विकासन्युज

नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौं । नेपाल फाइभ पी प्रदर्शनी आजदेखि सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टसको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरे । काठमाडौँको भृकुटी मण्डपमा सुरु भएको प्रदर्शनीमा नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङसंग सरोकार राख्ने उद्योगी व्यवसायीलगायत सहभागी छन् । नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङसँग सरोकार राख्ने व्यापारी व्यवसायी तथा सरोकारवाललाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी गर्दै नवीनतम प्रविधि प्रदर्शनका लागि प्रदर्शनी उपयोगी हुने आयोजकको अपेक्षा छ । प्लास्टिक प्रोसेससङ मिसनरीका उत्पादनहरू, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोलिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी प्रदर्शनीमा राखिएको छ । त्यस्तै प्रदर्शनीमा सबै खाले कागज र स्पेर पार्टस्, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरूले उत्पादन गरेका सामग्रीहरू समेत अवलोकन तथा आवश्यकता अनुसार खरिद तथा प्रयोग सम्बन्धी ज्ञान लिन सकिने आयोजकले जनाएको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टल राखिएको छ । प्रदर्शनी अवलोकन गर्न चाहनेले निःशुल्क प्रवेश पाउने आयोजकले जनाएको छ ।

उन्नति सहकार्य लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार लघुवित्तको लघुवित्तको हरैया शाखाका सदस्यहरुलाई उक्त संस्थाले वित्तीय साक्षरता सम्पन्न गरेको हो । विश्वव्यापी वित्तीय सप्ताहलाई भव्य रुपमा मनाउने क्रममा मार्च २० देखी मार्च २६ सम्म युवा लक्षीत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने अभियान अन्तर्गत वित्तीय साक्षरता सञ्चालन गरीएको शाखा प्रमुख उपेन्द्र न्यौपानेले जानकारी दिए । उक्त कार्यक्रममा संस्थाका विभागीय प्रमुख अर्जुन लम्सालले प्रशीक्षण दिएका थिए । उनले वित्तिय ज्ञान, सिप र कर्जा सदुपयोगिता साना तथा लघु व्यवसाहिक धारणाको विकास घरेलु उत्पादित वस्तुको बजार व्यवस्थापन सदस्यको नगद प्रवाह र कर्जा सिमाको तालमेल महिला सशक्तीकरण र विश्वव्यापी रुपमा फैलिएको आर्थिक मन्दी र यसबाट जोगिने उपाय आदिको विषयमा जानकारी दिएका थिए । भैरहवामा केन्द्रय कार्यालय रहेको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैकबाट घ वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको संस्था हो । संस्थाले देशभर ८२ शाखा मार्फत करिब ८० हजार घर परिवारलाई वित्तीय सेवा प्रदान गर्दे आइरहे को छ ।

सुकुम्वासीका छोराछोरी पढ्ने दाङको नमूना विद्यालय

तुलसीपुर । विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो । तर स्थानीयले हिम्मत हारेनन् । पुनः विद्यालय भवन बनाए र कक्षा सञ्चालन गरे । कक्षा ३ बाट पठनपाठन सुरु गरियो । विद्यालय सञ्चालनमा त आयो तर शिक्षकको तलबका लागि कुनै स्रोत थिएन । गाउँलेले मुठ्ठीदान गरेर शिक्षकलाई तलब जुटाए । ‘मुठ्ठीदानमार्फत चालम सङ्कलन ग¥यौँ । त्यही चामल बिक्री गरेर शिक्षकलाई तलब दियौँ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकले भने । त्यही ज्ञानज्योति आधारभूत विद्यालय अहिले तुलसीपुरको आधारभूत विद्यालयतर्फ नमूना विद्यालय बनेको छ । हाल विद्यालयसँग आवश्यकता अनुसार भवन छन् भने पठनपाठन उत्तिकै राम्रो छ । नर्सरीदेखि आठ कक्षासम्मकै पठनपाठन प्रविधिमैत्री छ । नर्सरी, एलकेजी र कक्षा १ मा मल्टिमिडियाको माध्यमबाट पठनपाठन भइरहेको र उपमहानगरपालिकाले नै आधारभूत उत्कृष्ट विद्यालयका रूपमा लिएको प्रधानाध्यापक मेघराज घिमिरेले बताए । विद्यालयमा अहिले चार सय ५० बढी विद्यार्थी छन् । ‘सुरुमा निकै चुनौती थियो, पहिले खोलाको बगर थियो , त्यही जग्गालाई उपयोग गरेर विद्यालय बनायौँ’, उनले भने, ‘अहिले चार सय ५० विद्यार्थी छन् ।’ प्रधानाध्यापक घिमिरेका अनुसार विद्यालयमा सबै भूमिहीन परिवारका बालबालिका अध्ययन गर्दछन् । विद्यालयले आर्थिक अवस्था कमजोर भएका, दलित तथा पिछडिएका समुदायका बालबालिकालाई शिक्षा दिइरहेको छ । विद्यालयमा अधिकांश पातुखोलामा गिट्टी कुटेर दैनिकी चलाउनेका छोराछोरी छन् । घिमिरे सुरुआतदेखि नै विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत छन् । उहाँसहित तीन शिक्षक सुरुआतमा कार्यरत भए पनि पछि दुई शिक्षकले छाडेर गएपछि घिमिरे एक्लैले केही समय विद्यालय हाँकेका थिए । केही समय उनले निःशुल्क काम गरे । ‘सुरुमा हामीले तलब पनि दिन सकेनौँ, छ महिनासम्म निःशुल्क शिक्षकले पढाउनुभयो’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकले भने, ‘छ महिनापछि रू एक हजार तलब तोकिदिएका थियौँ ।’ ‘नजिक स्कुल भए पनि त्यहाँ पढाउन खर्च बढी लाग्ने र भर्ना गर्न पनि समस्या हुने भएकाले स्थानीयको पहलमा सामुदायिक विद्यालय स्थापना गरिका हौँ’, अभिभावक निर्मल परियारले भने । उपमहानगरपालिकाले आधारभूततर्फको उत्कृष्ट विद्यालयका रूपमा ज्ञान ज्योति आधारभूत विद्यालय लिने गरेको छ । आर्थिक अवस्था कमजोर भएका, दलित तथा अति विपन्न परिवारका बालबालिका अध्ययन गर्ने भएकाले विद्यालयलाई उपमहानगरपालिकाले प्रोत्साहन स्वरुप सहयोग गरिरहेको उपमहानगरपालिकाका विद्यालय निरीक्षक चक्र भण्डारले बताए । उनले खोलाको किनारलाई व्यवस्थित गरेर विद्यालय भवन निर्माण गरी पठनपाठन सञ्चालनमा गरिएको उल्लेख गरे । ‘उक्त विद्यालय एउटा नमूना विद्यालयका रूपमा हामीले लिएका छौँ, जहाँ गिट्टी कुटेर जीवन निर्वाह गर्ने परिवारका छोराछोरी अध्ययन गर्छन्’, निरीक्षक भण्डारले भने, ‘विद्यालयको संरचना र पढाउने तरीका पनि उत्तिकै राम्रा छन् ।’ आधारभूत विद्यालयमा साढे चार सय विद्यार्थी हुनु भनेको सरकारी विद्यालयका लागि सकारात्मक रहेको उनको भनाइ छ । हाल विद्यालयमा १० शिक्षक, चार बालविकास, एक निजी तथा एक जना परिचालिका कार्यरत छन् । घर नजिकै पढ्न पाउँदा विद्यार्थी पनि खुसी छन् । विद्यालयमा अहिले कक्षा ८ सम्म मात्रै पढाइ हुने भएकाले त्यसभन्दा माथी पढनका लागि बाहिर जानुपर्ने अवस्था रहेको भन्दै यो अवस्था अन्त्य हुनुपर्ने विद्यार्थीको माग छ । ‘अहिलेसम्म हामी यही विद्यालयमा पढ्यौँ’, विद्यार्थी लीला चलाउनेले भने, ‘अब कक्षा १० सम्म पढ्ने वातावरण भए हुन्थ्यो, अहिले नभए पनि हामीभन्दापछि आउने विद्यार्थीले १० सम्म यही पढ्न पाऊन् भन्ने चाहना छ ।’  रासस

दाइजो मुद्दाका आरोपी डा.चौधरी जेलमुक्त

महोत्तरी । महोत्तरीको चर्चित दाइजो मुद्दाका आरोपी डाक्टर पङ्कज चौधरी जेलमुक्त भएका छन् । पत्नी नेहा चौधरीले दाइजोमा पति डा चौधरीले काठमाडौँमा घर किनिदिन भनेको भन्दै महोत्तरी जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेपछि गत पुस २२ गते महोत्तरी जिल्ला अदालतको आदेशमा डा चौधरी पुर्पक्षमा जलेश्वर कारागार गएका थिए । जिल्लाकै रामगोपालपुर नगरपालिका–५ घर भएका डा चौधरीलाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलाशले बिहीबार तीन लाख धरौटी लिएर डा चौधरीलाई छाड्न आदेश दिएको थियो । डा चौधरी सोहीबमोजिमको धरौटी बुझाएर आज जेलमुक्त भएका छन् । जिल्लाकै औरही नगरपालिका–५ घर भएका नेहा चौधरीसँग तीन वर्षको प्रेमपश्चात् २०७८ फागुन २५ गते डा पङ्कज चौधरी र नेहा चौधरीको विवाह सामाजिक परम्परा अनुसार विवाह भएको थियो । तर विवाहको चार महिनापछि नै पति पत्नीबीच तनाव र झै–झगडा हुन थालेपछि दुवै जना एक अर्काप्रति मुद्दामा गएका थिए । पत्नी नेहा चौधरीले पति डा पङ्कज चौधरीले आफ्नो माइती पक्षसँग विवाहकै बेला एक करोड बढी दाइजो लिइसकेको र अहिले थप दाइजोका रुपमा काठमाडौँमा घर किनिदिन भन्दै आफूलाई घरेल हिंसा र मानसिक तथा शारीरिक यातना दिँदै आएको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् । यता पति डा पङ्कज चौधरीले पत्नी नेहाको सबै आरोप निराधार रहेको र आफूलाई जानी जानी फसाउने तथा आफ्नो कैरियर खराब पार्न पत्नी नेहाले झूठा आरोप तथा मुद्दा लगाएको आरोप लगाउँदै आएका छन् । बुहारीले दिएको दाइजोसम्बन्धी कसुरमै डा पङ्कज चौधरीका बुवा ६० वर्षीय रामप्रवेश चौधरीलाई पनि महोत्तरी जिल्ला अदालतले गत फागुन ३० गते पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको थियो भने उनी अझै जेलमै छन् ।

सरकारबाट बाहिरिने माओवादीको निर्णय

काठमाडौं । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादीले आज संसदीय दल बैठक राखेर सरकारबाट फिर्ता हुने औपचारिक निर्णय गरेको हो । गण्डकीमा माओवादीबाट चुमान भौतिक पूर्वाधार मन्त्री र रेशमबहादुर जुग्जाली उद्योग मन्त्री छन् ।  

निकुञ्जभित्रको सफारीका लागि नयाँ मार्ग

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि नवलपुरबाट बिहीबार नयाँ मार्गको सुरुआत गरिएको छ । निकुञ्जको पश्चिम सेक्टरमा रहेको गिद्धेनी पोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्म निर्माण गरिएको करिब ३७ दशमलव एक किलोमिटर पर्यटन मार्गको बिहीबारदेखि औपचारिक सुरुआत गरिएको जङ्गल पर्यटन मार्ग निर्माण समितिका अध्यक्ष सन्तोष धितालले जानकारी दिए । सफारीका लागि विभिन्न घुमाउरो र मूल बाटोबाहेकको भित्री बाटोको यात्रा गरेर गिद्धेनीपोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्म पुगेर फर्किंदा करिब ५५ किलोमिटरको सफारी हुने अध्यक्ष धितालले बताए । गैँडाकोट नगरपालिका–१७ को पाँच लाख रुपैयाँ सहयोग र होटल व्यवसायीहरुको १६ लाखको लगानीमा पर्यटन मार्ग निर्माण गरिएको हो । निकुञ्जभित्र जङ्गल सफारीका लागि सुरु नयाँ पर्यटन मार्ग निकुञ्ज प्रवेश गर्दा विशेष गरेर दुर्लभ एकसिङ्गे गैँडा धेरै सङ्ख्यामा देख्न सकिने अध्यक्ष धितालले बताए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यसहित जनप्रतिनिधि, पत्रकार, होटल व्यवसायी तथा संरक्षणकर्मीसहितको सहभागितामा बिहीबार यही रुटबाट पहिलो पटक गरिएको जङ्गल सफारीका क्रममा १४ एकसिङ्गे गैँडा फेला परेका थिए । धेरै मात्रामा एक एकसिङ्गे गैँडा तथा अन्य दुर्लभ वन्यजन्तु र विभिन्न प्रजातिका चरा अवलोकन गर्न इच्छुक पर्यटकका लागि उद्घाटन गरिएको पर्यटन मार्ग उत्कृष्ट मार्ग भएको र यो मार्गले निकुञ्जभित्रका वन्यजन्तुको गतिविधि निगरानी गर्नसमेत उल्लेख्य सहयोग पु¥याउने प्रमुख संरक्षण अधिकृत आचार्यले बताए । गत पुसमा नवलपुरकै देवचुलीमा रहेको दिव्य सामुदायिक वनबाट निकुञ्जभित्र सफारीका लागि पर्यटन मार्ग निर्माणको काम अगाडि बढाइएको छ भने पर्यटकीय क्षेत्र अमलटारीबाट गत माघबाट निकुञ्जभित्रको ‘कोर’ क्षेत्रमा जङ्गल सफारी गर्न निकुञ्जले अनुमति दिएको थियो । यसअघि दुई होटल टेम्पल टाइगर र थारू भिलेजले मात्र नवलपुरबाट निकुञ्जभित्र सफारीको अनुमति पाएका थिए भने अन्य होटल तथा घरबासले निकुञ्ज बाहिरको मध्यवर्ती क्षेत्रका सामुदायिक वन क्षेत्रमा पर्यटकलाई जङ्गल सफारी गराउँदै आएका थिए । नवलपुरबाट निकुञ्जभित्र लामो दूरीको जङ्गल सफारी सुरु हुने भएपछि यस क्षेत्रका होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छ्न । बिहीबार सुरु गरिएको जङ्गल पर्यटन मार्ग देशकै दोस्रो लामो मार्ग भएको दाबी गरिएको छ । रासस

महासंघ निर्वाचन : सात वटै प्रदेशमा अध्यक्ष चुनिए, उमेशलाल समूहलाई टेवा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षहरुमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार समर्थित अध्यक्षहरु सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबारसम्म ७ वटै प्रदेशको नेतत्व चयन हुँदा सबै प्रदेशमा उमेशलाल समुह समर्थित व्यक्तिहरु प्रदेश अध्यक्षमा चयन भएको उमेशलालको  सचिवालयले जनाएकाे छ । महासंघको कोशी प्रदेशमा राजेन्द्र राउत सर्वसम्मत अध्यक्षमा चयन भएसँगै सबै प्रदेशमा उमेशलाल समर्थित व्यक्तिहरु चयन भएका हुन् । सुरुमा कर्णाली प्रदेशमा पदमबहादूर शाही सर्वसम्मत रुपमा अध्यक्ष भएका थिए भने लुम्बिनी प्रदेशमा कृष्णप्रसाद शर्मा सर्वसम्मत अध्यक्षमा चयन भएका थिए । यसैगरी सोही समुहबाट वागमती प्रदेशमा दिलसुन्दर श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन हुँदा सुदूर पश्चिम प्रदेशमा शंकर बोगटी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् । महासंघको मधेष प्रदेशमा पनि उमेश समुहबाटै अशोक टेमानी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । यसैगरी गण्डकी प्रदेशमा पनि गोलाप्रथाबाट उमेशलाल श्रेष्ठ समुहकै अमृत भट्टचन अध्यक्षमा निर्वातिच भएका छन् । उनीहरू सबै उमेशलाल समूहकाे समर्थक भएकाे उनकाे सचिवालयले जनाएकाे छ । वरिष्ठ उपाध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गर्दै आएका हालका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले वरिष्ठमा उमेशलाल श्रेष्ठलाई समर्थन गर्दै आफु पुनः उपाध्यक्षमै उठ्ने घोषणा गरेकाले उनको वलियो भएको एक जिल्ला अध्यक्षले जानकारी दिए । ‘व्यवसायीका हरेक समस्यामा साथ दिने भएकाले पनि जिल्लार नगरमा दिनेश दाईको राम्रो प्रभाव रहेको छ,’ एक जिल्ला नगर अध्यक्षले भने, ‘उमेश दाई र दिनेश दाई मिलेर एउटै टीम भएपछि मतका आधारमा जिल्ला नगर सबैभन्दा बलियो बनेको छ ।’ यसैगरी उमेशलाल श्रेष्ठलाई महासंघको पूर्व अध्यक्ष चण्डीराज ढकाल, विनोद बहादूर श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, पूर्व उपाध्यक्ष किशोर प्रधानको समेत समेतको साथ रहेको सम्बद्ध जिल्ला अध्यक्षहरु बताउँछन् । साथै महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत आफूलाई साथ रहेको उमेशलाल श्रेष्ठले विभिन्न कार्यक्रममा बताउँदै आएका छन् ।

इन्फिनिटी लघुवित्तमा आकर्षक रोजगारीको अवसर

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।  इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृत र कनिष्ठ सहायक पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि एसएलसी देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाइट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।