विकासन्युज

डिशहोममा प्रकाश सपुतको नयाँ गीत गोएपमा एक्सक्लुसिभ रिलिज हुँदै

काठमाडौं । डिशहोममा प्रकाश सपुतको नयाँ गीत गोएपमा एक्सक्लुसिभ रिलिज गर्ने भएको छ । प्रकाश सपुतको नयाँ गीत सकम्वरी अन्य सवै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिज गर्ने भएको हो । सो एक्सक्लुसिभ कार्यक्रम चैत २८ देखी डिशहोम गोएप मार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सकिनेछ । डिशहोम गो प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गरेर प्रयोग गर्न सकिनेछ । यदी डिशहोम ग एप पहिलो पटक डाउनलोड गरेर प्रयोग गर्दा सबै ईन्फरमेसन भरी रजिस्टर गरेमा डिशहोमले ३ महिना सम्म निशुल्क हेर्न सक्ने सुविधा दिएको छ कम्पनीले जनाएको छ । डिशहोमको यस एपमा लाईभ टि.भी. लगाएत विभिन्न भिडियो कन्टेन्टहरु (चलचित्र, सिरिज, रियालिटी सो सर्ट फिल्म, डकुमेन्ट्री ….) को समेत मज्जा लिन सकिने कम्पनीले जनाएको छ ।

उमेशलालले भने, ‘म पहलमान होइन हलमानको रुपमा अघि बढेको छु, मेरो जित सुनिश्चित छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वातमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले आफु व्यवसायीको समस्यामा पहल गर्न वा आश्वासन दिन मात्रै नभई व्यवसायीका वास्तविक समस्या हल (समाधान) गर्न अधि बढेको भन्दै आफ्नो जित सुनिश्चित भएको बताएका छन् । ‘अहिले धेरै साथिहरुले व्यवसायीको समस्या सुनिरहेको छु वा समस्या समाधान गर्न पहल गरिरहेको छु भन्ने आश्वासन दिइरहनु भएको छ,’ निर्वाचन सम्बन्धी छलफल कार्यक्रममा उनले भने, ‘म उद्योगी व्यवसायीहरुलाई झुटा आश्वासन दिन्न र कुनै पनि समस्याको विषयमा पहल मात्रै होइन सम्बन्धित निकायमा पुर्याएर हल गर्नेछु ।’ पछिल्लो समय सकारले व्यवसायीका वास्तविक समस्याको विषयमा समेत सुनुवाई नगरेको भन्दै त्यसका लागि दरिलो महासंघ चाहिएको उनको तर्क थियो । ‘मलाई अन्धो, बैरो र लंगडो महासंघ चाहिएको छैन,’ उनले भने, ‘महासंघ नेतृत्वले उद्योगी व्यवसायीको समस्या देख्ने, सुन्ने र समाधानका लागि सम्बन्धित निकायमा लिएर हिड्नसक्ने हुनुपर्छ ।’ अहिले महासंघमा उद्योगी व्यवसायीको समस्यालाई सरकारसँग निडर र निर्धक्क भएर राख्नसक्ने व्यक्तिको आवश्यकता भएको र उक्त व्यक्ति आफु भएको समेत उनको भनाई थियो । अहिले महासंघले प्रदेश, जिल्ला नगर, वस्तुगत संघ र एसोसिएट्स सदस्यहरुबीच समन्वय गरेर व्यवसायीका वास्तविक समस्या समाधान गर्न भन्दै जबसम्म जिल्ला नगर तथा वस्तुगतका साथिहरुले महासंघको केन्द्रिय नेतृत्वलाई गाली गर्ने अवस्था आइरहन्छ तबसम्म महासंघ सुधार भएको नमानिने समेत उनको दावी थियो । अहिले महासंघको पुरानो गरिमामा आच आएको भन्दै आफुलाई वरिष्ठ उपाध्यक्षमा जिताएर पठाएको अवस्थामा उक्त गरिमालाई उच्च बनाउँदै सम्मानित व्यवसायी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘राज्यलाई सबैभन्दा बढी योगदान दिँदै आएको हामी निजी क्षेत्रलाई हेर्ने नजर एकदमै गलत छ भने जाजय माग राख्दा पनि सरकारले सुनुवाई गरिहेको छैन,’ उनले भने, ‘हामीले राज्यसँग माग्ने होइन देशको अर्थतन्त्र सुधारका लागि राज्यले हामीसँग सल्लाह सुझाव माग्न आउने अवस्था बनाउने छु ।’ उक्त सुधारको लागि महासंघको आसन्न निर्वातमा आफुलाई वरिष्ठ उपाध्यक्षमा जिताएर पठाउन समेत उनले उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । महासंघको निर्वाचनमा सबैभन्दा बढी मतभार जिल्ला तथा नगरको रहन्छ भने कम मतमा बढी भार भएका कारण वस्तुगत संघलाई पनि बढी महत्व दिईदै आएको छ । लामो समय भ्रमणगरी जिल्लाका समस्याहरुलाई नजिकसँग बुझेको र वस्तुगत संघमा आफुनै लामो समयदेखि रहँदै आएका कारण सो क्षेत्रको आफुलाई बढी मत आउने उनको जानकारी दिए । यस्तै भर्खरै सम्पन्न महासंघको प्रदेश निर्वाचनमा पनि उमेशलाल समुहका व्यवसायीहरु अध्यक्षमा निर्वाचित भएका थिए । नवनिर्वाचित प्रदेश अध्यक्षहरुको केन्द्रिय निर्वाचनमा ठूलो भुमिका रहने भएकाले पनि पहिले चरणमै उनले जित्नसक्ने सम्भावना उच्च रहेको सम्बद्ध उद्योगी व्यवसायीहरु बताउँछन् । यस्तै एसोसिएट्मा पनि उनको समुहबाट महासंघको आगामी अध्यक्ष चन्द्रप्रसाद ढकालले समर्थन गरेको भरतराज आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिएकाले अन्य प्रतिस्पर्धीतको तुलनामा उमेशलला वलियो रहेको सम्बद्ध व्यवसायीहरुको विश्लेषण रहेको छ ।

नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर कम्पनीको लाइसेन्स वितरण गर्न बाटो खुल्यो, सर्वोच्चले खारेज गर्याे रिट

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर कम्पनी र वस्तु विनिमय बजारको इजाजतपत्र (लाइसेन्स) वितरण गर्न बाटो खुलेको छ । सर्वोच्च अदालतले धितोपत्र बोर्डविरुद्ध परेको रिट खारेज गरेपछि नयाँ लाइसेन्स वितरण गर्न बाटो खुलेको हो । आइतबार अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले सेबोन विरुद्ध परेका रिट खारेज गरेको हो । यससँगै धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर कम्पनी र वस्तु विनिमय बजारका लागि छिट्टै लाइसेन्स खुलाउने भएको छ । गत असोज ३१ गते अधिवक्ता दिपक विक्रम मिश्रले नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर र वस्तु विनिमय बजारलाई लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

भोजपुर क्यापसमा इसेवाले गर्यो सहयोग

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले भोजपुर बहुमुखि क्याम्पसमा सहयोग गरेको छ । इसेवा मनी ट्रान्स्फरले भोजपुरको भोजपुर बहुमुखि क्याम्पस र लक्ष्मी केयर्सलाई सहयोग हस्तान्तरण गरेको हो । शुक्रबार कम्पनीले डिजिटल साक्षरताका इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले संस्थाका अध्यक्ष प्रमेश केसी साथै महा सचिव संकेत कोईरालालाई सिजि ६५ एइ फोके एन्रोइड टिभि र स्टेशनरी सामानहरू हस्तान्तरण गरेका हुन् । यसका साथै कम्पनीले लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा सञ्चालित सामाजिक उत्तरदायित्वको पहलमा लक्ष्मी केएर्सलाई शनिबार आयोजित ओरेन्ज भ्इवान्स र्चोडर्स फर कज २०२३ कार्यक्रममा आर्थिक सहयोग पनि गरेको छ । लक्ष्मी केयर्स ग्रीन इनिटिएटिभ, गर्ल एजुकेसन र फाइनानसियल लिटरेसी क्षेत्रमा सक्रिय रहेको छ । स्थापनाको छोटो समयमै तिब्र गतिमा बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएकाे छ ।

रविका सांसद र दुर्गा प्रसाईंबीचको २ करोडको अडियो प्रकरण : यस्तो छ १०:४३ मिनेटको कुराकानी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ। कपुरबोट मिडियाले श्रेष्ठ र प्रसाईंबीच भएको डिलको अडियो सार्वजनिक गरेको छ । अडियाे सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेकाे छ । अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन् । यस्ताे छ प्रसाईं र श्रेष्ठबीच भएकाे अडियाेकाे वार्तालाप दुर्गा प्रसाईं – नमस्ते, के छ नि हालखबर ? ढाकाकुमार श्रेष्ठ – ठिक छ सर । म नि भर्खरै उठेको प्रसाईं – ए, त्यै त म नि ! राति, मैले पनि फोन अफ गरेँ । फोन अफ भनेको सुत्ने टाइम भयो होला, फोन चार्जमा पनि राखेको । के भने नि खास्सै कुरा के हो ? मलाई भन्नुस् त डक्टर साप ! श्रेष्ठ – स्वास्थ्य हामीले पाउने भयो । पार्टीलाई अलिकति सहयोग गर भनेर आन्तरिक तरिकाले कोर टीम छ दुई-तीन जनाको तिनीहरूले भनिरहेका छन् । मलाई दुई जति चाहियो, साढे दुई जति चाहियो भन्दैथिए मलाई हिजो । मेरो पक्का चाहिँ पक्का भयो । त्यो आज मैले फिक्स गर्नुछ दाइ, सर । अलिकति आर्थिकमा म त्यस्तो पनि छैन । मन्त्री पनि बन्नुपर्योे । अब यो धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सुधार पनि गर्नुछ । मैले धेरै गर्छु भनेर सोचे गरेको छु । अब त्यसमा हजुरहरूको सपोर्ट सहयोग चाहियो । प्रसाईं– एउटा कुरा बुझ्न खोजेको । डक्टरसाप मैले त स्वतन्त्र पार्टीमा डाक्टर भनेको हाम्रो तोसिमा कार्की मात्रै छिन् भनेर बुझ्या थिए त ? श्रेष्ठ – होइन हामी तीन जना छौं । प्रसाईं – को को हुनुहुन्छ ? श्रेष्ठ – म भए, तोसिमा भयो, अनि चन्दा कार्की प्रसाईं – साँच्चि चन्दा म्याम पनि पो हुनुहुन्छ त है । डाक्सापको घर चाहिँ कहाँ हो ? श्रेष्ठ – मेरो पोखरा हो सर । प्रसाईं – ए, अनि एमबीबीएस कहाँ गरेको तपाईंले ? श्रेष्ठ – मैले चाइनामा । प्रसाईं – अनि एमडी ? श्रेष्ठ – एमडी मैले गरेको छैन । म एमएस मात्रै हो । पछि यता अर्कैतिर पढ्ने भन्दाभन्दै पोलिटिक्सतिर आएँ । प्रसाईं – अब हेर्नुस् है, धेरै ठूलो समस्या छ स्वास्थ्यमा, हैन डक्टरसाप । देशमा भएका नर्सिङ क्याम्पस बन्द गराए । आज नर्स पढ्न पाउँदैनन् । मैले त जहिले भनेको छु, दुबईका डान्सबारमा हाम्रा चेलीबेटीले डान्स गर्नुभन्दा नर्स पठाउँ । हो कि होइन ? श्रेष्ठ – हो नि त । प्रसाईं – मैले त डक्टर उत्पादन गरौं बरु १०० वटा मेडिकल कलेज खोलौं विदेशबाट इन्डियाबाट विद्यार्थी ल्याउँ पढाउँ… श्रेष्ठ – हो नि त । प्रसाईं – हस्पिटल फ्री गरौं । कति राम्रो कुरा गरेको मैले… श्रेष्ठ – हो नि । प्रसाईं – त्यस्तो छ । डक्टरसापको नाम चाहिँ ढकबहादुर के हो ? श्रेष्ठ – ढाकाकुमार श्रेष्ठ । प्रसाईं – ढाकाकुमार श्रेष्ठ, आच्छा ! मैले त्यो कुरो बुझेँ । सल्लाह गरेर अघि बढौंला । अनि फेरि तपाईंसँग एउटा कुरा भन्न खोजेको । हामी त ह्वाट्सएपमा छौं केही मतलब भएन । अनि मुकुलहरूले त नलिने भन्थे त स्वास्थ्य र शिक्षा । ढाका – स्वास्थ्य, शिक्षा मुकुलजीलाई त्यति थाहा छैन सर यो । आन्तरिक कुरा हो । मुकुलजी पनि कोर टीममा हुनुहुन्न । उहाँ बाहिर महामन्त्री नै हो । अब हजुरलाई पार्टीको कुरा गर्दाखेरि, त्यहाँ दुईतीन जना छुट्टै हुनुहुन्छ पार्टीलाई धेरै सहयोग गर्ने, सुरुवाती क्षणदेखि नै सहयोग गर्ने रवि सरलाई । त्यो टीमबाट मलाई कुरा आएको हो । आज मैले फिक्स गर्नुपर्छ पैसा । उधारो हुन्न भन्छन् फेरि । प्रसाईं – क्यास अढाइ करोडको कुरा । दुई करोड ? श्रेष्ठ – दुई, साढे दुई भनेका छन् । मैले अहिले १ दिए भनेपनि मान्छन् होला । पछि चेक दिए पनि मान्छन् दुई तीन दिनको । प्रसाईं – फेरि आज बन्द छ नि त ! आज बन्द छ । फेरि ९ लाख ९९ हजारभन्दा माथिको चेक साटिँदैन । सुन्नुस् क्लियर कुरा । एउटा टाइम राखेर म दिन्छु । तपाईंले भनिहाल्नुभयो । भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले । श्रेष्ठ – हैन, त्यो त म गर्छु । मलाई त यो दिक्क लाग्छ गोविन्द केसी देखेर । कहिले मर्छ जस्तो लाग्छ मलाई त। पुरै जेनेरेसन पढ्न नपाएको पनि तिनले गर्दा हो । प्रसाईं – मैले मेरो छोरीलाई जापान पठाउनुपर्‍यो त्यो टोकियो युनिभर्सिटीमा ३ करोड तिरेर एमडी गर्नलाई । यहाँ आफ्नोमा छ रेडिएसन अंकोलोजी, पढाउन पाइनँ भैले । श्रेष्ठ – त्यै त यो सबै बेथिति छ । प्रसाईं – मेरो त हेर्नुस् न म त कति मरेको छु । मेरो मेडिकल कलेज हेर्नस् त सबै भौतिक पूर्वाधार पुगेको काठमाडौं उपत्यका बाहिर मेची अञ्चलमा । ल भन्नुस् त ३२ लाख पपुलेसन छ । म त डुबेको छु कि छैन भन्नुस् त ? म त मर्न मात्रै बाँकी छ। श्रेष्ठ – त्यै त ! यो हटाउनपर्छ सर यस्ता कुराहरू । यो समस्या समाधान गर्नुपर्छ । प्रसाईं – अनि शिक्षा चाहिँ कसले लिने भएछ सर भाइ ? … शिक्षा चाहिँ कसले लियो डक्टरसाप । श्रेष्ठ – शिक्षा हामीलाई परेन जस्तो छ सर । प्रसाईं – शिक्षा हाम्रा हजुरबुबाले राखे होलान् । श्रेष्ठ – सायद राखे होलान् शिक्षा प्रसाईं – किनभने मलाई यसपाली एफिलिएसन पनि दिनुपर्नेछ कि हजुरबुबाले । सबै कुरा सकिएको छ । काठमाडौं युनिभर्सिटी एफिलिएसन दिएको छ । संख्या मात्रै तोकिदिएको छैन । त्यो त नारायणकाजीको मान्छे हो नि त गिरि । त्यहाँबाट पैसा उठाएर लगेर नारायणकाजीलाई बुझाउने मान्छे हो क्या त्यो ! ल यसो गर्नुस् त … श्रेष्ठ – निश्चिन्त हुनुस् काम मिलेर गर्ने हो, तपाईं म । प्रसाईं – एकछिन एकछिन । यहाँ सुन्नुस् । भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ २ गते । आज त छुट्टी भइगयो । म भोलि बेलुका हजुरबुबासँगै काठमाडौं आउँछु । भोलि बेलुका भेटुँला । तपाईंको ग्यारेन्टी गर्नुस् । अब तपाईंलाई मैले गर्ने सहयोग गर्छु । तपाईंले जुन भन्नुभयो नि दुई, म आएर गरौंला । तर अलिकति टाइम लाग्छ है । पैसा मिलाएर निकाल्नुपर्छ । त्यत्तिकै हचुवामा निक्लिँदैन । अहिले त बैंकले जम्मै सिस्टम खोज्छ । त्यति सजिलो हुँदैन । भकभक बाकसमा पैसा ल्याएर गाह्रो छ । कुरो बुझ्नुभयो के ? त्यो कसैले पनि दिन सक्दैन आजको आजै पैसा । नेपालमा कसैले सक्दैन । श्रेष्ठ– त्यै त । प्रसाईं – हिजो पुस मसान्त । हिजो ब्याज बुझाइयो । श्रेष्ठ – हजुरलाई नि साह्रै गाह्रो छ होला है विचरा । प्रसाईं – गाह्रो छ नि ! मैले त हिजो पुस मसान्त ब्याज बुझाए । मेरो स्वास्थ्य बीमाको पैसा १४/ १५ करोड पैसा अझै दिएन स्वास्थ्य बीमाले अढाइ वर्षदेखि । श्रेष्ठ – बीमा पनि १२ अर्बको लगानी हुँदो रहेछ नेपालमा । बीमा पनि सबैतिर लागु गर्नुपर्नेछ । प्रसाईं – बीमा कसरी लागु गर्ने म भनिदिन्छु हैन । तपाईंले एउटा कुरा के ग्यारेन्टी गर्नुस् भने म २ करोड दिने भए तपाईंलाई । यो पैसा पनि तपाईंले उही रवीलाई पनि बुझाउनुपर्ला नि त हैन ? भोलि पर्सी । श्रेष्ठ – अँ । मैले रवीसरलाई भन्दा पनि रवि सर देखा पर्नुभएको छैन । बाहिरको दुई तीन जना साथीहरू हुनुहुन्छ । उहाँहरूलाई दिने हो । पार्टीलाई जान्छ भनेका छन् के रे । प्रसाईं – पार्टीमा पनि सबै कमाउनेकै हुन् नि भाइ । श्रेष्ठ – कसरी गर्छन् थाहा छैन । पार्टीमा जान्छ कि जान्न त्यो पनि मलाई थाहा छैन । सोधेकै छैन के । पार्टी कमजोर छ । सुरुवाती क्षण पनि छ । साह्रै गाह्रो छ भन्या छन् । प्रसाईं – ल सर म भोलिबेलुका नभए पर्सी आउँछु अनि दाजुभाइ भेटुँला नि त । तपाईंले ग्यारेन्टी गर्नुस् म दिन्छु भनेर । तर मलाई अलिकति टाइम चाहियो भन्नुस् । श्रेष्ठ – अँ हुन्छ। म त्यै कुरा गर्छु सर । हजुर भोलि आउनुहन्छ बेलुका ? प्रसाईं – अँ म भोलि बेलुका । हजुरबुबा आउने भएर बस्नुपर्‍छ कि । अनि म भोलि आउँछु । है डक्टरसाप । श्रेष्ठ – ल तपाईं म सबै के के गर्नुपर्छ सल्लाहले । प्रसाईं – मैले तपाईंले एउटा कुरो के ग्यारेन्टी गरे भने दूई करोड दिने ग्यारेन्टी गरेँ । तपाईंलाई म सजिलो बाटो देखाइदिन्छु । म आएर मिलाइदिन्छु । त्यसमा पीर नगर्नुस् उनीहरूसँग टाइम माग्नुस । म दिन्छु भनेर भन्नुस् सकियो कुरा । तपाईं र म एक ठाउँमा भेट्नुपर्छ । भेटिराख्नु पनि पर्दैन । फोन गर्नु नि पर्दैन । तपाईंलाई म जति भिडेको छु नि स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के भिडेको छ । दुई करोडको म ग्यारेन्टी दिन्छु । तपाईं पीर नगर्नुस् अघि बढ्नुस् है । अनि तोशिमाले फेरि लडाइँ त गर्दिनन् नि ? तोसिमा कार्कीले तपाईंसँग ? श्रेष्ठ – गर्दिनन्, गर्दिनन् । केही समस्या छैन । त्यै टीमले गरेपछि सकियो । रवि सरलाई म्यान्डेट दिएका छौं । उहाँले जसलाई राख्नुभयो भयो । । प्रसाईं – फेरि तोसिमाले पैसा निकाल्न पनि सक्दैनन् । तोसिमाले पैसाको कुरा गर्न पनि सक्दैनन् किन भन्नु न गोविन्द केसीको मान्छे भन्छन् । उसले कहीँ कुरै गर्न मिल्दैन । उसँग डराउँछन् । श्रेष्ठ– तिनी मन्त्री भइन् भने पनि काम पनि छैन । केही छैन । प्रसाईं – हस् ! हस् भाइ ! हस् डक्टरसाप । श्रेष्ठ – हस् नमस्कार ।

पाँच वर्षपछि अघि बढ्दै स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण

काठमाडौं । सम्झौता भएको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ । सडक निर्माण अघि बढाउन निर्माण कम्पनी अप्रिलमै आउने तय भएको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाका प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । केही समय पहिले चिनियाँ दूतावासका प्रतिनिधि निर्माणस्थल पुगेका थिए । सो अवसरमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, आयोजना प्रमुख र दूतावासका दुईजना प्रतिनिधिबीच सडक निर्माण अघि बढाउने विषयमा छलफल भएको उनकाे भनाइ छ । उक्त बैठकमा चिनियाँ पक्षले नेपाल सरकारले काम अघि बढाउनुपर्ने भनेको जानकारी गराएको थियो । उक्त सडक खण्डमा अहिले कतिपय स्थानमा बिजुलीको पोल स्थानान्तरणको समस्या रहेको योजना प्रमुख श्रेष्ठको भनाइ छ । सरकारले सन् २०१८ मा सो सडक चीन सरकारको सहयोगमा निर्माण गर्ने गरी सम्झौता भएको थियो । कोभिडभन्दा पहिले निर्माण कम्पनी निर्माणस्थल पुगेको थियो । त्यतिबेला चिनिँया नयाँ वर्षको कारण उनीहरु चीन गएको र त्यसपछि नफर्किएको उनले बताए । ‘तत्कालीन समयमा चिनियाँहरु नयाँ वर्ष मनाउने चीन गएपछि कोरोना महामारी सुरु भयो र उनीहरु समयमै फर्कन पाएनन्’, उनले भने । विसं २०७२ मा नाकाबन्दीपछि चीनतर्फको नाका खोल्नका लागि सरकारले सो योजनालाई प्राथमिकतामा राखेको थियो । भारत र चीन जोड्ने द्विदेशीय नाकाका रुपमा विकास गर्न खोजिएको योजनाले जनाएको छ । पहिले रसुवाबाट चीन जोड्न धुन्चेको बाटो प्रयोग हुने गरेको थियो । रसुवाको सदरमुकाम धुन्चे पुग्न बढी उचाइमा जानुपर्ने र साँघुरो, घुम्ती बढी भएकाले नयाँ सडकको अवधारणा ल्याइएको प्रमुख श्रेष्ठको भनाइ छ । बेत्रावतीबाट माथिल्लोतर्फ लाग्दा धुन्चे पुगिने र देब्रे लाग्दा त्रिशूलीको किनारैकिनार मैलुङहुँदै स्याफ्रुबँेसी गएर पुरानो बाटोमा भेटिन्छ । यो सडक खोलाको किनारै किनार जाने र साँघुरा घुम्ती नरहेको उनले बताए । लम्बाइका हिसाबले पनि सडक झण्डै २५ किमी छोटो हुनेछ । उनले भने, ‘तुलनात्मक रुपमा छोटो छ र उकालो ओरालो पनि कम रहेको छ ।’ रसुवागढीसम्म पुग्ने सडक पृथ्वी राजमार्गको गल्छीबाट सुरु हुन्छ । गल्छीबाट नारायणगढहुँदै वीरगञ्जको थोरी हुँदै रक्स्यौल नाका जोड्न सकिन्छ । गल्छीबाटै सङ्घीय राजधानी काठमाडौँ वा पश्चिमतर्फ पोखरा वा बुटवल जान सकिन्छ । कोभिडको समयमा कुनै पनि काम नभएकामा अहिले निर्माण अघि बढाउने उद्देश्यले दातृ निकाय आउन थालेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले बताए । स्याफ्रुबेँसी-रसुवागढी सडकमा निर्माण कम्पनी ठेक्का सम्झौता गरेर गएपछि नआएकोमा अहिले स्थलगत भ्रमण भएको श्रेष्ठले बताए । महाशाखाले यसबीच निर्माण अघि बढाउन इमेलमार्फत सम्पर्क गरिरहेको प्रमुख डा जैसीको भनाइ छ । उनीहरुले पहिले कोभिडका कारण आउन नसकेको भनेका थिए । कोभिडका कारण अघि बढ्न नसकेका आयोजना विशेष गरी चिनियाँ परियोजनामा गति लिने देखिएको छ । चीनसँग जोड्ने छोटो मार्गका रुपमा रहेको गल्छीबाट स्याफ्रुबेँसी हुँदै रसुवागढीसम्मको सडक व्यापारिक हिसाबलेसमेत महत्वपूर्ण छ । विसं २०७२ मङ्सिर १७ गते मन्त्रिपरिषद्को बैठकले यो सडकलाई सहायक मार्ग तोकी राष्ट्रिय गौरवको मान्यता दिएको थियो । दुई देशबीचको छोटो दूरीको व्यापारिक मार्गका रुपमा स्थापित गर्ने सरकारको योजना थियो । योजनाले खासगरी धादिङ, नुवाकोट र रसुवा गरी तीन जिल्लालाई जोड्छ । चितवनको भण्डारालाई सुरु बिन्दु मान्दा भने चार जिल्लापर्छ । भण्डाराबाट गल्छीसम्मको सडक भने डिभिजन सडक कार्यालयले हेरिरहेको छ । सरकारले यसलाई उत्तर-दक्षिण राजमार्गका रुपमा सूचीकृत नगरे पनि भण्डाराबाट रसुवागढीसम्मको सडकले भारतको सीमा हुँदै चीनको सीमासम्म पुग्नेछ । गल्छीबाट मैलुङसम्मको सडकको लम्बाई ४६ किमी, दोस्रो खण्ड मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकको लम्बाइ १९ किमी रहेको छ । स्याफ्रुेबँसीबाट रसुवागढी झण्डै १७ किमी लम्बाइ छ । गल्छीबाट नै रसुवागढीसम्मको सडक ८२ किमी छ । रासस

हिमालयन बैंकले संचालन गर्यो अपाङ्गमैत्री एटिएम सेवा

काठमाडौं । हिमालयन बैंकले अपाङ्गमैत्री एटिएम सेवा संचालन गरेकाे छ । बैंकले साँगा स्थित स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटिएम संचालनमा ल्याएको हाे । बैंकले बैंकिङ्ग सुबिधा सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यताका साथ सबैको लागि बैंक, सबैका लागि बैंकिङ्ग सुबिधा भन्ने उद्देश्यले सो स्थानमा एटिएमको सुरुवात गरेको हो । बैंकको सो एटिएमको उद्घाटन स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रको २१ औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक समारोहको बीच बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रका अध्यक्ष डा. शान्ता दिक्षितले गरेका हुन् । उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरा लगायत बैंक तथा उक्त संस्थाका उच्चपदस्थका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

घटेर साढे ३ महिना अघिकै विन्दुमा पुग्यो नेप्से

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्जको परिसुचक घटेर साढे तीन महिना अघिकै विन्दुमा पुगेको छ । आज नेप्से २८.३१ अंकले घटेर १८३८.४८ विन्दुमा पुगेको छ । आज दुई सय ६८ वटा कम्पनीको ३८ लाख ४३ हजार सात सय १३ कित्ता सेयर २९ हजार दुई सय ३९ पटक खरिदबिक्री हुँदा एक अर्ब १५ करोड ९४ लाख ४८ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ७९ दशमलव ९४ र निर्जीवन बीमा समूह एक सय ५३ दशमलव ३६ अङ्कले घटेको छ । नेप्सेका अनुसार बैंकिङ समूह १५ दशमलव ११, विकास बैंक समूह ६१ दशमलव ५२, वित्त समूह २७ दशमलव ७३, होटल तथा पर्यटन समूह ४३ दशमलव ०४ र जलविद्युत् समूह ५७ दशमलव ९० अङ्कले घटेको छ । त्यस्तै, लगानी समूह शून्य दशमलव ६६, उत्पादन तथा प्रशोधन समूह ४९ दशमलव ८१, लघुवित्त ४४ दशमलव ३५, म्युचुअल फन्ड शून्य दशमलव १०, अन्य समूह १७ दशमलव तीन र व्यापार समूह २७ दशमलव ३३ अङ्कले घटेको छ । आजको कारोबारमा कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गिरावट भने माछापुच्छ्रे बैंक डिबेन्चर–२०८५ को सेयरमूल्य सात दशमलव ७५ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार आज सबैभन्दा धेरै नबिल बैंकको पाँच करोड ७८ लाख ५५ हजार र शिवम् सिमेन्टको पाँच करोड ७८ लाख ३७ हजार बराबरको सेयर कारोबार भएको छ । कारोबार भएको सेयर सङ्ख्याका आधारमा भने ग्लोबल बैंकको प्रमोटर से्यर दुई लाख २३ हजार चार सय ३७ कित्ता खरिद बिक्री भएको छ ।