विकासन्युज

नर्भिक अस्पताल ३०औं वर्षमा प्रवेश, हरेक स्वास्थ्य प्याकेजमा ३० प्रतिशत छुट दिने

काठमाडौं । सन् १९९३ मा बसन्तकुमार चौधरीले बिएलसी होल्डिङ अन्तर्गत स्थापना गरेको नर्भिक इन्टरनेशनल हस्पिटल ३० औं वर्षमा प्रवेश गरेको छ । उच्च प्रविधि युक्त प्रयोगशाला सेवा आइएसओ ९००१ः२०१५ प्राप्त गर्ने नेपालको पहिलो अस्पताल बनेको नर्भिक उत्कृष्ट क्रिटिकल केयर अस्पतालको रुपमा स्थापित भएको अस्पतालले दाबी गरेको छ । क्याथेटराइजेशन ल्याब स्थापना गर्ने नेपालको पहिलो निजी अस्पताल नर्भिक सुरक्षित स्वास्थ्य सेवाका लागि फोहोर व्यवस्थापन प्रणाली लागु गर्नेमा पनि पहिलो निजी अस्पताल बनेको अध्यक्ष राजेन्द्रबहादुर सिंहले बताएका छन् । ३० वर्ष अगाडि ३० वटा बेडबाट स्वास्थ्य सेवा प्रारम्भ गरेको अस्पतालले अहिले क्यान्सरको रेडियोलोजी बाहेक सम्पूर्ण उपचार सेवा सञ्चालन गरिरहेको उनले बताए । केही समयदेखि अस्पतालले मृगौला प्रत्यारोपण सेवा पनि प्रारम्भ गरेको छ । अस्प्तालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार अहिलेसम्म अस्पतालले ५ जना बिमारीमा सफल मृगौला प्रत्यारोपण गरिसकेको छ । ३० वर्षको अवधिमा अस्पतालले झण्डै ३० लाख बिमारीहरुलाई उपचार सेवा प्रदान गरेको, जसमा ८० प्रतिशत पुराना बिमारीहरु र २० प्रतिशत नयाँ बिमारी थपिने गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए । उनका अनुसार अस्पतालले निर्माण गरिरहेको नयाँ आधुनिक भवनको काम सम्पन्न भएपछि नर्भिकले एफपिओ समेत जारी गर्ने तयारी गरको छ । ३० औं वर्षमा प्रवेशसँगै नर्भिकले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गरेर स्वास्थ्य प्याकेजमा ३० प्रतिशत छुटको कार्यक्रम ल्याएको छ । जसमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा बैशाख १ गतेदेखि बैशाख ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुट हुने अध्यक्ष राजेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार अस्पतालले सो प्याकेजमा लेजर र हाइड्रा, आइभिएफ र म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट ल्याएको छ । अस्पतालले पत्रकारहरुको लागि पनि लक्षित गरेर एक वर्षे प्याकेज ल्याउने तयारी गरेको अध्यक्ष सिंहले बताए ।

नेपाल रेमिट र कृषि विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल र कृषि विकास बैंकबिच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनलका तर्फ प्रमुख कार्यकारी अधिकृत सागर खनाल र कृषि बिकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गरूङले हस्ताक्षर गरे । विगत १७ वर्ष देखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल तथा देश भरी तीनसय वटा भन्दा बढि शाखा कार्यलय र थुप्रै एक्स्टेन्सन्न काउन्टर मार्फत बैँकिङ्ग सेवाहरु जस्तै क्यूआर कोड सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आइपिएस, ईन्टरनेट बैंकिङ आदि सेवा समेत प्रदान गर्दै आएको कम्पनीले जनाएकाे छ । साथै, कृषि बिकास बैंकबिचको सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका विभिन्न स्थानहरुबाट बैँकिङ्ग च्यानल मार्फत पठाएको रकम देशका ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैंकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट प्राप्त गर्न सकिनेछ । यसका साथै कृषि बिकास बैंकसंगैको सम्झौतासंगै नेपाल रेमिट इन्टरनेशनलले अब देशभर १२ हजार भन्दा बाढि स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सकिने कम्पनीले जनाएकाे छ। डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिने नेपाल रेमिटले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैँक तथा वित्तीय संस्थाबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । जसबाट नेपालमा रेमिट्यान्स भित्राई देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुग्ने कम्पनीले जनाएकाे छ । यसका साथै, विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने साथै यसले नेपालमा रेमिट्यान्स भित्र्याउन समेत टेवा पुर्याउने नेपाल रेमिट इन्टरनेशनलका नायव महाप्रबन्धक देव बहादुर थापाले बताए ।

यूनियन लाइफसहित तीन कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएका छन् । जसमा इन्स्योरेन्स, विकास बैंक र फाइनान्स समूहअन्तर्गतका कम्पनी रहेका छन् । इन्स्योरेन्स समूह अन्तर्गत युनियन लाइफ इन्स्योरेन्सको ८.९७ प्रतिशत अर्थात १९ लाख २८ हजार ५५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, महालक्ष्मी विकास बैंकको ४ प्रतिशत अर्थात १६ लाख ४ हजार ३५३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीबार बोनस सेयर सूचीकृत हुनेमा पोखरा फाइनान्सको पनि छ । जसको ४ प्रतिशत अर्थात ४ लाख १६ हजार ३६७ कित्ता सेयर सूचीकृत भएका छन् ।

म्याग्दीमा बसाइँ सराइको कारण बन्दै जलविद्युत आयोजना

गलेश्वर । विसं २०४४ अघि सुनसान र गुमनाम थियो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ गाउँ । विसं २०४४ मा पहिलो पटक दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत आयोजना निर्माण भयो । त्यसयता हालसम्म यहाँ साना र ठूला गरी नौ जलविद्युत अयोजना सञ्चालनका लागि निर्माण कार्य सुरु भएकाले यहाँको स्वरूप फेरिएको छ । जलविद्युत आयोजना निर्माण हुने क्रम बढेसँगै यहाँ बसाइँसरेर आउने मानिस उल्लेख्य रूपमा वृद्धि भएको छ । तीन दशक अघिसम्म ७०/७५ घरधुरी रहेकामा अहिले पाँच सयभन्दा बढी घरधुरीको बसोवास छ । यस वर्ष मात्रै करिब ४० भन्दा बढी व्यक्ति अरु गाउँबाट बसाइँ सराइ गरी यहाँ आएका छन् । पछिल्लो सयम नारच्याङ ‘हाइड्रो भिलेज’का नामले चर्चित छ । यहाँ केही निर्माणाधीन र केही निर्माण सम्पन्न भएका चार सय २१ मेगावाटका नौ जलविद्युत आयोजना सञ्चालनमा छन् । यी आयोजनामा काम गर्न उत्तरी म्याग्दीका विभिन्न गाउँबाट बसाइँ सरेर अहिले नारच्याङ् आउनेको सङ्ख्या बढ्दै गएको वडाअध्यक्ष लोकबहादुर फगामीले बताए । उनका अनुसार जलविद्युत आयोजना निर्माणका कारण यहाँका युवाले गाउँमै रोजगार पाएका छन् । रोजगारीका लागि विदेश जानेको सङ्ख्या घटेको छ । आयोजनामा सेयर लगानी गर्ने र लगानीबापत पाउने बोनस रकमले यहाँका बासिन्दाको जीवनस्तरमा सुधार आएको छ । उक्त गाउँपालिका–५ पाउद्वारबाट बसाइँसरेर नारच्याङमा आएका फत्तेबहादुर तिलिजाले गाउँमै रोजगारीका साथै सुरक्षित व्यवसायको सम्भावना देखेर यहाँ आएको बताए । ‘पोखरा, काठमाडौँलगायत सहरमा जान सकिँदैन, यहाँ जलविद्युत आयोजना धमाधम निर्माण भइरहेका छन्, आफ्नै गाउँघरमा रोजगारी पाइने भएपछि परिवारको सुरक्षित भविष्यका लागि पाउद्धारबाट बसाइँसरेर यहाँ आएका हौँ’, उनले भने । एक वर्षयता ४० भन्दा बढी बसाइँ सरेर यहाँ कामका लागि आएका छन् । काम र शिक्षाका लागि बसाइँ सर्ने क्रम नरोकिएकाले यहाँ आउनेको सङ्ख्या अझै बढ्ने वडा नं ४ का वडासचिव अमृत नेपालीले जानकारी दिए । नारच्याङमा जलविद्युत निर्माण हुनाका साथै प्राविधिक शिक्षालय सञ्चालन भएपछि इन्जिनियरिङ पढ्न यहाँ आउनेहरुले पनि बसाइँ सर्ने गरेका उनको भनाइ थियो । रोजगारीसँगै गुणस्तरीय शिक्षा पाइने भएपछि बसाइँसराइ गरेर आउनेको सङ्ख्या बढेको वडाअध्यक्ष फगामीले बताए । ‘यहाँबाट रोजगारी तथा शिक्षाका लागि काठमाडौं, पोखरालगायत सहरमा गएका व्यक्ति पनि धमाधम गाउँ फकिँदैछन्, बाहिरबाट बसाइँसराइ गरेर आउनेहरु पनि थपिएका छन्’ उनले भने ‘जलविद्युतले जग्गाको मूल्य राम्रै दिएको छ । पुराना घर हट्दै नया पक्की घर बनेका छन् । स्थानीयवासीले गाउँमै रोजगारी पाउनाका साथै होटल सञ्चालन गरी व्यावसाय गरेर पर्यटक समेत भ्यिाएका छन् ।’ कालिगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा गरी दुई दर्जन बढी जलविद्युत आयोजना म्याग्दीमा निर्माणाधीन अवस्थामा छन् । तीमध्ये नौ वटा जलविद्युत आयोजना नारच्याङमा मात्रै सञ्चालित छन् । कालिगण्डकी नदीसँगै अन्नपूर्ण र नीलगिरि हिमालबाट बग्ने मिस्त्री, घलेम्दी, नीलगिरि, रेलेखोलालगायत खोलामा जलविद्युत आयोजना निर्माण हुन थालेपछि यहाँका बासिन्दाकोे जीवनस्तर फेरिएको वडासदस्य यामकुमारी सोतन्जाले बताए । जलविद्युत आयोजना भित्रिएसँगै गाउँका युवा रोजगारीका लागि विदेश जानेक्रम कम हुँदै गएको अन्नपूर्ण युवा क्लबका अध्यक्ष टङ्कबहादुर पुलने बताए । ‘पहिले गाउँमा रोजगार नहुँदा ‘विदेश, विदेश भन्थे’, अहिले धमाधम जलविद्युत आयोजनाले युवालाई रोजगारी दिएकाले उनीहरुको दैनिक जीवन सहज भएको छ,’ उनले भने । अन्नपूर्ण र नीलगिरि हिमालको काखमा रहेको नारच्याङ्का पाँच सय घरधुरीका प्रत्येक व्यक्ति गाउँमा नै रोजगार छन् । विसं २०४४ मा दुई मेगावाटको तातोपानी जलविद्युत आयोजना निर्माण भएपश्चात् ४० मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दी जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिसकेका छन् । एक सय सात मेगावाटको नीलगिरि खोला–एक र नीलगिरि खोला–दुईले कामलाई अन्तिम चरणमा पुर्याएका छन् । छ मेगावाटको रेलेखोला, नौ मेगावाटको सुपर घलेम्दी, ५२ मेगावाटको मध्यकालिगण्डकी, दुई सय मेगावाटको कालिगण्डकी गर्ज निर्माणाधीन अवस्थामा छन् । रासस

एकदिन पनि टिकेन सेयर बजारको वृद्धि, परिसूचकसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । बुधबार देखिएको सेयर बजारको वृद्धि एकदिन पनि टिक्न सकेन । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से परिसूचकमा बिहीबार करेक्सन देखिएको छ । ९२ अंकले बढेर हरियाली छाएको बजार बिहीबार भने राताम्मे देखिएको छ । बजारमा परिसूचक २९.०७ अंकले घटेर १९३४.४७ बिन्दुमा झरेको छ । जुन बुधबारको तुलनामा १.४८ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । दिनभरको कारोबारमा १ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जबकी बुधबार एक अर्ब ९७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबार सबैभन्दा बढी कारोबार गर्नेको शीर्ष स्थानमा शिवम् सिमेन्ट रहेको छ । सिमेन्टको ८ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । दोहोरो अंकले घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आदर्श लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन र मौलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य बुधबारको तुलनामा १० प्रतिशतले बढेर सर्किट लागेको हो । सबैभन्दा बढी प्रतिशतले मूल्य घट्नेको सूचीमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ अग्रस्थानमा रहेको छ । जसको मूल्य ५.५० प्रतिशतले घटेको छ । त्यस्तै, बिहीबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।

महासंघको अध्यक्ष बने चन्द्रप्रसाद ढकाल, सफल उद्यमीसँगै निजी क्षेत्रको नेता पनि

काठमाडौं । चैत २८, २९ र ३० गते सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघले ५७ औ वार्षिक साधारणसभाले नयाँ कार्यसमितिको चयन गरेको छ । साधारणसभा सम्पन्न सँगै वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वातः अध्यक्ष भएका छन् । महासंघको नव-निर्वाचित अध्यक्षको रुपमा ढकालले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदान वृद्धि गर्ने, सार्वजनिक-निजी साझेदारीको प्रवद्र्धन गर्ने तथा स्वदेशी-विदेशी लगानी पर्वद्धन सँगसगै निजी क्षेत्रको सम्मान वृद्धि गर्ने एजेण्डालाई मुख्य प्राथमिकतामा राखेका छन् । वरिष्ठ उपाध्यक्षको कार्यकालमा हरेक प्रदेशमा कम्तीमा एउटा ठूलो पूर्वाधारमा लगानी गर्ने अध्यक्ष ढकालको लक्ष्य पूरा हुनै लागेको छ । महासंघ अध्यक्षको अबको कार्यकालमा प्रत्येक जिल्ला तथा नगर उद्योग वाणिज्य संघ रहेका स्थानमा उद्यम तथा लगानी बढाउने, रोजगारी केन्द्रित ‘सीप तथा व्यवसाय प्रवद्र्धन प्रणाली’ विकास गरी साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्ने लक्ष्य लिएको अध्यक्ष ढकालले बताए । अध्यक्ष ढकालले उद्यम व्यवसाय तथा लगानीगर्दा तीनवटा सिद्धान्तलाई सधै प्राथमिकतामा राख्ने गरेका छन् । पहिलो, आम जनतालाइ सिधै फाइदा वा सेवा पुर्‍याउने, दोस्रो सरकारको प्राथमिकताको क्षेत्र र तेस्रो, व्यावसायिक सम्भावनाको क्षेत्र । को हुन ढकाल ? चन्द्रप्रसाद ढकाल पहिलो पुस्ताका सफल उद्यमी-व्यवसायी हुन् । दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । महासंघका नवनिर्वाचित अध्यक्ष ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुन् । उनको व्यावसायिक यात्रा करिब चार दशक लामो छ । विसं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्मेका ढकालले विसं २०४५ बाट आफ्नो व्यवसाय सुरु गरेका हुन् । त्यसपछि विसं २०४८ मा कार्गो कम्पनी हँुदै २०५७ मा नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरेर अध्यक्ष ढकालले व्यावसायिक फड्को मारेका हुन् । हाल आइएमई ग्रुपसँग सम्बद्ध दुई दर्जन भन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठानहरु नेपालसहित विश्व बजारमा स्थापित छन् । ढकाल नेतृत्वको आइएमइ ग्रुपले २० हजार जना भन्दा बढी प्रत्यक्ष र ४० हजार जना भन्दा बढीको संख्यामा अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ । ढकालको नेतृत्वमा आइएमई ग्रुपले आफ्नो लगानी तथा उद्यमशीलतालाई सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमुलक क्षेत्रमा केन्द्रित गरी दुई दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार गरिरहेको छ । यसअन्र्तगत रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका कम्पनीहरु बजारमा प्रतिस्पर्धी र गतिशील छन् । ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजीटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरुमा आइएमई ग्रुपको प्रमुख हिस्सेदारी छ । पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केवलकारसहितका नयाँ पर्यटकीय गन्तब्य निर्माणमा सक्रिय छन् । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसाय मार्फत् देशको औपचारिक अर्थतन्त्र विकासमा अध्यक्ष ढकालको उल्लेखनीय योगदान छ । विदेशमा कमाएको रकम वैधानिक माध्यमबाट देश पठाउँदा लाखाँैं श्रमिकहरु अनावश्यक झन्झट र ठगी हुनबाट जोगिएका छन् । औपचारिक माध्यम मार्फत् ठूलो मात्रामा रेमिट्यान्स नेपाल ल्याउने सफल संस्थाको नेतृत्वको रुपमा ढकाल, नेपाल सरकारले पटक पटक ‘महत्वपूणर् व्यावसायिक व्यक्ति सम्मान-सिआइपी’ बाट सम्मानित भएका छन् । यस्तै रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा लगातार चार पटकसम्म ‘ठूला करदाता सम्मान’ बाट आइएमई पुरस्कृत भएको छ । सेवा तथा उत्पादनमूलक उद्योगहरुमा थप लगानी प्रवद्र्धन र सर्वसाधारण समेतलाई नाफाको हिस्सेदार बनाउने उद्देश्य राख्दै आइएमई ग्रुपका कम्पनीहरु पब्लिक लिमिटेडमा लैजाने प्रतिबद्धतालाई ढकालले प्राथमिकताका साथ कार्यान्वयन गरिरहेका छन् । यसरी आइएमई ग्रुप, स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाहमा उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रको विकास तथा आफ्ना ग्राहकहरूको आर्थिक-सामाजिक रुपान्तरणमा समर्पित देखिन्छ । २०७२ को भूकम्प र कोभिड-१९ को महामारी तथा अन्य विपद्का समयमा समेत उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गर्न समेत अध्यक्ष ढकालले अग्रसरता लिँदै आएका छन् । कोभिड-१९ मा आइएमई ग्रुपले भरोसा कोष स्थापना गर्दै करोडौं रुपैयाँ बराबरको सहयोग गरेको थियो । ग्रुपले वैदेशिक रोजगारीमा रहँदा कोभिड १९ बाट मृत्यु भएका श्रमिकका परिवारलाई नगद सहयोग समेत गरेको थियो । नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्यदूतको रुपमा रहेका ढकाललाई २०७२ को महाभूकम्पका समयमा उद्धार र राहतमा गरेको योगदानको प्रशंसा गर्दै गणतन्त्र इन्डोनेसियाको परराष्ट्र मन्त्रालयले समेत सम्मान गरेको थियो । अध्यक्ष ढकाल, नेपाल सरकारबाट प्रदान गरिने प्रतिष्ठित सुकीर्तिमय राष्ट्रदीप, गोरखा दक्षिण बाहु चौथो र प्रबल जनसेवाश्री चौथो लगायतका मानपदवीबाट सम्मानित व्यक्तित्व हुन् ।

वर्ष २०७९ मा भौतिक मन्त्रालय : नयाँ निर्माणभन्दा विस्तार र व्यवस्थापन बढी

फाइल फाेटाे काठमाडौं । सडक विभागले यो वर्ष नयाँ निर्माणभन्दा भइरहेका सडक विस्तार, स्तरोन्नति र आवश्यक संरचना निर्माण गरेको छ । विगतमा निर्माण भएका राजमार्ग स्तरोन्नति र विस्तार, ट्राफिक बत्ती जडान, ‘फ्लाई ओभर’ निर्माण, सुरुङलगायतका संरचनाको अध्ययन, आधुनिक पुल निर्माणलगायतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय केन्द्रीत भएको पाइएको छ । साथै यसैवर्ष चालक अनुमतिपत्र वितरणमा रहेको ढिलाइ हटाउने र इम्बोस्ड नम्बर प्लेटमा रहेको समस्या समाधान पनि प्राथमिकतामा रहेका छन् । सरकारको रणनीति परिवर्तन भएर भइरहेका राजमार्ग विस्तारले प्राथमिकता पाइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । उनका अनुसार यातायातको माध्यममा सडक यातायात सबैभन्दा महत्वपूर्ण भएकाले अहिले प्राथमिकता राष्ट्रिय राजमार्गको विस्तार भएको छ । ‘पूर्व––पश्चिम राजमार्ग, मुग्लिन–पोखरा राजर्मालगायत चार लेनमा विस्तार भइरहेको छ’, उनले भने । काठमाडौँ उपत्यकाको यातायातलाई चुस्त बनाउन र चोक (इन्टरसेक्सन) मा हुने ढिलाइ न्यूनीकरण गर्दै ट्राफिक जाम कम गर्न आवश्यक ठाउँमा फ्लाई ओभर निर्माण गर्ने नीति रहेको विभागले जनाएको छ । पछिल्लो चरणमा प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि सहरी क्षेत्रका चोकहरुमा क्षमता अभिवृद्धि गर्न आवश्यक ठाउँमा फ्लाई ओभर निर्माण र ट्राफिक बत्ती व्यवस्थापन गर्ने, आवश्यक ठाउँमा भइरहेका सडक विस्तार र स्तरोन्नति गर्ने सरकारको नीति रहेको महानिर्देशक ढकालले बताए । राष्ट्रिय राजमार्गको मर्मत सम्भार गर्ने, स्तरोन्नति गर्ने, नयाँ राजमार्गको निर्माण गर्ने, भएका सम्पत्तिको संरक्षण गर्ने र नागरिकलाई सर्वसुलभ किफायती यातायात संरचना प्रदान गर्ने विभागको जिम्मेवारी रहेको छ । सोहीअनुसार सरकारले कार्यक्रम स्वीकृत गरेको र विभागले काम गरिरहेको उनले बताए । चालु आवमा ग्वार्खाेमा फ्लाई ओभर निर्माण अघि बढेको र सिद्धबाबामा सुरुङमार्ग सुरु गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । लामो समयदेखि सिद्धार्थ राजमार्गको त्यो खण्डमा नागरिकले दुःख पाइरहेकाले त्यसलाई सुधार गर्न सिद्धबाबामा सुरुङ बनाउन लागिएको मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले जानकारी दिए । सरकारले सूर्यविनायकदेखि धुलिखेल सडक विस्तारको काम अघि बढाएको प्रवक्ता अधिकारीले बताए । काठमाडौँ उपत्यकाबाट पूर्वतर्फ जाने सवारीसाधनको चाप धेरै रहेकाले त्यसलाई समाधान गर्ने गरी ठेक्का गरिएको हो । विश्व बैंकको सहयोगमा धेरै सडकमा आवधिक सडक मर्मत अघि बढाइएको उनले बताए । अहिले धेरै ठाउँमा सुरुङ आवश्यक देखिएकाले अध्ययन अघि बढिरहेको उनले बताए । महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ बजारमा ठूलो सिग्नेचर पुल बनाउन सुरु भएको छ । मुग्लिन–पोखरा सडक, नागढुङ्गाबाट नौविसे हुँदै मुग्लिन सडक स्तरोन्नति सुरु भइसकेको उनले बताए । उनले भने, ‘पूर्वमा काँकडभिट्टादेखि लौकहीसम्म र कमलाबाट ढल्केबर सडक सुरु गर्ने चरणमा रहेको छ ।’ राष्ट्रिय गौरबका आयोजनाको लक्षित समय नजिकिए पनि सम्पन्न हुने चरणमा पुगिसकेका छैनन् । ती आयोजनामा लक्ष्य कोभिड सङ्क्रमण सुरु हुनुभन्दा पहिले लिइएको भए पनि दुई तीन आर्थिक वर्ष कोभिडले र अरु विभिन्न कारणले अवरोध सिर्जना गरेकाले मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्ग पहिले निर्धारित समयमा सम्पन्न हुने नदेखिएको प्रवक्ता अधिकारीले बताए । त्यसलाई कहिलेसम्म सम्पन्न गर्न सकिन्छ भनी नयाँ लक्ष्य निर्धारण गर्न आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार अहिलेसम्मको अवस्था हेरेर त्यसलाई नयाँ अवधि तोक्ने गरी अघि बढिएको छ । राष्ट्रिय गौरबका आयोजनातर्फ मध्यपहाडी राजमार्गमा यो वर्ष ४२ किमी सडक कालोपत्र भएको छभने चार पुल सम्पन्न भएका छन् । हुलाकी राजमार्गममा ३६ दशमलव पाँच किमी सडक सम्पन्न भएको छ भने सात पुल सम्पन्न भएको छ । उत्तर दक्षिण करिडोरमध्ये कालीगण्डकी करिडोरमा प्रगति बढी देखिएको छ । सो करिडोरमा १० किमी सडक कालोपत्र, ३० किमी सडक ग्राभेल भएको छ भने चार पुल सम्पन्न भएको छ । कोशी करिडोरमा १५ किमी सडक ग्राभेल भएको छ र एउटा पुल सम्पन्न भएको छ । कर्णाली करिडोरमा साढे तीन किमी ट्र्याक खोलिएको छ भने ३८ किमी सडकको ट्रयाक चौडा गरिएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत चालु आवमा थप छ किमी कालोपत्र भएर जम्मा दुई सय ६५ किमी सडक सम्पन्न भएको छ । राजमार्गमा पर्ने एक सय ८५ पुलमध्ये ९९ सम्पन्न भएको छ । नागढुङ्गा सुरुङमार्गमा पाँच किमी चार सय ९९ मिटरमध्ये चार किमी दुई सय ७५ दशमलव ४५ मिटर सुरुङ खन्न सकिएको छ । नौ सय ७७ दशमलव सात मिटर सुरुङ कङ्क्रिट लाइनिङ सकिएको छ । अहिलेसम्म तीन अण्डरपास, चार कल्भर्ट, एक ओभरपास र तीन पुल सम्पन्न भइसकेको छ । नारायणगढ–बुटवाल सडकमा २८ साना पुल र तीन प्रमुख पुलको निर्माण सम्पन्न भएको छ । मुग्लिन–पोखरा सडकमा सात साना पुलको निर्माण सम्पन्न भएको छ । सो सडकमा पर्ने मादी र सेती नदी पुल ठेक्का सम्झौता भएर हाल डिजाइन स्वीकृति हुने चरणमा रहेको छ । अहिलेसम्म मन्त्रालयको प्रगति झण्डै ३० प्रतिशत रहेको छ । गत वर्षमा कोभिडका कारण निर्माणमा बाधा पुगेकामा अहिलेसम्म पहिलेको गतिमा काम फर्किन नसकेको मन्त्रालयका प्रवक्ता अधिकारीले बताए । तीन चार वर्ष पहिलेसम्म मन्त्रालय अन्तर्गतका योजनामा प्रगति राम्रो हुने गरेको उनको भनाई छ । कोभिड सङ्क्रमण फैलिरहँदा बन्दाबन्दी भयो र मानिसमा त्रास रहेको थियो । कोभिडका कारणले काम गर्ने प्रवृत्ति विग्रिएको र अहिले पनि पहिले जस्तो काम हुन नसकेको उनले बताए । अहिलेसम्म धेरै योजना छनोट हुने अनि तीनमा थोरै बजेट छुट्टने समस्या रहेको छ । आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर भएको कामको भुक्तानी गर्नुपर्ने अवस्था रहेको उनले बताए । योजनामा चाहिए बमोजिम बजेट राखेर धमाधम काम गर्ने व्यवस्था हुन आवश्यक छ । ‘यसलाई सुधार गरेर सीमित योजना छनोट गर्ने र तीनमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ’, उनले भने । सबैभन्दा बढी सुधार बजेट निर्माण प्रक्रियामा आवश्यक रहेको छ भने रातो किताबमा परेका कार्यक्रममा समस्या नभए पनि अरु योजनामा बजेटको समस्या आइरहेको उनले बताए । खासगरी राष्ट्रिय गौरबका आयोजनामा बजेटको समस्या रहेको छैन । सडक विभागको प्रगति अहिलेसम्ममा ६०÷६५ प्रतिशतभन्दा माथि जानुपर्नेमा अहिलेको प्रगति कम रहेको उनले बताए । अहिले प्रगति कम हुनुमा काम कम हुनुसँगै काम भइसकेर भुक्तानी गर्न बाँकी रकम यसमा जोडिन बाँकी रहनु पनि हो । धेरै ठेक्कामा निर्माण व्यवसायीले काम गरिसकेर भुक्तानीका लागि आवश्यक कागजात पेस गरिरहेको हुनसक्छ । उनले भने, ‘कतिपयले काम गरेको तर भुक्तानी लिन आइनसकेको पनि हुनसक्छ ।’ कोभिडभन्दा पहिले अर्थात अहिलेभन्दा तीन चारवर्ष पहिले यो मन्त्रालयको प्रगति झण्डै ८० प्रतिशत खर्च हुने गरेको थियो । नेपाल सरकारको लगानीका योजनामा प्रगति ९० भन्दा बढी हुन्थ्यो र वैदेशिकको केही कम हुँदा पनि समग्रमा झण्डै ८० प्रतिशत पुग्ने गरेको थियो । कोभिड सुरु भएयता भने प्रगति कम रहेको छ । सरकारको र वैदेशिक दुबै आयोजनामा पुँजीगत खर्च कम रहेको उनले बताए । गत आवमा प्रगति ५७ प्रतिशत र त्योभन्दा पहिलेको वर्षमा ६७ प्रतिशत रहेको थियो । कोभिडपछि खर्च हुन नसकेको अवस्था रहेको छ । ५४ किमी ट्र्याक बेल्ट र सात रेल पुल सम्पन्न यो वर्ष पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा दुई किमी रेल्वे ट्र्याकबेड र दुई रेल्वे पुल निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म साढे ५४ किमी ट्र्याक बेल्ट तयार भएको र सात रेल पुल सम्पन्न भएको रेल विभागले जनाएको छ । बर्दिवासदेखि निजगढको खण्डमा मात्रै निर्माणको काम भइरहेको विभागका महानिर्देशक रोकितकुमार बिसुरालले बताए । भारत सरकारको सहयोगमा निर्माण भएका रेलमार्गमध्ये भारतको बथनाहादेखि बिराटनगरको कस्टम कार्यालयसम्म र भारतको जयनगरदेखि बिजुलपुरासम्म रेलमार्गसम्म सम्पन्न भइसकेको उनले बताए । ‘जयनगरदेखि कुर्थासम्म रेल चलिरहेको छ । कुर्थाबाट बिजुलपुरासम्म १७ किमीमा पनि रेल सम्पन्न भइसकेको छ’, उनले भने । छिमेकी देशहरुले सङ्घीय राजधानीसँग जोड्ने गरी रेलमार्ग निर्माणमा चासो देखाएर अध्ययन अघि बढाइरहेका छन् । रक्स्यौल–काठमाडौँ अध्ययन भएर प्रतिवेदन आउन बाँकी रहेको महानिर्देशक बिसुरालले बताए । काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ । अघि बढ्दैछ यातायात प्राधिकरणसम्बन्धी कानुन मन्त्रालयले यातायात प्राधिकरणका लागि आवश्यक कानुन निर्माण अघि बढाएको छ । यातायात प्राधिकरणको नियमावली मस्यौदा तयार गरेर अर्थ मन्त्रालयमा सहमतिका लागि गएको प्रवक्ता अधिकारीले जानकारी दिए । मन्त्रालयले गर्ने काम गरिसकेको र सहमति आएपछि कानुन मन्त्रालयमा सहमतिका लागि जानेछ । कानुन मन्त्रालयबाट सहमति आएपछि मन्त्रिपरिषद्मा पेस हुने उनको भनाई छ । गत फागुनसम्ममा पाँच लाख दुई हजार २२ थान सवारी चालक अनुमतिपत्र छापिएको छ । हालसम्म जम्मा ३२ लाख ३१ हजार चार लाख ७५ अनुमतिपत्र छापिसकिएको छ । यो वर्ष जम्मा २७ हजार नौ सय ५६ र हालसम्म जम्मा दुई लाख ५७ हजार तीन सय ९४ इम्बोस्ड नम्बर प्लेट छापिसकिएको छ । रासस

महासंघ निर्वाचन : दुई श्रेष्ठबीच सहमति प्रयास जारी, मतदान गर्ने समय थपियो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दोस्रो चरणमा पुगेका उम्मेदवारबीच सहमतिको प्रयास भइरहेको छ । दोस्रो चरणमा पुगेका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच सहमितका लागि प्रयास भइरहेको महासंघ स्रोतले बताएको छ । दुवै उम्मेदवारबीच सहमतिको प्रयास जारी रहेकाले मतदानको समय पनि धकेलिएको छ । बिहीबार २ बजे शुरु हुने भनिएको मतदान २ घण्टा समय थपेर ४ बजे पुर्याएको जनाएको छ । महासंघ स्रोतका अनुसार दुवै उम्मेदवारबीच सहमतिका लागि छलफल भएकाले मतदानको समय सारिएको हो । पहिलो चरणमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईले वरिष्ठ उपाध्यक्षका लागि प्रतिस्पर्धा गरेका थिए । जसमा रामचन्द्र संघई पहिलो चरणको रिङबाट आउट भएका छन् । अब महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघको पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा पुनः मतदानमा जानु परेको हो । यदि दुवै उम्मेद्धारबीच सहमति भएमा मतदान हुने छैन । पहिलो चरणमा अञ्जन श्रेष्ठले कूल ३७.९९ प्रतिशत र उमेशलाल श्रेष्ठले ३१.५१ मत प्राप्त गरेका छन् ।