नेप्सेमा २ कम्पनीको बोनस सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था र प्राइम कमर्सियल बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । गुराँस लघुवित्तको ४ प्रतिशत बोनस वापतको ३९ हजार कित्ता सेयर सूचिकृत नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१०५ प्रतिशत नगद गरी कूल ४.२१०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, प्राइम कमर्सियल बैंकको ४ प्रतिशत बोनस वापतको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सहकारीमा बेथिति, करोडौँ रकम जोखिममा
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सञ्चालित केही सहकारी संस्थाहरू बेथितिका कारण संकटमा परेका छन्। विशेषगरी काठमाडौं केन्द्रीय कार्यालय भई मुलुकका विभिन्न सहरमा शाखा खोलेर कारोबार गर्दै आएका सहकारीमा बेथिति बढी छ । बेथितिका कारण सहकारी आर्थिक संकटमा परेसँगै बचतकर्ताको रकम पनि जोखिममा परेको छ । रकम डुब्ने भयले बचतकर्ता चिन्तित बनेका छन् । काठमाडौँमा मुख्य कार्यालय भई बुटवलमा शाखा सञ्चालन खोलेको शिवशिखर बहुउद्देश्यीय सहकारीले बचतकर्तालाई रकम फिर्ता गर्न नसकेपछि सूचना टाँसेर कार्यालय बन्द गरेको छ । बुटवल उपमहानगरपालिका-१० योगीकुटीमा शिवशिखर सहकारीको शाखा कार्यालय छ । शिवशिखरले ग्राहक आकर्षित गर्न योगीकुटीमै सपिङ सेन्टरसमेत सञ्चालन गरेको थियो । तर उसले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सहकारीको कार्यालयसँगै गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स पनि बन्द गरेको हो । कार्यालय नै बन्द गरेर सञ्चालक, व्यवस्थापक सम्पर्कविहीन बनेपछि बचतकर्ता आत्तिएका छन् । बुटवलकी लक्ष्मी श्रेष्ठले शिवशिखरमा जम्मा गरेको १ लाख ३६ हजार रूपैयाँ डुब्ने चिन्ताले निदाउन नसकेको बताइन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।
कामपाको कानून तर्जुमा बारे राष्ट्रियसभाको चासो
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको विधायन व्यवस्था समितिले काठमाडौँ महानगरपालिकाको कानून तर्जुमा प्रक्रिया र कार्यान्वयनको अवस्थाका बारे चासो देखाएको छ । समितिका सभापति वेदुराम भुसालको नेतृत्वमा बिहीबार कामपा आएको टोलीले कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलसँग भेटर विधि निर्माण प्रक्रियाका विषयमा छलफल गरेको हो । छलफल विशेषगरी स्थानीय ऐन, कार्यविधि, निर्देशिका निर्माण कसरी भइरहेको छ ?, कुन कुन ऐन निर्माण भए ?, ती ऐन निर्माणको आधार के हो ?, कार्यान्वयन कसरी भइरहेका छन् ? भन्ने विषयमा केन्द्रित रहेको थियो । छलफलमा कामपा उपप्रमुख डङ्गोलले अन्तर सरकार समन्वय, साझेदारी र सहकारितालाई बलियो बनाउने तथा राष्ट्र सेवकलाई सेवाप्रति समर्पित हुन प्रोत्साहन गर्नेलगायत स्थानीय सरकार सञ्चालन गर्न सहज हुने विभिन्न क्षेत्रगत विषयमा सङ्घीय सरकारले कानून निर्माण गर्नुपर्ने धारणा राखे । छलफलमा विसं २०७२ अगाडि तर्जुमा गरिएका कानूनी प्रबन्ध कुन अवस्थामा छन् ? कानून निर्माण गर्दा सरोकारवालासँग छलफल गर्नु हुन्छ कि हुन्न ? अहिलेसम्म कतिवटा कानून बनाउनुभयो ? के सबै कानून कार्यान्वयनमा छन् ? लगायत प्रश्न राष्ट्रियसभाको विधायन व्यवस्था समितिबाट राखिएको थियो । कामपाले २०७२ को संविधान जारी भएपछि ऐन, कार्यविधि, नियमावली, कार्यविधि गरेर ८४ कानून तर्जुमा गरेको छ । यसमा केही संशोधन भएका पनि छन् । ८४ वटामध्ये ८० महानगरको आन्तरिक जनशक्तिबाट बनाइएको हो भने ४ प्राविधिक विषयका कानून परामर्शदातालाई मस्यौदा गर्न लगाएर प्रक्रिया अगाडि बढाएको कामपाले जानकारी दिएको छ । कामपाको कानून निर्माण अभ्यासका विषयमा जानकारी गराउँदै कानून तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले भने, ‘कानून तर्जुमा गर्दा सङ्घीय सरकारले अवलम्बन गरेका सबै प्रक्रिया पूरा गर्ने गरेका छौँ ।’ विभागबाट कानून निर्माणका लागि आएका मागलाई नगरसभाअन्तर्गत ३ वटा समिति र कार्यपालिकाअन्तर्गत १३ विषयगत समितिमार्फत छलफल गरेर कार्यपालिका हुँदै विधेयकलाई नगरसभामा र मापदण्ड, कार्यविधि, निर्देशिकालगायत प्रबन्धलाई कार्यपालिकाबाट पारित गर्ने गरिएको जानकारी गराइएको थियो ।
स्रोत नखुलेको १० लाख भारतीय मुद्रासहित युवक पक्राउ
काठमाडौं । महोत्तरी जिल्लाको मूल भन्सार नाका जलेश्वर नगरपालिका–३ भिट्टामोडमाप्रहरीले स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय विमलेश पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । युवक पाण्डे भारतबाट ज ४ प ७०३४ नम्बरको मोटरसाइकलमा चढी पैसा बोकेर भारतबाट नेपाल आउँदै गर्दा प्रहरी चौकी भिट्टामोडलाई शङ्का लागि जाँच गर्दा उनी स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले ९ लाख ९८ हजार तीन सय भारतीय रुपैयाँ बरामद गरेको हो । उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।
उपराष्ट्रपति पदका लागि आज निर्वाचन, कसले मार्ला बाजी ?
काठमाडौं । मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ । उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मतसङ्केत गर्नुपर्नेछ । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम रहेको छ । निर्वाचनमा सङ्घीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसद मतदाता छन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए । राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ । उपराष्ट्रपति मर्यादाका हिसाबले दोस्रो माथिल्लो पद हो । उपराष्ट्रपतिको पदावधि ५ वर्षको हुनेछ । मुलुकमा उपराष्ट्रपतिको यो तेस्रो निर्वाचन हुन लागेको हो । हाल उपराष्ट्रपतिमा नन्दबहादुर पुन छन् ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा १० प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौं भित्रका स्टोरहरूबाट सामान किन्दा १० प्रतिशतसम्म डिस्काउन्ट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग ए्यापबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत डिस्काउन्ट पाइनेछ । एक पटकको खरिदको १०० सम्म र योजना अवधिभर ३०० सम्म डिस्काउन्ट पाइने बैंकले जनाएको छ । बैंकको अनुसार यो योजना सिमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा, र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुनेछ । ग्लोबल आइएमई बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ ।
राष्ट्र बैंकलाई सुपरिवेक्षकीय सूचना प्रणालीको विधिवत्व हस्तान्तरण
काठमाडाैं । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण संरचनालाई स्वचालित र प्रविधिमैत्री बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको सुपरिवेक्षकीय सूचना प्रणाली विधिवत् रूपमा बैंकलाई हस्तान्तरण गरिएको छ । आज काठमाडौंमा आयोजित एक समारोहका बीच बेलायती सहयोग नियोगअन्तर्गतको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) का विकास निर्देशक पीप्पा बर्डले उक्त प्रणाली गभर्नर महाप्रसाद अधिकारीलाई हस्तान्तरण गरिन् । बेलायती सहयोग नियोगको वित्तीय क्षेत्र स्थायित्व कार्यक्रम (एफएसएसपी) को वित्तीय सहयोगमा एसआईएस निर्माण गरिएको हो । कार्यक्रममा गभर्नर अधिकारीले एसआईएसको कार्यान्वयनसँगै बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षणको ढाँचा स्वचालित प्रणालीमा प्रवेश गरेको बताए । वित्तीय क्षेत्रको प्रभावकारी नीति तर्जुमा र कार्यान्वयनको निम्ति विश्वसनीय र यथार्थ तथ्याङ्ग आवश्यक पर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले एसआईएसले त्यो आवश्यकतालाई परिपूर्ति गर्ने विश्वास व्यक्त गरे । एसआईएसको निर्माण र कार्यान्वयनमा प्राप्त सहयोगको निम्ति उनले बेलायती सहयोग नियोग र सम्बद्ध अन्य निकायलाई धन्यवाद दिए । सो अवसरमा एफसीडीओका निर्देशक बर्डले एसआईएसको कार्यान्वयनबाट राष्ट्र बैंकको सुपरिवेक्षकीय क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणको निम्ति बेलायत सरकार सधैँ प्रतिबद्ध रहेको धारणा राखिन् । सो अवसरमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले एसआईएसको कार्यान्वयन नेपालको वित्तीय प्रणालीको निम्ति ‘कोसे ढुङ्गा’ सावित भएको उल्लेख गर्दै यसको कार्यान्वयनमा बैंक तथा वित्तीय संस्थाबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
बैंकर्समाथि धमाधम सांघातिक आक्रमण, प्रहरीको निगरानीमा दुर्गा प्रसाईं
काठमाडौं । बैंक तथा वित्तिय क्षेत्रमा काम गर्ने कर्मचारीहरुमाथि पछिल्लो समय धमाधम आक्रमण हुन थालेको छ । पछिल्लो दुई सातामै तीन ठाउँका बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरु आक्रमणमा परिसकेका छन् । अघिल्लो साता जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि अज्ञात समूहद्वारा कालोमासो दलियो । तर अहिलेसम्म कालोमोसो दल्ने को हुन् भन्ने विषय बाहिरिन सकेको छैन । यस्तै, फागुन ३० गते मकवानपुर हेटौंडास्थित कुमारी बैंकको शाखा कार्यालयमा धरपकड र कार्यालय बन्द गर्ने गतिविधि भए । त्यो घटना पनि त्यतिकै सेलायो । आज (बिहीबार) पुन एनआइसी एसिया बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण भएको छ । बिहीबार गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि सांघातिक आक्रमण भएको छ । उनीहरुमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको बुझिएको छ । यी तीनटै घटनामा नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ(सिबिफिन)ले आपत्ति जनाएको छ । निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादती र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत सिबिफिनले आग्रह गरेको छ । सिबिफिनले वार्ता तथा संवादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, मातहतका सुरक्षा निकायमा अपील गरेको छ । पछिल्लो समय स्वास्थ्य उद्यमी दुर्गा प्रसाईं बैंकको ब्याजदरको विषयमा आन्दोलन गरिरहेका छन् । उनले आन्दोलन चर्काएर बैंकरहरुलाई जहाँ भेट्यो त्यहाँ नै कालोमोसो दल्न आव्हान गरिरहेका छन् । पूर्वदेखि पश्चिमसम्म बैंकविरोधी अभिव्यक्ति दिइरहेका प्रसाईंले एउटा संयन्त्र नै खडा गरेर लागिरहेका छन् । उनले झापामा मात्रै यसकाे लागि २ सय जनालाई परिचालन गरेको बताउँदै आएका छन् । उनले एउटा अभियान नै चलाएर बैंकको सावाँ ब्याज नतिर्न उद्योगी व्यवसायी र सर्वसाधारणलाई समेत आव्हान गरिरहेका छन् । नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले यस्ता अराजगक गतिविधिले नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको बताए । ‘यस विषयमा हाम्रो ध्यानआकर्षण भएको छ, कस्तो कसुर हो, बैंकमै हुने गतिविधिहरु बैंकिङ कसुर अन्तर्गत पनिज जान्छ, विभिन्न घटनाहरुको प्रकृति हेरेर हामीले एक्सन लिन्छौं, परिसंघले सुरक्षा माग गरे अनुसार हामीले सुरक्षा दिइरहेका छौं, यस्ता गतिविधि गर्नेहरुमाथि निगरानी बढाइरहेका छौं,’ उनले भने । यस विषयमा परिसंघले आफुहरुलाई जानकारी पनि गराएको उनको भनाइ छ । यसअघि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रलाल ढुङ्गानाले बैंकरलाई परिचय पत्र झुण्डयाएर बाहिर निस्किन पनि डर लागिरहेको बताएका थिए । यस्ता घटनाले बैंकरहरुलाई थप त्रास सिर्जना गरेको छ ।