विकासन्युज

वर्ष २०७९ : हवाई पूर्वाधारमा फड्को, दर्जन बढी तारे होटल पाइपलाइनमा

काठमाडौं । वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद् बनाएको छ । यसले नेपालमा विस्तारै विदेशी पर्यटक बढ्ने संकेत समेत गरेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को मार्चमा ९९ सय हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका छन् । अंग्रेजी वर्ष सन् २०२३ को शुरुवातदेखिनै विदेशी पर्यटक आगमन निरन्तर बढ्दो क्रममा छ । जसअनुसार जनवरीमा ५५ हजार ७४ जना र फेब्रुअरीमा ७३ हजार दुई सय ५५ विदेशी पर्यटक नेपाल आएका छन् । कोरोना महामारी आउनुअघि सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ २ लाख ३० हजार ८५ संख्यामा खुम्चियो । त्यसैगरी सन् २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले समग्रमा वर्ष २०७९ वर्ष पर्यटन क्षेत्र पुनरुत्थानको वर्ष भएको र पर्यटकको बढोत्तरीले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको बताए । ‘पर्यटनका हिसावले समष्टिगत रुपमा वर्ष २०७९ सुखद् रह्यो’, उनले भने, ’हरेक महिना पर्यटक आगमन बढ्दो क्रममा रहेको छ । साउनदेखिनै पर्यटक बढिरहेका छन् । हरेक महिना औसतमा ७० प्रतिशतभन्दा माथि पर्यटन आगमन भएको देखिन्छ । वर्षको अन्त्यमा झण्डै ८० प्रतिशत ‘रिभाइभ’ भएको छ ।’ निर्देशक लामिछानेका अनुसार आन्तरिक पर्यटनमा पनि चहलपहल बढेको छ । वर्ष २०७८ मा आन्तरिक पर्यटक झण्डै एक सय २० प्रतिशत चहलपहल थियो भने २०७९ मा एक सय ३० प्रतिशित ‘मुभमेन्ट’ बढेको छ । अर्थात् कोभिडपूर्वको अवस्थाभन्दा ३० देखि ३५ प्रतिशत पर्यटनको चहलपहल बढेको उनको भनाइ छ । वर्ष २०७९ मा पर्यटकीय पूर्वाधार थपिएका यसले थप उत्साह थपेको छ । होटल रेस्टुराँमा लगानी बढेको छ भने अन्तर्राष्ट्रिय चेन होटल पनि भित्रिने शृङ्खला शुरु भएकाले यसले पर्यटन क्षेत्रलाई थप उत्साह थपेको छ । होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह समग्रमा वर्ष २०७९ पर्यटनका लागि उत्साहबद्र्धक रहेको बताउँछन् । यस वर्षलाई पर्यटन सुधारको वर्षको रुपमा आफूहरुले लिएको उनको भनाइ छ । ‘पछिल्लो पर्यटक आगमन र होटल बुकिङ हेर्दा निकै सकारात्मक छ, यसलाई अझ सुदृढ तुल्याउन ‘एयर कनेक्टिभिटी’ बढाउँदै र सडक यातायात स्तरोन्नति गर्नु आवश्यक छ’, उनले भने । पर्वतारोहणका लागि पनि उत्साह देखिएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेलका अनुसार यस वर्षको वसन्त ऋतुमा विभिन्न २१ वटा हिमाल आरोहणका लागि विभिन्न देशका ५१२ जना आरोहीले अनुमति लिएका छन् । जसबाट विभागले राजस्व वापत रु ३१ करोड ३ख सङ्कलन गरेको छ । जसमा सबैभन्दा बढी सगरमाथाका लागि एक सय ९७, लोत्से आरोहणका लागि ६० जना र अन्नपूर्ण आरोहणका लागि ५६ जनाले अनुमति लिएका छन् । नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष रमेश थापाले वर्ष २०७९ पर्यटनका लागि सुधारको वर्ष भएको र यसले पर्यटन क्षेत्रमा उत्साह जगाएको बताए । ‘पर्यटनका लागि सुधारोन्मुक पक्ष भयो, क्रमिक रुपमा विदेशी पर्यटक बढिरहेका छन्, कोभिड महामारीपछि रोकिएका विभिन्न देशका उडान पनि अहिले खुलेका छन्, चीनले पनि पर्यटक आगमनमा सहज बनाएपछि चिनियाँ पर्यटक बढेका छन् यसले पर्यटन क्षेत्रमा सकारात्मक आशा जगाएको छ’, उनले भने । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले वर्ष २०७९ समग्रमा पर्यटनका लागि उत्साहवद्र्ध रहेको बताउँछन् । ‘समग्र रुपमा यो वर्ष पर्यटनका लागि आशावादी रह्यो, अब पर्यटन लगायत सबैक्षेत्र राम्रो हुनुपर्छ, पछिल्लो सुधारले पनि पर्यटन क्षेत्र बुम हुने संकेत गर्छ’, उनले भने । चिनियाँ पर्यटक बढे महामारीले झण्डै तीन वर्ष ठप्प प्राय रहेको चीनबाट उल्लेख्य संख्यामा चिनियाँ नागरिक नेपाल आउन थालेका छन् । नेपालको पर्यटनका लागि उत्तरी छिमेकी मुलुक चीन पनि प्रमुख स्रोत बजार मानिन्छ । चीन सरकारले नेपाललाई आफ्ना नागरिकले निर्बाध घुम्न पाउने सूचीमा नेपाललाई सूचीकृत गरेको छ भने चैत १ गतेदेखि चिनियाँ नागरिकलाई नेपाल घुम्नका लागि एजेन्सीहरुले नेपाल भ्रमणका प्याकेज बिक्री सुरु गरेका छन् । वर्षको अन्तिम दिन एक सय ८० जना चिनियाँ पर्यटक हिमालय एयरलाइन्स चार्टर्ड गरेर नेपाल आएका छन् । बोर्डको बिवरणमा सन् २०२३ को मार्च महिनामा दुई हजार छ सय ३५ चिनियाँ पर्यटक नेपाल आएका छन् । त्यसैगरी फेब्रुअरीमा दुई हजार दुई सय ६६ र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटक भित्रिएका छन् । सन् २०१९ मा चिनियाँ पर्यटकको संख्या एक लाख ६९ हजार पाँच सय ४३ पुगेको थियो । नेपाल–चीन हवाई उडान पनि खुलिसकेकाले अझै चिनियाँ नागरिक बढ्ने अनुमान गरिएको छ । अहिले चीनका विभिन्न तीन एयरलाइन्सले नेपालमा उडान गरिरहेका छन् भने नेपालबाट हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान भर्दै आएको छ । दर्जन बढी तारे होटल पाइपलाइनमा उद्योग विभागका अनुसार गत वैशाख १ देखि चैतसम्म विभिन्न ५६ वटा होटल तथा रेष्टुराँ स्थापनाक लागि करिब २४ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । जसमा चार हजार २२१ जनाले रोजगार पाउने उल्लेख छ । विभागका अनुसार यस वर्ष होटल तथा रेष्टुराँ क्षेत्रमा नौ अर्ब ४१ करोड रुपैयाँ बराबरको विभिन्न देशबाट लगानीको प्रतिबद्धता आएको छ । हानका उपाध्यक्ष विनायक शाहका अनुसार नेपालमा पाँचतारेदेखि पर्यटकस्तरका गरी कूल १० हजार होटल छन् । अबको डेढ वर्षभित्र थप १२ भन्दा बढी पाँचतारे होटल थपिदैछन् । हानमा आवद्ध मात्रै चार हजार हाराहारी होटल छन् । हाल नेपालमा सञ्चालित होटलसँग वार्षिक २५ लाख पर्यटक धान्ने क्षमता छ । हवाई पूर्वाधारमा फड्को हवाई पूर्वाधारका हिसावले पनि वर्ष २०७९ उपलब्धीमूलक वर्ष बन्यो । मुलुकमा दुई अन्तर्राष्ट्रिय विमानस्थल थपिएका छन् । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ २ गते उद्घाटन गरिएको थियो भने पुस १७ गते उद्घाटन भएको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । यद्यपि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन भने भैरहवा विमानस्थलले पनि राम्रो विजनेश पाउन सकेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अहिले तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । आन्तरिक विमानस्थल स्तरोन्नति भएका छन् । तराई क्षेत्रका हब विमानस्थलमा रात्रीकालीन उडान हुन्छ । आन्तरिक विमानस्थलको उडान समयावधि बढाएर दैनिक १८ घण्टा बनाइएको छ । त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुन्छन् । हवाई सुरक्षा सुदृढिकरणमा प्राधिकरणको सक्रियता वर्षको सुरुआतमा अर्थात् जेठ १५ मा मुस्ताङमा तारा एयरको विमान दुर्घटना र गत माघ १ मा पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनाले नेपालको हवाई सुरक्षामा चुनौती थपेको छ । हालै चैत २६ मा धौलागिरि बेसक्याम्पबाट पोखरा फर्कँदै गरेको हेली एभरेष्टको हेलिकोप्टर दुर्घटनामा परेको थियो भने श्री एयरलाइन्स एयरलाइन्समा प्राविधिक समस्या देखिएका लगायतका घटनाले हवाई सुरक्षा थप सुदृढीकरण गर्नुपर्ने देखिएको छ । नियामक प्राधिकरणले पनि मुलुकको हवाई क्षेत्रलाई सुदृढ र प्रभावकारी बनाउन सक्रियता देखाएको छ । नेपालमा सञ्चालिन आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको सेवालाई सुरक्षित र भरपर्दो तुल्याउन प्राधिकरणले विभिन्न तवरले सुधारमा चासो दिएको हो । उडान मापदण्ड पालना नगर्ने र उडानमा लापर्बाही गर्ने विमानचालकलाई कारबाही गर्नुका साथै वायुसेवा कम्पनीको वित्तीय र व्यवस्थापकीय क्षमताको अध्ययन गरी आवश्यक निर्देशन दिएको छ । हवाई सुरक्षा मापदण्ड पालना र सेवाको गुणस्तर अभिवृद्धिका लागि प्राधिकरणले निरीक्षण र अनुसन्धान गरी कानूनी दायरामा ल्याएको छ । पछिल्ला महिनामा मात्रै दर्जनबढी हवाई कम्पनीको सेवा र उडान सञ्चालनबारे निरीक्षण र आवश्यक कारबाही गरिरहेको छ । रासस

महासंघ निर्वाचन : रामचन्द्र संघईको हातमा पुग्यो चाबी, कसलाई गर्लान् सपोर्ट ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी वरिष्ठ उपाध्यक्षको चाबी रामचन्द्र संघईको हातमा पुगेको छ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रहेका संघई पहिलो चरणकाे रिङबाट आउटएपछि उनको हातमा चाबी रहेको बताइएको छ । पहिलो चरणमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए । वरिष्ठ उपाध्यक्षका उम्मेदवार संघई तेस्रो भएपछि आगामी महासंघको नेतृत्वका लागि दुई श्रेष्ठमध्ये कसलाई रोज्छन् भनेर माहोल गर्मागरम भएर अघि बढेको छ । महासंघको नेतृत्व गर्नका लागि मैदानमा उत्रिएका संघईको टिमबाट दुइवटा उपाध्यक्षमा जित हाँसिल गरेको छ । संघईको टिमबाट जिल्ला/नगर संघको उपाध्यक्षमा सुरकृष्ण बैद्य र एशोसिएट तर्फको उपाध्यक्षमा जोत्सना श्रेष्ठ विजयी भएका छन् । वस्तुगत संघको उपाध्यक्षमा उमेशलालको टिमबाट हेमराज ढकाल विजयी भएका छन् । दोस्रो चरणमा प्रवेश गरेका दुइ श्रेष्ठमध्ये संघईले कुनै एउटालाई सहयोग गर्याे भने त्यहि व्यक्ति महासंघको आगामी नेतृत्वका लागि पुग्ने महासंघका एक पूर्व अध्यक्ष बताउँछन् । संघईले कसलाई सहयोग गर्ने भनेर अहिलेसम्म नखुलेपनि यी दुई श्रेष्ठमध्ये एउटालाई सहयोग गर्न सक्ने उनको भनाइ छ । उनको टिमबाट उपाध्यक्ष बनेकाहरुलाई काम गर्न सहज होस् भनेर उम्मेदवारद्धय उमेशलाल र अञ्जनमध्ये कुनै एउटालाई वरिष्ठ उपाध्यक्षका लागि सहयोग गर्नै पर्ने उनले बताए । ‘महासंघकाको वरिष्ठ उपाध्यक्ष कसलाई बनाउने भनेर उपाध्यक्षको चाबि संघईजीको हातमा पुगेको छ, अब उहाँले अञ्जन र उमेशजीमध्ये एउटालाई रोज्नै पर्छ, रामचन्द्रजीको टिमबाट २ उपाध्यक्ष छन्, उहाँलाई कता सजिलो हुन्छ, त्यतै समर्थन गर्नुपर्छ,’ उनले भने । नेपाल उद्योग वाणिज्य महासंघको पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा पुनः मतदान हुने भएको हो । बिहीबार बिहान सम्पन्न भएको पहिलो चरणको मतगणनामा वरिष्ठ उपाध्यक्ष पदका तीन उम्मेदवारहरुमध्ये पहिलो र दोस्रो हुनेबीच प्रतिस्पर्धा हुनेछ । जसमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । पहिलो चरणमा वस्तुगत संघतर्फ उमेशलाल श्रेष्ठले कूल सदरको ६९ मत अर्थात् ११.३१ प्रतिशत मत प्राप्त गरेका थिए । यस्तै, अञ्जन श्रेष्ठले ४१ मत अर्थात् ६.७२ प्रतिशत मत ल्याएका छन् । रामचन्द्र संघईले १२ मत अर्थात् १.९६ प्रतिशत ल्याएका थिए । यस्तै, जिल्लानगरमा कूल सदर मतको अञ्जन श्रेष्ठले ४७ मत अर्थात् २०.६१ प्रतिशत मत ल्याएका छन् भने उमेशलाल श्रेष्ठले २८ मत अर्थात् १२.२८ प्रतिशत मत प्राप्त गरेका छन् । यस्तै, सरामचन्द्र संघई रिङ बाहिर भएपनि उनीसँग ३९ अर्थात् १७.१० मत प्राप्त गरेका थिए । एशोसिएटतर्फभने सबैभन्दा धेरै मत प्राप्त गरेका संघईसँग ६१३ मत अर्थात् ११.४० प्रतिशत मत प्राप्त गरेका छन् । यस्तै, अञ्जन श्रेष्ठेले ५७३ अर्थात् १०.६६ प्रतिशत र उमेशलाल श्रेष्ठले ४२६ मत अर्थात् ७.९२ प्रतिशत मत प्राप्त गरेका छन् । जसअनुसार अञ्जन श्रेष्ठसँग कूल ३७.९९ प्रतिशत र उमेशलाल श्रेष्ठसँग ३१.५१ मत रहेको छ । यता रामचन्द्र संघईसँग भने ३०.४६ प्रतिशत रहेको छ । दोस्रो चरणमा हुने निर्वाचनमा दुई श्रेष्ठले संघईको मतका लागि दौडधुप गर्नुपर्ने देखिन्छ । यसकारण संघई जहाँ खुले त्यहि ब्यक्ति विजयी बन्ने सम्भावना रहेको ती पूर्व अध्यक्ष बताउँछन् ।

नयाँ वर्षमा सिटिजन्स बैंकका ग्राहकलाई छुटैछुट

काठमाडौं । सिटिजन्स बैंकले १६ औं वार्षिकोत्सवको अवसरमा छुटै छुटको योजना सार्वजनिक गरेको छ । डिजिटल बैंकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनलले १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको हो । बैंकले वैशाख ७ गतेको वार्षिकोत्सवलाई १ गते देखि वैशाख ७ गते सम्म एक साताको लागि लागू हुने गरि बैंकका विभिन्न क्यास लेस कारोबारमा भारी छुट र क्यासब्यक, लगायतका योजनाहरु सार्वजनिक गरेको हो । उक्त्त योजना अन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले पस मेसिन र अनलाईन मार्फत १ रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढिमा २ सयसम्म क्यासब्याक दिइने छ । यसैगरी क्यु आर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि ५ सय रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढिमा २ सयसम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ । डिजिटल भुक्तानीको अर्को माध्यम इकम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधी भरमा इकम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने कम्पनीले जनाएकाे छ । त्यसैगरि बैंकले पुँजीबजारमा लगानीकर्ताको सहभागिता बढाउने हेतुले यस योजना अवधिभर ग्राहकको लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था समेत गरेको छ । साथै, बैंकका निष्कृय खाता भएका ग्राहकलाई समेत खाता सक्रिय गरि कार्ड वा मोबाइल बैंकिङ्ग मार्फत ५ सय रुपैयाँ वा बढीको कारोबार गर्दा एकमुष्ठ २ सय रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने योजना सार्वजनिक गरेको छ । यस्ता नगद रहित कारोबारमा हुने छुट योजनाबाट डिजिटल बैंकिङको विकासमा टेवा पुग्नुका साथै ग्राहकवर्गलाई समेत लाभ पुग्ने विश्वास बैंकले जनाएकाे छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

नयाँ वर्ष अफर : बाइक/स्कुटर किन्दा करसँगै बीमा छुट, ५० हजार क्यासब्याक पनि

काठमाडौं । नयाँ वर्ष २०८० का लागि बाइक तथा स्कुटर बिक्रेता कम्पनीहरुले अफर सार्वजनिक गर्न थालेका छन् । ग्राहकलाई आफ्ना साधनमा आकर्षण गर्न बिक्रेता कम्पनीहरुले नगद पुरस्कार, कर तथा बीमा छुटदेखि क्यासब्याक सम्मका अफर सार्वजनिक गर्न थालेका हुन । पछिल्लो समय कोरोना महामारि, सरकारले आयातमा लगाएको प्रतिबन्ध तथा तरलता अभावका कारण बिक्री कम भएका दुई पांग्रो बाइक तथा स्कुटर खरिदका लागि कम्पनीहरुले आर्कषण अफर सार्वजनिक गर्न थालेका हुन । आयातमा लगाईएको प्रतिबन्ध र तरलता अभावका कारण पछिल्लो समय अटो बजार अस्तव्यवस्त भएको छ । अटो व्यवसायीले बजार चलायमान बनाउन अफरले केही सहयोग पुग्ने विश्वास गरेका छन् । मोटरहेडको बाइक किन्दा बीमादेखि कर छुट मोटरहेड मोटरसाइकलले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेडले ‘सुपर पावर २०८०, यो नयाँ वर्ष सुरक्षा र सुविधा हाम्रो, सवारी तपाईंको’ नामक अफर ल्याएको हो । कम्पनीले सबै मोडलको बाइकको खरिदमा नगदरफाइनान्स र एक्सचेन्ज लगायतका अफर पनि ल्याएको छ । मोटरहेडका बाइक नगद खरिद गरे वापत ग्राहकले २०२२ का मोडलमा २०८०/८१ सम्मको कर छुट, पूर्ण बीमाको सुविधा कम्पनीबाटै पाउने छन् । यस्तै, बाइक सट्टापट्टा गरी लिँदा ग्राहकले आफ्नो पुरानो बाइकको बजार मुल्याङकनमा कम्पनीबाट थप १५ हजार रुपैयाँ मुल्याङकन अफर स्वरुप प्राप्त गरी नयाँ बाइक लिन सकिने कम्पनीले जनाएको छ । मोटरहेडका स्पोर्ट २५०, टेक्कन आर २५०, टेक्कन २५०, एमएच १५०, स्क्रयाम्बल र एक्सटोर्क गरी जम्मा ६ वटा मोडलहरू बाइकहरु खरिद गर्दा फूल हेल्मेट निशुल्क रुपमा दिईने कम्पनीले घोषणा गरेको छ । टिभिएसले बाइक किन्दा ८ हजार डिस्काउन्ट टिभिएसले नयाँ वर्षको अवसरमा आफ्ना हरेक बाइकको खरिदमा ८ हजार र स्कुटरको खरिदमा ७ हजारको पक्का डिस्काउन्ट दिने जनाएको छ । यस्तै, कम्पनीले अपाचे बाइकको किन्दा ५ हजार मुल्य बराबरको हेल्मेट पनि सित्तैमा पाइनेछ । यस्तै, कम्पनीले ० प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा तथा बाएक एक्सचेन्जमा थप १० हजार रुपैयाँ दिने जनाएको छ । यामाहाको बाइक किन्दा ५० हजार क्यासब्याक यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘पावर अफ फाइभ’ योजना सार्वजनिक गरेको छ । कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका दिईएको जनाएको छ । यस्तै, बाइक खरिदपछि वाइल्ड कार्ड मार्फत १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्नै जनाईएको छ भने तीन जनालाई साप्ताहिक रुपमा आइफोन १४ वा एप्पल वाच वा एप्पल एयरपोड दिनेछ । सेगवे नाइन वट इलेक्ट्रीक स्कुटर खरिदमा २० हजार छुट सेगवे नाइन वट इलेक्ट्रीक स्कुटर खरिद गर्दा २० हजार रुपैयाँ नगद छुट पाईने भएको छ । सेगवे नाइन वट इलेक्ट्रीकका लागि नेपालको आधिकारिक विक्रेता आइ हवले नगद छुटसहितको नयाँ वर्ष स्कीम सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको नयाँ वर्ष स्कीम अनुसार ग्राहकले २० हजार रुपैयाँसम्मको नगद छुटमा स्कुटर किन्न सक्नेछन् । साथै, ग्राहकले स्कुटर खरिदमा सेगवे ब्याग, स्कुटर कभर साथै १ वर्षको इन्स्योरेन्स निःशुल्क प्राप्त गर्नेछन् । कम्पनीको नयाँ वर्ष स्कीम अन्तर्गत सेगवे ई १०० एलमा नगद २० हजार, ई ११० एलमा १५ हजार, ए १२५ र एन १०० मा नगद १० हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।

बैशाख ३० गतेभित्र वातावरण अनुगमन प्रतिवेदन पेश गर्न उद्योग कलकारखानालाई निर्देशन

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा आएका ठूला उद्योग तथा कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । वातावरणीय दृष्टिकोणले संवेदनशील उद्योग तथा आयोजनालाई आगामी वैशाख ३० गतेभित्र अनिवार्य स्वअनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिइएको हो । उद्योगले अर्धवार्षिक स्वअनुगमन प्रतिवेदन पेस गर्नुपर्नेमा नगरेको पाइएकोले सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले बताए । प्रत्येक नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकलाई प्रभावकारी बनाउन उक्त गाउँपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि २०७७ जारी गरेको र सोही कार्यविधिमा उद्योग तथा आयोजनाले अर्धवार्षिक स्वअनुगमन प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान रहेको उनको भनाइ थियो । जिल्लामा उद्योग तथा कल कारखानाबाट उत्सर्जन भएको हानिकारक धुँवा र फोहर पानीले वरपरका बस्तीमा उच्च जोखिम बनाएको छ । नेपाल सरकारले स्थानीय तहलाई अनुगमनकारी निकायको रूपमा अधिकार दिएकामा स्थानीय तहले कडाइका साथ यसलाई नियमन गर्न नसक्दा उद्योगको मनपरी बढ्दै गएको हो । औद्योगिक फोहर, पानी र धुँवाले पश्चिम नवलपरासीका अधिकांश बस्ती औद्योगिक क्षेत्रजस्तो देखिन थालेकाले उक्त गाउँपालिकाले यस क्षेत्रमै पहिलो पटक उद्योगलाई स्वअनुगमन प्रतिवेदन पेस गर्न ताकेता गरेको हो । स्वअनुगमन प्रतिवेदनमा उद्योगले उत्सर्जन गर्ने हानिकारक धुँवा, फोहर पानी, कामदारले पिउने पानीको गुणस्तरका साथै ध्वनीको तह तथा आइइई प्रतिवेदनमा उल्लेख भएका कुरा पालना भए नभएको कुरा समावेश हुन्छ । प्रस्तावकले पेस गरेको प्रतिवेदनउपर शङ्का लागे गाउँपालिका स्वयंले अनुगमन गर्न सक्ने कानुनी प्रावधान छ । रासस

बिग मार्टमा क्युआरबाट भुक्तानी गर्नेले १० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । बिग मार्टमा क्युआरबाट भुक्तानी गर्नेले १० प्रतिशतसम्म छुट पाउने छन् । नयाँ वर्षको दिनमा बिग मार्टबाट सामान किन्ने ग्राहकले क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत अर्थात १५० रुपैयाँसम्म छुट पाउने भएका हुन् । विद्युतीय कारोबारलाई प्रबर्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी उक्त छुट दिने भएका हुन् । स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बिग मार्ट को सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् । यो अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेष्ट बैंक, हिमालयन बैंक, पेवेल, रेमिट्याप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ । साथै, हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम १५० प्रतिशतसम्म छुट साथै अफर पनि कायम नै रहेको छ ।

आइएमई पेको नयाँ अफर ‘तिमीलाई पनि, मलाई पनि’ सार्वजनिक

काठमाडौं । आइएमई पेको नयाँ अफर ‘तिमीलाई पनि, मलाई पनि’ सार्वजनिक भएको छ । आइएमई ग्रुप अन्तर्गत ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’को  ‘आइएमई पे’ले वालेट टु वालेट ट्रान्सफरलाई प्राथमिकता दिदै ‘तिमीलाई पनि, मलाई पनि’ नामक अफर सार्वजनिक गरेको छ । उक्त अफर चैत २९ देखि २०८० भादौ २६ सम्म चल्ने ग्राहकले आइएमई पेमा वालेट टु वालेट ट्रान्सफर अर्थात आइएमई पे वालेटबाट आइएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच हेयलोउ आरटि एलएस ०५५ जित्ने मौका प्राप्त गर्नेछन् । सो अफर ५ महिनासम्म चल्ने छ र प्रत्येक महिनाको अन्त्यमा २ जना भाग्यशाली विजेता छनौट गरिनेछ । यस अफर अन्तर्गत पैसा पठाउने ग्राहकवर्गबाट एक जना तथा पैसा पाउने ग्राहकवर्गबाट एक जना विजेता गोलाप्रथाबाट छानिने छ । यस अफर अवधिभर वालेट टु वालेट ट्रान्सफर गर्नु हुने सम्पूर्ण ग्राहकहरुले सो पुरस्कार जित्न सक्नेछन् । ग्राहकवर्गमा वालेट टु वालेट ट्रान्सफर  सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नका साथै ग्राहकहरुलाई विधुत्तिय भुक्त्तानी माध्यम मार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उदेश्यका साथ यो अफर सार्वजनिक गरिएको हो ।

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठ महासंघको सदस्यमा निर्वाचित

काठमाडौं । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् । संघको ५७औं साधारण सभाबाट उनी एसोसिएटतर्फबाट महासंघको सदस्यमा निर्वाचित भएका हुन् । यसअघि उनले महासंघको उद्योग प्रवर्द्धन समिति, अन्तर्राष्ट्रिय लगानी तथा प्रवद्र्धन समितिमा रहेर काम गरेका थिए । विभिन्न सामाजिक संस्थाहरु चाइल्डरिच नेपालका पूर्व बोर्ड अध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यापारिक संस्था वाईपिओको निर्वतमान अध्यक्ष तथा बोर्ड सदस्य लगायत संस्थाहरुमा आबद्ध रहेर पनि उनले काम गरिरहेका छन् ।