विकासन्युज

रकम भुक्तानी नहुँदा स्वास्थ्य सुविधाबाट बञ्चित

निसी । निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय ३८ जनाको फागुन महिनाबाट लागू हुने गरी स्वास्थ्य बीमा गरे पनि गाउँपालिकाले समयमै भुक्तानी नगर्दा समस्या भएको छ । निसीखोला गाउँपालिका–१ किटेनीका वीरबहादुर विक फागुन २५ गते जाँचका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुगे । गाउँपालिकाले फागुनबाट लागू हुन्छ भनेर दिएको स्वास्थ्य बीमा परिचयपत्र साथमै बोकेर गएका विकलाई स्वास्थ्य केन्द्रले बीमा योजना लागू नभएको भन्दै पूर्ण शुल्क तिरेमात्र उपचार हुने बतायो । उनले उपचारका क्रममा लागेको सम्पूर्ण रकम तिरेर घर फर्किए । उनी मात्र होइन, यतिबेला निसीखोला गाउँपालिकाले फागुनबाट लागू हुने गरी बीमा गरेका एक हजार आठ सय ३८ जना सुविधाबाट बञ्चित भएका छन् । गाउँपालिकाले बीमा गरिदिए पनि बीमा रकम समयमै भुक्तानी नगरेका कारण उनीहरु सेवा लिनबाट बञ्चित भएका हुन् । गत असारमा सम्पन्न दशौँ गाउँसभाले गाउँपालिकाका सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो । सोहीअनुसार गाउँपालिकाले पाँच हजार चार सय घरधुरीका लागि राजस्व बाँडफाँटबाट दुई करोड रुपैयाँ विनियोजन गरेको थियो । पहिलो चरणमा नौ हजार एक सय ८५ जनाको स्वास्थ्य बीमा गर्ने गरी विवरण सङ्कलन गरिएको थियो । जसमध्येबाट गाउँपालिकाले फागुनबाट लागू हुने गरी एक हजार आठ सय ३८ जनाको बीमा गरेको थियो । तर गाउँपालिकाले हालसम्म पहिलो चरणको ६४ लाख रुपैयाँ बीमा रकम भुक्तानी गर्न नसक्दा बीमा गरेका नागरिक पनि सुविधा लिनबाट बञ्चित भएका हुन् । सङ्घ, प्रदेश र पालिकाको आन्तरिक स्रोतको राजस्व बाँडफाँडबाट नागरिकको बीमा गर्ने निर्णय गरे पनि सङ्घ र प्रदेशबाट समयमै बजेट नआउँदा बीमा रकम भुक्तानी गर्न नसकिएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । गाउँपालिकाले असोज, कात्तिक र मङ्सिरमा रकम भुक्तानी गरिदिएको भए फागुन १ गतेदेखि नागरिकले बीमाको सेवा लिन पाउने थिए । सङ्घीय सरकारबाट केही दिन पहिले मात्र ५५ लाख रुपैयाँ रकम प्राप्त भएको एक हप्तामा  एक करोड रुपैयाँ भुक्तानी गर्ने तयारी गरिसकेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले बताए । रासस

नेपाल लाइफका अभिकर्तालाई बुटवलमा अन्तराष्ट्रियस्तरको प्रशिक्षण

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुटवलमा एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ। अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको कार्यक्रममा  करिव ३३० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरको सहभागिता रहेको थियो। कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव बिनोद भुजेल, एजेन्सी सभिसिङ्ग विभागका प्रमुख सुनिता पोखरेल प्रदेश प्रमुखहरु स्मृति राज कंडेल, अनन्त अधिकारी, सहदेव अधिकारी, दीपक राज भट्ट लगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको शुभारम्भ संयुत्त रुपमा पानसमा दिप प्रज्वलन गरी नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल र नेसनल सेल्स हेड उमापति पोखरेलले गरेका थिए । विशेष कारणबस देश बाहिर रहेका यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई माघ महिनाको स्कीमबाट छनौट भएर कार्यक्रममा पालेका बीमा अभिकर्ताहरुलाई स्वागत तथा बधाई ज्ञापन गरे । अभिकर्ताहरुको क्षमताको विकास कम्पनीको केन्द्रबिन्दुमा रहेको र यसैलाई मूर्त रुप प्रदान गर्न अन्तर्राष्ट्रिय ख्याती प्राप्त प्रशिक्षकल्याई कार्यक्रम आयोजना गरिएको बताए। यस किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोग सँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न महत्वपूर्ण भूमिका खेल्नेमा आफू विस्वस्त रहेको बताए । कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई धन्यबाद ज्ञापन गर्दै यस कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बताए ।  

पर्वतमा दीर्घरोगी राहतबाट बञ्चित

पर्वत । सरकारले दीर्घरोगीलाई पाँच हजार रुपैयाँ राहत दिने निर्णय गरेको भए पनि पाउन सकेका छैनन् । मासिक उपलब्ध गराउने राहत रकम नपाउँदा लाभग्राही निराश बनेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ भदौ २५ गते दीर्घरोगीलाई मासिकरूपमा पाँच हजार रुपैयाँ रकम दिने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७८ चैत २८ गते परिपत्र गर्दै कार्यविधि सबै स्थानीय तहलाई पठाएको थियो । सरकारले बजेटमै समावेश गरेर सो निर्णय गरेको भए पनि स्थानीय तहले त्यसलाई कार्यान्वयन नगर्दा दीर्घरोगी उक्त सुविधाबाट बञ्चित छन् । मिर्गौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधोउपचार खर्च दिने सरकारको घोषणा पनि अझै कार्यान्वयनमा आउन सकेको छैन । स्थानीय तहमार्फत प्रक्रिया पूरा गरेका बिरामीले गत साउनबाटै रकम पाउनुपर्ने भए पनि पर्वतको पैयुँ गाउँपालिकाबाहेक अन्य स्थानीय तहले वितरण गरेका छैनन् । पर्वतमा दुई नगरपालिका र पाँच गाउँपालिका छन् । अधिकांश पालिकाले बजेट अभावका कारण राहत रकम वितरण नगरेको जनाएका छन् । कुश्मा नगरपालिकाले दीर्घरोगीको अभिलेख सङ्कलन गरे पनि बजेट उपलव्ध गराउन नसकेको जनाएको छ । कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक यामप्रसाद शर्माले केन्द्रबाट रकम नआएसम्म मासिक पाँच हजार रुपैयाँ उपचार खर्च वितरण गर्न नसकिने बताए । ‘दीर्घरोगीको अभिलेख सङ्कलन भइसकेको छ, कुश्मामा दुई सयभन्दा बढी बिरामी छन्’, उनले भने, ‘हामीले आफ्नो स्रोतबाट नभ्याउने हुँदा कार्यान्वयन गर्न सकिएको छैन ।’ उनले कुश्मा नगरपालिकाले मात्र नभई पर्वतका अन्य पालिकाले पनि दीर्घरोगीलाई रकम वितरण नगरेको बताए । फलेवास नगरपालिकाले दीर्घरोगीको विवरण सङ्कलन गरे पनि रकम उपलब्ध गराएको छैन । नगरपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विवरण पठाए पनि रकम नआएका कारण उपलब्ध गराउन नसकेको नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत सापकोटाले बताए । पैयुँ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवीप्रसाद भुर्तेलका अनुसार पैयुँले दीर्घरोगीलाई रु पाँच हजारका दरले रकम उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले गत असोज १ गतेदेखि रकम उपलब्ध गराउन थालेको हो । पैयुँमा २० दीर्घरोगी छन् । उनीहरूले मासिक रकम पाउन थालेका छन् । गाउँपालिकाले आन्तरिकरूपमा शोधभर्ना हुने गरी रकम उपलब्ध गराउँदै आएको छ । पैयुँले गम्भीर रोग लागेका नागरिकको उपचारमा समेत सहयोग गर्दै आएको भुर्तेलले बताए । गाउँपालिकाले स्थायीरूपमा बसोबास गर्दै आएका मुटु, मिर्गौैला, क्यान्सर र पक्षघात प्यारालाइसिसका बिरामीलाई पालिकाभन्दा बाहिरी स्वास्थ्य संस्थामा उपचार वा जाँच गराएको हकमा १० हजार रुपैयाँ दिने निर्णय गरेको छ । रासस

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

ताप्लेजुङ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ । यसअघि मुगुको भिइ केन्द्रविन्दु भएर यही चैत १० गते चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो ।

लुम्बिनी विकास बैंकको बोनस सेयरधनीको खातामा

काठमाडौं । लुम्बिनी विकास बैंकले सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ । बैंकले सेयरधनीहरुको हितग्राही खातामा ३ प्रतिशत लाभांश जम्मा गरेको जनाएको छ । बैंकको पुस २६ गते सम्पन्न १५औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । बैंकले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनस डिम्याट खातामा

काठमाडौं । शिखर इन्स्योरेन्सले सेयरधनीहरूको हितग्राही खातामा बोनस लाभांश जम्मा गरेको छ । कम्पनीले सेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरेको जनाएको छ । कम्पनीको माघ २५ गते सम्पन्न १७औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

रावा इनर्जिले चैत २३ गतेदेखि आईपीओ बिक्री गर्दै, कसरी आवेदन दिने ?

काठमाडौं । रावा इनर्जि डेभलपमेन्टले चैत २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको २ करोड ८० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुलाई बिक्री गर्नेछ । कम्पनीको सेयरमा खोटाङ्ग जिल्ला केपीलासगडी गाउँपािलका (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गा.वि.स.)का बासिन्दाहरुले खरिद गर्न सक्नेछन् । साथै सर्वसाधारणलार्ए छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५६ हजार कित्ता सेयरमा नेपाल विदेशमा रोजगार गरी रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम स्थानीय वासिन्दाले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले २ हजार ८ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । तर, स्थानिय बासिन्दाहरुलाई बिक्री गरिएको सेयरमा पूर्ण आवेदन नपरेमा वैशाख २२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभुमा क्यापिटल रहेको छ । स्थानिय लगानीकर्ताले आयोजना स्थल, प्रभु बैंकका तोकिएका शाखा कार्यालय र प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

नयाँ सारथी लघुवित्तको १९ प्रतिशत बोनस सेयरमूल्यमा समायोज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको सेयर मूल्य समायोज भएको छ । नेप्सेमा नयाँ सारथी लघुवित्तको बोनस सेयर मूल्यमा समायोजन भएको हो । लघुवित्तले बुक क्लोज गरेसँगै बोनस सेयर नेप्सेमा समायोजन भएको हो । लघुवित्तको १९ प्रतिशत बोनस सेयर मूल्यमा ६२६.८९ रुपैयाँ कायम हुने गरी समायोजन भएको हो । लघुवित्तको मंगलबार प्रतिकित्ता ७४६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।