आईएमई लाइफ इन्स्योरेन्स आइपीओ जारी गर्ने अन्तिम तयारीमा
काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणका निमित्त सेयर जारी गर्न भइरहेको आन्तरिक तयारी अन्तिम अवस्थामा रहेको जानकारी दिएकाे छ । साेमबार सम्पन्न छैटौं वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष डा.रामहरि अर्यालले यस्ताे जानकारी दिएका हुन् । सभाले सर्वसाधारणलाई छुट्टाईएको सेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेकाे छ । सभाले कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ । यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने प्रस्तावहरु सर्वसम्म्तिबाट पारित डा. अर्यालले आ. व. २०७९/८० को पुष मसान्तसम्मको अपरिस्कृत विवरण अनुसार बीमाकोष २२.३१ प्रतिशतले बृद्धि भई ५ अर्ब ४७ करोड ९४ लाख पुगेको जानकारी दिए ।
सत्यदीप र एसबी ग्रुपले बनाउँदै गरेको नेपाली लुब्रिकेन्ट उत्पादनको अन्तिम चरणमा
काठमाडौं । अटोमोबाइल पार्ट्स व्यवसायको क्षेत्रमा प्रतिष्ठित सत्यदीप ग्रुपले खाद्य उद्योग तथा अक्सिजन ग्यास उत्पादनमा संलग्न एसबी ग्रुपसँग मिलेर ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज उत्पादन गर्ने भएकाे छ । यी दुई समूहको लगानीमा सञ्चालित युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजले धनुषाको ढल्केवर–३ लालभित्ती चोकमा ल्युब आयल ब्लेन्डिङ प्लान्ट सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ । नयाँ वर्ष २०८० पश्चात वैशाख महिनादेखि नै ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जानकाी दिएकाे छ । सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्रले सबै संरचना निर्माणको कार्य पुरा भइसकेको बताए । ‘बैशाख देखि नयाँ नेपाली लुब्रिकेन्टको उत्पादन प्रारम्भ हुनेछ, हामी नेपाल गोल्ड लुब्रिकेन्ट उत्पादनको व्यग्र प्रतीक्षामा छौ,’ उनले भने । युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले २ बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको ल्युब आयल ब्लेन्डिङ प्लान्ट र अन्य संरचना निर्माण गरेको छ । सो क्षेत्रमा ६ वटा स्टोरेज ट्यांकी रहनेछन् र २ हजार केएल लुब्रिकेन्ट स्टोरेज गर्न सकिने छ । दैनिक रुपमा १५ हजार लिटर लुब्रिकेन्ट र १० हजार किलोग्राम ग्रिज उत्पादन गर्न सकिने छ । त्यसैगरी फिनिस्ड गुड राख्नका लागि २० हजार वर्गफिट क्षमताका दुई वटा स्टोर रहने छन् । बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन भन्दा नेपालमा उत्पादन हुने नयाँ लुब्रिकेन्ट र ग्रिजको गुणस्तरमा कमी नहुने मिश्रको दावी छ । अन्तर्राष्ट्रिय रुपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिन्ह पाए बराबरको गुणस्तर यसमा हुने उनी बताउँछन् । कम्पनीकाे अनुसार उक्त उद्योग स्थापनाका लागि करिब ५० करोड रुपैयाँ लागत लाग्ने छ । एसबी ग्रुपका सञ्चालक यस बर्धन सर्राफले हालको विषम परिस्थितिमा पनि रकमको जोहो गरेर काम अगाडि बढाएका बताए । ‘बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न समेत अप्ठ्यारो मान्ने समयमा अन्य क्षेत्रको लगानी कटौती गरेर अगाडि बढिरहेका छाैं, अझै पनि लगानीयोग्य रकमको खोजी गरिरहेका छाैं,’ उनले भने । नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज प्याकिङका लागि लाग्ने बकेट र अन्य सामग्री समेत कम्पनी आफैले उत्पादन गर्नेछ । बजारमा २५० एमएल देखि २१० लिटर सम्मको प्याकिङमा लुब्रिकेन्ट र ग्रिज उपलब्ध हुने बताइएको छ । नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज उत्पादन भए पश्चात पहिलो चरणमा करिब ५० जनाले रोजगारी पाउने सर्राफले बताए । यो नेपालको रोजगार क्षेत्रमा नयाँ अवसर समेत हुनेछ ।
आठ महिनामा १२ अर्ब विमानस्थल भन्सार राजस्व संकलन, लक्ष्यभन्दा ४० प्रतिशत कम
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा करिब १२ अर्ब भन्सार राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५९ दशमलव ०२ प्रतिशत हो । विमानस्थल भन्सार कार्यालयले चालु आवको फागुनसम्म १९ अर्ब ९५ करोड ५१ लाख ८१ हजार भन्सार उठाउने लक्ष्य लिएकोमा सो अवधिमा ११ अर्ब ७७ करोड ६६ लाख ३८ हजार ३४ बराबर राजस्व सङ्कलन गरेको हो । कार्यालयले चालु आवमा ३० अर्ब ७२ करोड ३५ लाख ३२ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य लिएको छ । फागुनमा मात्रै दुई अर्ब ७३ करोड ५० लाख ६४ हजार बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा एक अर्ब ७२ करोड ९४ लाख ४४ हजार मात्रै सङ्कलन भएको कार्यालयको भनाइ छ । फागुनमा सङ्कलन भएको राजस्व लक्ष्य ६३ दशमलव २३ प्रतिशत समीक्षा अवधिमा कार्यालयले सबैभन्दा बढी राजस्व मूल्य अभिवृद्धिकर शीर्षकमा उठाएको छ । उक्त शीर्षकमा कार्यालयले पाँच अर्ब ९१ करोड ९६ लाख ५५ हजार बराबर राजस्व उठाएको छ । साथै पैठारी (विदेशी वस्तुको आयात) शीर्षकमा चार अर्ब ६० करोड २४ लाख ४८ हजार र अन्तःशुल्क शीर्षकमा एक अर्ब १९ करोड २५ लाख ५७ हजार सङ्कलन गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतम पछिल्लो समय व्यवसायीले आयातमा चासो नदेखाउँदा भन्सार राजस्व सङ्कलनमा कमी आएको बताए । उनका अनुसार सरकारले विभिन्न वस्तुको आयातमा गरेको कडाइ, तरलता अभाव लगायतका कारण पछिल्लो समय भन्सार राजस्व घटेको हो । रासस
ब्याजदर एकल अंकमा झार्न होटल संघको माग
काठमाडौं । होटल संघ नेपाल (हान) ले बढ्दै गएको ब्याजदर एकल अंकमा झार्न माग राखेको छ । सोमबार ‘आर्थिक मारमा होटल उद्योग’ ब्यानरमा पत्रकार सम्मेलनको आयोजना गरी हानले आफ्नो धारणा सार्वजनिक गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रदान गर्ने ऋणको साँवा ब्याज भुक्तानीको भाका बढाउनुपर्ने र कर्जा पुनःसंरचना, पुर्नतालिकीकरण आवश्यक रहेको पनि संघले बताएको छ । बैंकबाट लिइएको ऋणको साँवा ब्याज बुझाउने जिम्मेवारी ऋणी स्वयमकाे हुँदाहुँदै पनि कोभिड महामारीको झन्डै ३ वर्ष अवधिमा स्वास्थ्य प्रोटोकल, लकडाउन लगायतका नियन्त्रणमुखी नीति नियम स्वयम् सरकारबाटै अवलम्बन भएको अवस्थामा महामारीको प्रत्यक्ष मारमा परी शून्यको अवस्थामा झरेको होटल व्यवसाय कारोबारलाई सरकारी वित्तीय मौद्रिक लगायतका आर्थिक नीति नियममा कुनै सरोकार नराखेको विज्ञप्तिमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाहरूबाट होटल व्यवसाय प्रवर्द्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवा व्याज भुक्तानी वृद्धि भएकोमा व्यवसायीहरूले गुनासो गरेका छन् । होटलहरु सञ्चालनमा रहेता पनि चालु खर्च धान्ने समेतको आय हुन नसक्दा घाटामा होटल सञ्चालन गर्नु परेको होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले बताइन् । उनले होटललाई सरकारले उद्योगको मान्यता दिनुपर्ने धारणा राखिन् । व्यवसायको आयबाट ऋणको साँवा व्याज तिर्न सक्ने अवस्थामा पुगी झण्डै २० प्रतिशत होटल व्यवसायीहरू पलायन भएको पनि संघले जानकारी दिएको । यस समस्या समाधानमा पहल नहुने हो भने नेपाली होटल व्यवसाय क्रमिक रुपमा धराशायी हुने पनि राणाले बताइन् ।
२२ अंकले बढ्यो सेयर बजार, युनिक नेपाल लघुवित्तको सेयरमा सर्किट
काठमाडौं । सोमबार सेयर बजार २२.६५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार सेयर बजार बढेर १९४९.०६ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ५२ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, आज पनि युनिक नेपाल लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको प्रति सेयर मूल्य १७६.४० रुपैयाँले बढेर अन्तिम मूल्य १९४१ रुपैयाँ कायम भएको छ । आज सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरधनीले प्रतिसेयर ५१ रुपैयाँ गुमाएका हुन् । कम्पनीको सोमबारको अन्तिम सेयर मूल्य ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, नेप्सेको अनुसार आज सबैभन्दा बढी कारोबार आइएमई जनरल इन्स्योरेन्सले ७ करोड ६३ लाख रुपैयाँको गरेको छ ।
विदेश पढ्न जाने विद्यार्थी संख्यामा दोब्बरले वृद्धि
फाइल तस्बिर काठमाडौं । नेपालबाट विदेश जाने विद्यार्थीको संख्यामा दोब्बरले वृद्धि भएको छ । गत फागनु महिनामा विदेश अध्ययन गर्न जानको लागि चालु आर्थिक वर्षको विगतको महिनाको तुलनामा दोब्बर विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् । शिक्षा मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत फागुन महिनामा नेपालबाट विदेशमा अध्ययन गर्नको लागि १३ हजार नौ सय ४५ वटा एनओसी जारी भएका छन् । चालु आर्थिक वर्षको माघ महिनासम्म ५९ हजार आठ सय ५७ जना विद्यार्थीले विदेशमा अध्ययनको लागि एनओसी लिएका थिए । पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको विगत महिनाको तुलनामा फागुन महिनामा दोब्बर संख्याका विद्यार्थीले एनओसी लिएपछि झण्डै दोब्बरले विदेशी मुद्रा पनि बाहिरिएको छ ।
सासु कोषको ‘ललिपप’ले सीआईटी र सञ्चय कोषको बिजनेस घट्यो, आयकर नीति सच्याउन दबाव
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं. २०७५ मंसिर ११ गते नयाँ युगको सुरुवात भएको भन्दैसामाजिक सुरक्षा कोष तामझामका साथ आरम्भ गरे । यसअघि सामाजिक सुरक्षा कोष (एसएसएफ)जस्तै प्रकृतिका २ वटा संस्था सञ्चालनमा थिए, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष । सामाजिक सुरक्षा कोष सञ्चालनमा आएको ४ वर्षभन्दा बढी समय भइसक्यो । ४ वर्षको अवधिमा संस्थाले कति फड्को मार्याे भन्ने तथ्याङ्कले देखाउँछ । तर, यो अवधिमा संस्थाले गरेको काम भन्दा बढी विवाद बढी उत्पन्न भएको छ । सरकारले यो कोषका लागि गरेका विभिन्न व्यवस्थाहरुले संस्था बढी विवादमा आउन थालेको हो । बैंक तथा वित्तीय संस्थाहरुलाई अनिवार्य रुपमा एसएसएफ कोषमा आवद्ध हुनै पर्ने प्रावधानका कारण बैंकरहरुले सडक आन्दोलन गर्नु पर्याे भने सर्वाेच्चमा मुद्धा समेत परेको छ । यस्ता थुप्रै विवादका कारण कोषले अनकेन अल्झनहरु खेप्नु परेको छ । पछिल्लो समय नागरिक लगानी कोष (सीआईटी) र कर्मचारी सञ्चय कोषका कर्मचारीहरुले समेत सामाजिक सुरक्षा कोषको विरोध गर्दै आएका छन् । एसएसएफले सीआईटी र सञ्चय कोषको व्यवसाय पनि खोसेको आरोप लागेको छ । सरकारले एउटै प्रकृतिका संस्थाहरुलाई विभेदकारी व्यवस्था गरेका कारण सीआईटी र सञ्चय कोषका कर्मचारीहरु रुष्ट बनेका हुन् । आयकर नियमावली २०५९ को नियम २१ मा गरिएको व्यवस्थाले लगानी कोष र सञ्चय कोष रुष्ट बनेका हुन् । उक्त व्यवस्थाले व्यवसाय र बचतकर्ताको संख्या वृद्धिदरमा कमी आएको भन्दै सच्याउन माग गरिरहेका छन् । कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले अवकाश कोषमा अवकाश योगदान गर्दा ३ लाख रुपैयाँ वा निजको निर्धारण योग्य आयको एक तिहाईमा जुन घटी हुन्छ, सो रकमसम्म आफ्नो कर योग्य आयबाट घटाउन सक्ने भनेर आयकर नियमावली २०५९ को नियम २१ मा व्यवस्था गरेको छ । तर, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषमा योगदान गर्ने कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले सो कोषमा योगदान गर्दा ५ लाख रुपैयाँ वा निजको निर्धारण योग्य आयको एक तिहाईमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो कर योग्य आयबाट घटाउन सक्ने व्यवस्था गरेको छ । जुन व्यवस्था विभेदकारी भएको भन्दै नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषका कर्मचारीहरुले सच्याउन माग गरिरहेका छन् । नागरिक लगानी कोषका कर्मचारी देव गुरागाईं सरकारले गरेको यो व्यवस्थाले बचतकर्ता अर्काे संस्थामा पलायन हुने क्रम बढेको बताउँछन् । सामाजिक सुरक्षा कोषका लागि गरिएको उक्त व्यवस्था ‘ललिपप’ भएको उनको आरोप छ । ‘सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा ५ लाखसम्म आयकर नलगाउने भनेर सरकारले निर्णय गरेको छतर, नगारिक लगानी कोषमा ३ लाख रुपैयाँसम्मआयकर लाग्ने व्यवस्था गरेको छ, सरकारले ५ लाखको ललिपप देखायो, सबै संस्थाहरु सरकारको नजरमा समान हुनुपर्ने हो तर, भएनन्,’ उनले भने । नागकिर लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोष एउटै प्रकृत्तिका संस्था हुन् । तर, एउटा मात्रै संस्थालाई पोस्नका लागि करमा विभेदकारी व्यवस्था गरेको गुरागाईंको आरोप छ । राज्यले लिने कर सबैका लागि एउटै हुनुपर्ने र संस्थापिच्छे फरक गर्न नहुने उनले बताए । ‘सीआईटीलाई आर्थिक रुपमा असर गरिरहेको छ, संख्या घटेको छ, अघिल्लो वर्षको जस्तो वृद्धि दर छैन, सीआईटीबाट फण्ड झिकेर लैजाने संख्या पनि बढेको छ, सीआईटीबाट सामाजिक सुरक्षा कोषमा सार्ने पनि बढेका छन्,’ उनले भने । सामाजिक सुरक्षा कोषले संस्थाहरुलाई नवीकरण नगर्ने र कर चुक्ता दिँदैन भनेर धम्क्याउने गरेको समेत उनले आरोप लगाए । एसएसएफको धम्कीले सीआइटीसँगको कारोबार बन्द गर्ने संस्थाहरु बढेको उनले बताए । ‘सीआइटीको वृद्धिदर अघिल्लो वर्षको तुलनामा कम छ, यो व्यवस्थालाई बजेटमार्फत् नै सुधार गर्नुपर्छ, यसअघि पनि समान व्यवस्था गर्न माग गरेको भएपनि सुनुवाइ भएको छैन, राज्यले उस्तै प्रकृतिकासंस्थामा विभेदकारी कर नीति लागू गर्नु हुँदैन,’ उनले भने । यस्तै, नागरिक लगानी कोषका कर्मचारी सुरेश चालिसेले आयकर नियमावली २०५९ को नियम २१ मा भएको व्यवस्थाले सामाजिक सुरक्षा कोषमा बढी आकर्षण देखाइएको बताए । ५ लाख रुपैयाँसम्म आम्दानी गर्नेहरु आयकर छुट पाउने भएकाले सामाजिक सुरक्षा कोषमा जाने गरेकोउनको भनाइ छ । ‘यो व्यवस्था नीतिगत रुपमा विभेदकारी छ, यसले एउटा संस्थामा आकर्षण र अर्काे संस्थामा विकर्षण देखिन्छ, यसलई सच्याउनुहोस् भनेर माग गरेका छौं, विभिन्न कार्यक्रमहरुमा माग रोखेको भएपनि सुनवाइ भएको छैन,यो कुन उद्देश्यले ल्याइएको हो त्यहि अनुसार नै सुधार हुनुपर्छ,’ उनले भने । कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धिताल सरकारको नजरमा सबै संस्था एउटै किसिमका भएपनि त्यो लागू हुन नसकेको बताउँछन् । सामाजिक सुरक्षा कोषका लागि गरिएको व्यवस्था अनुसार अन्य संस्थाले पनि त्यो सुविधा पाउनु पर्ने उनले माग गरे । ‘सबै अवकाश कोष हुन्, अवकाश कोषमा सीमा राखिएको छ, सामाजिक सुरक्षा कोषमा त्यो व्यवस्था लागू हुँदा अन्य संस्थालाई पनि त्यहि नै लागू हुनुपर्छ, सामाजिक सुरक्षा कोषलाई गरेको व्यवस्था नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई पनि ५ लाखको सीमा हुनुपर्छ, यो विषयमा मन्त्रालयमा छलफल हुँदा सबै सकारात्मक हुनुहुन्थ्यो तर, अन्तिममा रोक्नु भयो, यसपटको बजेटमा समस्या समाधान हुनै पर्छ, यसका लागि पहल भइरहेको छ,’ उनले भने । सरकारले गरेको उक्त व्यवस्थाले सञ्चय कोषलाई पनि असर परेको उनको भनाइ छ । उनका अनुसार ५ लाख र ३ लाख कमाउँदा एसएसएफले २ लाख बढी कमाउनेलाई १५ प्रतिशत छुट दिन्छ । यो व्यवस्था विभेदकारी बन्यो । अहिलेसम्म चर्चामा नआएको हुँदा खासै असर नपरेको भएपनि विस्तारै प्रभाव पर्दै जाने उनले बताए । ‘अहिलेसम्म यो व्यवस्थालाई मान्छेहरुले नोटिस गरेका छैनन्, यो व्यवस्थामा सचेत भएर सामाजिक सुरक्षा कोषमा गएका पनि छैनन् तर, विभेदकारी व्यवस्था हुनु हुँदैन,’ उनले भने । उनका अुनसार सीआईटी र एसएसएफमा आवद्ध हुनेहरु एउटै क्याटागोरीका हुने भएकाले सीआईटीलाई बढी असर गर्ने उनको बुझाइ छ । कर्मचारी सञ्चय कोषमा अनिवार्य आवद्ध हुनै पर्ने व्यवस्था भएको हुँदा खासै असर नपर्ने उनले बताए । ‘नीति निर्माता कर्मचारी सञ्चय कोषमा रकम राख्नैपर्ने हुन्छ, उहाँहरु एसएसएफमा जान पाउनु हुन्न, त्यसकारण आफै पैसा राख्ने संस्थामा कम छुट हुँदा उहाँहरुलाई नै असर गर्छ,’ उनले भने ।
कियाकाे नयाँ एमभिपी कारेन्स नेपाली बजारमा, ५३ लाखसम्म पर्ने
काठमाडौं । कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमभिपी कारेन्स नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत नेपाली बजारमा कारेन्स लन्च गरेको हो । कम्पनीले कियाको पछिल्लो संस्करण ‘किया कारेन्स’लाई पूर्ण आधुनिक पारिवारिक कार रहेकाे बताएकाे छ । ‘कारेन्स कार मात्र नभएर आफ्नो परिवारलाई सबैभन्दा माथि राख्ने व्यक्तिका लागि सवारीको उत्तम विकल्प हो,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘यो आधुनिक परिवारले आदर्श मान्न सक्ने कारको लागि आवश्यक पर्ने सेफ्टी, स्पेश र स्टाइलको रुपमा आएको छ ।’ किया कारेन्स भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईसीओटीवाई) २०२३ अवार्ड प्राप्त एमभिपि हो । हालै सम्पन्न भारतको सबैभन्दा महत्वपूर्ण गाडी पुरस्कार आइसिओटिवाई को १८औं संस्करणमा एमपीभीले किया कारेन्सलाई उक्त अवाड प्रदान गरेको थियाे । कम्पनीकाे अनुसार गत जनवरीमा भारतमा ७ हजार ९०० थान कारेन्स बिक्री भएको छ । यसअघि सन् २०२२ को जुनमा ७ हजार ८९५ युनिट बिक्री भएको थियो । एक वर्षअघि बजारमा आएयता भारतमा ७० हजार ६५६ युनिट कारेन्स बिक्री भएको छ । कारेन्सको सबैभन्दा उल्लेख्य विशेषतामध्ये एक यसका १० रोबुस्ट एचआई सेफटी प्याकेज रहेकाे छ । यसमा ६ ओटा एयरब्याग, इलेक्ट्रोनिक्स स्टाबिलिटी कन्ट्रोल, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, ब्रेक एसिस्ट, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, डाउनहिल ब्रेक कन्ट्रोल, एन्टी लक ब्रेक सिस्टम, अल ह्विल डिस्क ब्रेक, हाइलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर पार्किङ सेन्सर पर्छ । समा दुईथरी पेट्रोल इन्जिनमा उपलब्ध छ । कारेन्सका विशेषताहरुमा १९५ एमएम ग्राउण्ड किल्यरेन्स, १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, डिजिटल इन्स्ट्रूमेन्टेसन, सनरुफ, दोस्रो र तेस्रो रो लागि हावाको स्पिड एडजस्ट गर्न मिल्ने छतमा जडित एयरकन भेन्टस, सिटपछाडि जडित ट्याब्लेट र स्मार्टफोन नोचयुक्त कपहोल्डर सहितको ट्रे टेबल, भेन्टिलेटेड फ्रन्ट सिटहरु, ६४ कलर एम्बियन्ट लाइटिङ, एयर प्युरिफायर, बोस अडियो सिस्टम, वान टच सेकेन्ड रो टम्बल आदि पर्दछन् । यो सात सिटर कन्फिगरेसन, ठूलो बुट स्पेस, २१६ लिटरको लगेज स्पेससहित आएको छ । यसकाे तेस्रो रो फोल्ड गर्दा लगेज स्पेसलाई ६४५ लिटरसम्म बढाउन सकिन्छ ।