क्षितिज प्राइमरी स्कुलको वार्षिक अभिभावक दिवस सम्पन्न
काठमाडौं । काठमाडौंको लामपाटी, कलंकीमा सञ्चालनमा रहेको क्षितिज प्राइमरी स्कुलले सातौं वार्षिक अभिभावक दिवस सम्पन्न गरेको छ । आज काठमाडौंमा एक समारोहको आयोजना गर्दै स्कुलले अभिभावक दिवससँगै नयाँ विद्यार्थीलाई स्वागत र कक्षा तीनमा उत्तिर्ण भएका विद्यार्थीलाई विदाई गरेको छ । कार्यक्रममा बोल्दै स्कुलकी प्रिन्सिपल रमिला श्रेष्ठले ‘शिक्षा भनेको विश्वमा परिवर्तनका लागि सबैभन्दा शक्तिशाली हतियार भएको’ र आफ्नो स्कुलले राम्रो संस्कार सहितको शिक्षा दिन प्रयास गरिरहेको बताइन् । उनले एउटा बच्चालाई पूर्ण बनाउन उसको ‘होलिस्टिक’ विकासको लागि काम गरिरहेको बताइन् । प्रिन्सिपल श्रेष्ठका अनुसार यस वर्षबाट प्रभावकारी अध्ययनको लागि स्कुलले भिजुअल क्लासको पनि शुरु गरेको छ । उनले अभिभावकहरुले दिनमा एक घण्टा बच्चाहरुलाई राम्रो समय उपलब्ध गराउन आवश्यक रहेको समेत बताइन् । विद्यार्थीले राष्ट्रिय गान गाएर शुरु भएको कार्यक्रमको प्रमुख अतिथि सानु अमात्यले पानसमा बत्ती बालेर उद्घाटन गरेकी थिइन् । कार्यक्रममा प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजी, कक्षा एक, कक्षा दुई र कक्षा तीनका विद्यार्थीहरुले विभिन्न प्रकारका नाच तथा प्रदर्शनी गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि, अभिभावक प्रतिनिधि र विद्यार्थी प्रतिनिधिले आफ्नो तर्फबाट मन्तव्य राखेका थिए भने स्कुलले विद्यार्थीहरुलाई विभिन्न किसिमका मेडल तथा प्रमाणपत्र वितरण गरेको थियो । नयाँ शैक्षिक सत्रसँगै स्कुलले प्ले ग्रुप, नर्सरी, कक्षा एक, दुई र तीनमा नयाँ भर्ना पनि खुलाएको छ । ७ वर्षदेखि सञ्चालन हुँदै आएको सो स्कुलमा कक्षा तीन सम्म मात्रै अध्ययन हुने गर्छ । पछिल्लो समयमा अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै गएको स्कुलले जनाएको छ ।
बैशाख २७ गतेदेखि एकीकृत कारोबार गर्दै आइजीआई प्रुडेन्सियल, सीईओ र अध्यक्ष दुबै आइएमईको
काठमाडौं । मर्जर प्रकृयामा रहेका आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबारको लागि अन्तिम स्वीकृति पाएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिई एकीकृत कारोबार गर्न बाटो खुला गरि दिएको हो । यी दुबै कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट आगामी बैशाख अन्तिम सातादेखि एकीकृत कारोबार शुरू गर्ने योजना बनाएको कम्पनी उच्च स्रोतले बताएको छ । ‘हाम्रो योजना अनुसार सबै सरकारी काम समयमै सकिएमा बैशाख २७ गतेदेखि एकीकृत कारोबार गर्छौं,’ उच्च स्रोतले विकासन्युजसँग भन्यो । बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएको कम्पनीले अब कम्पनी रजिष्टार र नेपाल धितोपत्र बोर्डबाट पनि स्वीकृत पाउनु पर्ने हुन्छ । मर्जरसम्बन्धी व्यवस्थाअनुसार कम्पनीले नियामक निकायबाट स्वीकृति पाएको एक महिनाभित्र एकीकृत कारोबार गर्नु पर्छ । दुई कम्पनीबीच भएको सहमति अनुसार मर्जरपछि बन्ने कम्पनीको अध्यक्ष र सीईओ दुबै आइएमई जनरल इन्स्योरेन्सका हुने छन् । यससँगै नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बन्ने छन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुनेछन् । रावल प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् । मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनी बराबरी हैसियत अर्थात स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएसँगै कम्पनीको पुँजी बढेर ३ अर्ब नाघेको हो । जुन निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक पुँजी रहेको सिद्धार्थ प्रिमियरको तुलनामा बढी हो । साथै, कम्पनीले कर्मचारी समायोजन पनि बराबरी हैसियतमा गर्ने भएका छन् । यससँगै मर्जरपछि बनेको आइजीआई प्रुडेन्सियल पुँजीसँगै प्रिमियम, नाफा लगायतका अधिकांश सूचकमा पहिलो निर्जीवन बीमा कम्पनी बन्ने स्रोतको दावी छ । ‘आगामी वर्षमा हामी औपचारिक रुपमा नम्बर वान कम्पनी हुने छौं । मर्जपछि कम्पनीको व्यवसाय, सेवा सुविधा थप विस्तार गरी सेयरधनीलाई उचित प्रतिफल वितरण गर्ने हाम्रो योजना छ,’ स्रोतले भन्यो । त्यस्तै, नयाँ कम्पनीको अधिकृत पुँजी ५ अर्ब, चुक्ता पुँजी ३ अर्ब २ करोड, व्यवसाय करिब ४ अर्ब, शाखा संजाल ८४ र कर्मचारी संख्या ५१७ हुने छ । साथै, नियमन निकाय बीमा प्राधिकरणले शुरु गर्न लागेको जोखिममा आधारित पुँजीको आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुने कम्पनीको विश्वास छ । नेपाल इन्स्योरेन्ससँग मर्जर भाडिएपछि दुई कम्पनीले गत माघ २७ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका हुन् । क्रसहोल्डिङ रहेका यी दुई निर्जीवन बीमा कम्पनीले छोटो समयमै मर्जरको प्रकृया सम्पन्न गरिसकेका छन् । र, मर्जर शुरु गरेको तीन महिनाभित्रमा कम्पनीले एकीकृत कारोबार समेत गरिसक्ने छ । सम्बन्धित समाचार सबैभन्दा ठूलो बन्यो आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, पुँजी ३ अर्ब नाघ्यो, व्यवसाय ४ अर्ब नजिक
सिटिजन्स बैंकका सीईओ पोखरेललाई पितृशोक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेललाई पितृशोक परेको छ । सीईओ पोखरेलका पिता खेटराज उपाध्यायको शनिबार अपरान्ह ३ बजे शिक्षण अस्पताल कोहलपुरमा निधन भएको हो । उपाध्यायको ८७ वर्षको उमेरमा उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उपाध्यायको आईतबार बिहान बबई (सरजु भादाघाटमा) अन्त्येष्टि गरिएको छ । उपाध्यायका तीन छोरा र दुई छोरीहरु छन् । उपाध्यायकी श्रीमती दुर्गादेवी उपाध्यायको साढे ३ बर्ष अघि निधन भएको थियो । सीईओ पोखरेलका पिता उपाध्याय बगलामुखी मन्दिर ब्यवस्थापन समिति गुलरियाको अध्यक्ष भएर ४ दशकसम्म समाज सेवा गरेका थिए । स्वर्गीय उपाध्यायले बगलामुखी मंदिर पुर्ननिर्माण, जग्गा प्राप्ति तथा मन्दिर ब्यवस्थापनमा मूख्य भूमिका निर्वाह गरेको श्रेय जाने गरेको स्थाीनय बताउँछन् । साथै सामाजिक कार्यमा समेत उनको अतुलनिय योगदान रहेको बताइएको छ ।
नयाँ वर्षको अवसरमा होटल भ्यू भृकुटीले ल्यायो विशेष प्याकेज
ललितपुर । नेपाली नयाँ वर्ष २०८० को अवसरमा ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीले विशेष प्याकेज ल्याएको छ । ‘न्यू इयर, न्यू हाइट, न्यू मेमोरिज विथ होटल भ्यू भृकुटी’ भन्ने नाराका साथ होटलले लाइभ म्युजिकका साथमा निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर सार्वजनिक गरेको छ । होटलले ल्याएको अफर अन्तरगत लाइभ म्युजिकका साथमा फ्रि वेलकम ड्रिङ्क्स, लाइभ स्टेशन स्न्याक्स, लक्जरियस अकोमोडेशन, बफेट ब्रेकफाष्ट र निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर रहेको छ । नयाँ वर्षका लागि विशेष सांगितिक कार्यक्रमका साथै आउने पाहुनाहरूका लागि होटलको सम्पूर्ण सुविधा विशेष तरिकाले व्यवस्थापन गरिएको होटलले जनाइएको छ । नयाँ वर्षको अवसरमा होटलमा लाइभ ब्याण्ड प्राकृतिक वातावरणमा रमाउनको लागि १३ हजार हजार रुपियाँमा पर कपल, स्नयाक्स, डिनर, बस्नको लागि रूम र भोलिपल्टको ब्रेकफस्ट व्यवस्था गरिको होटलका प्रबन्ध निर्देशक समिर लामाले बताए । सातदोबाटो चक्रपथबाट सात किलोमिटरको दुरीमा रहेको यो होटलमा ७० वटा कोठाहरु, साउना, स्ट्रिम, स्वमिङ पुल तथा मनोरन्जनको व्यवस्था रहेकाे उनले जानकारी दिए । होटलले आफ्ना पाहुनाहरुलाई वोटानिकल गार्डेन लगेर विभिन्न जातका चराचुरुङ्गी र पुतलीहरुलाई नियाल्ने अवसरका साथै होटलबाट तीन किलोमिटरको दुरिमा रहेको शान्ति जंगलमा सफारी गर्ने अवसर पनि प्रदान गर्दछ । त्यस्तैऽ फुलचोकी डाँडा पनि होटलबाट नजिकै भएकाले होटलमा आएका पाहुनालाई त्यहाँ पैदल यात्रा (हाइकिङ), वाईकिङ, प्याराग्लाइडिङको पनि सुविधा प्रदान गर्ने वरिष्ठ कार्यकारी सेफ रेशमकुमार लामाले बताए । होटलमा साउना, ज्याकुजी, जीम, सुइमिङ पुलको सेवा पनि रहेको छ ।
आइएमई पेबाट सजिलै आइएमई लाईफको बीमा पोलिसी नविकरण गर्न सकिने
काठमाडौं । आइएमई पेले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरुले सजिलै आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नविकरण गर्न सकिने भएको छ । सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत ‘इन्स्योरेन्स’ को ‘पे प्रिमियम’ मा गई ‘आइएमई लाईफ नविकरण’ क्लिक गरी मागिएको विवरण प्रदान गरी केही सेकेन्डमै आफ्नो पोलिसी नविकरण गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले उक्त सेवा ग्राहकहरुलाई भौतिक रुपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नविकरण गर्न प्रोत्साहान गर्ने उदेश्यका साथ उपलब्ध गराएको जनाएको छ ।
कालीकोटवासीको पुरा भयो जहाज आउने सपना
कालीकोट । ‘चिल गाडी चड्न त हाम्मा लागि गाडै कुडा हो । तैपुनि आम्मै खुन पसिनाले बुनाएको चौड मैदानमाथि घँगाडी चिल गाडी उड्न लाग्याको हेन्ने खाँती धोको थियो, खै कैले पूरा हुन्याओ ?’’ नरहरिनाथ गाउँपालिका–२ का काले दमै ७९ वर्षको धोको अझै पूरा भएको छैन । तीस वर्षअघि गाउँमा चिल गाडी जहाज आउने सपना बोकेर घरमा भएको कुटो कोदालो बोकी दिनहुँ सुनथरालीमा विमानस्थल निर्माण गर्न पसिना बगाएका उनलाई नजिकबाट जहाज हेर्ने ठूलो चाहना छ । अहिलेसम्म जहाज नदेखेका सोही ठाउँमा ठुमा विष्टलाई एकपटक हेरेर मर्न पाए आफूले बगाएको पसिनाको फल पाएको अनुभूति हुने थियो । आकासमा उडेको देख्दा कतै आफूले खनेको मैदानमा आउने हो कि भन्ने लाग्छ उनलाई । यतिका वर्षसम्म पनि जहाज नआएको देख्दा निरास हुँदै उनी भन्छन्, ‘चिल गाडी नदेखिकनै मन्न्या हौँ कि र?’ गाउँको विमानस्थलमा जहाजको सुविधा भए बिरामी हुँदा समयमै ठाउँमा लगेर उपचार होला, सुत्केरीले अकालमै मर्न पर्दैन कि भन्ने वडा नं ३ का शेरबहादुर विष्टको आशा रहेको छ । सडक यातायात नहुँदा समयमै उपचारको अभावमा बर्सेनि सयौँको अकालमै ज्यान जाने गरेको उनी बताउँछन् । उदयराम उपाध्याय भन्छन्, ‘हामी त डाँडामाथिका जुनबेल जुनघाम जस्ता भइजेयुँ । हाम्मा ट्वाटीकी छोराछोरीले हाम्मो जस्तो दुःख पाउँनैन् कि ।’ विसं २०४२ देखि निर्माण सुरु भएको यस सुनथराली विमानस्थल विसं २०७९ पुसमा सम्पन्न भए पनि हालसम्म जहाज नआउँदा केटाकेटीले खेल्ने ठाउँ, विभिन्न निकायले कार्यक्रम आयोजना गर्ने थलो बनेको छ । निर्माण सम्पन्न भइसक्दा पनि उडान हुने निश्चय नहुँदा स्थानीयवासी निरास छन् । तैपनि कोटबाडावासी सुनथराली विमानस्थलमा जहाज उड्ने दिन कुरिरहेका छन् । नियमित उडानका लागि दबाब दिनकै लागि गाउँपालिकाले गत माघ ७ गते विमानस्थलको धावनमार्गमा गाउँसभा आयोजना गरेको थियो भने नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशको साधारणसभा पनि यही चैत २१ र २२ गते धावनमार्गमै आयोजना गरिएको थियो । तत्काल नियमित उडानका लागि दाबाब दिने उद्देश्यले धावनमार्गमा कार्यक्रम आयोजना गरिएको महासङ्घ कालीकोटका अध्यक्ष भरतराज विष्टले बताए । जिल्लाको एकमात्र विमानस्थल निर्माण कार्य पूरा भएपछि पनि नियमित उडान गराउनेतर्फ सरकारी निकाय र विमान कम्पनीले कुनै चासो देखाएको उनको भनाइ छ । साविकको कर्णाली अञ्चलका पाँचवटै जिल्लामा एक/एक वटा विमानस्थल निर्माण गर्ने गरी एकैपटकजसो शिलान्यास गरिएको थियो तर अन्य चारवटै जिल्लामा पहिले नै विमानस्थल निर्माण भई नियमित सञ्चालन हुँदा पनि कालीकोटमा अझै सञ्चालनमा आउन सकेको छैन । मुगु, डोल्पा, जुम्ला र हुम्लामा विमानस्थल समयमै सञ्चालन भइसकेका छन् । सदरमुकामभन्दा टाढा हुनाले राज्यको प्राथमिकतामा नपरेको स्थानीयको भनाइ छ । पञ्चायतकालमा निर्माण थालिएको यो विमानस्थललाई बहुदलीय व्यवस्था हुँदै अहिलेको लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा पनि राजनीतिक दलहरुले यसलाई केवल चुनावी एजेण्डा मात्र बनाउँदै आएको स्थानीयवासीको आरोप छ । नेताहरुले विमानस्थल सञ्चालन गर्ने वाचा गरे पनि हालसम्म यो विमानस्थल सञ्चालनमा आउन नसकेको स्थानीय अविलाल विष्ट बताउँछन् । ‘चुनावका बेला सबैले विमानस्थल बनाउने वाचा गर्छन्’, उनले भने, ‘तर पनि जहाज उड्ने गरी कसैले पनि काम गरेनन् ।’ सशस्त्र द्वन्द्व तथा राजनीतिक दलका स्थानीय नेताबीचको खिचातानीका कारण विमानस्थल ३९ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको थिएन । विसं २०४२ मा जिल्ला विकास समितिको एक लाख रुपैयाँको लागतमा विमानस्थलको काम थालनी गरिएको थियो । माओवादी जनयुद्धका कारण २०५८ देखि २०६३ सालसम्म यो आयोजनाको कुनै पनि काम अघि बढ्न सकेन । लामो समय निर्माणको जिम्मा लिने ठेकेदारसमेत नपाएको यो आयोजनाका लागि जिल्ला विकास समितिले रकम छुट्याए पनि दुर्गम भेगमा भएका कारण इञ्जिनियर नजाने, नबस्ने गरेकाले पनि लामो समय यसको निर्माण अवरुद्ध भयो । विसं २०६३ पछि मात्रै स्थानीय समिति निर्माण गर्दै यो आयोजना अघि बढाउने कार्य थालिए पनि बीचबीचमा दलबीचको आन्तरिक किचलोका कारण काम राम्ररी अगाडि बढ्न सकेन । दलका प्रतिनिधिको किचलोका कारण २०७१ सालसम्म अवरुद्ध बनेको यो विमानस्थलको निर्माण २०७१ साउनदेखि मात्रै अघि बढेको थियो । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले सुनथराली विमानस्थलमा नियमित उडानका लागि विभिन्न निकायसँग छलफल भएको र आगामी वैशाखदेखि उडान भर्ने सहमति भएकाले नयाँ वर्षमा कालिकोटवासीको जहाज चढ्ने सपना पूरा हुने बताउँछन् । उनी भन्छन्, कर्णालीको पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलको आवश्यकता पर्दछ । कालिकोटका सांसद तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही कर्णालीको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनबाट मात्रै कर्णाली समृद्ध हुनसक्ने बताउँछन् । यहाँका बासिन्दाका लागि विकासको लाइफलाइन बनेको यो विमानस्थल जतिसक्दो छिटो सञ्चालनमा ल्याउनु जरुरी छ । उनी भन्छन्, ‘हरेक निर्वाचनमा मतदाताले मन्त्री हुनुहोस् र यो विमानस्थलमा जहाज ल्याउनुहोस् भन्दै मत दिने गरेका छन् ।’ बडिमालिका र अछामको रामारोशनका लागि छोटो बाटो पर्दछ । योगी नरहरिनाथ जन्मेको साविकको कोटवाडा, द्वन्द्वको सुरुआत भएको मालकोट, लालु, रुप्सा र कुमालगाउँ मिलाएर यो गाउँपालिका बनेकाले यसको ऐतिहासक, सांस्कृतिक, प्राकृतिक र धार्मिक महत्व रहेको छ । विमानस्थल निर्माण सुरु गर्दा मुख्य गरी यातायातका लागि भनिएको थियो तर अहिले निर्माण सम्पन्न हुँदा यसको औचित्यमा परिवर्तन भएको छ । अब पर्यटकीय सम्भावनालाई आधुनिक विकाससँग जोड्न जरुरी रहेको स्थानीय नेता भरत वम बताउँछन् । नरहरिनाथ गाउँपालिका–१ मा रहेको सुनथराली विमानस्थल निर्माण सुरु भएको ३३ वर्षपछि २०७३ साल माघ २९ गते तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले परीक्षण उडान गराएका थिए । त्यतिबेला घाँसे मैदानमा परीक्षण उडान गरिएको थियो । त्यसपछि त्यो विमानस्थलमा जहाज आएको छैन । त्यतिबेला उनले यस विमानस्थल सञ्चालनपछि जिल्लाको मात्र नभई कर्णाली प्रदेशकै विकासमा सहयोग पुग्ने बताएका थिए । यस क्षेत्रमा बडीमालिका, त्रिवेणी पाटन, खप्तड रारा, रामरोशनजस्ता थुप्रै पर्यटकीय सम्पदा रहेकाले त्यहाँसम्म पुग्न यो विमानस्थल हुँदै थुप्रै स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावना छ । यो विमानस्थल कालीकोट जिल्ला सदरमुकाम खडचक्रबाट तीन किलोमिटर उत्तर पश्चिममा अवस्थित छ । समुन्द्र सतहबाट दुई हजार १०० मिटरको उचाइमा रहेको यो विमानस्थल छ, धावनमार्गको लम्बाइ छ सय ४० मिटर छ । राज्यको करोडौँ लगानीमा लामो धावनमार्ग, टर्मिनल भवन, सुरक्षा गार्ड भवन र प्रशासनिक भवन निर्माण भएको छ । हाल विमानस्थलको धावनमार्ग कालोपत्र भइसकेको छ भने रिपिटर टावरमा उपकरण जडान हुन बाँकी छ । यस विमानस्थलमा नियमित जहाज उडान भएका खण्डमा स्थानीय उत्पादनको बजारीकरणसँगै पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र प्रदेश राजधानीसँग सिधा पहुँच हुने आशामा कालीकोटवासी छन् । जहाज चढ्ने गरी नागरिकको आयस्तर वृद्धिमा जोड दिन आवश्यक रहेको बताउँदै सांसद शाहीले नागरिकको आयवृद्धिसँगै पहुँच विस्तार जरुरी छ र यसका लागि केबुलकार एकमात्र विकल्प रहेकामा जोड दिएका छन् । यस विमानस्थलमा नियमित उडानका लागि केबुलकार निर्माण गर्नु आवश्यक छ । सदरमुकामबाट विमानस्थलसम्म केबुलकार निर्माण गर्नका लागि विस्तृत अध्ययन प्रतिवेदन पनि तयार भएको छ । कोटवाडा–मान्मा केबुलकार निर्माण भएमा अहिलेको झण्डै ५५ किमीको दूरीमा पाँच घण्टाको जोखिमपूर्ण यात्रालाई जम्मा पाँच मिनेटमा छोट्याउन सकिने रोपे वे एण्ड केबलकार प्रालिका अधयक्ष गुणराज ढकाल बताउँछन् । यसका लागि आवश्यकपर्ने करिब एक अर्ब १५ करोड रुपैयाँ लगानीको स्रोत जुट्न नसक्दा केबलकार निर्माण कार्य अगाडि बढाउन नसकिएको उनको भनाइ छ । यो विमानस्थल निर्माण गर्ने क्रममा ज्यान गुमाएका ३५ जना मजदूरको स्मरणमा गाउँपालिकाले शालिक निर्माण गर्ने भएको छ । गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले भने, ‘यो विमानस्थल तिनै मजदुरको चिहानमाथि बनेको छ । विमानस्थल निर्माण गर्नेक्रममा बलिदान दिने मजदुरको सम्मानमा स्मारक बनाउन शिलान्यास गरिसकेका छौँ र यसका लागि पालिकाले यस वर्ष १० लाख रुपैयाँ बजेट छुट्याएको छ’, अध्यक्ष विष्टका अनुसार नुहादेव र देहडु देवताको स्थल रहेको ठाउँलाई उठाएर विमानस्थल बनाइएको हो । यी दुवै देवतालाई रातो चन्दन चल्दैन तर यहाँ ३६ जनाको रगत बगेको छ । विमानस्थल निर्माण गर्ने क्रममा २०५८ फागुन १३ गते कोटवाडामा माओवादीको आरोपमा सेनाको कारबाहीमा विमानस्थलमा कार्यरत ३५ जना मजदुरको हत्या भएको थियो । मारिनेमा २६ जना धादिङको जोगिमाराका मजदुर रहेका थिए । रासस
हेटौँडाका उद्योगले साढे २ अर्ब विद्युत महसुल तिर्न बाँकी
बागमती । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रलाई विद्युत् महसुलवापत यहाँका उद्योगले दुई अर्ब ५५ करोड ५२ लाख ८२ हजार आठ सय ४९ बुझाउन बाँकी छ । लामो समयदेखि पटक–पटक ताकेता गर्दासमेत चालु आर्थिक वर्षको हालसम्म ती उद्योगबाट महुसुल नबुझाइएको उक्त केन्द्रले जनाएको छ । केही उद्योगविरुद्ध महशुलसम्बन्धी मुद्दासमेत चलिरहको छ भने महसुल नतिर्ने पाँच सय ४२ उद्योगलाई कालो सूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ । कालोसूचीमा परेका केही ग्राहकबाट कारबाहीस्वरुप रु ७९ हजार दुई सय ४१ सङ्कलन भएको बताइएको छ । चालु आवकोे हालसम्म रु पाँच हजारभन्दा बढी विद्युत् महसुल नतिर्ने नौ सय ७३ ग्राहकको लाईन काटेर कारबाही गरिएको केन्द्रका प्रमुख नरेन्द्रवीर श्रेष्ठले जानकारी दिए । कारबाहीमा परेपछि छ सय १७ जनाले जरिवाना तिरेर निवेदन दिएकाले लाइन जोडिएको र त्यसबाट दुई करोड ५३ लाख ९५ हजार महसुल सङ्कलन भएको जनाइएको छ । हेटौँडामा ७२ हजार ६ सय ९४ ग्राहक रहेकामा वितरण केन्द्रले मासिक १९ करोड १७ लाख ८८ हजार मूल्य बराबरको विद्युत् विक्री गर्दे आएको र १८ करोड छ लाख १२ हजार महसुलबापत राजस्व सङ्कलन हुँदै आएको छ । साथै विद्युत् प्राधिकरणको पोल प्रयोग गरेबापत विभिन्न छ वटा इन्टरनेट कम्पनीले ५३ लाख पचास हजार राजस्वसमेत बुझाएको बताइएको छ । यसैबीच ग्रामीण विद्युतीकरणअन्तर्गत जिल्लाका हेटाैंडा उपमहानगरपालिकालगायत वकैया, राक्सिरागङ, मकवानपुरगढी, कैलाश, भीमफेदी गाउँपालिकाका साथै अन्य गाउँपालिकाको ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण थालिएको वितरण केन्द्रका इञ्जिनियर सन्तोष चौहानले बताए । सो कार्यका लागि १८ करोडभन्दा बढी बजेट छुट्याइएकामा कतिपय स्थानमा काम सम्पन्न भइसकेको छ भने कतिपय स्थानमा कार्य भइरहको बताइएको छ । मनहरिमा विद्युत् सवस्टेशन निर्माण प्रक्रियासमेत अगाडि बढेको जनाइएको छ । रासस
दूधको मूल्य बढ्दा छुर्पी निर्यातमा समस्या, उद्योगी भन्छन् : उद्योग बन्द गर्ने अवस्था आयो
काठमाडौं । एकै वर्षमा दुई पटकसम्म दूधको मूल्य बढ्दा छुर्पी निर्यातमा समस्या भएको छ । दूधको उपभोक्ता मूल्य बढ्दा छुर्पीको लागत समेत बढ्न जादा निर्यात रोकिने अवस्थामा पुगेको छुर्पी उत्पादक उद्योगीहरु बताउँछन् । पछिल्लो समय एकै वर्षमा दुई पटकसम्म दूधको मूल्यमा बृृद्धि हुँदा नोक्सानीमा चलेको छुर्पी उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको हेडौँडा डेरी उद्योगका सञ्चालक निराजन कोइराला बताउँछन् । ‘दूधको मूल्य अप्राकृतिक रुपमा बढ्यो, २ वर्षमा मूल्य बढ्ने भनिएको थियो, तर एक वर्षमै दुई पटकसम्म बढ्यो, एक किलो छुर्पी बनाउन ३० लिटर दूध आवश्यक पर्छ, प्रतिलिटर ८ रुपैयाँले दूधको मूल्य बढ्दा लागत बढ्यो’, उनले भने, ‘आन्तरिक रुपमा उपभोक्ताले खाने दूधको मूल्य बढेपनि निर्यात हुने छुर्पीको मूल्य बढेको छैन, छुर्पी उत्पादनको लागत बढ्दा निर्यात नै रोकिने अवस्था आयो ।’ उनले विदेशी कम्पनीसँग दुई/दुई वर्षमा मात्र छुर्पीको मूल्य बढाउने सहमति भएको भन्दै ठूलो रकम नोक्सानी खानुभन्दा उद्योग नै बन्द गर्नुपर्ने अवस्था देखिएको बताए । ‘दूधको मूल्य बढेसँगै उपभोक्ता मूल्य बढ्यो, नेपाली बजारमा छुर्पी खासै खपत हुँदैन, हामीले उत्पादन गर्ने भनेको नै निर्यातका लागि हो, उनले भने ।’ दूधको मूल्य बढ्नुभन्दा अगाडि उनको उद्योगले मात्र मासिक रुपमा ३० हजार किलो छुर्पी अमेरिका र क्यानडामा निर्यात गर्ने गरेको थियो । तर, पछिल्लो समय मासिक रुपमा ८ हजार किलो मात्र छुर्पी निर्यात गर्ने गरिएको उनले बताए । ‘मासिक ३० हजार किलो छुर्पी निर्यात गर्ने सहमति भएको हो, ठूलो रकम नोक्सान सहज नसकेर थोरै मात्र निर्यात गर्ने गरेको छु, नोक्सानी मूल्य धेरै हुँदा अब निर्यात रोक्नुपर्ने देखियो’, उनले भने । डेरी उद्योगी कोइराला गार्मेट उद्योगको जस्तो अवस्था डेरी उद्योगमा देखिन सक्ने अनुमान गरिएको बताउँछन् । ‘निजी डेरी उद्योगले लिटरमा १४ रुपैयाँले दूधको मूल्य बढाएका छन्, महँगो दूध लिएर पुरानै रेटमा हामीले छुर्पी निर्यात गर्नुपरेको छ’, उनले भने, ‘दूधको मूल्य अनुसार छुर्पीको मूल्य राख्दा विदेशीले लैजादैंनन्, सस्तोमा बिक्री गरौँ उद्योग टिकाउनै नसक्ने अवस्था देखियो ।’ डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल दूधको मूल्य बढ्दा निर्यातजन्य वस्तुको प्रत्यक्ष असर देखिएको बताउँछन् । सरकारले चैत २० गतेदेखि लागू हुने गरी सरकारले दूधको मूल्य लिटरमा ९ रुपैयाँले (किसानले पाउने मूल्य) बढाएर ६५ रुपैयाँ बनाएको थियो । बजारमा दूधको मूल्य चर्काे भएतापनि किसानले पाउने रकम न्यून भएको गुनासोपछि सरकारले किसानका लागि लिटरमा ९ रुपैयाँले दूधको मूल्य बढाएको थियो । यस अघि किसाने विक्रि गर्ने मूल्य ५६ रुपैयाँ रहेको थियो । किसानले पाउने दूधको मूल्य बढेको भन्दै सरकारी तथा निजी क्षेत्रका डेरी उद्योगले लिटरमा १५ रुपैयाँले दूधको उपभोक्ता मूल्य बढाएका थिए । निजी डेरीहरूले फागुन २६ र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले चैत २ गतेदेखि नै स्ट्यान्डर्ड दूधमा प्रतिलिटर १५ रुपैयाँले बढाएका थिए । डीडीसी, नेपाल डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले दूधको मूल्य फरक/फरक लिइरहेका छन् । डीडीसीले दही, पनिर, चिज, आइसक्रिम, मिठाईको मूल्य बढाएको छ भने घिउ र बटरको मूल्य वृद्धि गरेको छैन ।