भोलि सार्वजनिक विदा
कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले चैत १६ गते बिहीबार शुक्ल नवमी (राम नवमी)का अवसरमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सार्वजनिक विदा दिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष विसं २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम चैत १६ प्रदेशस्थित सबै सरकारी, सार्वजनिक सङ्घसंस्थामा विदा दिइएको बताए । कर्णाली प्रदेशको विशेषगरी जुम्ला जिल्लामा बारुवाँ (चैत १२) गते मार्सी धानको बेर्नाका लागि खोला वा नदी किनारमा भिजाइएको मार्सीको बीउ घरमा ल्याएर चुल्हो नजिक राखी तताउने र टुसा निकालेर आलीमा छर्न योग्य बनाउने चलन छ । रासस
रोयल इनफिल्डको एक्सचेन्ज अफर सुरु
काठमाडौं । नेपालको लागि रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ एक्सचेन्ज मेला सुरु गरेको छ । चत १५ गतेदेखि सुरु भएको एक्सचेन्ज मेला १७ गतेसम्म एक्सचेन्ज मेला चैत १७ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार यस एक्सचेन्ज कार्यक्रममा ग्राहकहरूलाई स्पट एक्सचेन्ज, बेस्ट भ्यालुएसन र ट्ठपट फाइनान्सको सुविधा उपलब्ध हुनेछ । साथसाथै, ग्राहकले क्लासिक ३५००० कालो रङको रोयल इन्फिल्ड मोटरसाइकल खरिद गर्दा विशेष अफर अन्तर्गत १५ हजार मूल्य बराबरको मोटरसाइकल एक्सेसरिज पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार रोयल इन्फिल्डको नेपालभरको शोरूम र डिलर पोइन्टमा यो एक्सचेन्ज अफर चल्ने छ ।
मन्त्रीको भागबण्डा नमिलेपछि गठबन्धनको बैठक टुंगियो, ३ बजे पुनः बस्ने
काठमाडौं । बुधबार बिहान बसेको सत्ता गठबन्धन दलको बैठक निष्कर्षविहीन भएको छ । बिहानको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल हुन नसक्दा पुनः बस्नेगरी स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बिहानको बैठकमा निर्णय हुन नसकेपछि बुधबार दिउँसो ३ बजे पुनः बैठक बस्ने जनाईएको छ । मन्त्रिपरिषद्बारे आजै टुंगो लगाउने प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डको तयारी छ । गठबन्धनको बैठक हिजो साँझ पनि बसेको थियो । हिजोको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरिएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरु सो बैठकमा उपस्थित रहेका थिए ।
साहसिक ‘खेल–पर्यटन हव’ बन्दै पनौतीको कुशादेवी क्षेत्र
काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–२ कुशादेवीको तोरीखोरियास्थित नयाँगाउँ रातोपहरामा व्यावसायिकरूपमा साहसिक खेल ‘रकक्लाइम्बिङ’ सुरु गरिएको छ । सङ्घीय राजधानी काठमाडौँबाट नजिक काभ्रेपलाञ्चोकको पनौतीनगरस्थित बसपार्कबाट पश्चिमतर्फ नौ किलोमिटर दूरीमा व्यवस्थित गरिएको उक्त रक क्लाइम्बिङको सुरुआतले नेपालको पर्यटन क्षेत्रमा थप नयाँ गन्तव्य थपिएको व्यवसायीको विश्वास छ । रक क्लाइम्बिङको नगरप्रमुख रामशरण भण्डारीले मङ्गलबार शुभारम्भ गरेका हुन् । उनले पनौती सांस्कृतिक, धार्मिक तथा पर्यटकीय हिसाबले आकर्षक बन्दै गएको अवस्थामा कुशादेवी क्षेत्रमा थपिएका साहसिक खेल गन्तव्यले खुसीयाली पनि थपिएको बताए । एकपटकमा आठ जना ‘क्लाइम्बर’ चढ्न सकिने गरी रातोपहरामा रकक्लाइम्बिङ निर्माण गरिएको नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घका प्रशिक्षक पेम्बा ओङ्छु शेर्पाले बताए । उनका अनुसार साहसिक खेलमा रुचि राख्नेले उक्त क्षेत्रमा पुगी रकक्लाइम्बिङ गर्न सक्नेछन् । जर्मनबाट ल्याइएको एक हजार ‘बोल्ड’ किला रकक्लाइम्बिङका लागि पहराका भित्तामा गाडिएका छन् । जसको सहारामा डोरीको माध्यमबाट ५० मिटरभन्दा धेरै रकक्लाइमिङ गर्न सकिन्छ । वडाध्यक्ष पुरुषोत्तम अधिकारीले नगरबाट विनियोजित १० रुपैयाँ लाखबाट हाल रकक्लाइम्बिङ पुग्ने स्थानसम्मको पदमार्ग तथा पूर्वाधार तयार गरिएको बताए । उनका अनुसार यसमा ‘बेस वाल’ निर्माणलगायतका पूर्वाधार निर्माण गर्न बाँकी छ । साथै वडा कार्यालयले रकक्लाइम्बिङ, प्याराग्लाइडिङ, डाउनहिल साइक्लिङका साथै चरा संरक्षण गरी चराका आवाज सुन्ने र त्यसबाट प्राकृतिक मनोरञ्जन लिन सकिने गरी थप नयाँ गन्तव्यको प्रक्रिया सुरु गरेको छ । फुल्चोकी क्षेत्रलाई साहसिक खेल–पर्यटनका रूपमा विकास गर्न आफूहरू नगरको योजनामा समावेश गरी लागेको अधिकारीले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई कुशादेवी–फुल्चोकी क्षेत्रमा प्याराग्लाइडिङ (मनोरञ्जनात्मक उड्डयन सञ्चालन) सञ्चालनको अनुमति दिएपछि गत फागुनमा परीक्षण गरी उडान थालिएको छ । दैनिक १० प्याराग्लाइडिङले बिहान १० देखि अपराह्न ४ बजेसम्म उडान अनुमति पाएको छ । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने जनाइएको छ । प्याराग्लाइडिङ गुर्दूमडाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा झर्नेछ । गुर्दूमडाँडाबाट बन्चरेटार सडकको दूरीका हिसाबले चार किलोमिटर हो । तर प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने झर्ने स्थान बन्चरेटार एक हजार तीन सय मिटरमा छ । पनौती नगरले पनि चालु आर्थिक वर्षमा साहसिक खेल–पर्यटनलाई प्राथमिकतामा राखेको छ । यस वर्ष ‘हाइकिङ ट्रेल’को विकास, विस्तार तथा प्रचार गर्न नगरले आफ्नो नीति तथा कार्यक्रममासमेत उल्लेख गरेको छ । नगरले यसअघि गत वर्ष चैतमा पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल ‘साइक्लिङ’ को सुरुआत गरेको थियो । उक्त साहसिक खेल नगरको १ नं वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकी डाँडाबाट २ नं वडाको नागीडाँडासम्म छ किलोमिटर साइकल मार्ग तय गरिएको छ । नगरको ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा त्यतिबेला नेपाल, क्यानाडा र भारतका करिब दुई सय जनाले साइकल चलाएका थिए । गत भदौ पहिलो साता शुक्रबार पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड्डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाए । नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेपलाञ्चोकतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा नगरको संयोजनमा आयोजित प्रतियोगितामा १२ वर्षीय बालकसमेतको सहभागिता रहेको थियो । यसैगरी नेपाल पर्यटन बोर्डका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्याण्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दूम–महाभारत पदयात्रा, माउन्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृश्यावलोकन), योग ‘रिट्रिट’, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्न सकिने छ । रासस
पोड वे निर्माणको योजनाले तीव्रता पाउँदै, ६१ किलोमिटर बनाउने तयारी
काठमाडौं । काठमाडौं पोड वे कम्पनीले उपत्यका विकास प्राधिकरणसँग सहकार्य गरी माइक्रो रेल (पोड वे) बनाउने योजना बनाएको छ । जस अन्तर्गत पहिलो चरणमा ६१ किलोमिटर पोड वे बनाउने तयारी भइरहेको छ । पोड वे करिडोर क्षेत्रमा बनाउन लागिएको हो । करिडोर क्षेत्रमा सो रेलको निर्माण गरी सञ्चालन गर्ने सोँच बनाइ प्राधिकरण र पोड वे कम्पनी बीच छलफल भइरहेको कम्पनीका उपाध्यक्ष निल भट्टराईले बताए । केही समय अघि सो विषयमा प्राधिकरण र कम्पनी बीच अन्तरक्रिया कार्यक्रम पनि भएको थियो । छलफलबाट सकारात्मक कुरा आएको पनि भट्टराईले जानकारी दिए । प्राधिकरणले पोड वे निर्माण गर्ने विषयलाई चासो देखाउँदै तीन वटा रुट छुट्याएको छ । सो रुट बागमती, धोविखोला र विष्णुमती करिडोर रहेको बताइएको छ । पहिलो बागमती करिडोर रुट अन्तर्गत चौबर-बल्खु–शंखमुल-तिलगंगा-पशुपति-गोकर्णेश्वर-गोकर्ण हुँदै सुन्दरीजलसम्म पोड वे पुर्याउने योजना छ र दोस्रो रुट धोविखोला रहेकाे छ । मैतीदेवी-कालो पुल हुँदै भंगालसम्म दोस्रो रुट अन्तर्गत पोड वे जोड्ने तयारी छ । यस्तै तेस्रो रुट ३ विष्णुमती करिडोर रहेकाे बताइएको छ । सोही सम्भावित ठाउँमा पोड वे निर्माणको सम्भाव्यता अध्ययन गरिने तयारी भइरहेको पनि भट्टराईले बताए । उनका अनुसार अध्ययन पुरा गरेर फिजिबल भएको खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने छ । ‘प्राधिकरणबाट चालु आर्थिक वर्ष २०७९/८० का लागि बजेट कम रहेकाे छ, आगामी आर्थिक वर्ष भित्र सम्भाव्यता अध्ययन पुरा गरी सकेर बजेटको सुनिश्चित गरी डीपीआर गर्ने भन्ने कुरा भएको छ,’ उनले भने । आर्थिक वर्ष २०८३/८४ वटा कुनै एक खण्डमा निर्माणको काम सुरु हुने अनुमान गरिएकाे छ । पोड वे विदेशी लगानीमा बन्न लागेको परियोजना हो ।
बुधबार ५०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेकाे छ । अघिल्लो दिन प्रतितोला एक लाख ८ हजारमा कारोबार भएको सुनको मूल्य आज एक लाख आठ हजार ५०० रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार छ । यसको मूल्य अघिल्लो दिन एक लाख सात हजार पाँच सय थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
मन्त्रालय भागबन्डा गर्न सत्ता गठबन्धनको बैठक
काठमाडौं । मन्त्रालय भागबन्डा गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न १० दलका शीर्ष नेताबीच छलफल सुरु भएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरु सो बैठकमा उपस्थित रहेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ १० दलबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मंगलबार साँझा भएको छलफलमा कांग्रेसले ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले ३÷३ तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २ मन्त्रालयमा दाबी गरेका छन् ।
भरतपुर अस्पताल न्याम्स अन्तर्गतको शिक्षण अस्पताल बन्ने
काठमाडौं । चितवनको भरतपुर अस्पताललाई अब चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत आंगिक शिक्षण अस्पतालको रुपमा सञ्चालन गरिने भएको छ । चैत १० गते बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले सामाजिक सञ्जालमार्फत बताएकी छन् । अहिलेसम्म न्याम्स अन्तर्गत १६ वटा अस्पताल सञ्चालनमा रहेका छन्, मन्त्रिपरिषदको सो निर्णयसँगै न्याम्समा आवद्ध अस्पतालको संख्या १७ वटा पुग्छ । त्यस्तै, भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउने निर्णयसँगै सरकारी शिक्षण अस्पतालको संख्या पनि थपिएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख दाहाल र भरतपुर अस्पतालका पूर्व अध्यक्ष डा. भोजराज अधिकारीले आफूहरुको १२ वर्षदेखिको सपना साकार भएको प्रतिक्रिया दिएका छन् ।