
काठमाडौं । वाणिज्य बैंकहरुले चैतदेखि ब्याजदर घटाउने निर्णय गरेका छन् । नेपल बैंकर्स संघको बिहीबार बसेको बैठले कर्जा र निक्षेप दुवैको ब्याजदर घटाउने निर्णय गरेका हुन् ।
चैत १ गतेदेखि निक्षेपमा ०.४ प्रतिशत र कर्जामा १ प्रतिशत प्रिमियम दर घटाउने निर्णय गरेको बैठकमा सहभागी एक वाणिज्य बैंकका सीईओले विकासन्युजलाई जानकारी दिए । बैंकहरुले कर्जाको ब्याजदर कम गर्नका लागि प्रिमियम दर घटाएको उनले बताए ।
वाणिज्य बैंकहरुले निक्षेप तर्फको साधारण बचतमा ०.४ प्रतिशत र कर्जाको प्रिमियममा १ प्रतिशत घटाउने निर्णय गरेको हो । हाल बैंकहरुले आधारदरमा ६ प्रतिशतसम्म कर्जामा प्रिमियम लिने गरेका थिए । १ प्रतिशत घटेपछि बैंकहरुले अब आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् ।
यस्तै, निक्षेप तर्फको साधारण बचतमा बैंकहरुले न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिने छन् । यसअघि बैंकहरुले साधारण बचतमा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर दिइरहेका थिए ।