विकासन्युज

जीवन विकास लघुवित्तले ७७ ठाउँमा दियो वित्तीय साक्षरता, ४३४ जना विद्यार्थीलाई छात्रवृत्ति पनि

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले २५ दिने गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले चैत १ गतेदेखि चैत २५ गतेसम्म विभिन्न जिल्लामा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा संस्थाले सदस्यहरुसँग अन्तरक्रिया गर्नुका साथै कूल ७७ स्थानमा वित्तीय साक्षरता दिएको थियो । संस्थाका डिजिटल प्रमुख विजय कुमार मण्डलका अनुसार मोरङमा १९, झापामा १२, सुनसरीमा ८, सप्तरीमा ८, सिराहामा ८, धनुषामा ८, महोत्तरीमा ८, बारामा ६ स्थानमा वित्तीय साक्षरता दिइएको हो । सो क्रममा वित्तीय सेवा, सामाजिक सेवा र डिजिटल सेवाबारे जानकारी गराइएको उनले बताए । त्यस्तै, संस्थाले कुल ४३४ जना अति विपन्न परिवारका बालबालिकाहरुलाई पठनपाठनका लागि १ वर्षसम्म सहयोग गर्ने जानकारी सहित छात्रवृत्ति प्रदान गरिएको मण्डलले डिजिटल प्रमुख बताए । छात्रवृत्ति पाउनेमा मोरङका ७१, झापाका ७६, सुनसरीका ४०, सप्तरीका ८१, सिराहाका ६९, धनुषाका २३ र महोत्तरीका ७४ विद्यार्थी रहेका छन् । जीवन विकास लघुवित्त संस्थाले समुदायमा आर्थिक कारोबार मात्र नभई सामाजिक कार्यहरु पनि गर्दै आएको छ । सो सम्बन्धमा समुदायका स्थानीय निकायका सरोकारवालाहरुलाई समेत जानकारी गराइएको थियो । त्यस्तै, संस्थाले प्रत्येक गोष्ठि कार्यक्रमको अन्तिम सत्रमा शाखा अन्तर्गतका विभिन्न उत्कृष्ट अधिकृत टेलर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उद्यमी र उत्कृष्ट केन्द्रहरुलाई पुरस्कृत गरेको छ । त्यसैगरि संस्थाले शाखा अन्तर्गतका अधिकांश दुःखी बिरामी घर परिवारहरुलाई आर्थिक सहयोग समेत गरेको थियो ।

महासंघको निर्वाचनको पूर्व सन्ध्यामा संघईको रात्रिभोज (फोटो फिचर)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले निर्वाचनको पूर्व सन्ध्यामा रात्रिभोजको आयोजना गरेका छन् । चैत २८ र २९ गते हुने महासंघको निर्वाचनलाई केन्द्रित गर्दै उनले काठमाडौंको दरबारमार्ग स्थित याक एण्ड यति होटलमा रात्रिभोजको आयोजना गरेका हुन् । महासंघको निर्वाचनमा उनीसँगै उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठले पनि वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् । उनीहरु आफ्नो टीम बनाएर प्रतिस्पर्धामा छन् ।

सन्दीपको मुद्दामा चिकित्सकको वकपत्र गराउने आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछाने विरुद्ध लागेको नाबालिग बलात्कार घटनामा नाबालिका (गौशाला २६) लाई परीक्षण गर्ने चिकित्सकको वकपत्र गराउन आदेश गरेको छ । न्यायाधीश शङ्करराज बरालको इजलासले आज नाबालिगको स्वास्थ्य परीक्षणमा संलग्न भएका चिकित्सकसहित तीन जनालाई वकपत्र गराउन आदेश गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । तत्कालीन समयमा परीक्षण गर्ने डा बिदामा रहेको र उनको सट्टामा अर्को डाक्टरको वकपत्र गराइएको देखिएकाले पुनःवकपत्र गराउन आदेश गरेको आदेशमा छ । लामिछाने विरुद्ध १७ वर्षकी एक किशोरीले बलात्कार गरेको उल्लेख गर्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

बैशाखको पहिलो साता कालीकोटको सुनथरालीलमा परीक्षण उडान हुने

मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा रहेको सुनथराली विमानस्थलमा बैशाखको पहिलो साता परीक्षण उडान हुने भएको छ । विसं २०४२ मा सुरु भएको विमानस्थल निर्माण कार्य पूरा भएपछि वैशाखको पहिलो साताबाट परीक्षण उडान हुने भएको हो । विमानस्थल निर्माणको काम पूरा भएको र वैशाख पहिलो हप्तामा नै परीक्षण उडान हुने सुनथराली विमानस्थल आयोजनाका सुपरभाइजर गणेशकुमार विष्टले बताए । ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारीअनुसार परीक्षण उडान गर्ने जानकारी आएको छ’, उनले भने, ‘हामीले त्यहीअनुसार यहाँको तयारी गरेका छौँ ।’ परीक्षण उडान हुने भएकाले विमानस्थलको पूर्व अधेरी खोला, पश्चिममा नुवादेव देवताको मन्दिर, उत्तरमा भेरी सामुदायिक वन र दक्षिणमा लामीडाडा लामपाटा क्षेत्रको भूभागमा पशुचौपाया छाडा नछोडन् र मानिसको आवातजावत बन्द गरिएको सुपरभाइजर विष्टले बताए । हाल यो विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर, घेराबार र भवनसमेत तयार भइसकेको विमानस्थल आयोजना कार्यालयले जनाएको छ । विमानस्थलमा नियमित उडान भएमा पर्यटकीयस्थलका रूपमा रहेको रामारोशन, बाजुरा र कालिकोटको सिमानामा रहेको त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए । ‘विमानस्थल नियमित उडान गर्नका लागि र छिटो निर्माण कार्य सम्पन्न गर्नका लागि गाउँपालिकाका तर्फबाट दबाब दिँदै आएका छौँ । विमानस्थल समयमा बनेन’, उनले भने, ‘परीक्षण उडान हुने भएपछि त्यसपछि नियमित उडान गर्ने जानकारी पनि पाएको छु ।’ रासस

२ करोडको अडियो प्रकरण : थप अनुसन्धानलाई प्रहरीमा निवेदन दिइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयम्ले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताएका छन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसारमा बारा जिल्लाको गढीमाई मन्दिरमा बोल्दै पार्टी सभापति लामिछानेले ७२ घण्टाको अल्टिमेटम दिएको र थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिने बताएका हुन् । उनले भने, ‘पार्टीभित्र छानबिन हुँदैछ, त्यसबीचमा सांसद श्रेष्ठलाई कानुनी कारबाहीमा ल्याउन अनुसन्धानका लागि प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिनेछौ ।’

नक्कली विज्ञापन राखी ठग्ने ‘हाम्रो बजार डटकम’ का संचालक पक्राउ

काठमाडौं ।  अनलाइनमा महँगो मूल्यका आइफोन मोबाइल सेटहरु सस्तो मूल्यमा बिक्रीमा छ भन्ने जस्ता आकर्षक विज्ञापन राखेर ठगी गरेको पाइएको छ । यसरी ठगी गर्ने ‘हाम्रो बजार डटकम’ नामक अनलाइनका सञ्चालक हुम्ला घर भई भक्तपुर बस्ने उपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । उनले यसरी विज्ञापन पोष्ट गरी त्यसमार्फत सम्पर्कमा आएका व्यक्तिहरुलाई मोबाइलको मूल्य, डेलिभेरी, कुरियर चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम लाग्ने भनी रकम ठगी गर्ने गरेको खुलेको छ । उनले मोबाइल खरिद गरेबापत आफ्नो सम्पर्कमा रहेका विभिन्न व्यक्तिहरुका नाममा रहेका बैंक खाता, इसेवा तथा खल्ती वालेटहरुमा रकम पठाउन लगाउने र त्यसपछि सम्पर्कविहीन हुने गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौ्मा बुझाइएको जानकारी दिए ।

सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष उज्जवल सत्यालले लिए शपथ  

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको नवनिर्वाचित अध्यक्ष उज्जवल सत्यालले सपथ ग्रहण गरेका छन् । सत्यालले आइतबार नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर नीलम ढुङ्गना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । बैंकको १८ औँ वार्षिक साधारणसभाबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । सञ्चालक समितिका अध्यक्ष सत्यालमार्फत अन्य संचालकहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने बैंकले जनाएको छ । बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएमबाट वित्तिय सेवा दिँदै आइरहेको छ ।

करिब २०० आरोहीले लिए सगरमाथा आरोहण अनुमति

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजसम्म २० आरोही समूहका झन्डै दुई सय आरोहीहरूले अनुमति लिएका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणका लागि २० आरोही समूहमा ३१ महिला र एक सय ६६ पुरुष गरी कूल एक सय ९७ आरोहीले अनुमति लिएका हुन् । यो ऋतुमा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आरोही आइरहेका छन् । पर्वतारोहण शाखाको विवरणअनुसार आजसम्म सगरमाथासहित विभिन्न हिमाल तथा चुली आरोहणका लागि ५५ आरोही समूहका चार सय ६० बढी आरोहीहरूले अनुमति लिएका छन् । हिमाल आरोहणबाट झन्डै २८ करोड रोयल्टी जम्मा भएको छ । नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले यो ऋतु सगरमाथा आरोहण गर्नेका लागि निकै उत्साहबरद्धक हुने विश्वास व्यक्त गरे । उनले भने, ‘सगरमाथा आरोहणमा विदेशीको आकर्षण हेर्दा उत्साहवरद्धक हुने देखिन्छ । कोभिड–१९ महामारीपूर्वको अवस्थाभन्दा पनि राम्रो हिमाल आरोहण हुने अनुमान गरिएको छ ।’ रासस