विकासन्युज

काठमाडौं विश्वविद्यालयले ह्याविटेट इनोभेसन कन्क्लेभ आयोजना गर्ने

काठमाडौं । काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभाग इनर्जी इफिसियन्ट बिल्डिङ डिजाइन २०२१ ब्याचले ह्याविटेट इनोभेसन कन्क्लेभ २०२३ आयोजना गर्ने भएको छ । चैत ३ गते काठमाडौंको होटल हायात प्यालेसमा उक्त कार्यक्रम आयोजना गर्न लागेको उक्त विभागका प्राध्यापक डा. भिम श्रेष्ठले बताए । प्राध्यापक श्रेष्ठका अनुसार बिल्डिङ निर्माण सामग्रीको खोज, बिल्डिङ सम्बन्धी नीति तथा गुणस्तर, नयाँ प्रविधियुक्त योजना, डिजाइन तथा रेट्रोफिटिङ, खानेपानी तथा सरसफाइ, बिल्डिङमा उर्जा क्षमता र आवासमा महिला इन्जिनियरिङ जस्ता ६ वटा विषयमा कन्क्लेभमा छलफल हुनेछ । जसमा प्राध्यापक डा. संगिता सिंह, डा. रोशनराज श्रेष्ठ, डा. नारायण चौलागाईं, नरिपाल अधिकारी र प्रज्ञा प्रधानले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै कार्यपत्रमाथि टिप्पणी गर्दै कन्क्लेभका सल्लाहकारहरु इन्जिनियर गणेश शाह, प्राध्यापक गोविन्दराज पोखरेल, डा. सुनिलबाबु श्रेष्ठ र प्राध्यापक डा. त्रिरत्न बज्राचार्यले आफ्नो विचार प्रस्तुत गर्ने आयोजकले जनाएको छ । कन्क्लेलभमा काठमाडौं विश्वविद्यालय लगायत विभिन्न इन्जिनियरिङ कलेज र विल्डिङ सँग सम्बन्धित विभिन्न उद्योगहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

महिला कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

चितवन  । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि संकायका डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ । जुम मिटिङमा महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि दत्तलाई निलम्बन गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयको अनुसार उक्त विषयवस्तुलाई लिएर छानबिनका लागि समिति पनि गठन गरिएको छ  र समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुन्जेलसम्मका लागि दत्त निलम्बनमा रहने छन् ।

बेनी-जोमसोम सडकमा दैनिक ६ घण्टा यातायात बन्द हुने

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक छ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिए । ‘चैते दशैंको समयमा कागबेनीमा स्नान गर्न जाने आउने तीर्थयात्रीलाई लक्षित गरेर चैतको ६, ७ र ८ गते यातायात सञ्चालन हुनेछ,’ उनले भने, ‘पहिरोले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको कामसँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समय तालिका बनाइएको हो ।’ निर्माण व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनका लागि पत्राचार गरेका थिए । म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारी साधनले सडक बन्द हुने समय अगावै रुप्से खण्ड पार गर्नुपर्नेछ । एम्बुलेन्स र अत्यावश्यक सवारी साधनको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ । यसैबीच बेनी–जोमसोम–कोरला सडकको बेनी–गलेश्वर खण्डमा फागुन १ गतेदेखि लागू गरिएको समय तालिका बुधबारदेखि हटाइएको छ । बेनी–गलेश्वर सडक विस्तारका लागि फागुन १ देखि ३० गतेसम्म सवारी आवतजावत बन्द गर्ने समय तालिका बनाइएको थियो । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम विभिन्न खण्डमा भइरहेको छ । रासस

ऋण दिन सक्ने अवस्थामा पुगे बैंक, कर्जा माग गर्न अनुरोध

काठमाडौं । नबिल बैंकले केही दिनअघि मात्रै नयाँ उद्योग तथा व्यवसाय सुरुवात तथा विस्तार गर्ने लगानीकर्तालाई लक्षित गर्दै ‘नबिल सक्षम कर्जा’को विज्ञापन गर्यो । बैंकले साना तथा ठूला उद्योग तथा व्यवसाय गर्न चाहनेहरूको लागि सस्तो ब्याजदरमा लगानी गर्ने भन्दै कर्जा माग गर्न आव्हान गर्यो । बैंकबाट ऋण लिएर व्यापार तथा उद्यम सञ्चालन गर्ने नवप्रवर्तन, उद्योग तथा व्यवसाय सञ्चालन गरिरहेका लगानीकर्तालाई लक्षित गरी नबिल सक्षम कर्जा प्रडक्ट ल्याएको सो बैंकका एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख निरज कुमार बस्नेत बताउँछन् । उनका अनुसार यो प्रडक्ट अन्तर्गत स्टार्टअपले पनि कर्जा लिन पाउनेछन् । ‘बैंकबाट ऋण लिएर व्यवसाय सुरुवात गर्ने लगानीकर्तालाई लक्षित गर्दै यो प्रडक्ट ल्याइएको हो, यस प्रडक्टले नयाँ र पुराना दुवै प्रकारका लगानीकर्तालाई समेट्छ, कूल सम्पत्तिको ८० प्रतिशतसम्म बैंकले कर्जा दिनेछ, ऋणीले नबिल सक्षम कर्जा कार्यक्रम अन्तर्गत न्यूनतम १५ लाखदेखि अधिकतम १ करोड रुपैयाँसम्म ऋण पाउनेछन्,’ उनले भने । यस्तै, मुक्तिनाथ विकास बैंकले पनि ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । बैंकको यो कर्जा अन्तर्गत २ करोडसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्ने जनाएको छ । बैंकले यस योजना अन्तर्गत कर्जा लिन इच्छुक ऋणीलाई आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिनभित्रै सस्तो ब्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने पनि बैंकले उद्घोष गरेको छ । एनएमबि बैंकले पनि सहजै ऋण स्वीकृत हुने भन्दै शैक्षिक कर्जाको मार्केटिङ गरिरहेको छ । यो बैंकले सस्तो ब्याजमा शैक्षिक कर्जा पाइने भन्दै अहिले ऋणीलाई ऋणको माग गर्न आव्हान गरिरहेको छ । यस्तै, नेपाल बैंकले पनि ‘नेपाल बैंक सुन धितो कर्जा’ सुरु गरेको छ । बैंकले सुभल ब्याजदरमा तुरुन्तै कर्जा पाउनुहोस् भन्दै कर्जाको मार्केटिङ गरिरहेको छ । यी केही उदाहरण मात्रै हुन् । अहिले अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले कर्जाका प्रडक्टहरुको मार्केटिङ गरिरहेका छन् । ऋणीलाई कर्जाको माग गर्न अनुरोध गरिरहेका छन् । यसअघि बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन बढाउनका लागि बैंकहरुले बचत १० गुणासम्म हुने योजना ल्याएका थिए । लामो समयदेखि तरलताको सकस भोगिरहेका बैंकहरुले बचत प्रडक्टहरुमा विभिन्न किसिमका स्कीमहरु ल्याएर निक्षेपकर्तालाई आकर्षित गरिरहेका थिए । लामो समयदेखि तरलताको सकस भोगिरहेका बैंकहरुले ऋण लगानी पनि रोकेका थिए । तर, पछिल्लो समय भने कर्जाका नयाँ प्रडक्टहरु ल्याएर कर्जा लगानी गर्न थालेका हुन् । बैंकहरुसँग लगानीयोग्य पुँजी भएकै कारण ऋणीहरुलाई ऋणको माग गर्न आव्हान गरिरहेका छन् । पछिल्लो समय बैंकहरुमा निक्षेप पनि बढ्दै गइरहेको छ भने बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि कम हुँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल वाणिज्य बैंकहरुले कुल ४७ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत साता एकदिनमै वाणिज्य बैंकहरुमा २ अर्ब रुपैयाँ निक्षेप बढेको थियो । यस्तै, वाणिज्य बैंकहरुको कर्जा लगानी भने ४२ खर्ब ६८ अर्ब रुपैयाँ छ । बैंकहरुले अब कर्जा लगानी बढाउने योजना बनाएका हुन् । यस्तै, सीडी रेसियो पनि दैनिक घट्दै गइरहेको छ । अहिले बैंकहरुको सीडी रेसियो औसत ८५.८६ प्रतिशत छ । केही महिनाअघि अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको त कतिपयको ९० प्रतिशतको सीमा पनि नाघेको थियो । तर, अहिले सीडी पनि विस्तारै घट्दै गएको हो । माछापुच्छ«े बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सर्जु कुमार थापा अहिले बैंकमा तरलता सहज हुन थालेको बताउँछन् । ‘विगतको तुलनामा बैंकमा तरलता धेरै सहज भएको छ, बैंकहरु अहिले ऋण प्रवाह गर्न सक्षम छन्, तर ऋणको माग कमै छ, राष्ट्र बैंकले पनि ऋण लगानीमा केही कडाइ गरेको कारण बैंकहरुलाई ऋण लगानी गर्न समस्या भएको हो,’ उनले भने । उनका अनुसार अहिले ग्राहकबाट ऋणको माग न्यून छ । ग्राहकबाट ऋणको माग भएमा बैंकहरु कर्जा प्रवाह गर्न सक्षम छन् । उसो त अहिले पनि अन्तर बैंक ब्याजदर ७ प्रतिशत छ । अन्तर बैंक ब्याज बढी हुनु भनेको अझै पनि बैंकहरु केही हदसम्म तरलताको समस्यामा नै छन् भन्ने बुझिन्छ । तर, सीडी रेसियो कम हुँदै जाँदा बैंकहरुसँग लगानीयोग्य पुँजी छ भन्ने पनि बुझिन्छ । बैंकहरुले अहिले बचतका प्रडक्टभन्दा कर्जाका प्रडक्टहरुलाई बढी प्राथमिकता दिइरहेका छन् । नेपाल बैंकर्स संघको पछिल्लो निर्णयले पनि बैंकको ब्याजदर घटाउने निर्णय गर्दा बैंकहरु केही सहज अवस्थामा पुगेका हुन् कि भन्ने बुझाइ धेरैको छ । बैंक तथा वित्तीय संस्थाहरुले चैत १ गतेबाट लागू हुने गरी निक्षेपको ब्याजदर घटाइसकेका छन् । वाणिज्य बैंकहरुले बचतको ब्याजदर मात्र घटाएका छन् भने विकास बैंकहरुले भने मुद्दती र बचत दुवैको घटाएका छन् । वाणिज्य बैंकहरुले मुद्दतीको ११ प्रतिशतलाई यथावत राखेका छन् भने बचतको अहिलेको ६.४२ देखि ८.४ प्रतिशतसम्मको ब्याजदरलाई घटाएर ६ देखि ८ प्रतिशत कायम गर्ने निर्णय गरेका छन् । विकास बैंकहरुले बचतको ब्याज साबिकभन्दा ०.१५ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशत कायम गर्ने निर्णय गरेका छन् । यो न्यूनतम ब्याज हो । फाइनान्स कम्पनीले पनि निक्षेपको ब्याज घटाउने निर्णय गरेका छन् । फाइनान्स कम्पनीहरुले एक वर्षको मुद्दती निक्षेपको ब्याज दर ०.२० प्रतिशत बिन्दुले घटाउने निर्णय गरेका छन् । बैंकहरुले धमाधम बचतको ब्याज घटाउनु भनेको बैंकहरुमा तरलता सहज भएको संकेत हो । उसो त उद्योगी व्यवसायीहरुलाई ब्याज घटाउन दबाब दिइरहेका छन् । निक्षेपको ब्याजदर घटेपछि लागत कम भएर आधार दर पनि कम हुन्छ र आधार दर कम भएपछि ऋणको ब्याज दर पनि घट्छ । नेपाल राष्ट्र बैंकले स्प्रेडदर पनि असार मसान्तसम्म ४ प्रतिशतको सीमामा ल्याउनु पर्ने व्यवस्था गरेको छ । अब बैंकहरुलाई स्प्रेडदर घटाउँदै लैजानु पर्ने बाध्यता छ । त्यसैले पनि अझै ऋणको ब्याजदर घट्ने देखिन्छ ।

सूर्यज्योती लाइफ इन्स्योरेन्सका सेयरधनीको यस वर्ष हात खाली

काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले यस वर्ष सेयरधनीलाई लाभांश नबाँड्ने भएको छ । कम्पनीको चैत १ गते साँझ बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको हो । २०७८/७९ मा दुवै कम्पनीको नाफा वितरण योग्य रहेपनि यस वर्ष भने सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको कम्पनीले जनाएको छ । साविकको सूर्य लाइफ इन्स्योरेन्स र ज्योती लाइफ इन्स्योरेन्सले २०७७/७८ मा  पनि लाभांश वितरण गरको थिएन । आर्थिक वर्ष २०७६/७७ मा भने सूर्यले १३.३६ प्रतिशत र ज्योतीले १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपाललाई यूएईको विशाल लक्ष्य, जित्ला त नेपाल ?

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईले नेपाललाई विशाल लक्ष्य दिएको छ । जुन एकदिवसीयमा सबैभन्दा ठूलो लक्ष्य पाएको छ । बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको हो। आसिफ खानको कीर्तिमानी शतकमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको हो । खानले नटआउट रहँदै ४२ बलमा ११ छक्का र ४ चौकासहित १०१ रन बनाएका हुन् । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ८ ओभरमा स्पेलमा २ मेडन राख्दै उनले १९ रन खर्चिएका हुन् । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै ८० रन खर्चिए । ललित राजवंशीले भने १० ओभरमा २७ रन खर्चिएर २७ रन दिए । बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ ।

नेपाल इन्स्योरेन्सको सञ्चालकमा जोगाई र पौडेल नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालकमा निशान्त जोगाई र दिवाकर पौडेल नियुक्त भएका छन् । चैत १ गते बसको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले जोगाई र पौडेललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक जोगाई अग्रिम इन्टरनेशनल प्रा.लि.को र पौडेल श्री समिकरण इन्भेष्टमन्ट प्रा.लि.का प्रतिनिधि हुन् । यसअघि संस्थापक सेयरधनी समूह अन्तर्गतको अग्रिम इन्टरनेशनका प्रतिनिधि विष्णु खेतान अग्रवाल र सर्वसाधारण सेयरधनी समूहबाट अर्जुन पौडेलले प्रतिनिधित्व गरेका थिए । उनीहरुले राजिनामा दिएसँगै कम्पनी सञ्चालक समितिले दुई जनालाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

ऋणीको मूल्याङ्कन गर्ने विधिको परीक्षणको लागि कृषि विकास बैंकले गर्यो सम्झौता

काठमाडाैं । कृषि विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा कर्जा सूचना केन्द्र बिच त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि सम्झाैता भएकाे हाे । वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी नयाँ ढङ्गले प्रस्तुत हुने साइकोमेट्रिक स्कोरिङले कर्जा प्रवाह प्रणालीलाई थप प्रविधिमैत्री बनाई सहज, सरल र जोखिममुक्त कर्जा प्रवाहलाई प्रवद्र्धन गर्ने अपेक्षा लिइएको बैंकले जनाएकाे छ । व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनका रूपमा डिजिटल वित्तीय सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त नवप्रवर्तन विधिको परीक्षण चरणका लागि नेपाल राष्ट्र बैंक र आईएफसी बिच सम्झौता भई नेपालको वित्तीय प्रणालीमा उक्त विधि दुई वर्षको अवधिको लागि परीक्षण गर्न लागिएको हो । आज भएको सम्झौता बमोजिम यस विधि मार्फत लघु तथा खुद्रा कर्जा लिनेव्यक्ति तथा लघु, साना र मझौला उद्यमहरूलाई औपचारिक वित्तीय सेवाको दायरामा ल्याउने अपेक्षा गरिएको बैंकले जनाएकाे छ । बैंककाे अनुसार यसले बैंक तथा वित्तीय संस्थालाई सम्भावित ऋणीको व्यक्तित्व र मनोवैज्ञानिक विशेषताको तथ्याङ्कीय विश्लेषणका आधारमा जोखिम प्रोफाइल तयार गर्न सक्षम बनाई औपचारिक वित्तीय सेवामा समाहित हुन सेवाग्राहीलाई ऋण उपभोग गर्न आकर्षित र सरल बनाउने छ ।