काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षहरुमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार समर्थित अध्यक्षहरु सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबारसम्म ७ वटै प्रदेशको नेतत्व चयन हुँदा सबै प्रदेशमा उमेशलाल समुह समर्थित व्यक्तिहरु प्रदेश अध्यक्षमा चयन भएको उमेशलालको सचिवालयले जनाएकाे छ ।
महासंघको कोशी प्रदेशमा राजेन्द्र राउत सर्वसम्मत अध्यक्षमा चयन भएसँगै सबै प्रदेशमा उमेशलाल समर्थित व्यक्तिहरु चयन भएका हुन् । सुरुमा कर्णाली प्रदेशमा पदमबहादूर शाही सर्वसम्मत रुपमा अध्यक्ष भएका थिए भने लुम्बिनी प्रदेशमा कृष्णप्रसाद शर्मा सर्वसम्मत अध्यक्षमा चयन भएका थिए ।
यसैगरी सोही समुहबाट वागमती प्रदेशमा दिलसुन्दर श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन हुँदा सुदूर पश्चिम प्रदेशमा शंकर बोगटी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् । महासंघको मधेष प्रदेशमा पनि उमेश समुहबाटै अशोक टेमानी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।
यसैगरी गण्डकी प्रदेशमा पनि गोलाप्रथाबाट उमेशलाल श्रेष्ठ समुहकै अमृत भट्टचन अध्यक्षमा निर्वातिच भएका छन् । उनीहरू सबै उमेशलाल समूहकाे समर्थक भएकाे उनकाे सचिवालयले जनाएकाे छ ।
वरिष्ठ उपाध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गर्दै आएका हालका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले वरिष्ठमा उमेशलाल श्रेष्ठलाई समर्थन गर्दै आफु पुनः उपाध्यक्षमै उठ्ने घोषणा गरेकाले उनको वलियो भएको एक जिल्ला अध्यक्षले जानकारी दिए । ‘व्यवसायीका हरेक समस्यामा साथ दिने भएकाले पनि जिल्लार नगरमा दिनेश दाईको राम्रो प्रभाव रहेको छ,’ एक जिल्ला नगर अध्यक्षले भने, ‘उमेश दाई र दिनेश दाई मिलेर एउटै टीम भएपछि मतका आधारमा जिल्ला नगर सबैभन्दा बलियो बनेको छ ।’
यसैगरी उमेशलाल श्रेष्ठलाई महासंघको पूर्व अध्यक्ष चण्डीराज ढकाल, विनोद बहादूर श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, पूर्व उपाध्यक्ष किशोर प्रधानको समेत समेतको साथ रहेको सम्बद्ध जिल्ला अध्यक्षहरु बताउँछन् । साथै महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत आफूलाई साथ रहेको उमेशलाल श्रेष्ठले विभिन्न कार्यक्रममा बताउँदै आएका छन् ।