अब बैंकहरुले शंकास्पद कारोबारको जानकारी राष्ट्र बैंकमा पठाउनु नपर्ने, १० लाखको सीमा पनि हट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० लाख वा सोभन्दा बढी रक भुक्तानी गरेमा राष्ट्र बैंकलाई जानकारी गराउनु नपर्ने भएको छ । राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत परिपत्र जारी गर्दै सो व्यवस्था गरेको हो । यसअघि कुनै पनि ग्राहकलाई १० लाख रुपैयाँ बढी रकम भुक्तानी गर्नु परेमा त्यसको सम्पूर्ण विवरण राष्ट्र बैंक पठाउनु पर्ने व्यवस्था थियो । राष्ट्र बैंकले अब उक्त व्यवस्था हटाएको हो । यस्तै, शंकास्पद कारोबारलाई पनि बैंकहरुले राष्ट्र बैंकमा जानकारी गराउनु नपर्ने भएको छ । ‘विप्रेषण गरी ल्याएको विदेशी मुद्रा र भुक्तानी गरेको रकमको विस्तृत विवरण अद्यावधिक रुपमा राख्नु पर्नेछ । प्रति ग्राहक रु.१० लाख वा शंकास्पद कारोबारको विवरण तथा सूचना प्रचलित व्यवस्था बमोजिम नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईमा उपलब्ध गराउनु पर्नेछ,’ परिपत्रमा भनिएको छ । यसअघि १० लाख बढी कारोबारको जानकारी राष्ट्र बैंक पठाउनु पर्ने व्यवस्थाको उद्योगी व्यवसायीहरुले विरोध गर्दै आएका थिए । यस्तै, राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ बमोजिम इजाजतपत्रका लागि शुरुमा २५ हजार रुपैयाँ जम्मा गरी सोको भौचर सहित राष्ट्र बैंकमा निवेदन पेश गर्नुपर्ने व्यवस्था हटाएको छ । विप्रेषण कारोबार गर्ने बैंक तथा वित्तीय संस्था तथा विप्रेषण कम्पनीहरूले वेनिफिसियरीलाई भुक्तानी दिनुपर्ने रकम अग्रिम रुपमा प्राप्त गर्नु पर्ने वा सो बराबरको बैंक ग्यारेण्टी लिनुपर्ने व्यवस्था पनि हटाएको छ । विप्रेषण कारोबार गर्ने इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था तथा विप्रेषण म्पनीहरूले अब उप्रान्त अनिवार्य रुपले अग्रीम रुपमा विदेशी मुद्रा नेपाल भित्र्याएर मात्र वेनिफिसीयरीलाई भुक्तानी प्रदान गर्नु पर्ने व्यवस्टा पनि खारेज गरेको छ । यस्तै, मनिचेञ्जरहरूले इजाजत प्राप्त गर्न अघिल्लो आर्थिक वर्षमा कम्तीमा अमेरिकी डलर १२ लाख सम्म कारोबार गरेको हुनु पर्ने सीमा पनि हटाइएको छ भने
आधुनिक शिक्षामा जोड दिँदै पाँचथरको विद्यालय
पाँचथर । विद्यार्थी सङ्ख्या यतिबेला पहाडी ग्रामीण भेगका सामुदायिक विद्यालयको साझा चुनौती बनेको छ । बढ्दो बसाइँसराइ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक गुणस्तरका कारण विद्यार्थी सङ्ख्या घटिरहेको छ । तर पाँचथरको जेठो जयनारायण आदर्श माध्यमिक विद्यालयले भने आधुनिक शिक्षामा जोड दिँदै विद्यार्थी सङ्ख्या बढाइरहेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ मेहेलबोटेस्थित यो विद्यालय पूर्वी पहाडकै पुरानो हो । विसं २००३ मा यस क्षेत्रका सामाजिक अगुवा जयनारायण रिजालले मार्गदेवी आधारभूत विद्यालयका नाममा स्थापना गरेको यो विद्यालयले २००५ सालमा आधार शिक्षा ग्वोश्वाराबाट सञ्चालन अनुमति पाएको थियो । एक समय पाँचथरसहित इलाम, ताप्लेजुङ र पूर्वी तेह्रथुमका विद्यार्थीले अध्ययन गरेको यो विद्यालयले हाल आधारभूत तहलाई अङ्ग्रेजी माध्यममा सञ्चालन गर्नुका साथै १८ महिने सिभिल सवओभरसियर कक्षा सञ्चालन गरी विद्यार्थीलाई आकर्षित गरिरहेको छ । विद्यालयमा हाल चार सय ५९ विद्यार्थी अध्ययनरत छन् । नजिकै अन्य विद्यालय रहेका कारण यो सङ्ख्या बढी नै हो । विद्यार्थी सङ्ख्या कम हुँदै जाने र अभिभावकको माग अङ्ग्रेजी माध्यममा पठनपाठन गराउनुपर्ने भएपछि विद्यालयले दुई पूर्वप्राथमिक कक्षा समेत सञ्चालन गरेको प्रधानाध्यापक प्रकाश आचार्यले जानकारी दिए । विद्यालयले कक्षा ५ सम्मको अध्यापनलाई पूर्ण अङ्ग्रेजी माध्यम बनाएको छ । कक्षा ८ सम्म पूर्ण अङ्ग्रेजी माध्यम बनाउन खोजिए पनि नजिकैका आधारभूत विद्यालयमा कक्षा ५ पूरा गरी कक्षा ६ मा नयाँ विद्यार्थी आउने हुनाले कक्षा ६, ७ र ८ मा गणित, विज्ञान र स्वास्थ्य विषय अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको आचार्यले बताए । आधारभूत तहलाई अङ्ग्रेजी माध्यममा सञ्चालन गर्न थालिएपछि विद्यार्थीको सङ्ख्या बढ्दै गएको आचार्यको भनाइ छ । भारत र भुटानबाट बोलाइएका शिक्षकले अङ्ग्रेजी प्रभावकारी अध्यापन गराउने अभिभावकको भनाइपछि विद्यालयले दुई विदेशी शिक्षकलाई निजी स्रोतबाट तलब दिएर राखेको छ । ‘अहिले अभिभावकको चासो बढ्न थालेको छ । विद्यार्थी सङ्ख्या बढ्दै गएको छ’, प्रअ आचार्यले भने। यस विद्यालयमा २०६९ सालदेखि सिभिल सब ओभरसियरको कक्षा सञ्चालन भइरहेको छ । चालीस जनाको कोटा रहेको प्राविधिक धारमा ग्रामीण क्षेत्रका विद्यार्थी अध्ययन गर्छन् । यद्यपि कोटाअनुसार कुनै पनि वर्ष विद्यार्थी भर्ना भएका छैनन् । ‘अहिलेसम्म करिब दुई सय विद्यार्थीले प्राविधिक शिक्षा पाइसके ।’ ‘सबैजना रोजगार बनेको भेट्टाएका छौँ’, प्रअ आचार्यले भने, ‘तर कुनै पनि वर्ष पूरै कोटामा अध्ययन भएको छैन ।’ पूर्वाधार अभाव जिल्लाको पुरानो विद्यालयले भौतिक संरचना, पूर्वाधार र स्रोतसाधन अभाव झेलिरहेको छ । भवन प्रशस्त भए पनि पुराना भइसकेका छन् । अतिरिक्त क्रियाकलाप गर्न ठाउँ अभाव छ । डेस्क र बेञ्च पुराना भइसकेका छन् । सिभिल सब ओभरसियरको प्रयोगशाला निर्माण हुन सकेको छैन । पुस्तकालय पनि विद्यालयले व्यवस्थित गर्न सकेको छैन भने विद्यालयको घेराबार गर्नुपर्ने आवश्यकता खड्किएको प्रअ आचार्यको भनाइ छ । विद्यार्थी सङ्ख्या प्रशस्तै रहेको विद्यालयमा खानेपानी र शौचालयको राम्रो प्रबन्ध हुन सकेको छैन । विसं २०६० मा नमूना बनेको यो विद्यालय अहिले सोही सुविधाबाट वञ्चित छ । नमूना विद्यालयका लागि आवश्यक मापदण्ड पूरा गर्न नसक्दा अनुदानबाट वञ्चित हुनु परेको आचार्यले बताए । उन्नाइस रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयको थप ३२ रोपनी पाखोबारीसमेत छ । ऐतिहासिक विद्यालय विद्यालयका शिक्षक दुर्गाप्रसाद रिजालका अनुसार यो ऐतिहासिक विद्यालयको स्थापना र सञ्चालनमा शिक्षासेवी जयनारायण रिजाल र उहाँका छोरा राजनीतिकर्मी तेजप्रकाश रिजालको भूमिका महत्वपूर्ण छ । जयनारायणको गोठमा मार्गदेवी स्कुलका नामले पठनपाठन सुरु भएको विद्यालयले २००५ सालमा अनुमति पाएको थियो । सोही वर्ष जयनारायणको निधन भयो । त्यसपछि उहाँका छोरा तेजप्रकाशले विद्यालय सञ्चालनको अगुवाई गरे । विसं २००६ मा निर्माण थालेर २००८ सालमा भवन निर्माण सम्पन्न गरिएको थियो । पुरानो भव्य भवन सशस्त्र द्वन्द्वको समयमा २०६१ फागुन २४ गते आगजनीबाट क्षतिग्रस्त भयो । सबै पुराना सामग्री आगजनीबाट नष्ट भए । मार्गदेवी आधार स्कूल जयनारायण रिजालको योगदानको कदर गर्दै जयनारायण आदर्श माध्यमिक विद्यालय बनाइएको हो । विसं २०१८ मा यस विद्यालयले माध्यमिक तह सञ्चालनको अनुमति पाएको थियो । रिजाल परिवारकै अम्बिकाप्रसाद रिजाल स्थापना कालदेखि २०१८ सालसम्म प्रधानाध्यापक रहेको थियो भने विद्यालय स्थापना हुँदा एक सय २२ विद्यार्थी रहेको विद्यालयको स्मारिकामा उल्लेख छ । विद्यालयको उन्नयनमा रिजाल परिवारको योगदान छ । विद्यालय स्थापनापछि २०१८ सालसम्म अम्बिकाप्रसाद रिजाल प्रअ रहे । संस्थापक जयनारायणकै छोरा दुर्गाप्रसाद २०२६ सालदेखि २०४५ सालसम्म प्रअ रहे । यस्तै संस्थापक प्रअ अम्बिकाप्रसादका छोरा कमलप्रसाद २०५२ देखि २०५६ सालसम्म प्रअ भए। रिजाल परिवारकै भवानीशङ्कर २०४५ सालदेखि २०४९ सालसम्म तथा इन्द्रप्रसाद २०४९ देखि २०५२ र २०५८ देखि २०६६ सालसम्म प्रअ रहे । रिजाल परिवारभन्दा बाहिरबाट कमलबहादुर पराजुली, विनोदकुमार अधिकारी र हालका प्रअ आचार्य मात्रै यहाँको शैक्षिक गतिविधिको नेतृत्वमा आएको पाइन्छ । रासस
पोखराको होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी
गण्डकी । आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो । होटलको सेवाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले १० करोडको लगानीमा पोखरामा होटल व्यवसाय सञ्चालनमा ल्याइएको बताए। आतिथ्य सेवामा प्रालिले हालसम्म झण्डै ६० करोड लगानी गरिसकेको जनाइएको छ। होटलका देशभरका शाखामा गरी तीन सय बढीले रोजगारी पाएको होटलका प्रबन्ध निर्देशक ज्ञवालीले उल्लेख गरे। ‘काठमाडौँ र नेपालगञ्जमा पनि सेवा विस्तारको तयारीमा छौँ”, उनले भने। आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी पोखरामा सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ । कम्पनीले आउँदो दशकभित्र होटलका एक सय शाखा विस्तार गर्ने लक्ष्य लिएको छ। ‘जहाँबाट आतिथ्यको सुरुआत हुन्छ’ आदर्श वाक्यसहित होटल पौवा आतिथ्य सेवा क्षेत्रमा प्रवेश गरेको थियो । पौवा प्रालिमा डेढ सय बढी लगानीकर्ता जोडिएका छन् । ‘होटलमा लगानी गर्नु चुनौतीपूर्ण छ, तर हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्न होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौँ’ प्रबन्ध निर्देशक ज्ञवालीले भने, ‘हामीले प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता नेपालीपनको हुने प्रतिबद्धता व्यक्त गर्दछौँ।’ आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पोखरालाई रोजिएको होटल व्यवस्थापनले जनाएको छ। पौवामा आउने जोकोही पाहुनाले नेपाली संस्कृति, संस्कार र रैथाने स्वादको अनुभूति गर्न पाउने होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । पोखरामा खुलेको पौवाको ११औँ शाखाको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबाट औपचारिक शुभारम्भ हुने जनाइएको छ । सो अवसरमा नेपाली आतिथ्यता प्रवद्र्धन, फुड टेस्टलगायतका कार्यक्रम आयोजना गरिने भएको छ । रासस
मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । भालि शुक्रबार पनि लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भेगमा आंशिक बदली रहनुका साथै लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ । आज काठमाडौंमा मौसम सफा रहेको छ । बिहानैदेखि पारिलो घाम लागे पनि अपराह्नतिर हल्का वर्षाको सम्भावना छ । आज काठमाडौंको न्यूनतम तापक्रम ११ र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको छ ।
एउटै सहकारीले धितोमा रहेका ३८ वटा सवारी साधन बेच्दै
काठमाडौं । अमृत बचत तथा ऋण सहकारी संस्थाले धितोमा राखिएको ३८ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । सहकारी संस्थाबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि सहकारीले धितो राखिएका सम्पत्ति बिक्री गरेर असुल गर्ने जनाएको छ । सहकारी संस्थाबाट कर्जा लिएका ३८ जना ऋणीको नाम र धितो सार्वजनिक गर्दै साँवा ब्याज तथा हर्जना लगायतको रकम १५ दिनभित्र नतिरेमा लिलाम बिक्री गरेर असुल गर्ने बताएको हो । सहकारीबाट ऋण लिँदा धितो राखिएका सवारी साधन बिक्री गर्ने जनाएको छ । सहकारी ऐन, सहकारी नियमावली, संस्थाको विनियम, कर्जा प्रवाह, लगानी तथा असुली निर्देशिका र अन्य प्रचलित कानून अनुसार सहकारी संस्थासँ भएको कर्जा लिखतको शर्त अनुसार कारबाही गरी धितो सुरक्षण दिएका सवारी साधनबाट असुल गर्ने संस्थाले बताएको छ । यदि उक्त उक्त सवारीबाट रकम असुल नभएमा ऋणीले एकाघर सँगोलको सदस्यहरूको नाममा रहेको चलअचल सम्पत्तिबाट असुल उपर गर्ने सहकारीले चेतावनी दिएको छ । अमृत बचत तथा ऋण सहकारी संस्था काठमाडौंको किर्तिपुर १ अमृतनगरमा रहेको छ ।
एकैपटक बैंक र रेमिट्यान्स कम्पनीको सञ्चालक बन्न नपाइने
काठमाडौं । बैंक तथा वित्तीय संथाका सञ्चालक कायम रहेका ब्यक्ति एकैपटक रेमिट्यान्स कम्पनीको सञ्चालक बन्न नपाउने भएका छन् । कुनै बैंक तथा वित्तीय संस्थामा बहाल सञ्चालक रहेको ब्यक्ति एकै पटक रेमिट्यान्स कम्पनीको सञ्चालक बन्न नपाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र जारी गर्दै अन्य इजाजतपत्रप्राप्त/अनुमतिप्राप्त संस्थामा संलग्न हुन नपाइने व्यवस्था गरेको हो । ‘राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थामा सञ्चालक वा पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त मनिचेञ्जर वा विप्रेषण कम्पनीमा सञ्चालक÷पदाधिकारी पदमा बहाल रहन पाउने छैन,’ राष्ट्र बैंकले भनेको छ । साथै, राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त मनिचेञ्जर वा विप्रेषण कम्पनीको सञ्चालक तथा पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक अन्य मनिचेञ्जर वा विप्रेषण कम्पनीमा सञ्चालक तथा पदाधिकारी पदमा बहाल रहन नपाउने व्यवस्था गरेको हो । तर, नेपाल सरकार वा राष्ट्र बैंकले नियुक्त गरेको अवस्थामा उक्त व्यवस्थाले बाधा नपुर्याउने बताइएको छ । उक्त व्यवस्था २०८० असोज मसान्तभित्र नियमित गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
दोस्रो बजारभन्दा ५० रुपैयाँ महँगोमा सेयर बेच्दै एनएमबि बैंक
काठमाडौं । एनएमबि बैंकले दोस्रो बजारभन्दा ५० रुपैयाँ महँगो मूल्यमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइरहेको मूल्यभन्दा बढी मूल्य तोकेर संस्थापक सेयर बिक्री गर्ने भएको हो । नेप्सेमा पछिल्लो पटक बैंकको संस्थापक सेयर प्रतिकित्ता १३१.४० रुपैयाँमा कारोबार भएको छ । तर, बैंकले बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता न्युनतम १८० रुपैयाँ तोकिएको छ । दोस्रो बजारमा कायम रहेकोभन्दा प्रतिकित्ता ४८.६ रुपैयाँ महँगोमा बैंकले सेयर बिक्रीमा राखेको हो । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ६७ हजार ७०६ कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरु जयनारायण नेपालको नाममा रहेको १५ हजार ४०१ कित्ता र मान बहादुर फागुको नाममा रहेको ५२ हजार ३०५ कित्ता गरी कूल ६७ हजार ७०६ कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकको उक्त सेयरमा चैत १६ गतेदेखि चैत २३ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य प्रतिकित्ता न्युनतम १८० रुपैयाँ तोकेको छ । इच्छुक लगानीकर्ताले आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंतिक गरी बोलकबोल गर्नुपर्नेछ । बैंकको उक्त सेयर संस्थापक सेयरधनी तथा अन्य ब्यक्ति वा संथाहरुले पनि खरिद गर्न पाउनेछन् । बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
मेन्छियाम हाईड्रोको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट
काठमाडौं । मेन्छियाम हाईड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको सेयर बाँडफाँट गरेको हो । कम्पनीले फागुन १० गतेदेखि फागुन २५ गतेसम्म १ करोड ८ लाख ५१ हजार ७ सय रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको थियो । कम्पनीले बिक्री गरेको सेयरमा रितपूर्वक परेको आवेदनलाई चैत ७ गते बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । सेयर बाँडफाँटको नतिजा क्यापिटलको वेबसाइट र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरेको आईपीओ रिजल्टबाट हेर्न सकिनेछ । साथै सम्पूर्ण सि–आस्वा सदस्यहरूले बाँडफाँटमा सेयर पर्न सफल आवेदकहरूको रकम निष्काशन तथा बिक्री प्रबन्धकले उपलब्ध गराएको बैंक खातामा जम्मा वा रकमान्तरण गर्न र सेयर नपरेका सम्वन्धित आवेदकहरूको बैंक खाता फुकुवा गरिदिन आग्रह गरेको हो ।