मर्स्याङदी करिडोर अन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
काठमाडौं । मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् । आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसनहरु निर्माणाधीन छन् । खुदी सबस्टेसन आगामी ६ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ । भौगोलिक रुपमा विकट र सबस्टेसन निर्माणस्थलमा उपकरणहरु लैजान पहुँच सडकको समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने छ । पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ । नयाँ भरतपुर सबस्टेसनमा सञ्चालन पूर्व गर्नु पर्ने परीक्षणका कामहरु भइरहेका छन् । उदीपुर सबस्टेसनका अधिकांश सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । सबस्टेसनमा रहने उपकरणहरु निर्माण स्थलमा ढुवानी भइसकेका छन् । उपकरणहरु जडान जारी छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरुसँग विस्तृत छलफल गरी सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गरेका छन् । नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमश २२०/१३२ केभी, ३२० एमभिए र २२०÷१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी,५० एमभीए क्षमताका पावर टान्सफर्मरहरु रहने छन् । खुदी र धारापानी सबस्टेसनमा क्रमश : २२०/१३२ केभी,१६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए र २२०/१३२ केभी, १०० एमभिए तथा १३२/३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु रहने छन् । खुदी सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । ट्रान्सफर्मरलगायतका उपकरणहरु निर्माणस्थलमा ढुवानी सुरु भएको छ । मर्स्याङदी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।
मागेको मन्त्रालय नपाए सरकारमा जादैनौँ : झलनाथ खनाल
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पार्टीका नेता झलनाथ खनालले मागेजति मन्त्रालय नपाए एकीकृत समाजवादी सरकारमा सामेल नहुने बताएका छन् । पाँचथर सदरमुकाम फिदिममा शुक्रबार समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समाजवादी पार्टीले मागेजति मन्त्रालय नपाए सरकारमा नजाने बताएका हुन । ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेकपा एसले मुख्य तीन मन्त्रालय मागेको छ, मागेको मन्त्रालय दिए हामी सरकारमा जान तयार छौँ, नभए जादैनौ’ँ, उनले भने, ‘नेकपा एसले खेलेको भूमिकाबाट यो सरकार निर्माण भएको हो, हाम्रो योगदानलाई बेवास्ता गरे सरकारमा सहभागी हुँदैन ।’ पत्रकारसँग कुरा गर्दै खनालले प्रचण्ड नेतृत्वको सरकार लामो समयसम्म चल्न नसक्ने संकेत समेत गरे । कुनै पनि दलको बहुमत नभएकाले सरकारको आयु लामो नहुने उनको तर्क थियो ।
नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले पायो पूर्णता, को को थपिए ?
काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पाएको छ । सञ्चालकमा थप ३ जना नियुक्त भएसँगै इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पाएको हो । कम्पनी सञ्चालक समितिले निशान्त जोगाई, दिवाकर पौडेल र स्वतन्त्र सञ्चालकमा वीरविक्रम रायमाझीलाई नियुक्त गरेको छ । जसमध्ये सञ्चालक जोगाई र पौडेल गत चैत १ गते नै नियुक्त भएका हुन् भने रायमाझी भने चैत ९ गते इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् । सञ्चालक जोगाई (संस्थापकतर्फबाट) अग्रिम इन्टरनेशनल प्रा.लि.को र पौडेल (सर्वसाधारणतर्फबाट) श्री समिकरण इन्भेष्टमन्ट प्रा.लि.का प्रतिनिधि हुन् । सो दिन अपरान्ह बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । साथै, नवनियुक्त तीन जना सञ्चालकले चैत ९ गते बिहीबार नै आफ्नो पद तथा गोपनियताको शपथ समेत लिइसकेको कम्पनी श्रोतले बतायो । यसअघि कम्पनी सञ्चालक समितिमा अध्यक्षमा लक्ष्मण पौडेल, सञ्चालकमा चन्द्र सिंह साउद र सविता श्रेष्ठ जोशी) थिए । र, रिक्त रहेको बाँकी पद पुरा गर्न कम्पनीले थप तीन जनालाई नियुक्त गरेको हो । यससँगै, कम्पनीको सञ्चालक समितिमा ६ जनाको टीम बनेको छ ।
नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि
काठमाडाैं । नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रिय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो । पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत पुगेको तथ्यांक विभागले जनाएको छ । २०६८ को जनगणनाअनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत थियो । जसमा पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो । तथ्यांक उपप्रमुख डा. हेमराज रेग्मीले जनगणना २०७८ अनुसार नेपालमा पुरुषको भन्दा महिलाको साक्षरता दर १४.२ प्रतिशत रहेको बताए । उनले भने, ‘नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम महिलाको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ । २०६८ को जनगणनाअनुसार कूल साक्षरता दर ६५.९ प्रतिशत थियो । पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो ।’ रेग्मीकाअनुसार नेपालमा २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेका छन् । उनले १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा बसोवास गर्ने गरेको बताए । यो संख्या २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोवास गरेको पाइएको थियो । जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ । ‘२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोवास गर्ने गरेको,राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेका छन् । गत २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गरेको पाइएको थियो । जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ,’ उनले भने । रेग्मीले जनगणनामा सधैँको लागि देश छोडेर गएका व्यक्तिहरुको गणना नगरिएको बताउनु भयो । त्यस्तै परिवारका सबै सदस्य विदेशमा रहेकाहरुको पनि गणना गरिएको छैन । रेग्मीले उमेर समूहअनुसार १५ देखि १९ वर्षको उमेर समूहमा कुल जनसंख्याको सबैभन्दा बढी प्रतिशत रहेको बताए । २०६८ को जनगणनामा भने १० देखि १४ वर्षको बीचको उमेरसमूहका थिए ।
तल्लो सेती : २०८१ मा बोलपत्र आह्वान गर्ने तयारी
दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माणकार्य विसं २०८१ बाट सुरु गर्ने तयारी गरिएको छ । यस कम्पनीले तनहुँको ऋषिङ गाउँपालिका–१ मा एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तनहुँ जलविद्युत् आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो । एक सय चार मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि ढिलोमा विसं २०८१ सम्ममा बोलपत्र आह्वान गर्ने तयारीका साथ काम अगाडि बढेको तनहुँ हाइड्रोपावर लिमिटेडका इञ्जीनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख एवं प्रस्तावित तल्लो सेती जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ । आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अगाडि बढाएको थियो । परामर्शदाताले पेस गरेको विस्तृत डिजाइन प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले विसं २०७८ असार २३ गते डिजाइन पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ । विज्ञ समूहले पेस गरेको आयोजनाको डिजाइनबमोजिम थप केही काम गर्ने तयारी गरिएको छ । ‘विज्ञ समूहले सुझाव दिएअनुसार केही काम अगाडि बढाउन खोजिएको छ, वातावरणीय प्रारम्भिक मूल्याङ्कनको काम पनि सकिएको छ’, भण्डारीले भने । आगामी आर्थिक वर्षमा उक्त क्षेत्रमा केही पूर्वाधार निर्माणको काम सुरु हुनेछ । भवन बनाउने, बाटो बनाउने, पुल बनाउने काम आगामी आर्थिक वर्षमा नै सुरु गर्ने तयारी गरिएको भण्डारीले बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तल्लो सेती जलविद्युत् आयोजनाको क्षेत्र निरीक्षण गरी काम अगाडि बढाउने तयारीसहित लाग्न निर्देशन दिइसकेका छन् । कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एसियाली विकास बैंक (एडिबी)बाट प्राप्त करिब ३ दशमलव ५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जीनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी काजगात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत÷निप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो । आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै ६ दशमलव ८ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमबाट करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्धभूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ । आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१४, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछ ।
सीमाक्षेत्रमा कोरोना सङ्क्रमणदर बढ्यो
काठमाडौं । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । केही महिना सङ्क्रमण शून्य रहेको भए पनि हाल दिनहुँजसो सङ्क्रमित देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । निर्देशनालयको तथ्याङ्कअनुसार चैत सुरु भएयता मात्रै यहाँ २४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण देखिएकाले त्यसको प्रभाव यहाँ पनि परेको जोशीको भनाइ छ । उनले भने, ‘भारतका विभिन्न सहरमा कोरोना फैलिएको भन्नेछ, त्यसको प्रभाव यहाँ पनि पर्न थालेको हो । सङ्क्रमित पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका छन् ।’ भारतसँग जोडिएका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा नियमित रुपमा कोरोना परीक्षण जारी रहेको निर्देशनालयले जनाएको छ । नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका नाकामा भारतबाट स्वदेश फर्किनेको सङ्ख्या पनि बढ्दै गएको छ । नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले सङ्क्रमणदर पनि वृद्धि भएको जोशीले बताए । भारतमा सङ्क्रमण देखिएका सहरहरूसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक रहेको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ । उनले भने, ‘सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ, सङ्क्रमण देखिनेलाई सम्बन्धित पालिकासँग समन्वय गरेर होम आइसोलेसन बस्न भन्ने गरेका छौँ । यसले जोखिम कम गर्न सकिन्छ ।’ साथै कोभिड–१९ सम्पर्क व्यक्ति जोशीका अनुसार कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोना विरुद्धको खोप अभियानलाई निरन्तरता दिइएको छ । प्रदेशका सबै स्थानीय तहमा हाल ५५ वर्षमाथिकालाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउन थालिएको जोशीको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख ४२ हजार तीन सय ६४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय आठजनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना सङ्क्रमण बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयको आग्रह छ । रासस
नगरपालिकाको व्याज अनुदानपछि व्यवसायी बन्दै रामपुरका युवा, लाखौं कमाउँदै
रामपुर (पाल्पा), १० चैत (रासस) : बजारमा दैनिकरुपमा अण्डाको माग बढ्दो देखेपछि रामपुरका हरि आचार्य पोल्टी फार्ममा आकर्षित भए । कृषि, पशुपक्षीपालनसँग जोडिएर गाउँमै केही व्यवसाय गर्नुपर्छ भन्ने हुटहुटी राख्ने आचार्यको यतिबेला पोल्टी फार्म व्यवसाय लोभलाग्दो बनेको छ । केही वर्ष वैदेशिक रोजगार घर फर्किएपछि फर्निचर व्यवसायमा राम्रो अनुभव बटुलेका आचार्यको पहिचान अन्ततः पोल्टी फार्ममा जोडिएको छ । उनलाई यस व्यवसायका लागि रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत ३० लाख बराबरको कर्जा रकमको व्याज अनुदान उपलब्ध गराएपछि उत्साहका साथ व्यवसाय चलाएका छन् । दिगोरुपमा व्यवसाय चलाउने अठोट लिएर रामपुर नगरपालिका–८ माथिल्ला ढिक आफ्नै पुख्र्यौली बस्तीमा अचार्य पोल्टी फार्मका नाममा करिब चार रोपनी जग्गामा व्यवसाय चलाएका छन् । अन्धकारमुक्ति बचत तथा ऋण सहकारीमार्फत व्यवसाय सञ्चालनका लागि लिएको ३० लाख बराबरको कर्जाको मासिक व्याज ३४ हजार नगरपालिकाले उपलब्ध गराएपछि व्यवसायमा धेरै सजिलो भएको उनले बताए । ‘व्यवसायका लागि आफूले लिएको ऋणको व्याज तिर्नु नपर्दा धेरै राहत भएको महसुस गरेको छु’, उनले भने, ‘व्याज तिर्नु नपरेपछि धेरै सजिलो हुँदोरहेछ, नगरले ल्याएको यो कार्यक्रम अति नै प्रभावकारी छ ।’ बुटवल, भैरहवा, चितवनलगायतका बजारबाट रामपुरमा ठूलो परिमाणमा अण्डा भित्रिएको देखेपछि उनले व्यावसायिकरुपमा अण्डा उत्पादनमा जोड दिएको बताए । अण्डा उत्पादनका लागि उनको फार्ममा लेयर्स जातका कुखुरा छन् । रामपुर क्षेत्रलाई अण्डामा आत्मनिर्भर बनाउने उनको अभियान छ । व्यवसाय गर्न नगर सरकारले युवा स्वरोजगार कार्यक्रममार्फत व्याज अनुदान दिएपछि उनलाई व्यवसायमा ठूलो राहत पुगेको छ । ‘व्याज अनुदान कार्यक्रम गाउँमै केही व्यवसाय गर्छु भन्नेका लागि असाध्यै उपयोगीमूलक लाग्यो, ठूलो लगानी गरेर दीर्घकालीनरुपमा चलाइएका व्यवसायलाई दुई वर्षको मात्र व्याज अनुदान नभई यसलाई नगर सरकारले व्यवसायका आधारमा बढाउनुपर्नेछ, व्यवसायीलाई ऋणको भार कम पर्नेछ, एक/दुई वर्षको समय व्यवसाय लगानीकै क्रममा रहने हुँदा आम्दानी लिन पाइने अवस्था रहँदैन’, उनले भने । रामपुरमा अण्डाको माग राम्रो रहेको हुँदा उत्पादनमा जोड दिने उनको भनाइ छ । विसं २०७२ मा तीन हजार दुई सय कुखुराबाट व्यवसाय सुरु गरेका अचार्यले यो व्यवसाय एक्लै धान्दै आएका छन् । हाल उनको फार्ममा एक हजार पाँच सय कुखुरा छन् । अब दुई हजार कुखुरा राख्ने तयारी गरिरहेका छन् । दैनिक ७० पेटीसम्म अण्डा उत्पादन भइरहेको छ । वार्षिकरुपमा ८२ लाख बराबरको कारोबार हुने गरेको व्यवसायी आचार्यको भनाइ छ । उनी भन्छन्, ‘विदेशको अनुभव पनि गरियो । स्वदेशमै जस्तो पैसा कमाउन सजिलो विदेशमा हुँदैन ।’ अहिले दानाको मूल्य ह्वात्तै बढ्दा दाना व्यवस्थापनमा व्यवसायीलाई समस्या परिरहेको छ । व्यवसाय सुरुका समयमा प्रतिकिलो ३२ मा खरिद गरेको दाना हाल प्रतिकिलो ७३ मा खरिद गर्नु परेकामा दानामा धेरै रकम खर्चिनु पर्दा व्यवसायी मारमा पर्ने अवस्था रहेको उनी बताउँछन् । अचार्यले दैनिक १६० किलोभन्दा बढी दाना व्यवस्थापन गरिहेका छन् । संरचना निर्माण र कुखुरा खरिदमा करिब ६५ लाख बराबरको लगानी परेको छ । पाँच हजार दुई सय कुखुरा अट्ने क्षमताको पक्की संरचना तयार भएकाले फराकिलो संरचनामा कुखुरा खेल्दै हुर्कने वातावरणले छिटो उत्पादन दिएको आचार्य बताउँछन् । छ महिनादेखि अण्डा उत्पादन दिन सुरु गरेको कुुखुराले दुई वर्षसम्म उत्पादन दिइरहन्छ । यहाँ उत्पादन भएको अण्डा प्रतिगोटा होलसेल १२ र खुद्रा १३ मा बिक्री भइरहेको छ । करिव छ वर्ष युनाइटेड अरब इमिरेट्समा बसेर स्वदेश फर्किएका आचार्यले रामपुर मटेरीमा सात वर्ष फर्निचर उद्योग पनि चलाए । अन्ततः आफ्नै पुर्खौली जग्गालाई सदुपयोग गर्दै अण्डा उत्पादन व्यवसायमा लागेपछि छुट्टै आनन्दानुभूति भइरहेको बताउँछन् । रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यविधि २०७५ तयार पारेर कार्यविधि अनुसार नै कार्यक्रम सञ्चालन गरिरहेको छ । तरकारी, फलफूल, कुखुरा, बाख्रा, गाई, भैंसी, बङ्गुर, च्याउ, मौरीपालन व्यवसाय गर्ने युवालाई व्याज अनुदान दिइएको छ । हालसम्म यस कार्यक्रमअन्तर्गत ८६ जना युवाले व्याज अनुदान प्राप्त गरेको कृषि शाखा प्रमुख तथा समितिका सदस्य सचिव रामहरि पाण्डेय बताउँछन् । उनका अनुसार सहभागी युवाले यस कार्यक्रममा छ करोड ९० लाख ४० हजार बराबरको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको र सो कर्जाको हालसम्म ७२ लाख पाँच हजार आठ सय ७५ रकम व्याज अनुदान उपलब्ध गराइएको छ । कार्यक्रममा समावेश युवाले रु दुई लाखदेखि ३० लाखसम्मको ऋण लिएर व्यवसाय गरेका छन् । सो रकमको मासिक व्याज नगरपालिकाले भुक्तानी गरिरहेको कृषि शाखा प्रमुख पाण्डेयले जानकारी दिए । व्याज अनुदान उपलब्ध गराउन थालेपछि गाउँमै बसेर केही उद्यम, व्यवसाय गर्छु भन्नेका लागि ठूलो राहत मिलेको छ । मासिक व्याज नगरपालिकाले भुक्तानी गरिदिएपछि व्यवसायीलाई ऋणको भार कम परेको छ । युवालाई विदेश पलायन हुन नदिने, गाउँमै आयआर्जनमूलक क्षेत्रमा लगानी गरेर व्यवसाय गर्न यस कार्यक्रमले प्रोत्साहन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउँछन् । ‘प्रभावकारी अनुगमन गरेर विदेश पलायन हुने आकर्षण बढेका युवालाई स्वदेशमै स्वरोजगारको ढोका खोल्ने गरी नगरले युवामाझ ल्याएको यस कार्यक्रम नमूना रहेको छ, केही गर्छु भनेर व्यवसायमा लागेका युवाले विभिन्न व्यवसायबाट राम्रो कार्य गरिरहनुभएको छ’, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने । कृषि उत्पादनलाई वृद्धि गरेमा हाटबजारमा बिक्री वितरण गर्ने, बजारको प्रबन्धलगायतका कार्य कृषि शाखाबाट हुने उनले बताए । उत्पादित वस्तुको बजारमा बिक्री भएन भन्ने गुनासो किसानबाट आउन नदिने प्रबन्ध नगरले गर्नेछ तर किसानले कृषिजन्य उत्पादन वृद्धि गर्नुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको भनाइ छ । बजार स्थिर नहुँदा पनि उत्पादन गरेका कृषि उत्पादन कहिलेकाहीँ खपत नहुने अवस्था कृषकले झेल्नुपर्ने सास्ती उत्तिकै खेप्नुपर्छ । युवा वैदेशिक रोजगारीमा जानेक्रम बढ्दै जाँदा गाउँ रित्तिँदै जाने अवस्था रहेको हुँदा गाउँमै बसेर तरकारी, फलफूल, पशुपक्षीपालन, कुखुरा, बाख्रा, गाईभैँसीपालन गरेर मनग्य आम्दानी गर्न सकिने भएकाले व्यवसायका लागि नगर सरकारले दुई वर्षको व्याज अनुदान सहयोग कार्यक्रम ल्याएको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् । ‘प्रदेश, सङ्घ र स्थानीय सबै सरकारले अनुदानका कार्यक्रम ल्याए पनि लगानीअनुसारको उपलब्धि हुन सकेन, अनुदानको नाममा कतिपय ठाउँमा दुरुपयोग भएको छ’, उनले भने, ‘पूर्णरुपमा अनुदानभन्दा पनि युवाले लिएको ऋणको दुई वर्षसम्म व्याज नगरपालिकाले तिरिदिनेछ, यसले नियमितरुपमा व्यवसाय गर्नेलाई निरन्तर व्याज उपलब्ध गराइएको छ भने बीचमै व्यवसाय छाड्नेलाई व्याज अनुदान उपलब्ध हुँदैन ।’ विभिन्न विधामा कार्यविधि बनाएर व्यवसायीले तयार पारेको संरचना अनुगमन गरेर मात्रै यस कार्यक्रममा युवालाई छनोट गर्ने गरिएको छ । यस कार्यक्रममा सहभागी युवाले प्रत्येक तीन÷तीन महिनामा आफूले लिएको ऋण बैंक तथा वित्तीय खातामा व्याज नगरपालिकाले तिरिदिने गरेको नगर प्रमुख थापाले बताएका छन् । सुरुका बखत बैंकबाट मात्रै व्यवसायीले ऋण लिन पाउने व्यवस्था भए पनि अहिले भने युवालाई सहजताका लागि रामपुर नगरपालिकाभित्र रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट लिन पाउने नगरले व्यवस्था गरिदिएको छ । ३० लाखसम्म कर्जा स्वीकृतका लागि नगरपालिकाले बैंक तथा वित्तीय संस्थालाई सिफारिस गर्ने र व्याज अनुदान उपलब्ध गराएको छ । रासस
हेटौँडा सिमेन्टको उत्पादन बन्द
हेटौँडा । सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ । सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी) मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको छ । सो मेसिनको मर्मतको प्रक्रिया सुरु भएको र आगामी एक हप्तामा मर्मत भई पुनःसञ्चालनमा आउने सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकरी दिए । उद्योगको मेसिन तथा उपकरण धेरै पुरानो भएकाले बिग्रिने र प्राविधिक समस्या आउने गरेको उनको भनाइ छ । विगतमा उद्योगका लागि चाहिने कोइलाको समस्या थियो तर हाल कोइलाको समस्या नरहेको बताउँदै उनले बोलपत्र आह्वानमार्फत बाह्य मुलुकबाट कोइला आयात भइरहेको जानकारी दिए । सो उद्योगमा अहिले दैनिक एक सय १० टन कोइला खपत भइरहेको छ । साथै हेटौँडा सिमेन्ट उद्योगमा गोदाममा रहेको सिमेन्टको प्याकिङ गर्ने तथा बिक्रीवितरण गर्ने काम भइरहको उद्योग व्यवस्थापनले जनाएको छ । अहिले उद्योगबाट दैनिक करिब १४ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको छ । उद्योगका लागि पर्याप्त मात्रामा चुनढुङ्गाको मौज्दात रहेको बताइएको छ । नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना भएको सो उद्योगले २०४३ सालदेखि व्यावसायिकरुपमा सिमेन्टको उत्पादन सुरु गरेको थियो । हाल त्यहाँ करिब तीन सय जनशक्ति रहेका छन् । रासस