विकासन्युज

हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्न श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गरिने

काठमाडौं । सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरको निर्णय) ले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो । पर्यटनमन्त्री सुदन किराँतीले सो विश्वविद्यालयका माध्यमबाट हिन्दू धर्मसम्बन्धी विश्वभर विज्ञहरू उत्पादन गर्ने र सांस्कृतिक कूटनीतिक विकास गर्ने उद्देश्यले विश्वविद्यालयको अवधारणा अघि बढाइएको बताए । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आधुनिक नेपालको सभ्यताको सुरुआत नेपालबाटै भएकाले यहाँको सभ्यता, सम्पदा, संस्कृति र दर्शनलाई पाशुपत दर्शनभित्र समेटिएको बताए । उनले भने ‘हिन्दू विश्वविद्यालय राष्ट्रको आवश्यकता हो, आधुनिक सभ्यताको सुरुआत नेपालबाटै भएको पाइन्छ, नेपाली धर्म संस्कृति, मूल्यमान्यतालाई देश तथा विदेशमाझ प्रवद्र्धन गर्न यो अभियालनले मद्दत पुग्नेछ ।’ मन्त्री किराँतीले विश्वविद्यालय स्थापनाबाट विश्वभर कूटनीतिक बौद्धिक व्यक्तित्व निर्माणका साथै सांस्कृतिक कूटनीतिको विकास हुने र यसले पर्यटनको विकास हुने विश्वास व्यक्त गरे । पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले ‘ड्रिम प्रोजेक्ट’ का रूपमा विश्वविद्यालय स्थापना गर्न लागिएको बताए । उनले हिन्दू धर्मबारे खोज तथा अध्ययन गरी बौद्धिक अध्यात्मक चिन्तनको संस्थागत विकास गर्ने लक्ष्यका साथ विश्वविद्यालय निर्माण गर्न लागिएको जानकारी दिए । उक्त विश्वविद्यालय स्थापनाबाट नेपाली संस्कृति र दर्शनलाई नेपाली माटोको सुगन्धसहित अध्ययन, अध्यापन हुनुका साथै शैक्षिक, धार्मिक तथा सांस्कृतिक पर्यटको प्रवद्र्धन गर्ने हुने विश्वास लिइएको छ । फागुन १५ को मन्त्रीस्तरीय निर्णयबाट पशुपति क्षेत्र परिसरमा सो विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणापत्र तयार गर्न संस्कृतिविद् डा जगमान गुरुङको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिको सदस्यमा प्रा डा रामचन्द्र गौतम, प्रा चेतोनाथ गौतम, कमल ढकाल र सदस्यसचिवमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा रहेका छन् । समितिका संयोजक डा गुरुङले पूर्वीय दर्शन सम्भाव्यता र संस्कृतिको नेपालमुखी अध्ययनका लागि विश्वविद्यालय निर्माणको प्रक्रिया अघि बढाइएको बताए । मानवीय जीवन पद्दति र यसका विविध आयामलाई पशुपति हिन्दू विश्वविद्यालयले प्रमुख विषय बनाउनुपर्छ भन्ने मान्यता राखेर अभियान सुरु गरिएको कोषका कार्यकारी निर्देशक खतिवडाले बताए । कोषको प्रस्तावित गुरुयोजनाअनुरुप सो विश्वविद्यालयको प्रक्रिया सुरु गरिएको उनले उल्लेख गरे । समितिले विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी एक महिनाभित्र मन्त्रालयलाई प्रतिवेदन पेस गर्नेछ । प्रतिवेदनअनुरुप विज्ञ तथा सरोकारवालासँग आगामी वैशाखभर छलफल गरेर विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

अशोक लेल्यान्डको लाइट कमर्सियल भेहिकल ‘दोस्त’ मा ५ वर्षको वारेन्टी

काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले आफ्नो लोकप्रिय हलुका सवारी साधन ‘दोस्त’ मा पाँच वर्षको वारेन्टी घोषणा गरेको छ । कम्पनीले प्रदान गर्ने घोषणा गरेको नयाँ वारेन्टी बेस्ट इन सेगमेन्ट हो । यसले दोस्तको पर्फमेन्स बढाउन सहयोग गर्ने सबै रेन्जका कम्पोनेन्टहरुलाई कभर गर्ने कम्पनीले जनाएकाे छ । कम्पनीकाे अनुसार यो वारेन्टी अन्तर्गत इन्जिनका साथसाथै पावर स्टेयरिङ बक्स, पावर स्टेयरिङ पम्प, टर्बोचार्जर, फ्युल इन्जेक्सन पम्प र इन्जेक्टर, एयर कम्प्रेसर, इन्टरकुलर/रेडिएटर कोर र कुलिङ फ्यान क्लच जस्ता प्रमुख उपकरण सबैमा कभर हुनेछ । यसका साथै गियरबक्स, रियर र फ्रन्ट एक्सलका साथै इन्जिन वायरिङ, स्टार्टर मोटर, अल्टरनेटर जस्ता इलेक्ट्रिकल कम्पोनेन्ट र इलेक्ट्रोनिक कम्पोनेन्ट युनिट समेत यसमा कभर हुनेछ । नेपालभरका अशोक लेल्यान्डका सबै डिलरसिप र सर्भिस स्टेसनहरूमार्फत उक्त वारेन्टी उपलब्ध हुने कम्पनीले बताएकाे छ ।  

आम सञ्चार क्षेत्रको सुधारका लागि समिति गठन

काठमाडौं । सरकारले आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुुन तथा नियमनका बिषयमा सुुझाव दिन समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिका सदस्यहरुमा महासंघका पूर्व अध्यक्षद्वय गोविन्द आचार्य र डा. महेन्द्र बिष्ट, वर्तमान अध्यक्ष विपुल पोख्रेल र बरिष्ठ पत्रकार बबिता बस्नेत रहेका छन् । समितिले आगामी आइतवारदेखि काम थाल्ने भएको छ । काम थालेको ३० दिनभित्र प्रतिवेदन बुुझाउने गरी कार्य क्षेत्र निर्धारण गरिएको छ । समितिसँगको संक्षिप्त छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आम सञ्चारका क्षेत्रमा नीति निर्माण र कानुन परिमार्जन गर्नु आवश्यक देखिएकाले आम सञ्चार क्षेत्रका विज्ञहरुलाई त्यसको तयारी गर्ने जिम्मेवारी दिइएको बताईन । आमसञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनाउन गर्नुपर्ने कार्यहरूका बारेमा अध्ययन गरी सुझाव दिन समिति गठन गरिएको मन्त्रालय प्रवक्ता नेत्र सुवेदीले जानकारी दिए। अन्य मुलुकको अनुभव समेतका आधारमा आमसञ्चार क्षेत्रका सम्बन्धमा गर्नुपर्ने नीतिगत तथा कानुनी व्यवस्था र आमसञ्चार क्षेत्रको नियामकीय क्षमता वृद्धि गर्ने उपायका बारेमा सुझाव दिने जिम्मा पनि समितिलाई दिइएको उनको भनाई थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेका आमसञ्चार सम्वद्ध नीति तथा कानुनको मस्यौदामा परिमार्जन गरी समयसापेक्ष बनाउनुपर्ने विषयमा सुझाव प्राप्त भएपछि त्यसमाथि सरोकारवालाहरूसँग छलफल र अन्तरक्रिया गरी सोबाट प्राप्त सुझावलाई समावेश गरेर आम सञ्चार विधेयकको अन्तिम मस्यौदा तयार गरिने मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए ।

नेपाल विश्वकप छनोटमा पुग्यो, यूएईलाई ९ रनले हरायो

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको थियो । १७ ओभरको समाप्तीसँगै नेपालले ४ विकेटको क्षतिमा ९९ रन जोडेको थियो । यसअघि लिग-२ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालले उक्त खेल ८ विकेट गुमाउँदै जितेको थियो । सन् २०१९ देखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपाल तेस्रो भएको छ । पछिल्लो १२ मध्ये ११ खेल जितेर नेपालले ३६ खेलबाट ४० अंकसहित तेस्रो स्थान हासिल गरेको हो । ३६ खेलबाट ५० अंकसहित स्कटल्याण्ड लिग टू च्याम्पियन भइसकेको छ भने ४४ अंकसहित ओमान दोस्रो भएको छ ।

इसेवाबाट बैंक ट्रान्सफर गर्दा हङकङ घुम्ने मौका

काठमाडौं । इसेवाले ‘बैंक ट्रान्सफरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्वजनिक गरेको छ । यस अफर अन्तरगत इसेवाका ग्राहकले आफ्नो इसेवा एकाउन्ट मार्फत बैंक तथा सहकारीको खातामा रकम ट्रान्सफर गर्दा हङकङ घुम्ने मौका पाउनेछन् । यस अफरमा ग्राहकले बेंक ट्रान्सफर गर्दा डबल क्यासब्याक पाउनुका साथै हङकङ घुम्न जाँदा दोहोरो टिकट जित्न सक्नेछन् । यस अफर योजना चैत्र ३० गतेसम्म सञ्चालन हुने इसेवाले जानकारी दिएको छ । इसेवाको अनुसार योजनामा सहभागी हुन योजना अवधिभर कम्तीमा दुईपटक बैंक ट्रान्सफर गरेको हुनुपर्नेछ ।

स्वास्थ्य सचिव भन्छन् : निजी अस्पताललाई स्वास्थ्य बीमाको जिम्मा दिनुहुन्न

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले निजी अस्पतालहरुलाई स्वास्थ्य बीमाको जिम्मा दिनु नहुने बताएका छन् । बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । बीमा निजी अस्पताललाई नदिँदा केही वर्षसम्म गाह्रो भएपनि सरकारको अस्पतालहरुको उन्नति, प्रगति गर्न सहयोग पुग्ने उनी बताउँछन् । ‘मेडिकल, डेण्टल कलेज, ठूला अस्पतालहरुलाई बीमाको जिम्मा दिन सकिएपनि निजी अस्पताललाई बीमा दिँदा दुरुपयोग भइरहेको छ, अहिलेको स्वास्थ्य बीमा बीमा जस्तो नभइ राज्यले सामाजिक दायित्व पूरा गरेको जस्तो छ,’ उनले भने । अहिलेको बीमाको अवस्थालाई राज्यले निजी क्षेत्रलाई दिएर अझै १५ वर्षसम्म यही अवस्थामा धान्न नसक्ने उनको भनाइ छ । ‘यस वर्ष पनि साढे ८ अर्ब भन्दा बढी बीमितहरुले सुविधा लिएको पैसा दिन बाँकी छ, प्रिमियम उठाउने पैसाले बीमा सञ्चालन गर्न गाह्रो छ, बीमामा सरकारका कर्मचारीहरु, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतलाई नसमेटिएसम्म बीमा परिष्कृत हुन सक्दैन,’ उनले भन्छन् । बीमामा व्यक्तिले केही मात्रै पैसा तिर्ने व्यवस्था नभएसम्म बीमा सफल हुन नसक्ने उनको दाबी छ ।

भारतबाट घटेर आयो इन्धनको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ । अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।  

नेप्सले पायाे एसोसिएट्स पार्टिसिपेटिङ अर्गनाइजेसनको सदस्यता

काठमाडौं । नेप्सले एसोसिएट्स पार्टिसिपेटिङ अर्गनाइजेसनको सदस्यता प्राप्त गरेको छ ।नेपालबाट उक्त सदस्यता प्राप्त गर्ने नेप्स पहिलो संस्था बनेको कम्पनीले जनाएको छ । नेप्स आइएसओ प्रमाणित संस्था पनि भएको हुँदा यो सदस्यताले सरोकारवालाहरुको नेप्स प्रतिको विश्वासलाई अझ प्रगाढ बनाउने कम्पनी बताउँछ । ‘भिसा, मास्टरकार्ड जस्ता अन्तराष्ट्रिय कार्ड नेटवर्कले पिसिआई डिएसएस सर्टिफिेकस कार्ड मार्फत हुने कारोबारको सुरक्षा र तत्सम्बन्धी विकास भैरहने विविध साइबर सुरक्षाका विषयलाई समेटी सुरक्षित कारोबारको वातावरण सिर्जना गर्ने तथा विश्वव्यापी रुपमा नै विभिन्न सरोकारवालाहरुलाई समेटी पर्याप्त डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको विकास गरी लागु गर्ने उदेश्य लिएर बनेको संस्थाको असोसिएट्स पार्टिसिपेटि अर्गनाइजेसनको सदस्यता प्राप्त गरेकोमा नेप्स गौरवान्तित छ,’ कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यस्तै, नेप्स पिसिआई एसएससिको ‘बोर्ड अफ एडभाइजरी’ मा पनि मनोनित भएको छ । बोर्ड अफ एडभाइजरीमा चयन भएमा कार्ड मार्फत हुने कारोबारमा डाटा सुरक्षा सम्बन्धी मापदण्डहरु निर्धारण गर्दा नेप्सले पनि आफ्नो अनुभव तथा भनाईहरु प्रस्तुत गर्न सक्नेछ । साथै यस्तो भएको अवस्थामा कुनै नयाँ मापदण्डहरुको बारेमा अन्य संस्थालाई भन्दा नेप्सलाई पूर्व जानकारी हुने र अन्य महत्त्वपूर्ण स्रोतहरुमा पनि पहुँच पुग्नेछ । पेमेन्ट कार्ड इन्डस्टि सेक्युरिटी स्ट्याण्डर्डस काउन्सिल कार्ड मार्फत हुने कारोबारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको निरन्तर हुने विकासलाई व्यवस्थित गर्नको निमित्त स्थापना भएको अन्तराष्ट्रिय रुपमा मान्यता प्राप्त संस्था हो ।