भेडेटारमा ३० करोड लगानीमा सिसाको ‘स्काई वाक टावर’ बन्दै
काठमाडाैं । भेडेटारमा सिसाको ‘स्काई वाक टावर’ बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ । वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्याक्सन्स प्रालिले यो परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रबिन्द्र पोख्रेलले जानकारी दिए । स्काइ वाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइनेछ । स्काइ वाकमा एकैपटकमा २०० जना हिड्न सक्छन् । सिसाको स्काइ वाकको तल भिर भएकाले झन् ुथ्रीलु अनुभव हुने पोख्रेल बताउँछन् । भेडेटारको हालको भ्यु टावर भएको ठाउँमा निर्माण सुरू गरिएको यस परियोजना सन् १२०२३ भित्र नै सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका निर्देशक दामोदर शर्माले जानकारी दिए । परियोजना साँगुरी गढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुन्सरीको सिमानामा पर्दछ । परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षको लागि अनुमति दिएको शर्माले बताए । काठमाडौंको कमलादीमा हाल निर्माण भइरहेको ‘स्काई वाक टावर’ र इलामको कन्याममा निर्माण भइ सञ्चालनमा आइसकेको ‘कन्याम क्लाउड’ नामको स्काई वाक पनि वण्डर्स ग्रुपले निर्माण गरेको हो ।
यी हुन् सबैभन्दा धेरै लाभांश वितरण गर्ने टप १३ कम्पनी
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झण्डै २५० कम्पनी सूचीकृत भएर सेयर कारोबार भइरहेका छन् । यी २५० कम्पनीलाई नेप्सेले १३ वटा समूह वर्गीकरण गरेको छ । नेप्सेले बैंकिङ्ग, विकास बैंक, फाइनानस, होटल एण्ड टुरिजम, जलविद्युत, इन्भेष्टमेन्ट, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीवन बीमा, ट्रेडिङ्ग र अन्य समूह गरी १३ वटा समूहमा वर्गीकरण गरेको हो । १३ वटा समूहका सबैभन्दा धेरै लाभांश वितरण गर्ने कम्पनीहरुलाई यहाँ उल्लेख गरिएको छ । यी कम्पनी आफ्नो समूहका सबैभन्दा धेरै लाभांश वितरण गर्ने कम्पनीहरुमा पर्छन् । १३ वटा समूहमा सूचीकृत कम्पनीहरुमा गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्ने जाल्पा सामुदायिक लघुवित्त, नबिल बैंक, गरिमा विकास बैंक, आइसीएफसी फाइनान्स, सोल्टी होटल, रिडी पावर कम्पनी, एचआईडिसीएल, यूनिलिभर नेपाल, सानिमा इक्विटी फण्ड, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल दूरसञ्चार कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पाेरेशन रहेका छन् । लघुवित्त समूहमा ६० वटा संस्था सूचीकृत छन् । हालसम्म ४५ वटा लघुवित्त गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । जसमध्ये जाल्पा लघुवित्त वित्तीय संस्थाले सबैभन्दा धेरै लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद गरी कूल ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकिङ्ग समूहमा २० वटा बैंक सूचीकृत छन् । १६ वटा वाणिज्य बैंकले मात्रै गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गरेका हुन् । जसमध्ये गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा नबिल बैंक छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको हो । विकास बैंक समूहमा १६ वटा विकास बैंक सूचीकृत छन् । हालसम्म १० वटा विकास बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । जसमध्ये सबैभन्दा धेरै गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गरेको हो । वित्त (फाइनान्स) समूहमा २० वटा कम्पनी सूचीकृत छन् । हालसम्म ५ वटा फाइनान्स कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेका छन् । जसमध्ये आईसीएफसी फाइनान्सले सबैभन्दा धेरै लाभांश वितरण गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गरेको हो । होटल एण्ड टुरिजम समूहमा ६ वटा कम्पनी सूचीकृत छन् । हालसम्म २ वटा कम्पनीले मात्रै लाभांश वितरण गर्ने घोषणा गरेका छन् । जसमा सोल्टी होटलले सबैभन्दा धेरै लाभांश वितरण गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र २१.३१ प्रतिशत नगद गरी कूल २६.३१ प्रतिशत लाभांश वितरण गरेको हो । जलविद्युत समूहमा ६५ वटा कम्पनी सूचीकृत छन् । हालसम्म १८ वटा कम्पनीले मात्रै गत वर्षको नाफा वितरण गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै रिडी पावर कम्पनीले सबैभन्दा धेरै लाभांश वितरण गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र २.१ प्रतिशत नगद गरी कूल ४२.१ प्रतिशत लाभांश वितरण गरेको हो । इन्भेष्टमेन्ट समूहमा ६ वटा कम्पनी सूचीकृत छन् । हालसम्म ३ वटा कम्पनीले गत वर्षको नाफा वितरण गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल)ले वितरण गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद गरी कूल ५.२६३ प्रतिशत लाभांश वितरण गरेको हो । म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूहमा पनि ६ वटा कम्पनी सूचीकृत छन् । यस समूहका ६ वटै कम्पनीले गत वर्षको नाफा वितरण गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै युनिलिभर नेपालले वितरण गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १ हजार २१५ प्रतिशत नगद गरी लाभांश वितरण गरेको हो । म्युचुल फण्ड समूहमा सूचीकृत फण्डहरुमा सबैभन्दा धेरै सानिमा इक्विटी फण्डले वितरण गरेको हो । फण्डले गत वर्षको नाफाबाट इकाईधनीहरुलाई २२ प्रतिशत नगद लाभांश वितरण गरेको हो । निर्जीवन बीमा समूहमा १४ कम्पनी सूचीकृत छन् । यस समूहमा सूचीकृत १३ वटा कम्पनीले लाभांश वितरण गरेका छन् । जसमध्ये सबैभन्दा धेरै शिखक इन्स्योरेन्स कम्पनीले वितरण गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर र ०.८४२१ प्रतिशत नगद गरी कूल १६.८४२१ प्रतिशत लाभांश वितरण गरेको हो । अन्य समूहमा २ कम्पनी मात्रै सूचीकृत छन् । जसमध्ये नेपाल दूरसञ्चार कम्पनी (एनटिसी)ले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश वितरण गरेको हो । ट्रेडिङ्ग समूहमा २ वटा कम्पनीको मात्रै कारोबार भइरहेको छ । यस समूहमा रहेका कम्पनीहरुमध्ये साल्ट ट्रेडिङ्गले मात्रै गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने पस्ताव भएको हो । जीवन बीमा समूहमा सूचीकृत कम्पनीहरुले भने गत वर्षको नाफा हालसम्म वितरण गर्ने घोषणा गरेका छैनन् । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को नाफाबाट भने सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । कम्पनीले १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्री उडान सुरु, बुद्धले चार गन्तव्यमा उडान गर्ने
काठमाडौं । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बिहीबार) देखि नियमितरूपमा रात्रिकालीन उडान सुरु हुने भएको छ । विमानस्थलमा उपकरणका आधारमा विमान उडान/अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु गर्न लागेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ११ गतेदेखि आइएफआर प्रणाली लागू भएको हो । हाल विमानस्थलबाट बिहान ६ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका आधारमा रातिको १२ः०० बजेसम्म उडान गर्न सकिने जनाईएको छ । बिहीबार साँझ पोखराका लागि काठमाडौँ, भैरहवा, नेपालगञ्ज र झापाको भद्रपुरबाट बुद्धका चारवटा जहाज रात्रिकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म बुद्धबाहेकका अन्य कम्पनीले भने रात्रिकालीन उडानको तालिका पेस गरेका छैनन् । ‘पोखरा विमानस्थल रात्रिकालीन हवाई उडानका लागि योग्य भएपछि आजदेखि बुद्धले रातको समयमा समेत औपचारिक उडान सुरु गर्दैछ, बुद्धका चार विमानले देशका विभिन्न भागबाट पोखराका लागि उडान गर्नेछन्’, उनले भने । यसअघि यही फागुन १८ गते सौर्य एयरलाइन्स राति पोखरा विमानस्थलमा अवतरण भए पनि सो उडान नियमित तालिकाअनुसार थिएन । मौसमको खराबीका कारण तालिका ढिलाइ भएकाले राति अवतरण गरेको थियो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले राति ८ बजेसम्म सेवा दिने गरी रात्रिकालीन उडानको तालिका बनाइएको बताए । बुद्धका चारवटा जहाज राति पोखरामा नै रात्रि बिसान गर्नेछन् । कर्णका अनुसार बिहीबार काठमाडौँबाट पोखराका लागि बेलुकी ७ः३५ बजे, भद्रपुर–पोखरा साँझ ६ः५५ बजे, भैरहवादेखि पोखरा साँझ ७ः२५ बजे र नेपालगञ्जबाट पोखराका लागि साँझ ७ः२० बजे उडान हुनेछ । ‘हाल चारवटा जहाज पोखरामै रात्रि बिसान हुन्छ, भोलिपल्ट बिहान पोखराबाट सम्बन्धित गन्तव्यमा उडान सुरु हुन्छ । यसले पोखराको पर्यटनलाई ठूलो सहयोग पुग्ने विश्वास छ’, उनले भने । पोखराको पुरानो विमानस्थलमा आइएफआर प्रणाली नहुँदा यसअघि रात्रिकालीन उडान हुनसकेको थिएन । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै रात्रिकालीन उडानको ढोका खुलेको हो । पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै यात्रुलाई सहज हुने र यसबाट पर्यटन क्षेत्रलाई लाभ पुग्ने पर्यटन व्यवसायी बताउँछन् । यहाँका पर्यटन व्यवसायीले विगतदेखि नै रात्रिकालीन उडानको माग गर्दै आएका थिए । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटन गरिएको थियो । सोही दिनदेखि आन्तरिक उडान भए पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान अझै सुरु हुनसकेको छैन । विमानस्थल सञ्चालनमा आएको दुई महिना पुगिसक्दा समेत एउटा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका पर्यटन व्यवसायी तथा उद्योगी निरास छन् । सरकारले भने अन्तर्राष्ट्रिय उडानका लागि छिमेकी मुलुकहरूसँग कूटनीतिक पहल भइरहेको जनाएको छ ।
खाद्यवस्तुको विषादी परीक्षण प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफल गर्ने भएको छ । बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णयसमेत गरेको छ । जीवनाशक विषादीको परीक्षणसम्बन्धि प्रस्ताव नेपाल राजपत्रमा प्रकाशन गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भदौ १५ गते मन्त्रिपरिषदमा पेश गरेको र भदौ २१ गते मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाइएको भए पनि त्यसपछि थप प्रक्रिया अगाडि बढ्न सकेको थिएन । २०७९ मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएपश्चात् नयाँ सरकार गठन भएपछि पूरानो मन्त्रिपरिषदका निर्णय स्वतः फिर्ता जाने प्रचलनअनुरूप सो प्रस्ताव पनि फिर्ता गएको थियो । प्रधानमन्त्री प्रचण्डले नयाँ प्रस्ताव तुरून्त ल्याउन निर्देशन दिएका थिए । सोही निर्देशनअनुरूप नयाँ प्रस्ताव प्राप्त भएपछि बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले फाइलमाथि थप छलफलका लागि समितिमा पठाउने निर्णय गरेको छ । समितिमा छलफलपश्चात् उक्त प्रस्ताव मन्त्रिपरिषद बैठकमा प्रस्तुत हुने सरकार प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन ।
राष्ट्रपति चयनका लागि सुरु भयो मतदान, साँझ ७ बजेभित्र मतपरिणाम सार्वजनिक हुने
फाइल फाेटाे काठमाडौं । नेपालको तेस्रोे राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा बनाईएको सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रबाट मतदान सुरु भएको हो । बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । संविधानसभाबाट संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि संसदीय अभ्यासमा बौद्धिक र परिपक्क छवी बताएका नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास भएको हो । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ । विगतमा जस्तै मुलुकका प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारबीचको प्रतिस्पर्धालाई महत्वकासाथ हेरिएको छ । पूर्वसभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन ।
मार्क इन्टरनेशनल किड्नी सेन्टरले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्दै
काठमाडौं । मार्क इन्टरनेशनल किड्नी सेन्टरले चौथो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । बुधबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी सेन्टरले वार्षिकोत्सवको अवसरमा आयोजना गरिने कार्यक्रमको विषयमा जानकारी दिएको हो । सेन्टरले आज विहान वाकाथन सम्पन्न गरेको छ भने सेन्टरमा आज र भोली निःशुल्क मृगौला परीक्षण कार्यक्रम पनि राखेको छ । त्यस्तै २७ गते नारायणचौरमा वृहत स्वास्थ्य शिविर सहित रक्तदान कार्यक्रम पनि आयोजना गरिने सेन्टरले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै सेन्टरका सञ्चालक तथा नेफ्रोलेजिस्ट डा. अर्चन शमशेर राणाले मृगौला रोग लागिसकेपछि भन्दापनि रोग लाग्नु अगाडिकै सतकर्ता महत्वपूर्ण हुने बताएका थिए । उनले नेपालमा हरेक वर्ष मृगौलाका तीन हजार रोगी थपिने गरेकोमा पाँच सय जतिको मात्रै ट्रान्सप्लान्ट हुने गरेको बताएका थिए । नेपालमा डाइलोसिस गर्नेहरु मध्ये ८० प्रतिशत भन्दा धेरै ४० वर्ष भन्दा मुनिका भएको र विकसित देशहरुमा ७० वर्ष माथिका बढी हुने गरेको डा. राणाले बताएका थिए । नेपालमा देखिएको मृगौलाको ९० प्रतिशत समस्या सचेतनाले रोक्न सकिने उनको दाबी छ ।
श्री एयरलाइन्सकाे जहाजमा आगो, आकस्मिक अवतरण
फाइल फाेटाे काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । काठमाडौं विमानस्थलबाट उडान भर्नासाथ जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट काठमाडौंतर्फ नै फर्किएको हो । जहाजको इन्जिमा आगो देखिएपछि आकस्मिक अवतरणको गरिएकाे विमानस्थल कार्यालयले जनाएको छ । जहाजमा रहेका सबै यात्रु सकुशल रहेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।
मेन्छियाम हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, स्थानीयलाई समय थप
काठमाडौं । मेन्छियाम हाईड्रोपावर कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आवेदन दिने समय थप गरिएको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले अब चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आजसम्म आवेदन दिन पाउनेछन् । कम्पनीले फागुन १० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५३८ कित्ता आयोजना प्रभावित क्षेत्र संखुवासभाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । जसमध्ये अति प्रभावित क्षेत्र सािवक शिद्धकाली, शिद्धपोखरी र मावादानी गा।वि।स।का स्थानियहरुको लागि २ लाख ७१ हजार २९२ कित्ता र आयोजन प्रभावित क्षेत्र सुंखवासभा जिल्लाका स्थानियहरुका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर बिक्री गरेको हो । यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्न् । यस्तै, क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।