कुमारी बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । कुमारी बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंकले वित्तीय साक्षरता—ग्लोबल मनी वीक २०२३ क्रार्यक्रम सम्पन्न गरेको हो । कुमारी बैंकले लोपोन्मुख जातीय समुदाय, महिला समूह, खेलकुद टोली समेत गरि ५० विविध स्थानमा सञ्चालन गरेको छ । बैंकले ५० भन्दा बढी स्थानमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ । वित्तीय साक्षरता कार्यक्रम देशका विभिन्न पेशाकर्मी, विद्यार्थीहरु, श्रमीक समुह, खेलाडीहरु, सुगम तथा दुर्गम क्षेत्रमा अवस्थित समुदायहरुलाई लक्षित गरि सम्पन्न गरिएको थियो । बैंकको कार्यक्रममा तीन हजार भन्दा बढीको सहभागिता रहेको थियो । बैंकले कर्णाली, सुदूरपश्चिम, मधेसका दुर्गम क्षेत्र लगायत देशका सबै भागमा समान रूपमा कार्यक्रम सञ्चालन गरेकोे थियो । बैंकले रुकुम, दैलेख र कर्णाली प्रदेश साथै अन्य क्षेत्रहरुमा वित्तिय सचेतना कार्यक्रम सञ्चालन गरेको छ । छनोट गरिएका क्षेत्रहरूमा युवा, महिला, वृद्ध लगायतका समुहका सहभागीहरु समावेश भएका थिए । बैंकले वित्तीय साक्षरताको महत्व युवा विद्यार्र्थीहरुका साथै अन्य वर्ग, समुदायमा पनि समान रहेको आवश्यकतालाई आत्मसात गर्दै विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरि कार्यक्रमहरु सञ्चालनमा ल्याएको थियो ।
पाँचखालको तरकारीमा विषादीको मात्रा घट्यो
पाँचखाल । पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको अवशेष घटेको छ । नगरलाई विषादी मुक्त बनाउँदै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले पाँचखाल नगरपालिका र लवग्रीन नेपालले पाँच वर्षअघि सुरु गरेको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजना आइपीएमले कीटनाशक तथा ढुसीनाशक विषादी प्रयोग कमी आएको तथ्याङ्क सार्वजनिक गरेका छन् । पाँचखालको विभिन्न मितिमा विभिन्न प्रकारका तरकारी परीक्षणसम्बन्धी आधारभूत सर्वेक्षण र अन्तिम सर्वेक्षणको परिणामबाट विषादीको प्रयोग कम गरी जैविक विषादीको प्रयोग धेरै हुन थालेको जनाइएको हो । खाद्य प्रविधि प्रयोगशालामा विषादीको ४५ प्यारामिटरमा विश्लेषण गर्दा विषादीको रुकावट इमिसन रेट ८५ प्रतिशत नमूनामा विषादीको कुनै पनि अवशेष नपाइएको र १५ प्रतिशतमा तोकिएको मापदण्डभन्दा निकै कम प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । लव ग्रीन नेपालका कार्यकारी निर्देशक नारायण ज्ञवालीका अनुसार २०७९ वैशाख २ गते आलु, बकुल्ला, रायो साग, बन्दा, गाँजर, रातो बन्दा, गोलभेँडा, मुला, भेडे खुर्सानीको परीक्षण गरेको थियो भने २०७९ जेठ ११ गते धनियाँ, काउली, रातो बन्दा, मुला, रायो, ब्रोकाउलीमा प्रयोग भएको विषादी परीक्षण गरिएको थियो । परीक्षण गरिएको २० प्रकारका तरकारीमा बोडीमा अलिक धेरै विषादीको प्रयोग गरेको देखिए पनि ३५ प्रतिशतभन्दा कम भएकाले खानयोग्य भएको प्रमाणपत्र उपलब्ध गराइएको थियो । कृषि विभाग केन्द्रीय कृषि प्रयोगशाला, कृषि ज्ञान केन्द्र प्रयोगशाला, खाद्य प्रविधि प्रयोगशालाले विषादीको मात्र ३५ प्रतिशतसम्म भए खान योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही समय राखेर खान हुने र ४५ प्रतिशतभन्दा माथि भएमा खान अयोग्य हुने प्रमाणित गर्ने गरेको छ । सोमबार पाँचखालमा सार्वजनिक गरिएको प्रतिवेदनमा २०७४ भदौबाट परियोजनाको पाँच वर्षको अवधिमा कीटनाशक विषादी, ढुसीनाशक विषादी, रासायनिक मल, फस्फोरस र पोटासलगायतको प्रयोग उल्लेख्यरूपमा घटेको देखाएको हो । परीक्षणको प्रतिवेदअनुसार पाँचखालमा उत्पादन भएका अधिकांश तरकारीमा प्रयोग भएको विषादीको मात्र दुईदेखि १९ प्रतिशतसम्म रहेको छ । बन्दामा दुई दशमलव पाँच र लोकल बोडीमा १८ प्रतिशत अर्गानोफस्फेट प्रयोग गरिएको छ । तुने बोडीमा २७ दशमलव पाँच प्रतिशत देखिएको हो । पाँच वर्षका अवधिमा कृषकले औषत प्रतिरोपनी वार्षिक ८६ एमएल कीटनाशक विषादी प्रयोग गर्ने गरेकामा अहिले छ दशमलव पाँच एमएलमात्रै प्रयोग गर्ने गरेका छन् भने ढुसीनाशक विषादी औषत प्रतिरोपनी वार्षिक एक दशमलव ०८ केजी प्रयोग गर्ने गरेकामा शून्य दशमलव दुई सय २३ केजी प्रयोग गर्न थालेका छन् । जसका कारण तरकारी बालीमा प्रयोग हुने विषादीको प्रयोग घटेको हो । कीरा नियन्त्रण गर्नका लागि कृषकले मोहनी तथा पहेँलो पासोको प्रयोगलाई बढवा दिएका छन् । सर्वेक्षित क्षेत्रका ८४ दशमलव एक प्रतिशत घरपरिवारले यसको प्रयोग गर्ने गरेका छन्, जुन परियोजना सञ्चालन गर्नुभन्दा पहिले चार प्रतिशतले मात्र गर्ने गरेका थिए । विषादीको विकल्पमा परियोजनाले कृषकहरुले पशु मूत्रको प्रयोगमा उल्लेख्य वृद्धि गरी विगतमा एक रोपनी जग्गामा औसत एक दशमलव पाँच लिटर प्रयोग हुने गरेकामा अहिले ३३ दशमलव एक लिटर पशु मूत्र प्रयोग गर्ने गरेका छन् । परियोजना लागू भएका कुनै पनि घरधुरीले रातो लेबलको विषादी प्रयोग गर्दैनन्, तर अन्तिम अवस्थामा बाली जोगाउन प्रयोग गर्नुपर्ने अवस्था आएमा निलो र हरियो लेबलको विषादीलाई प्रयोग गरेका छन् । जैविक विषादीको प्रयोग सुरुमा दुई दशमलव पाँच प्रतिशत घरधुरीले प्रयोग गर्ने गरेकामा अहिले ७० दशमलव चार प्रतिशतले प्रयोग गर्ने गरेका छन् । औसत एक घरधुरीले वार्षिक तीन सय १५ लिटरभन्दा बढी वानस्पतिक विषादीको प्रयोग गर्ने गरेको तथ्याङ्कले देखाएका हुन् । त्यस्तै कृषकले पशु चौपाया गाई–भैँसीलाई सुविधायुक्त बसोबासका लागि भकारो सुधार र पशुपालन व्यवस्थापन गरेका छन् । पहिले २९ घरधुरीले भकारो सुधार गरेकामा हाल एक सय ९१ घरधुरीले भकारो सुधार गरी पशुहरूलाई रोग लाग्नबाट जोगाई मृत्युदरमा कम गरेका छन् । वार्षिक औसत तीन दशमलव नौ बाट झरेर एक दशमलव तीन पशु चौपायाको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । पशुपालनमा वृद्धि भई पहिला प्रतिघरधुरी एक दशलमव सात पशु चौपायाबाट बढेर दुई र बाख्रामा चार दशमलव तीन प्रतिघरधुरीबाट बढेर ११ दशमलव सातवटा पाल्ने गरेका छन् । पाँचखाल नगरप्रमुख महेश खरेलले तरकारी परीक्षणबाट आएको रिपोर्टले यहाँ उत्पादन भएको तरकारी खानयोग्य भएको बताए । उनले सार्वजनिक गरिएको प्रतिवेदले वर्षौँदेखि ‘पाँचखालको तरकारी खान अयोग्य’ भनिने कथनलाई उल्ट्याइदिएको बताए । उनका अनुसार तरकारीमा विषादी प्रयोग कम भएसँगै बजार विस्तारका लागि सहज बनाउन कृषकहरूले कालीमाटी तरकारी बजारको मूल्य बिहानै मोबाइलमार्फत थाहा पाउन थालेका छन् । परियोजनाअन्तर्गत नगरका एक सय ९१ महिलासहित तीन सय कृषकलाई नमूना अगुवा कृषक, तीन सय ६२ लाई आइपिएम कृषक, दुई सय ४१ लाई साधारण आइपिएम कृषक र पशुपालन तथा अन्य चार सय २४ कृषक गरी कुल एक हजार तीन सय ३७ कृषक प्रत्यक्ष लाभग्राही बनाइएको थियो । यस्तै माध्यमिकस्तरका पाँच हजार दुई विद्यार्थीलाई विद्यालयमै रासायनिक मल तथा विषादीको असर र त्यसको न्यूनीकरणका उपाय र दिगो कृषिको अवधारणाका बारेमा कक्षा सञ्चालन गरिएको थियो । रासस
भारतको सस्तो मह आयात रोक्न माग
चितवन । स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ । चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सो माग गरेका हुन् । कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले गत माघदेखि महको बिक्री हुन नसकेको बताए । उनले बिक्री नभएर नेपालमा अझै एक हजार पाँच सय मेट्रिक टन मह मौज्दात रहेको बताए । सोही अनुपातमा भारतबाट गुणस्तरहीन मह आयात भएको उनले जानकारी दिए । भारतबाट गुणस्तरहीन मह सस्तोमा आयात हुँदा नेपाली मह बिक्रीमा समस्या आएको उनको भनाइ छ । नेपालमा वार्षिक महको खपत आठ हजार मेट्रिक टन हुँदै आएको छ । नेपालबाट आठ मेट्रिक टन मह निर्यातसमेत भएको छ । नेपालमा वार्षिक ३० करोड ३४ लाख रुपैयाँ बराबरको मह आयात हुँदा १६ करोड ८१ लाख रुपैयाँको मह निर्यात भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । नेपाल मौरीपालन महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले स्वदेशी महले बजार नपाउँदा किसान समस्यामा परेको बताए । उनले सरकारले नीतिगत पहल नगर्दा नेपाली किसानको मह उत्पादन हुन नसकेको गुनासो गरे । उनकाअनुसार पछिल्लो चार महिनामा दुई सय मेट्रिक टन मह आयात भएको छ । मौरीविज्ञ डा शिवप्रसाद रिजालले मौरी र महको विषयमा जनचेतना जगाउन आवश्यक रहेको बताए । मौरी र पर्यावरण विषयमा कार्यपत्र पेस गरेका रिजालले मौरीले पारिस्थितिक प्रणालीलाई कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले महको बजारीकरणका विषयमा स्थानीय तहलाई अधिकार दिएकाले जनप्रतिनिधि सक्रिय भएर लाग्नुपर्ने धारणा राखे । मह दिवसका अवसरमा नेपाल मौरीपालक महासङ्घ चितवनले जिल्ला प्रहरी कार्यालय अगाडि सर्वसाधरणलाई महसमेत खुवाएको थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले किसानको समस्यालाई समाधान गर्नका लागि पहल गर्ने बताए । उनले स्थानीय तहका प्रमुखलाई राखेर समस्याका समाधान खोजिने बताए । मौरी विकास कार्यक्रम भण्डारा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ चितवन, कृषि ज्ञान केन्द्र र नेपाल मौरीपालन महासङ्घ चितवनले अन्तक्र्रिया र सर्वसाधरणलाई मह खुवाएर मह दिवस मनाएका हुन् । रासस
म्याग्दीमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन
गलेश्वर । पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहुँदा दाताले दिएको मेसिन प्रयोगविहीन भएको हो । एक्सरे मेसिन प्रयोगमा नआउँदा बिरामीलाई सदरमुकाम बेनी आउनुपर्ने बाध्यता छ । लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट-३२५ आई नेपालले उपलब्ध गराएको ५०० एमए एक्सरे मेसिन उपयोगहीन भएको लायन्स क्लब अफ दरबाङका अध्यक्ष थमन गौतमले जानकारी दिए । स्वास्थ्य केन्द्रमा पश्चिम म्याग्दीको मालिका,धवलागिरी गाउँपालिका साथै छिमेकी बागलुङका विभिन्न बस्तीबाट बिरामी आउने गर्दछन् । दैनिक ३० देखि ४० जनाले सेवा लिने केन्द्रमा अतिआवश्यक एक्सरे मेसिन नै प्रयोगमा नआएपछि समस्या भएको उनले बताए। स्वास्थ्य केन्द्रका डा विजय शर्माले भने, ‘एक्सरे मेसिन प्रयोग नहुँदा समस्या भएको छ, विद्युत् आपूर्ति गरी सञ्चालनको पहल भइरहेको छ।’ उनका अनुसार स्पेपलाइजर ५० केभीएको मेसिन मालिका गाउँपालिकाले खरिद गर्ने सम्झौता भएको छ । एक्सरे मेसिन प्रयोगका लागि निक साइमनबाट रेडियोग्राफर सुमन चक्रधरसमेत केन्द्रमा कार्यरत छन् । लायन्स क्लबले केन्द्रलाई कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको थियो । लायन्स क्लबका पदाधिकारीले गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडाध्यक्ष पथबहादुर रोकाको उपस्थितिमा ती मेसिन हस्तान्तरण गरिएको जनाइएको छ ।
पूँजी बजारको ‘हट केक’को लाभांशमा कैँची लागेपछि सेयरमा भारी गिरावट
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था एक वर्ष अघिसम्म पूँजी बजारको ‘हट केक’का रुपमा कारोबार भइरहेको थियो । लघुवित्त वित्तीय संस्थाहरुको समूहमा सबैभन्दा उच्च मूल्य भएको जीवन विकास लघुवित्तका लगानीकर्ताहरु पनि उत्साहित थिए । सेयर मूल्य उच्च भएकै बेला कूल ७३.६८४२ प्रतिशत बम्फर लाभांश घोषणा गरेर सेयरधनीहरुलाई थप हौँसला प्रदान गर्याे । जसले सेयर मूल्य झनै माथि पुर्याउन सहजीकरण गर्याे । लघुवित्तले २०७८ को चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले ७० प्रतिशत बोनस सेयर र ३.६८४२ प्रतिशत नगद गरी कूल ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । जतिबेला लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ५ हजारकै आसपासमा कारोबार भइरहेको थियो । लघुवित्तले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ २०७८ चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुक क्लोज निर्णय गरेको थियो । बुक क्लोजको दिनसम्म लघुवित्तको सेयर मूल्य बढेर प्रतिकित्ता ५ हजार २ सय रुपैयाँ बढी पुग्यो । बुक क्लोज गरेसँगै नेप्सेले ७० प्रतिशत बोनस सेयर मूल्यमा समायोजन गर्याे । लघुवित्तको सेयर मूल्य घटेर ३ हजार ३ सय रुपैयाँमा झर्याे । यस्तै, गत फागुन ८ गते लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २८ प्रतिशत बोनस सेयर र ९.३६ प्रतिशत नगद गरी कूल ३७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्याे । जतिबेला लघुवित्तको सेयर प्रतिकित्ता २ हजार ७ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको थियो । तर, फागुन १९ गते राष्ट्र बैंकको निर्देशन भन्दै लघुवित्तले लाभांश दर संशोधन गरेको सूचना सेयरधनीहरुलाई दियो । राष्ट्र बैंकले फागुन १० गते जारी गरेको परिपत्र बमोजिम लघुवित्तले सबै प्रक्रिया पुर्याएर २६ प्रतिशत बोनस सेयर र ७.१५ प्रतिशत नगद गरी कूल ३३.१५ प्रतिशत स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्याे । राष्ट्र बैंकले लघुवित्तलाई लिखित रुपमै निर्देशन दिएर १५ प्रतिशत भन्दा बढी लाभांश वितरण नगर्न निर्देशन दिएपछि पुनः लाभांश घटाउन बाध्य भयो । लघुवित्तको सञ्चालक समितिको चैत ९ गते बसेको बैठकले पुनः लाभांश घटाएर प्रस्ताव गर्याे । अब लघुवित्तले १४.२८५ प्रतिशत बोनस सेयर र ०.७१४ प्रतिशत नगद गरी कूल १४.९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । राष्ट्र बैंकको निर्देशनमा लघुवित्तले १५ प्रतिशत मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेपछि स्वीकृति पनि पाइसकेको लघुवित्तका एक कर्मचारीले विकासन्युजलाई जानकारी दिए । राष्ट्र बैंकले लघुवित्त संस्थामाथि चालेका यी कदमले सेयरधनीहरु भने रुष्ट बनेका छन् । जसको प्रत्यक्ष असर पूँजी बजारमा लघुवित्तको सेयर मूल्यमा परेको छ । निरन्तर ओरालो लाग्दै आएको लघुवित्तको सेयर मूल्यमा आइतबार १० प्रतिशत नकारात्मक सर्किट लाग्यो । सोमबार लघुवित्तको सेयरमूल्य प्रतिशत अर्थात् ४१ रुपैयाँ घटेर १ हजार ४९८ रुपैयाँमा झरेको छ । सोमबार लघुवित्तको ३३ हजार ४२२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर मूल्य घटेको भएपनि लघुवित्तको सेयर कारोबार भने बढेको छ । सोमबार नेप्सेमा सबैभन्दा धेरै सेयर कारोबार हुनेमा जीवन विकास लघुवित्त दोस्रोमा छ । सोमबार लघुवित्तको कूल कारोबारमा नासा सेक्युरिटीजबाट ११ प्रतिशत बिक्री भएको छ । त्यस्तै, सोही ब्रोकरले ८ प्रतिशत सेयर खरिद गरेको छ । यस्तै, अन्य ब्रोकर इम्पेरियल, भिजनले पनि ५/५ प्रतिशत सेयर खरिद गरेका छन् । भिजनले १ प्रतिशत सेयर बिक्री गरेको छ । लघुवित्तको सेयर बिक्री गरेर अहिले नै लगानीकर्ताहरु निस्केको भन्न नमिल्ने एक लगानीकर्ता बताउँछन् । लघुवित्तको बोनस सेयरमा राष्ट्र बैंकले कैँची लगाएको हुँदा सेयर मूल्य घटेको एक लगानीकर्ताले विकासन्युजलाई बताए । लघुवित्तको सेयर मूल्य घटेको बेलामा खरिद गरेको हुन सक्ने उनको भनाइ छ । ‘राष्ट्र बैंकले लघुवित्तलाई कडाइ गर्दा लगानीकर्ताको मनोविज्ञान बिग्रिएको थियो, झनै जीवन विकासको बोनस सेयरमा २÷२ पटक कटौति गरेपछि सरर घटेर तल झर्याे, सेयर मूल्य घटेको बेलामा लगानीकर्ताले खरिद गरेका हुन सक्छन,’ एक लगानीकर्ताले विकासन्युजसँग भने । राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई कडाइ गर्दा सेयर मूल्य घटिरहेको थियो । जीवन विकास लघुवित्तको सेयर मूल्य २ हजार ७ सयबाट घट्दै आएर २ हजारमा थामिएको थियो । तर, २ हजारमा थामिँदा राष्ट्र बैंकले २ पटक प्रस्तावित बोनस सेयरमा कटौति गर्याे । लघुवित्तले प्रस्ताव गरेको बोनसमा कैँची लगाएपछि प्यानिक भएर घटेको ती लगानीकर्ताले बताए । ‘राष्ट्र बैंकले गरेको कडाइले लघुवित्त समूह नै घटेको थियो तर, जीवन विकासले प्रस्ताव गरेको बोनस कटौति गर भनेर निर्देशन दिएपछि झनै प्यानिक सेलिङ भयो,’ उनले भने । नेप्सेको तथ्याङ्क अनुसार जीवन विकास लघुवित्तका सेयरधनीहरुले एक वर्षमा २ हजार ४१ रुपैयाँ गुमाउनु परेको छ । एक वर्षअघि अर्थात् लघुवित्तको सेयरमूल्य ३ हजार ५३० रुपैयाँमा कारोबार भएको थियो । तर, सोमबार अन्तिम कारोबार प्रतिकित्ता १ हजार ४८९ रुपैयाँमा भएको छ । यस आधारमा लघुवित्तका सेयरधनीहरुको सेयर मूल्य एक वर्षमा १३३ प्रतिशत घटेको हो । जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय कुमार मण्डल लघुवित्तको लाभांश आफूहरुले नघटाएको बताउँछन् । लाभांश नघटाएपछि राष्ट्र बैंकले एजिएम क्लिेरेन्स स्वीकृति दिन नमानेपछि घटाउन बाध्य भएको उनले बताए । ‘हामीले कोषमा छुट्याउनु पर्ने रकम छुट्याएर वितरण गर्ने लाभांश घोषणा गरेका थियौं, त्यतिबेला ३७ प्रतिशत लाभांश वितरणका लागि स्वीकृति माग्न राष्ट्र बैंकमा पेश गर्याै, राष्ट्र बैंकले स्वीकृत दिएन, फाइल अड्काएर राख्यो,’ उनले भने, ‘राष्ट्र बैंकले फागुन १० गते सर्कुलर जारी गर्याे, १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्दा ३५ प्रतिशत ग्राहक संरक्षण कोष (सीपीएफ) र १० प्रतिशत सीएसआरमा छुट्याउनु भनेर व्यवस्था गर्याे ।’ राष्ट्र बैंकको सोही व्यवस्था बमोजिम लघुवित्तले लाभांश संशोधन गरेर स्वीकृतिका लागि पठाएको सीईओ मण्डल बताउँछन् । जीवन विकास लघुवित्तले लाभांश घोषणा गर्दा राष्ट्र बैंकका सबै नियम कानुन, परिपत्र पालना गरेको उनको भनाइ छ । तर, राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण नगर्न निर्देशन दिएपछि घटाउन बाध्य भएको उनले बताए । ‘फागुन १० को सर्कुलर अनुसार लाभांश वितरणको लागि प्रस्ताव गर्याैं तर, राष्ट्र बैंकले तोकेरै १५ प्रतिशत मात्रै लाभांश वितरण गर्न निर्देशन दियो, राष्ट्र बैंकले भनेपछि हामीले मान्नै पर्छ,’ उनले भने, ‘लाभांश घटेपछि सेयर मूल्य घट्नु स्वभाविक हो, अहिले लघुवित्त क्षेत्रमा चुनौति छन्, यति धेरै राम्रो काम गर्दैगर्दा कसैले पनि राम्रो भन्दैनन्, लघुवित्तमा काम गर्नेलाई तनाव मात्रै छ ।’ अहिले वितरण गर्न नपाएको लाभांश रिजर्भमा रहने र अर्काे वर्ष वितरण गर्न पाइने उनले बताए ।
कुमारी बैंकले साढे ६१ हजार कित्ता सेयर बेच्दै, मूल्य कति ?
काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी राजेन्द्र कुमार घिसिङको नाममा रहेको ६१ हजार ४२५ कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको सेयरको मूल्य बिक्रेताले तोकिए बमोजिम हुने बैंकले जनाएको छ । बैंकको सेयरमा संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि तोकिएको अवधिमा आवेदन नपरेमा अन्य जोकाहीलाई बिक्री गरिने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल रहेको छ ।
कृषि विकास बैंकको आज १३ प्रतिशत लाभांश पारित हुँदै
काठमाडौं । कृषि विकास बैंकको वार्षिक साधारण सभा मंगलबार बस्ने भएको छ । बैंकको १६ औं वार्षिक साधारण आज चैत १४ गते बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, बैंकको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्न ३ जना सञ्चालकको निर्वाचन गर्नेछ । यस्तै, सहायक कम्पनी कोष व्यवस्थापन कम्पनी, गोबर ग्याँस र साना किसान विकास लघुवित्तको वित्तीय विवरण पनि पारित गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन ३० गतेदेखि चैत १४ गतेसम्म बुकक्लोज गरेको थियो । त्यसैले फागुन २९ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा उपस्थित भई लाभांश प्राप्त गर्नेछन् ।
एनआईसी एशिया बैंकले बेच्न थाल्यो सीआईटीको सेयर, प्रतिकित्ता ७१७ रुपैयाँ
काठमाडौं । एनआईसी एशिया बैंकले नागरिक लगानी कोष (सीआईटी)मा रहेको सेयर बिक्री गर्ने भएको छ । बैंकको स्वामित्वमा भएको नागरिक लगानी कोषको २५ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको संस्थापक सेयरमा चैत १३ गतेदेखि चैत २० गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७१७ रुपैयाँ तोकेको छ । सेयरको खरिद गर्न जोकोही इच्छुक लगानीकर्ताले आवेदन दिन पाउनेछन् । संस्थापक सेयर बिक्रीमा एनआईसी एशिया क्यापिटल रहेको छ । एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय काठमाडौं, शाखा कार्यालय मोरङ्गको विराटनगर, वीरगंजको आदर्शनगर, पोखराको महेन्द्रपुल, बुटवलको श्रवणपथ, धनगढीको हस्पिटललाइन र सुर्खेतको विरेन्द्रनगरबाट आवेदन दिन सकिनेछ । नागरिक लगानी कोषमा एनआईसी एशिया बैंकको कूल ३ लाख ८२ हजार ५९० कित्ता सेयर लगानी रहेको छ ।