ज्योति विकास बैंककाे संचालकमा राम कुमार श्रेष्ठ नियुक्त
काठमाडौं । ज्योति विकास बैंकले संचालकमा राम कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई संस्थापक सेयरधनीको तर्फबाट संचालकमा नियुक्त गरेको हो । योसँगै श्रेष्ठले चैत १३ गतेदेखि लागु हुने गरी आगामी साधारण सभासम्मको लागि संस्थापक सेयरधनीको तर्फबाट संचालकमा भुमिका निर्वाह गर्नेछन् ।
सरकारी विद्यालयमा पढाउनेलाई निःशुल्क स्वास्थ्य बीमा
तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो । गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठनपाठन गराउने निर्णय गरेको थियो । गाउँपालिकाको वडा नं ४, ५ र ६ का सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। ‘पहिलो चरणमा दुर्गम क्षेत्रका बासिन्दालाई प्राथमिकता दिन लागेका हौँ’, उनले भने, ‘स्वास्थ्य बीमा गरेपछि नागरिकले रु एक लाख बराबरको निःशुल्क उपचार सेवा लिन सक्नेछन् ।’ स्वास्थ्य बीमा गर्दा प्रतिपरिवार रु तीन हजार पाँच सय शुल्क लाग्ने छ । स्वास्थ्य बीमा गरेपछि साथमा पैसा नहुँदा दुर्गम र गरिब परिवारले सहजरूपमा उपचार पाउने विश्वास गरिएको छ । सामुदायिक विद्यालय सुधार अभियानअन्तर्गत आबुखैरेनीले बाल विकासदेखि कक्षा ५ सम्मका छात्रछात्रालाई निःशुल्क ट्रयाकसुट, झोला, जुत्ता–मोजा तथा टिसर्टलगायका सामग्री वितरण थालेको अध्यक्ष चुमानले जानकारी दिए। यसैगरी विद्यालय भवनमा गर्नुपर्ने सम्पूर्ण मर्मत, छाना, फ्लोरिङ, रङरोगन, डेस्क–बेन्च फेर्नेलगायतका कार्य यसै चैत मसान्तसम्म सम्पन्न गर्ने गरी काम थालिएको छ । कक्षा नर्सरीदेखि कक्षा २ सम्म स्मार्ट टिभी राखी सिकाइ सहजको व्यवस्था मिलाइने, घन्टौँ हिँड्नुपर्ने केही विद्यालयलाई स्कुलबस हस्तान्तरण गरी समस्या समाधान गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । त्यसैगरी विषयगत पर्याप्त दरबन्दी पठाउन गाउँपालिकाबाट नै आफ्नै स्रोतमा शिक्षक परिचालनका लागि आबुखैरेनी क्याम्पसका युवा परिचालन गर्ने तयारी थालिएको छ । सामुदायिक विद्यालयको निरन्तर अनुगमन गरी गुणस्तरीय शिक्षामा योगदान गर्ने विद्यालयलाई प्रोत्साहन गर्नेलगायतका कार्यक्रम रहेको उनले बताए । रासस
प्रतितोला एक हजार रूपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज एक लाख आठ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख आठ हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार तीन सय ५५ मा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
आदर्शलाई प्राप्ति गर्न डिप्रोक्स लघुवित्तले गर्याे अन्तिम सम्झौता
काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौता भएको छ । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्न चैत १३ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । दुवै लघुवित्तबीच सेयर स्वाप रेसियो १ः१ अनुपात कायम हुनेगरी मर्ज हुने भएका हुन् । अर्थात् डिप्रोक्स लघुवित्तको १ कित्ता सेयर बराबर आदर्श लघुवित्तको १ कित्ता सेयर कायम हुनेछ । मर्जरपश्चात् डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार हुने जनाएको छ । साथै दुवै लघुवित्तको वार्षिक साधारण सभाले एकआपसमा मर्ज हुने सम्बन्धी विशेष प्रस्ताव पारित गरिसकेका छन् । दुवै लघुवित्तबीच गत असोज १४ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्सले काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आदर्श लघुवित्तलाई प्राप्ति गर्ने भएको हो । सम्झौतामा डिप्रोक्स लघुवित्तको तर्फबाट सञ्चालक समिति अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तको तर्फबाट सञ्चालक समिति अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका हुन् । मर्जर पश्चात् लघुवित्तको सीईओ शेष प्रसाद आचार्य बन्नेछन् । उनी हाल डिप्रोक्स लघुवित्तका सीईओ हुन् ।
सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् । मंगलबार विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुलाई प्रदर्शनस्थ्लमा भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताएका हुन् । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताए । उनले आफ्नो पार्टी पीडितहरुको साथमा सदैव रहेको पनि बताए । सभापति लामिछानेले मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्नु नहुने बताए । उनले मिटरब्याज पीडितहरुको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसेक्ने भन्दै वास्तविक पीडितहरुको समस्या समाधान गर्ने बताए । उनले सरकारले आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई पहिलो प्राथमिकतामा नराखेसम्म समस्याको समाधान हुन नसक्ने स्पष्ट पारे । उनले भने, ‘हाम्रो पार्टी र हामी तपाईहरुको साथमा छौँ, यसलाई राजनीतिकरण गर्नको लागि होइन, तपाईहरुको मुद्दामा टेकेर आफ्नो राजनीतिको रोटी सेक्न होइन, वास्तविक पीडितहरु हुनुहुन्छ भन्ने थाहा पाएपछि तपाईहरुलाई साथ दिनको लागि हामी आएका हौँ । राज्यले उहाँहरुलाई राम्रोसँग बस्ने सुविधा दिनुपर्छ । उहाँहरुलाई सुरक्षित बनाउनुपर्छ । उहाँहरुको माग तुरुन्त समाधान गर्नुपर्छ ।’ मिटरब्याज पीडितहरुको विरोध प्रदर्शनमा रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्याल पनि सहभागी भएका थिए ।
मिटर ब्याज पीडितलाई मेयर बालेनले भने : प्रधानमन्त्री निवासमा गएर धर्ना दिनुस्
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले मधेसदेखि काठमाडौंसम्म हिँडेर आएका मिटरब्याज पिडितलाई प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन सुझाव दिएका छन् । समस्या समाधानको लागि दबाब दिन उपयुक्त ठाउँ प्रधानमन्त्ती निवास बालुवाटार भएको सुझाव दिएपछि गएको प्रमुख शाहले बताएका छन् । ‘खुलामञ्चको विषयमा अनावश्यक उर्जा खर्चिन भन्दा समस्या समाधानको लागि दबाब दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिएपछि उहाँहरु बालुवाटारतिर लाग्नुभएको छ’, शाहले आफ्नो स्टाटसमा लेखेका छन् । महानगरका प्रमुख ‘बालेन’ले मिटरब्याज पिडितहरुलाई शिबिरको व्यवस्था गरेर राख्नुभन्दा न्यायको अनुभूति दिलाएर घर फर्किने वातावरण बनाउनुर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रमुख शाहले पिडितहरुलाई खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद रहेको बताएका छन् । ‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो, शिविर बनाएर महिनौं वा वर्षौं बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केहि घण्टामा न्यायको अनुभूति दिलाउनुपर्ने हो, यसो नगरी सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ’, प्रमुख बालेनले लेखेका छन् । पिडितहरुले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौं आइपुग्नुले संघीयतालाई प्रश्न गरेको प्रमुख शाहले बताएका छन् । सरकारले छिटो चासो दिनुपर्ने उनको भनाइ छ ।
मिटरब्याज पीडितको बिहानैदेखि विरोध प्रदर्शन
काठमाडौं । मिटरब्याजी पीडितहरुले आज बिहानैबाट विरोध प्रदर्शन शुरु गरेका छन् । पीडितहरुले आज बिहानैदेखि काठमाडौंको टंगालमा विरोध प्रदर्शन गरेका हुन् । तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमवार खुलामञ्चअघि प्रदर्शन गेका थिए भने आज भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा विरोध प्रदर्शन गरेका हुन् । पीडितहरु खुलामञ्चमा बस्नको लागि आएपनि काठमाडौं महानगरपालिकाको नगरप्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि उनीहरुले खुलामञ्च बाहिरको सडकमा नै सोमबारको रात बिताएका थिए। पीडितहरुले महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन साहबिरुद्ध नाराबाजी समेत गरेका थिए। उनीहरुले मिटरब्याजीलाई कारबाही गर्, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गर् लगायतका नारा लगाइ र प्लेकार्ड बोकेर विरोध गरेका छन्।
बेदकोटमा १५ शय्याको अस्पताल भवन निर्माण हुँदै
कञ्चनपुर । सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवन निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं ३ मा नौ करोड ७४ लाख रुपैयाँको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो । अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवा कम्पनीलाई जिम्मा दिइएको छ । निर्माण कम्पनीसँग अस्पताल निर्माणका लागि दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भए पनि साइड क्लियर नहुँदा निर्माण ढिलो गरी सुरु भएको छ । नगरप्रमुख भोजराज बोहराले अस्पताल निर्माण अगाडि बढेको बताए । ‘अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भए पनि आवश्यक जग्गाको व्यवस्थापन नहुँदा कार्य अगाडि बढ्न सकेको थिएन’, उनले भने, ‘जग्गा व्यवस्थापन गरी निर्माण व्यवसायीलाई तोकेता ग¥यौँ, साइड क्लियर भएपछि निर्माण अगाडि बढेको छ ।’ उहाँका अनुसार अस्पताल निर्माणका लागि शारदा माध्यमिक विद्यालयले सात कठ्ठा, सामुदायिक वनले पाँच कठ्ठा गरी १२ कठ्ठा जग्गा उपलब्ध गराएको छ । अस्पतालका लागि दुईवटा भवन, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीका लागि आवासीय भवन निर्माणका लागि योजना निर्माण गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टका अनुसारे दुई वर्षभित्रै निर्माणकार्य सक्ने गरी विसं २०७७ मा ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माण भई सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाले चिकित्सकीय सेवा लिनका लागि महेन्द्रनगर र भारततर्फ जानुपर्ने झन्झट हटेर जाने बताइएको छ । नगरपालिकामा हालसम्म दुईवटा स्वास्थ्यचौकी, दुईवटा चौबीस घण्टे बर्थिङ सेन्टर र १० आधारभूत स्वास्थ्य केन्द्र सञ्चलनमा छन् । रासस