन् । यो बजारका लागि खतरा भएको उनको तर्क छ । कम्पनीको इतिहासदेखि सबै फण्डामेन्टल, आर्थिक गतिविधि, सेयरधनीहरुका पृष्ठभूमि लगायत सबै अध्ययन गर्ने लगानीकर्ता भने कहिल्यै घाटामा नजाने उनी बताउँछन् । उनको अहिले सेयर बजारको पोर्टफोलियो ४० करोडभन्दा बढी छ । ३२ सय अंकमा सेयर बजार पुग्दा उनको पोर्टफोलियो झण्डै १ अर्ब रुपैयाँ पुगेको थियो । अहिले पोर्टफोलियो दोब्बर बढीले घटेको उनले बताए । बैंकको ब्याजदर बढेका कारण सबै समस्या आएको उनको भनाइ छ । ‘२०७८ साउनमा १ अर्बको हाराहारीमा पोर्टफोलियो थियो, ६ क्वार्टर ब्याज तिरेँ, ७ प्रतिशतमा लिएको ब्याज १४/१५ प्रतिशत तिर्नुपर्याे, पहिला समयमा कर्जा तिर्ने गरेको भएपनि अहिले ताकेता गर्ने गरेका छन्,’ उनले भने, ‘अहिले आफै पैसा तिर्न नसक्ने अवस्था पुग्यौं, अन्यको हालत झनै दयनीय छ ।’ उनी आगामी दिनमा सेयर बजारमा लगानी गर्न नछाड्ने बताउँछन् । आफूले बजारबाट धेरै कुराहरु सिकेको बताउँदै अनुभवलाई सही ढंगले प्रयोग गर्ने उनको योजना छ । ‘सेयर बजारमा लगानी गर्न छोड्दिनँ, अनुभवमा झनै खारिँदै गएको छु, म प्रवेश गर्दा सेयर बजार एभरेज थियो, मैले १८८१ अंकको बुल र १०६८ अंकको घटेको बजार देखेँ, ३२ सय अंकको बुल र घटेर १९ सय अंकको बजार पनि देखेको छु,’ उनले भने, ‘यो अनुभवले अब म धेरै लोभ गर्दिन भनेर बजारबाट शिक्षा पाएको छु, सेयर बजारमा नतिजा पुर्णाङ्कमा हुँदैन, एभरेज रिजल्ट लिन जान्नुपर्छ, फर्स्ट डिभिजन मात्रै ल्याउने हो, डिस्टिङ्सनको आश गर्नु हुँदैन, फर्स्ट डिभिजन ल्यायो भने सफल मानिन्छ ।’ नेप्से ३२ सय अंक पुग्दा ४ हजार अंक पुग्ने सपना देखेको उनी बताउँछन् । मान्छेको स्वभाव लोभ गर्ने भएकाले अझै बढ्ने अपेक्षा गरेको उनले बताए । एकै दिन करोडौं रुपैयाँ नाफा कमाउने अन्य क्षेत्र नभएको उनको बुझाई छ । ‘नेप्से ३२ सय अंक पुग्दा ४ हजार अंक पुग्ने सपना देखेको थिएँ, एक करोड पोर्टफोलियो हुनेको एकै दिनमा १० लाख रुपैयाँ थपिन्थ्यो, दिनको १० लाख रुपैयाँ कमाउने अरु कुनै विजनेश छैन, ३२ सय अंक पुगेको बेला दैनिक करोडौं बढ्दा प्रफुल्लित हुन्थे,’ उनले भने । सेयर बजारमा लगानी गरेको रकम ३ वर्ष खाल्डोमा र ३ महिनामा सबै असुल हुने गरेको उनको अनुभव छ । ३ वर्षमा गुमाएको रकम ३ महिनामा कभर हुने गरेको उनले बताए । त्यही बेला निस्किन सक्ने मान्छे सफल हुने उनको अनुभव छ ।
५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बिहीबार सुनको मूल्य फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीबार सुनको मूल्य घटेर एक लाख एक हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सनको मूल्य घटेर तोलाको एक लाख ५०० रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुन तोलाको एक लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज चाँदीको मूल्यअघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर तोलाको एक हजार २२० रुपैयाँ कायम भएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
लाभांश पारित गर्न हिमालयन एभरेष्टले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ । साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्ज भइ बनेको कम्पनीले सेयरधनीलाई कूल २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरन्सले सेयरधनीलाई २.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी चैत २९ गते बिहान ११ बजे काठमाडौंको थापागाँउस्थित बानेश्वर ब्याङ्केटमा हुने छ । सभाले पारित गरेसँगै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २३ करोड रुपैयाँ रहेको छ । प्रस्तावित २.७५ प्रतिशत बोनस सेयर पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २९ करोड नाघ्ने छ । त्यस्तै, लाभांश वितरण गर्ने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी चैत ३ गते एकदिन बुक क्लोज गर्दै छ ।
स्वास्थ्य सेवा सुधार्न सञ्चार प्रविधिको प्रयोग बढाऔः मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आम सन्चार तथा सूचना प्रविधिलाई स्वास्थ्य सेवा सुधारमा उपयोग गर्ने नीति बनाउने बताएकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभागले गरेको पहिलो महिला स्वास्थ्य सम्मेलन उद्घाटन गर्दै उनले प्रभावकारी टेलिमेडिसिन, डिजिटल सचेतनालगायत कार्यक्रममार्फत स्वास्थ्य सेवा सुधारका लागि कार्यक्रम बनाउने बताएकी हुन । संविधानमा प्रजनन स्वास्थ्यलाई उल्लेख गर्नु ठूलो उपलब्धि हो भन्दै उनले अब यसको कार्यान्वयनमा सबै क्षेत्रको गम्भीररुपमा ध्यान जानुपर्ने बताईन । उनले भनिन, ‘हामीले प्रजनन स्वास्थ्यलाई मौलिक हक त बनायौ तर यसको कार्यान्वयन कसरी गर्ने भनेर आम महिलामा लैजान सकेका छैनौं, अब यसको सचेतनता र कार्यान्वयनमा जोड दिनुपर्छ, यसमा आम सन्चार तथा सूचना प्रविधिको व्यापक परिचालन गर्ने नीति बनाउनुपर्छ ।’ हिजो मात्रै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रधानमन्त्रीले महिला स्वास्थ्यसम्बन्धी विशेष घोषणा गरेको स्मरण गराउदै उनले यसलाई प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिन । स्वस्थ नागरिकका लागि हरेक आमा स्वस्थ हुनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले महिलाको स्वास्थ्यलाई स्वस्थ नागरिक र सबल राष्ट्र निर्माणको आधार बनाउनुपर्नेमा जोड दिईन । दुई दिनसम्म चल्ने सम्मेलनमा बिज्ञहरुका कार्यपत्रमा छलफल हुने र यसबाट महिला स्वास्थ्यसम्बधी नीति निर्माण गर्न सहयोग पुग्ने स्वास्थ्य सेवा बिभागले जनाएको छ ।
बैंकको निक्षेप र कर्जाको ब्याज घट्यो, ऋणीलाई सहज हुने
काठमाडौं । वाणिज्य बैंकहरुले चैतदेखि ब्याजदर घटाउने निर्णय गरेका छन् । नेपल बैंकर्स संघको बिहीबार बसेको बैठले कर्जा र निक्षेप दुवैको ब्याजदर घटाउने निर्णय गरेका हुन् । चैत १ गतेदेखि निक्षेपमा ०.४ प्रतिशत र कर्जामा १ प्रतिशत प्रिमियम दर घटाउने निर्णय गरेको बैठकमा सहभागी एक वाणिज्य बैंकका सीईओले विकासन्युजलाई जानकारी दिए । बैंकहरुले कर्जाको ब्याजदर कम गर्नका लागि प्रिमियम दर घटाएको उनले बताए । वाणिज्य बैंकहरुले निक्षेप तर्फको साधारण बचतमा ०.४ प्रतिशत र कर्जाको प्रिमियममा १ प्रतिशत घटाउने निर्णय गरेको हो । हाल बैंकहरुले आधारदरमा ६ प्रतिशतसम्म कर्जामा प्रिमियम लिने गरेका थिए । १ प्रतिशत घटेपछि बैंकहरुले अब आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् । यस्तै, निक्षेप तर्फको साधारण बचतमा बैंकहरुले न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिने छन् । यसअघि बैंकहरुले साधारण बचतमा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर दिइरहेका थिए ।