वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अनलाइनबाट स्वास्थ्य सेवा दिन सुरु
काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि टेलिमेडिसिन सेवा सुरु गरेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य समस्या सम्बोधनका लागि चिकित्सकको टोलीसहित टेलिमेडिसिन सेवा सुरुआत गरिएको बोर्डले जनाएको छ । सार्वजनिक बिदाका दिनबाहेक कार्यालय समयमा सेवा प्रवाह हुने बोर्डले जनाएको छ । विदेशमा रहेका नेपालीले मोबाइल नं ९८५१३४५७०१ र ९८५१३४५७०२ मा भाइबर, ह्वाट्स् एप वा इमोलगायतका माध्यममार्फत सम्पर्क गरेर आफ्नो स्वास्थ्य समस्या राख्न सक्ने जनाइएको छ । फोन तथा अन्य माध्यमबाट श्रमिकले राखेका समस्या सुन्न र समाधान गर्नका लागि मेडिकल अधिकृत खटिएका वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई गन्तव्य देशमा भाषा र अन्य विविध समस्याका कारण बिरामी पर्दा सामान्य परामर्श लिन पनि समस्या भइरहेको भन्दै आफ्नै देशमा फोन गरेर आफ्नो स्वास्थ्य समस्या राख्ने व्यवस्था गरिएको हो । बिरामी श्रमिकलाई थप विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवासमेत उपलब्ध गराइने बोर्डले जानकारी दिएको छ । आइतबार र शुक्रबार धेरैजसो गन्तव्य देशमा सार्वजनिक बिदा पर्ने भएकाले पनि यस दिन विशेषज्ञ सेवा उपलब्ध गराइने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
सिद्धार्थ बैंकको सहयोगमा निर्मित नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण
काठमाडौं । सिद्धार्थ बैंकको सहयोगमा निर्मित नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण गरेको छ । सिद्धार्थ बैंकले वीरगञ्ज स्थित नारायणी अस्पतालमा डायलाइसिस भवन निर्माण गर्न २६ असोज २०७९ मा नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग गरेको सम्झौता बमोजिम ५५ रुपैयाँलाख लागतमा उक्त डायलाइसिस भवनको प्रवलीकरण तथा निर्माण सम्पन्न गरी आज अस्पताललाई हस्तान्तरण गरेको छ । नारायणी अस्पतालमा एक कार्यक्रम आयोजना गरी बैंकका सञ्चालक समितिका अध्यक्ष श्री मनोज कुमार केडियाले सो भवनको उपयोगको दायित्व नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चित्रन्जन साहलाई हस्तान्तरण गरका हुन् । उक्त कार्यक्रममा वीरगञ्ज क्षेत्रका बरिष्ठ उद्योगपति एवं समाजसेवीहरु र बैकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, प्रदेश प्रमुख प्रविन ढुङ्गेल लगायत अन्य प्रतिनिधिहरु तथा राउण्ड टेबल नेपाल र अस्पतालका प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चित्रन्जन साहले सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखि देशको एक जिम्मेवार संस्थाको रुपमा विभिन्न सामाजिक कार्यहरूमा सधैँ अग्रसर रहदै आईरहेको बारेमा चर्चा गर्दै बैंकबाट प्राप्त उक्त सहयोगले विरामीहरुलाई व्यवस्थित ढङ्गबाट अस्पतालको सेवा सुविधा प्रदान गर्न मद्दत पुग्ने कुरा पनि व्यक्त गरेका थिए । बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।
अहिले होल्ड गरेर राख्नुहोस्, बजारका राम्रा दिन आउँदैछन् : अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले अब कसैले पनि इन्साइडर ट्रेडिङ गर्ने सोच नराखे हुने बताएका छन् । बुधबार काठमाडौंमा लगानीकर्तासँगको अन्तरक्रिया कार्यक्रममा उनले इन्साइडर ट्रेडिङ गर्नेलाई धमाधम कारवाही गर्न थालिएकाले कसैले पनि इन्साइडर ट्रेडिङ गर्ने सोच नराखे हुने बताएका हुन् । उनले बुक बिल्डिङ्ग विधि २ महिनमा सक्ने गरी काम हुँदै गरेको बताए । ‘बुक बिल्डिङको विधि खुल्ने बित्तिकै नयाँ नयाँ कम्पनी ल्याउने छौं,’ उनले भने । यस्तै, उनले बजारको हितमा काम गर्दा पहिलो पाइलामै ठेस लागे पनि पछि नहट्ने र बोर्डले लगानीकर्ताको संरक्षणको नीति लिएको बताए । ‘सेयर बजारको सुधार गर्ने अझै हुटहुटी छ, त्यसैले म जहिले पनि लगानीकर्ताको पक्षमा छु,’ उनले भने । उनले लगानीकर्तालाई बजारको राम्रो दिन आउने बताउँदै हतारमा पोर्टफोलियो नबेच्न सुझाव पनि दिएका छन् । अर्थतन्त्र चापमा परेको कारण बनारमा पनि चाप देखिएकाले केही समय होल्ड गर्न उनको लगानीकर्तालाई सझाव छ । ‘अहिले सेयर होल्ड गरेर राख्नुहोस्, अहिले नै सबै पोर्टफोलियो बेच्नु हुन्न, बजारका लागि राम्रा दिन आउँदैछन्, धितोपत्र बोर्डले बजारमैत्री नीति नियमहरु ल्याउँदैछ,’ उनले भने । त्यस्तै, अध्यक्ष हमालले जतिसुकै राम्रो निति ल्याएपनी विरोध हुने गरेकोमा दुखेसो पोखेका छन् । हरेक काम लागू गर्दा अनुसन्धान गर्नुपर्ने बताउँदै उनले कोहि व्यक्ति आफुसँग बहस गर्ने भए आफु तयार भएको बताए ।
श्रीलङ्काको आर्थिक स्थिति सुध्रिएसँगै इन्धनको मूल्य घट्यो
श्रीलङ्का । श्रीलङ्काको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले भोलि मध्यरातदेखि इन्धनको मूल्य घटाइने बताएका छन् । मन्त्री विजेसेकराका अनुसार भोलि मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर ६० रुपैयाँ, डिजेलमा ८० रुपैयाँ र मट्टितेलमा १० रुपैयाँ कायम हुनेछ । अब उपभोक्ताले एक लिटर पेट्रोल ३४० रुपैयाँ, डिजेल ३२५ रुपैयाँ र मट्टितेल २९५ रुपैयाँमा पाउने छन् । अन्तरराष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले इन्धनको मूल्य घटाउने निर्णय सरकारले गरेको ऊर्जामन्त्रीले बताएका छन् । साथै अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रुपैयाँ पनि सुदृढ भएको छ । गत वर्ष देशमा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो । रासस
पाँच वटा हवाइ कम्पनीले किन्दैछन् १३ नयाँ जहाज
काठमाडौं । पछिल्लो समय नेपाली आकाशमा उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले नयाँ जहाज खरिद प्रक्रिया सुरु गरेका छन् । केही वायुसेवा कम्पनीले थप जहाज खरिदको तयारी थालेका छन् भने केही कम्पनीले पुराना जहाज बिक्री गरेर नयाँ ल्याउने तयारी थालेका छन् । हाल आन्तरिक रुपमा उडान गर्दै आएका बुद्ध र सौर्य एयरलाइन्सले नयाँ जहाज ल्याउने तयारी गरिरहेका छन् । यस्तै, प्रभु हेलिकोप्टरले पुरानो होलिकोप्टर बेचेर नयाँ ल्याउने तयारी थालेको छ भने सिम्रिक एयरले नयाँ हेलिकोप्टर खरिद गर्न लागेको हो । बुद्ध, सौर्य र सिम्रिक एयरले एक/एक थान जहाज खरिद गर्न लागेका छन् भने प्रभु हेलिकोप्टरले एयरबस मोडलको दुई थान होलिकप्टर खरिद गर्न लागेको छ । अमेरिकन कम्पनीको हेलिकप्टर थप्दै सिम्रिक एयर सिम्रिक एयरले अमेरिकन कम्पनीको नयाँ एक थान हेलिकप्टर थप गर्ने भएको छ । सिम्रिकले बेल टेक्सट्रन पीटीई बेल ५०५ जेट रेन्जर एक्स-जेआरएक्स खरिद गर्न लागेको हो । ‘खरिद प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको हो, हामी अप्रिल अन्तिम सातासम्म नयाँ हेलिकप्टर ल्याउने तयारीमा छौँ’, सिम्रिक एयरका जनरल म्यानेजर मुरलिधर जोशीले भने । उनका अनुसार नयाँ ल्याउन लागिएको हेलिकप्टर नेपालमा पहिलो पटक ल्याउन लागिएको हो । बेल ५०५ मोडलको हेलिकप्र अहिलेसम्म नेपालमा कुनै पनि वायुसेवा कम्पनीले नल्याएको उनले बताए । हेलिकोप्टर खरिद गर्न सिम्रिकको टोली सिंगापुर पुगेको थियो । कम्पनीले सन् २०१९ मा नै उक्त मोडलको हेलिकप्टर नेपालमा ल्याएर परिक्षण उडान गरेको थियो । नेपालको भूभागमा उडान गर्न सक्ने क्षमताको भन्दै कम्पनीले सन् २०१९ मा नै दुई थान हेलिकप्टर अडर गरेको उनले बताए । कोभिडका कारण ल्याउन नसकिएको २ थान जहाजमध्ये पहिलो चरणमा १ वटा मात्रै ल्याउने तयारी भएको जोशी बताउँछन् । सिम्रिकले उक्त हेलिकप्टरको सगरमाथा, अन्नपूर्णलगायतका उच्च पहाडी भेगमा १९ हजार फिटको उचाईमा परीक्षण उडान गरेको थियो । ‘हामीले परीक्षण उडान गर्न नेपालमा उडान गर्न सक्ने देखेपछि अडर गरेका थियौँ, तर कोभिडका कारण ल्याउन सकिएको थिएन, अडर गरेको करिब ४ वर्षपनि पुनः सोही हेलिकप्टर ल्याउन लागेका हौँ’, उनले भने । यसअघि सिम्रिकले नेपालमा पहिलोपटक बेलकै ४०७ जीएक्सपी सिरिजको हेलिकोप्टर ल्याएको थियो । बेल ४०७ र एयरबस मोडलको गरी सिम्रिकले हाल ४ वटा हेलिकप्टरबाट उडान गर्दै आएको छ । नयाँ जहाज ल्याउनका लागि कम्पनीले नेपाल नागरिक उडड्यन प्राधिकरणसँग स्वीकृति लिने तयारी थालेको छ । उक्त हेलिकोप्टर एक चालक र ४ यात्रु सिट क्षमता रहेको छ । २ थान एयरबस थप गर्दै प्रभु प्रभु हेलिकप्टरले २ थान एयरबस किन्ने तयारी थालेको छ । आफूसँग रहेका चार वटा हेलिकप्टर बिक्री गरेर नयाँ हेलिकोप्टर खरिदको तयारी गरेको हो । कम्पनीले हाल सञ्चालन गर्दै आएको चार वटा रोविन्सन हेलिकप्टर बिक्री गरेर एयरबस कम्पनीको नयाँ हेलिकप्टर किन्न लागेको हो । प्रभुले एयरबस एएस ३५० बी थ्री इ सिरिजका दुई वटा हेलिकोप्टर किन्न लागेको नायब महाप्रबन्धक राजलावतले बताए । उनका अनुसार चार थान रोविन्सन हेलिकप्टर बिक्रीको अन्तिम चरणको पुगेको बताउँछन् । ‘हामीसँग पाँच थान रोविन्सन जहाजमध्ये हाल चार वटा बिक्रीको तयारी अन्तिम चरणमा पुगेको छ, उक्त जहाज बिक्री गरेर एयरबस कम्पनीका जहाज ल्याउँछौँ’, उनले भने । पाँचमध्ये कम्पनीले हालका लागि सन् २०१८ मा किनेको एउटा रोविन्सन हेलिकोप्टर भने चलाउने जनाईएको छ । एटीआर जहाज थप्दै बुद्ध एयर निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले आन्तरिक उडानका लागि थप एउटा एटीआर जहाज थप गर्ने तयारी थालेको छ । हाल प्रदेश केन्द्रीत उडान विस्तार गरेको बुद्धले उडानलाई थप विस्तार गर्नभन्दै नयाँ एटीआर ७२-५०० सिटे जहाज ल्याउने तयारी भएको जनाएको छ । बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्ण नयाँ जहाज अगामी अप्रिल महिनाभित्र ल्याइसक्ने तयारी भएको बताए । कम्पनीले सञ्चालन गर्दै आएको एटीआर मोडलकै जहाज ल्याउने तयारी भएको उनले बताए । नयाँ बम्वार्डियर ल्याउँदै सौर्य एयरलाइन्स सौर्य एयरलाइन्सले नयाँ जहाज ल्याउने तयारी थालेको छ । तीन जहाजबाट आन्तरिक उडान गर्दै आएको सौर्यले नयाँ बम्वार्डियर जहाज ल्याउन लागेको हो । ‘बम्वार्डियर सिआरजे-२००’ सिरिजको विमान ल्याउने तयारी थालिएको कम्पनीका व्यवस्थापक प्रवक्ता मुकेश खनालले जानकारी दिए । उनका अनुसार अबको एक डेढ महिनाभित्रै नयाँ बम्वार्डियर जहाज आइसक्छ । जहाज खरिद गर्न समिति गठन सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले नयाँ जहाज खरिदका लागि समिति गठन गरेको छ । निगमका उपमहाप्रवन्धक जनक कालाखेतीको संयोजकत्वमा समिति गठन गरेको हो । उक्त समितिले आन्तरिक उडानका लागि ट्विनअटर र अन्तर्राष्ट्रिय उडानका लागि न्यारोवडी जहाज खरिदको लागि आवश्यक तयारी थाल्नेछ । सुरुवाती चरणमा दुईवटा न्यारेवडी र आन्तरिक उडानका लागि तीनवटा ट्विनअटर र ट्रंक रुटका लागि दुईवटा एटीआर जहाज ल्याउन अध्ययन गर्नेछ । उक्त समितिले निगम सञ्चालक समितिलाई अध्ययन प्रतिवेदन पेश गर्नेछ । उक्त प्रतिवेदनलाई आधार बनाएर सञ्चालक समितिले निर्णय गरेर मन्त्रालयमा पठाईने निगमले जनाएको छ ।
बैंकको मार्जिन कलले सताउन थाल्यो : लगानीकर्ता रौनियार
काठमाडौं । लगानीकर्ता छोटेलाल रौनियारले बैंकको मार्जिन कलले सताउन थालेको बताएका छन् । बुधबार काठमाडौंमा लगानीकर्तासँगको अन्तरक्रिया कार्यक्रममा उनले बैंकको मार्जन कलले फोन गर्नुपरेको बताए । यसको कारण धेरै लगानीकर्ताहरुले आत्महत्या गर्नु मात्र बाँकी छ भन्दै दुखेसो गरेको पनि उनले बताए । ‘बजार घटेर घर घरकी कहानी भयो, ब्याजदर बढेका कारण लगानीकर्ता रोइरहेका छन् र कति विदेश पलायन भइरहेका छन्,’ उनले भने, ‘दोहोरो करले पनि लगानीकर्ताहरु पिडामा छन् ।’ जुनतारा उदाए जस्तै अब सेयर बजारलाई माथि बढाउने गरि काम गर्नुपर्ने उनी बताउँछन् । पूँजी बजार अर्थतन्त्रको मेरुदण्ड रहेको बताउँदै उनले यस सम्बन्धि नीतिनियम बनाउँदा लगानीकर्ताको पनि सुझाव सल्लाह लिनुपर्ने बताए । यस्तै, उनले इन्साइडर ट्रेडिङ्ग गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्नुपर्ने माग राखेका छन् । उनले राष्ट्र बैंकले दुई तीन लाभांश घटाएर पठाउनुभन्दा पहिला छलफल गर्नुपर्ने पनि बताए ।
सेयर बजार घटेर लगानीकर्ताको सम्पत्ति माटो भइसक्यो : अध्यक्ष फुलेल
काठमाडौं । सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुलेल सेयर बजार घटेर लगानीकर्ताको सम्पत्ति माटो भइसकेको बताएका छन् । बुधबार काठमाडौंमा लगानीकर्तासँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले लगानीकर्ताले चर्को शुल्क तिर्नुपरेको बताए । ‘भोलुममा कारोबार गर्ने लगानीकर्तालाई ठूलो मर्का परेको छ,’ उनले भने, ‘पूँजी बजार अर्थतन्त्रको ऐना हो, पूँजी बजार रह्यो भने मात्रै अर्थतन्त्र चलायमान हुनेछ ।’ यस्तै, उनले संसदको अर्थसमितिले बजार बढेको बेला रोक्ने काम मात्रै गरेको र बजार घटेको बेला चुइक्क नबोलेको आरोप लगाए । यस विषयमा धितोपत्र बोर्डले समन्वय गरेर सकृय गराउनुपर्ने उनको भनाइ छ । उनले छिट्टै ब्रोकररहित कारोबार गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेका छन ।
ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न
काठमाडौं । ज्योति विकास बैंकले ग्लोबल मनी विक अभियान अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले विभिन्न शाखाहरु मार्फत देशका विभिन्न ठाउँहरुमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेको हो। बैंकले ग्लोबल मनी विक २०२३ को मुख्य नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको हो। सो कार्यक्रम अन्तर्गत स्कुल तथा कलेजहरू, विभिन्न संघ (संस्थाहरु लगायत स्थानीय समुदायमा आधुनिक बैंकिङ्ग, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनु पर्ने सावधानी, उद्यमशीलता विकास लगायतका विषयहरूलाई समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो। साथै, बैंकले सामाजिक संजाल र वेबसाइट मार्फत पनि बचत प्रोत्साहन गर्न, अज्ञात स्रोतहरुबाट आएका कुनै पनि लिंकहरु नखोल्न, ओटिपि, पासबर्ड, पिन, सिभिभि जस्ता संवेदनशील विवरणहरु कसैसँग पनि सेयर नगर्न र डिजिटल ठगीबाट सचेत हुन विभिन्न सूचनाहरु पनि प्रवाह गरेको छ। ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभरीका विभिन्न बैंक शाखाहरु मार्फत बैंकिङ कारोबार, वित्तीय व्यवस्थापन र यसको सही सदुपयोग लगायतका विषयहरुमा आधारभूत ज्ञान प्रदान गर्न तथा जनचेतना जगाई वित्तीय साक्षरता बढाउनका लागि साक्षरता र सचेतना कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ। ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७४ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।