विकासन्युज

गुरु न्यौपानेमाथिको कारबाही कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश

काठमाडौं । रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेमाथिको कारबाही तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायधीशहरु श्यामजी प्रधान र किरणकुमार पोखरेलले मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त निर्णय कार्यान्वयन नगराउन बोर्डलाई चैत २१ गते आदेश दिएको हो । रिडी पावरका अध्यक्ष हुँदा कम्पनीको सेयर अनाधिकृत रुपमा बिक्री गरेको भन्दै धितोपत्र बोर्डले कारबाही गर्ने निर्णय गरेको थियो । बोर्डको उक्त निर्णयविरुद्द अध्यक्ष न्यौपानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । कम्पनीका सञ्चालकले अनधिकृतरुपमा कारोबार गरेको प्रमाण फेला पारेमा कारबाही गर्ने धितोपत्र बोर्डलाई कानुनी अधिकार छ । अधिकार सम्पन्न भएकै कारण कम्पनीका सञ्चालक न्यौपानेलाई कारवाही गरिएको थियो । गत पुस २४ गते बसेको धितोपत्र बोर्डको सञ्चालक समिति बैंठकले अध्यक्ष न्यौपानेलाई सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरीत कारोबार गरेकाले धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०१ (७) अनुसार ७५ हजार रूपैयाँ जरिवानासमेत गरेको थियो । यस्तै, उनलाई धितोपत्र सम्बन्धी ऐनको दफा १०८ अनुसार १० वर्षसम्म कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन नसक्ने गरी कारबाही भएको बोर्डले त्यसबेला जानकारी गराएको थियो । न्यौपानले रिडी पावरका अध्यक्ष पदमा हुँदा रिडी हाइड्रोपावरको सेयर बेचेको भन्द बोर्डले विभागीय अध्ययन गराई २०७८ पुस ६ मा कारबाही सिफारिस गरेको थियो । त्यसअघि २०७९ मंसिर २५ गतेको बोर्ड सञ्चालक समिति बैंठकले न्यौपानेलाई कारबाही गर्ने निर्णय गर्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

मानुषी लघुवित्तको केन्द्र प्रमुख गोष्ठी सम्पन्न

काठमाडौं । मानुषी लघुवित्तले वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तका अध्यक्ष पद्माशना शाक्यको सभापतित्वमा भएको कार्यक्रमको काठमाडौं महानगरकी उपप्रमुख सुुनिता डंगोलले उद्घाटन गरेकी हुन् । कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख डंगोलले महिला सशक्तीकरणमा लघुवित्तले उल्लेख्य भूमिका निर्वाह गरेको बताइन् । महिला उद्यमशीलताको विकासका लागि महानगरले गृहकार्य गरिरहेको उनको भनाइ थियो । कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले संस्थाको विगत र वर्तमान अवस्थाबारे प्रकाश पारेकी थिइन् । कार्यक्रमका अन्य वक्ताले विद्यमान लघुवित्तको समस्या र त्यसको समाधानको विषयमा धारणा राखेका थिए । कार्यक्रममा उपस्थित केन्द्र प्रमुखहरूलाई लघुवित्तमा विद्यमान समस्या र समाधानका विषयमा छलफल चलाइएको संस्थाले जनाएको छ । त्यस्तै, गत वर्ष उत्कृष्ट कार्य गर्न सफल तीन केन्द्रलाई पुरस्कृत गरिएको कार्यक्रममा केही सदस्यले आफ्ना सफलताका कथासमेत सुनाएका थिए । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको लघुवित्तले हाल देशका १४ जिल्लामा ३६ शाखामार्फत ३४ हजार चार सयभन्दा बढी सदस्यलाई एक सय ३२ जना कर्मचारीमार्फत सेवा दिइरहेको जनाएको छ । हालसम्म संस्थाले ८४ करोड ८६ लाख रुपैयाँ बचत संकलन गरी एक अर्ब ५२ करोड रुपैयाँ लगानी गरेको उल्लेख छ ।

अञ्जन र उमेश दोस्रो चरणमा भिड्दै, संघई रेसबाट आउट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षको निर्वाचन पुनः हुने भएको छ । तोकिएको ५१ प्रतिशत मतभार कुनै पनि उम्मेदवारलाई नआएपछि पुनः मतदान हुने भएको हो । बरिष्ठ उपाध्यक्ष पदमा तीन जना भिडेका थिए । जसमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ पुनः मतदानमा जाने भएका छन् । रामचन्द्र संघई  १ प्रतिशतले प्रतिस्पर्धाबाट बाहिरिएका छन् । अञ्जन श्रेष्ठले वस्तु, जिल्ला र एशोसिएट गरी तीनै तर्फ कुल ३७.९९ प्रतिशत मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, उमेशलाल श्रेष्ठले ३१.५१ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए । जिल्ला नगर तर्फबाट कुल ११७ मत खसेको थियो । सोमध्ये महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठले ४७ मत, रामचन्द्र सघंईले ३९ मत र  उमेशलाल श्रेष्ठले २८ मत पाएका छन् । यस्तै, एसोशिएट तर्फ खसेको १ हजार ६ सय मत मध्य सबैभन्दा धेरै रामचन्द्र संघईले ६१३ मत ल्याएका छन् भने अन्जन श्रेष्ठले ५७३ र उमेश श्रेष्ठले ४२६ मत ल्याएका छन्। एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा १८ वटा मत बदर आएको छ । वस्तुगततर्फ खसेको कुल १२३ मत खस्दा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उमेशलाल श्रेष्ठले ६९ मत, अन्जनले ४१ मत र रामचन्द्र सघंईले १२ मत पाएका छन् भने एक मत बदर भएको थियो । जिल्लानगरको ५० प्रतिशत मतभार, एसोसिएट ३० प्रतिशत मतभार र बस्तुगतको २० प्रतिशत मतभार रहेको छ । त्यसकाे आधारमा बढी मत ल्याउने दुई प्रतिस्पर्धी बीच दोस्रो चरणको मतदान हुने भएको छ । दिउँसो २ बजेपछि मतदान हुने भएको छ ।

महासंघ निर्वाचन : वस्तुगत संघतर्फको वरिष्ठ उपाध्यक्षमा उमेश अगाडी

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वस्तुगत संघतर्फको वरिष्ठ उपाध्यक्षको मतगणना सम्पन्न भएको छ । वस्तुगत संघमा वरिष्ठ उपाध्यक्ष पदका लागि १२३ मतमध्ये १२२ मत सदर भएको थियो । जसमध्ये सबैभन्दा धेरै उमेशलाल श्रेष्ठले सबैभन्दा धेरै मत ल्याएका छन् । कूल खसेको मतमध्ये अञ्जन श्रेष्ठले ४१ मत प्राप्त गरेका थिए । जसमध्ये उनको मतभार ६.७२ प्रतिशत रहेको छ । यस्तै, उमेशलाल श्रेष्ठले ६९ प्रतिशत मत प्राप्त गरेका थिए । उनको कूल सदर मतमध्ये ११.३१ प्रतिशत मतभार रहेको छ । त्यस्तै, रामचन्द्र संघईले १२ मत प्राप्त गरेका थिए । जसमा उनले ल्याएको मतको भार १.९६ प्रतिशत पाएका हुन् ।

नयाँ वर्षमा तनाव व्यवस्थापन गर्न टुँडिखेलमा ओशो महोत्सव

काठमाडौं । सीमित स्रोत र साधनका कारण मानिसहरूका लागि अवसर थोरै मात्र उपलब्ध छन्, तर पद, प्रतिष्ठा र अवसर प्राप्त गर्ने महत्वाकाङ्क्षा त्यो भन्दा धेरै छ । यसैकारण समाजमा असन्तुष्टि चुलिँदो छ भन्छन् समाजशास्त्रीहरू । समाजको पछिल्लो पुस्ता आफ्ना इच्छा, आकाङ्क्षा पूरा गर्न नपाउँदा मनोरोग डिप्रेसनको अवस्थामा पुग्दैछ । पहिले कोरोना महामारी र त्यसपछि सिर्जित आर्थिक मन्दीका कारण कैयौँ उद्योग, प्रतिष्ठान बन्द हुन पुगेका छन् । यसबाट बेरोजगार हुन पुगेका लाखौँ मानिसको मानसिक स्वास्थ्यमा असर परेको विभिन्न अध्ययनले देखाएका छन् । नेपालमा पनि आर्थिक सङ्कट दिनप्रतिदिन बढ्दो छ, सेयर बजार झन्भन्दा झन् खस्कँदै छ । मानिसका लागि अवसर खुम्चिँदै छन् । स्वदेशमा रोजगारीका अवसर सीमित हुँदा दिनहुँ हजारौँ युवायुवती विदेशिएका छन् । देशका अधिकांश क्षेत्र, पेसा या व्यवसायमा पनि सकारात्मक सञ्चार प्रवाह हुनसकेको छैन । यी विविध कारणले गर्दा मानिसमा निराशामात्र थपिँदै छ । यस्तो निराशा, कुण्ठा, असन्तुष्टि या डिप्रेसनउन्मुख अवस्थाको निदानका लागि ध्यान, साधनालाई उत्तम उपाय मानिएको छ । योग र ध्यान क्षेत्रका साधकहरूले मानिसमा यस्तो नैराश्यता हटाएर मानसिक स्वास्थ्यमा सुधार ल्याउन ध्यान र साधनाले औषधिको काम गर्ने सिफारिस गर्दछन् । नेपाली समाजमा पनि पछिल्लो समय युवा या विभिन्न उमेर समूहका मानिसमा पद, प्रतिष्ठा र सफलता प्राप्तिको आकाङ्क्षा बढ्दो देखिन्छ । तर आफूअनुकूलको वातावरण सिर्जना हुन नसक्दा उनीहरूमा निराशा बढ्दो छ । त्यसैले मानसिक स्वास्थ्यसम्बन्धी चिकित्सक या यस क्षेत्रका जानकारहरू ध्यान, योग, साधना गर्न सुझाउँछन् । मानिसको दिमागबाट डिप्रेसन र नैराश्यता हटाई उसमा आशावादिता जगाउन र सकारात्मक सोचको विकास गरी सुरक्षित र खुसी जीवनयापन गर्न उनीहरू ध्यान गर्न सुझाउने गरेका छन् । यही प्रयोजनका लागि अर्थात् मानिसमा पछिल्लो समय विकसित तनाव तथा नैराश्यताको व्यवस्थापन गर्न नयाँ वर्षको पहिलो दिन भोलि विसं २०८० वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सवको आयोजना गरिएको छ । शुक्रबार बिहान ९ देखि राति ९ बजेसम्म आयोजित सो महोत्सवमा सबैलाई खुला आमन्त्रण पनि गरिएको छ । सो महोत्सवका प्रमुख संयोजक भवन भट्टले नेपाललाई समृद्ध र अध्यात्मिक बनाउने स्वामी आनन्द अरुणको चाहनाबमोजिम ओशो तपोवनको आयोजनामा गत वैशाख १ देखि हरेक नयाँ वर्षको पहिलो दिन ओशो महोत्सव सुरु गरिएको जानकारी दिए । उनले भने, ‘अहिले नेपाली समाजमा विविध कारणले विशेषगरी युवा वर्ग या विभिन्न पेसा व्यवसायका मानिसमा व्याप्त तनाव, नैराश्यता एवं प्रतिदिन बढ्दो डिप्रेसनको व्यवस्थापन गरी हरेक मानिसमा अध्यात्मिक चिन्तनको विकास गरेर उनीहरूलाई योग र ध्यानतर्फ आकर्षित गर्न यो महोत्सवको आयोजना गरिएको हो ।’ यसै वर्षको अर्थात् विसं २०७९ को वैशाख १ गते पनि टुँडिखेलमा नै कम्तीमा १० हजार जना मानिस जम्मा गर्ने उद्देश्य राखेर आयोजना गरिएको महोत्सवमा १२ हजार जनाको सहभागिता रहेको र त्यहाँ आएका कतिपय व्यक्ति पछि ओशो तपोवनमा पनि आइरहेकाले यस वर्ष कम्तीमा पनि ५० हजार जना मानिस जम्मा गर्ने महोत्सवको लक्ष्य रहेको उनले बताए । प्रमुख संयोजक भट्टले नेपाली पात्रोअनुसार हरेक वर्षको वैशाख १ गतेलाई विश्व ध्यान दिवसका रूपमा प्रस्ताव गरिएको र यससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायसम्म पनि पहल गरिएकाले सो दिनलाई विश्व ध्यान दिवस घोषणा गराउन यो अभियान निरन्तर लाग्ने जानकारी दिए । उनले भने, ‘भारतका प्रधानमान्त्री नरेन्द्र मोदीले विश्व योग दिवस भनेर प्रस्ताव गरे तर नेपालजस्तो देवभूमि, तपोभूमि, ध्यानभूमिले किन ध्यान दिवसको प्रस्ताव नगर्ने भन्ने हामीले सोच्यौँ र यो प्रस्ताव गरेका हौँ । ध्यान अध्यात्मिक चिन्तन पनि भएको र वैशाख १ गते आफैँमा नयाँ वर्षको पहिलो सङ्क्रान्तिको दिन तिथि, मिति आदि हेर्न पनि नपर्ने भएकाले यसै दिनलाई प्रस्ताव गरेका हौँ ।’ यो दिवसको घोषणा गर्न सकियो भने यसले हाम्रो नेपाली मौलिकपन झल्काउने र महादेव अर्थात् देवताहरूले तपस्या गरेको नेपालजस्तो तपोभूमि र शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्भिएको देश नेपाललाई विश्वमै ध्यान, तपस्या गर्ने अर्थात् ध्यानीहरूको देश भनेर चिनाउन सकिने उनले बताए । शुक्रबार बिहान ९ बजेदेखि १२ घन्टासम्म सञ्चालन हुने यस महोत्सवमा ध्यान, योगका साथै विशिष्ठ राष्ट्रिय कलाकारद्वारा गीत सङ्गीत र नृत्य, वरिष्ठ हास्यव्यङ्ग्य कलाकारहरूको प्रस्तुति एवं नाटक प्रदर्शन पनि आयोजना गरिएको छ । महोत्सवमा योगको संयोजन पतञ्जलीले गर्ने भएको छ । यस महोत्सवमा खाना महोत्सव र पुस्तक प्रदर्शनी पनि आयोजना गरिएको छ । ध्यानले मानिसमा सकारात्मक ऊर्जाको सञ्चार गर्दछ । कुनै एक जना व्यक्तिले ध्यान गर्दा उसबाट कैयौँ टाढासम्म सकारात्मक ऊर्जाको प्रवाह हुने भएकाले भोलि शुक्रबार खुलामञ्चमा ५० हजार जनाले ध्यान गर्दा यसबाट नेपाली समाजमा सकारात्मक सञ्चार प्रवाहका लागि ठूलो योगदान पुग्ने उनले बताए । अहिले नेपालमा पनि डिप्रेसन भएका मानिसको सङ्ख्या बढेको देखिएको र तनाव व्यवस्थापन गरी शान्तिपूर्ण र सुखी जीवनयापनका लागि ओशो तपोवनमा समाजका विभिन्न पेसा र व्यवसायका वरिष्ठ व्यक्तित्वदेखि युवाहरू आउने गरेका उनले सुनाए । गैरआवासी नेपाली सङ्घका पूर्वअध्यक्ष भट्ट केही वर्षदेखि ओशो अभियानमा छन् । यस अभियानका आफ्ना अनुभव सुनाउँदै उनी सुझाउँछन्, ‘मानसिक स्वास्थ्यको वर्तमान अवस्थाको निदानका लागि ध्यान र योग जत्तिको प्रभावकारी ‘थेरापी’ अरु केही नरहेको विभिन्न प्रयोग एवं अनुसन्धानबाट प्रमाणित नै भइसकेको छ । त्यसैले अब हामीले पनि नेपाली समाजमा अध्यात्मिक चिन्तनको विकास गरी सबै मानिसलाई ध्यान र योगका लागि प्रेरित गर्नुपर्छ र नेपाली समाजबाट नैराश्यता र नकारात्मक सोचलाई विस्थापित गरी सकारात्मक ऊर्जा प्रवाहमा लाग्नुपर्छ ।’ रासस

महासंघ निर्वाचन : जिल्ला नगरतर्फबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन अगाडी

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को  जिल्ला नगरतर्फको वरिष्ठ उपाध्यक्षको मतगणना सकिएको छ । जिल्ला नगरतर्फको वरिष्ठ उपाध्यक्षको सबै मत गणाम हुँदा अन्जन श्रेष्ठ अगाडी देखिएका छन् । अन्जनले कुल ११७ मत गणना हुँदा ४७ मत ल्याएका छन् । यस्तै, रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत ल्याएका छन् । जिल्ला नगरतर्फको वरिष्ठ उपाध्यक्षको  निर्वाचनमा ३ वटा मत बदर आएको छ ।

कमोडिटी मार्केट सञ्चालनको लागि बोर्डले पुनः माग्यो आवेदन, १० दिनभित्र दिइसक्नु पर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनको लागि पुनः आवेदन मागेको छ । यसअघि खुलाएको आवेदनमा सर्वोच्च अदालतमा रिट परेको र उक्त रिट खारेजी भएसँगै बोर्डले इच्छुक संस्थासमक्ष पुनः आवेदन माग गरेको हो । बोर्डले २०७९ चैत ३० गते एक सूचना जारी गर्दै आगामी १० दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ । साविकको सूचना बमोजिम तोकिएको म्यादमध्ये बाँकी रहेको म्याद अनुसार उक्त १० दिनको मिति तोकिएको बोर्डले जानकारी गराएको छ । यदि निवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा इच्छुकले सोको लगत्तै कार्यालय खुलेको दिन कार्यालय समय भित्र निवेदन बुझाउन सक्नेछन् । बोर्डले २०७९ असोज २ गते एक सूचना जारी गर्दै धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्ने सिफारिसका लागि एवं कमोडिटी मार्केट सञ्चालन गर्न इच्छुक संस्थालाई निवेदन माग गरेको थियो । जसको समयावधि ४५ दिन तोकिएको थियो । तर सर्वोच्च अदालतबाट २०७९ कार्त्तिक ४ गते जारी भएको अल्पकालिन अन्तरिम आदेश अनुरुप बोर्डबाट अर्को निर्णय नहुँदासम्मका लागि उक्त निवेदन प्रकृया स्थागित भएको थियो । यससँगै अदालतले गत चैत २६ गते रिट खारेजी भएको फैसला गरेसँगै बोर्डले उक्त प्रकृयालाई पुनः अघि बढाउने निर्णय गरेको हो । जसअनुसार नै १० दिनको म्याद तोकिएको सूचनामा उल्लेख छ । ।

जहाज चार्टर गरेर एकैपटक आए १८१ चिनियाँ पर्यटक, थप ७ सय आउँदै

काठमाडौं । जहाज नै चार्टर गरेर एकैपटक ठूलो संख्यामा चिनियाँ पर्यटक नेपाल आएका छन् । कोरोना महामारिपछि एकैपटक १८० जना चिनियाँ नागरिक नेपाल आएका हुन । बिहीबार बिहान हिमालय एयरलाइन्सको जहाज चार्टर गरेर उक्त संख्यामा चिनियाँ नागरिक नेपाल आएका हुन । लामो समयपछि एकैपटक ठूलो संख्यामा आएका चिनियाँ नागरिकलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती र नेपालका लागि चिनियाँ राजदूत छेन् सङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर स्वागत गरेका छन् । ‘नयाँ बर्षको आगमन संगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताको तर्फबाट भव्य स्वागत गरियो, महामहिम चेन सोङ र चिनियाँ जनवादी गणतन्त्र सरकारलाई धन्यवाद’, मन्त्री किरातीले सामाजिक सञ्जालमा भनेका छन्, ‘भोलि देखि नयाँ बर्ष मात्र होइन नयाँ दशक प्रारम्भ हुँदैछ, मलाई बिश्वास छ,यो दशक नेपालीहरुको लागि सुख र समृद्धिको दशक बन्नेछ ।’ मन्त्रालयका अनुसार थप ७०० सय चिनियाँ नागरिक नेपाल आउने तयारीमा छन् । कोरोना महामारिपछि चिनियाँ सरकारले केही समय अघि मात्र आफ्ना नागरिकलाई देश बाहिर जाने अनुमति दिएको थियो । सरकारले अनुमति दिएसँगै एकैपटक ठूलो संख्यामा चिनियाँ नागरिक नेपाल आएका हुन् ।