विकासन्युज

फूलबाट धुप बनाउँदै सुषमा, बैंकिङ छोडेर उद्योगमा जम्दै

काठमाडौं । बैंकिङ धेरैलाई मन पर्ने पेशा । आकर्षक सेवा सुविधा र समाजमा उच्च प्रतिष्ठाकै कारण धेरैले बैंकर बन्ने रुची राख्छन् । त्यो रुची सुषमा शर्मामा पनि थियो । दिनप्रतिदिनको मेहेनत, कामप्रतिको वफादारिता र लक्ष्यप्रतिको अडिकताले काठमाडौं धुम्बाराहीकी सुषमा शर्मालाई पनि बैंकको उच्च पदमा पुग्न धेरै समय कुर्नु परेन । भनिन्छ नि, ‘जो हिड्छ, उसैलाई ठेस लाग्छ ।’ हो, सुषमाको जीवनमा यस्ता अनेकौं हण्डर/ठक्करहरु छन् । बैंकको काममा बिहानै गएर राति अबेर घर फर्किर्नु परेका ती दिनहरु उनलाई हिजो जस्तै लाग्छन् । तर, ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भने जस्तै उनले आफ्नो लक्ष्य पछ्याउँदै गइन् । दिनहरु बित्दै गए । सन् २००६ बाट बैंकिङ करियर सुरु गरेकी सुषमा सुरुमा एनएमबि बैंकको सुपर भाइजर बनिन् । हुनत त्यसअघि उनले विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा काम गरिसकेकी थिइन् । विभिन्न क्षेत्रको अनुभव हासिल गर्दै गइन् । उनी भन्छिन्, ‘मलाई आफुमा भएको क्षमता प्रदर्शन गर्नु पर्छ जस्तो लाग्छ, मलाई बैंकर बन्ने रहर थियो, बनेँ पनि, उनी थप्छिन्, ‘तर बाटो बिचमै अन्तै मोडियो ।’ उनी एनएमबि बैंकको रिटेल हेडसम्म बनिन् । बैंकको रिटेल हेडसम्म पुग्न ठूलो संघर्ष गर्नु पर्छ । त्यो संघर्ष सुषमाले पनि गरिन् । तर, त्यति धेरै संघर्ष गरेर पाएको पद चटक्कै छोडेर करिब डेढ दशकको बैंकिङ यात्रामा बिराम लगाउँदै उनी सदाका लागि त्यो क्षेत्रबाट बाहिरिन् । बैंकिङ छोड्नुको कारण के थियो ? हामीले उनलाई प्रश्न गर्यौं, जवाफमा उनले भनिन्, ‘सुरुमा मेरो इच्छा बैंकर बन्ने थियो, बैंकर बनेँ, पछि अब आफ्नै उद्योग व्यवसाय गर्नु पर्छ भन्ने मानसिकता जाग्यो, हुन त आफ्नै व्यवसाय गर्नु पर्छ भन्ने चाहना मेरो सानैदेखि थियो बुझ्दै गएपछि आफ्नै उद्योग खाेलेँ ।’ एनएमबि बैंकको जागिर छोडेपछि उनलाई अन्य बैंकहरुबाट पनि कामको प्रस्ताव धेरै आयो । तर, उनको चाहना अर्कै थियो । ‘बैंक छोडेको सुनेपछि दर्जन बढी बैंक तथा वित्तीय संस्थाहरुले काम गर्नु आउनु पर्यो भनेर प्रस्ताव गरे, तर मलाई पुनः बैंकको जागिरमा फर्किन मन लागेन, मैले उद्यमी नै बन्ने सोच बनाएर एनएमबि बैंक छोडेकी थिएँ, त्यसैले पनि कसैको प्रस्ताव पनि स्वीकार गरिनँ,’ उनले काम छोड्दाका दिनहरु स्मरण गर्दै सुनाइन् । उनले १३ वर्षको बैंकिङ यात्राबाट बिट मार्दै सन् २०१८ मा आफ्नै उद्योग खोलिन् । देशमा कोरोना भाइरसको महामारी थियो । देशव्यापी लकडाउन थियो । सडकहरु सुनसान थिए । उनी आफ्नो उद्योग स्थापनाको संघर्षमा थिइन् । हुनत ती दिनहरु उनका लागि चुनौतिपूर्ण थिए । भनिन्छ नि, ‘खाने मुखलाई जुँगाले छेक्दैन ।’ त्यो अठोट उनले पनि लिइन् र दिनरात आफ्नै उद्योग सञ्चालनको दौडमा लागिन् । उनी विगत चार वर्षदेखि प्रयोगविहीन फूलबाट धुप बनाउनमा व्यस्त छिन् । हिमालयन ट्रायन क्विलिटी कम्पनी सञ्चालन स्थापना गरेर उनी चिया उत्पादन गरेर निर्यातमा लागिन् ।  नयाँ उद्योग सञ्चालन गर्न उनलाई लामो समय लाग्यो । देश विदेशको यात्रा गर्नु पर्याे । नेपालबाट स्थानीय उत्पादनको निर्यात कम हुन्छ । भइरहेको उत्पादनले पनि राम्रो बजार पाउन सकेको छैन । तर, आफुले उत्पादनको वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म निर्यातको सोच बनाउँदै अगाडि बढिरहेकी छन् । इलामबाट चिया ल्याइन् । चियालाई उत्कृष्ट प्योकेजिङ गरिन् । स्थानीय घ्यू तथा फुडहरूलाई प्याकेजिङ गरिन् । ‘नेपालमा अर्गानकि वस्तुहरु धेरै उत्पादन हुन्छन्, धेरै वस्तुहरुलाई हामीले निर्यात गर्न सक्छौं तर, प्याकेजिङमा ध्यान दिन नसक्दा बजारमा बिक्री हुन कठिन छ, मैले पनि प्याकेजिङमा जोड दिएकी छु’ उनले भनिन् । चिया निर्यातमा सफलता पाउँदै गर्दा उनले ‘फूल प्रुसाद’ जन्माइन् । उनले मन्दिरमा प्रसादको रूपमा चढाइएका फूल तथा काम नदिने फालेका फूल संकलन गरी धुप बनाउने उद्योग सञ्चालन गरिरहेकी छन् । अहिले शर्माको परिचय फेरिएको छ । अहिले उनी धुप उद्योगीका रुपमा परिचित छिन् । उनले उत्पादन गरेका धुपहरु अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुन्छन् । फूलको अनुपम सौन्दर्य देखेर हरेकको मन पग्लिन्छ । मोहित बनाउँछ । त्यही फूल प्रयोगपछि फोहोर बन्छ । त्यही फोहोर अर्थात् प्रयोगविहीन फूललाई जिवन्त दिएर उनको उद्योग सञ्चालन भइरहेको छ । उनी हरेक दिन मन्दिर पुग्छिन् । मन्दिरमा चढाइएको फूल संकलन गर्छिन् । ‘फूललाई प्रसादको रूपमा चढाएको हुन्छ तर, प्रसादको रुपमा चढाइएको फूल फ्याँक्दा मेरो मन कटक्क खान्थ्यो, त्यो फूलबाट केही उत्पादन गर्न पाए हुन्थ्यो भनेर सोच्थें, अहिले मरेको फूललाई जीवन दिइरहेकी छु,’ उनले भनिन् । फूल सबैलाई मन पर्छ । राम्रो फूललाई स्पर्श गर्न मन मन लाग्छ । सुगन्धको अनुभूति गर्न मन लाग्छ । धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यमा प्रयोग हुन्छ फूल । तर, त्यही फूल अन्ततः सडेर गलेर जान्छ , त्यसलाई नयाँ जीवन दिइरहेकी छन् उनी । उनले आफ्नो योजनामा सहकार्य गर्न समुन्द्र राज अर्याललाई प्रस्ताव राखिन् । उनले पनि साथ दिए । त्यसपछि सुषमा र समुन्द्रको सहकार्य भयो । ‘फूल प्रसाद’सञ्चालनमा आयो । ४० लाख लगानी शर्मा र अर्याल मिलेर सञ्चालनमा ल्याइएको फ्याक्ट्री कपनमा छ । उद्योग सञ्चालनमा हालसम्म ४० लाखभन्दा बढी लगानी भइसकेको उनले बताइन् । अहिले फ्याँकेका फूलको संकलन गरी कपनको ‘फूल प्रुसाद’ उद्योगबाट प्रशोधन गरी धुपको उत्पादन गरिरहेको शर्माले बताइन् । धुप बनाउन कुनै मेसिन प्रयोग गरिएको छैन । हाल हातले नै धुप उत्पादन भइरहेको उनको भनाइ छ । उनका अनुसार फूलको धुप अर्गानिक हुनुका साथै स्वास्थ्यका लागि पनि राम्रो छ । ‘म आफै पनि धुप उत्पादन गर्ने धेरै वटा फ्याक्ट्री घुमेको छु, त्यहाँ धेरै केमिकलको प्रयोग गरेर धुपको उत्पादन गरिएको हुन्छ, जुन स्वास्थ्यको लागि हानिकारक छ,’ उनले भनिन्, ‘हामीले फूलबाट उत्पादन गरेको धुप अर्गानिक हो, स्वास्थ्यका लागि पनि राम्रो छ ।’ शर्माको उद्योगबाट उत्पादन हुँदै आएको धुप विदेशमा पनि निर्यात भइरहेको छ । अमेरिका र अस्ट्रेलियामा आफूहरुले धुप निर्यात गरिरहेको शर्मा बताउँछिन् । ‘हाम्रो देशमा पूजा गर्नको लागि धुप प्रयोग गर्छन्, विदेशमा प्राय योगा गर्दा अथवा घरमा किरा वा ‘नेगेटीभीटी’ नआओस् भनेर धुपको प्रयोग गरिन्छ, विदेशमा पनि फूल प्रसादको माग छ,’ उनले भनिन् । खराब फूललाई नयाँ जीवन दिएकी शर्मा बैंक छोडेर धुपसँग रमाइ राख्दा निकै खुसी छिन् । सन्तुष्ट छिन् । तर, ढिला गरी सञ्चालन गरेकोमा भने उनलाई पछुतो छ । विदेशमा अर्बाैको धुप निर्यात हुन्छ । जसमा फूल प्रसादको पनि केही हिस्सा छ । धुपको प्याकेजिङ र ब्रण्डिङमा पनि उतिकै ध्यान दिएकी छन् । आकर्षक प्याकेजङले पनि धुपको माग बढेको उनी बताउँछिन् । शर्माले ९/१० वटा सुगन्धमा धुप उत्पादन गर्दै आएकी छन् । काठमाडौंका विभिन्न मन्दिरबाट फूल संकलन गर्ने गरेको शर्माले बताउँछिन् । पशुपतिनाथ मन्दिर र बसन्तपुरबाट धेरै फूल संकलन हुने गरेको उनको भनाइ छ । ‘हामीले फालिएको फूल मन्दिर अथवा कुनै ठाउँबाट ल्याएर प्रशोधन गर्छौं, त्यसलाई पहिला सफा गर्छाैं, सफा भएपछि सुकाउँछौं, पिसेर धुलो बनाइन्छ, त्यसपछि विभिन्न आकारमा धुप बनाइन्छ,’ उनले धुप बनाउने प्रक्रिया भनिन् । सातै प्रदेशमा शाखा खोल्ने योजना बैंकरबाट उद्योगी बनेकी शर्माले सात वटै प्रदेशमा यसको शाखा खोल्ने योजना बनाएकी छन् । विदेशमा समेत निर्यात हुने उनको धुप नेपाली बजारको सबै ठाउँमा उपलब्ध छैन । अब देशभर सहजै उपलब्ध हुने गरी वितरण गर्ने उनको योजना छ । ‘प्रयोग भइसकेको फूलहरु ल्याउनुहोस्, वातावरण स्वच्छ राख्न योगदान गर्नुहोस् भनेर सामाजिक सञ्जालबाटै आग्रह गरेका छौं, धेरैले फूल ल्याएर हामीलाई दिनुहुन्छ, फूल ल्याइदिए बापत धुप पनि दिन्छौं,’ खुसी हुँदै शर्माले भनिन् । शर्माको उद्योगबाट धुप मात्रै होइन आकर्षक डिजाइनमा गिफ्ट बक्स पनि उत्पादन हुन्छन् । आयात गरेर ल्याएर बेच्ने धुप भन्दा आकर्षक डिजाइनमा फूल प्रसादका धुपहरु उपलब्ध छन् । उपहार स्वरुप धुप दिनेहरुका लागि सजावट गरी गिफ्ट बनाइएका छन् । शर्माले उत्पादन गरेका धुप न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ४ सय रुपैयाँसम्म मूल्य पर्छ । ‘खुसी हुनको लागि उद्योग सञ्चालन गरेकी हुँ, धेरै कमाउन होइन, उत्पादन गरेको धुपलाई बजारमा धेरै मार्जिन नराखी उपलब्ध गराउँछौं, माग अनुसार नयाँ प्रडक्ट ल्याउँछौं,’ उनले भनिन्, ‘उद्योग सानो छ तर लक्ष्य ठूलो छ, ५ वर्षपछि ठूलो उद्योगी बन्ने सपना छ, सातै प्रदेशमा शाखा कार्यालय विस्तार गरी फालिएका फूललाई जीवन दिने काम गर्ने योजना छ ।’

‍विद्यार्थीले स्वदेशमै सम्भावना खोज्नुपर्छ : राज्यमन्त्री ठकुरी

काठमाडौं । विद्यार्थीले स्वदेशमा सम्भावनाको खोजी गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिरपाली ठकुरीले बताएकी छिन् । बिहीबार काठमाडौंमा आयोजित लर्ड बुद्ध एजुकेशन फाउन्डेशनको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै दिक्षित विद्यार्थीहरु देशको कर्णधार भएकाले विद्यार्थीहरुले देखेको भिजन र मिशनको सम्भावना स्वदेशमा खोजी गर्नुपर्ने बताएकी हुन् । यस्तै, समारोहमा लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका अध्यक्ष पंकज जलानले दिक्षान्त समारोहलाई सम्बोधन गर्दै पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने श्रमिकको संख्या बढेकाले सिपमुलक जनशक्ति उत्पादन गरी विदेश पठाउन सकेमा रेमिटयान्स बढ्ने बताए । पर्यटन क्षेत्रमा प्रविधिको महत्व र धार्मिकस्थललाई भर्चुअल टुरहरु माफर्त सुचना प्रविधिको प्रयोग गरेर पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सकिने उनी बताउँछन् । बिहीबार सम्पन्न दिक्षान्त समारोहमा सन २०२२ मा स्नातक तह उत्तीर्ण गरेका सुचना प्रविधिका ४९, स्नातकोत्तर तह एमबिएका १९, एमएससी सुचना प्रविधि व्यवस्थापन ४९ गरी कुल १ सय १७ जना विद्यार्थीहरु दीक्षित भएका छन् । एसिया प्यासिफिक विश्वविद्यालय अफ टेक्नोलोजी एण्ड इनोभेसनबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेशन फाउन्डेशन नेपालको पहिलो सुचना प्रविधि कलेज हो ।

सर्वसाधारणका लागि रानीपोखरी खुल्ला

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ । पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो । नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो । कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार अहिले बिहान ६ देखि ८ बजेसम्मका लागि पोखरी खुला गरिएको छ । कुनै अवरोध नआए तीन सय ६५ दिन नै पोखरी सबैका लागि खुला राख्ने तयारी महानगरपालिकाको छ । उनले भने, ‘पोखरीमा सर्वसाधारणको आवतजावत बढेपछि पोखरीलाई छिटो सरसफाइ गरी सौन्र्दय कायम राखिने छ, यो काठमाडौं सान हो ।’ विसं २०७२ को गोरखा भूकम्पले क्षति पुगेको ऐतिहासिक पोखरीको पुनःनिर्माणका लागि शिलान्यास पनि सोही वर्ष माघ २ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको थियो । पुनःनिर्माण कार्य सकी विसं २०७७ कात्तिक ५ मा नै उद्घाटन गरिए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७८ पुस ८ गतेमात्र महानगरपालिकालाई रानीपोखरी हस्तान्तरण गरेको थियो । हस्तान्तरणपछि सबैका लागि खुला गर्न कामपाले पटक–पटक प्रयास गरेको जनाएको थियो । भूकम्पका कारण पोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पनि क्षति भएको थियो । यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरूको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनःनिर्माण सम्पन्न गरिएको हो । शिलान्यास भएको करिब पाँच वर्षपछि मात्र रानीपोखरी पुनःनिर्माणको काम सम्पन्न भएको छ । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको थियो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्रको नाममा यो पोखरी बनाएका हुन् । पोखरीमा एक सय आठ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ । रासस

विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौं। नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ। ‘हो! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक नवीनप्रकाश शाहले जानकारी दिए । नियमित औषधि खाए रोग निको हुने उनी बताउँछन् । आर्थिक वर्ष २०७८\७९ मा नेपालमा ३७ हजार आठ सय ६१ विश्व क्षयरोगका बिरामीको उपचार हुने गरेकामा ९१ दशमलव पाँच प्रतिशत बिरामी निको हुने गरेका छन् । क्षयरोगीमध्ये ६१ दशमलव छ प्रतिशत पुरुष, ३८ दशमलव चार प्रतिशत महिला र आठ दशमलव सात प्रतिशत (१५ वर्षभन्दा मुनिका बालबालिका) रहेका छन् । केन्द्रका निर्देशक डा शाहले वार्षिक करिब ३२ हजार क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेको बताए । ‘झण्डै ३२ हजार क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । यो एक चुनौतीको रुपमा रहेको छ’, उनले भने । नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको सङ्ख्या करिब दुई हजार आठ सय रहेको छ। यो सङ्ख्या नेपालको कूल जनसङ्ख्याको अनुपातमा अन्त्यन्त धेरै हो । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ । आव २०७८\७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा नौ सय ४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने छ सय ५९ जना मात्र उपचारमा थिए । विश्व स्वास्थ्य सङ्गठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरि ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी एक करोड छ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन् । सन् २०२१ मा करिब १६ लाखको क्षयरोगका कारण विश्वभरि मृत्यु भएको थियो । नेपाल सरकारले आगामी आव २०८२\८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८\७९–२०८२\८३ तयार गरी कार्यन्वयनमा ल्याएको छ । रणनीतिक योजनाले गुणस्तरीय क्षयरोग सेवाको विस्तार, देशका विभिन्न स्थानमा क्षयरोग प्रेषक प्रयोगशालाको स्थापना, माइक्रोस्कोपिक केन्द्रको विस्तार, केन्द्रीयस्तरमा निर्माण सम्पन्न भएका छातीरोग अस्पतालको सञ्चालन, सातवटै प्रदेशमा क्षयरोग उपचार केन्द्र स्थापना र क्षयरोग रोकथाम तथा उपचार सेवाको विस्तारलगायत छन्। केन्द्रका निर्देशक डा शाहले स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन गरी नेपाललाई क्षयरोग मुक्त बनाइने बताए । आव २०७८\७९ मा २५ स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको थियो । चालु आवमामा एक सय स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन भइरहेको छ । आगामी चार वर्षभित्र सात सय ५३ स्थानीय तहमै अभियान सञ्चालन गर्ने लक्ष्य छ। राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत आठ सय ९६ माइक्रोस्कोपिक केन्द्र, ९३ जिनएक्सपर्ट केन्द्र, पाँच हजार नौ सय ७१ डट्स केन्द्र, २२ डिआर उपचार केन्द्र र ८१ डिआर उपकेन्द्रबाट क्षयरोगको उपचार सरकारले गरिरहेको छ ।

उपत्यकामा बढ्दो सवारी दुर्घटना : तीन वर्षमा चार सय ८४ जनाको मृत्यु

काठमाडौं । गत फागुन २४ गते साँझ काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो । साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रम्हखेल जाँदै गरेको बा५ख २४१४ नम्बरको टिपरले पत्रकार श्रेष्ठले चलाएको बा९४प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा साँखुबाट प्रकाशित हुँदै आएको लावण्य साप्ताहिक पत्रिकाका प्रधान सम्पादक श्रेष्ठको मृत्यु भयो । सोही दिन सोही टिपरको ठक्करबाट साँखुका २२ वर्षीय हरि खड्काको समेत ज्यान गयो । खड्काले चलाएको बा८२प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । एकैपटक एउटा टिपरले दुई सवारी साधनलाई ठक्कर दिँदा दुवैजनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा २० वर्षीय पुनम श्रेष्ठ गम्भीर घाइते भइन् । यस्तै, गत माघ १४ गते काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुस्थित चमतीमा ट्याङ्करको ठक्करबाट ५५ वर्षीय नरेन्द्रमुनि बज्राचार्यको मृत्यु भयो । प्रदेश ३–०१–००३ क ७५१२ नम्बरको ट्याङ्करले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनको ज्यान गएको हो । यीमाथि उल्लेखित घटना प्रतिनिधिमूलक घटनामात्र हुन् । पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र सवारी दुर्घटनाका कारण बर्सेनि सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् । आफूले ठीक ढङ्गबाट सवारी साधन चलाउँदा चलाउँदै पनि अर्को सवारी साधनका कारण अकालमा ज्यान गुमाउनुपरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्ममा काठमाडौँ उपत्यकाभित्र छ हजार आठ सय तीन सवारी साधन दुर्घटनाबाट एक सय २७ जनाको मृत्यु भएको छ । यस्तै, एक सय ५४ जना गम्भीर घाइते भएका छन् भने पाँच हजार एक सय २७ जना सामान्य घाइते भएका छन् । पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकाभित्र सवारी साधन दुर्घटनाबाट चार सय ८४ जनाले ज्यान गुमाएका छन् । आव २०७७/७८ मा नौ हजार पाँच सय ४५ सवारी साधन दुर्घटनाबाट एक सय ६६ जनाको मृत्यु भएको छ भने २२९ जना गम्भीर घाइते तथा सात हजार ९५ जना सामान्य घाइते भएका छन् । आव २०७८/७९ मा १० हजार सात सय ३३ सवारी साधन दुर्घटनामा परेर एक सय ९१ जनाको मृत्यु भएको छ भने दुई सय ५७ गम्भीर घाइते र आठ हजार दुई सय ८१ जना सामान्य घाइते भएका छन् । काठमाडौँ उपत्यकामा सवारी साधन दुर्घटनाको अवस्था कहालीलाग्दो छ । काठमाडौँ उपत्यकामा सवारी साधन दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक र पैदलयात्रु बढी छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट उपत्यकाभित्र हुने सवारी साधन दुर्घटनालाई कम गर्न ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमलाई अगाडि सारेको बताउँछन् । ‘दुर्घटनालाई कम गर्न मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ, तीव्र गतिलाई नियन्त्रण गर्न प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको गतीमा सवारी साधन चलाउन नपाइने नियम, सवारी साधनको स्थिती जाँच, लामो दूरीका सवारी साधनमा दुई चालक छन् या छैनलगायत विषयलाई विशेष निगरानी गर्दै आएका छौँ’, उनी भन्छन् । साँघुरो बाटो र धेरै सवारी साधन भएकाले बढी दुर्घटना हुने गरेको प्रवक्ता भट्टको भनाइ छ । काठमाडौ‌ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौँ उपत्यकाभित्रको सवारी व्यवस्थापनका लागि प्रहरी नायव महानिरीक्षकको नेतृत्वमा एक हजार सात सय ट्राफिक प्रहरी परिचालित छन् । लामो समयसम्म काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काम गर्नुभएका पूर्व प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ ९० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय कारणले हुने गरेको बताउँछन् । ‘चालक, पैदलयात्रु र यात्रुका कारण धेरै दुर्घटना हुने गरेका छन्’, उनी भन्छन् । हाल देशभर ४० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये काठमाडौँ उपत्यकामा मात्र १८ लाखदेखि २० लाख सवारी साधन सञ्चालनमा छन् । रासस

निजामती कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ सञ्चालन हुने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन गर्न प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रालयले आइडिया स्टुडियोसँगको सहकार्यमा निजामति कर्मचारीको प्रतिभा प्रस्फुटनका लागि नवीन सोच, समस्या पहिचान, समाधानका नवीन उपाय र त्यसका फाइदा उल्लेख गरेर चैत ३० गते भित्र आवेदन बुझाउन आह्वान गरेको छ । निजामति कर्मचारीमा रहेको प्रतिभा प्रस्फुटन गर्न गत साल झै यस वर्ष पनि वार्षिक कार्यक्रमअनुसार सरकारी प्रणाली क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवाप्रवाह तथा विकास निर्माण लगायत सार्वजनिक सरोकारका विषयमा वा सोका अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्न कार्यक्रम सञ्चालन कार्यविधि जारी गरिएको छ । प्रतिभा डबली कार्यक्रममा सहभागी हुन चाहने संघ, प्रदेश र स्थानीय तहका कर्मचारीले अनलाइनमार्फत अनलाइन प्रस्ताव पेस गर्न सक्ने छन् । प्रतियोगीले आफ्नो प्रस्ताव पेस गर्ने क्रममा अडियोरभिडियो कपीसमेत अपलोड गर्नुपर्ने छ र सो अडियो भिडियोमा आफ्नो परिचय खुल्ने कुनै किसिमको सामाग्री राख्न पाइने छैन् । नविन सोच र इनोभेटिभ आइडिया पेस गरी शीर्ष १० मा छनोट हुने स्थान प्राप्त गर्ने निजामती कर्मचारीले प्रतक्ष्य प्रस्तुतीकरणसमेत गर्नुपर्ने छ । उक्त प्रस्तुति टेलिभिजनमार्फत समेत प्रस्तुत गरिने छ । प्रतिस्पर्धाबाट छनोट भएका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने निजामती कर्मचारीलाई सम्मान र तोकिएको पुरस्कार प्रदान गरिने छ । एकपटक अनलाइनमार्फत प्रस्ताव पेश गरी नम्बर प्राप्त भइसकेपश्चात् पुनः सच्याउन नपाइने जनाइएको छ ।

नेपालको जनसंख्या २ करोड ९१ लाख पुग्यो, पुरुषभन्दा महिला बढी

काठमाडौं । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख पुगेको छ । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल ‘दाहाल प्र चण्ड’ ले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) को नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको हो । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ । गत २०६८ सालको जनगणना अनुसार कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ र लैङ्गिक अनुपात ९४.१६ थियो । यस्तै, सार्वजनिक गरिएको २०७८ को जनगणना अनुसार देशमा ६६ लाख ६६ हजार ९३७ कूल परिवार बसोबस रहेको छ । जसमध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार ६,०९६ रहेका छन् । प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ, जुन २०६८ सालमा ४.८८ जना रहेको थियो । राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत् २५ कात्तिकदेखि ९ मंसिर ०७८ सालको जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० जना रहेकाे थियाे । नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।

हामी कुनै पनि बैंक तथा वित्तिय संस्थासँग मर्जरको प्रकृयामा छैनौं : सिद्धार्थ बैंक

काठमाडौं । सिद्धार्थ बैंकले आफु कुनै पनि प्रकारको मर्जरको प्रकृयामा नरेहको जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै आफु कुनै पनि बैंक तथा वित्तिय संस्थासँग मर्जरको प्रकृयामा नरहेको जानकारी दिएको हो । ‘यस बैंक र अन्य कुनै बैंक तथा वित्तिय संस्था बीचमा मर्जर एक्विजेशन सम्बन्धी फैलाइएको समाचार तर्फ यस बैंकको ध्यानआकर्षण भएको छ । त्यस्ता समाचारहरुमा कुनै पनि आधरिकता नरहेको व्यहोर सम्पुर्ण सरोकारवालाहरुलाई जानकारीका लागि अनुरोध गराउँदछौं,’ विज्ञप्तीमा भनिएको छ ।