विकासन्युज

बबई करिडोर निर्माण गर्न सङ्घीय सरकारसमक्ष पहल गरिने देउखुरी । दाङको बबई बबई नदीलाई व्यवस्थित बनाउन बबई करिडोर निर्माणका लागि सङ्घीय सरकार समक्ष पहल गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा प्रत्येक महिनामा पालिकास्तरीय घुम्ती बैठक बस्दै आएको छ । बुधबार घोराही-१ चरिङेदहमा बसेको घुम्ती बैठकले घोराही उपमहानगरपालिका-१ स्थित बबई नदीको उद्गमस्थलदेखि बबई गाउँपालिकाको अन्तिम सीमा क्षेत्रसम्म करिडोर निर्माणका लागि पहल गर्ने निर्णय गरेको हो । बैठकले वर्षाको समयमा बर्सेनि नदीजन्य विपदले पुर्‍याउँदै आएको क्षति कम गर्दै करिडोरका रुपमा व्यवस्थापन गर्दै जिल्लाको महाभारत क्षेत्रमा रहेका बस्तीको वैज्ञानिक व्यवस्थापन गर्न सम्भाव्यता अध्ययनको काम अघि बढाउने निर्णय गरेको छ । महाभारत चुरे क्षेत्रका बस्तीमा बर्सेनि जङ्गली जनावरले क्षति पुर्‍याउने गरेकाले बस्ती स्थानान्तर गरेर वा वन क्षेत्र संरक्षण गरेर मानवीय क्षति काम गरी पर्यावरण संरक्षणका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार बैठकले सरकारी कार्यालयमा सुर्तीजन्य पदार्थ निषेध गर्ने निर्णय पनि गरेको छ । बैठकमा उपमहानगरप्रमुख चौधरीले बबई कोरिडोर, महाभारत क्षेत्रका बस्तीको वैज्ञानिक व्यवस्थापन र पर्यावरण संरक्षणलगायत विषय स्थानीय सरकारको साझा सरोकारको विषय भएको बताए । उनले भने, ‘प्राकृतिक स्रोत साधनको वैज्ञानिक व्यवस्थापन हुन निकै जरुरी छ, यसका लागि जिल्ला समन्वय समितिले अघि सारेका प्रस्तावप्रति घोराहीको समर्थन छ । पालिकाले गर्नुपर्ने काम, कर्तव्य र अधिकारलाई सही ढङ्गले प्रयोग गर्न सबै पालिकासँग समन्वय गरी एजेन्डा बनाएर अघि बढ्ने छौं ।’ महाभारत चुरे क्षेत्रमा रहेका बस्ती विभिन्न कारणले जोखिममा परेको भन्दै प्रमुख चौधरीले भने, ‘उपमहानगरपालिकाभित्र रहेका थुप्रै विकट बस्तीलाई वैज्ञानिक व्यवस्थापन गर्न अब पहल हुन जरुरी छ । थोरै बजेटले विकास नहुने, गरिएको लगानीले नपुग्ने भएकाले यसको दिगो समाधान खोज्नेतर्फ लागेका छौं ।’ उनले जिल्लाको समग्र विकासका लागि दाङमा भरपर्दो विमानस्थलको आवश्यकता औँल्याए । विमानस्थल निर्माणका लागि सबैको चासो हुनुपर्नेमा उनले जोड दिए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले महाभारत संरक्षणका लागि जलाधार क्षेत्रको पनि विकास गर्नुपर्ने बताउँदै अहिले भइरहेका पहल सकारात्मक रहेको बताए । उनले तत्कालीन जिल्ला विकास समितिले स्थापना गरेको महिला तथा घरेलु सिल्पकला समिति स्थानीय तहमा हस्तान्तरण हुन नसकेको गुनासो गरे । उनले भने, ‘जिविसले बनाएको संरचना स्थानीय तहमा आउनु पर्थ्यो आएको छैन, अरु संरचना पालिकामा गए तर यो हस्तान्तरण हुनसकेन् ।’ प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्रस्ताव गरिएका विषय साझा समस्याका रुपमा भएकाले यसमा गम्भीरतापूर्वक काम गर्न सुझाव दिए । उनले दाङमा बाह्रैमहिना विभिन्न खालका विपद्को समस्या पर्ने भएकाले यसतर्फ सबैले चासो दिनुपर्ने बताए । ‘यहाँ विपद्का घटना भइरहन्छन् पहाडमा पहिरो, तराईमा डुबान छ । विपद् जोखिम कम गर्नाका लागि समयमै पूर्व तयारीमा जुट्नु पर्छ,’ उनले भने । नदीजन्य वस्तुको दोहनमा निकै लापरबाही भएको उनले टिप्पणी गरे । ‘स्थलगत रुपमा अनुगमनमा जाँदा नदीजन्य पदार्थमा बेथिति बढेको छ । चोरेर लान पाइन्छ भने किन ठेक्का लिने भन्ने मानसिकता बढेको छ । यसमा कडाइ गरौँ’, प्रजिअ वैद्यले भने ‘ठेक्का लगाएको ठाउँमा पनि सिमा नतोकि दिने परिपाटीको अन्त्यका लागि सङ्घीय ऐन बनाएमा मात्रै स्थानीय तहले व्यवस्थित रूपमा काम गर्न सक्छ ।’ लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले नदीजन्य पदार्थको चोरी मुख्य समस्या रहेको उल्लेख गरे । उनका अनुसार नदीजन्य पदार्थको अनियन्त्रित चोरीले समस्या झन बढ्दै गएको छ । उनले भने, ‘दिउँसोको समयमा अनुगमन रोकथामको प्रयास हुन्छ तर राति सम्भव छैन । यसैको लाभ उठाउन गिरोह सक्रिय छन् । चोरी गर्न पाएपछि ठेक्का पनि लागेको छैन । पालिकाको राजस्वमा यसले निकै असर गरेको छ । राजस्व उठ्न सकेको छैन ।’ दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले बबई नदीले स्थानीयलाई समस्या भएको बताए । उनले पालिकासँग छोएको बाँके राष्ट्रिय निकुञ्जले वडावासी समस्यामा परेकाले बस्ती स्थानान्तरणका लागि सहजीकरण गर्न जिससलाई आग्रह गरे । बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले राष्ट्रिय निकुञ्ज क्षेत्रका बस्तीमा विकास र आधारभूत सेवा थप गर्नसक्ने अवस्था नरहेको उल्लेख गरे । पालिकावासीका समस्या धेरै आउने तर समाधानको प्रयास थाल्दा अवरोध आउने भन्दै नदीजन्य पदार्थको दोहनमा पनि उत्तिकै समस्या रहेको उनको भनाइ छ । राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले संरक्षण गरिएको वनको स्थानीय नागरिकले सही उपयोग गर्न नपाएको गुनासो गर्नुभयो । वन ऐनलाई खुकुलो बनाउँदै उचित रुपमा प्रयोग गर्न दिने वातावरण बनाउन उनले सरोकारवाललाई आग्रह गरे । बाहिरको काठ, आल्मुनियम प्रयोग गरेर अनावश्यक खर्चको भार थोपर्ने भन्दा समुदायले वर्षैदेखि जोगाएर राखेको वनबाट निस्कने काठको उचित प्रयोग गर्ने वातावरण बनाउन सकेमा वन पैदावारको चोरी निकासी पनि नियन्त्रण हुने उनको भनाइ थियो । राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवले नदी कटानको समस्या बढ्दै गएको बताए । “खहरे खोला, नदीले राजपुरका स्थानीय समस्यमा छन् । स्थानीय सरकारको एकल प्रयासले समस्या समाधान हुनसकेको छैन । यसमा सबैको सहकार्य आवश्यक छ । नदीजन्य पदार्थको अवैध दोहनले पनि समस्या निम्ताएको हो,” उनले भने । रासस

एक वर्षमै थपियो १ खर्ब १९ अर्ब बेरुजु

काठमाडौं । एक वर्षमै नेपालको बेरुजु डेढ अर्ब बढीले बढेको छ । महालेखा परीक्षकको ६० औं प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब १९ अर्ब ५६ करोड रुपैयाँले बेरुजु रकम बढेको हो । महालेखाले गएको वर्ष संघीय तथा प्रदेश सरकारी निकाय, स्थानीय तह, संगठित संस्था, समिति तथा अन्य संस्थासमेतको ७१ खर्ब ३८ अर्ब १७ करोडको लेखापरीक्षण गरेको थियो । प्रारम्भिक प्रतिवेदनबाट १ खर्ब २९ अर्ब ५६ करोड रुपैयाँ बेरुजु देखिएको हो । सोमध्ये प्रतिवेदन अवधिसम्म ९ अर्ब ७८ करोड सम्परीक्षण गराएबाट सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरीक्षणबाट १ खर्ब १९ अर्ब ७७ करोड बेरुजु कायम भएको प्रतिवेदनले औँल्याएको छ । नियमित गर्नुपर्नेमा नियमविपरीत भएको खर्च १९ अर्ब ८७ करोड ८० लाख, प्रमाण कागज पेस नभएको ५९ अर्ब रहेको छ। त्यस्तै शोधभर्ना नलिएको ४ करोड रुपैयाँ रहेको छ । त्यस्तै ९ अर्ब पेस्की रहेको छ । सोमध्ये ४ हजार ६८ संघीय सरकारी निकाय तथा कार्यालयको गरिएकोमा १ हजार ९२९ कार्यालयमा उल्लेख्य बेरुजु देखिएको थियो । यस्तै, प्रदेश सरकराी कार्यालयतर्फृ १ हजार २१८ को लेखापरिक्षण गरेकोमा ४ सय ४४ कार्यालयमा उल्लेख्य बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

आइएमई पेका सेवाग्राहीले १०० प्रतिशत क्यासब्याक पाउने

काठमाडौं । आइएमई पेले ‘आइएमई पेसँग २०८०, १००५ खुशी’ नामक अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्षको अवसरमा उक्त अफर ल्याएको हो । यो अफर बैशाख १ देखि ३१ गतेसम्म सञ्चालन हुने छ । यो अवधिभर प्रत्येक हप्ता आइएमई पेको विभिन्न सेवा सुविधा प्रयोग गर्ने १० भाग्यशाली सेवाग्राहीहरुले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् । सो अफरमा सहभागी हुनका लागि सेवाग्राहीले आइएमई पे मार्फत भिसा कार्ड, पि टु पि, क्यु आर, हावाई टिकट खरिद, रेमिट्यान्स लगायत आदी सेवा प्रयोग गरी कारोबार गर्नु पर्नेछ । ग्राहकलाई आइएमई पेबाट सजिलै विद्युतीय भुक्तानी गर्न प्रेरित गर्ने उद्देश्यका साथ यो अफर सञ्चालन गरिएको हो ।

भैरहवा र पोखराबाट चीन उडानका लागि राजदूतसमक्ष आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत छेन सोङलाई आग्रह गरेका छन् । जहाज चार्टर्ड गरेर नेपाल आएको एक सय ८० जना चिनियाँ पर्यटकलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि विमानस्थलमै चिनियाँ राजदूतसँगको भेटमा मन्त्री किरातीले भैरहवा र पोखराबाट पनि चीनसम्म सिधा उडानका लागि आवश्यक सहयोग र पहल गर्न राजदूतलाई आग्रह गरेका हुन् । पर्यटनमन्त्री किरातीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको उल्लेख गर्दै कोभिड महामारीपछि चिनियाँ पर्यटकलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा आएको पर्यटकको समूहलाई स्वागत गर्दै उनीहरुको नेपाल बसाई सुखद् रहोस् भनी शुभकामना व्यक्त गरे । अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्री किराती, नेपालका लागि चिनियाँ राजदूत छेनसोङ, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीले स्वागत गरेका थिए । चिनियाँ पर्यटकलाई विमानस्थलमै खादा मालासहित पञ्जेबाजा बजाएर स्वागत गरिएको पर्यटन बोर्डले विज्ञप्ति मार्फत जनाएको छ । कोरोना महामारीपछि चीनबाट पहिलो पटक चार्टर्ड उडानबाट चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । चिनियाँ राजदूत सोङले नेपाल चिनीयाँ पर्यटकहरुको रोजाइको गन्तव्य भएको बताउँदै नेपालको पर्यटन विकासको लागि चीन सधैँ सकारात्मक भएको बताए । उनले कोभिडपछि चिनीयाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएकोले अब नेपाल आउने चिनीयाँ पर्यटकहरुको संख्या क्रमशः बढ्ने विश्वास व्यक्त गरे । बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले कोभिडपछि सन २०२३ मा नेपालको पर्यटन लयमा फकिर्दै गएको उल्लेख गर्दै चिनियाँ पर्यटकको आगमनले नेपालको पर्यटन थप चलायमान हुने बताए । हिमालय एअरलाइन्स्को एच नाइन ७८५ एयरबस ए ३२०(२१४ ले चीनको कुनमिङ चाङ्शुई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडानबाट एक सय ८० जना चिनियाँ पर्यटकहरू अवतरण गरेको र आगामी चार्टर्ड उडानमार्फत् थप सात सय यात्रुहरूलाई नेपाल ल्याउने योजना रहेको हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार कोरोना महामारीपूर्व सन् १०१९ मा चीनबाट १ लाख ६९ हजार ५३४ जना, २०२० मा १९ हजार दुई सय ५७, सन् २०२१ मा ६ हजार एक सय ९६, सन् २०२२ मा ५ हजार पाँच सय ९५ र २०२३ को मार्चसम्म छ हजार तीनसय ३७ जना चिनीयाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । रासस

अञ्जन श्रेष्ठ महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उमेशलाल  श्रेष्ठले उनलाई वरिष्ठ उपाध्यक्षका लागि समर्थन गरेपछि उनी वरिष्ठ उपाध्यक्ष बनेका हुन् । वरिष्ठ उपाध्यक्षका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो । रामचन्द्र संघई पहिलो चरणमा बाहिरिएपछि अञ्जन र उमेशलाल दोस्रो चरणमा प्रवेश गरेका थिए । दोस्रो चरणको निर्वाचनमा पुगेका अञ्जन श्रेष्ठ र उमेशलालबीच नयाँ नेतृत्वको लागि सहमति भएको हो । पहिलो चरणमा तीन प्रतिस्पर्धीमध्ये अञ्जनले ३७.९९ प्रतिशत, उमेशलालले ३१.५१ प्रतिशत र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत पाएका थिए । बढी मत ल्याउने उम्मेदवार अञ्जन र उमेशलालबीच पुनः निर्वाचनको प्रक्रिया थालिएको थियो । यसैबीच सहमतिको लागि निवर्तमान अध्यक्ष शेखर गोल्छा, नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्षमा अन्तिम दुई प्रतिस्पर्धी अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच बैठक बसेको थियो । लगत्तै दुई प्रतिस्पर्धी अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच अलगै बैठक बसेका थिए । विभिन्न चरणमा भएको छलफलपछि अञ्जनलाई उमेशलालले समर्थन गरेका हुन् । वर्तमान शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, पूर्व अध्यक्षसहितको भद्र सहमतिमा उमेशलालले अञ्जनलाई वरिष्ठ उपाध्यक्षका लागि समर्थन गरेका हुन् ।

आइएमईको ‘७ मा ७’ अफर, बैशाखभर लागू हुने

काठमाडौं । आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईंको मेहनतमा हाम्रो साथ’ भन्ने मूल नाराको साथ नयाँ योजना सार्वजनिक गरेको छ । विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरि ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप जनही नगद ७ हजार रुपैयाँ प्रदान गरिने छ । उक्त योजना २०८० बैशाख १ गते देखि ३१ गतेसम्मका लागि सञ्चालन हुनेछ । विदेशमा रहेका नेपालीले आइएमई वा आइएमईका साझेदारहरु मार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरि यस योजनामा सहभागी हुन सक्नेछन् । योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ ।

नर्भिक अस्पताल ३०औं वर्षमा प्रवेश, हरेक स्वास्थ्य प्याकेजमा ३० प्रतिशत छुट दिने

काठमाडौं । सन् १९९३ मा बसन्तकुमार चौधरीले बिएलसी होल्डिङ अन्तर्गत स्थापना गरेको नर्भिक इन्टरनेशनल हस्पिटल ३० औं वर्षमा प्रवेश गरेको छ । उच्च प्रविधि युक्त प्रयोगशाला सेवा आइएसओ ९००१ः२०१५ प्राप्त गर्ने नेपालको पहिलो अस्पताल बनेको नर्भिक उत्कृष्ट क्रिटिकल केयर अस्पतालको रुपमा स्थापित भएको अस्पतालले दाबी गरेको छ । क्याथेटराइजेशन ल्याब स्थापना गर्ने नेपालको पहिलो निजी अस्पताल नर्भिक सुरक्षित स्वास्थ्य सेवाका लागि फोहोर व्यवस्थापन प्रणाली लागु गर्नेमा पनि पहिलो निजी अस्पताल बनेको अध्यक्ष राजेन्द्रबहादुर सिंहले बताएका छन् । ३० वर्ष अगाडि ३० वटा बेडबाट स्वास्थ्य सेवा प्रारम्भ गरेको अस्पतालले अहिले क्यान्सरको रेडियोलोजी बाहेक सम्पूर्ण उपचार सेवा सञ्चालन गरिरहेको उनले बताए । केही समयदेखि अस्पतालले मृगौला प्रत्यारोपण सेवा पनि प्रारम्भ गरेको छ । अस्प्तालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार अहिलेसम्म अस्पतालले ५ जना बिमारीमा सफल मृगौला प्रत्यारोपण गरिसकेको छ । ३० वर्षको अवधिमा अस्पतालले झण्डै ३० लाख बिमारीहरुलाई उपचार सेवा प्रदान गरेको, जसमा ८० प्रतिशत पुराना बिमारीहरु र २० प्रतिशत नयाँ बिमारी थपिने गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए । उनका अनुसार अस्पतालले निर्माण गरिरहेको नयाँ आधुनिक भवनको काम सम्पन्न भएपछि नर्भिकले एफपिओ समेत जारी गर्ने तयारी गरको छ । ३० औं वर्षमा प्रवेशसँगै नर्भिकले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गरेर स्वास्थ्य प्याकेजमा ३० प्रतिशत छुटको कार्यक्रम ल्याएको छ । जसमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा बैशाख १ गतेदेखि बैशाख ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुट हुने अध्यक्ष राजेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार अस्पतालले सो प्याकेजमा लेजर र हाइड्रा, आइभिएफ र म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट ल्याएको छ । अस्पतालले पत्रकारहरुको लागि पनि लक्षित गरेर एक वर्षे प्याकेज ल्याउने तयारी गरेको अध्यक्ष सिंहले बताए ।

नेपाल रेमिट र कृषि विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल र कृषि विकास बैंकबिच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनलका तर्फ प्रमुख कार्यकारी अधिकृत सागर खनाल र कृषि बिकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गरूङले हस्ताक्षर गरे । विगत १७ वर्ष देखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल तथा देश भरी तीनसय वटा भन्दा बढि शाखा कार्यलय र थुप्रै एक्स्टेन्सन्न काउन्टर मार्फत बैँकिङ्ग सेवाहरु जस्तै क्यूआर कोड सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आइपिएस, ईन्टरनेट बैंकिङ आदि सेवा समेत प्रदान गर्दै आएको कम्पनीले जनाएकाे छ । साथै, कृषि बिकास बैंकबिचको सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका विभिन्न स्थानहरुबाट बैँकिङ्ग च्यानल मार्फत पठाएको रकम देशका ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैंकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट प्राप्त गर्न सकिनेछ । यसका साथै कृषि बिकास बैंकसंगैको सम्झौतासंगै नेपाल रेमिट इन्टरनेशनलले अब देशभर १२ हजार भन्दा बाढि स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सकिने कम्पनीले जनाएकाे छ। डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिने नेपाल रेमिटले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैँक तथा वित्तीय संस्थाबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । जसबाट नेपालमा रेमिट्यान्स भित्राई देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुग्ने कम्पनीले जनाएकाे छ । यसका साथै, विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने साथै यसले नेपालमा रेमिट्यान्स भित्र्याउन समेत टेवा पुर्याउने नेपाल रेमिट इन्टरनेशनलका नायव महाप्रबन्धक देव बहादुर थापाले बताए ।