विकासन्युज

करिब २०० आरोहीले लिए सगरमाथा आरोहण अनुमति

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजसम्म २० आरोही समूहका झन्डै दुई सय आरोहीहरूले अनुमति लिएका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणका लागि २० आरोही समूहमा ३१ महिला र एक सय ६६ पुरुष गरी कूल एक सय ९७ आरोहीले अनुमति लिएका हुन् । यो ऋतुमा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आरोही आइरहेका छन् । पर्वतारोहण शाखाको विवरणअनुसार आजसम्म सगरमाथासहित विभिन्न हिमाल तथा चुली आरोहणका लागि ५५ आरोही समूहका चार सय ६० बढी आरोहीहरूले अनुमति लिएका छन् । हिमाल आरोहणबाट झन्डै २८ करोड रोयल्टी जम्मा भएको छ । नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले यो ऋतु सगरमाथा आरोहण गर्नेका लागि निकै उत्साहबरद्धक हुने विश्वास व्यक्त गरे । उनले भने, ‘सगरमाथा आरोहणमा विदेशीको आकर्षण हेर्दा उत्साहवरद्धक हुने देखिन्छ । कोभिड–१९ महामारीपूर्वको अवस्थाभन्दा पनि राम्रो हिमाल आरोहण हुने अनुमान गरिएको छ ।’ रासस

सम्मानित निजी क्षेत्र बनाउन मेरो उम्मेदवारी : हेमराज ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले वस्तुगत संघका समस्यालाई महासंघमार्फत सरकार समक्ष पुर्याएर उक्त समस्या समाधान गर्नका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । ‘साना मझौला उत्पादनहरु, मौलिक उत्पादनहरु, वैकल्पिक ऊर्जा, उत्पादनमुलक उद्योग, सेवामुलक, पर्यटन, कृषि, व्यापारलगायत क्षेत्रलाई महासंघसँग आवद्ध विभिन्न समिति, फोरम, परिषद्मा जोड्दै उक्त समस्या समाधान गर्नुनै मेरो पहिलो प्राथमिकता रहन्छ,’ वस्तुगत संघका अध्यक्षहरुसँगको छलफल कार्यक्रममा उनले भने, ‘ वस्तुगत संघहरुका साथिहरुको समस्या, चुनौतीलाई सरकारसँग पुर्याएर समाधान तथा सम्भावनालाई साथ दिनका लागि म उपाध्यक्ष भएर महासंघमा जाँदैछु ।’ अहिलेको आर्थिक मन्दी तथा उच्च बैंक ब्याजदरका कारण अहिले धेरै उद्योगी व्यवसायीहरु मारमा परेको भन्दै आफु निर्वाचित भएर गएसँगै राष्ट्र बैंक र सरकारसँग वार्ताको टेबुलमा बसेर तत्काल समस्या समाधान गर्ने बताए । ‘अहिले अवस्थामा हाम्रो उद्योग व्यवसाय टिकाउनका लागि कर्जाको ब्याजदर तत्काल एकल अंकलमा ल्याउनुपर्छ,’ उनले भने, ‘यस्तै राष्ट्र बैंकको अव्यवहारिक नीतिका कारण बैंकहरुले आधारदरमा ६ प्रतशितसम्म प्रिमिय जोड्दै आएका छन् यसलाई बढीमा २ प्रतिशत कायम गरिनुपर्छ ।’ विशेषगरी मौलिक उत्पादन र निर्यातजन्य उद्योगहरुका लागि सरकारले सहुलियत र पुनर्कर्जा दिनुपर्ने उनको माग थियो । ‘देशको अर्थतन्त्रमा साना तथा मझौला उद्योगको योगदान ठूलो छ,’ उक्त कार्यक्रममा उनले भने, ‘तर सरकारले तीनै उद्योगी व्यवसायीका समस्यालाई वेवास्ता गर्दै आएको छ ।’ अहिलेको मन्दीका कारण उद्योगी व्यवसायीले बैंकको किस्ता तिर्न नसक्ने अवस्था रहेको भन्दै चैतमा तिर्नुपर्ने किस्ता र ब्याजलाई कम्तीमा असार मसान्तसम्म सार्नुपर्ने उनको माग थियो । यस्तै, अहिले महासंघको विधान अनुसार वस्तुगत संघको क्षेत्राधिकार एकदमै न्यून रहेको भन्दै आफु निर्वाचित भएर गएको खण्डमा तत्काल विधान संसोधन गरी अधिकार र दायरा बढाउने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् । महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समुहबाट उम्मेदवारी दिएका उनले आफ्ना सम्पूर्ण टीमलाई नै जिताएर पठाउन आग्रह गरेका छन् ।

राजश्व वृद्धि गर्न सके मात्र सामाजिक सुरक्षामा खर्च गर्न सकिन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको राजश्वमा वृद्धि गर्नसके मात्रै सामाजिक सुरक्षामा खर्च गर्न सकिने बताएका छन् । आईतबार अर्थमन्त्रालयमा आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । ‘सामाजिक सुरक्षा भत्तामा गरिबीको रेखामुनी रहेकाहरुलाई राज्यले सहयोग गर्ने उद्देश्यले विगतदेखि निरन्तरता दिएको सामाजिक सुरक्षा भत्ता देशको साधन स्रोत बिना सकिन्न,’ उनले भने । मन्त्री डा. महतले मुलुकको अर्थतन्त्रमा वाह्य र आन्तरिक समस्याले गर्दा राजश्व संकलन न्युन भएको बताए । ‘चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व संकलन हुने अवस्था छैन, मुलुकको राजश्व संकलन भन्सारमा निर्भर छ, यो वर्ष आयात प्रतिबन्ध लगायतको कारण लक्ष्य पूरा हुन सकेन,’ उनले भने । सरकार साधारण खर्च धान्न आन्तरिक ऋण र वाह्य सहयोग र ऋणमा निर्भर भएको बताउँदै उनले यस्तो गर्न उपयुक्त नभएको बताए । यस्तै, उनले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताएका छन् । ‘अर्थतन्त्रमा देखिका सबै खाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन म लागि रहेको छु, समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गरी तत्काल सकारात्मक सन्देश दिनुपर्ने भएकाले मेरो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित छ,’ उनले भने । उनले अर्थतन्त्रमा लगानी,बैंकको ब्याजदर, पूँजीबजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरी तत्काल अर्थतन्त्र सुधार गर्नु आवश्यक रहेको उल्लेख गरे ।

हामीले सम्भावना र अङ्क गणितका खेल खेल्यौं, अब चुनाव जित्छौ: अञ्जन श्रेष्ठसँग

नेपाली उद्योग व्यवसाय क्षेत्रमा एक पृथक किसिमको पहिचान बनाउन सफल व्यवसायिक समूह हो ‘लक्ष्मी ग्रुप’ । तीन सय रुपैयाँबाट व्यापार सुरु गरेको लक्ष्मी ग्रुपले अहिले नेपालको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान गरेको छ । त्यही लक्ष्मी ग्रुपका सञ्चालकमध्येका एक हुन् अञ्जन श्रेष्ठ । नेपाल उद्योग वाणिज्य महासंघमा विगत दुई दशकदेखि संलग्न रहेका श्रेष्ठ चैत २८ र २९ गते हुने महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका छन् । उनले आफ्नो टीम बनाएर प्रचारप्रसार गरिरहेका छन् । निजी क्षेत्रका समस्या समाधान गर्नका लागि आफ्नो टिम सशक्त र जुझारु रहेको उनको भनाइ छ । महासंघको चुनावी रणनीति, उनको चुनाव जित्ने आधार र चुनावी एजेण्डा लगायतका विषयमा विकासन्युजका लागि सीआर भण्डारीले कुराकानी गरेका छन् । तपाईंलाई मतदाताले किन भोट दिने ? व्यवसायमा मेरो ३० वर्षको अनुभव छ । ४८ वर्षअघि पारिवारिक पृष्ठभूमिमा ३ सय रुपैयाँबाट व्यवसाय शुरु गरेको हुँ । त्यहि व्यवसायलाई आजको दिनमा प्रतिष्ठित व्यवसायीक समूहका रुपमा चिनाउन सफल भएको छु । मेरो अभिभावकले सुरु गरेको व्यवसायलाई मैले पनि निरन्तरता दिए । पारिवारिक व्यवसायलाई मैले नेतृत्व गरेर यहाँसम्म ल्याएँ । ३० वर्षअघि अभिभावकलाई सघाएको थिएँ । त्यसपछि मैले आफैँ नेतृत्व गर्दै आएको छु । लक्ष्मी समूह उत्पादनमुलक, कृषिजन्य, निर्माण सामाग्री उद्योग, अटोमोबाइल ट्रेडिङ लगायत अन्य ट्रेडिङमा संगलग्न छ । निकट भविष्यमा पर्यटन र जलस्रोतमा पनि लगानी गर्ने योजना रहेको छ । लक्ष्मी समूहले प्रत्यक्ष रुपमा ३२ सय जनालाई रोजगारी दिएको छ । लक्ष्मी समूहका उत्पादन भएका वस्तुहरु ११ वटा मुलुकमा निर्यात भइरहेका छन् । यो समूहलाई यहाँसम्म ल्याउन ठूलो योगदान गरेको छु । व्यवसाय सफलतामा छुट्ट पाट पनि छ । २० वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघमा एउटा समितिको सदस्य भएर प्रवेश गरेको थिएँ । त्यसपछि निरन्तर रुपमा उद्योग वाणिज्य महासंघसँग संलग्न भएर काम गर्दै आएको छु । उद्योग समिति सदस्य, वाणिज्य समिति सदस्य र रोजगारदाता परिषदमा ९ वर्ष सदस्य भएर काम गरेको छु । अघिल्लो कार्यकालमा उद्योग समितिको सभापति पनि थिए । अहिले २ वर्षदेखि उद्योग वाणिज्य महासंघको वस्तुगत संघको निर्वाचित उपाध्यक्ष छु । यहाँसम्म आउँदा मैले धेरै अनुभव हाँसिल गरेको छु । मेरो संलग्नताले मलाई निखारेको छ । उपाध्यक्षको हैसियतले मैले गरेका कामहरु, मैले देखाएको नेतृत्व क्षमता, मेरो कार्यशैलीप्रति सबै उद्योगी व्यवसायीहरु सकारात्मक छन् । जिल्ला/नगर उद्यमी व्यवसायीहरुसँग लामो समयदेखि भेटघाट तथा छलफल गर्दै आएको छु । जिल्ला/नगर, वस्तुगत, एशोसिएट, द्धिराष्ट्रिय उद्योगी व्यवसायीहरुले तपाईं अघि बढ्नुस् हामी साथ दिन्छौं भन्नु भएको छ । अहिले राम्रो माहोल बनेपछि चुनाव जित्छु । तपाईंले चुनाव जित्ने आधारहरु के-के हुन् ? मसँग शसक्त टिम छ । मिल्ने र मिलाउन सक्ने युवा टिम छ । समय परिवर्तनशील छ । अहिलेको समयले जोसजाँगर भएका युवा खोजिरहेको छ । हाम्रो टिममा युवा र अनुभवी छन् । वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार अरुण सुमार्गी सशक्त हुनुहुन्छ । उहाँको आफ्नै किसिमको व्यवसायीक पृष्ठभूमि छ । अर्का उपाध्यक्षका उम्मेदवार मनिषलाल प्रधानसँग पनि लामो समयको व्यवसायीक पृष्ठभूमि छ । उहाँ पनि महासंघकै पूर्वअध्यक्ष महेशलाल प्रधानको छोरा हुनुहुन्छ । संस्थागत लगायत व्यक्तिगत रुपमा उहाँको महासंघमा ठूलो योगदान छ । मनिषजी निर्यात परिषदको सभापति र अरुण सुमार्गी कृषि उद्यम केन्द्रको सभापति हुनुहुन्छ । मजबुत, सशक्त, उर्जावान टिमलाई देशभरिका उद्यमी व्यवसायीको समर्थन छ । उद्योग वाणिज्य संघ, वस्तुगत संघ, द्धिराष्ट्रिय संघ, एशोसिएट प्रतिष्ठानका उद्यमी व्यवसायीको समर्थनले अघि बढ्न हौशाला र हुटहुटी पैदा भएको छ । एशोसिएट तर्फका उपाध्यक्ष पदका उम्मेदवारले तपाईंको साथ छोड्नु भयो, पछि साझा उम्मेदवार बनाउनुभयो । टीममा पनि आशिंक सदस्यहरु मात्रै छन् । तपाईं एशोसिएटमा कमजोर बन्नुभएको हो ? चुनाव भनेको सम्भावना र अङ्क गणितको खेल हो । अङ्क गणित र सम्भावनाका केही खेल भएर नयाँ परिस्थिति बन्यो । फेरी पनि हामीले सम्भावना र अङ्कगणितका खेल खेल्यौं । अब हामी बलियो बनेका छौं । टीमको सोलो उपाध्यक्ष उम्मेदवार हुँदा तपाईंलाई फाइदा थियो की साझा उम्मेदवार हुँदा फाइदा छ ? आजको दिनमा सम्भावना र अङ्क गणितको कुरा गर्दा म बलियो छु । यो मामिलामा मैले जितेको पनि छु । मैलेभन्दा विश्वास नलाग्न सक्छ तर, रिजल्ट जितेको देखाउनेछ । यसले भोट हाल्छ उसले भोट हाल्दैन भनेर भन्दिन । जुन नयाँ सम्भावना र अङ्क गणितका खेलहरु भएका छन् ती सबैको आधारमा म बलियो बनेको छु । चुनावमा अङ्क गणित, रणनीतिक चाल, चुनावी माहोल विकास, स्थीर रहेका भोट आफ्नो समूहमा ल्याउन तपाईंका कदमहरु के-के हुन् ? चुनावका सबै रणनीति बाहिर खुलस्त भन्न मिल्दैन । चुनावमा चाल्ने कदमहरु सबै प्रयोग भएपछि देखिन्छन् । मेरा स्टेपहरु पनि सबै देखिरहनु भएको छ । मैले उम्मेदवारी घोषणा गर्दा हतारमा गर्याे भनेका थिए । तर, त्यसको पनि छुट्टै उद्देश्य तथा रणनीति थियो । निर्वाचनमा यी सबै कदमहरुका आ-आफ्नो महत्व हुन्छन् । केही न केही उद्देश्य पुरा गर्न ती कदमहरु चालिएका हुन्छन् । रणनीतिक रुपमा हामी सशक्त भएर अघि बढेका छौं । अञ्जन श्रेष्ठले चुनाव जित्ने माहोल कहिले विकास हुन्छ ?  प्रत्येक दिन माहोल बन्दै गएको छ । प्रत्येक स्टेपसँगै माहोल बढिरहेको छ । चुनाव जित्ने माहोल बनिसकेको छ । मैले अवश्य चनाव जित्छु । वरिष्ठ उपाध्यक्ष पदका लागि ३ जना उम्मेदवार हुनुहुन्छ, पहिलो राउण्डमा नतिजा नआउने अनुमान छ । पहिलो राउण्डमै ५१ प्रतिशत ल्याएर जित्नुहुन्छ की दोस्रो राउण्डमा जान्छ ? दोस्रो चरणमा के हुन्छ माहोल ? मैले चुनाव जित्छु भन्नेमा पूर्ण विश्वास छ । त्यो विश्वास टिम र मतदाताले दिएको छ । पहिलो र दोस्रो राउण्ड प्रक्रिया मात्रै हो । चुनाव दुई पटक भएपनि मैले नै चुनाव जित्ने हो । व्यवसायीहरुको हकहितको लागि नेतृत्व चयन गर्दैछौं । नेतृत्व तहमा पुग्नका लागि राजनीतिक आशिर्वाद लिँदा राजनीतिक एजेण्डालाई अघि बढाउनु हुन्छ की व्यवसायीक एजेण्डा ? उद्योग वाणिज्य महासंघ विशुद्ध व्यवसायीक संस्था हो । निजी क्षेत्रका लागि लगानीको वातावरण बनाउन, व्यवसायीक वातावरण बनाउन, व्यवसायलाई प्रवर्द्धन तथा सम्वर्द्धन गर्न हामीहरु एकजुट भएका हौं । हाम्रो उद्देश्य योभन्दा अरु केही छैन । यी सबै काम गर्न सबै राजनीतिक दलहरुसँग सम्बन्ध बनाउनु पर्ने हुन्छ । साथै, राज्यका तह-तप्कासँग पनि सम्बन्ध कायम राख्नुपर्छ । त्यसैले राजनीतिक दलसँग भेट गरेर सम्बन्ध विकास गर्नु स्वभाविक हो । महासंघमा कुनै पनि राजनीतिक गतिविधि हुँदैनन् । बजारमा हल्ला अनेकन आउँछन् । तर, हल्लाका पछि लागेर हुँदैन । महासंघमा कुनै राजनीति हुँदैन । यहि नै वास्तविकता हो । अर्थतन्त्र समस्याग्रस्त छ । उद्योगी व्यवसायीहरु तनावमा छन् । यो समस्या समाधान गर्न तपाईंको भूमिका के रहन्छ ? लगानी गर्नका लागि पूँजी प्रयाप्त छैन । पूर्वाधारको समस्या छ । नीतिगत व्यवस्था अस्पष्ट छन् । तरलता अभाव र ब्याजदरको समस्या तत्काल समाधान गर्नुपर्नेछ । ब्याजदर घट्नै पर्नेछ । चुनावी प्रचारका लागि देशभरी दौडाह गर्दा पसल-पसलमा गएर व्यवसायीहरुसँग बसेर छलफल तथा कुराकानी गरेको छु । उनीहरुका पीडालाई मैले पनि महशुस गरेको छु । ब्याजदर उच्च हुँदा व्यवसाय धान्नै नसक्ने अवस्थामा पुगेको छ । १ सय रुपैयाँको ब्यापार गर्नेको आज २०÷३० रुपैयाँमा झरेको छ । व्यवसाय निरन्तर घटिरहेको छ तर लागत बढिरहेको छ । कोरोना महामारी पश्चात् लजिस्टीक लागत बढ्यो । रुस र यूक्रेनको युद्धका कारण मूल्य वृद्धि उच्च भयो । पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढ्यो । लागत बढ्ने तर, व्यापार घट्ने भएपछि ब्याज तथा साँवा तिर्न नसक्ने अवस्था छ । कर तिर्न सक्ने अवस्था छैन । त्यसैले सरकारले ब्याजदर घटाएर तरलता सहज गराउनुपर्छ । जसले गर्दा बजार चलायमान हुन्छ । ब्याजदर घटेपछि व्यवसाय आफै बढ्छ । त्यसपछि ऋण र ब्याज तिर्न सक्ने वातावरण बन्छ । हाम्रो देशको अर्थतन्त्रको आकार बढ्न सकेको छैन । २०४८ सालमा खुला बजार अर्थतन्त्र आएपछि १४ अर्बको बजेट थियो । अहिले १७ खर्बको पुगेको छ । रिफर्म हुन सकेको छैन । लगानीको आकार बढेको छैन । तथ्याङ्क विभागका अनुसार समग्र अर्थतन्त्र समस्या छ । २९ प्रतिशत व्यक्तिहरु अझै सक्रिय अर्थतन्त्रमा सहभागी भएका छैनन् । यो तथ्याङ्कले पनि हाम्रो अर्थतन्त्र सानो भएको देखाउँछ । हामीले तत्काल पूँजीको व्यवस्थापन गरेर अर्थतन्त्रको आकार बढाउनु पर्नेछ । सर्वसाधारणको आम्दानी बढाउनु पर्नेछ । यी सबै काम गर्नका लागि जोड दिन्छौं । सरकार र निजी क्षेत्रले समन्वय गरेर पूँजी ल्याउनु पर्नेछ । बचतबाट मात्रै पूँजी निर्माण हुने सम्भावना छैन । भारतमा ६० किलोमिटर प्रतिघण्टा पूर्वाधार निर्माण हुन्छ । तर, नेपालमा २३ किलोमिटर मात्रै प्रतिघण्टा पुर्वाधार निर्माण भएको देखिन्छ । जसले गर्दा लागत बढेको देखिन्छ । भन्सारमा सामान छुटाउन वर्ष दिन कुर्नुपर्छ । हाम्रो बिजुली गुणस्तरीय छैन । आवश्यकता अनुसार पाइँदैन । नीति नियमहरु पनि धेरै पुराना छन् । केही नीति नियम परिवर्तन भएपनि निजी क्षेत्रलाई दोहन गर्ने र कारवाही मात्रै गर्ने काम भएका छन् । सरकारको प्रक्षेपण स्पष्ट छैन । नीति बनाउनेले एउटा सोचले बनाएको हुन्छ भने कार्यान्वयन गर्ने पक्षले अर्कै किसिमले परिभाषित गरेका हुन्छन् । २० वर्षदेखि महासंघमा आवद्ध हुनु हुन्छ । महासंघको उपाध्यक्ष भएर काम पनि गर्नु भएको छ । नीतिगत रुपमा महासंघले राम्रोसँग पहल गर्न सकेन । निजी क्षेत्रमैत्री नभएका कानुन संशोधन गर्न महासंघले प्रयाप्त वकालत गर्न सकेन । तपाईं निर्वाचित भएपछि के गर्नुहुन्छ ? महासंघको बलियो भूमिका नभएकोमा तपाईं स्वीकार गर्नुहुन्छ ? म स्वीकार गर्दैन । हामीले गर्नुपर्ने कसुर कुनै पनि बाँकी राखेको छैन । २०४६ सालपछि ३ पटक राजनीतिक परिवर्तन भयो । २०४८ सालमा खुला बजार अर्थतन्त्र आएपछि सरकार र हामीसँगै बसेर छलफल गर्यौं । त्यसपछि द्धन्द्धकाल आएपछि तरल राजनीति भयो । संविधान बनाउन १४ वर्ष लाग्यो । ७ वर्षदेखि आर्थिक पाटोले प्रशय पाउँछ भनेर हामी कुरिरहेका छौं । तर, त्यो पनि पुरा हुन सकेको छैन । सरकारसँग बहस पैरवी गर्नुपर्ने, कानुन संशोधन गर्नुपर्ने सबै काम गरेका छौं । भिजन डकुमेन्ट कागजमा मात्रै बनाएको होइन । भिजन डकुमेन्टको महत्व कसैले बुझ्न सकेको छैन । प्रत्येक १० वर्षमा कुनै पनि मुलुकको अर्थतन्त्र माथि गएर तल झर्छ भनेर अर्थशास्त्रीहरु भन्नु हुन्छ । एउटै नीतिले सधैंभरि काम गर्न सक्दैन । समय समयमा नीतिगत परिवर्तन भइरहनुपर्छ । रिफर्मका लागि भिजन डकुमेन्ट बनाएको हो । हिजोका दिनमा कुनै ऐन संशोधन गर्दा तपाईंहरुको सुझाव दिनुहोस् भनेर चिठी आउँथ्यो । तर, अहिले त्यो वातावरण छैन । उल्टै यो – यो ऐन संशोधन गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौं । यदि ती व्यवस्था परिवर्तन गरियो भने १ सय खर्बको अर्थतन्त्र बन्छ । २२ लाखलाई रोजगारी दिन सकिन्छ । ५० प्रतिशत आयात प्रतिस्थापन गर्न सकिन्छ । उत्पादकत्व वृद्धि गर्न सकिन्छ भनेर भिजन पेपरमा बनाएको हो । तर, सरकारले स्वामित्व लिएन नी । त्यो डकुमेन्टलाई कार्यान्वयनमा लैजाने शिलशिलामा महासंघको भूमिका कमजोर रह्यो नी ? सरकार चाँडो चाँडो परिवर्तन भइरहेको छ । प्रशासनिक संयन्त्र अन्यौलमा छ । हामीले सरकारसँग एमओयू गर्याै । गत वर्ष १० महिनासम्म उद्योग मन्त्रालय नेतृत्वविहीन बन्यो । यसवर्ष २ महिनाजति अर्थमन्त्रालय नेतृत्वविहीन बन्यो । यस्तो परिस्थितिमा कसरी काम हुन्छ ? सरकारले खर्च गर्न सक्दैन । यो ऐनमा यो व्यवस्था गरियो भने खर्च बढ्न सक्छ भनेर सुझाव दिएका छौं । हामी निर्णयकर्ता होइनौं । हामीले दबाव मात्रै दिने हो । यदि तपाईं वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभयो भने जिल्लागत, वस्तुगत र एशोसिएटका व्यवसायीहरुका लागि गर्ने मुख्य कामहरु के-के हुन् ? नेपाल उद्योग वाणिज्य महासंघको प्रभावकारिता बढाउनु पर्नेछ । महासंघको भूमिका र प्रभाकारीतामा ब्यापकता कायम गर्नु पर्नेछ । निजी क्षेत्रलाई हेर्ने, बुझ्ने र सुन्ने दृष्टिकोणमा एकरुपता कायम गर्नु पर्नेछ । साथै निजी क्षेत्रको मर्यादा र सम्मानका लागि काम गर्छु । हाम्रो सदस्य संस्थाहरुको क्षमता वृद्धि गर्नु पर्नेछ । जिल्ला, वस्तुगत, एशोसिएट, प्रदेश उद्योग वाणिज्य संघको क्षमता वृद्धि गर्नु पर्नेछ । उनीहरुको लागि स्रोतको व्यवस्थापन गर्नु पर्नेछ । विधान संशोधनको विषय सबै क्षेत्रबाट उठेको छ । समय सापेक्ष विधान परिवर्तन गर्नु पर्नेछ । प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने गरी विधान संशोधन गर्नु पर्नेछ । म निर्वाचित भएपछि प्रत्यक्ष रुपमा सम्पूर्ण सदस्यहरुले अध्यक्ष पदमा भोट हाल्न पाउनु हुन्छ । समय सापेक्ष सबै संघ संस्थाहरुलाई संगठनात्मक रुपमा मजबुत बनाउने छु । वस्तुगत संघ, जिल्ला उद्योग वाणिज्य संघको संठनलाई बलियो बनाउनु पर्नेछ । ७५३ स्थानीय तहमा गठन भएका उद्योग वाणिज्य संघका इकाइहरुलाई व्यवस्थापन बनाउने छु ।

बसन्त चौधरीको पहिलो बालकविता संग्रह सार्वजनिक

काठमाडौं । ‘प्रेमिल कवि’को छवि बनाएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर बाल कविता संग्रह ‘आहाना’ सार्वजनिक गरेका छन् । आइतबार ललितपुरको खुमलटारस्थित प्रिमियमर इन्टरनेशनल स्कूलको सभाहलमा आयोजित एक समारोहकाबीच कवि चौधरीले लेखेको बाल कविता संग्रह ‘आहाना’ विमोचन गरिएको हो । कवि चौधरीले आफ्नो साहित्यिक जीवनकै पहिलो बाल कविता संग्रह प्रकाशन गरेका हुन् । यसअघि उनका २० वटाभन्दा बढी कविता तथा गीतहरुका संग्रह प्रकाशित भइसकेका छन् । दर्जनौं चर्चित नेपाली गीतहरुका उनी सर्जक समेत हुन् । कवि चौधरी, उनी पुत्री मेघा चौधरी, नातिनी आहाना शाक्य(चौधरी) तथा आहानाका पिता पारस शाक्य र बालबालिकाहरुले बालकविता संग्रह ‘आहाना’को सामूहिक लोकार्पण गरेका थिए । आकर्षक साजसज्जासहितको रंगीन कलेवरमा प्रकाशन गरिएको बाल कविता संग्रह नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ । ‘कोपिला किताब’ले प्रकाशन गरेको आहानामा चौधरीका ५६ वटा बालकविताहरु समेटिएका छन् । प्रत्येक कवितासँगै कलाकार भानु भट्टराईले तयार पारेको आकर्षक चित्रांकन समेत समेटिएकाले बालकविता संग्रह निकै आकर्षक छ । कविता संग्रह विमोचन समारोहमा बोल्दै कवि बसन्त चौधरीले आफू निकै खुशी भएको उल्लेख गर्दै भने–‘यस्तो लागिरहेछ कि बसन्तको आगमन फेरि भएको छ । मन प्रफूल्लित छ ।’ उनले आफ्नी नातिनीलाई सानैदेखि हेरेको र उनको उमेर बढेसँगै आफूले देखेको, भोगेका र नातिनीसँग बिताएका क्षण तथा नातिनीजस्तै भएर लेखिएका कविताहरुलाई संग्रहको रुप दिएको बताए । कविता संग्रह आहाना आफ्नी नातिनीको प्रतिबिम्ब समेत भएको उनको भनाई थियो । उनले बालसाहित्यको महत्वको विषयमा समेत आफ्ना धारणा राखेका थिए । ‘बाल साहित्य मेरो नियमित विधा होइन । यो मेरो पहिलो प्रयास हो ।’ उनले भने –‘मैले विभिन्न देशको भ्रमण गर्दा त्यहाँ बाल साहित्यले हासिल गरेको उचाई देख्दा डाह लाग्थ्यो । नेपालमा के कारणले बाल साहित्य पछाडि परेको छ, त्यो बुझ्न सकिरहेको छैन ।’ कवि चौधरीले बाल साहित्यले नेपालमा उचाई हासिल नगरे पनि बाल साहित्यको विषयमा संस्थागत कामहरु भएका भन्दै त्यस्तो काम गर्ने सबै सर्जकप्रति आभार व्यक्त गरे । ‘लगानी गरेर बालसाहित्य वा कृति प्रकाशन गर्दा रिटर्न आउँदैन ।’ उनले भने–‘तर बाल साहित्यलाई व्यापार भन्दा पनि एउटा आन्दोलनको रुपमा लिनुपर्छ ।’ बालबालिकालाई रचनात्मक कुराहरु कविता र गीतबाट सिकाउन सकिए त्यसले निकै ठूलो परिवर्तन गर्ने र बाल मानसपटलमा सिर्जनात्मक कुराहरुको बास हुने उल्लेख गर्दै विश्वभर शिक्षामा परिवर्तन भइरहँदा नेपालमा पनि हुनुपर्ने र सिकाईको माध्यमको रुपमा कविता र गीतहरुलाई पनि समावेश गरिनुपर्नेमा उनको जोड छ । कार्यक्रममा बोल्दै स्कूलकी डाइरेक्टर पवित्रा लिम्बूले कवि बसन्त चौधरीले आफ्नी नातिनीलाई जन्मदिनको दिन विशेष गिफ्ट दिएका उल्लेख गर्दै भनिन्–‘हजूरबुबाबाट यस्तो गिफ्ट आयो कि सबैलाई बाँड्न मिल्ने ! अब आजदेखि बसन्त चौधरी आहानाको मात्र होइन, देशभरका बालबालिकाहरुको पनि हजूरबुबा बन्नुभयो ।’ उनले चौधरीले नेपालको बालसाहित्यको उन्नयनका लागि निकै ठूलो गिफ्ट गरेको समेत सो क्रममा बताइन् । उनले अनाथ बालगृहका बालबालिकाहरुलाई बोलाएर सकेको सहयोग समेत गरी जन्मदिन मनाउनु अनुकरणीय रहेको उल्लेख गर्दै थपिन्–‘यस्तो जन्मदिन आइरहोस् ।’ सो क्रममा आहानाले आफ्नो जन्मदिन अनाथ बालगृहका बालबालिकासँग मनाएकी थिइन् । ती बालबालिकालाई उनले स्कूल ब्याग समेत वितरण गरेकी थिइन् । कार्यक्रममा बालबालिकाहरुले कविता संग्रहका केही कविता वाचन पनि गरेका थिए ।

बीमा रकम ठगेको आरोपमा इन्स्योरेन्सका कर्मचारी पक्राउ

काठमाडौं । बीमा रकम ठग्न सघाएको आरोपमा एक बीमा कम्पनीका कर्मचारी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसार वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको बीमा रकम ठग्न सघाएको आरोपमा बीमा कम्पनीका कर्मचारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सूर्यज्याती लाइफ इन्स्योरेन्सका जुनियर अधिकृत रहेका ३० वर्षिय उमेश बुढाथोकी रहेको अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपनिरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । ‘उनलाई हिजो ज्ञानेश्वरबाट पक्राउ गरिएको हो, हिजो ढिला भएर आज सार्वजनिक गरेका हौं,’ उनले भने । अनुसन्धान कार्यालयले गएको शुक्रबार यसमा संलग्न वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारीसहित ७ जनालाई सार्वजनिक गरिसकेको छ ।

डिशहोममा प्रकाश सपुतको नयाँ गीत गोएपमा एक्सक्लुसिभ रिलिज हुँदै

काठमाडौं । डिशहोममा प्रकाश सपुतको नयाँ गीत गोएपमा एक्सक्लुसिभ रिलिज गर्ने भएको छ । प्रकाश सपुतको नयाँ गीत सकम्वरी अन्य सवै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिज गर्ने भएको हो । सो एक्सक्लुसिभ कार्यक्रम चैत २८ देखी डिशहोम गोएप मार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सकिनेछ । डिशहोम गो प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गरेर प्रयोग गर्न सकिनेछ । यदी डिशहोम ग एप पहिलो पटक डाउनलोड गरेर प्रयोग गर्दा सबै ईन्फरमेसन भरी रजिस्टर गरेमा डिशहोमले ३ महिना सम्म निशुल्क हेर्न सक्ने सुविधा दिएको छ कम्पनीले जनाएको छ । डिशहोमको यस एपमा लाईभ टि.भी. लगाएत विभिन्न भिडियो कन्टेन्टहरु (चलचित्र, सिरिज, रियालिटी सो सर्ट फिल्म, डकुमेन्ट्री ….) को समेत मज्जा लिन सकिने कम्पनीले जनाएको छ ।

उमेशलालले भने, ‘म पहलमान होइन हलमानको रुपमा अघि बढेको छु, मेरो जित सुनिश्चित छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वातमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले आफु व्यवसायीको समस्यामा पहल गर्न वा आश्वासन दिन मात्रै नभई व्यवसायीका वास्तविक समस्या हल (समाधान) गर्न अधि बढेको भन्दै आफ्नो जित सुनिश्चित भएको बताएका छन् । ‘अहिले धेरै साथिहरुले व्यवसायीको समस्या सुनिरहेको छु वा समस्या समाधान गर्न पहल गरिरहेको छु भन्ने आश्वासन दिइरहनु भएको छ,’ निर्वाचन सम्बन्धी छलफल कार्यक्रममा उनले भने, ‘म उद्योगी व्यवसायीहरुलाई झुटा आश्वासन दिन्न र कुनै पनि समस्याको विषयमा पहल मात्रै होइन सम्बन्धित निकायमा पुर्याएर हल गर्नेछु ।’ पछिल्लो समय सकारले व्यवसायीका वास्तविक समस्याको विषयमा समेत सुनुवाई नगरेको भन्दै त्यसका लागि दरिलो महासंघ चाहिएको उनको तर्क थियो । ‘मलाई अन्धो, बैरो र लंगडो महासंघ चाहिएको छैन,’ उनले भने, ‘महासंघ नेतृत्वले उद्योगी व्यवसायीको समस्या देख्ने, सुन्ने र समाधानका लागि सम्बन्धित निकायमा लिएर हिड्नसक्ने हुनुपर्छ ।’ अहिले महासंघमा उद्योगी व्यवसायीको समस्यालाई सरकारसँग निडर र निर्धक्क भएर राख्नसक्ने व्यक्तिको आवश्यकता भएको र उक्त व्यक्ति आफु भएको समेत उनको भनाई थियो । अहिले महासंघले प्रदेश, जिल्ला नगर, वस्तुगत संघ र एसोसिएट्स सदस्यहरुबीच समन्वय गरेर व्यवसायीका वास्तविक समस्या समाधान गर्न भन्दै जबसम्म जिल्ला नगर तथा वस्तुगतका साथिहरुले महासंघको केन्द्रिय नेतृत्वलाई गाली गर्ने अवस्था आइरहन्छ तबसम्म महासंघ सुधार भएको नमानिने समेत उनको दावी थियो । अहिले महासंघको पुरानो गरिमामा आच आएको भन्दै आफुलाई वरिष्ठ उपाध्यक्षमा जिताएर पठाएको अवस्थामा उक्त गरिमालाई उच्च बनाउँदै सम्मानित व्यवसायी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘राज्यलाई सबैभन्दा बढी योगदान दिँदै आएको हामी निजी क्षेत्रलाई हेर्ने नजर एकदमै गलत छ भने जाजय माग राख्दा पनि सरकारले सुनुवाई गरिहेको छैन,’ उनले भने, ‘हामीले राज्यसँग माग्ने होइन देशको अर्थतन्त्र सुधारका लागि राज्यले हामीसँग सल्लाह सुझाव माग्न आउने अवस्था बनाउने छु ।’ उक्त सुधारको लागि महासंघको आसन्न निर्वातमा आफुलाई वरिष्ठ उपाध्यक्षमा जिताएर पठाउन समेत उनले उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । महासंघको निर्वाचनमा सबैभन्दा बढी मतभार जिल्ला तथा नगरको रहन्छ भने कम मतमा बढी भार भएका कारण वस्तुगत संघलाई पनि बढी महत्व दिईदै आएको छ । लामो समय भ्रमणगरी जिल्लाका समस्याहरुलाई नजिकसँग बुझेको र वस्तुगत संघमा आफुनै लामो समयदेखि रहँदै आएका कारण सो क्षेत्रको आफुलाई बढी मत आउने उनको जानकारी दिए । यस्तै भर्खरै सम्पन्न महासंघको प्रदेश निर्वाचनमा पनि उमेशलाल समुहका व्यवसायीहरु अध्यक्षमा निर्वाचित भएका थिए । नवनिर्वाचित प्रदेश अध्यक्षहरुको केन्द्रिय निर्वाचनमा ठूलो भुमिका रहने भएकाले पनि पहिले चरणमै उनले जित्नसक्ने सम्भावना उच्च रहेको सम्बद्ध उद्योगी व्यवसायीहरु बताउँछन् । यस्तै एसोसिएट्मा पनि उनको समुहबाट महासंघको आगामी अध्यक्ष चन्द्रप्रसाद ढकालले समर्थन गरेको भरतराज आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिएकाले अन्य प्रतिस्पर्धीतको तुलनामा उमेशलला वलियो रहेको सम्बद्ध व्यवसायीहरुको विश्लेषण रहेको छ ।