दूधको मूल्य बढ्दा छुर्पी निर्यातमा समस्या, उद्योगी भन्छन् : उद्योग बन्द गर्ने अवस्था आयो

<p>काठमाडौं । एकै वर्षमा दुई पटकसम्म दूधको मूल्य बढ्दा छुर्पी निर्यातमा समस्या भएको छ । दूधको उपभोक्ता मूल्य बढ्दा छुर्पीको लागत समेत बढ्न जादा निर्यात रोकिने अवस्थामा पुगेको छुर्पी उत्पादक उद्योगीहरु बताउँछन् । पछिल्लो समय एकै वर्षमा दुई पटकसम्म दूधको मूल्यमा बृृद्धि हुँदा नोक्सानीमा चलेको छुर्पी उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको हेडौँडा डेरी उद्योगका [&hellip;]</p>

काठमाडौं । एकै वर्षमा दुई पटकसम्म दूधको मूल्य बढ्दा छुर्पी निर्यातमा समस्या भएको छ । दूधको उपभोक्ता मूल्य बढ्दा छुर्पीको लागत समेत बढ्न जादा निर्यात रोकिने अवस्थामा पुगेको छुर्पी उत्पादक उद्योगीहरु बताउँछन् ।

पछिल्लो समय एकै वर्षमा दुई पटकसम्म दूधको मूल्यमा बृृद्धि हुँदा नोक्सानीमा चलेको छुर्पी उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको हेडौँडा डेरी उद्योगका सञ्चालक निराजन कोइराला बताउँछन् ।

‘दूधको मूल्य अप्राकृतिक रुपमा बढ्यो, २ वर्षमा मूल्य बढ्ने भनिएको थियो, तर एक वर्षमै दुई पटकसम्म बढ्यो, एक किलो छुर्पी बनाउन ३० लिटर दूध आवश्यक पर्छ, प्रतिलिटर ८ रुपैयाँले दूधको मूल्य बढ्दा लागत बढ्यो’, उनले भने, ‘आन्तरिक रुपमा उपभोक्ताले खाने दूधको मूल्य बढेपनि निर्यात हुने छुर्पीको मूल्य बढेको छैन, छुर्पी उत्पादनको लागत बढ्दा निर्यात नै रोकिने अवस्था आयो ।’

उनले विदेशी कम्पनीसँग दुई/दुई वर्षमा मात्र छुर्पीको मूल्य बढाउने सहमति भएको भन्दै ठूलो रकम नोक्सानी खानुभन्दा उद्योग नै बन्द गर्नुपर्ने अवस्था देखिएको बताए । ‘दूधको मूल्य बढेसँगै उपभोक्ता मूल्य बढ्यो, नेपाली बजारमा छुर्पी खासै खपत हुँदैन, हामीले उत्पादन गर्ने भनेको नै निर्यातका लागि हो, उनले भने ।’

दूधको मूल्य बढ्नुभन्दा अगाडि उनको उद्योगले मात्र मासिक रुपमा ३० हजार किलो छुर्पी अमेरिका र क्यानडामा निर्यात गर्ने गरेको थियो । तर, पछिल्लो समय मासिक रुपमा ८ हजार किलो मात्र छुर्पी निर्यात गर्ने गरिएको उनले बताए ।

‘मासिक ३० हजार किलो छुर्पी निर्यात गर्ने सहमति भएको हो, ठूलो रकम नोक्सान सहज नसकेर थोरै मात्र निर्यात गर्ने गरेको छु, नोक्सानी मूल्य धेरै हुँदा अब निर्यात रोक्नुपर्ने देखियो’, उनले भने ।

डेरी उद्योगी कोइराला गार्मेट उद्योगको जस्तो अवस्था डेरी उद्योगमा देखिन सक्ने अनुमान गरिएको बताउँछन् ।

‘निजी डेरी उद्योगले लिटरमा १४ रुपैयाँले दूधको मूल्य बढाएका छन्, महँगो दूध लिएर पुरानै रेटमा हामीले छुर्पी निर्यात गर्नुपरेको छ’, उनले भने, ‘दूधको मूल्य अनुसार छुर्पीको मूल्य राख्दा विदेशीले लैजादैंनन्, सस्तोमा बिक्री गरौँ उद्योग टिकाउनै नसक्ने अवस्था देखियो ।’

डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल दूधको मूल्य बढ्दा निर्यातजन्य वस्तुको प्रत्यक्ष असर देखिएको बताउँछन् । सरकारले चैत २० गतेदेखि लागू हुने गरी सरकारले दूधको मूल्य लिटरमा ९ रुपैयाँले (किसानले पाउने मूल्य) बढाएर ६५ रुपैयाँ बनाएको थियो । बजारमा दूधको मूल्य चर्काे भएतापनि किसानले पाउने रकम न्यून भएको गुनासोपछि सरकारले किसानका लागि लिटरमा ९ रुपैयाँले दूधको मूल्य बढाएको थियो । यस अघि किसाने विक्रि गर्ने मूल्य ५६ रुपैयाँ रहेको थियो ।

किसानले पाउने दूधको मूल्य बढेको भन्दै सरकारी तथा निजी क्षेत्रका डेरी उद्योगले लिटरमा १५ रुपैयाँले दूधको उपभोक्ता मूल्य बढाएका थिए । निजी डेरीहरूले फागुन २६ र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले चैत २ गतेदेखि नै स्ट्यान्डर्ड दूधमा प्रतिलिटर १५ रुपैयाँले बढाएका थिए ।

डीडीसी, नेपाल डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले दूधको मूल्य फरक/फरक लिइरहेका छन् । डीडीसीले दही, पनिर, चिज, आइसक्रिम, मिठाईको मूल्य बढाएको छ भने घिउ र बटरको मूल्य वृद्धि गरेको छैन ।

Share News