१० हजारले बढ्यो चिराइतोको मूल्य
ताप्लेजजुङ । चिराइतोको मूल्य गत वर्षको तुलनामा १० हजारले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन (४० किलो) ३० हजार दरले कारोबार भएको चिराइतोको मूल्य हाल ४० हजार पुगेको छ । पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोतका रूपमा रहेको अलैँचीको भन्दा चिराइतोको मूल्य माथि पुगेको हो । अलैँची प्रतिमन ३५ हजारका दरले कारोबार भइरहेको छ । भारत निर्यात हुँदै चिराइतो झापामा पु¥याउँदा प्रतिमन ३८ हजारदेखि रु ४० हजारमा कारोबार हुने ताप्लेजुङका व्यवसायीले बताएका छन् । ‘गत वर्ष ३० हजार प्रतिमन कारोबार भएको थियो, आजभोलि मूल्य बढेर ३८ हजारदेखि ४० हजारमा कारोबार भइरहेको छ’, सदरमुकाम फुङलिङका व्यवसायी गोविन्द बरालले भने । गत वर्ष १८ हजार हुँदै ३० हजारसम्म पुगेको मूल्य यो वर्ष फागुन लागेयता बढेर ४० हजारसम्म पुगेको हो । बरालका अनुसार हाल किसानबाट प्रतिमन ३२ हजारदेखि ३३ हजारसम्ममा लिने गरिएको छ । चिराइतो सङ्कलन र खेती गर्ने यहाँका किसानले घरैमा उक्त मूल्य पाइरहेको बरालले बताए । व्यवसायीका अनुसार चिराइतो सुुके नसुकेको हेरेर मूल्यमा केही तलमाथि हुन सक्छ । झापाका व्यापारीले भन्दा भारतका व्यापारीले केही बढी मूल्य दिने गरेका छन् । ‘कहिलेकाहीँ भारतका व्यापारी भेटिन्छन्, उनीहरूले बिर्तामोडका व्यापारीले दिने भन्दा एक हजार बढी दिन्छन्’, व्यवसायी बरालले भने । केही वर्ष अघिसम्म ओलाङचुङगोला हुँदै चीनको तीब्बतमा निर्यात हुने चिराइतो हाल टिपताला नाका बन्द रहेकाले बिर्तामोड हुँदै भारत निकासी हुँदै आएको छ । मूल्य वृद्धि भएसँगै चिराइतो सङ्कलन गर्ने र व्यावसायिक खेती गर्ने कृषक हर्षित बनेका छन् । लामो समयपछि चिराइतोको मूल्य एक्कासि बढेर अलैँचीको भन्दा माथि पुगेपछि यहाँका किसान हर्षित बनेका हुन् । यो वर्ष प्रतिमन ३२/३३ हजारका दरले घरैबाट चिराइतो बेच्न पाउँदा खुसी भएको फक्ताङलुङ गाउँपालिकाको खेजेनिमका किसान अमरसिंह माबोहाङले बताए । व्यावासायिक खेती गर्दै आउनुभएका अमरसिंहले यो वर्ष आठ मनभन्दा बढी उत्पादन गरेका छन् । उतारचढाव आइरहने चिराइतोको मूल्य पछिल्लो समय सुधारिएकाले किसानलाई राहत मिलेको उनले बताए । यता लेलेपका बुद्धिमान राईले मूल्य बढेर किसानलाई उत्साहित बनाएको बताए । हालको मूल्य कायम रहिराखेमा अलैँचीलाई जस्तै जङ्गल फाँडेर उच्च लगानीका साथ खेती गर्ने किसानको लगानी खेर नजाने उनको भनाइ छ । आम्दानीका लागि पहाडी क्षेत्रका किसानले अलैँचीपछि चिराइतोको खेती धेरै गर्दै आएका छन् । मूल्य नपाउँदा भने केहीले यसलाई निरन्तरता दिन सकेनन् । तर चिराइतोको मूल्य बढे पनि उत्पादन भने घटेको पाइएको छ । गत वर्षको तुलनामा यो वर्ष आधाजसो मात्र चिराइतो सङ्कलन भएको व्यवसायीले बताएका छन् । गत वर्ष एक सय ५० मन चिराइतो सङ्कलन गर्नुभएका व्यवसायी गोविन्द बरालले यो वर्ष मुस्किलले ७० मन पु¥याएको बताए । ‘गत वर्षको तुलनामा सङ्कलन न्यून छ, यसरी न्यून हुनुमा उत्पादन घटेर हो, सङ्कलन गर्ने र खेती गर्ने क्रम केही घट्दै गएको छ’, उनले भने । उता सिरिजङ्घा–७ खेवाङका व्यवसायी नरेन्द्र तिवारीेले गत वर्षको तुलनामा आधा जसो मात्र चिराइतो सङ्कलन भएको बताए । उहाँका अनुसार प्रायले चिराइतो खेती छाडेका छन् । तर मूल्य बढेसँगै पुनः व्यावसायिक खेती गर्न किसान उत्सुक देखिएको उनले बताए । ताप्लेजुङमा वार्षिक ३५ हजार किलो चिराइतो सङ्कलन गर्न सकिने डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । उक्त कार्यालयका अनुसार सङ्कलक तथा व्यवसायीले भने आधाजसोको मात्र पुर्जी लिने गरेको तथ्याङ्कले देखाएको छ । उच्च पहाडी भेगमा पाइने विभिन्न जडीबुटीमध्ये चिराइतो पनि मुख्य जडीबुटी हो । समुन्द्री सतहबाट एक हजार दुई सयदेखि तीन हजार मिटरको उचाइमा पर्ने भिरालो तथा खुला जमिनमा चिराइतो पाइन्छ । असोजमा पूर्णरूपले फुलिसक्ने चिराइतो फूल परिपक्व भएपछि उक्लिन्छ । भूगोल हेरी मङ्सिरदेखि चैतसम्म चिराइतोको सङ्कलन हुन्छ । प्रायले जङ्गलमा गएर चिराइतो सङ्कलन गर्छन् भने केहीले यसको व्यावसायिक खेती गर्दै आएका छन् । खेती गर्नेले जङ्गल फाँडेर आगो लगाई चिस्यान भएको समय पारेर बीउ छर्छन् । बीउ छरेको तीन वर्षमा उखल्न उपयुक्त हुने गरी चिराइतो फस्टाउने किसान बताउँछन् । औषधीय गुण भएको चिराइतो ज्वरो आउँदा, घाँटी दुख्दा र खटिरा आउँदा औषधिका रूपमा पानीमा पकाएर खाने गरिन्छ । तितो स्वादमा हुने चिराइतोले स्वाद र रुचि बढाउने बताइन्छ । रासस
सगरमाथा लुम्बिनी इन्स्योरेन्स नम्बर वान हुने लक्ष्यको साथ अगाडी बढोस् : रामकृष्ण मानन्धर
काठमाडौं । सगरमाथा इन्स्योरेन्सका अध्यक्ष रामकृष्ण मानन्धरले सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई नम्बर वान हुने लक्ष्यको साथ अगाडी बढ्न शुभकामना दिएका छन् ।सोमबार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबारमा उनले यस्तो बताएका हुन् । उनले बीमा प्राधिकरणले तोकेको दई अर्ब ५० करोड पूँजी पुर्याउन मर्जको बाटो रोज्ने क्रममा मिल्दोजुल्दो कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्स पाएपछि मर्जमा गएको बताए । । उनले दुई कम्पनी तोकिएको समयभन्दा अघि मर्ज हुन सफल भएको पनि बताृए ।
लुम्बिनी विकास बैंकको एटिएम पोखराको रामबजारमा
काठमाडौं । लुम्बिनी विकास बैंकले थप एक एटिएमको उद्घाटन गरेको छ । बैकले सेवा विस्तार गर्ने क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १० स्थित आफ्नो रामबजार शाखाबाट एटिएम सेवा सुरु गरेको हो । उक्त एटिएमको उद्घाटन पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष श्री तोरण बहादुर बानियाँले गरेका थिए । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको आज थप एक नयाँ एटिएम को उद्घाटन भएसंगै बैंकको विभिन्न स्थानहरुमा गरी जम्मा १८ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।
बिजनेस समिटको टाइटल स्पोन्सरमा वर्ल्डलिंक कम्युनिकेसन
काठमाडौं । नेपाल बिजनेस समिट २०२३ को टाइटल स्पोन्सरमा वर्ल्डलिंक कम्युनिकेशन रहने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा बैशाखको दोस्रो हप्ता आयोजना हुने बिजनेस समिटमा वर्ल्डलिंक साझेदारी गरेको हो । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित अन्तराष्ट्र्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रको पछिल्लो आर्थिक अवस्था, टेलिकम्युनिकेशन क्षेत्र र डिजिटल नेपाल फ्रेमवर्कलगायतका बिषयमा राष्ट्रिय र अन्तराष्ट्रिय वक्ताहरुले आफनो प्रतिवेदन पेश गर्ने छन् । वर्ल्डलिंकको कार्यालय जावलाखेलमा टाइटल स्पोन्सरका लागी आयोजित हस्ताक्षर कार्यक्रममा वर्ल्डलिंकका तर्फबाट सञ्चालक मनोज अग्रवाल र नेपाल बिजनेस इन्स्टिच्युटकातर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा वर्ल्डलिंक सञ्चालक मनोज अग्रवालले डिजिटल प्रविधिसहितको आर्थिक विकास नै समृद्धीको मुल आधार भएकाले उद्ममशीलता र व्यवसायिक प्रवद्र्धनका लागि बिजनेस समिटमा साझेदारी गरेको बताए । त्यसैगरी सम्मेलन मुल आयोजक कमिटीका संयोजक समेत रहेका नेपाल बिजनेस इन्स्टिच्युटकातर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले शिखर सम्मेलनले ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवद्र्धन गर्ने र सो को लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पु¥याउने उद्देश्य राखेको बताए । शिखर सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरुको सृजना हुने, लगानीका सम्भावित क्षेत्रहरुको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिलाहरु उद्यम/व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरुको स्तरोन्नतिसहित नवप्रर्वतन क्षेत्रमा लगानी बढ्ने अपेक्षा समेत राखिएको आयाेजकले बताएकाे छ । त्यसैगरी शिखर सम्मेलनकै अवसरमा देशभरका पत्रकारलाई लक्षित गरी ‘आर्थिक एवं बैंकिङ क्षेत्रका चुनौती र समृद्धिको मार्गचित्र’ विषयक राष्ट्रियस्तरको लेख लेखन प्रतियोगिता समेत आयोजना भइरहेको छ । सिविफिन, एनबिआई र नेपाल पत्रकार महासंघसमेतको साझेदारीमा ४ लाख बराबरको फेलोसीप कार्यक्रम आयोजना गरिएको हो ।
सिभिल लघुवित्तको ११.५८ प्रतिशत लाभांश पारित
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको ११.५८ प्रतिशत लाभांश पारित भएको छ ।लघुवित्तको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश सहित जम्मा ११.५८ प्रतिशत लाभांश पारित भएको हो । संस्थाको सोमबार सम्पन्न एघारौँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु पनि पारित गरेको छ । साथै, सभाले वित्तीय संस्थाको नाम हिमालयन लघुवित्त वित्तीय संस्था रहनेलगायतका सम्पूर्ण सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ । यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७४ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै एक अर्ब ८ करोड बचत संकलन गरी ४ अर्ब २५ करोड भन्दा बढी लगानी गरेको छ ।
तिमी ! विदेश नजाने ?
काठमाडौं । तपाईंलाई विदेश जानेकी नजाने भन्ने विषयले कतिको सताउँछ ? मलाई यही विषयले केही दिनदेखि सोचमग्न बनाएको छ । हुनत धेरैले विदेशलाई सपना साकार बनाउने थलोको रुपमा लिन्छन् । आफ्ना सपनाहरु पुरा गर्न मान्छेहरु समुन्द्र पारीका देशहरुमा जान विवश हुन्छन् । त्यही इच्छा पुरा गर्नुअघि धेरै युवाहरु कन्सल्टेन्सी धाउँछन् । आज, भोलि, पर्सी, सधैं कन्सल्टेन्सीको बाटो हुन्छ । पहिले–पहिले बुढापाकाहरुले भन्ने गर्थे, ‘केटी खोज्न जाँदा कत्ति जोर जुत्ता फाटे कति ।’ हो, अहिले विदेश जानैका लागि धेरै युवाहरुले कन्सल्टेन्सी धाएर जुत्ता फटाउँछन् । कक्षा १२ को पढाइ सकिने वित्तिकै धेरैको रोजाइ विदेश हुन्छ । अहिले प्रत्येक घरको एक जना त विदेश गएकै हुन्छन् । तपाईंको होस् । या मेरो । अहिले कसरी पढ्ने ? कत्ति अंक ल्याउने ? कुन तहसम्म पढ्ने भन्दा पनि कुन देश जाने, कुन देश राम्रो कमाइ हुन्छ, कुन कन्सल्टेन्सी जाँदा विदेशको भिसा छिटो लाग्छ ? लगायतका जिज्ञासा मेटाउनमै युवाहरु व्यस्त हुन्छन् । तपार्ईंका साथीहरु पनि प्लस टु पढ्दै विदेशी भाषा सिक्ने धेरै होलान् । मेरा साथीहरु पनि धेरै छन् । मैले २०७७ मा कक्षा १२ सम्मको अध्ययन पुरा गरेँ । यो बिचमा धेरै साथीहरू सरकारी जागिरे भए । धेरै विदेश हानिए । अधिकांश विदेशको तयारी गरिरहेका छन् । कक्षा १२ को पढाइ सकियो । मैले भने पढ्दै सोचौंला भनेर स्नातकको पढाइ सुरु गरेँ । स्नातकसँगै एक निजी कम्पनीमा काम गरेँ । विदेश होइन, स्वदेशमै केही गर्नु पर्छ भन्ने किसिमले काम गरियो । विदेश जाने कुनै सुरुसार गरिएन । बिचमा कोरोना सुरु भयो । कोरोनाले पढाइसँगै काममा पनि बाधा पुर्यायो । काठमाडौंको महँगी । यहाँ ५० हजारकै जागिर भएर पनि के गर्नु ? तलब आएको २०/२२ दिन नबित्दै साथीसँग नमागेको महिना हुँदैन । तपाईंले कत्तिको माग्नु हुन्छ सापटी ? आफै मनन् गर्नुस् । अब त विदेश नगएर भएन भन्ने मलाई पनि लाग्यो । सँगै पढेर विदेश हानिएको साथी, यता जग्गा किनेँ, उता जग्गा किनेँ भनेर गफ लगाउने । धेरैले घर बनाए । बिहे गरे । राम्रो पैसा कमाए । तर, आफ्नो विवशता भने उस्तै । यस्तै सम्झेर २/४ वटा कन्सल्टेन्सीमा समेत धाएँ । तर, विदेश जान पनि पैसा लाग्ने रहेछ । त्यती धेरै पैसा घरबाट दिन नसक्ने । त्यही समयबाट मेरो लागि विदेश रहेनछ भन्ने पनि सोचेँ । पैसा नभपछि विदेश जानु बेकार हो भन्ने लाग्यो । काम गर्दै गइयो । सामान्य जागिर । एक्लो ज्यानलाई खान बस्न समस्या भएन । यो सिलसिला निरन्तर चलिरहेकै थियो । एकदिन १२ कक्षासँगै पढेको साथीसँग बसमा भेट भयो । हाल खबर सोधियो । साथीले सोधिन्, ‘सँगै पढेका साथी त सबै विदेश गए, तिमि नजाने ?’ म अलमलमा परेँ । समय आएपछि जानुपर्छ भन्ने जवाफ फर्काएँ । उनले फेरि भनिन्, ‘समयमै विदेश जानु पर्छ है, नत्र पछि दुःख पाइन्छ ।’ सधैं दुःख पाइरहेको मान्छेलाई अझैं दुःख पाउनु केनै ठूलो कुरा भयो र मैले हाँस्दै जवाफ दिएँ । अनि तिमी नजाने ? मैले पनि प्रश्न गरेँ । उनले खुसी हुँदै भनिन्, ‘म पनि जाने तयारी गरेकी छु, जापानको भिसा लागेको छ ।’ विदेशको आस मारेर बसको मान्छेलाई साहस जगाइ दियो ती साथीको कुराले । हामी छुट्टियौं । म फेरि सोच्न थालेँ । सँगै पढ्ने साथीहरु, गाउँघरमा सँगै खेलेका दाजुभाईहरु विदेश गए, कतिले विदेशको तयारी गर्दैछन् । म जस्ता दैनिक हजारौं नेपाली युवाहरु विदेश पलायन भइरहेका छन् । उद्योगी व्यवसायीहरु पनि स्वदेशमा उद्योग व्यवसायको वातावरण राम्रो भएन भनेर विदेशमा लगानी गरिरहेका छन् । अनि म स्वदेशमा किन बस्ने ? म कुन देश जाउँ ? कुन कन्सल्टेन्सीमा छिटो भिसा लाग्छ होला ? पहिले साथी-सँगीहरु बिहे कहिले गर्छस् भनेर प्रश्न गर्थे । अहिले कहिले विदेश जान्छस् भनेर प्रश्न सोेध्छन् । अब म ती साथीहरुलाई के जवाफ दिउँ ?
चिनियाँ लगानीकर्ता भन्छन् : नेपालले ठूलो प्राविधियुक्त उद्योग निर्माणको सोच बनाए साथ दिन्छौं
काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड’ (सिसिपिआइटी) का उपाध्यक्ष झाङ शाओगाङले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको उपप्रधानमन्त्रीको भनाइ छ । त्यस क्रममा उपाध्यक्ष झाङलाई नेपालमा स्वागत गर्दै र भ्रमण सफलताको शुभकामना दिँदै उपप्रधानमन्त्री श्रेष्ठले चीन नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय व्यापार साझेदार मुलुक रहेको र नेपालमा लगानीमैत्री वातावरण भएकाले चिनियाँ लगानीको सधैँ स्वागत गरिने बताए । केरुङ र तातोपानी नाका व्यवस्थित बनाएर आयात तथा निर्यातलाई समेत सहज गर्नुपर्ने आवश्यकता उपप्रधानमन्त्री श्रेष्ठले औँल्याए । चीन नेपालको दोस्रो व्यापारिक साझेदार मुलुक रहेको र चीन–नेपालको व्यापार घाटा धेरै भएकाले त्यसलाई घटाउन आपसी समझदारीका आधारमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । तेस्रो कार्यकालका लागि निर्वाचित चिनियाँ राष्ट्रपति सी जिनपिङ र नवनिर्वाचित प्रधानमन्त्री ली छ्याङलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामनासमेत व्यक्त गरेका थिए । त्यस क्रममा उपाध्यक्ष झाङले झन्डै चार वर्ष लामो कोभिड सङ्क्रमणले चीनको वैदेशिक लगानी तथा व्यापारमा असर परे पनि चीन अब कोभिडबाट खुल्ला भएकाले सहजता भएको बताए । कोभिडका कारण चीन र नेपालको बीच भ्रमण आदानप्रदान हुन नपाएको र त्यसबाट व्यापारमा समेत असर परेको बताए । नेपाल आफूहहरूको पुरानो र नजिकको मित्र भएको र नेपालमा थप लगानीको निश्चितता गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको उनले बताए । झाङले नेपालले ठूलो प्राविधियुक्त उद्योग–निर्माणको सोच बनाए त्यसमा चीनले खुलेर साथ दिने बताए । भेटवार्तामा चिनियाँ राजदूत छन सोङसहितको उपस्थिति थियो । रासस
सरकारले बढायो रासायनिक मलको मूल्य
काठमाडौं । सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो । ‘रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको छ । यो दरलाई क्रमशः ५० प्रतिशतमा झारिनेछ ।’ कृषि मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सरकारले मलको अनुदान घटाएसँगै कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने भएको छ । अनुदान कटौतीपछि आयात बिन्दुमा युरिया प्रतिकिलो २५ रुपैयाँ, डिएपी प्रतिकिलो ५० रुपैयाँ र पोटास प्रतिकिलो ४० रुपैयाँमा बिक्री वितरण हुनेछ । यसअघि आयात बिन्दुमा युरिया प्रतिकिलो १४ रुपैयाँ, डिएपी प्रतिकिलो ४३ रुपैयाँ र पोटास प्रतिकिलो ३१ रुपैयाँमा बिक्री वितरण भइरहेको थियो । साबिकभन्दा अब युरिया प्रतिकिलो ११ रुपैयाँ, डिएपी प्रतिकिलो सात रुपैयाँ र पोटास प्रतिकिलो नौ रुपैयाँ महँगो पर्ने भएको छ । सरकारले यसअघि युरियामा ८० प्रतिशत, डिएपीमा ६० प्रतिशत र पोटासमा ५९ प्रतिशत अनुदान दिइरहेको थियो । तर अब युरियामा ६४ दशमलव ४९, डीएपीमा ५२ दशमलव ३८ र पोटासमा ४६ दशमलव ०९ प्रतिशत मात्रै अनुदान दिइनेछ । अर्थ मन्त्रालयले रासायनिक मलको अनुदान घटाउन भनेपछि यस्तो निर्णय गरिएको पनि कृषि मन्त्रालयले जनाएको छ । ‘रासायनिक मलको बढ्दो माग, बढ्दो अन्तर्राष्ट्रिय मूल्य र तद्अनुरुप रासायनिक मलमा बढ्दो अनुदान रकमलाई ध्यानमा राख्दै अर्थ मन्त्रालयको पत्रअनुसार स्रोत सुनिश्चितता गर्दाको शर्तको रुपमा रासायनिक मलमा दिँइदै आएको अनुदानलाई लागतको ५० प्रतिशतमा सीमित राख्ने राय आएको छ,’ कृषि मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयका अनुसार नेपालका लागि वार्षिक पाँच लाख २० हजार मेट्रिक टन रासायनिक मल आवस्यक पर्छ । मलमा कृषकलाई अनुदान उपलब्ध गराउन चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा १५ अर्ब ६ लाख रुपैयाँ छुट्याइएको थियो । गत साउन २७ गते अर्थ मन्त्रालयबाट रू १६ अर्ब स्रोत सुनिश्चितता दिइएको थियो भने यही फागुन ८ गते सात अर्ब ५० रुपैयाँकाे करोडको स्रोत सहमति दिइएको थियो । यसरी चालु आर्थिक वर्षका लागि रासायनिक मल शीर्षकमा कुल ३८ अर्ब ५० करोड ६ लाख रुपैयाँ बजेट कायम भएको छ । हालसम्म कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट्र टेडिङ कर्पोरेसनबाट कूल तीन लाख ३१ हजार पाँच सय मेट्रिक टन रासायनिक मल खरिद भइसकेको मन्त्रालयले जनाएको छ । यसरी खरिद भएको मलमध्ये करिब दुई लाख ३७ हजार पाँच सय मेट्रिक टन मल आयात भइसकेको छ भने ९४ हजार मेट्रिक टन आयातका क्रममा रहेको छ । यसवर्ष धानबालीका लागि यसवर्ष ९० हजार मेट्रिक टन मल अपुग हुने पनि मन्त्रालयले जनाएको छ । रासस